Thursday, July 31, 2014

Gajal

बलेको आगोमा तेल खन्याउने भेटियो धेरै
सानो कुरोलाई ठूलो बनाउने भेटियो धेरै

आमाको इज्यतमाथि कसैले उठाउँदा औंला
प्रतिवाद गर्नेभन्दा रमाउने भेटियो धेरै

अन्यौलको पर्दा भित्र सत्यलाई खोज्ने बेला
हाय रे ! आ–आफ्नै डम्फू बजाउने भेटियो धेरै

जसको कारणले यहाँ भैरहेछ भाडभैलो
उसैको गोडामा भेटी चढाउने भेटियो धेरै

देवराज इन्द्रलाई आफ्नै दरबार भित्र पनि
पराईको इसारामा नचाउने भेटियो धेरै

गजल

पहिरो चलेको ठाउँ हुँदै कुलो नबनाउ प्रीय
सानो घटनालाई उछालेर ठूलो नबनाउ प्रीय

बदनाम मेरो गर्छु भन्दै गोप्य कुरा खोतलेर
उल्टै आफ्नो इज्यत तिमी धुलो नबनाउ प्रीय

मलाई खाने पाटे बाघले तिमीलाई नि खान सक्छ
बिन्ती मनको पर्खालमा दुलो नबनाउ प्रीय

बलेकै छ आगो यहाँ, अझै ठूलो बाल्छु भन्दै
सम्बन्धको प्रमाणपत्र झुलो नबनाउ प्रीय

एउटै थालमा भात खाको ती क्षणलाई बिर्सिएर
एकाघरमा बेग्लै दुई चुलो नबनाउ प्रीय

बचनको करौंतीले कलेजी यो रेटी–रेटी
नारथुङेको मन जोख्ने तुलो नबनाऊ प्रीय

\

गजल

हो म पनि पूजा गर्छु भगवानलाई
सधैं फूल पनि छर्छु भगवानलाई

आफै भित्र भा’को सैतान लखेटेर
खाली हृदयमा भर्छु भगवानलाई

तिमी मन्दिरमा मूर्ति बनाई राख्छौ
म त आफ्नै शिरमा धर्छु भगवानलाई

सिर्जनाको भेटी बोकी साँझ–विहान
अन्तर मनमा भेट्न झर्छु भगवानलाई

आउने छन् पक्कै एक दिन इन्द्र लोकमा
जरुर त्यो बेला म हर्छु भगवानलाई

गजल

हराउँदैछ हजुर यहाँ, मणी मान्छेको
बेग्ला बेग्लै भा’छ देउता, पनि मान्छेको

साँझ विहान पूजेको, त्यही देउताले
पिइरहेछ खुन सैतान, बनी मान्छेको

भो नसोध गरिबको, हाल यति बेला
देवता नै दास भा’छ, धनी मान्छेको

धर्म जोगाउँछु भन्दै, कुरुक्षेत्रमा
मान्छेले नै काट्छन् शिर, गनी मान्छेको

कस्तो संसार बनाउन, खोज्दै छौं हामी ?
जताततै चिता–चिहान, खनी मान्छेको

स्वर्गबाट ‘इन्द्र' आज, आ’छ धर्तीमा
एक पटक उद्दार गर्न, भनी मान्छेको














Tuesday, July 29, 2014

गजल

यो मुटुमा झस्का पस्यो आँखा तरेपछि
आँखा तर्दै मधुर लाली मुस्कान छरेपछि

ओंठ तिम्रो काँपी रह्यो शब्द फुस्किएन
एकान्तमा जब मेरो छेउ परेपछि

अलि अलि काली भयौ तर डरले होइन
अनायासै यो ज्यान तिम्रो नजिक सरेपछि

नाम सोधें, गाउँ सोधें, सोधें धेरै कुरा
लाज तिम्रो झनै बढ्यो चिन्जान गरेपछि

एकै भेट्मा माया बस्यो भन्ने थाहा पाएँ
छुट्ने बेला तिम्रो मेरो आँशु झेरेपछि

गजल

धारे हात लगाएर मर भन्नेलाई सलाम
मध्यराती पारिजात झैं झर भन्नेलाई सलाम

षड्यन्त्रको पर्दा ढाकी अँध्यारोमा हुत्याएर
कहरको पासो भित्र पर भन्नेलाई सलाम

सानै गल्ती ठूलो पारी, अझै त्यहाँ रङ्ग भरि
यो ठिटोको बदनाम गर भन्नेलाई सलाम

जो जो छन् ती आफ्नो भन्ने, नाना कुरा सुनाएर
मेरोे निम्ति घृणै घृणा भर भन्नेलाई सलाम

गाउँ घरका सोझा सिधा मान्छे जम्मा गरी
नारथुङेलाई आँखा तर भन्नेलाई सलाम

छिर्के हानी, खुट्टा तानी, अझै नपुगेर
स्वर्ग छोडी ‘इन्द्र’ अन्तै सर भन्नेलाई सलाम ।

गजल

मेरो सपनाको देशमा युद्घ थिएन
शान्ति खोजी हिड्ने कुनै बुद्घ थिएन

मान्छे सबै उही थिए, रङ्ग काला–गोरा
तर पनि कोही कतै कु्रद्घ थिएन

अचम्म त भेटें मैले सिंहदरबारमा
सबै थिए जङ्ग अनी जुद्घ थिएन

आपसमा मेल थियो, थियो भाइचारा
सहयात्रा कतै अबरुद्घ थिएन

अझै राम्रो खोज्दै पुगें ‘इन्द्र’ लोकमा
अहो ! त्यहाँ कोही पनि सुद्घ थिएन कतै ।

गजल

सोरठी, भैली हजुर साकेला, होली प्यारो
मखमली घलेकसँग फरिया, चोली प्यारो

उर्लिने भेल जस्तै सपना बगे पनि
टाढाको सागरभन्दा झरना खोली प्यारो

बाहिर देखावटी पराईको मायाँ लिन्न
गालीनै सही हजुर आमाको बोली प्यारो

धनको अघि परे राम नै रावण बन्छ
बिदेशी डलरभन्दा भिरेको झोली प्यारो

चाहिन्न अरु केही कामना यही मेरो
हिजो र आज जस्तै भैदेओस् भोली प्यारो ।

गजल

दुःख परेको बेला धरधरी रुन्छ मान्छे
सुखी भएर के भो ? इश्र्यालु हुन्छ मान्छे

हरपल धरतिको धुलोमा उभिएर
गफैले आकाशको जूनतारा छुन्छ मान्छे

बोल्छ कोही एकले प्रेमको मधुर बाणी
त्यसैलाई पनि उल्टो बनाई सुन्छ मान्छे

हृदयभित्र राज गरिबस्या छ खोट
परन्तु अनुहार दिनरात धुन्छ मान्छे

मन र धनको पोको बोकेर आ’छ ‘इन्द्र’
हेर्दैछु अब फेरि केलाई चुन्छ मान्छे ।

गजल

कहिले फूल भो जिन्दगी
कहिले भूल भो जिन्दगी

जता छाम्यो उतै दुख्ने
कहिले सूल भो जिन्दगी

अर्कै स्वासले बज्नु पर्ने
थोत्रो बिगुल भो जिन्दगी

जहाँ पनि टाँग्न मिल्ने
कहिले तुल भो जिन्दगी

रात दिन झुण्डिने त्यो
कहिले झुल भो जिन्दगी

दुनियाले टेकेर हिड्ने
कहिले पुल भो जिन्दगी

राधा छैन कृष्ण मात्रै
रित्तो गोकुल भो जिन्दगी

विरहमा कराउने
एक्लो बुलबुल भो जिन्दगी

प्रेमको खातिर बग्नै पर्ने
कहिले मूल भो जिन्दगी

को हो आफ्नो, को हो बिरानो
कहिले हुल भो जिन्दगी

तिम्रो चोखो नजरमा
अहो ! मञ्जुल भो जिन्दगी

स्वर्ग छैन इन्द्र मात्रै
आखिर टुल्टुल भो जिन्दगी ।

गजल

आज फेरि गाउँ, घरको याद आयो
चौतारीको लर्के, बरको याद आयो

लुकामारी खेल्दै, हाँस्दै सिम्मासँग
घाँस काट्या त्यही, खरको याद आयो

धनसारमा पसी, ठेकी उघारेर
दुवै मिली खा’को, तरको याद आयो

अँगालोमा बाँधी, माया गर्छु भन्दा
मन भित्र लाग्या, डरको याद आयो

प्रतिविम्ब उनको, पल्टाएर हेर्दा
एकैचोटी भएभरको याद आयो ।

गजल

जन्म ठाउँको माया मनमा छ कि छैन लाहुरे दाजु ?
सुख, सन्तोष लाख धनमा छ कि छैन लाहुरे दाजु ?

तिमी उता जाने बेला, माया पोकाई दिएका ती
आफन्तको चिनो तनमा छ कि छैन लाहुरे दाजु ?

हाँसीखेली हुर्किएको साथीभाइको प्यारो तिमी
त्यही माया पराई जनमा छ कि छैन लाहुरे दाजु ?

परदेशको माम्लो हजुर, सत्य कुरा के छ कुन्नी
हाँसो, खुसी एक्लो पनमा छ कि छैन लाहुरे दाजु ?


गजल

मनभित्र सम्झनाका खातहरु धेरै
तिमीलाई सुनाउने बातहरु धेरै

अझैपनि आलै होलान् पिरतीका कथा
सँगैसँगै गुजारेका रातहरु धेरै

फर्किन्दैछु कल्पिएर मनमुटु बोकी
एकान्तमा मेटाउन मातहरु धेरै

घामपानी जिन्दगीमा आए कति–कति
सहेकै छु प्रप्तीभन्दा घातहरु धेरै

गोड्दै हौली पक्कै त्यो मनको फुलबारी
नराखे है फूलभन्दा पातहरु धेरै ।

गजल

फर्कदिन यो साल पनि मन नदुखाउ है
एकान्तमा रुँदारुँदै आँशु नसुकाउ है

छाति भित्र वेदनाको चल्दो होला आँधी
आत्मा कमजोर बनाएर मूल्य नचुकाउ है

हल्का हुन्छ पीरहरु कतै साट्न पाए
त्यसैले त चिठ्ठी लेख्दा कुरा नलुकाउ है

अमर प्रेममा भाँजो हाल्ने अझै धेरै हुन्छ
हार मानी कसै सामु शिर नझुकाउ है

‘इन्द्रै’ विन्ती गरुन् तिम्रो जवानीमा रम्न
होस गुमाई पछ्यौरीको फेर नफुकाउ है ।

Sunday, July 27, 2014

गजल

विदेशमा भए पनि देशै दुख्दो रै’छ
जति टाढा गए पनि देशै दुख्दो रै’छ

आपसमा नमिलेर भाइ फूटे पछि
देश भित्रै रहे पनि देशै दुख्दो रै’छ

विपदमा आफ्नो ठानी पुगी छिमेकमा
पीर ब्याथा कहे पनि  देशै दुख्दो रै’छ

पराईको काम गर्दा एक्लै परदेशमा
अपमान सहे पनि देशै दुख्दो रै’छ

श्रम गर्दा  सहेका ती सारा पीडाहरु
आँसुसँगै बहे पनि देशै दुख्दो रै’छ ।

गजल

डलरको लोभमा फसी कति धाउनु अझै बिदेश ?
स्वाभिमान बेची–बेची कति आउनु अझै बिदेश ?

