Sunday, January 25, 2015

पहिचानः बुझाईमा समस्या


  नेपाली काँग्रेस र एमालेका नेताहरुले हरेक दिन, हरेक ठाउँमा, नेपालमा १२६ जाति छ, ती सबैलाई जातीय राज्य दिन सकिन्दैन भनेर बोल्छन् । यहि कुरा पत्रपत्रिका, रेडियो–एफ.एम. र टेलिभिजनले समाचारमा हरेक दिन संप्रेशण गर्छन् । सर्वसाधरणले समाचार पढेर, सुनेर र हेरेर यहि बुझ्छन् कि, पहिचान भनेको जातीय राज्य बनाउनु हो । तर, जातीय राज्यको स्वरुप कस्तो हुन्छ भनेर काँग्रेस–एमालेका नेताहरुले कहिल्यै ब्याख्या–विश्लेषण गरेका छैनन्÷गर्न चाहँदैनन् ।
यसरी ब्याख्या–विश्लेषण नगर्नुको कारण उनीहरुले न बुझेर होइन । मज्जैले बुझेका छन् । तर ब्याख्या विश्लेषण गर्दै गयो भने अरुलाई सोझ्याएको औंला आफैतिर फर्कन्छ । किनकी काँग्रेस–एमालेले बनाउन खोजेको राज्य असली रुपमा एकल जातीय बर्चश्व कायम गरिराख्ने खालको छ । र, त्यो एकल जातीय बर्चश्व भनेको हाल कायम रहेको उच्च जातीय अहंकारग्रस्त पहाडे खस ब्रम्हाण–क्षत्रीको एकाधिकार युक्त राज्य हो । त्यसैले काँग्रेस र एमाले खासमा एकल जातीय राज्य कायम राखिराख्न चाहने पार्टीहरु हुन् ।
नेपालमा १२६ जाति, १०० भन्दा बढि भाषा, आधा दर्जन बढी धर्म र हरेक जातिको आ–आफ्नै संस्कृति छ । त्यसैले नेपाल बुहजातीय, बहुभाषिक, बहुसाँस्कृति र बहुधार्मिक मुलुक हो । र, अब बन्ने सङ्घीय राज्यहरु र सिङ्गो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृति हुनुपर्छ ।
हामी पहिलोपल्ट सङ्घीय शासन प्रणालीको अभ्यास गर्दैछौं । सङ्घीयताको अर्थ राज्य टुक्राउनु गर्नु होइन, विभाजीत राज्य (भूगोल, जनता, संस्कृति) लाई एकिकृत पार्नु हो । यहाँ प्रश्न उठ्न सक्छ, के नपाल बिभाजित छ र एकिकरण गर्ने ? राज्य—भूगोलमात्र होइन, त्यस भूगोलमा अटाएका जात–जाति, भाषा, संस्कृति र इतिहास पनि हो । नेपाललाई भौगोलिक रुपमा दुईसय पचास बर्ष अगाडि नै शाह राजाहरुले एकिकरण गरिसकेका हुन् तर जातीय, भाषिक र सांस्कृतिक रुपमा नेपाल अझै विभाजित छ । र, त्यही विभाजित राष्ट्रियतालाई एकिकरण गर्न सङ्घीयताको आवश्यकता परेको हो । तर विभाजित राष्ट्रियतालाई एकिकरण गर्न भूगोलकै विभाजनले मात्र सम्भव छैन । छरपष्ट राष्ट्रियताको पहिचानलाई स्थापित नगरी एकिकरण असम्भव छ । त्यसैले पहिचान प्रधान हो, सामथ्र्य सहायक हुन् भनिएको हो ।
के पहिचान भन्नले जाति मात्रै हो त ? पहिचान जाति मात्रै होइन—भाषा, संस्कृति, भूगोल, सामाजिक मनोविज्ञान र इतिहासको समष्टि रुप हो । मानिलिऔं किरात,—किरात एउटा जाति पनि हो तर त्योभन्दा बढि ऐतिहासिक भूमि, त्यहाँ विकास भएको भाषा, संस्कृति, सामाजिक मनोविज्ञान हो । ब्रम्हाण एउटै जात भए पनि कर्णालीका ब्रम्हाण र किरातभूमिको ब्रम्हाणमा धेरै अन्तर पाउन सकिन्छ । यसो हुनेको कारण के हो भने कर्णालीमा विकास भएको भाषा, संस्कृति, सामाजिक मान्यता, मनोविज्ञान र किरातभूमिमा विकास भएको भाषा, संस्कृति, सामाजिक मान्यता र मनोविज्ञान फरक छ । त्यसैले किरात भन्नासाथ किरातीको मात्र होइन त्यस भूगोलभित्र रहेका सबै जाति, भाषिक समुदाय, धार्मिक तथा सांस्कृतिक समूहको साझा मान्यता हो, राज्य हो । र, त्यो राज्यमा सबै जाति, भाषिक, साँस्कृतिक तथा धार्मिक समूह र सामूहिक मनोविज्ञान बोकेका सबै नागरिकहरुको बराबरी हक–अधिकार हुन्छ । अर्कोतिर राज्यको सिमाङ्कन गर्दा इतिहास, जातीय, भाषिक, साँस्कृतिक र साझा मनोविज्ञानको सघनतालाई टुक्राउनु वा यता–उता पार्नु हुँदैन । नेपालमा विगतमा राष्ट्रियतालाई विभिन्न बाहानामा छिन्नभिन्न बनाउन खोजिएकोले नै कुनै पनि जात, भाषिक तथा साँस्कृतिक समूहबीच कहिल्यै एकिकरण हुन सकेन । हरेक जात, भाषिक तथा साँस्कृतिक समूहले आपसमा शंका–उपशंका, बैमनश्यता, उँच–निचको भावना राखिरहे । प्रतिफल देशले शान्ति र अमनचयनको स्वास फेर्न पाएन भने विकासका बाटोहरु सधैं अवरुद्ध बनिरहे ।
