Wednesday, December 23, 2015

बाल्य स्मृति-४

घाम-जूनको आकार नाङ्लो जत्रै

जन्मन्दा कोही पनि ब्यक्ति अपराधी वा महात्मा भएर जन्मदैनन् । बुद्ध या हिटलर, महात्मा गान्धी या क्यालिगुला, मदरटेरेसा या चार्ल्स सोभराज, दिलमाया श्रेष्ठ या दिनेश अधिकारी 'चरी', कृष्णप्रसाद भट्टराई या खुमबहादुर खड्का, कोही पनि जन्मदा महात्मा या अपराधी थिएनन् । अर्थात बालबालिका भनेका काँचो माटो हुन्, कस्तो आकारमा ढाल्ने हाम्रै हातमा छ ।

जन्मदा सँगै लिएर आउने बंशाणुगत गुणले मानिसको ब्यक्तित्वमा केही प्रभाव छोड्छ त्यो बेग्लै कुरो हो तर अधिकांस ब्यक्तिको निर्माण उसको सिकाई र भोगाई बाटै हुन्छ । बालबालिकाहरुको सिकाई प्रक्रिया बिद्यालयमा मात्र होइन, पाइला- पाइलामा भैरहेको हुन्छ । तर हामी यस कुराको अलिकति पनि ख्याल गर्दैनौं ।
बालबालिकाको सामुन्ने झगडा गर्छौं, अरुको कुरा काट्छौं, अरुलाई दोष लगाउछौं, अरुलाई गाली गर्छौं, अरुलाई हानी हुने काम गर्छौं, पशु-पंक्षीको हत्या गर्छौं, स्वास्थ्यलाई प्रतिकुल असर पार्ने वस्तुहरुको सेवन गर्छौं र हाम्रा छोराछोरीहरु असल बनुन् भन्ने कामना गर्छौं ।

सबैभन्दा राम्रो स्कूलमा पढाउँदा पढाउँदै, अरुको भन्दा राम्रो-महंगो ड्रेस किनिदिंदा किनिदिंदै, अरुलाईभन्दा ज्यादा पकेट खर्च दिंदा दिंदै पनि बच्चाहरु बदमास बन्छन् । त्योबेला हामी सबैभन्दा गलत, बच्चालाई नै ठान्छौं र गाली गर्छौं/कुट्छौं/ पिट्छौं । तर आफ्नो, परिवारको, सामाजको गल्ती के छ, खोज्दैनौं । त्यसैले त जन्मदा बुद्ध बनेर जन्मिएको बालक पछि हिटलर, क्यालिगुला, चर्ल्स सोभराज, दाउद इब्राहिम, दिनेश अधिकारी 'चरी', कुमार घैंटे जस्ता बन्न पुग्छन् ।

जतिसुकै ठूलो पदीय आशनमा बसे पनि अरुलाई गाली नगरी निन्द्रा नलाग्ने वर्तमान प्रधानमन्त्री केपी ओली कै उदाहरण काफी छ । कि, सानो हुँदा ओली ज्यूले बेहोर्नु भएको अभाव, अपमान, तिरस्कार, पीडा, उपेक्षा आदिले नै वहाँको ब्यक्तित्व निर्माण भएको हो । ओली ज्यूको दिमागले पक्कै भन्छ- मैले योबेला छुचो बोल्नु हुँदैन । तर गंगटाको ढाडमा बसेर समुन्द्रको यात्रामा निस्केको बिच्छीले आफ्नो स्वभावलाई नियन्त्रणमा राख्न नसकेपछि दुवै डुबेको नीति कथा झैं ओली ज्यू आफ्नै स्वभावले निर्माण गरेको तिरस्कारको समुन्द्रमा डुब्दै र देशलाई पनि डुबाउँदै हुनुहुन्छ ।
म एउटा सामान्य परिवारमा जन्मिएको बालक । ऐतिहासिक पूर्खौली थलोमा जन्मिएको र बुवा-आमा परिश्रमी भएकोले हुनुपर्छ खान र लाउनै नपाउने अवस्था भने बेहोरिएन । तर शिक्षा र चेतनाको अभाव भने पाइला-पाइलामा आइलाग्यो । आमा पूर्ण निरक्षर, बुवा सामान्य पढालेखा । मेरो बाल मानशिकतामा उत्पन्न भएको सम्वेगहरुलाई बुझ्ने क्षमता मेरो बुवा र आमाबाट थिएन ।

बच्चाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा । म मेरो आमालाई घाम र जूनको बिशालताको बारेमा प्रश्न गर्थें । आमा मकैको सामल केलाउँदै गरेको नाङ्लोलाई देखाउँदै भन्नू हुन्थ्यो-घाम र जून यत्रै हुन्छ । नाङ्गो आँखाले हेर्दा कचौरा जत्रै देखिने घाम र जूनलाई आमाले नाङ्लो जत्रो हुन्छ भनिदिनु हुँदा म आश्चर्यले जिब्रो टोक्थें । बिहानै बोबोरेम डाँडाबाट घाम उदाउँदा, त्यो डाँडामा पुग्न पाए घामलाई छुन सकिन्थ्यो होला भनेर बिश्वास गर्थें । पूर्णिमाभन्दा अगाडि-पछाडि देखिने जूनको आकार बारे सहि जानकारी दिने हैसियत मेरो आमा-बुवामा थिएन ।
हावा र बादल कसरी उत्पन्न हुन्छ, चट्याङ कसरी पर्छ, असिना कसरी बन्छ, शीत पर्नुको कारण के हो, यी र यस्ता अनेकौं प्रश्नहरु मेरो सामु थिए, तर प्रश्नको सहि उत्तर दिने कोही थिएनन् । पृथ्वी होइन घाम सरिरहेको ठान्नु, बादल छिटोछिटो उडिरहेको बेला जून कुदिरहेको देख्नु र हावाको कारण होइन वादल स्वयंमा उड्ने क्षमता छ भन्ने बुझ्नु अनौठो थिएन ।

आमा भोर्लाको पातमा सुर्ती बेह्रेर बिंडी बनाउनु हुन्थ्यो र मलाई अगेनामा सल्काउन पठाउनु हुन्थ्यो । तर त्यो बिंडी मैले तानेको देख्नु भए उत्तिबेलै झापड लाएर तँ बिंडी खाने भन्दै गाली गर्नु हुन्थ्यो । हाटबजार जाँदा रक्सीले मात्तिएर बुवा घर आउनु हुन्थ्यो र केटाकेटीले रक्सी खानु हुँदैन भनेर अर्ति दिनु हुन्थ्यो । एकपटक तिहारको बेला हाम्रो घरमा तासको खाल जमेको थियो । गाउँ भरिका अग्रजहरु बसेर तास खेलिरहेका थिए, तास खेल्नेमा स्वयं मेरो बुवा पनि हुनुहुन्थ्यो । म पनि छेउमा बसेर हेर्दै थिएँ । तासको खेलबारे मलाई के थाहा ? मलाई त त्यसमा भएको रङ्गी-बिरंगी फोटोहरुले आकर्षित गरिरहेको थियो । तासमा भएको बुटा गनेर एक-दुई-तीन भन्न सक्थें बरु । मलाई तास छुन मन पर्यो र छोएँ । बुवाले एक्कासी गालामा थप्प्ड हन्नु भो । उहाँको नजरमा मैले तास छुनु खराब थियो । तर मैले सबैभन्दा जान्ने र ठूला मानेकाहरुले खेल्ने चिज कसरी खराब हुन्छ ? मैले सोंच्ने त त्यही न थियो त्यसबेला । 

कल्पनाशीलता सायद ममा सानैबाट थियो । प्रकृतिका अनेकौं रंगहरुलाई म कल्पनामा सजाउँथे । हिमाल देख्दै नदेखेको म बच्चोले बोबोरेम डाँडामा चरा आकार लिएर उभिएको रुखलाई धेरै पछिसम्म "हिमाल चुचुरी" बनाईरहें । सिस्नेम्पा जङ्गलमा लम्पसार भीरलाई दौडिरहेको पाँडुंले कुकुर बनाएर बोलाईरहें । समुन्द्र भनेर सुनेकै आधारमा चिप्रीङ खोलोको करालो छाँगोमा कलकल गर्दै बगिरहेको पानीमा त्यसको छविचित्र कोरिरहें । पाँच कक्षाको नेपाली किताबमा भएको "नालापानी" कविता मैले चार कक्षामा हुँदै पढेको थिएँ, त्यो कविता कण्ठ पनि थियो । कवितामा भएको "बैरी" शब्दको अर्थ मैले जानिन । शब्दार्थतिर ध्यान ध्यान पुगेन । "बैरी" शब्द अंग्रेजहरुलाई प्रयोग गरिएको हो भन्ने त थाहा भो । तर किन "बैरी" भनियो ? म अलमल्लमा परें । उसबेला मैले "बैरी" सँग मिल्दो जुल्दो शब्द जानेको भनेकै "बहिरी" थियो । मैले "बैरी" को अर्थ यसरी लाएँ-अंग्रेजहरु नेपाली नबुझ्ने भएकोले बोलाउँदा बुझेनन् र बोलेनन् । त्यसपछि नेपालीहरुले उनीहरूलाई बहिरो (कान नसुन्ने) ठानेर "बैरी" भने । पछि 'बैरी' को अर्थ 'सत्रु' हो भन्ने थाहा पाउँदा कम्ती नमज्जा लागेन । त्यत्रो चिन्तनपछि निर्माण गरेको मेरो निश्कर्ष एकै चोटि ढल्दा कहाँ मज्जा लाग्थ्यो र ?

