Tuesday, April 5, 2016

म्यानपावर बचाउने कि नेपाल र नेपाली युवाहरुको भविष्य ?

कान्तिपुर दैनिकमा छापिएको समाचारअनुसार अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तुलनामा यो वर्ष वैदेशिक रोजगारको श्रम स्वीकृति ४५.३६ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष यस अवधिमा ५ लाख १२ हजार ८ सय ८७ जनाले श्रम स्वीकृति लिएका थिए भने यस वर्ष २ लाख ८० हजार २ सय ३५ जनाले मात्र लिएको देखिन्छ । अर्थात् अघिल्लो वर्षको तुलनामा यस वर्ष २ लाख ३२ हजार ६ सय ५२ जना नेपाली युवाहरु विदेश गएनन् ।

करिब सात महिनाको अवधिमा विदेश जाने युवाहरुको संख्या यति धेरै घट्नु भनेको पक्कै पनि म्यानपावर व्यवसायमाथि आइलागेको ठूलै विपत्ति हो । खासगरी अघिल्लो सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियालगायत खाडीका ६ राष्ट्रमा लागू गरेको फ्री भिसा, फ्री टिकेटको व्यवस्थाले गर्दा नै नेपाली युवाहरु वैदेशिक रोजगारमा कम गएको हो भन्ने बुझाइ म्यानपावर व्यवसायीहरुको रहँदै आएको छ । जसको कारण विभिन्न बहानामा म्यानपावर व्यवसायीहरु आन्दोलित हुँदै र विदेश पठाउने काम ठप्प पार्दै आएका छन् । तर अर्को तथ्य के पनि देखिएको छ भने फ्री भिसा, फ्री टिकेटको व्यवस्था हुँदाहुँदै पनि विदेश जाने नेपालीहरु युवाहरु भेटिएका छैनन् । 
विभिन्न बहानामा म्यानपावर बन्द गरेर व्यवसायीहरुले आन्दोलन गरिरहँदा बैदेशिक रोजगारीमा जान कुनै नेपाली युवाहरुलाई हतारो परेको देखिएको छैन । फ्री भिसा, फ्री टिकेटको व्यवस्था लागू भएको कारणले बैदेशिक रोजगारमा जानेहरुको संख्या घटेको होइन ।
 
फ्री भिसा, फ्री टिकेटको व्यवस्थाले त युवाहरुलाई विदेश जान अझ उत्प्रेरित गर्नु पर्ने हो । नेपाली युवाहरुको ठूलो लर्को म्यानपावरहरुमा लाग्नु पर्ने बेला हो यो । तर विभिन्न बहानामा म्यानपावर बन्द गरेर व्यवसायीहरुले आन्दोलन गरिरहँदा बैदेशिक रोजगारीमा जान कुनै नेपाली युवाहरुलाई हतारो परेको देखिएको छैन । यदि त्यस्तो हतारो हुन्थ्यो भने, म्यानपावर व्यवसायीले होइन वैदेशिक रोजगारीको लागि विदेश जान तयार युवाहरुले आन्दोलन गरिरहेका हुन्थे । त्यसैले के भन्न सकिन्छ भने फ्री भिसा, फ्री टिकेटको व्यवस्था लागू भएको कारणले बैदेशिक रोजगारमा जानेहरुको संख्या घटेको होइन ।

आखिर किन घटिरहेछ विदेश जाने नेपाली युवाहरुको संख्या ? यो प्रश्न यतिबेला निक्कै महत्वपूर्ण छ । खासगरी गत बैशाख ११ को बिनासकारी भूकम्प पहिलो कारण हो । दशौं लाख घरहरु भूकम्पको कारण क्षतिग्रस्त छन् । सम्भवत: क्षतिग्रस्त घर निर्माणमा दशौं लाख युवाहरु यतिबेला जुटिरहेका छन् । भूकम्पले घरबारबिहिन भएका युवाहरु आफ्नो परिवारलाई पालको टहरोमा छोडेर वैदेशिक रोजगारमा जान्छन् त ?
दोश्रो कारण, मलेसिया लगायतको देशमा बढेको असुरक्षा र कम्पनीहरुले सम्झौता अनुसार तलब-सुविधा नदिनु पनि हो । मलेसिया लगायतको देशमा धेरै नेपाली युवाहरु अलपत्र परेको, कम्पनीले तोकिएको सेवा-सुविधा नदिएको, एउटा कामको लागि भनेर आएको तर काम अर्कैमा गर्नुपरेको, स्थानीयहरुद्वारा लुटपाट हुने गरेको जस्ता समाचार दैनिक आउने गरेका छन् ।

