Saturday, August 23, 2014

नेपाली भाषाको उत्पत्ति र विकास बारे एक चर्चा

  नेपाली भाषा निश्चय पनि नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुको र विदेशमा रहेका नेपालीमूलका नागरिकहरुको साझा भाषा बनेको कुरामा कसैको दुई मत नहोला । भाषाको सौन्दर्य पक्षलाई हेर्ने हो भने यो भाषा विश्वका धेरै उत्कृष्ट भाषाहरुमध्ये पर्छ । विश्वमा धेरै भाषा दिनदिनै लोप भइरहेकाछन् तर यस भाषाले दिनदिनै विकास गरिरहेको छ भन्दा अत्युक्ति हुने छैन । यस लेखको उद्देश्य यस भाषाको ब्याकरणीय पक्षको बारेमा चर्चा गर्नु नभई यसको इतिहास, वर्तमान अवस्था र सबै नेपालीले यस भाषालाई कसरी अपनत्वको बोध गर्न सक्छन् भन्ने कुरालाई अलिकति प्रष्ट्याउनु हो ।
    यो भाषा भारोपेली भाषा परिवारको विभिन्न शाखाहरु मध्ये शतम् शाखाबाट इरानेली शाखाको आर्येली हाँगो हुँदै प्राचीनसंस्कृत–वैदिकसंस्कृत–लौकिकसंस्कृत–प्राकृत–सौरशैनीको पहाडि अप्रभंश (कसैले खस अप्रभंश भनेका छन्) भएर नेपालकै सिञ्जा उपत्यकामा उत्पत्ति भएको भाषावैज्ञानिकहरुको ठहर छ । हिन्दु–आर्य मूलका एक हाँगो खस आर्यहरुको सिञ्जा उपत्यका र आसपासको भूमिमा प्रवेशसँगै स्थानीय जातिसँगको संसर्गपछि यो भाषाको उत्पत्ति भएको हो भन्न सकिन्छ । धेरैले यो भाषालाई विक्रमको एघारौं शताब्दीमा उत्पत्ति भएको मानेका छन् । तर दामुपालको दुल्लु शिलालेखलाई विक्रमको १०६२ मा लेखिएको मान्ने हो भने एघारौं शताब्दीमा यसले लेख्य रुप पाएको र बोलीचालीमा केही अगाडि नै विकास भएको अनुमान गर्न सकिन्छ ।
    यस भाषामा पुस्तक अथवा ग्रन्थहरु धेरैपछि मात्र लेख्न थालिएको छ । तर केही ताम्रपत्र र कनकपत्रहरु निक्कै अगाडिका भेटिएका छन् । विक्रमको १३१७ र १३३७ को भनिएका केही ताम्रपत्रहरुमा मिति अस्पष्ट भएको र तिनीहरुलाई आधिकारिक नमान्ने हो भने, वि.सं. १३७८ उल्लेखित जुम्ली राजा आदित्य मल्लको ताम्रपत्रलाई पहिलो मान्नु पर्ने हुन्छ । त्यसपछि वि.सं. १३९३ र १३९४ उल्लेखित पुण्य मल्लको ताम्रपत्र र वि.सं. १४१३ उल्लेखित पृथ्वी मल्लको कनकपत्रलाई यस भाषामा लेखिएका पुराना अभिलेखरु हुन् भनि इतिहासकार तथा भाषाविज्ञहरुले बताउँदै आएका छन् । यस भाषामा लेखिएको पहिलो पुस्तक राम शाहको जिवनीलाई मानिएको छ । यो करिब वि.सं. १७७०–७२ तिर लेखिएको हो । त्यसपछि वाणीविलास ज्योर्तिविदको ‘ज्वरोत्पत्ति चिकित्सा’ (१७७३), प्रेमनिधी पन्तको ‘प्रायश्रित प्रदीप’ र ‘नृपश्लोकी’ (१७८०), दावादल शाहको ‘औषधि रशायन’ र ‘अजिर्ण मञ्जरी’ तथा वि.