राज्यको रुवरुप बहुल भए पनि नाम बहुल हुँदैन बरु साझा हुन्छ । १२६ जाति, १०० भन्दाबढि भाषा, प्रत्येक जातिको आ–आफ्नो संस्कृति, बेग्ला–बेग्लै सामाजिक मान्यता र फरक–फरक मनोविज्ञानमा टेकेर निर्माण भएको नेपाली पन नै नेपालको पहिचान हो । ‘नेपाल’, सबैको पहिचानलाई सम्बोधन गर्ने साझा नाम हो र नै सबैको लागि स्विकार्य भएको छ । यदि नाममा ‘बहु’ खोज्ने हो भने त जम्मै जाति, संस्कृति, भाषा, पहाड–पर्वत, खोला–नाला अनि अरु धेरै कुराहरु जोडिएर आउँछन् । नाममा के–के समेट्ने त ? यसप्रकार साझा के हो त्यही नाम स्थापित गर्ने हो÷हुने हो ।
अब प्रश्न उठ्छ ‘किरात’ कसरी साझा हुन्छ ? किरात त एउटा जाति हो र धर्म पनि । लिम्बु, तामाङ, नेवार, गुरुङ, मगर, थारु जम्मै जाति हुन् । मदेशी एउटा समूह हो । माथि नै भनिएको छ कि, किरात इतिहास हो, भूगोल हो र सामुहिक मनोविज्ञान पनि हो । त्यस्तै लिम्बूवान, तामाङसालिङ, नेवा, तमुवान, मगरात, थारुवान, खसान र मदेश इतिहास पनि हो, भूगोल पनि हो र सामूहिक मनोविज्ञान पनि । यी नामहरु अहिले स्थापित गरिएको नाम होइन, यो त हामीले धेरै पहिलाबाटै प्रयोग गर्दै, बोल्दै र सुन्दै आएका छौं । लिम्बुवान भन्नासाथ— त्यहाँको भूगोल, भाषा, संस्कृति, रहनसहन, चालचलन, आनिबानी, त्यहाँ मनाइने चाड–पर्व, खेती–बाली लगाउने तौरतरिका, खानाको परिकार आदिको स्पष्ट खाका हरेक मानिसको मष्तिस्कमा उत्रन्छ । हो, सामुहिक अर्थात साझा भनेको नै यही हो । त्यसैले त्यस भूगोलमा बस्ने सबैको साझा पहिचान भनेको लिम्बूवान हो । तर त्यही लिम्बुवानलाई ‘कोशी’ नाम दिंदा के कुनै स्पष्ट चित्र आउँछ त ? कोशी भन्नासाथ उही एउटा नदिको चित्र आउँछ अगाडि । त्यो नदिसँग न मानिस, न भाषा, न संस्कृति, न रहनसहन, न चालचलन, न आनिबानी केही जोडिएर आउँदैन । अनि कसरी कोशी साझा नाम बन्न सक्छ ?
माथि उल्लेखित बाहेक अरुको पहिचानचाँहि खै त ? प्रश्न यसरी पनि गर्न सकिन्छ । फेरि पनि भनौं पहिचान—जातसँगै भाषा, धर्म, संस्कृति, भेषभूषा, चालचलन, सामूहिक मनोविज्ञान आदि पनि हो । र, अब बन्ने राज्यहरुमा रहने सबै जाति, भाषिक–धार्मिक–साँस्कृतिक समूहको भाषा, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गर्न उनीहरु बाहुल्य रहेको ठाउँलाई स्वायत्त क्षेत्रहरु घोषणा गरेर विशेष कार्यक्रम सञ्चालन गर्ने हो भने सबैको पहिचान स्वतः कायम हुँदैन र ?
दलित, खस क्षत्री–दशनामी–ठकुरी र पहाडी ब्रम्हाणहरु जो देशैभरि छरिएर रहेका जातिको पहिचानचाँहि के त ? यी मध्ये सामाजिक र साँस्कृतिक रुपमा धेरै पछाडि परेका दलितहरुको सामाजिक प्रतिष्ठालाई उकास्नको लागि अघिल्लो संविधान सभाको राज्य पुनः संरचना सुझाव आयोगले पेश गरेको गैर भौगोलिक प्रदेशको प्रस्तावलाई उपयुक्त ठान्न सकिन्छ । र, रह्यो खस क्षत्री–ठकुरी, दशनामी र पहाडी ब्रम्हाणको कुरा । वास्तवमा भन्ने हो भने सिङ्गो देशको पहिचान नै खस क्षत्री–ठकुरी, दशनामी र पहाडी ब्रम्हाणको पहिचान हो । नेपाली भन्नासाथ विश्वका मानिसको नजरमा खस क्षत्री–ठकुरी, दशनामी र पहाडी ब्रम्हाणकै चित्र उपस्थित हुन्छ । नेपाली भाषा भनेकै खस क्षत्री–ठकुरी, दशनामी र पहाडी ब्रम्हाणको भाषा हो । नेपाली संस्कृति भने कै खस क्षत्री–ठकुरी, दशनामी र पहाडी ब्रम्हाणको संस्कृति हो । आकाशमा धेरै भएको हुनाले ताराको नाम दिइएको हो, एक्लो सूर्य र चन्द्रमालाई नाम दिइरहनु पर्छ र ?