प्रत्येक किताबमा राजाको तस्विर, कवितामा राजाकै गुणगान, प्रार्थानामा राजाकै महिमा, प्रजातन्त्र दिवस, राष्ट्रिय एकता दिवस, बाल दिवस, पञ्चायत दिवस, राजा-रानीको जन्म-जयन्ती आदिमा राजाकै जयजयकार, अहो ! जताततै राजैराजा । राजाको बारे कसैले नराम्रो बोल्दा कटक्क मन दुख्ने । राजा महान, राजा सबैभन्दा माथी, राजा सबैभन्दा दयालु, यस्तो पनि लाग्थ्यो-राजाकै कारणले हामी बाँचिरहेका छौं । जब बहुदल आयो, तब बिस्तारै राजाप्रतिको आस्था खण्डित हुँदै गयो । राजतन्त्रको अन्त्य हुनुभन्दा धेरै अगाडि नै मनको सिंहासनबाट राजा हटिसकेको थियो । तर बाल्य मस्तिष्कमा भरिएको सूचनाको प्रभाव हट्न सानोतिनो धक्काले सम्भव हुँदैन भन्ने कुरो अहिले आएर महशुस गर्दैछु । भूत हुँदैन भन्ने बिश्वास हुँदाहुँदै पनि अध्यारोमा मन डराउँछ । शरीर र आत्माको सम्बन्ध ज्यूँदो रहिन्जेलसम्म मात्र हो भन्ने जानकारी हुँदाहुँदै पनि मृत आफन्तहरुको आत्माले आफूलाई लखेटिरहेको भान हुन्छ। यी र यस्ता प्रभावहरु अहिले आएर बिकसित भएका होइनन्, यो त बाल्य अवस्थाबाटै विभिन्न सूचनाद्वारा हाम्रो मस्तिष्कमा घुसेका हुन् । बालबालिकाहरु काँचो माटो हुन्, कस्तो आकार दिने हाम्रै हातमा छ ।

तर समस्या यो छ-कुनै नेतालाई देखाएर बाबू वहाँ जस्तो बन्नुपर्छ है भन्यो भने भोलि त्यही नेता अख्तियारको फन्दामा परेर भ्रष्ट ठहरिन सक्छ । कुनै नामी इन्जिनियरलाई देखाएर नानू वहाँ जस्तै बन्नु पर्छ है भनेर भन्यो भने भोलि त्यही इन्जिनियर कमिसन खाएर कम्जोर संरचनालाई पास गरेको केसमा जेल पर्न सक्छ । कुनै प्रख्यात डाक्टरलाई देखाएर बाबू-नानीहरु वहाँ जस्तै बन्नुपर्छ है भनेर भन्यो भने त्यही डाक्टर मानव अङ्ग तस्करी गरेको प्रमाण सहित अदालतमा उभ्याइन सक्छ । म चाहन्छु, सानोमा जे पढें/सिकें त्यसैको बिरुद्ध मैले जस्तै भावी पुस्ताले संघर्ष गर्न नपरोस् ।

बाल्य स्मृति--३

शिक्षकको गोरु चुटाईपछि तीन दिन बेपत्ता

मैले सबैभन्दा धेरै दोहोर्याएर हेरेको फ्लिम हो- 'तारे जमिन पर' । कति पटक हेरें यकिन छैन तर जति पटक हेर्छु त्यति नै फ्लिमका दृश्यहरुले अन्तर हृदयमा भावावेश उत्पन्न गर्छ ।

 हेर्दा अरु जस्तै सामान्य तर पढ्न-लेख्नमा ध्यान नै केन्द्रीत गर्न नसक्ने बालक-इसान अवस्थी (दर्सिल सफारी) को कथा फ्लिमले बोकेको छ । जस्तोसुकै बुद्धु बालबालिका किन नहोस्, तिनीहरुलाई डर र सजायद्वारा ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने मनोविज्ञान बोकेको समाजमा इसान अवस्थीले भोग्नु परेको शारीरिक-मानशिक यातनाको डरमर्दो चित्र फ्लिमको रिलले घुमाउँछ । तर शैक्षिक सत्रको बीचमा एक अस्थायी शिक्षकको आगमन हुन्छ, इसान अध्यनतर स्कूममा । तिनै शिक्षक (अमिर खान) द्वारा इसान (दर्सिल) को उद्धार हुन्छ ।

फ्लिमको रिलमा त इसानको उद्धार गर्न अमिर खान आइपुग्छ तर कयौं बालबालिकाहरुको रियल लाइफमा अमिर खान अभिनित पात्रहरुको आगमन हुँदैन । अन्ततः ती फरक क्षमता/स्वभावका इसानहरु सिकाई प्रक्रियाबाटै जीवनभर अलग हुन्छन् ।

ऊ र म एउटै गाउँमा जन्मिएर सँगै हरिगुड्डु खेल्दै हुर्किएको मान्छे । हाम्रो जन्म, महिना मात्र फरक तर साल एउटै । तर ऊ दुई बर्ष ढिला स्कुल गयो । म दुईमा पढ्दा ऊ बाह्रखरी सिक्दै थियो । म पाँचमा पुग्दा ऊ तीनमा पढ्थ्यो । पढाईमा कमजोर भएको कारण तानतुन पास (बिषय लागेर पास हुनेलाई उसबेला हामी तानतुने पास भन्थ्यौं) गर्दै तीनसम्म पुगेको थियो । तर तीन क्लास मै उसको पढाइ रोकियो । ऊ ठ्याक्कै 'तारे जमिन पर' को मुख्य चरित्र 'इसान अवस्थी' जस्तो त हैन तर घटना झण्डै 'इसान अवस्थी' ले झैं बेहोर्नु पर्यो उसले ।

मैले पहिलो शृङ्खलामा नेपाली शिक्षक बारे लेखेको थिएँ, तिनै शिक्षक उसको जीवनमा भिलेन बनिदियो । शिक्षकले सोधेको कुनै पनि कुरा उसले नमिलाएपछि दिनदिनै कुटाई खान थाल्यो । अति रिसाहा स्वभावका ती शिक्षकको कुटाई, गोरु कुटाई नै हुन्थ्यो । उसको कलिलो ज्यानले कति नै पो धान्न सक्थ्यो र ? दिनदिनैको कुटाई थापेको हत्केला धेरै दुखेपछि शिक्षकले छडी उज्याउन साथ आफ्नो ढाड थाप्न थालेछ । शिक्षकले 'कहाँ कुटौं' भनेर सोध्दा ढाड देखाउँदै, 'यहाँ' भन्थ्यो ऊ । त्यो कुरा स्कूलमा भाइरल भएर फिँजियो । हामीले त्यो साथीलाई त्यही कुरामा हदैसम्म जिस्कायौं । गाउँमा ठूला-बडाहरुलाई सुनायौं पनि । अर्कोदिन ऊ स्कुल आएन, तर घरबाट भने स्कुल जान्छु भनेर बेलैमा निस्किएको रहेछ । बेलुका ऊ घर गएन । उसको परिवारले खोजी गर्न थाल्यो, खोजी गर्ने क्रममा गाउँलेहरू पनि मिसिए तर रातभर खोज्दा पनि पत्तो लागेन। परिवारको ऊ एक्लो सन्तान, बुवा-आमाको होस् ठेगानमा थिएन । टाढा-टाढाका नर-नातातिर पनि खोजी भो तर हराएको भोलिपल्ट पनि भेटिएन ।

ऊ हराएको पर्सिपल्ट हामी स्कुल जाँदै थियौं, अचानक गाई ग्वालीमा सर्लाकसुर्लुकको आवाज आयो । त्यो ग्वाली हामी स्कुल जानेबाटो भन्दा एक ढिम्कना मुनि थियो । त्यस ग्वालीको घरधनीको घर अलिक माथी पर्थ्यो । हामी ग्वालीतर्फ लम्कियौं । ग्वालीको टाँडमा पराल राखिएको थियो, ऊ सकि-नसकी पराल भित्र घुस्दै रहेछ । हामी हल्ला गर्दै बाहिर निस्कियौं र ऊ ग्वालीमा भएको खबर गर्यौं । केही घर, परमात्रै उसको घर थियो, उसको बाबु-आमा रुँदै आइपुगे । हामी हल्लागर्दै गाउँतिर निस्किएपछि ऊ पनि ग्वालीबाट झरेर उधो जङ्गलतिर डौडन थालेछ । तीन दिन देखिको भोकले ऊ हिंड्नै नसक्ने भएको थियो तर कुटाई खानुपर्ने डरले नसकी-नसकी डौडियो । अन्ततः ऊ समातियो र घर लगियो । त्यो दिनदेखि ऊ स्कुल गएन । धेरै बर्षपछि गाउँकै अर्को स्कुल निमावीबाट मावि बन्ने क्रममा ऊ एकै पटक ८ मा भर्ना त भयो तर तीन कक्षा पढ्दापढ्दै स्कुल छोडेको मान्छेले एकैपटक कसरी आठ पास गर्नु ? फेल भयो र स्कूलको पढाइ सधैंको लागि छोडिदियो ।

यतिका बर्षहरु बितेर गए । अनेकौं पाठ्यक्रमहरु फेरिए । स्कूलमा कयौं शिक्षकहरूले अवकास लिए, कयौं नयाँ शिक्षक थपिए  । देशमा अनेकौं तन्त्रहरु आए-गए, अनेकौं सरकार बन्यो-ढल्यो । तर अझै पनि बालबालिकालाई पढाउने तरिका उस्तै छ । बालबालिकालाई दण्ड र सजायद्वारा मात्र अनुशासनमा राखेर पढाउन सकिन्छ भन्ने मनोविज्ञान शिक्षकहरुमा अझसम्म छ । र, बिद्यार्थीलाई कुटेर तह लगाउने शिक्षक मात्र ठिक हो भन्ने बुझाई स्कुल ब्यवस्थापन समिती र अभिभावकहरुमा छ । घरमा पनि बालबालिकाहरुलाई डर-त्रासमा राख्न सकेमात्र बिग्रदैन भन्ने मनोविज्ञान ब्याप्त छ । जब छोराछोरीहरु बाबुको अगाडि हाकाहाकी बोल्न सक्दैन तब छोराछोरीलाई तहमा राखेको भनेर बाबुको नाक ठूलो बनाउने काम गरिन्छ ।

तर यहिँनिर सबैभन्दा ठूलो कम्जोरी भैरहेको छ । बालबालिकाहरुमा भएको अपार सम्भावनालाई घाँटीमा पासो लाएर कलिलैमा परमधाम पठाउने काम घर, समाज र शिक्षालयहरुमा भैरहेको छ । उड्न खोज्दैगरेका बचेराहरुको कलिलो प्वाँख काटेर कसरी तय गर्न सकिन्छ अन्तरिक्षको यात्रा ? सोच्ने बेला अझै भएन र ?