सं. १८२५ तिर लेखिएको पृथ्वी नारायण शाहको जिवनी आदि छन् । तर जब भानुभक्तले रामायणको यस भाषामा उल्था गरे र मोतिराम भट्टको प्रयाशमा सो प्रकाशित भयो तब यो भाषामा काब्य–साहित्य लेख्ने परंपराले महत्वपूर्ण फड्को मार्यो । यसर्थ यस भाषाको उत्पत्ति निक्कै अगाडि भए पनि विक्रमको सोह्रौं शताब्दीसम्म सुसुप्त नै रह्यो । यसो हुनुको कारण भाषाको विकास प्रारम्भिक चरणमै थियो र त्यसबेला संस्कृत भाषालाई नै खसआर्यहरुले प्राथमिकता दिए । अर्कोतिर यो भाषाको उत्पत्ति वर्तमान कर्णाली अञ्चलको सेरोफेरोमा भए पनि महत्वपूर्ण विकास वर्तमान नेपालको मध्य भागमा आएर भएको छ । र, भाषा विज्ञहरुको दावी अनुसार यो भाषाले वर्तमान नेपालको पूर्वि भागमा प्रवेश पाईसकेपछि मात्र अहिलेको रुप ग्रहण गरेको हो ।
    मैले शिर्षक र पहिलो अनुच्छेदको पहिलो शब्दभन्दा पछाडि यस भाषालाई नेपाली भनेर सम्बोधन नगरी ‘यस’ र ‘यो’ भनिरहेको छु । कारण यसले नेपाली भाषाको मान्यता कहिले पायो भन्ने कुराको टुङ्गो नलाई नेपाली भाषा भनिरहनु ठीक नहुने ठानेर नै हो । लेख्दा जे लेखिए पनि बोल्ने क्रममा यो भाषालाई अझैसम्म सिञ्जाली, पर्वते, गोर्खाली भाषा भनेर भनिन्दै आईएको सबैमा विदितै छ । अर्कोतिर खस–आर्य समुदाय बाहेककाहरुले यो भाषालाई खस भाषा भन्छन् । र, मदेशीमूलका नेपालीहरुले पडाडि भाषा भन्ने गरेको सबैले सुनेकै हौं । यस भाषाको उत्पत्ति कर्णाली अञ्चल आसपासमा र विकास मध्य नेपाल हुँदै पूर्व पुगेपछि भएको कारणले एक ठाउँबाट अर्को ठाउँमा पुग्दा आएकै ठाउँको नाममा यो भाषालाई सम्बोधन गरियो । त्यसैले त सिञ्जाली, पर्वते, गोर्खाली, पहाडे भाषा भनेर अझसम्मै भनिआईएको छ । त्यसैले यो भाषाले उत्पत्तिकालको धेरै सयमपछि अझ भनौ वर्तमान नेपालको संरचना बनेको निक्कै समयपछि मात्र ‘नेपाली भाषा’ नाम पाएको ठोकुवा गर्न सकिन्छ । संवैधानिक रुपमा हेर्ने हो भने राजा महेन्द्रले जारी गरको २०१९ सालको पञ्चायति संविधानमा यो भाषाले ‘नेपाली’ नाम पाई राष्ट्रभाषाको मान्यता पाएको छ । तर यसो भन्दैन वि.सं २०१९ मा मात्र यो भाषाले ‘नेपाली’ नाम पाएको हो भनेर भन्न खोजिएकोचाँहि पटक्कै होइन ।
    जब सिञ्जा आसपासका खस आर्यहरु वर्तमान नेपालको मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल हुँदै पूर्वाञ्चलमा पुगे त्यसबेला निश्चय नै यो भाषालाई खस भाषा भनियो । र, जब गोर्खा राज्यको विस्तारसँगै गोर्खाली सेनाहरु त्रिशुली नाघेर काठमाण्डौ र पूर्वि नेपालतर्फ विजयी अभियानमा पुगे त्यसबेला यो भाषालाई गोर्खाली भाषा भनियो । अनि पहाडेहरु मधेश झर्न थालेपछि मदेशीमूलका नेपालीहरुले पहाडे भाषा भने । उसबेला गोर्खा राज्यबाट थालिएको विजयी अभियानले वर्तमान नेपालको खाका कोरेपछि यो भाषालाई विजयी राज्य गोर्खाकै नामबाट सम्बोधन गर्दा तात्कालिन राज्यले गौरबकै अनुभूति गर्यो । देशले ‘नेपाल’ नाम पाए पनि भाषाले त्यतिबेलै ‘नेपाली’ नाम नपाएकै हो । यसको उदाहरण खोज्न टाढा जानै पर्दैन, यस भाषामा प्रकाशन गर्न थालिएको अखबारहरुको इतिहास हेर प्रष्ट हुन्छ ।   
    यो भाषामा छापिएको भनिएको पहिलो अखबार वि.सं. १९४१ (कसैले १९४५, कसैले १९५० भनेका छन्) मा प्रकाशित ‘गोर्खा भारत जीवन’ हो । रामकृष्ण वर्माको सम्पादकत्वमा मोतिराम भट्टहरुले यो पत्रिका प्रकाशन गरेका हुन् । यो पत्रिका बनारसबाट निस्किएको हो । यो पत्रिकाको नाममा किन नेपाल वा नेपालीको सट्टा ‘गोर्खा’ शब्द जोडियो त ? प्रश्न र उत्तरसँगै छ । किनकि त्यसबेला भाषिक सवालमा ‘गोर्खा’ शब्द नै सर्वस्वीकार्य थियो । नेपालभित्रैबाट प्रकासित पहिलो पत्रिका ‘सुधा सागर’ भए पनि वि.सं. १९५८ देखि हालसम्म निरन्तर प्रकाशित हुँदै आएको ‘गोरखापत्र’ ले पनि ‘नेपाली वा नेपाल’ को स्थानमा ‘गोरखा’ नै राख्यो । पत्र–पत्रिकाहरुको नाम गोर्खासँग जोड्ने इतिहास यतिमा मात्र सिमित छैन, वि.सं. १९५७ मा श्रीप्रसाद प्रधानको सम्पादकत्वमा दार्जिलिङबाट प्रकाशित ‘गोर्खे खबर कागत्’, वि.सं. १९७०, १९७३ र १९८५ मा देहरादुनबाट प्रकाशित क्रमशः ‘गोर्खा खबर’, ‘गोर्खा संसार’, ‘तरुण गोर्खा’ आदि पनि छन् । पत्रपत्रिकामा नेपाल र नेपाली भन्ने शब्दले स्थान पाएको वि.सं १९८८ पुसमा बनारसबाट प्रकाशित ‘नेपाली साहित्य सम्मेलन’ (बार्षिक) र नेपालमा वि.सं. २००५ मा प्रकाशित ‘नेपाल शिक्षा’ नै पहिलो हो ।
    पत्र–पत्रिकाको नामको यो इतिहासले यस भाषालाई धेरै पछिसम्म नेपाली नभनिएको प्रमाण दिन्छ । अझ गतिलो प्रमाण हालको साझा प्रकाशन हो । यस भाषामा छापिएका काब्य–रचनाहरुलाई प्रकाशित गर्ने उद्देश्यका साथ वि.सं. १९७१ (कसैले १९६९ भनेको) मा स्थापना भएको वर्तमान साझा प्रकाशनको  स्थापनाकालिन नाम ‘गोर्खाभाषा प्रकाशनी समिति’ थियो । र, पछि ‘नेपालीभाषा प्रकाशनी समिति’ हुँदै हाल साझा प्रकाशन भएको छ । यसर्थ यो भाषालाई ‘नेपाली भाषा’ भन्न थालिएको राणशासन विरुद्घको आन्दोलन सेरोफेरोबाट हो भन्ने देखिन्छ । जब राणा शासन समाप्त पार्नको निम्ति विभिन्न राजनीतिक दलहरुको गठन भयो तब सबै नेपालीहरुलाई एकताबद्घ पार्नको निम्ति राजनीतिक विचारसँगै भाषिक एकरुपता पनि आवश्यक थियो । त्यसबेला यो भाषा धेरै जसो नेपालीले बुझ्ने र बोल्ने भइसकेका थिए तर नाम गोर्खाली वा गोर्खा भाषा नै राखिरहने हो भने सबै नेपालीले आन्दोलनलाई स्वीकार गर्न सक्दैन थिए । त्यसैले राणा हटाउ आन्दोलनमा सबै जात÷जाति, क्षेत्र र समुदायको साथ पाउन पनि तात्कालिन आन्दोलनकारी शक्तिहरुले यो भाषालाई नेपाली भन्न थाले र त्यसैको उच्चतम् अवस्था वि.सं. २०१९ सालमा राजा महेन्द्रले संविधानमा ‘नेपाली भाषा’ नेपालको राष्ट्रभाषा भनेर लेखे ।