(बेखबर-मलेसिया)


यो बर्ष
सबैभन्दा बढी रेमिट्यान्स भित्रियो देशमा...
मलेसियाबाट ।

यो बर्ष
सबैभन्दा बढी लास भित्रिए
मलेसियाबाट ।
र,
यो बर्ष
सबैभन्दा बढी त्रास भित्रियो
मलेसियाबाट ।
परन्तु,
सरकार र पार्टीहरुको बहिखातामा
अझै चढ्न सकेको छैन मलेसियाको नाम ।
किनकि,
चुहिएको घरको छानो टाल्दा-टाल्दै
भत्किएको घरको पर्खाल हाल्दा-हाल्दै
थपिएको सरकारी उर्दि,
चर्पी,
सुधारिएको चुलो/गोठ,
पशुमुत्र संकलन ट्याङ्की,
र,
गोबरग्याँस प्लान्ट जोड्दा-जोड्दै
केटा-केटीको ड्रेस, कापी, कलम,
टिफिन, फी
नुन, भुटुन, तरकारी, चामल
बृद्ध बाबू-आमाको जीवन
र,
तरुनी स्वास्नीको हाँसो किन्दा-किन्दै
ठिक्क छ मलेसिया
दिक्क छ मलेसिया ।
त्यसैले,
चुनावमा,
अधिवेशनमा,
महाधिवेशनमा
पार्टीहरुको खातामा चन्दा
जम्म गर्दिन सकेको छैन मलेसियाले ।
र त,
भित्राए पनि सबैभन्दा बढी रेमिट्यान्स
खबर भित्रै बेखबर छ मलेसिया ।

(नेपालका मतदाता र निर्वाचन परिणाम)


कोठै कोठा
चित्रै चित्रले भरिएको
विचित्र चुनाव चिन्हमाथी...
भोट खसाल्नु अगाडि
निम्न कुराहरु थाहा पाउनु पर्छ.....