मुठी रोप्दा मुरी फल्ने सिर्जनाको याम हजुर
गहिरी खेतमा गोरु नारी कति साउनु अझै बिदेश ?

घामपानीको चोट झेल्दै मूल घर थोत्री सक्दा पनि
पसिनाको धारो छुटाई कति छाउनु अझै बिदेश ?

तन, मन, धन चढाई देशलाई पुज्ने बेला
भजन सम्झी साँझ–बिहान कति गाउनु अझै बिदेश ?

गजल

सवै भन्छन् नराम्रो चिज सराब हो
म भन्छु प्यूनेहरुको बानी खराब हो

परालको आगो हो रे घरको झगडा
कहाँ हुन्थ्यो ? दुई धु्रवको टकराव हो

माथि चढ्ने लिस्नोको बखान मात्र ग¥यौ
अहो ! साथी जिन्दगीको त्यो त धराप हो

छिमेकीलाई आफ्नो ठानी मागे सल्लाह
हात लाग्ने जति छन् सवै दबाव हो

साँझ विहान सुनपानीले जसलाई पुजिदैछ
के को ‘इन्द्र’ त्यो त मात्र एक नकाव हो ।

गजल

रातो र कालो भन्दा निलो मनपराउँछु
बाँझो जमिन भन्दा हिलो मनपराउँछु

वस्तुमा गुण खोज्छु त्यही भएर होकी
भुत्तो खुकुरी भन्दा कीलो मनपराउँछु

गर्नु हुँदैन हतार, घुम्ती छिचोल्ने बेला
यहाँ साविक भन्दा ढिलो मनपराउँछु

आज खाएर मात्रै भोली टर्दैन गर्जो
त्यसैले फल भन्दा जिलो मनपराउँछु

पीडा भएर के भो, निको चटक्कै हुने
लुतोको सास्ती भन्दा पिलो मनपराउँछु

नमानी लोभ कति दिन र लिन मिल्ने
इन्द्रको आसन भन्दा बिलो मनपराउँछु ।

जगल

फ्याँक्नै पर्छ एकतामा छायाँ पार्ने मेघहरु
रोक्नै पर्छ युद्घ बोक्ने तुफानका बेगहरु

मानवता फैलाउन बाधा पार्ने विचारको
जरा काटी ढाल्नै पर्छ बाँकी भरथेगहरु

प्रेम, शान्ति, एकतामा विश्वास छ भने हाम्रो
सारा शक्ती आएपनि चाल्नु हुन्न डेगहरु

जात, धर्म, रङ्ग, वर्ण कति–कति साँध–सीमा
आउ मिली सँगै तोडौं यस्ता थुनछेकहरु ।

गजल

मन्दिरमा मूर्ति होला, देउता भेटिन्दैन
गंगाजलले पखालेर, पाप मेटिन्दैन

पर्दा हाली कालो धन्दा, आज ढाके जस्तो
सधैभरि त्यही खुनी, रुप छेकिन्दैन

कति होलान् बाँडी खान, जान्नेहरु यहाँ ?
आफ्नै मात्र पेट भरी, स्वर्ग देखिन्दैन

दुःख पर्दा साथ दिन्न, जसले मानिसलाई
मनको पाना भित्र, उनको नाम लेखिन्दैन

प्राण जसको माटो हुन्छ, त्यो हो देशको भक्त
गला छिन्ला उसको बरु, विश्वास रेटिन्दैन ।

गजल

जनताहरुले रोजेको शासन हुनुपर्छ
भोकाहरुलाई पहिला राशन हुनुपर्छ

देशमा गणतन्त्र आएकै हो भने
एकैथलोमा सबैको आशन हुनुपर्छ

परिवर्तन ल्याउन अगाडि सर्नेहरुको
काम गरेपछि मात्र भाषण हुनुपर्छ

घरै बसेर जागिर पकाउँछन् सबैसबै
यस्ताहरुको चाँडै निश्काषन हुनुपर्छ

देशको खातिरमा जो रगत बगाउँछन्
हाम्रो मनमा उनकै सिंहाशन हुनुपर्छ ।

गजल

सुनाए पनि हुन्थ्यो कसैले हर्षको कुरा
खोलो फर्किएको त्यो बाह्र बर्षको कुरा

मैले दिने यही एक छ —ऐक्यवद्धता
जव सुन्छु मुक्तिको खातिर संघर्षको कुरा

साँझ विहान सधैं भजन उही गाउँछन्
कति सुनौ कोरा यी आदर्शको कुरा

को छ र सर्वज्ञाता यो दुनियाँमा
भइदिए हुन्थ्यो आपसमा निष्कर्षको कुरा

मान्छेको शत्रु मान्छे हुनुहँदैन कहिल्यै
यहिनै हो मानवताको निष्कर्षको कुरा ।

गजल

धन हुनेसँग मन छैन
मन हुनेसँग धन छैन

नक्कली मात्र देखिन्छ
कसैको आफ्नो पन छैन

खेत–बारी यहाँ बाँझै भो
गर्ने त कोही जन छैन

दौतरीसँगै घुमेर
घाँस–दाउरा गर्ने बन छैन

आत्माको कुरो खोल्ने थें
सुन्दिने मान्छे झन् छैन

गर्ने काम अझै धेरै छ
‘इन्द्र’ को जवान तन छैन

Saturday, July 26, 2014

गजल

पानी मुनी ओभानो, बन्दैनन् कोही
परन्तु आफ्नो गल्ती, भन्दैनन् कोही

पराईको आङ्गमा, प्यूसा देख्छन् रे
आफै छेउको हात्ती, गन्दैनन् कोही

पाईला चाल्न पनि, सजिलो छैन
तर फराक बाटो, खन्दैनन् कोही

अरुको कुरा काट्न, समय त छ
किन्तु राम्रो बात, कहन्दैनन् कोही

काँडा बीच फुल्छ गलाव एक थुङ्गा
कस्तो बानी हरे ! सहन्दैनन् कोही ।

गजल

मन्दिरको ढुङ्गा पुज्दा, धर्म हुन्न
धरतिको माटो छुँदा, सर्म हुन्न

बनाउछौं आफ्नो भाग्य, हामी आफै
लेखिएरै आएको त्यो, कर्म हुन्न

चौडा छाति हुनेहरु, पुज्य हुन्छन्
मनै छैन भने त्यहाँ, मर्म हुन्न

लिए पछि दिनु पर्छ, अनि चल्छ
एकोहोरो दिने मात्र, पर्म हुन्न ।

गजल

अरुलाई हराउने, जीत चाहिएन
प्रसंशाले भरिएको, गीत चाहिएन

एक्काईसौं शताब्दीको, मान्छे हामीहरु
जातपात छुट्टाउने, रीत चाहिएन

हातेमालो गर्दै हिड्ने, साथी भए पुग्छ
सीमा–सर्त राखिएको, मीत चाहिएन

लागेको छ सबैलाई, तिर्खा बराबरी
आफ्नै मात्र पुरा हुने, धित चाहिएन

स्वर्गबाट हिजोआज, ‘इन्द्र’ यहि भन्छ
खुसी फुल्ने आँखाभरि, शीत चाहिएन ।

गजल

हिड्नेहरुलाई खुकुरीको, धार हो जिन्दगी
जित्नेहरुलाई सहनै पर्ने, हार हो जिन्दगी

खोज्न सके आफै भित्र छ, बीनाको सुगन्ध
नखोज्नेहरुलाई उही पिरो, खार हो जिन्दगी

धर्म होे आगोको आफू, जलेर छर्नु उज्यालो
नजल्नेहरुलाई केवल चिसो, छार हो जिन्दगी

चौका हान्छन् मौकामा, शूरहरु अघि सरी
निर्धाहरुलाई के को मौका ? भार हो जिन्दगी

उडि छुन्छन् चन्द्रमा, मान्छे रुपी जाँगरहरु
अल्छेहरुलाई सधैं आईतवार हो जिन्दगी ।

गजल

कतै धर्तिको निम्ती, भार पो भएँकी म
कोमल मनहरु रेट्ने, धार पो भएँकी म

गर्न नसके पछि, दोष दिएर उल्टै
यहाँ प्रगति रोक्ने, बार पो भएँकी म

धर्ती सिंगार्ने फूल, फूलै हो जिन्दगानी
फूल छोप्ने त्यो पापी,  झार पो भएँकी म

मीठो–गुलियो भन्छन्, बचन र आनी–बानी
घाँटी समात्ने तितो, छार पो भएँकी म

कला र गला अनि, छैन सिर्जना आफ्नो
सधैं अरुकै खोस्ने, जार पो भएँकी म

‘इन्द्र’ भएर पनि, स्वर्ग गुमाएपछि
आहो ! श्रृष्टिको निम्ती, हार पो भएँकी म ।

गजल

लिन जाने हुन्छ मज्जा, हार्नुमा पनि
हारको खातिर रहरहरु, मार्नुमा पनि

हाँस्दा हाँस्दै हाँसेर नै, कहिले काँही
मज्जै हुन्छ थोरै आँशु, झार्नुमा पनि

प्रेम गर्ने प्रेमीहरु, मज्जा नै भन्छन्
सिधै छिर्ने बाटाहरु, बार्नुमा पनि

फूलै फूलको बगैंचामा, मात्र एक माली
मज्जा लिन्छ काँडाहरु, सार्नुमा पनि

प्राण राखी हत्केलामा, सधै एक माझी
मज्जै मान्छन् नदिहरु, तार्नुमा पनि

मज्जै होला कसैलाई, कतै न कतै
‘इन्द्र’लाई एक्लै एक्लै, पार्नुमा पनि ।

गजल

न्यायपूर्ण हुँदै हुन्न, युद्घ कहिल्यै
मान्छे मारी बनिन्दैन, बुद्घ कहिल्यै

भन्न सक्छौ पक्ष सधैं, लिन्छु सत्यको
यस्तो तर्क गरी हुन्नौ, सुद्घ कहिल्यै

राज्य उनकै भए पनि, त्यही राज्यमा
पुजिदैनन् जङ्ग अनि, जुद्घ कहिल्यै

शान्ति, प्रेम र मानवताको, बाटो समाते
त्यस्तो यात्रा हुन्न अबरुद्घ कहिल्यै ।

गजल

अब नयाँ बिहानीको, मियो बन्नु पर्छ तिमी
अँध्यारो यो भगाउने, दियो बन्नु पर्छ तिमी

सबै मिले राष्ट्र बन्छ, मिलाउने काम तिम्रो
फाटेको मन सिलाउने, सियो बन्नु पर्छ तिमी