बाल्य स्मृती-२

कापीको खिललाई बल्छी बनाएर गडेला माछा मार्दा

अचेल शहर-बजारमा बोर्डिङ स्कुल पढ्ने केटा-केटीहरुलाई हेर्छु, प्वाँख काटिएका बचेरा जस्ता लाग्छ्न् । उनीहरु स्वच्छन्द उड्न चाहान्छ्न् तर दिनभरि स्कूलमा बेहोर्नु पर्ने कठोर अनुशासन र घरको लागि बोकाईएको "होमवर्क" को भारीले थिचिएर उड्नु त के डौडन पनि सक्दैनन् । एक दिन स्कुल छुट्टी हुँदा संसारै जितेको ठान्छ्न् बोर्डिङ पढ्ने केटाकेटीहरु । तर उसबेला म एकदिन स्कुल जान नपाउँदा पिँजडाको चरा जस्तै छट्पटिन्थें  म।

बालबच्चालाई जरुर लगाम चाहिन्छ, तर लगाम त्यस्तो नहोस् कि, उनीहरुले दायाँबायाँ हेर्नै नसकुन् । बालबच्चाहरुको लागि शिक्षा र चेतनाको भारी जरुर बोकाउनु पर्छ तर भारी त्यस्तो नहोस् कि, उनीहरु बोकेर हिंड्नै नसकुन् । उसबेला हाम्रो लागि लगाम र भारी दुवै थियो तर अहिलेका बोर्डिङमा पढ्ने बच्चाहरुले जस्तो दायाँबायाँ फर्किनै नसक्ने र भारीले किचिएर उठ्नै नसक्ने अवस्था थिएन ।

फल्याकमा माटोको धुलो ओछ्याएर बनमाराको सिन्काले अक्षर लेख्नु पर्ने हामीहरु सफा-सुग्घर त कहिले पो हुन्थ्यौं र ? तर पनि घरमा बस्दा र स्कुल जाँदा लाउने कपडा अलगअलग नै हुन्थ्यो । सायद खेल्नुको हतारोमा बिर्सिएर धेरै पटक घरमा लाउने कपडा लाएरै स्कुल पुगेको छु ।

खेल पनि मौशम अनुसारको हुन्थ्यो हाम्रो । स्कूलको टिफिन टाइम खेलेरै बित्थ्यो । पानी पर्ने बर्षादको समयमा कोठा भित्रै ढुङ्गाको गट्टी खेलिन्थ्यो । बाटोमा गोलो चिल्लो ढुङ्गा भेट्न साथ गट्टी भन्दै खल्तीमा हालेर स्कुल पुगिन्थ्यो । कलिला-साना हातले सानै भए पनि पाँच दाना ढुङ्गा  खेलाउनु चानचुन कुरो थिएन ।

शरद ऋतु लागेपछि फराकिलो ठाउँमा ठूलो-ठूलो कोठामा बनाई दुई समूहमा बिभाजित भएर रिङ लेख्थ्यौं । खास त्यो खेलको नाम केहो मलाई अझै थाहा छैन तर हाम्रो बालसुलभ मस्तिस्कले "रेङ" भन्थ्यो । प्रत्येक कोठाको लाईन र बीचको लाइनमा उभिएको चेकरलाई छलेर बाहिर आउँदा खेल जितिन्थ्यो । बीचको चेकरले जताबाट छोए पनि मरिने तर अरु लाईनमा उभिएको चेकरले चाहिँ अगाडिबाट दुवै हातले छुँदा मात्र मरिने नियम थियो । अहिले सम्झन्छु, छक्याउन र डौडन साह्रै राम्रो अभ्यास हुन्थ्यो त्यो खेलमा ।

मंशिर लागेपछि हामी प्रायः कागजको पुतली उडाउँथ्यौं । कागजको पुतलीलाई हावाजात (हवाईजहाज) भन्थ्यौं  । कसै कसैले बनाएर उडाएको पुलती यति टाढा पुग्थ्यो कि, त्यसलाई खोजेर ल्याउनै नसकिने। लेखिसकेको कापीको पाना नै पुतली बनाउने कागज हुन्थ्यो । कहिले काहीँ स्कूलको अफिसमा भेटिने पुरानो किताब पनि च्यात्दै उडाउँथ्यौं । पुतली राम्रोसँग उड्ने बनाउनु पनि एकप्रकारको कला नै हो। जसको पुलती धेरै उड्थ्यो, उसको बेग्लै सम्मान हुन्थ्यो ।

माघ लागेपछि डन्डीबियो खेल शुरु हुन्थ्यो । भली गरेर हावामा नाचिरहेको बियोलाई तलबाट बिस्तारी डन्डीले हिर्काउँदा जति धेरै ठ्याक लगायो त्यति नै धेरै अंक आउँथ्यो । ठ्याक र बियो फालाईको हिसाबमा अंक धेरै आउने हुँदा बियोलाई धेरै ठ्याक लाउने प्रयास गरिन्थ्यो । बियोलाई कहाँ हिर्काउँदा राम्रोसँग भली हुन्छ र भली भैसकेपछि कसरी सन्तुलन मिलाएर ठ्याक लाउँदा धेरै पटक उफार्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान डन्डीबियो खेलले दिएको अहिले सम्झन्छु । अंक जोड्दै जानू पर्ने हुँदा गणित सिकाईमा पनि डन्डीबियो खेलले निक्कै सहयोग पुर्याएको भन्दा अत्यूक्ती नहोला ।

चैत्र लागेपछि गुच्छा खेल शुरु हुन्थ्यो। गुच्छा प्रायः ढ्याम पिटी खेलिन्थ्यो । जसले मार्यो उसैले मर्नेलाई पिट्ने । कहिलेकाही कापीको पन्ना मारी र गुच्छा मारी पनि खेलिन्थ्यो । जसको धेरै गुच्छा हुन्थ्यो उसको सान नै बेग्लै, जो धेरै सिधा हान्थ्यो उसको मान नै बेग्लै । रिट्ठाको दाना र ब्यारिङलाई पनि गुच्छा बनाएर खेलियो । ब्यारिङले सिसाको गुच्छा फुटाउँदा रुनेहरुको संख्या पनि धेरै नै हुन्थ्यो ।

जेठ लागेपछि "खर्ल्याङखुट्टी" खेल शुरु हुन्थ्यो । समतल भुइँमा कोठै कोठा कोरी एउटा खुट्टा माथी उचालेर एउटा खुट्टाले ढुङ्गाको गोटी प्रत्येक कोठामा सार्दै लानु पर्ने यो खेललाई "एक्कादुक्का" भन्थ्यौं । कोठाहरुमा गोटी चालिसकेपछि दुवै आँखा चिम्मिएर कोठामा पस्नु पर्ने, पछाडि फर्किएर कुनै एक कोठामा गोटी खसाउनु पर्ने आदि नियम हुन्थ्यो । यो खेलबाट शारीरिकसँगै धेरै कुराहरुको अभ्यास भएको थियो भनेर नभनिरहन सकिन्न । टोपी लुकाई र भाले जुधाई खेल पनि प्रशस्तै खेल्थ्यौं । तर यी खेलहरु चाहिँ कुनै मौसमसँग सम्बन्धित थिएनन्, मन लाग्यो खेल्यो, मन लाग्दैन अरु खेल जिन्दाबाद ।

असोज-कार्तिकको बेला टिफिन टाइममा अमला खोजी खानु, ठूलो पानी परेको बेला खोलामा उर्लिएर झर्ने बाढीलाई स्कूलको झ्यालबाट रोमाञ्चक हुँदै हेर्नू, आकासमा हेलिकप्टर उड्दा आँखाले देखिन्जेल र कानले सुनिन्जेल हेर्नू/सुन्नु, स्कुलको डिलमा उभिएको चम्लामा न्याउली कराउँदा स्वरमा स्वर मिलाउनु, स्कुल विदा भएपछि दौडदै आएर सानो खोल्सोमा कापीको खिललाई बल्छी बनाई गडेला माछा मार्नु, यी र यस्ता थुप्रै रोमाञ्चक क्षणहरु छन् प्रा.वि. तह पढ्दाका ।