पार्टीको नाम,
नीति/सिद्धान्त
उदेश्य/लक्ष
विगत/वर्तमान
चरित्र/चिन्तन
आयश्रोत/खर्च
+
उम्मेदवारको नाम
योग्यता/क्षमता
नीति/सिद्धान्त
उदेश्य/लक्ष
विगत/वर्तमान
आयश्रोत/खर्च
चरित्र/चिन्तन
र,
पार्टी र उम्मेदवारमाथी
विपक्षीहरुले लगाईरहेको आरोप.....
अहो ! हाम्रो देशमा
कति प्रतिशत होलान् हँ यस्ता मतदाता ?
कोठै कोठा
चित्रै चित्रले भरिएको
विचित्र चुनाव चिन्हमाथी
भोट खसाल्नु अगाडि
निम्न कुराहरु हेरिनु हुन्न.....
जात/धर्म
आफ्नो/पराई
टाढा/नजिक
पद/पैसा
लोभ/लालच
डर/धम्की
र,
आश्वासन
अहो ! नेपालमा
कति प्रतिशत होला हँ यस्ता मतदाता ?
म दावी त गर्न सक्दिन
परन्तु,
यति भन्ने हैसियत राख्दैछु
कि,
नेपालका मतदाताहरु,
चौथाई लाटा/बुङ्गा छन्
चौथाई अन्धा/बहिरा छन्
चौथाई लुला/लङ्गडा छन्
बस्,
त्यसैले त हरेक निर्वाचन पछाडी
मत परिणाम हेरेर
सधैं अतालिन्छु म ।

तरुलको गीत


आज माघ एक
अर्थात माघे सक्रान्ती
मकर नुहाउनुको साटो...
गाउँदैछु तरुलको गीत ।

धेरै धेरै गहिराईमा
चिम्टाईलो माटोमा चेप्टिन्दै–चेप्टिन्दै
जिलो माथि निकालेर
बिलोसँग उधैं–उधैं भासिएको तरुल
कोट्याउँदै तिस्कुलोले बिस्तारै–बिस्तारै
फाल्दै माटोको उरुङ
सर्लक्क निकाल्नु पो त—सफलता
आहा ! सबैले गर्व गरोस् ।
न पन्छाई सुकेको झ्याङ
नभेट्दै लहरा बोट
खनेर अन्ध–धुन्द
बनाएर चोटै–चोट
पारेर टुक्रै–टुक्रा
च्याखोक–च्याखोक
माटै–माटो
टाटै–टाटो
अरे ! निकालेर त्यसरी तरुल
कसरी मनाउनु हँ सक्रान्ती ?
यतिबेला,
मदेशमा सितलहर
पहाडमा तुसारो
र,
हिमालमा फैलिएको छ,
हिउँको साम्राज्य
जताततै चिसो
जताततै ठिही
परन्तु दन्किरहेछ सबैको छातिमा
ज्वालामुखीका लाभाहरु
हल्लो ! दुइतिहाई
फालेर हेर त तिम्रो दम्भ
के तरुल सग्लो निस्कदैछ ?
अर्कैले गाडेको गाभो
अर्कैले गोडेको गाँज
अर्कैले काटेको पराल
अर्कैले झाँटेको बिटो
अर्कैले कुटेको ढिक्की
अर्कैले केलाएको बियाँ
अर्कैले भरेको मानो
अर्कैले उमालेको चामल
अर्कैले पस्केको चोइली
घुटुक्क निल्न पल्केको तिमी
बुझौला र ? तरुल गाथा
त्यसैले त,
च्याखोक–च्याखोक
चोइटै–चोइटा
चोटै–चोट
माटै–माटो
निकाल्न साथ जमिनबाट
हुत्याउन लायक सुङ्गुर खोरमा ।
ओ दुईतिहाई !
फालेर आउ दम्भ
पहिचानको सारङ्गी रेटेर
सुनाउँला सक्रान्तीको दिन
तरुलको समावेसी गीत ।
शब्दार्थ
तिस्कुलो ः तरुल खन्ने बाँसको तिखो किलो
उरुङ ः खात
च्याखोक–च्याखोक ः छियाँ–छियाँ, जताततै चोट लागेको

के नेपाली भनेको गिरिजाप्रसाद कोइरालाको जस्तै अनुहार भएको मात्रै हुन्छ ?