परिवर्तन रोक्न कतै, फलामे बार लाग्यो भने
त्यसैलाई छिनाउन, खियो बन्नु पर्छ तिमी

विकासको बिऊ रोप्न, खोतल्न र खन्नु पर्छ
डन्डी हैन तिखा–तिखा, बियो बन्नु पर्छ तिमी

सोझा–सिधा, भोका–नाङ्गा, नेपालीको निम्ती यहाँ
परिआए मुटु सँगै, फियो बन्नु पर्छ तिमी

गजल

बाँची एक जीवन
साँची एक जीवन

गाल्छु धेरै चोटी
काँची एक जीवन

हुन्न कत्ति सुख
भाँची एक जीवन

बित्छ यसै गरि
नाँची एक जीवन
 
मूल्य भन ‘इन्द्र’
जाँची एक जीवन ।

गजल

महल छोडी गजल अब, झुपडीमा पस्नु पर्छ
भोका नाङ्गा जनताको, छेउछाउ बस्नु पर्छ

धर्म, वर्ग अनि जातको, पर्खालहरु तोड्नलाई
छरिएका औलाहरु, मुठ्ठी भित्र कस्नु पर्छ

सेतो–रातो भन्नु मात्र, हुँदा रै’छन् उस्तै–उस्तै
त्यसैले त निलो रङ्ग, निधारभरि घस्नु पर्छ

यहाँ देखि माथि–माथि, यो देशलाई उठाउन
काँध हातले नसकिए, गोडाहरु धस्नु पर्छ

अझै पनि राम राज्य, ‘इन्द्र’को नै चल्छ भने
स्वर्ग नामको खुनी संसार, धरातलमै खस्नु पर्छ ।

गजल

घुम्टो ओढी बादलको, टेम्के आकाश छुन्छ सधैं
सिर्जनाको सफरमा, खोटाङ अघि हुन्छ सधैं

पुख्यौली त्यो नासो भित्र, कतै दाग लाग्यो भने
खोटाङेको मनको मैलो, सावा खोला धुन्छ सधैं

शिशिरले प्रकृतिको, क्यानभासमा रङ्ग पोत्दा
सेल्मे डाँडो हाँगोभरि, लालीगुराँश उन्छ सधैं

प्रकृतिको आँचल भित्र आफ्नो रुप लुकाएर
हलेसी र बाराहाले, माया जाल बुन्छ सधैं

सनीबारे हटियामा, सौदा किन्ने खोटाङेले
साकेलामा सिली नाच्दा, आफ्नो जोडी चुन्छ सधैं

मन र मुटु खोटाङ तिरै, रित्तो ज्यान मलेसिया
त्यसैले त ‘नारथुङे’को, यो मन अचेल रुन्छ सधैं ।

गजल

सिर्जना रोप्न मिल्ने, शान्त गाउँ छ कि छैन
स्वदेश फर्कन्दैछु, बस्ने ठाउँ छ कि छैन

बाढीले ढाकेको छ, भन्दैछन् मान्छेको मन
तर्नु छ जङ्घार त्यो, नयाँ नाऊ छ कि छैन

छोडेर आएको थें, सिम्माको नाममा बैना
ब्याज चाहिँदैन, भन साँउ छ कि छैन

छोडेर काम सारा, सन्तानकै लागि बाँच्ने
सम्झेर आँउदैछु, उनै माउ छ कि छैन

बोकेर गजल यो, आउँदैछ बेच्न ‘इन्द्र’
नेपाली बजारमा, कुनै भाउ छ कि छैन ।

गजल

सुगौली दुख्यो हिजो, आज सुस्ता दुख्यो
होईन एक बार यहाँ, पुस्तौं पुस्ता दुख्यो

छिमेकी सम्झिएर, सम्मान गर्दा गर्दै
नाघेर सीमा फेरि, घरमा घुस्दा दुख्यो

जवानै थिएँ म त, सहें केही मुक्का
परन्तु जब्बरजस्ती, इमान लुछ्दा दुख्यो

काटेर घाउ लागे, एक दिन हुन्छ सञ्चो
घुसेर मुटु भित्रै, रगत चुस्दा दुख्यो

हम्मेसी नदुख्ने यो, ‘इन्द्र’ को मन आज
आमाले आँखा छोपी, आँशु पुछ्दा दृख्यो ।

गजल

यो अँधेरी रात छ र न पो छ जूनको महत्व
त्यो स्वंबरको दिन दियौ र पो छ सुनको महत्व

जब तिमी सर्छौ नजिक नजिक आँचल उघारी
अनि मात्र बढ्छ ढुकढुकीसँगै खुनको महत्व

दुवै बेहोसीमा हराएपछि सबै थोक हुन्छ
अहो ! बढ्दै जान्छ अस्पष्ट गुन गुनको महत्व

अतृप्त प्यासहरु मेटिएपछि ढल्की सिरानीमा
सुन्दै निदाउँदा बढी रहन्छ धुनको महत्व

परदेशमा छ यो इन्द्र आज एक्लै एक्लै एक्लै
एक्लै रहँदा पो बुझिँदो रहेछ उनको महत्व

Thursday, July 24, 2014

गाउँ फर्केर आए पछि


धेरै सम्भावनाहरुलाई
धेरै चाहनाहरुलाई
र,
धेरै अनुरोधहरुलाई
लत्याएर, भत्काएर, पन्छाएर
सानो सपनालाई
खोकिलामा च्यापी
गाउँ फर्किएको म,
सिंगो गाउँ नै
कुम्लो कुटुरो बोकी
बसाइँ हिंडेको देखेर
अलिकति अमिलिएको छु
अलिकति धमिलिएको छु
त्यसैले यतिबेला
खोजिरहे छु म,
आफ्नै आस्थाहरु
सपनाको फुलबारी भित्र ।

घरदेशबाट

      
दाइ,
राम्रैसँग आइपुगें म,
हजुरले भने झैं
बाटामा देउराली र चौतारीहरु
भञ्ज्याङ र नागीहरु
नदि र खोलाहरु
सबै–सबै भेटियो
जहाँ एक छिन रोकिएर
एक छिन उभिएर
अन्तरालको एक मुठी पाती चढाएँ
र,
पूर्वि छितिजमा
विस्तारै उकालिन्दै गरेको घामलाई हेरी
अलिकति मुस्कुराएँ
साँच्चै दाइ
यतिबेला म सम्झिरहेको छु
हजुरका ती शब्दोपहार
जहाँ ममताका एकखात अक्षरहरु
बाटैभरि मग्मगाई रहेछन्
अजम्बरी र बाबरीको बोटहरुमा ।

दाइ जब म,
आकाश मार्गको यात्रालाई
पूर्णविराम लगाएर
त्रिभुवन विमानस्थलको
वर्हिगमन कक्षमा ओर्लन्छु
तब एक झोंक्का बतास
मलाई सुम्सुम्याउन आइपुग्छ
जहाँ, सडकमा अलपत्र फ्याँकिएको
फोहोरको कुहिएको गन्ध छ
र, छ धुलोको मसिना कणहरु
सायद मन परदेशी भइदिएको हुन्थ्यो भने
म नाक र मुख थुनेर
सराप थें होला देशलाई
धिक्कार्थें होला माटोलाई
तर दाइ
ज्यान परदेशी भए पनि
घरदेशको ममताले पग्लिएको मन
पग्लियो हावाको स्पर्शमा
र, विस्तारै सुम्सुम्याएँ
अनुहारभरि लुटपुटिन आइपुगेको धुलोलाई
त्यसपछि
केएल सिसीको तिर्सना मेटाउन
धरहरालाई नियाले
यहिबेला ग्यान्टिङ हाइल्याण्डको स्वरुप बोकेर
आँखै सामुन्ने ठडियो नागार्जुन डाँडो ।

दाइ
हजुरले भने जस्तै
घर पुग्नु अगावै मैले
दाँवलीहरुको एक लस्कर
र,
मायालुहरुको एक हुल भेटाँए
शरदीय पवनको हल्का हल्का झोक्कामा
बयली खेलिरहेको सालिमोको एक बुच्को हातमा लिएर
टोलाई रहे उनीहरु
मलाई देखेपछि उनीहरुले यस्तो ठने–
“सायद घाम, पश्चिमबाट उदाउँदैछ”
तर दाइ ज्यान परदेशी भए पनि
मन घरदेश मै छोडेर हिंडेको म
कत्ति पनि परिर्वन भएको थिइनँ
त्यसैले त
पशिनाको तितो गन्ध
उनिहरुको ज्यानबाट आइरहे पनि
घ्वाम्लाङ्ग अँगालो हाले
र,
असमय मै खोविल्टो परेको गालामा
सुमसुमयाई रहें धेरै बेर ।

दाइ,
आज पनि म सम्झदैछु
खुट्टै चिप्लेला जस्तो ती चिल्ला सडकहरु,
सगरमाथा झैं
ठडिएका ती गगनचुम्बी भवनहरु
र,
हिउँ जस्तै गोरी सायाङका
लोभलाग्दा बदन
तर दाइ
ती त सबै भ्रम रहेछन्
फगत सपना जस्तै
यर्थात त यही रहेछ
सातपत्र टालेको सडक
सडक किनारामा फालेको फोहोरको दुर्गन्ध
र,
निशुःल्क पाइने धुले पाउडर
त्यसैले त दाइ
ती नागीहरु, भञ्ज्याङ र देउराली–चौतारीहरु
खोला र नदिहरु
हजुरको आगमनको प्रतिक्षामा
बसी रहेका छन् उसैगरी
हिजै मात्र मदेशबाट
पहाड उक्लिएकी सिम्मालाई
सबैले एकै स्वरमा सोधेछन्
दाइ कहिले आउनु हुन्छ ?
दाइ कहिले आउनु हुन्छ ?