आफ्नै पुराना दिनहरु नियालेपछि मेरो बैयक्तिक अनुभवले भन्छ- प्रकृतिका विभिन्न पक्षसँगको समागम र स्कूलमा साथीहरुसँग खेलिने खेलकुदहरुले बालबालिकाको सिकाईमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गर्दैन स्कुल जाने उत्साहमा पनि बढोत्तरी ल्याउँछ । कुनै एक बालक पढाईमा कमजोर भए पनि खेलकुदमा अब्बल छ भने उसको सान साथीहरु बीचमा बेग्लै हुन्छ, जसको कारण ऊ स्कुल जान कहिल्यै अल्छि गर्दैन ।

तर अचेल अधिकांस बोर्डिङ स्कूलहरु एउटा सानो कम्पाउण्डमा सिमित छन् । स्कुलमा हुँदा, न हुरी चल्दा लचक्क लच्कने रुख देखिन्छ, न बाढी आउँदा उर्लने खोलो नै । फलामे डन्डी लगाएको झ्यालबाट मुण्टो छिराएर न घामको पाइला नाप्न सकिन्छ न छेवैमा आएर कराउने न्याउलीलाई जिस्काउन नै ।  भलै स्कुल हाता भित्र केही खेल्ने आधुनिक सामग्री होलान् तर ती सिमित खेल्ने सामग्रीले बालबालिकाहरुको चाहना पूरा गर्न सक्दैन । जाँदा-आउँदा अभिभावक र स्कूलमा शिक्षक-शिक्षिकाको निगरानीमा रहनुपर्दा स्कुल पढ्नु भनेको जेलमा बस्नु जस्तै भैरहेको छ बालबालिकालाई । त्यसैले त एकदिन स्कुल बिदा हुँदा संसार जितेको ठान्छन् बोर्डिङका बालबालिकाहरु ।

धेरैलाई लाग्दो हो बोर्डिङ स्कूलको नतिजा अब्बल छ । हो, एस.एल.सीको नतिजा हेर्दा त्यस्तो देखिन्छ । तर जिन्दगीको मक्सद एस.एल.सी. पास गर्नु मात्रै होइन । अधिकांस बोर्डिङ स्कूलहरुले एस.एल.सी. मा राम्रो मार्कस् ल्याउनु नै जिन्दगीको जीत हो भन्ने भ्रम पालेर बालबालिकाहरुलाई किताबमा जे छ त्यही घोकाई रहेका छन् । जसरी उचालेको कुकुरले मृग मार्दैन भनिन्न त्यसरी नै घोकेको शिक्षाले मानिसको भविश्य निर्माण गर्न सक्दैन । यदि एस.एल.सी. मा अब्बल मार्कस् ल्याउनु नै जीवनको जीत भैदिएको हुन्थ्यो भने बोर्ड फस्ट हुने विद्यार्थीहरुको नाम आज प्रत्येक नेपाली जनताको ओंठमा झुण्डिएको हुन्थ्यो । खै त डा. बाबुराम भट्टराईभन्दा अरुको नाम सम्झना छ त ?

जे होस् सरकारले यतिबेला शिक्षा क्षेत्रमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । एस.एल.सी. लाई पास-फेल होइन ग्रेड सिष्टममा लाने निर्णय पक्कै पनि बालबालिकाको पक्षमा छ । अब बोर्डिङ स्कूलहरुले आफ्नो अस्थित्व कायम राख्ने हो भने पाठ घोकाउने होइन सिर्जनात्मक शिक्षा दिन थाल्नु पर्ने छ । सरकारी/सामुदायिक बिद्यालयको हकमा शिक्षा नीतिसँगै सरकार, बिद्यालय ब्यवस्थापन समिती, शिक्षक र अभिभावकहरु अलिकती जिम्मेवार भैदिने हो भने मात्रै पनि बोर्डिङ स्कूलमा महंगो फी तिरेर आफ्ना बालबच्चालाई प्वाँख काटिएको बचेरा बनाउन बाध्य हुनुपर्ने थिएन ।

बाल्य स्मृति-१

जान्दा पनि पिटाई, नजान्दा पनि पिटाई

म कक्षा ४ देखि नेपाली अक्षर राम्रोसँग पढ्न, पढेको कुराको अर्थ बुझ्न र बुझेको कुरालाई कल्पनामा उतार्न थालेछु सायद । मेरो मन पर्ने बिषय सामाजिक र नेपाली (उसबेलाको महेन्द्रमाला) थियो । कथा, कविता, बालगीत र इतिहासका कुराहरुले मज्जाले तान्थ्यो । मैले कक्षा ५ को नेपाली र सामाजिक किताब कक्षा ४ मै दोहोर्याई-तेहेर्याई पढेर सकेको थिएँ ।

हामीलाई नेपाली पढाउने सर रिसाहा प्रवृतिको हुनुहुन्थ्यो । ती सरको अनुहार मात्र होइन बोलीमा पनि क्रुरता झल्कन्थ्यो। हामी विद्यार्थीहरु उहाँसँग पटक्कै आकर्शित हुँदैन थ्यौं । तर मेरो मन पर्ने बिषयको शिक्षक वहाँ नै भएको हुनाले सकभर वहाँको कक्षामा ध्यान मग्न हुन्थे म ।

वहाँले प्रायः प्रश्नहरु सोधिरहनु हुन्थ्यो । प्रश्नको जवाफ दिन नसक्नेलाई सजाय दिने तरिका वहाँको फरक थियो । अर्थात जो जान्दैन, उसलाई जान्नेले कानमा समातेर गालामा चड्कन लगाउनु पर्थ्यो । यदि चड्कन बिस्तारो भयो भने चड्कन लगाउनेलाई नै यसरी हिर्काउनु पर्छ-बुझिस्, भन्दै रन्थनिने गरि गालामा झापड हान्नु हुन्थ्यो । कहिले काँही कुट्नको निम्ति बाँस घारीमा सिर्कना लिन पठाउनु हुन्थ्यो । सिर्कना सानो ल्याएमा, सिर्कना ल्याउनेलाई नै त्यही सिर्कनाले सुम्ल्याएर ठूलो ल्याएर आइज भन्नू हुन्थ्यो ।

वहाँले पढाएर भन्दा पनि आफै पटक-पटक पढेको हुनाले म प्रायः जवाफ मिलाउँथे । साथीहरुलाई कानमा तानेर झापड हान्ने र बाँस झ्याङमा सिर्कना लिन जाने काम प्रायः मेरै हुन्थ्यो । साथीहरुलाई बिस्तारी कुटेको र सिर्कना सानो ल्याएको निहुँमा मैले थुप्रै पटक सरको कुटाई खाएको छु ।

म प्रायः ती सरले सोधेको प्रश्नको जवाफ मिलाउने भएको हुनाले कक्षाकोठाका अरु साथीहरुलाई थुप्रै पटक कुटियो । पहिला-पहिला साथीहरुलाई बिस्तारै कुट्दा आफै सरको पिटाई खानु परेको कारण चर्कोसँग झापड हान्न थालें। त्यसरी साथीहरुलाई कुट्नु मनले कहिल्यै मान्थेन । मनमा आत्मग्लानी भैरहन्थ्यो । अर्कोतिर साथीहरु प्रायः मभन्दा ठूला थिए । कक्षाकोठामा केही भन्न नसके पनि बाटोमा साथीहरुले अब साह्रो कुटिस् भने तँलाई पनि त्यसरी नै कुट्छु भन्थे । सरले सोधेको प्रश्नको जवाफ नदिउँ सरको बाघेझप्पु भेटिने, जवाफ दिउँ--नजान्ने साथीहरुलाई कुट्नु पर्ने र बाटोमा आफै ती साथीहरुको फुट्बल बनिने सम्भावना ।

यस्तो धर्मसंकटको अवस्थामा मैले एक दिन सरले सोधेको प्रश्नको जवाफ जानेर पनि आउँदैन भनिदिएँ । त्यो दिन कसैले उत्तर मिलाएनौं । त्यसदिन सरले बाँसको सिर्कना लिन मलाई नै बाँसघारी पठाउनु भो । मैले सिर्कना मझौला खाले ल्याएँ । सिर्कना सरको हातमा पर्न साथ कुटाई खाने पालो मेरै पर्यो । पहिलोपल्ट सिर्कनाले हान्ने क्रममा म डराएर हात अलिक पछाडि तान्दा औंलाको टुप्पोमा मात्र भेट्यो । हात तानेको कारण मैले दोश्रो पटक पनि कुटाई खानु पर्ने भो । जे परोस् सहन्छु भनेर आँखा चिम गरि हात थापें । सायद फेरि पनि मैले हात पछाडि तान्छु भनेर होला सरले सिर्कनाले हातको पञ्जा होइन नाडीमा ताक्नु भएछ । मैले हात पछाडि तानिन । सिर्कना हातको नाडीमा बज्रीयो । म थुचुक्कै बसें । आँखाबाट आँसु बरबरी झर्यो । आँसु पुछ्दै बेञ्चमा गएर बसें । सबैले कुटाई खायौं । सर कक्षाकोठामा भइन्जेल आपसमा बोल्ने कुरो भएन । सर निस्केपछि साथीहरुले मलाई हेर्दै गिज्याउन थाले । उनिहरु आफूले कुटाई खाएकोभन्दा पनि मैले कुटाई खाएकोमा रमाइरहेका थिए । हुन पनि हो अरुदिन मैले उनिहरुलाई पिट्दा मप्रति उनीहरुको नकारात्मक धारणा बन्न स्वभाविक थियो ।