    यस भाषाको उत्पत्ति, विकास र नाम विगतमा जे भए पनि अहिले यो ‘नेपाली’ भाषा भनेर सबै नेपालीको बीचमा स्थापित भइसकेको छ । त्यसैले अब यस भाषाको नाम ‘नेपाली’ होईन भनिरहनुको कुनै तुक छैन । तर यही अवस्थामा मात्रै यो भाषाको भविश्य सुरक्षित छैन र नेपालका अन्य भाषि नेपालीहरुले राष्ट्रभाषाको रुपमा दिलैदेखि स्वीकार समेत गर्दैनन् । नेपाल बहुजातीय मात्र होईन बहुभाषिक देश पनि हो । यहाँ १०० भन्दाबढी भाषा अझै कुनै न कुनै रुपमा जिवितै छ । एकातिर विश्वमा देखापरेको पहिचानको मुद्घासँगै हरेक समुदायले जहाँ पनि अपनत्व खोज्न थालेका छन् भने अर्कोतिर अंग्रेजी भाषा नभई केही काम नचल्ने अवस्था आउँदैछ । त्यसैले भाषिक रुपमा अब संकिर्ण नबनी यो भाषामा भएका केही ब्याकरणीय जटिलताहरुलाई हटाउँदै विदेशी र अन्य स्वदेशी भाषाको प्रचलित शब्दहरुलाई स्विकार गरि यसकोे फाँट फराकिलो बनाउनु पर्छ । क्यान्सरलाई अर्बुद रोग भनेर सबै नेपालीले अहिले नै चिन्दैनन् न कि कम्प्यूटरलाई सुसांख्य भनेर नै सबैले चिन्छन् । किरात राईहरुको प्रचलित तरकारी ‘किनामा’ लाई नेपालीभाषामा अर्थ लगाउँदा भट्मास कुहाएको भन्नु पर्ने हुन्छ नभए यो भाषामा यसको अर्को नाम छैन । नेवार समुदायका मानिसहरु आपसमा भेट्दा ज्वज्वलपा नै भन्न रुचाउँछन्, तामाङहरु फ्याफुल्ला र लिम्बूहरु सेवारो नै भन्न चाहान्छन् । धेरै वटा भाषाहरुको संमिश्रणले मज्बुत बनेको हिन्दी भाषाले आज जसरी ब्यापकता पाउँदैछ त्यो भाषिक संकिर्णताको कारणले होइन उदारताको कारणले नै हो । त्यसैले अझै पनि सबै नेपालीको आफ्नो भाषा (व्यवहारमा) बनिनसकेको यो भाषालाई सबै नेपालीको बनाएर विश्वमा सम्पन्न भाषाको दर्जामा उठाउनु छ भने संकिर्ण मानशिकताबाट उठेर भाषिक विज्ञहरुले आजैदेखि काम थाल्नु पर्छ ।
सन्दर्भ सामग्री
प्राचिन किरात इतिहास, डा. स्वामी प्रपन्नाचार्य
नेपालको प्रचिन इतिहास, इमानसिं चेम्जोङ
मध्यकालिन नेपालको इतिहास
विश्व परिचय (विश्व कोषको लघुरुप भाग १) युवराजसिं कार्की
सेतो पाटी डट कम
नेपाली साहित्य घर डट कम

(नेपाल मगर संघ मलेसियाको मुख पत्र लाङघाली आवाजको २०१४ जुन मा प्रकाशित अंकमा प्रकाशन भएको लेख)

No comments:

Post a Comment