मलेसियाबाट फर्कने क्रममा आदरणीय दाइ मनि राई ‘गोठाले’ ले मलाई उपहार स्वरुप दिनु भएको कविताको भावमा बहकिन्दै लेखिएको कविता ।

कविता

स्वर्ग

एउटा सानो गाउँ
जहाँ मेरोसँगै
केही थान कवि/कलाकारको घर
केही थान गायक/संगीतकारको घर
र,
सबैलाई पायक पर्ने ठाउँमा
होस् एउटा सानो भट्टी पसल
जहाँ हरेक साँझ भेला भएर
भटमास र साँधेको गुन्द्रुकसँग लोकल रक्सी घुट्काउँदै
सुन्न र सुनाउन पाईयोस् सिर्जनाहरु
आहा !
मैले खोजेको स्वर्ग त्यही पो हो कि ?

कविता

परदेशको आह्वान
          
बाँच्नुको बिवसतामा
सपनाहरुलाई रक्सीसँग साटेर
जिन्दगीनै तन्–तन् पिउनुभन्दा
आऊ हौ साइँला बरु यतै
कम्तीमा यहाँ
हरेक रात बेहोसीमा
स्खलित त हुनु पर्दैन

जोडिनुको बाध्यतामा
असत्यलाई सत्य भन्दै
सत्यलाई असत्य भन्दै
राजनीतिको रङ्गमा लछप्पै भिजेर
आफ्नै मनलाई पटक–पटक मार्नुभन्दा
आऊ हौ साइँला बरु यतै
कम्तीमा यहाँ,
बेश्या गणतन्त्रसँग
सहवास त गर्नु पर्दैन ।

हार र जीतको नौटङ्की
डबलीमा चलिरहेको बेला
दर्शकदीर्घामा बसेर
ताली पड्काउँदा पड्काउँदा
थकित भएको हातले
आफन्तकै भाग खोसेर
जाबो यो पापी पेट भर्नुभन्दा
आऊ हौ साइँला बरु यतै
कम्तीमा यहाँ
अरुको पसिना माथि
बलात्कार त गर्नु पर्दैन ।

यति हो,
पूर्खाको चिहान र चौतारीसँग
सन्तानको मायाँ र ममतासँग
केही वर्ष टाढिनु पर्दा
मन दुख्न सक्छ
तर,
आमालाई बेश्यालयमा पठाएर
स्वास्नीसँग सुहागरात मनाउनुभन्दा
आउ हौ साइँला बरु यतै
कम्तीमा यहाँ
कविता त लेख्न सकिन्छ ।

कविता

परदेश र सपनाहरु

परदेशमा छु
सपनाहरुको बीचमा

अनिकाल लागेको साल
बाजेले जिम्मावाललाई बन्धकी दिएको खेत उकासेर
आफ्नो नाममा लालपूर्जा लेखाउने
धमिलिन्दै गएको आपाको सपना
र,
बिहीबारे हटियामा चाँदी मोहर तिरेर किनेको
खुइलिसकेको पित्तले एक जोडा कुण्डललाई फालेर
आधा तोलाकै किन नहोस् कानमा
सुनको मारवाडी लगाउने आमाको सपना
अचेल परदेशसँग जोडिएको छ ।

धम्कीले गलाई सकेको हलगोरु
सस्तैमा खरिदेलाई लघारेर
त्यही पैशामा थपथाप गरी
एक जोडा ठिल्लर बहर जोड्ने दाजैको सपना
र,
चाइनिज मोबाइलको सानो स्क्रिनमा
अस्पष्ट देखिने हिरो–हिरोइनको
काल्पनिक प्रेम कथामा हाँस्दै–रुँदै
आधा उमेर काटिसकेकी बढी कन्या नानाको
ठूलो टेलिभिजन किन्ने सपना
अचेल परदेशसँग जोडिएको छ ।

सेकेण्ड ह्याण्ड वा थर्ड ह्याण्ड जे होस्
एकापट्टिको लुकिङ ग्लासमा हेल्मेट झुण्डाएर
भरखरै खनिएको कच्ची सडकमा
मोटर साइकल ओहोर–दोहोर पार्दै
दामलीहरु माझ आफूलाई बेग्लै देखाउने भाइको सपना
र,
भरखरै खुलेको कम्प्यूटर इन्टिच्युट धाएर
मुस्किलले किबोर्डमा हातको औंला राख्न सक्ने भएकी
प्लस टु पढ्ने बहिनीको ल्यापटप चलाउने सपना
अचेल परदेशसँग जोडिएको छ ।

जेठाबुढा तिप्पाहरु
मदेश बासाइँ झरेपछि
सालेन्नी अधियाँमा कमाउँदै आएको गैह्री खेत
आपाको ज्यू छँदै सँगोलमा किन्ने भाउजूको सपना
र,
माइतिहरु–
बेचविखन गरेर पुख्र्यैली नासो
बसाइँ हिँडेपछि
अलिकति कुँडिएकी श्रीमतिको
माइती घर नजिकै
सके एक विगाह, नसके केही कट्ठा जमिन किन्ने सपना
अचेल परदेशसँग जोडिएको छ ।

पोहोर मावली घर जाँदा
मामैले चलाउने हिरो साइकल देखेपछि÷चढेपछि
त्यस्तै साइकल किनेर धित मरिञ्जेल चलाउने
छोरोको घुर्मैलो सपना
र,
दाहिने हातको बुढी औंलो समातेर टुकटुकु हिंड्दै
केही पर पुगेपछि
‘पापा हाक्की’ भन्दै
मेरो काँधमाथि चढेर घर वरपर डुल्ने
मेरी सानी छोरीको सपना
अचेल परदेशसँग जोडिएको छ ।

र,
अरुका सपनाहरुलाई
अलिअलि छिमलेर÷अलिअलि चिमटेर
केही महिना पछि
जाँगर चल्दा लेखिटोपलिएका
दौतरी कविताहरुको संगालो
परदेशमै निकाल्ने
मेरो वैयत्तिक सपना पनि
अचेल परदेशसँगै जोडिएको छ ।


शब्दार्थहरु
आपा : बाबु
नाना :दिदी
तिप्पा : बडाबाऊ

कविता


युवाहरु
युवाहरु हरेक दिन
म्यानपावर नामको मानव विक्री केन्द्रमा
बुझाएर आफ्नै मूल्य
अध्यागमनमा हरियो पासपोर्ट हल्लाउँदै
जेट चढ्छन्
र,
हराउँछन् सपनाको सहरमा ।

यूवाहरु,
हरेक तरुनी साँझ
भेला हुन्छन् भट्टिपसलमा
वैशको उन्मादसँगै
विदेशी रक्सीको चुस्की तानेर
टेवलमा मुड्की बजार्छन्
र,
बोल्छन् अमृत वाणीहरु
मा.....
...को छोरो
यो खातेहरुको देशमा
कस्ले जन्मायो ?

यूवाहरु
हरेक आन्दोलनमा अघि–अघि हुन्छन्
टायर बाल्छन्/ढुङ्गा फाल्छन्
नारा लाउँछन्/जयजयकार गाउँछन्
तर एउटी अर्धनग्न हिरोइनको तस्विर बोकेर
ट्वाईलेट छिर्न साथ
जम्मै खलाँस !

यूवाहरु
हरेक चुनावमा परिचालित हुन्छन्
गाउँमा/शहरमा
टोलमा/वस्तीमा
र, भोट माग्छन् अर्कैको निम्ति
आखिर विर्सिएको लौरो न हो ऊ
चुनावपछि
खोलाको किनारमा
गाईरहन्छन् अविराम शोक धुन ।

यूवाहरु,
कोही विदेशमा
कोही भट्टीमा
कोही ट्लाइलेटमा
कोही खोलामा
अनि त हुन्छ देश
प्रधानमन्त्री शुशिल कोइरालासँगै बेडमा लम्पसार
अमेरिकाको एक क्यान्सर अस्पतालमा ।


गजल

एक पटक मात्र होइन हजुर, बारम्बार हुन्छ यहाँ
राज्यको ढुकुटी रित्याई नेताको, उपचार हुन्छ यहाँ

साधरण जनतालाई म्याद गुज्रेको, त्यो सिटामोल बाँडेर
नेता विदेशी अस्पताल पठाउने, सरकार हुन्छ यहाँ

पत्याउनै पनि पो गाह्रो भैसक्यो, को सद्दे को बिरामी ?
एउटा फिर्न पा’छैन अर्को जान, तम्तयार हुन्छ यहाँ


देशमा सुविधा सम्पन्न अस्पताल, नभएर नै पो हो की ?
नेताहरुको ध्यान–दृष्टी सधैं, सिमापार हुन्छ यहाँ

कुर्सीमा बसेकाहरुले बेलैमा, होस् पुर्याएनन् भने
यही गजलको कसमले भेटोस्—मारामार हुन्छ यहाँ
 

गजल


कोशी र गण्डकी बेच्यौ, बेच्यौ महाकाली
भए भरको नदी नाला, बेच यसपाली

गर आँखा चिम्लिएर, हस्ताक्षर तिमी
नहेर सम्झौता पत्र, भरी होस् वा खाली

हो आउँदैछन् ती मोदी, घुम्न काठमाण्डौ
चढाउ पानी उपहार, ठोकी–ठोकी ताली

गाह्रो होला तिमीलाई, मोदी फर्के पछि
सँग–सँगै जाऊ उतै, जङ्गे पिलर ढाली

सम्झ्या हौला जनतालाई, अझै लाटो मूर्ख
जलाउछौं तिम्रा हाडखोर पक्कै राँको बाली

Monday, July 21, 2014

गजल

आउँछ झल्को साकेलामा सिली नाचेको
लिम्चिङ बुङ शिरैभरि खिली नाचेको

त्यो दिन फेरि फर्किएर खै के आउला ?
समाई हात आपसमा मिली नाचेको

हातमा धनु समातेर, सोई सोई गाउँदै
कम्मर छेउ खुकुरी त्यो भिरी नाचेको

अचेल पनि नारथुङे सम्झी रहन्छ
वासिम थोरै चुपचाप निली नाचेको ।
शब्दार्थ :
लिम्चिम बुङ : किराती मिथकहरुमा बर्णन गरिएको एक लेकाली सुगन्धित फूल
साकेला : किरात राईहरुको महत्वपूर्ण पर्व
सिली : साकेलामा नाचिने नाच
सोई सोई :  सिली नाच्दा गाउने गीतको भाका (सोई सोईला)
वासिम : जाँड (चाम्लिङ भाषा)