त्यो दिन मेरो हातको नाडीमा छडीको सुम्ला बसेको थियो । सिर्कनाको कुटाई पछिको झन्झनाहट केही बेरमा रोकिए पनि सुम्ला उठेको ठाउँमा दिनैभरी दुखिरह्यो । बेलुका घर पुग्दा समेत सुम्ला हराएको थिएन । लामो बाहुलावाले सर्टले सुम्ला लुकाएँ । घरमा त्यो सुम्ला देख्नु भएको भए, सम्भवत: मैले बुवाको पनि थप्पड खानु पर्थ्यो । अर्थात दिनभर स्कुलमा पढेर पनि सरले सोधेको कुरा भन्न नसक्ने मुलाङलाई त्यसबेला गार्जिएनले गर्ने भनेकै अर्को थप्पड लाउनु न थियो ।

Saturday, December 19, 2015

फूलको कविता

ढकमक्क फूलेको फूल देखाएर
प्लिज मलाई शौन्दर्यको कविता लेख्न नलाउनुस्
किनकि,
यो दुनियाँमा फूल जतिको अभागी
र, फूल जतिको बैरागी
सायद कुनै वस्तु देखेको छु
-जो मान्छेको निर्दयी हातले निमोठिएर
हरेक बिहान ढुङ्गाको अगाडि फ्यात्त फालिन्छन्
र, साँझमा तिनै हातहरुले निचोर-नाचोर पारिएर
गन्धे डसबिनमा हुत्याइन्छन्
भन्नुस्, के त्यो सौन्दर्य कविताको लागि सुहाउँला ? 

भलै उनिएर धागोको त्यान्द्रोमा
कुनै भ्रष्ट नेताको गला सजिएको देख्दा
अन्धाहरुले फूलको  स्तुति
जोडजोडले गाउँन सक्छन्
परन्तु स्तुति, कविता होइनन्
जो तक्मा थाप्न लेखिएको होस् ।

साँच्चै लेख्नै पर्ने हो भने
आर्यघाटको कुनै चितामा
दुष्ट नेता वा भ्रष्ट प्रशासकको लासमाथि
हाँस्दै हाँस्दै बसेको फूल हेरेर
लेखौंला मृत्योत्सवको कविता ।

नेपाली राष्ट्रवाद

गाइको दूध मूर्तिमा खन्याएर बजार जाउ र कोकाकोला खाउ
सिङ्पुरे सारी, कोरियन पैंन्ट, यूके स्वेटर र हल्याण्डको लुङ्गी लाउ
दिनभर मोदीको पुत्ला जलाई तमासा गरि साँझमा घर फर्किएर
इन्डियन चामलको भात हसुरी उतै तिर फर्किएर गर ढ्याउ ।

वीर

जालहारीको माछा उन्ने झिर बन्नु छैन मलाई
गल्तीमा पनि झुक्दै नझुक्ने शीर बन्नु छैन मलाई
अरुले उचालेकै भरमा निर्दोष मानिसलाई मारेर
छातिमा खुनी तक्मा भिर्ने वीर बन्नु छैन मलाई ।

राहदानी

सानोमा घोक्नु घोकायो राज्यले राजा-महाराजाको झुटो कहानी
तातो पानी नलगाई दहिको ठेकीमा तानी रह्यो निरन्तर मदानी
कसरी निस्कन्थ्यो र नौनी त्यहाँ, जो पानीको मात्रै मिलेको थिएन
अन्तत: सारा नौजवानहरुको हातमा राज्यले थमायो राहदानी ।

ईतिहास

कि नेताको बोलीले बिगार्यो
कि पुलिसको गोलीले बिगार्यो
दशक पछि पढ्ने छौं पक्कै यहि इतिहास
नेपाललाई सबैभन्दा बढी ओलीले बिगार्यो ।

लुट

अपराधीहरु मिलेर यहाँ सत्ता बनायो
सेना, पुलिस र कर्मचारीको जत्था बनायो
दुखै नगरी जनसाधारणलाई लुटी खान
तलव, पेन्सन, बोनस र भत्ता बनायो ।

दोष

आफ्नै थैलीको मुख बन्धिलो नकसेपछि
भाइ सभामा इमान्दारिताका साथ नबसेपछि
छिमेकीलाई दोष लाउनुको कुनै तुक छैन महोदय !
दिमागमा राम्रो सल्लाह पस्दै नपसेपछि ।

हालत

अख्तियारको पत्रले कसैको ओंठ तालु सुक्दैछ
बहुला कुकुरको गतिमा नानाभाँती भुक्दैछ
हिजोसम्म सडकमा छाती खोलेर हिंड्नेहरु
कसैले देख्छ कि भन्दै आज कुनाकानी लुक्दैछ ।

गीत

यहाँ माया त सधैं हारिरहेछ
जात र धर्मले पछारिरहेछ

सिमानले रोकेर पाइलाहरु
घृण, तिरस्कार उमारिरहेछ ।

कतै धन उभिन्छ बनेर तगारो
कतै दर्शनले लाउँछ आँखामा छारो
कोही मायाको फूल, चुँडेर फेरि
शक्तिको अगाडि पर्छन् पसारो ।

रुप र बैंसमा भुलिन्छन् कोही
कोही बिताउँछन् जिन्दगी रोई
अगाडि म जान्छु भन्नेहरु नै
बन्दछन् यहाँ अमर विद्रोही ।

गीत


यहाँ म नौलो क्रान्ति चाहान्छु
क्रान्ति पछिको शान्ति चाहान्छु

दीप जलाई अँध्यारो भगाई
निराश मनमा आशा जगाई
प्रगति पथमा लम्कनलाई
दिनु सबैलाई जीवन बधाई
त्यसैले यहाँ क्रान्ति चाहान्छु
क्रान्ति पछिको शान्ति चाहान्छु

सद्भाव छर्न, मनको आँगनमा
फैलाई प्रीति निल गगनमा
भरेर सत्य बोली बचनमा
पाएर तृप्ती नीर लोचनमा
त्यसैले यहाँ क्रान्ति चाहान्छु
क्रान्ति पछिको शान्ति चाहान्छु

गीत


संसारमा को होला र मान्छे जस्तो बैमानी
दुध भन्दै पिलाउँछन् विषालु त्यो पानी

लाख माया देखाएर नजिक नजिक आउँछन्
धर्ति आकाश खोतलेर हजार नाता लाउँछन्
जब पूरा हुन्छ स्वार्थ अनि लत्याएर
दुनियाँको सामु उल्टै झुटो गीत गाउँछन्
संसारमा को होला र.......


पहिलो भेटमा सर्माउँदै बोल्छन् मीठो बोली
रसाउँछ तन–मनमा पिरतीको खोली
जब पूरा हुन्छ स्वार्थ अनि लत्याएर
हाँसी हाँसी चलाउछन् छाति माथि गोली
संसारमा को होला र......

मुर्कुट्टा

उहिले उहिले
आमाले सुनाएको मुर्कुट्टाको कथा
यतिबेला बेस्मारी याद आइरहेछ ।

मुर्कुट्टा जो,
मरेको मान्छे रुँगेर मसानघाटमा
रातविरात मृत्यु संगीत बजाईरहन्छ
टाउको नभएको डरलाग्दो ज्यानमा
दलेर लासको खरानी
उसले अट्टाहाँस हाँस्दा
गाउँमा चोला उठ्छ कसैको
-आमाले सुनाएको यहि कथा
आज आफ्नै आँखाले देखिरहेछु,
हैट ! मुर्कुट्टा त
नेपाली शासक जस्तै पो हुँदारहेछन् ।

जो ठूला बिनासकारी भूकम्पको प्रतिक्षामा हुन्छ संधै
मरुन् हजारौं हजार मान्छेहरु
भत्किउन् मानव निर्मित संरचना
जसलाई देशीविदेशी सञ्चार माध्यमले
भाइरल बनाई देओस् संसारभर
र, जुटेपछि अरबौं अरब राहत रकम
सुरु हुन्छ ज्यूँदा मुर्कुट्टाहरुको ताण्डव
सिंहदरबाररुपि मसानघट्टामा
कोही जस्तापाता कुम्ल्याउँछन्
कोही त्रिपाल खरिदमा लुट मच्याउँछन्
कोही पीडितहरुको भ्रमण कोटामा
आफ्नै छोरी-नातिनीलाई उडाएर
मलाई त थाहै छैन भन्दै ङिच्च दाँत देखाई
मुर्कुट्टा धुन बजाईरहन्छन्
साँच्चै यी मुर्कुट्टाहरुलाई
सधैं भूकम्प आइदिए क्या मज्जा हगि ?
उस्तै प्यारो छ यी मुर्कुट्टाहरुलाई-नाकाबन्दी
खडा गरेर कृतिम अभाव
कालाबजारिया मार्फत इन्धन बेच्नुको फाइदा अगाडि
जनताले पाएको दु:ख के दु:ख ?
साइकल र दाउराको फोस्रो राष्ट्रबादमा
आखिर सत्ता जोगिन्छ भने
यसरी नै चलिरहोस् नाकाबन्दी
तब न मुर्कुट्टाहरु मसानघाटमा
निरीह जनताको लास हेर्दै
जयजयकार मनाइरहन्छन् ।