सामान्यत: लुटपाटको सवाल म्यानपावरसँग नजोडिएला (आफूले पठाएको कामदारको जीवन र आम्दानीको सुरक्षामा समेत म्यानपावरको केही न केही जिम्मेवारी हुनुपर्छ) तर सम्झौताअनुसारको तलब-सुविधा र काम नपाउनुमा म्यानपावरको प्रत्येक्ष हात रहेको हुन्छ । अपितु: कामदार पठाएपछि आफ्नो जिम्मेवारी सकिएको ठान्ने म्यानपावर कम्पनीहरुको गैरजिम्मेवारपनले नेपाली युवाहरुको मनमा निश्चित देशको वैदेशिक रोजगारीप्रति वितृष्णा जागेको हुनुपर्छ । फ्री भिसा, फ्री टिकेट हुँदाहुँदै पनि मलेसिया जान चाहने युवाहरु नभेटिनु त्यसैको कारण हो ।  
नेपाली युवाहरुमा थोरै भए पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने चिन्तनको विकास भएको छ । खासगरी एकपटक विदेश गएर फर्केका युवाहरुमा सानोतिनो लगानी गरेर देशमै स्वरोजगार बन्ने अभियान उत्साहजनकरुपमा देखिएको छ ।
 
तेश्रो कारण, नेपाली युवाहरुमा थोरै भए पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने चिन्तनको विकास भएको छ । खासगरी एकपटक विदेश गएर फर्केका युवाहरुमा सानोतिनो लगानी गरेर देशमै स्वरोजगार बन्ने अभियान उत्साहजनकरुपमा देखिएको छ । यो एकदमै सकारात्मक पाटो हो । तर देशमा भैरहने बन्द-हड्ताल र सरकारी निकायबाट प्रोत्साहन नपाउँदा त्यतिकै हतोत्साहित पनि छन् । अपितु: वास्तविकता के हो भने, विदेशबाट कमाएर ल्याएको पैशाले सधैं जिन्दगी चल्दैन, जिन्दगीको रथ चलाउन थोरै भएपनि नियमित आम्दानीको जरुरत पर्छ । विदेशमा गएर रोजगारी गर्ने चलनको अन्त्य त अब सायदै नहोला तर आधाभन्दा बढी युवा शक्तिलाई विदेश खेदेर कुनै पनि देशको विकास हुँदैन ।

चौथो कारण, म्यानपावरहरुले आकर्षक तलब सुविधा र कामको माग ल्याउन नसक्नु पनि हो । अहिले नै हेर्ने हो भने दक्षिण कोरिया जान चाहने नेपाली युवाहरुको लर्को त्यहाँको मागभन्दा दशौं गुणा ज्यादा छ । इजरायल जस्ता देशमा रोजगारी खुल्ने आशमा बस्नेहरुको जमात पनि सानो छैन । नेपाली युवाहरु वैदेशिक रोजगारीमा जाने संख्या घटेको भनेको त मलेसिया र खाडीका केही राष्ट्रहरु न हुन् । यदि आकर्षक तलब-सुविधा र कामको माग ल्याउन सक्ने हो भने अहिलेको संख्या वृद्धि हुन पनि सक्छ ।
यतिबेला फ्री भिसा, फ्री टिकेटको निर्णयबाट सरकार पछि हट्न खोजेको वा सेवा शुल्कको नाममा म्यानपावर व्यवसायीहरुले निक्कै ठूलो रकम कामदारहरुबाट असुल्न पाउने कुरोमा सहमति दिन खोजेको आसयका समाचारहरु आइरहेका छन् । तर म्यानपावर व्यवसायीहरुबाट हुँदै आएको अदृश्य ठगीलाई यथावत राखेर गरिने सम्झौता वा दिइने सुविधा राष्ट्रिय हितको विरुद्धमा छ ।

आफ्नै दाजुभाइहरुलाई सक्दो चुसेर विदेशमा अलपत्र पार्न उद्दत म्यानपावर जोगाउनेको कि देश र युवाहरुको भविष्य ? निर्णय सरकारको हातमा छ ।

गजल

निराशाको बीच आशको कुरा
गर्नु छ फेरि सहासको कुरा

सम्भावनाको हुँदैछ रे खोजी
छोडेर घोर अत्यासको कुरा

कति ओढ्नु यो सावनको घुम्टो ?
छोडी वासन्ती उल्लासको कुरा

पक्कै ठप्प हुने छ एकदिन
आतंक अनि सन्त्रासको कुरा

समस्या मात्र देखाएर हुन्न
चाहिन्छ सँगै निकासको कुरा ।