गजल

यसो हेर्दा जीवन दुखै दुःख छ
दुःख भित्र पनि पक्कै सुख छ

चोखो के पो छ र ? यो संसारमा
आफ्नै मुखमा हेर थुकै–थुक छ

रात कालो होला मान्छु म पनि
किन्तु कालो वस्तु अझै चुक छ

घाम लाग्दा पोल्छ तातो तापले
त्यही ताप छेक्ने यहाँ रुख छ

पीडा होला हिड्दा कुनै यात्रामा
त्यसैले त भन्नलाई यो मुख छ ।

गजल

तिखा–तिखा काँडा पनि, माटै बन्छ एक दिन
आलो–तातो घाउ पनि, खाटै बन्छ एक दिन

आज हेर्दा अघिल्तिर, ठूलो पहरा छ
हेर्दै जाऊ मित्र यहाँ, बाटै बन्छ एक दिन

पाखाभरि सुनगाभा, गुँरास फुल्या छन् रे
तिनै पाखा थलै–थलको, पाटै बन्छ एक दिन

सानो जमघट देखिदैछ ,त्यहाँ हिजो आज
जमघट अझै थपिएर, हाटै बन्छ एक दिन

अन्तिम सत्य यही भन्दै, बाठो बोलीरा’छ
पक्कै तिनै बाठोहरु लाटै बन्छ एक दिन

गजल

सन्तानको खातिर सधैं, भोकै बस्छन् आमाहरु
खाली पेट पटुकीले, हाँस्दै कस्छन् आमाहरु

छोराछोरी हुर्के पछि, पुग्छन् टाढा रमाउँदै
रुदै रुदै घर भित्र, एक्लै पस्छन् आमाहरु

हुर्की–बढी गर्ने–भन्ने, भए पनि छोराछोरी
दिनरात हातपाउ, आफै धस्छन् आमाहरु

जति सुकै बिघ्न बाधा, परे पनि जीवनमा
मुहारमा  ममताको,  चाँद घस्छन् आमाहरु

सन्ततिको भागमाथि, पराईले बिष पोखे
बिष आफै घुट्क्याएर, उल्टै डस्छन् आमाहरु ।

गजल

फेरि पनि अतिहरु चल्मलाउँदैछन् यहाँ
सोझा–सिधा जनतालाई अल्मलाउँदैछन् यहाँ

मरेको त्यो लास पनि ब्यूँतिई आउँछ भन्दै
मद मस्त बेहोसीमा बरबराउँदैछन् यहाँ

अँध्यारोमा देशलाई हिजो लुट्नेहरु आज
थोरै छायाँ पर्दा पनि सल्बलाउँदैछन् यहाँ

पक्कै अर्को आँधी उसले चाहेर पो होकी के हो ?
जनताको मौनता यो खल्बलाउँदैछन् यहाँ

गर्नै पर्छ खबरदारी निस्की सडकमा अब
हाम्रै आस्था पनि कतै ढल्मलाउँदैछन् यहाँ

गजल

आफ्नै घर जलाई आगो ताप्न नखोज मान्छे
निर्धा भाइ मारेर तक्मा थाप्न नखोज मान्छे

दिन सक्छौ त देऊ खुसी के पो जान्छ र तिम्रो ?
किन्तु भाग खोसेर आफै खाप्न नखोज मान्छे

होचो–अग्लो हुनु त यहाँ रितै हो प्रकृतिको
एकै सुता लिएर सबै नाप्न नखोज मान्छे

दिनु लिनु बराबर भए, चल्छ अनि यो संसार
पाटा एकै भएको सिक्का छाप्न नखोज मान्छे

कहाँ हुन्छ सहज यात्रा, देश दुखेको बेला ?
हुतिहारा भएर फेरि काँप्न नखोज मान्छे ।

गजल

देशको पीडा, बुझ्ने कुनै मन भएन की ?
आमा रुझ्दा, रुझ्ने कुनै मन भएन की ?

दुखी रै’छ बेग्ला बेग्लै, ब्यथा नेपालीको
सँगैसँगै दुख्ने कुनै मन भएन की ?

फेरि पनि, देशभित्र, राज्य युद्ध कै छ
युद्धसँग जुध्ने कुनै, मन भएन की ?

रातै देख्छु निधारमा, टीका अझै पनि
निलो रङ्ग मुछ्ने कुनै, मन भएन की ?

रोई रा’छिन् आमा अचेल, हेर्दै बाटो मेरो
जन्मभूमि पुज्ने कुनै मन भएन की ?

गजल

नेपाल सबै नेपालीको साझा बन्नु पर्छ
मैले जस्तै तिमीले नि हुन्छ भन्नु पर्छ

हेर्नु हुन्न एकलाई आफ्नो छेउ राखी
धर्म, जात, सम्प्रदाय सबै गन्नु पर्छ

बाँझै होलान् मनको कुना अझसम्मै पनि
समानताका बिऊ छर्न आजै खन्नु पर्छ

धानसँगै भुस पनि होलान् भकारीमा
त्यसैले त सबै मिली यो निफन्नु पर्छ ।

गजल

गजल
कहाँ बाँध्नु लाछा डोरी केसै नरहे
के को तेरो के को मेरो देशै नरहे

भत्काएर पुरानो त्यो टुङ्गो नलाए
कता चाल्नु गोडा फेरि मेसै नरहे

आजै रित्तो बनाएर पुख्र्यौली चिनो
के पो छोड्नु सन्तानलाई शेषै नरहे

सबैथोक भए पनि, रहन्छ र नेपाल ?
भाषा, संस्कार, संस्कृति र भेषै नरहे ।

गजल


जति दुख्नु दुख्यो देश, दुख्नु हुदैन अब
नेपालीको इमान कतै चुक्नु हुदैन अब

शान्ति, प्रेम, मानवता हाम्रो गौरब गाथा
यीनै आस्थाहरु अझै झुक्नु हुदैन अब

सत्य कुरा बिर्सिएर फेरि विगत जस्तै
आकाशतिर फर्किएर थुक्नु हुँदैन अब

आँटे पछि गर्नै पर्छ, नत्र कुकुर सरी
बिना अर्थ एकोहोरो भुक्नु हुदैन अब

उठ्नु पर्छ सबै जना, देश ब्यूँझिए पछि
श्रम गर्ने बेला आयो लुक्नु हुदैन अब

चाल्नै पर्छ गोडाहरु, जोश जाँगर बोकी
कुनै पनि बाहानामा रुक्नु हुदैन अब ।

गजल

उज्यालो भो पूर्व दिशा जाग मेचीकाली
देशलाई  सजाउन लाग मेचीकाली

नभत्काई पुरानो त्यो नयाँ कहाँ बन्छ ?
थोत्रो सीमा–सर्तहरु नाघ मेचीकाली

मसँग छ श्रम गर्ने पाखुरी र जाँगर
के चाहिन्छ तिम्रो लागि माग मेचीकाली

हत्या–हिंशा, अन्धकारमा बस्नु हुन्न अब
जति सक्छौ अझै टाढा भाग मेचीकाली

गाह्रो होला ‘इन्द्र’ लाई तर्न भेलबाढी
त्यसैले ती दुई हात टाँग मेची काली ।

गजल

संसार हो फूलबारी मालीको काम हाम्रो
नेपाल हो साझा घर, नेपाली नाम हाम्रो

पसिना पोखी यहाँ, उमार्छौं हिरामोती
किसानको छोरो हामी, माटो नै धाम हाम्रो

इमानी जन हामी, सहासी, वीर पनि
पर्दैन खोज्न कहीँ मनमै छ राम हाम्रो

बुद्घको नासो हामी, तेञ्जिङको हाँसो हामी
सक्दैनौ मूल्य तिर्न नसोध दाम हाम्रो

शान्तिको दियो ढाली प्रेमको गला रेट्न
नगर जालझेल दायाँ छ घाम हाम्रो ।


गजल

प्राणभन्दा धेरै माया देशको
अघी–पछि सधैं छायाँ देशको

अझै हुन्छ बुढो रुप अमिल्दो
कोर्नु पर्छ खाका नयाँ देशको

खानेहरु थोरै हेर्ने छन् हजार
फेर्नै पर्छ अब काया देशको

अनुहार हेर कति कुरुप
फाल्नै पर्छ काला चाँया देशको

मेचीकाली बनी सधैं साँधमा
बस्नु पर्छ दाँया बाँया देशको ।

गजल

रित्तिरहेछ सुन्दर जवानी, त्यसैले म पीरमा छु अचेल
सिध्दिरहेछ यो जिन्दगानी, त्यसैले म पीरमा छु अचेल

मान्दैन पक्कै यो मन मान्दैन, तर पनि यहाँ कस्को छ आदेश
छोड्नु छ मैले यो घाम पानी, त्यसैले म पीरमा छु अचेल

मलाई नसोधी प्राण पखेरु, उडेर जान्छ तब मेरो निम्ति
हुँदैन फेरि साँझ विहानी, त्यसैले म पीरमा छु अचेल

आफ्ना आफन्त सबैलाई छोडी, बिरानो कुन त्यस्तो शहरमा
जानु छ एकै बनी खरानी, त्यसैले म पीरमा छु अचेल

Saturday, July 19, 2014

गीत


दुध कोशीको दुधै पानी सुनकोशी सुन
उमेर भन्दा महंगो भो मदेशको नुन
अग्लो भन्नु टेम्के डाँडो सेल्मे हाराहारी
ढाक्रे दाइको तोक्मा भन्छ कहाँ बिसाउँ भारी

छोरानाती जन्मे हुर्के, अहिले लाखापाखा
बाउबाजेको मौलो माथि किन प¥थ्र्यो आँखा ?
कोही युरोप–अमेरिका, कोही पस्यो सहर
कस्ले बुझ्ने कठै ! हजुर बुढ्यौलीको कहर

टारबारी बाँझै बस्यो, सिमखेत पहिरो पस्यो
मक्किएको घरको धुरी रिनै रिनले कस्यो
तल हे¥यो सावा दोभान माथि तारे भीर
जीवनको बोझभन्दा मलामीकै पीर
गीत

वारी पर्यो खोटाङ बजार पारी चिसापानी
सानै भूलमा रिसाउने कस्तो तिम्रो बानी
नहेरन डर लाग्छ आँखा तानी तानी
छेउमै आई बसिदेउन मेरी मनकी रानी

सुम्निमाकी सखी हौ कि पारुहाङकी छोरी
छुँदै मैलो लाग्ला गाँठे हिउँ जस्तै गोरी
थाहै नदिई त्यो मन आज लगिदिउँकी चोरी
आशै आशमा फालिदिउँकी जाली बल्छी डोरी

सुहाउने छिटको सारी मखमली चोली
बिनायोको धुन भन्दा मिठो तिम्रो बोली
आँखा जुध्यो पहिलो भेट्मा छुट्यो मनमा गोली
आजै तिम्रो हात माग्छु नभनिदेउ भोली