तर मुर्कुट्टाहरुको अस्थित्व रात रहिञ्जेल मात्र हो
-आमा यसो पनि भन्नु हुन्थ्यो ।

लेखकीय मर्म

मूर्ती कुँद्ने हातहरुलाई काटेर
मूर्ति पूजा गर्ने यो ढोंगी दुनियाँ
पात्रहरुलाई भगवान बनाएर
लेखक माथि शासन गर्न पल्केको छ
त्यसैले म,
नायकत्व लेखेर
निरीह बेदब्यास बन्न चाहान्न
जो आफ्नै पात्रको अघिल्तिर उभिएर
गोपिनीहरुको नाङ्गो शरीर हेर्दै
स्खलित भैरहोस् बार-बार ।

प्रेम


सायद प्रेम अभिब्यक्त गर्न मलाई आउँदैन
हुनसक्छ त्यसैकारण यो उमेरसम्म
आई लभ यू भनेको छैन कसैलाई
न बोटबाट चुँडेर रातो गुलावको फूल
उपहार नै दिएको छु
यसो पल्टाएर हेर्छु कहिलेकाँही शब्दकोष
जो कोरिएको छ मनको अक्षरले
जहाँ यस्तो लेखिएको छ प्रेम बारे
--यो देखाउने होइन, अनुभूति गर्ने संवेग हो
मलाई लाग्छ अनुभूतिपछिको प्रतिक्रिया
एकजोर आँखाले अभिब्यक्त गर्छ
हो म यतिबेला,
त्यही अभिव्यक्ति बोकेर
उस्तै अभिव्यक्तिको पर्खाइमा छु ।

नेपालमा

यता जनता बेहालमा छन्
उता नेता मालमालमा छन्
कुकुर जन्ती, बिरालो भान्से
हाम्रै देश नेपालमा छन् ।

गजल


आफन्त जनलाई बिरानो देख्ने, तिम्रो दृष्टि गलत भो
आफूभन्दा अरुलाई सानो देख्ने, तिम्रो दृष्टि गलत भो

राखेर मनमा खोट हजारौं, कहाँ हुन्छ मन चङ्गा
घोप्टो यो आकाश उत्तानो देख्ने, तिम्रो दृष्टि गलत भो

सहेर अपमान साँझ-बिहान, सजाएँ यो दिल भित्र
यही दिललाई अचानो देख्ने, तिम्रो दृष्टि गलत भो

पीडा झेल्नुको पनि हद हुन्छ, घाउ त्यो चर्किए पछि
रुझेका यी नयन ओभानो देख्ने, तिम्रो दृष्टि गलत भो

एकै डिकोमा अल्झिएर सँगै, एकै पानामा लेखिन्दा नि
आफूलाई उँचो लकानो देख्ने, तिम्रो दृष्टि गलत भो ।

पक्षधरता

१) करिव छ बर्ष अगाडि एक जना नजिकका मित्र र एक चिन्जानकी महिला बीच प्रेम र यौनको सन्दर्भमा निक्कै गतिलो बहस चल्यो । उनीहरु बीच प्रेम थियो । तर प्रेम फगत यौनको लागि । पुरुष मित्र बिवाहित थिए । जो अबुझ थिएनन् । ती महिला,,, पुरुष मित्रसँग खै के कारणले आकर्षित भईन् थाहा भएन । तर बजारमा हल्ला चल्यो महिलाको अरु केही पुरुषसँग पनि सम्बन्ध छ । अन्ततः ती पुरुष साथी र महिलाको सम्बन्धमा दरार उत्पन्न भयो । दुवैले खुल्लारुपमा एक-आपसलाई आक्षेप लाउँदै पत्रीका मै लेखे पनि । अन्ततः मैले पनि एउटा कविता लेखें । तर मैले महिलाको पक्ष लिएँ । मैले महिलालाई आक्षेप लगाउने ठाउँ देखिन । किनकी ती पुरुष जो आफूलाई सुझबुझ भएको ठान्थे र उनलाई चिनेका सबैले त्यही ठान्थ्यौं । उनी बिवाहित थिए । बुझ्नु पर्ने त उसले पो हो त । यदि ती महिलाले उसँग नाजायज सम्बन्ध नै राख्न खोजे पनि उसले ती महिलालाई सम्झाउने हिम्मत राख्नु पर्थ्यो । अनेक बाहानाबाजी गरेर निकट सम्बन्ध पनि राख्ने र पछि उसैको चरित्रमा औलो उठाउनु पुरुष मित्रको नैतिकताले पनि नदिने काम थियो । भलै महिलाको कमजोरी पनि थियो तर कम्जोरी धेरै पुरुष मित्रकै भएकोले म कवितामा पुरुष मित्र प्रतिनै आक्रमक बने ।

२) करिब डेढ बर्ष अगाडि अवैध गर्भ पतन गरेको केसमा एक नेपाली महिलालाई पुलिसले रङ्गेहात पक्राउ गरेको समाचार आयो । धेरैले ती महिलालाई गाली गर्दै सामाजिक सञ्जालमा लेखे । तर मैले आफ्नै स्टाटस र अरुको स्टाटसको प्रतिक्रियामा ती महिलालाई गर्भवती बनाउने पुरुषको गल्तीको बारेमा लेखें । र, यो पनि लेखें कि, "यदि यौन समागमपछि पुरुषले गर्भ बोक्नु पर्ने प्राकृतिक नियम हुन्थ्यो भने मलेसियामा लाखौं पुरुषहरु अबैध गर्भ पतनको केसमा जेल जाने थिए ।" अन्ततः एक बर्षपछि अदालतले ती महिलालाई निर्दोष सावित गर्यो र ती महिला नेपाल फर्किइन् । तर अगाडि ती महिलालाई गाली गर्दै स्टाटस लेख्ने धेरै साथीहरुले बिगतमा आफूले गरेको कम्जोरीको आत्मालोचना गर्न त परै जाओस् ती महिला निर्दोष सावित भएकोमा खुसी समेत ब्यक्त गरेनन् ।

३) संविधानको मस्यौदामा सुझाव दिने क्रममा महिलाले पनि दुई वा दुईभन्दा बढी श्रीमान् राख्न पाउनुपर्छ भन्दै एक महिलाले सुझाव राखिन् भन्ने आशयको समाचार अनलाईनमा आएपछि ती महिलालाई गाली गर्दै धेरै स्टाटस लेखियो । फेरि पनि मैले ती महिलाले पुरुषप्रधान समाजलाई व्यंग्य गरेको हो भन्दै उनको समर्थन जनाएँ । एक जना मित्रले मेरो स्टाटसमा "महिलाले दुई वा दुईभन्दा बढी श्रीमान् राख्ने चलन तपाईं कै घरबार शुरु होस् " भन्दै भद्दा प्रतिक्रिया पनि जनाए । अझसम्म म त्यसबेला पुरुष मित्रहरुले ब्यक्त गरेको बिचार सम्झेर झस्कने गर्छु ।

४) संविधानमा आमाको नामबाट नागरिकता पाउनु पर्ने र बिदेशी बुहारीले झैं बिदेशी ज्वाईँले पनि नागरिकता पाउनुपर्छ भन्ने माग महिलाहरुले राख्दा प्रायः सबै पुरुष मित्रहरुले नकारात्मक प्रतिक्रिया जनाए । तर त्यो माग जायज हो भन्ने कुरामा म अझै पनि अडिग छु ।

५) हिजो मात्र एक मित्रले झोलामा पोको पारेर फालिएको नवजात शिशुको फोटो फेसबुक पेजमा राख्नु भएको थियो । जहाँ महिलालाई गाली गर्दै धेरै प्रतिक्रियाहरु लेखिए । त्यस स्टाटसमा मैले लेखें "यदि पुरुषले गर्भधारण गर्नुपर्ने प्राकृतिक नियम भए, दैनिक सयौं नाबालकहरु यसरी नै पोको पारिएर फालिन्थे होलान् ।"

६) दलित सभाषद् र दलित अधिकारकर्मीहरुले संविधान सभा अगाडि बिरोध प्रदर्शन गर्दा प्रहरीले व्यापक दमन गर्यो । सभाषद् समेतले टाउको फोडियो । दलितहरुले हतियार बोकेका थिएनन्, न तोडफोड नै गरेका थिए । एकाध घण्टा चक्का जाम गर्दा राज्य त्यति निर्ममरुपमा प्रस्तुत हुनु लोकतन्त्र कै उपहास थियो । सरकारी कदमको बिरोध र दलितहरुको पक्षमा स्टाटस लेखियो । तर त्यही स्टाटसलाई पनि धेरैले नकारात्मक रुप मै अर्थ्याए ।

७) थारुहट/थारुवान र मधेस आन्दोलनमा मेरो नैतिक समर्थन छ । म प्रायः मधेस आन्दोलनको समर्थनमा स्टाटस लेखी नै रहन्छु । म आदिवासी जनजाती भएको नाताले आदिवासी जनजातिको पक्षमा नबोल्ने कुरै भएन । राज्यको सिमाङ्कन पछि कर्णालीले आन्दोलन गर्दा कर्णालीको पक्षमा पनि स्टाटस लेखियो । कर्णालीको आवाज राज्यले सम्बोधन गर्दा खुसी पनि ब्यक्त गरियो ।