बाहिरबाट हेर्दा मलेसिया नेपाली कामदारहरूका लागि जति आकर्षक गन्तव्य देखिन्छ तर भित्र त्यस्तो देखिँदैन । म्यानपावर व्यवसायी र एजेन्टका चिप्लो कुरा त्यतिबेला फेल खान्छ, जतिबेला क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागअगाडि सयौंको संख्यामा चिसो भुइँमाथि पल्टिरहेका नेपालीहरूको फुङ्ग उडेको अनुहार देख्न पाइन्छ ।
सन् २००५ मा म मलेसिया ओर्लिंदा एयरपोर्टमा त्यस्तोविधि बेहाल थिएन । चिसो भुइँमा बस्न परे पनि रेलाको धम्की र लात्ती खानुपर्दैनथ्यो । आफू आएको कम्पनीको बोस नआइञ्जेल पासपोर्ट आफैसँग हुन्थ्यो । तर यो पटक पहिलाको जस्तो अवस्था थिएन । प्लेनबाट ओर्लेर इमिग्रेसनको छेउ आउन नपाउँदै पासपोर्ट ‘रेला’को कब्जामा परेपछि भेँडा–बाख्राजस्तै चिसो भुइँमा थ्याच्च बसेर जे भन्छ त्यही मान्नुको विकल्पै हुँदैन । ट्वाइलेट जाँदा पनि लाइनमा बस्नुपर्ने र तिर्खा लागे पनि ट्वाइलेटकै पानी पिउनुपर्ने बाध्यता सायद अन्य देशमा नहुनसक्छ ।
उसबेला म एउटा कुरामा पटक–पटक झुक्किएको छु । पुराना साथीहरू भएको होस्टलमा जाँदा बाहिरबाट ताल्चा मारेको पाइन्छ ! हैन, साथीहरू छैनन् क्यारे भनेर अलिक पर पुगी फोन गरियो भने कोठाभित्रै छु भन्छन् । अनि पो आफ्नो बेबकुफी थाहा हुन्छ र आफैलाई धिक्कार्दै ढोका ढक्ढक्याउन अगाडि बढ्नुपर्छ । नेपालमा मान्छेभित्र हुँदाहुँदै बाहिर ताल्चा मारिँदैन तर मलेसियामा बाहिर ताल्चा नलगाई बस्नै नसकिने रहेछ । खासगरी स्थानीय र केही बाहिरी देशका लुटेराबाट बच्न कोठाको बाहिरबाट ताल्चा र भित्रबाट चुकुल लगाउनु अनिवार्य नै छ ।
मलेसियामा नेपालीहरूमाथि धेरै हुने घटना भनेकै चोरी–डकैती हो । हिँड्दा हिँड्दै धेरै नेपाली दिनहुँ लुटिन्छन् । ट्याक्सीमा, बसमा, बजारमा र उस्तै परे कोठैमा लुटिनुपर्छ । कोही हाक्काहाक्की नै लुट्न आउँछन् भने कोही पुलिसको भेषमा । कहिलेकाहीँ त पुलिसै लुटेरा बन्छन् । मेरै कोठाको एकजना साथी बजार निस्किएको बेला पुलिसले रोकेर फोन चेक गरेछ । फोनमा ब्लुफिल्मका केही दृश्य भेट्नासाथ कि फोन गुमाउनुपर्ने भो कि त पैसा दिनुपर्ने भो । तरकारी किन्न गएको साथी पैसाजति पुलिसलाई सुम्पेर रित्तै कोठा फर्किनुपर्यो ।
मलेसियाको हकमा लुटिनु त सामान्य नै हो, लुटेराहरूबाट कुटिनु र छुरी रोपीमाग्नु भन्दा भएभरको जम्मै पैसा, मोबाइल आदि उसैको हातमा थमाई गाडी भाडा त देऊ भनेर उल्टै याचना गर्नु जितिन्छ । नेपालमा चोर वा लुटेराले लुटेको÷चोरेको देख्नासाथ वरपर भएका मान्छेहरू खोलाधुर लागी पक्रेर कि पुलिसलाई बुझाउँछन् कि सक्दो भकुरेर अबदेखि गर्दिनँ बाबा भन्ने पारी छाडिदिन्छन् । तर मलेसियामा लुटिने लुटिरहेकै हुन्छ, अरु रमिते । बाटोमा आफ्नै साथी लुटिरहेको छ भने सुइँकुच्चा ठोक्नु सिवाय केही गर्न सकिँदैन ।