गीत

देउता सम्झी ढुङ्गा मैले पुजेको रहेछु
एक्लै एक्लै झरी माझ रुझेको रहेछु

सँगै हिड्दा उनले हात समाए झैं लाग्थ्यो
एकान्तमा साथै बस्दा रमाए झैं लाग्थ्यो
कहाँ हुन्थ्यो छाँगाबाट खसेको रहेछु
देउता सम्झी ढुङ्गा मैले पुजेको रहेछु

आँशु जति मेरो पेवा हाँसो तिम्रै भन्थ्यौ
जिन्दगीको तितोमीठो नासो तिम्रै भन्थ्यौ
कहाँ हुन्थ्यो झुटो जालमा फसेको रहेछु
देउता सम्झी ढुङ्गा मैले पुजेको रहेछु

गीत

तिमी नभएको गाउँ अँध्यारो
तिमी नभएको ठाउँ अँध्यारो
दुनियाँमा तिमी सबैभन्दा प्रीय
तिमी बाहेक अरुको नाउँ अँध्यारो

तिमी चन्द्रमा हौ म छाँया केवल
तिम्रै निम्ती हो, यो माया केवल
म सुनगाभा हुँला, सुवास तिम्रै
मुटु मात्र मेरो, बास छ  तिम्रै

सधैं खेल्ने तिमी यिनै आँखा भित्र
हृदयमा केवल तिमै्र मात्र चित्र
नशा भित्र बग्ने रगत तिमी हौ
मेरो एक प्राप्ती फगत तिमी हौ ।

गीत

एकोहोरो आफै मात्र धाउँदै धाउँदिन
जहाँ सर्मपण नै छैन
 भो त्यस्तो माया मत लाउँदै लाउँदिन

गल्ति हुँदा पनि माफ हुनु पर्छ
हाँस्दा सँगै हाँस्नु रुँदा रुनु पर्छ
जहाँ मनले मनलाई सधैं छुनु पर्छ
एकोहोरो बोलाउ म आउँदै आउँदिन
जहाँ समर्पण नै छैन
भो त्यस्तो माया म त लाउँदै लाउँदिन
कोरस.....
सुनगाभा भीर पाखा फुल्छ बनैमा
बचनमा हुन्न माया हुन्छ मनैमा


यात्राहरुमा कसैको साथ नभए
एक्लै हुँदा आपसमा विश्वास नरहे
भावनामा सँधै सँग–सँगै नबहे
संगित बजिरहोस् म गाउँदै गाउँदिन
जहाँ समर्पण नै छैन
भो त्यस्तो मायाँ म त लाउँदै लाउँदिन
कोरस.....
सुनगाभा भीर पाखा फुल्छ बनैमा
बचनमा हुन्न माया हुन्छ मनैमा



गीत

अहिलेसम्म ज्यूनुको मूल्य थाहै भएन
थाहा पाउँदा बैंस आफ्नो वसमा थिएन

हरौं हजार गल्तीहरु गरिसकेछु जिन्दगीमा
ओइलाएको फूल जस्तै झरिसकेछु जिन्दगीमा
अहिलेसम्म जीवनको रंग थाहै भएन
थाहा पाउँदा बैंस आफ्नो वसमा थिएन
कोरस....
(जीवन महंगो छ दाजै खेर नफाल
ज्यूनु पर्छ अझ धेरै माया नमार)

हिंड्दा हिंड्दै गोरेटोलाई छोडी आँए दोबाटोमा
जिन्दगीको अर्थ मैले भेट्न पाएँ दोबाटोमा
अहिलेसम्म जीवनको अर्थ थाहै थिएन
थाहा पाउँदा वैंस आफ्नो वसमा थिएन
कोरस....
(जीवन महंगो छ दाजै खेर नफाल
ज्यूनु पर्छ अझ धेरै माया नमार)

गीत

पैशा तिरेर किन्न पाए कति धेरै खुसीहरु किन्थे होला म
वितेका पलहरु फर्किएर आए सायद सर्वश्वनै दिन्थे होला म

कति मायालाई जुठो ठानियो, कति मायालाई झुटो ठानियो
चोखो पिरतीलाई बन्धकी राखी छक्का–पञ्जा दाउ कति हानियो
त्यसरी नै उनले मायाँ मलाई दिए,
हाँसी–हाँसी उनको माया लिन्थे होला म
वितेका पलहरु फर्किएर आए सायद सर्वश्वनै दिन्थे होला म

पश्चतापमा आज जलिरहेछ, भित्र–भित्रै हुरहुरी बलिरहेछु
खोक्रो स्वाभिमानको पहाड भत्कियो, म भुइँमा एक्लै ढलिरहेछु
आऊ भन्दै बोलाए हातको इसाराले,
उनकै पछि सधैं हिंड्थे होला म
वितेका पलहरु फर्किएर आए सायद सर्वश्वनै दिन्थे होला म

गीत

फर्केर आयो बासको चरी, फर्केनौ निष्ठुरी
जिन्दगी भरि पर्खिन्छु भन्थ्यौ, पर्खेनौ निष्ठुरी

आँसुको धारा नसुकेसम्म रोएरै बसिछु
सम्झना तिम्रो छुट्लाकी भनि दह्रिलो कसिछु
घाम डुब्यो रात वितेर गयो फर्केनौ निष्ठुरी
जिन्दगी भरि पर्खिन्छु भन्थ्यौ, पर्खेनौ निष्ठुरी

सपनाभरि तिमी नै हुन्छौ ब्यूँझदा अकेली
आफ्नो यो गति, तिम्रा ती नासो सम्हालौं कसरी
साँझ बत्ति बाली पर्खेर बसें, फर्केनौ निष्ठुरी
जिन्दगी भरि पर्खिन्छु भन्थ्यौ, पर्खेनौ निष्ठुरी ।

गीत

सोल्मेको पाखैभरि गुराँश फुल्ने बेला
शरदले छोए पछि आकाश खुल्ने बेला
आउनु है आउनु खोटाङ घुम्नलाई
प्रकृतिको सौन्दर्यमा सँगै झुम्नलाई

तोयामाको तान हेर्न तुवाचुङ जाउँला
रावाको माछासँगै मार्सीको भात खाउँला
हलेसीलाई साँछी राखी चोखो माया लाउँला
रुपाकोटमा लैबरीको भाकासँगै गाउँला
ट्याम्के लेकमा हिउँ सेतै झर्ने बेलामा
साकेलाको हाट बजार भर्ने बेलामा
आउनु है आउनु खोटाङ घुम्नलाई
खोटाङेको मायामा सँगै झुम्नलाई

छोरम्बुको सुन्तालाले प्यास मेटाउँला
जन्तेढुङ्गो, धिप्लुङ छाँगो सबै भेटाउँला
बाराहामा जोडी पंक्षी सँगै उडाउँला
सुनकोशीको तिरैतिर मोटर गुडाउँला
खिदिमाको आलुबारी खन्ने बेलामा
रोक्सिम भञ्ज्याङ हरियाली बन्ने बेलामा
आउनु है आउनु खोटाङ घुम्नलाई
प्रकृतिको सौन्दर्यमा सँगै झुम्नलाई

गजल

जसको असल नियती हुन्छ
खराब कुरामा विमती हुन्छ

दुःख त होला शुरु–शुरुमा
पछाडि पक्कै प्रगति हुन्छ

तितो भनेर हेला नगर
त्यसैमा धेरै ओखती हुन्छ

मरेर जाँदा लान जे मिल्छ
त्यही नै आफ्नो सम्पति हुन्छ

पशिना आज माग्दैछ देशले
खुसी साथ दिन्छु जे–जति हुन्छ ।

गजल

खुसीमा पनि आउँछ, दुःखमा पनि आउँछ
अभागी यी नयनलाई यहि आँशु सुहाउँछ

जस्को निम्ति भनेर यी बोझहरु उठाएँ
त्यसैले नै आज धेरै, धेरै यो मन रुवाउँछ

निर्दयी हो कि समय, या हो परिवेश यस्तै
भाग्यले पनि मलाई, घरि–घरि छक्याउँछ

खोला पो हो कि जीवन, खहरे सपनाहरु
तारेर लैजाउँ भन्दा, सधैं–सधैं बगाउँछ

त्यो भब्य स्वर्ग लोकमा, चल्दैन केही इन्द्रको
यति कम्जोर छ ऊ आज, जसले पनि नचाउँछ

गजल

सीप चल्यो श्रम चल्यो पानी चलेन
नेपालमा यस्तो रीति अझै ढलेन

नेता बस्ने महल बन्यो, भान्सा फेरियो
गरिब–दुःखी जनताको चुल्हो बलेन

बल्नु बल्यो कालो टायर बीच सडकमा
तर कालो नियम कानुन जल्दै जलेन

मल आयो, बिऊ आयो गाडी चडेर
कमिसन र घुस बढ्यो अन्न फलेन

नेता, नीति, नियम–कानुन अव फेरिन्छ
पुरानोले घाम–पानी छल्दै छलेन

सम्बन्ध (Poem)

पुरुष,
कुनै नारीको सामिप्ता बिना
एक क्षण बाँच्न सक्दैन
र, पनि ऊ सबैभन्दा धेरै
नारीलाई नै गाली गरिरहेको हुन्छ
नारी,
पाइला–पाइलामा पुरुषबाट
प्रताडित नभएको त्यस्तो क्षण नै छैन
तर पनि ऊ
एउटालाई छोडेर अर्कोलाई अंगाली रहेको हुन्छ ।

गजल

तिम्रो पछि लागेपछि बिग्रिएँ म भन्छन् सबै
आफन्तको नजरमा निख्रिएँ म भन्छन् सबै

मैले दे’को तिमीलाई फगत यही माया न हो
शिशिरको रुख जस्तै सिक्रिएँ म भन्छन् सबै

मर्यादाको सीमाहरु नाघ्या छैन मैले यहाँ
बोल्दा हाँस्दा तिमीसँग इत्रिएँ म भन्छन् सबै

आजसम्म बाँची रा’छु तिम्रै निश्छिल सहारामा
तर उल्टै दुनियाँमा सिद्धिएँ म भन्छन् सबै

गजल

सबैलाई यहाँ गुटले बिगार्यो
गुटभित्र पाउने छुटले बिगार्यो

जोड–घटाउ गर्दा सबैभन्दा धेरै
सरकारी ढुकुटी लुटले बिगार्यो

नाङ्गा–भुतुङ्गा मानिसले होइन
कोट, टाइ अनि सुटले बिगार्यो

न्याय, प्रशासन, राजनीति भित्र
अपराधीहरुको जुटले बिगार्यो

डाँडा कटाईन्थ्यो लुटेराहरुलाई
तर जनताको फूटले बिगार्यो

गजल

गजल
नौनी जस्तो कोमल यो मन ढुङ्गा बनाएको छु अचेल
एकतर्फी मात्रै चल्ने डुङ्गा बनाएको छु अचेल