८) हिजो इराकमाथि अमेरिकी गठन्धनले आक्रमण गर्दा होस्, तालिवानमाथि नेटोले सैनिक कार्वाही चलाउँदा होस्, इजरायलद्वारा प्यालेस्टाइनी जनता माथिको अत्याचार होस्, अहिले ISIS बिरुद्ध पश्चिमी राष्ट्रले गरिरहेको कार्वाही होस् वा भारतमा मुस्लिम लगायत अन्य धर्म मान्नेहरु माथि राज्यले सिर्जना गरेको अघोषित आतंकको सवालमा होस् सत्ता वा शक्तिको पक्षमा उभिन सकिएन । बरु पेन्टागन, पाकिस्तानको स्कूल वा हालै पेरिसमा भएको आक्रमणको जिम्मेवार आक्रमणकारीलाई भन्दा ज्यादा तिनै सत्ता वा शक्तिमा रहेका राज्यहरुलाई दोषी ठानियो । झ्याल ढोका थुनेर बिरालोलाई कुट्दा बिरालोले मान्छेको घाँटी फोर्यो भने दोष बिरालोको होइन मान्छेको हुन्छ । अहिले स्लामिक वा विभिन्न समूहबाट सर्वसाधारण माथी भैरहेको आक्रमण बिरालोलाई झ्याल ढोका थुनेर कुट्नुको परिणाम हो भन्ने ठम्याई हो ।

म सत्ता र शक्तिको बिरोधी हुँ । मेरो पक्षधरता सधैं उत्पीडितहरुको हो । पुरुषको ठाउँमा महिलाको, पहाडेको भन्दा मधेसीको, नेपालको राजकीय सत्तामा सधैं रहेका ब्रम्हाण-क्षेत्रीको भन्दा आदिवासी-जनजातिको, आदिवासी-जनजातिको दाँजोमा दलितको, मधेसमा पनि मदेशी ब्रम्हाण-क्षेत्रीभन्दा मदेशी दलितको, नेपाल-भारतमा हिन्दुको भन्दा मुस्लिम- बुद्धिष्ट-इसाईको, यूरोप अमेरिकामा इसाईकोभन्दा हिन्दु-मुस्लिम-बुद्धिष्ट आदिको, अरब-पाकिस्तान-बंगलादेश आदिमा मुस्लिमको भन्दा हिन्दु-बुद्धिष्ट-इसाईको, चीन-जापान-कोरिया-थाइल्यान्ड-भुटान आदिमा बुद्धिष्टकोभन्दा हिन्दु-इसाई-मुस्लिम आदिको र स्वयं मेरो गाउँ-जिल्लामा बाहुल्य रहेका राईहरुको भन्दा ब्राह्मण-क्षेत्रीको पक्षधरता मेरो लेखन वा अभिब्यक्तिको आयाम हो ।

अर्थात सत्ता, शक्ति र बहुमतभन्दा जनता, कम्जोर र अल्पमतको पक्षमा उभिनु मेरो लेखन वा अभिब्यक्तिको विशेषता हो/हुनुपर्छ । यदि यो स्थानमा उभिएर मैले लेखिन/बोलिन भने मेरो लेखन र बोलीलाई मृत घोषित गरे केही फरक पर्ने छैन ।

अर्थात म सत्ता

जान्दा जान्दै
म आगोमा हात हाल्छु
आगोले पोल्छ
म आगोलाई नै गाली गर्छु ।


जान्दा जान्दै
म पानीमा हामफाल्छु
पानीले भिजाउँछ र जाडो हुन्छ
हैट ! कति चिसो पानी भन्दै
म पानीलाई नै गाली गर्छु ।

जान्दा जान्दै
म मक्किएको रुख चढ्छु
मेरो तौल धान्न नसकेर रुख भाँचिन्छ
रुखसँगै पछारिए पछि भुइँमा
म रुखलाई नै गाली गर्छु ।

जान्दा जान्दै
म काँडाघारीमा खाली खुट्टा पस्छु
काँडाले घोच्छ मेरो पाइताला
रगत निस्कन्छ/दुख्छ
म काँडालाई नै गाली गर्छु ।

जान्दा जान्दै
म काउसो खेलाउँछु
कोमल छालामा जताततै टाँसिएर
बेस्मारी चिलाउन थालेपछि ज्यान
म काउसोलाई नै गाली गर्छु ।

जान्दा जान्दै
म अरिङ्गालको गोलामा ढुङ्गा हान्छु
अरिङ्गाल बिच्किन्छ र चिल्छ
म अरिङ्गाललाई नै गाली गर्छु ।

र,
काँचको ग्लासमा तातो चिया खन्याएर
भरखरै पाइला चाल्न सिक्दै गरेको अबोध बालकलाई
उ...पर लगेर पिई भन्दै अह्राउँछु
उ ग्लास समात्छ
ग्लासले उसलाई पोल्छ
ग्लास उसको हातबाट झरेर भुइँमा
हेर्दा हेर्दै धेरै टुक्राहरुमा बिभाजित हुन्छ
उ तातो चियाको पोलाईले
ग्लास फुटेको पीडाले
रुन थाल्छ अबोध रुवाई
म त्यही बालकलाई नजिक तानेर
बेस्मारी थप्पड लगाउँछु कलिलो गालामा ।

अर्थात म सत्ता हुँ
जसले कारण खोज्न जान्दैन
मात्र परिणाममा नाफा-घाटा हेर्छ ।

त्यसैले त कारण खोज्ने कविता
सधैं सत्ताको बिपक्षमा हुन्छ ।

Sunday, November 29, 2015

क्रान्ती र बिश्वास


हुरी चल्छ र पुरानो पात झर्छ
तारा झर्छ र अँध्यारो रात मर्छ
त्यसैले त म हुरी कै विश्वास गर्छु...
पक्कै त्यसले केही न केही गर्छ ।

गीत

 खानु लाउनु दुखै भए, जिउँला हाँसीहाँसी
नसकिने मुरी माया, दिउँला हाँसीहाँसी
सिर्जनाको यात्रा टुट्छ, जब जिन्दगीमा
आफ्नै हातले अनि जहर, प्यूँला हाँसीहाँसी

बाटो भरी काँडै फुलोस्, यात्रा रोकिन्दैन
आकाश भरी बादल डुलोस्, प्रकाश छेकिन्दैन
उपहार पीडै दिए, लिउँला हाँसीहाँसी
सिर्जनाको यात्रा टुट्छ, जब जिन्दगीमा
आफ्नै हातले अनि जहर, प्यूँला हाँसीहाँसी

मर्नु हुन्न सपना त्यो, मनै मरे पनि
झर्नु हुन्न जून फेरि, तारा झरे पनि
फाटोस् बरु यहि मुटु, सिउँला हाँसीहाँसी
सिर्जनाको यात्रा टुट्छ, जब जिन्दगीमा
आफ्नै हातले अनि जहर प्यूँला हाँसीहाँसी

कवि र पागल


जो सधैं
अन्यायको विरुद्ध आगो ओकल्छ
र,...
सत्ताको बिपक्षमा बसेर
नियमापत्ती जनाईरहन्छ
सम्झनुस् त्यो मान्छे
कि, पागल हो
कि, कवि हो ।

मृत्युन्मुख सीमाहरु


दसगजामा उभिएको
जङ्गे पिलर होस्
वा,
समानान्तर कोरिएका लम्बेतान रेखाहरु—
यी काल्पनिक सीमाहरुले
मानवीय चेतना र प्रेमलाई
कहिल्यै रोक्न सक्दैनन्
कहिल्यै छेक्न सक्दैनन् ।


प्रकृति गतिशिल छ
समय गतिशिल छ
प्रकृति र समयको गतिशिलतामा
पुराना पातहरु खस्दै जान्छन्
नयाँ मुनाहरु पलाउँदै जान्छन्
जसरी ढालियो बर्लिन पर्खाल
जसरी मेटियो भियतनामिज रेखा
त्यसैगरी मेटिनेछन् संसारबाट एकदिन
कथित राज्यले निर्माण गरेका खुनी सीमाहरु
किनकि,
जङ्गे पिलर र समानान्तर रेखाहरुले
मानविय चेतना र प्रेमलाई
कहिल्यै रोक्न सक्दैनन्
कहिल्यै छेक्न सक्दैनन् ।

गजल

 कहाँबाट आयो नेता जीको, दरबार बनाउने पैसा ?
खरिद गरि संसदलाई, सरकार बनाउने पैशा ?

कस्तो छ त्यो र कुन रङ्गको-सेतो, हरियो वा कालो ?
अख्तियार र अदालतलाई, लाचार बनाउने पैसा ।

पक्कै पूख्यौली नासो होइन, ठोकेर नै भन्न सक्छु
साधारणले नाघ्नै नसक्ने, संघार बनाउने पैसा ।

सत्ता र शक्ति हातमा हुँदा, लुट्नु लुटेका छन् आज
नेपाल र नेपालीहरुको, निधार बनाउने पैसा ।

खोजिने छ त्यो श्रोत अवश्य, आज नभए नि भोलि
जनतालाई सुनको मुर्गा, बारबार बनाउने पैसा ।

नाकाबन्दी


म देश भित्रै
देश चलाउनेहरुको घेराबन्दीमा छु
सायद त्यसैले ...
नाकाबन्दीले नछोएको हुनुपर्छ ।


नाकाबन्दीले छुन,
राष्ट्रियताको नमिठो गन्ध
प्रत्येक स्वासप्रस्वासमा निस्कनु पर्छ
जो दाँतमा आफैले जमाएका बिकारहरु
दाँतेगुहु बनेको होस्
वा,
कसैले घोकाएर झुटो इतिहास
तैयार पारिएका एकहुल जत्थाको रगतमा
सुटुक्क जाँड घोलेर
भुत्ते खुकुरी अगाडि राखिदिएको होस्
म दुवै परिन,
सायद त्यसैले
नाकाबन्दीले नछोएको हुनुपर्छ ।

नाकाबन्दीले छुन
सुगाका कलिला प्वाँखहरु काटिदिएर
पिंजडामा कैद गरेपछि
'कृष्ण कहौ' बोलेको दिन
उफ्री उफ्री आँगनमा नाच्न सिकेको हुनुपर्छ वा,
उसैको श्रमले उब्जिएर
उसैको श्रमले पाकेको खाना
नमिठो भएको निहुँमा
उसैलाई लात मार्न जानेको हुनुपर्छ
म दुवै परिन
सायद त्यसैले
नाकाबन्दीले नछोएको हुनुपर्छ ।

म घर भित्रै
घरैकाहरुबाट यूगौंदेखि घेरिएको मान्छे
यतिबेला नाकाबन्दीले भन्दा
मधेस र मधेसीको पीडाले
थारु र थारुवानको पीडाले
बढी छोइएको छु ।

गीत


मान्छेलाई मान्छेभन्दा प्यारो भयो जात-धर्म
माया गर्ने मायालुको कसले बुझ्ला भित्री मर्म ?