लुटिनु भनेको अनेकौं सपना लुटाउनु पनि हो । कठोर परिश्रम गरेपछि प्राप्त हुने थोरै तलबले खाईखर्च बेहोरेर अनेकौं समस्यालाई पार लाउनुपर्ने हुन्छ, तर त्यही तलब नै लुटिएपछि सपनाहरूसँगै लुटिन्छन् । क्वालालाम्पुरको सडक पेटीमा बसेर क्वाँ–क्वाँ रोइरहेका धेरै सपना लुटिएका नेपालीलाई भेटेको छु । त्यस्तो बेला सान्त्वना दिनु सिवाय अर्थोक गर्ने भनेकै आफूसँग पैसा छ भने होष्टलसम्म पुग्न गाडी भाडा दिने हो । तर यस्ता कयौं नेपाली पनि भेटिएका छन्, जो लुटिएको र लुटिँदा कुटिएको कुरा नेपालमा घरपरिवारलाई सुनाएर ‘खोलापारि’की मैयाँसँग ‘लिभिङ टुगेदर’मा रमाइरहेका हुन्छन् । अझ अचम्मलाग्दो कुरो कहिलेकाहीँ त लुट्ने पनि नेपाली, लुटिने पनि नेपाली नै भेटिन्छन् !
आपराधिक मानसिकता विश्वका हरेक धर्म र सम्प्रदायका मानिसमा छ । लुटपाट र चोरीजस्ता अपराध नहुने कुनै देश छैन । मलेसियाकै छिमेकी देश सिंगापुरको कठोर कानुनसामु पनि आपराधिक मानसिकता भएकाहरू डराउँदैनन् । मलेसियाको सन्दर्भमा भन्ने हो भने चोर्ने र लुट्ने काममा इन्डियन मूलका मलेसियनहरू अगाडि छन् । र, उनीहरू हिन्दु धर्म–संस्कृतिका अनुयायी हुन् । यदाकदा मलेसियाकै दुई राज्य सावा र सारावाकका ठिटाहरू पनि नेपालीलाई लुट्नेमा भेटिन्छन् भने इन्डोनेसियनहरू पनि कहिलेकाहीँ देखासिखी गर्छन् ।
धार्मिक–सांस्कृतिक रूपमा इन्डियन मूलका मलेसियनहरू नेपालीहरूसँग जति निकट छन् उति नै नेपालीहरूका लागि डरमर्दो पनि । बाटोमा कुनै कालो वर्णको मान्छे देख्नासाथ मुटुको धड्कन बढ्न थाल्छ र उसको आँखा छलेर कतै सुरक्षित स्थानमा जान हतारिन्छन् नेपालीका गोडाहरू । मलेसियामा नेपालीजस्तै स्थानीयहरूबाट लुटिने बंगालीहरू पनि हुन् । बंगाली र नेपालीहरूको रूप–रङ्ग मिल्ने र एक भएर प्रतिकार पनि गर्न पनि नसक्ने भएकोले नै यसरी हेपिएका हुन् ।
म पहिला आउँदा ‘साहआलम’ र ‘पुचोङ’जस्तो इन्डियन मूलका मलेसियनहरूको घारी भएकै ठाउँमा बिताएँ पाँच वर्ष । तर संयोग नै मान्नुपर्छ, कुनै दिन लुटिनु परेन । सायद म जसरी हिँड्ने कमै कामदार नेपालीहरू होलान् मलेसियामा । नेपाल राजदूतावासका पूर्वकार्यवाहक राजदूत हरिकुमार श्रेष्ठको निम्तो मानेर कोठा फर्कंदा होस् वा लालीगुराँस रेष्टुरेन्टका सञ्चालक कृष्ण आङ्देम्बेको भाञ्जीको बिहे खाएर होस्, मध्यरातमा करिब १ घण्टाको बाटो एक्लै छिचोलेर कोठा पुगेको छु ।