तिम्रो शिरमा सजिएर बस्न सधैं नपाएपछि
मन–मन्दिरमा चढाउने थुङ्गा बनाएको छु अचेल

सारंगी त्यो रेट्दा–रेट्दा हातै गल्यो, काँधै गल्यो
त्यसैले त धेरै सानो मुचुङ्गा बनाएको छु अचेल

हिँडाउनै गाह्रो भा’थ्यो नाथे फिस्टे ज्यान पनि
जिम्मेवारी पन्छाएर हलुङ्गो बनाएको छु अचेल

कति अटोस् बैदाममा मानिसको लावा–लस्कार
मन बिसाउने ठाउँ मैले टुटुङ्गा बनाएको छु अचेल


शब्दार्थ :
बैदाम : पोखराको लेक साईड
टुटुङ्गा : पोखरा उपमहानगर पालिकाको छेउमा रहेको एक ठाउँ

गजल

नयाँ पेन्ट टालिएनकी
कानमा मुन्द्रो हालिएनकी

तान्ने, सँध्ने जम्मै सकेर
छाला घोप्न थालिएनकी

भट्टी, डिस्को, डान्स, दोहोरी
सबै ठाउँ चालिएनकी

आँखा छली बाऊको पैशा
खल्ती भित्र हालिएनकी

अर्ति–बुद्घि दिएको बेला
रिश उल्टै पालिएनकी

सधैभरि आफ्नै गल्तीले
घरमा आगो बालिएनकी

साना–तिना अगाडि पर्दा
मुक्का हानी ढालिएनकी

उसबेला लागेको दाग
अहो ! खै पखालिएनकी ?

गजल

खोजिरहेछु यहाँ गाथा तुवाचुङको
रोजिरहेछु यहाँ यात्रा दायलुङको

मेरै सुख–दुःखमा, सधैं फुली दिने
सम्झिरहेछु यहाँ माया लिम्चिङबुङको

हरेक साँझ–विहान, मुधिम्मा उधिनेर
बचाईरहेछु यहाँ कथा मित्तसुङको

अहो ! जिन्दगीमा सिम्मा आएपछि
बुझिरहेछु यहाँ मूल्य उम्छानुङको

गजल साहित्यको अग्लो चाङमाथि
थपिरहेछु यहाँ सत्ता नारथुङको

शब्दार्थ :
१) तुवाचुङ :   एक किराती मिथकका पात्र हेछाकुप्पा (रेछाकुले) को दिदीहरु तोयामा र खियामाले तान बुनेर     नयाँ सभ्यताको विकास गरेको ठाउँ, यो ठाउँ हाल खोटाङ जिल्लाको अर्खौले र महादेवस्थान (हलेसी)             गाविसको सिमानामा पर्छ ।
२) दायलुङ :     अगेनाको चुला ढुङ्गाहरु
२) लिम्चिमबुङ : किराती मिथकहरुमा वर्णन गरिएको एउटा सुगन्धित लेकाली फूल । यो फूल राम्रोसँग फुल्दा   किरातीहरुलाई राम्रो हुने र असमयमै ओइलाए किरातीहरुलाई नराम्रो हुने विश्वास अझै गरिन्छ ।
३) मुधिम्मा :    खरानी
५) मित्तसुङ :     अगुल्ठो वा आगो बचाउन हरेक साँझ अगोनाको खरानीभित्र गाडेर राख्ने मोटो दाउरा
६) उम्छानुङ :     छोरा–छोरीको नामबाट आमा–बाऊको नामाकरण गरिएको नाम ।
७) नारथुङ :    नारथुङ्छा, अर्थात चाम्लिङ राईहरुको एक पाछा । यो पाछाको राईहरुको पुख्र्यौली बसोवास क्षेत्र खोटाङ   जिल्लाको इन्द्राणी पोखरी गाविस भए पनि पाँचथर र झापाको झिलझिलेमा बढी भेटिएका छन्



गजल

नअस्ताउने घामहरु खोजिरहेछु
हराम भित्रै रामहरु खोजिरहेछु

नचम्किएका हिराहरु साथ बोकेर
अज्ञात तिम्रा नामहरु खोजिरहेछु

अन्धकारमा जुनकिरी मन बालेर
हराईएका खामहरु खोजिरहेछु

स्वार्थीहरुको नगरमा एक्लै बसेर
सहर भित्रै गामहरु खोजिरहेछु

मान्छेहरुको हुलमुल भित्रै पसेर
मान्छेहरुकै लामहरु खोजिरहेछु

देवता हैन साधरण ‘इन्द्र’ भएर
धरातलमै कामहरु खोजिरहेछु ।




गजल

को पो होला र सुखी न्याय मरेको देशमा
एकै जातिले एक्लै राज्य गरेको देशमा

करोड भोकै हुन्छन् अघाउँछन् एक ब्यक्ति
टाठा बाठाले गोजी टन्नै भरेको देशमा

मिचिन्छन् सीमा सधैं, हराउँछन् लाला–बाला
छिमेकी मुखियाको आँखा परेको देशमा

हराउँछन् राती–राती बोली र बचनहरु
नाङ्गा साधुले दिउँसै दागा धरेको देशमा

रहन्न यस्तो अब, कसम खाई भन्छु
हेपिएका मान्छेहरु अघि सरेको देशमा



गजल

कति कुटिन्छन् सहरमा आँखै अगाडि
कति लुटिन्छन् सहरमा आँखै अगाडि

वर–बधुले सुहारात मनाएकै दिन
कति छुटिन्छन् सहरमा आँखै अगाडि

हरेक साँझ घान बनी आफै ढिक्कीमा
कति ढुटिन्छन् सहरमा आँखै अगाडि

भट्मास न हो मिल्नै पर्ने मकैसँग
कति भुटिन्छन् सहरमा आँखै अगाडि

मध्य दिउँसै प्रियतमको काखबाट
कति थुतिन्छन् सहरमा आँखै अगाडि

तानी रहँदा तुइनको त्यो डोरी जस्तै
कति चुटिन्छन् सहरमा आँखै अगाडि

आज सबेरै धर्तीमा ‘इन्द्र’ झर्दैछन्
कति हुतिन्छन् सहरमा आँखै अगाडि

गजल


धुलोले जताततै ढाकेको राजधानी
तर पनि सबैले ताकेको राजधानी

गाडीको धुँवा जस्तै नेतृत्व गन्हाउँदा
पटक–पटक यात्रुले वाकेको राजधानी

वैशालु यो जवानी सम्हाल्नै नसक्दा
विकृतीले जेलमा जाकेको राजधानी

दुखाईको के हिसाब ? गनी साध्य छैन
भित्र–भित्रै पिलो झैं पाकेको राजधानी

कहाँ पुग्नु पर्ने हो, अझै सुतिरहेछ
खै के गरी हिंडोस् यो, थाकेको राजधानी


गजल

कठै ! जिन्दगीमा रुवाउनु रुवायो पापी मायाले
पीरको दहभित्र डुबाउनु डुबायो पापी मायाले

यी ओंठले चुमेका तिनै हातहरुले विष घोलेर
कलिलो यो मुटु दुखाउनु दुखायो पापी मायाले

उनको खुसी हेरी सधैं रमाउने यी आँखा निर्दोषी
एकोहोरो आज पुछाउनु पुछायो पापी मायाले

सँगै ज्यूने–मर्ने सजायर मनमा मिठो सपना
यतिञ्जेलसम्म भुलाउनु भुलायो पापी मायाले

कलिला आँकुरा निमोठेर मार्ने खुनीहातहरु
प्रेमको पर्दा भित्र लुकाउनु लुकायो पापी मायाले

गजल

कसरी महान भनौं, यो देश लुट्नेहरुलाई
सानै स्वार्थको निम्ति, सधैं फूट्नेहरुलाई

ताली बजाई खाली उचाली रहेछौं सधैं
पराईको मान राख्न, आमालाई कुट्नेहरुलाई

अहो ! कस्तो हामी ? अझै विश्वास गर्छौं
हलो अड्काई गोरु, बेस्मारी चुट्नेहरुलाई

आँखा उघारी अब जनताले चिन्नु पर्छ
खाने बेलामा मात्र, एकठाउँ जुट्नेहरुलाई

लत्त्याई आऊ तिनले, दिएको जुठो–पुरो
आह्वान गर्दै छु म, पछाडि छुट्नेहरुलाई

गजल

कसेकै थिएँ लगन गाँठो कसिलो पारेर
नहुने रैछ पराई आफ्नो सिन्दुरले बारेर

दिएकै थिएँ निश्लछ माया ज्यु–ज्यान उनैको
उनिले माग्थिन् सकिन दिन जून–तारा झारेर

गाउँमै बसी पूर्खाको नासो सम्हालौं भन्थे म
लैजाउ भन्थिन् नौडाँडा पारी सागर तारेर

गोडमेल मैले गरेकै थिएँ सिञ्चेकै थिएँ जल
नबाँच्ने रै’छ औलाली फूल पहाडमा सारेर

उजाड भा’छ सवर्गमा आज इन्द्रको महल
खरानी घसी कुटीको बास छ सर्वश्व हारेर

गजल

के कुरा काट्नु गजल भित्र आवाराहरुको
भन्दिन हजुर त्यो राशलिला गालपाराहरुको

जता छ तातो त्यही नै सातो चलन यस्तै छ
म कति हेरौं यो नाटक संधै बेसाराहरुको

सुर कस्नु पर्छ बनाउने भए नविन नेपाल
भर पर्नु हुन्न यी बाह्रमासे ओथाराहरुको

राखेर देशलाई हानी भो धेरै सुन ए ! जनता
सफाया अब गर्नु नै पर्छ छेपाराहरुको

कलम भित्र राखेर मित्र यो कालो मसिले
संविधान अब लेखिनु पर्छ विचाराहरुको


गजल



h'w]sf] t gh/ lyof] t/ xnrn 5fof] dgdf
cgfof;} /x/x? knfP/ cfof] dgdf

clns k/ k'u]kl5 km]l/ kmls{ x]l/g\ ot}
Tof] x]/fO{n] k|]d pef/ aufP/ Nofof] dgdf

x[bodf ahL ¥x\of] l;tf/fsf w'gx?
ToxL a]nf sf]OnLn] Pp6f uhn ufof] dgdf

:d[ltsf kvf{nx? 9nfP/ ;kgLdf
s:tf] rfx d]6fpg /ftL–/ftL wfof] dgdf

36gfsf] bf]>f] lbg kl/0ffd o:tf] eof]
cfh}af6 gf/y'ª]n] a:g] 7fpF kfof] dgdf

गजल

जताततै भाँडभैलो हुन्छ नेता बिग्रिएको देशमा
राजश्व त निजी थैलो हुन्छ नेता बिग्रिएको देशमा

थिचिन्दा थिचिन्दा थाप्लो सधैं, विदेशी ऋणको बोझले
कालो केश पनि कैलो हुन्छ, नेता बिग्रिएको देशमा

भए भरको ढल जति सबै नदिमा मिसाईए पछि
सँगो पानी पनि मैलो हुन्छ नेता बिग्रिएको देशमा

त्यसै हराउन्न जङ्गे पिलर हरेक रात दश गजाबाट
आग्ली नभएको दैलो हुन्छ, नेता बिग्रिएको देशमा



गजल

जब चिट्ठी मेरो जलाई दियौ
अनि सारा खुसी ढलाई दियौ

धोका दिन्न भनि गर्दथ्यौ बाचा
पहिलो कि, दोश्रो मलाई दियौ

चोखो माया भित्र भरेर बिष
नयाँ रीत अर्को चलाई दियौ

दिल भित्र आगो दन्किए पछि
मागे मैले पानी, सलाई दियौ

रोपे मैले मनमा प्रीतिको फूल
पलाँस पो बनेर पलाई दियौ ।

गजल

जिन्दगीमा जीतभन्दा हार हुन्छन् धेरै
हारै भित्र जीवनको सार हुन्छन् धेरै

आँखा लोभी मन पापी फूलै फूल देख्दा
तर यहाँ काम लाग्ने झार हुन्छन् धेरै

समयको मूल्य यो चिन्न नसक्दा
जानी जानी पृथ्वीको भार हुन्छन् धेरै

लक्ष पुग्न सजिलो कहाँ हुन्छ र ?
बाटोभरि धारिलो धार हुन्छन् धेरै

इन्द्रलाई आफ्नै त्यो स्वर्ग जाँदा नि
नाघ्नै पर्ने अप्ठ्यारो बार हुन्छन् धेरै

गजल

तिमीलाई देखेपछि आज होस हराएँ
 तिम्रो बानी, बोली, बचन सबै मन पराएँ

के भो के भो भन्नै गाह्रो सपनाको कुरा
 तिम्रै नाम लिई लिई रातभर बरबराएँ

तिमी थियौ किनारामा म नदिको माझ
कतै डुब्दै छु कि भनी अहो १ म डराएँ

बाढी आयो उर्लिएर छल्को उतै सर्यो
भाग–भाग प्रिय भन्दै जोड्ले म कराएँ

ढिलो हुनु हानी थियो, यस्तै यस्तै सम्झी
 प्रेमको तमसुकमा आजै सही छाप गराएँ

गजल




uhnsf oL ax/ e/L, ltdL g} ltdL x'G5\of}
dbxf];L oL gh/ e/L, ltdL g} ltdL x'G5\of}

h"g cr]n stf uof], tf/f lg b]Vof 5}g
lglndf of] ;u/ e/L, ltdL g} ltdL x'G5\of}

dGb–dGb d':sfpFb}, df]xgL Tof] hfn kmfNg]
iff]8zLsf] cw/ e/L, ltdL g} ltdL x'G5\of}

lr;f] kfgL l;w} xfgL, a];d{ lehfpg]
em/gfsf] em/em/ e/L, ltdL g} ltdL x'G5\of}

htftt} 5f]O{lbg], a};fn' kjgsf]
nhfn' oL ;/;/, e/L ltdL g} ltdL x'G5\of}

गजल

फेसबुकको हाई–हेल्लो, स्काइपको कुराकानी
खोल्नै पर्ने, बोल्नै पर्ने, आजभोली लाग्यो बानी

हजारौं छन् साथीहरु, चिनेका र नचिनेका
तिनै मध्येबाट एक, छानेको छु मनकी रानी

वेभक्याममा धेरै पल्ट, हेरेको छु उनीलाई
हुर्की आ’को जवानी छ, मान्छे भने सानी–सानी

अफलाईनमा धेरै थरी, कुरा लेखि पठाउँछे
अनलाईनमा भने बोल्छे, सधैं लाज मानी–मानी

गोप्य राख्नु भन्थिन् हाम्रो, प्रेमको कुरा सधैंभरि
तर आज गजल लेखी, छापिदिएँ जानी–जानी




गजल

एउटा जातिको राज्य मागेको छैन मैले
बहुलताको घेरा नाघेको छैन मैले

जस्तालाई तस्तै गर्नु पर्दछ भनिकन
कुनै जातिलाई कहिल्यै भाँडेको छैन मैले

काटेको धान झार्न लिपेको खलामाथि
बोका र गोरुसँगै नारेको छैन मैले

इतिहास सँगै आफ्नो पहिचान जोगाउन
कसैको अस्थित्वलाई लाछेको छैन मैले

आफूलाई माथि लान अरुको छाति टेकी
तिमीले जस्तो ताण्डव नाचेको छैन मैले

विभेद पक्कै यहाँ भएरै उठेको हुँ
खाली कुर्सीलाई मात्रै ताकेको छैन मैले

रुपको मात्रै फरक सारमा उस्तै हुने
राज्यको संरचना चाहेको छैन मैले ।



गजल

दोधारमा परें हजुर तिमी हौ कि जून राम्रो
शिर माथि सजिएको फूल हो कि सुन राम्रो

जात तिम्रो अलग थियो अलग थियो मेरो पनि
त्यस्ता कुरा नसोंचेर मानी दियौ खुन राम्रो

डुब्दै थिएँ नदि बीच डुङ्गा बनी आई दियौ
सम्झिएँ कि मेरी प्रीया तिम्रो यही गुन राम्रो

पर्ख–पर्ख सँगै बस्छु, उनीसँगै टाँसिएर
बताई देऊ ए दुनियाँ हामी दुईमा कुन राम्रो ?

गजल

के छैन र सबै थोक छ, धर्मशास्त्रमा
पल्टाई हेर जोकै–जोक छ, धर्मशास्त्रमा

स्वस्थानी र पुराण सबै महाभारतभरि
देवताहरुको यौन भोक छ, धर्मशास्त्रमा

जन्मभरि पापै गर, गोदान गरे पछि
जानलाई स्वर्ग लोक छ, धर्मशास्त्रमा

जालझेल गरी आफ्नै सन्तान, सखाप पार्दा पनि
खुसी सबै कहाँ शोक छ, धर्मशास्त्रमा

कहाँ बन्यो, के के हाल्यो, के को खोजीनिती
सबैलाई चल्ने कोक छ, धर्मशास्त्रमा

गजल

धान फल्ने खेत भरियो घरले
अहो ! रोजी रोटी हरियो घरले

मन गाउँमै छ, ज्यान सहरमा
धत् ! यता न उता परियो घरले

आमा बाऊ कता बालबच्चा कता
छ्या ! नगर्ने काम गरियो घरले

केही गर्न सक्ने उमेर भरि
उफ ! लेक र बेंसी झरियो घरले

लौ इन्द्र म त आउँदै छु स्वर्ग
आखिरमा ज्यूँदै मरियो घरले

गजल

चुरोट तानी रहेछु कि, जिन्दगी ?
मृत्यु छानी रहेछु कि, जिन्दगी ?

साँझ विहान कराहीमा खन्याई
रक्सी झानी रहेछु कि, जिन्दगी ?

ठूलो ढ्याक्ले ताकी ताकी लक्कुमा
खोप्पी हानी रहेछु कि, जिन्दगी ?

बाऊ बाजेको थलो किलो रुँगेर
इज्ययत धानी रहेछु कि जिन्दगी ?

हाँस्नु रुनु बराबरी मायामा
ठट्टा ठानी रहेछु कि, जिन्दगी ?

गजल

अघि बढौं चुलेसीको धारै–धार छ
पछि फर्कौं काँडेतारको बारै–बार छ

तिमी थियौ ढकमक्क थियो फूलबारी
तिमी छैनौ त्यहाँ आज झारै–झार छ

राख्दा पनि आँखा भित्र नबिझाउने
त्यही नाता अचेल किन छारै–छार छ

जिते जस्तो लाग्थ्यो धेरै ती युद्धहरु
हृदयमा छामी हेर्दा हारै–हार छ

कसो गरी भनौ आज मन दुखाएर
जिन्दगानी धरतिको भारै–भार छ

गजल

बाँझो बस्दैछन् गाउँ घरका खेत अनि बारीहरु
जतततै फैलिरहेछ बनमाराका घारीहरु

धेरै यूवा विदेश गा’छन् कोही शहरिया भा’छन्
बृद्ध बृद्धा घाँस दाउराका बोकिरहेछन् भारीहरु

एक–दुई जना बेइमानले चलाई रहछन् जिल्ला–गाउँ
सरकारमा बसिरहेछन् हिजोका ति भिखारीहरु

पुहँच पुगे सबै हुन्छ, पुहँच छैन केही हुन्न
आफन्तकै निम्तीमात्र भा’छ रोजगारीहरु

भन्नु पनि लाजै मर्दो मेरो देशको सत्य कथा
फूलमालाले सजिरा’छन् जाली भ्रष्टचारीहरु

प्रशासन र न्याय कानुन सबै गुमनाम बस्या बेला
अर्वपति बनिरा’छन् काला ती बजारीहरु

राजनीति विग्रिएर देश कम्जोर भएको बेला
साँध–सीमा मिची उल्टै हेप्छन् सँधियारीहरु

कति वस्नु बेइमानको बेइमानीमा अल्झिएर
शासन–सत्ता पल्टाउन उठ नर–नारीहरु


गजल

अरुले जुराई दिएको यो नाम बदलिन सक्छ
हामी बस्दै आएको यो ठाम बदलिन सक्छ

कहाँ थियो र बाबै ! यस्तो, आजका सहरहरु
प्रयास गरी हेरे सबैले गाम बदलिन सक्छ

आफ्नै स्वार्थ सिद्धिको लागि दौडिरहेछ मान्छे यहाँ
कुनै विचारको प्रभाव परे लाम बदलिन सक्छ

विश्वास न हो भगवान भन्नु विश्वासै नरहेपछि
थिर्त, ब्रत, पाठ, पूजा अनि धाम बदलिन सक्छ

गजल लेखेर मात्र यहाँ यो देश बन्ला जस्तो छैन
चनाखो बस् नारथुङे तेरो काम बदलिन सक्छ