क्वालालाम्पुर आउँदा कोठाका साथीहरूको बैंक कार्डको बिटो र फर्कंदा रिङ्गिटको मुठो नभएको दिन कमै छ । रातभरि ड्युटी गरेर हिँडडुल गर्दा कयौं पटक बसमै भुस निन्द्रा सुतेको छु । बस गन्तव्यमा रोकिएर पनि न ब्यूँझेपछि ड्राइभरले धेरै पटक झक्झकाएको छ मलाई । यति हुँदा पनि मेरो साथबाट एक पैसा कसैले नलुट्नु साँच्चै अनौठो नै हो ।
म किन लुटिइनँ त ? होला मलाई दशा नलागेकोले पनि हुनसक्छ । तर यो ग्रह–दशाभन्दा बेग्लै एउटा कुरो छ, त्यो हो म ‘नेपाली’जस्तो नदेखिनु । नेपाली भन्नासाथ विश्वमा चिनिने भनेकै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जस्तो—लामो नाक, गहिरो आँखा, लाम्चो अनुहार भएको आर्यन मान्छे । विश्वका टेलिभिजनले धेरै पटक सायद कोइरालालाई नै देखाएको हुनुपर्छ, त्यसैले पनि नेपालीको अनुहारमा त्यही नाक, त्यही आँखा र त्यही अनुहारको आकार–प्रकार खोजिन्छ । तर म त्यस्तो छैन ।
पुँवालोको गेडाजस्तो नाक, ब्लेडले जोगाई–जोगाई चिरेकोजस्तो आँखा, कविवर भूपिले भनेझैं गोल–गोल मंगोल अनुहार, न दाह्री, न जुँगा अनि म कसरी ‘नेपाली’ देखिनु ? मसँग धेरै जना धेरै पटक झुक्किएका छन् । ‘पासार मालाम’, सब्जी पसल, फुटपाथ, सुपरमार्केट, बस, ट्रेन आदिमा मात्रै होइन, मेरो दाहिने हातको माझी औंलाको अप्रेसन गर्ने डाक्टर र नर्सले समेत युनिर्भसिटी हस्पिटलमा चिनियाँ भाषा बोलेर हैरान पारेकाछन् मलाई । कति भियतनामीहरूले फर्की–फर्की हेरेका छन् बाटामा, कति म्यानमारीहरूले ‘तँ कुन ठाउँको होस्’ भनेर सोधेका छन् उनकै भाषामा । साँच्चै ‘नेपाली’ नदेखिनुको बोनस नै हो म नलुटिनु । तर बाटोमा, बसमा वा कुनै पार्कमा हिँडेको–बसेको बेला नेपाली साथीहरूले नै भाषा मलायू वा टुटे–फुटेको अंग्रेजीमा बोल्दा पो अचम्म लाग्छ ।
त्यसैले त भन्न मन लाग्छ, के नेपाली भनेको गिरिजाप्रसाद कोइरालाको जस्तै अनुहार भएको मात्रै हुन्छ ? मंगोल अनुहार भएका हामी नेपालीको कुनै पहिचान छैन त नेपालमा ? मलेसियामा अनेपाली अनुहारले फाइदा दियो भन्दैमा नेपाली मानचित्रबाट सदासदाका लागि आफ्नो पहिचानै हरायो भने कहाँ जाने होला ?

मलेसियाली शब्दको अर्थ
रेलाः मलेसियाको एक सुरक्षा निकाय, जसलाई अहिले क्वालालाम्पुर एयरपोर्टको अध्यागमन विभागमा वैदेशिक रोजगारमा आउनेहरूलाई व्यवस्थित गर्ने जिम्मा मलेसियन सरकारले दिएको छ ।
खोलापारीः मलेसियामा नेपालीहरूले इन्डोनेसिया र मलेसियाकै समुद्रपारिका दुई राज्य सावा र सारावाकलाई खोलापारि भन्ने गर्छन् ।
पासार मालामः रातिको बजार
‘साहआलम’ ‘पुचोङ’ ठाउँका नाम ।