सिमानाले काटेको छ, सम्बन्धका रेखाहरु
भित्र भित्रै फाटेको छ, भावनाका टेकाहरु
मान्छे हुँ म भन्नलाई, लाग्न थाल्यो आज सर्म
माया गर्ने मायालुको कसले बुझ्ला भित्री मर्म ?


मान्छेलाई मार्न यहाँ, मानिस नै अघि सर्छन्
हृदयमा प्रेमको साटो, घृणा, डाहा, रिश भर्छन्
मान्छेलाई मान्छेबाट अलग्याउने कस्तो कर्म ?
माया गर्ने मायालुको कसले बुझ्ला भित्री मर्म ?

मुक्तकहरु


१) लात

मान्छे ठूलो बन्न कि जात देखाउँछ...
कि पद र पैशाको खात देखाउँछ
जात र पैशा देखाएर ठूलो हुँ भन्नेहरुलाई
यो नारथुङेले सधैं लात देखाउँछ ।



२) नेताको मन
सुट सफा भएर के भो, मन फोहोर भो नेताको
कालो कोठरीको अबैध धन्दा मोहोर भो नेताको
यसकारण भत्काउन झोंक चल्दैछ थोत्रो सिंहदरबार
जहाँ धेरै चलखेल र ओहोरदोहोर भो नेताको ।


३) नेपालबन्द
भारतले नाकाबन्दी लाएको निहुँमा आज नेपाल बन्द छ
कुन नेपालीले यसलाई सहि निर्णय हो भनेर भन्दछ ?
छिमेकीले दुःख दिएको निहुँमा आफ्नै आमालाई कुट्ने
बिप्लव माओबादीको दिमाग बिग्रेको त हैन ? यस्तै छन्द छ ।


४) गोरुहरु
कतै धर्मको नाम लिएर मानिस मारिन्छन्
कतै आधुनिक दास बनाएर ओसारिन्छन्
मानवताभन्दा ठूलो जात, धर्म र पैशा देख्नेहरु
हेर्दै जानुस् पक्कै एकदिन जुवामा नारिन्छन् ।


५) भ्रष्टाचार
केन्द्रदेखि गाउँसम्मै भ्रष्टाचारको जालो छ
हेनुस् त नेता सबैको हात आलो आलो छ
आज ज्यूँदै भागे पनि, कहाँ जालास् मछली ?
तैंले भाग्ने बाटो हेर, अब भिरालै भिरालो छ ।

फेरिएको शहर

उहिले उहिले शहरलाई
नमिठो सँग गाउँ गन्हाउँथ्यो
सायद ढाकर बोकेर झरेका ढाक्रेहरुको पसिना...
गुन्द्रुक, किनामा वा मकै-भटमासको पोको
अथवा,
बिगौती दूध कट्मटिएको जुहारी कोट ।


कोइलाले माझ्न बिर्सिएको हाँसी दाँतमा
टाँसिएको ढिंडोको पित्को देखेर
घृणाले पिच्च थुक्थ्यो शहर-गाउँलाई
सर्माउँदै सर्माउँदै गाउँले गरेको नमस्कार फर्काउन
अन्कनाउथ्यो शहर सधैं-सधैं
सायद अर्को शहरले,
गाउँ सँगको सम्बन्ध देख्यो भने
नमर्नुको बिल्ला हुन्थ्यो शहरलाई ।

तर समय फेरिएछ
अचेल शहर घृणा गर्दैन गाउँलाई ।

बरु,
धुले सडकको धुलोले
धसिङ्ग्रे बनेका गाउँले पोको-पुन्तुरो फुकाउन
अचेल हतार हुन्छ शहरलाई-
कोदोको पीठो, मकैको सामल
गुन्द्रुक, किनामा, भुटेको मकै-भटमास
गालेको अकबरे खुर्सानी, साँधेको तामाको अचार
सिलामचामल, तिलको छोप
सिस्नोको डुकु, कागतीको चुक
मौरीको मह, गाइको घिउ
कोदोको रक्सी, मर्चाको दाना
खै के के खोजिरहन्छ शहर
गाउँले पोको-पुन्तुरोहरुमा ।
यो बेला म सोच्दैछु
गाउँको दिन फिरेकै हो त ?

Thursday, October 22, 2015

दशैंको टीका पूर्वमा किन पाँच दिन लगाईन्छ ?

पूर्वमा दशैंको टीका पाँच दिनसम्म लगाईन्छ भन्ने कुरा सुनेर पश्चिमका नेपालीहरु धेरैलाई आश्चर्य लाग्न सक्छ । त्यसैगरी पश्चिममा दशमीको दिन मात्र टीका लाउने चलन छ भनेर सुनाउँदा पूर्वका नेपालीहरु धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यथार्थता के हो भने पूर्वमा दशमीदेखि पूर्णेसम्म पाँचै दिन महत्वका साथ दशैंको टीका लाउने चलन छ भने पश्चिममा दशमीको दिन मात्र दशैंको टीका लाउने गरिन्छ । बरु घरका केटा(केटीहरुलाई क्रोजागत पूर्णिमाको दिन भने टीका लाइदिने सामान्य चलन पश्चिममा छ। अर्को कुरो दशैंको बेलामा पूर्वमा निधारभरी टीका लाईन्छ भने पश्चिममा माझा निधारमा अलिकती मात्र लाईन्छ । दशैंको टीका लाउने चलन पूर्व र पश्चिममा फरक पर्नुको कारण के हो ? त्यसको थोरै बिवेचना गरौं ।

खासमा दशैं, दशहरा वा बिजयादशमीको महत्वपूर्ण र धार्मिक तथा ऐतिहासिक पक्ष भनेको दुर्गा पूजा हो । यसबेला संसारभरका हिन्दुहरुले महत्वका साथ दुर्गाको पूजा(अनुष्ठान गर्ने गर्छन् । खासगरी भारतको पश्चिम बंगाल लगायतको राज्यमा त भब्य रुपमा दुर्गा पूजा गर्ने गरिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पूर्व(पश्चिम सबैतिरका हिन्दुहरुले नौ दिनसम्म घरमा दुर्गा थापेर मालश्री गाउँदै देवी दुर्गाको पूजा(अनुष्ठान गर्छन् । पश्चिम बंगालको प्रभावले गर्दा तराईका हिन्दुहरु भने सार्वजनिक स्थानमा दुर्गाको मूर्ती स्थापना गरेर सामुहिक रुपमा दुर्गाको पूजा(अनुष्ठान गर्ने गर्दछन् । यसर्थ दशैं, दशहरा वा बिजयादशमीमा संसारका हिन्दुहरुले स(भक्तिपूर्वक गर्ने पूजा(अनुष्ठान भनेको दुर्गाको नै हो । कतै कतै रावणको पुत्ला दहन गर्ने समेत गरिन्छ ।

तर नेपालको सन्दर्भमा भने फरक छ । कि, नेपालमा दशैंको बेला जमरा राख्ने, फूलपाती भित्र्याउने, सेनाले लहरे बढाइँ गर्ने, मार हान्ने र रातो टीका थाप्ने लगायतका साँस्कृतिक उत्सव आदि गरिन्छ । दुर्गा पूजा बाहेकका यी उत्सवहरु नेपालका पहाडीमूलका हिन्दुहरु बाहेक अरु हिन्दुहरुले गर्दैनन् । नेपालकै तराई मूलका हिन्दुहरुमा समेत यसको प्रभाव छैन । यसर्थ नेपालका पहाडी मूलका हिन्दुहरुले दशैंको बेला दुर्गा पूजाको अतिरिक्त गर्ने साँस्कृतिक क्रियाकलापको श्रोतलाई नेपाल भित्रै खोजिनु पर्छ । र, यसरी खोजी गर्ने क्रममा हात लाग्ने महत्वपूर्ण आधार भने कै गोर्खा दरबारबाट फूलपाती ल्याएर हनुमान ढोकाको दशैं घरमा भित्र्याएपछि दशैं शुरु भएको मानिने जनविश्वास हो । त्यसैले दशैंको समयमा दुर्गा पूजा बाहेक जमरा राख्ने, फूलपाती भित्र्याउने, लहरे बढाइँ गर्ने, मार हान्ने र रातो टीका लाउने चलनको शुरुवात पृथ्वीनारायण शाहको गोर्खा राज्य बिस्तार अभियानसँगै भएको हो भनेर दावी गर्न सकिन्छ । र, यहि दावी भित्र दशैंको टीका लाउने सन्दर्भमा पूर्व र पश्चिमबीच देखिने फरकपनको वास्तविकता लुकेको छ ।

हामीलाई के कुराको राम्रोसँग ज्ञान छ भने, पृथ्वीनारायण शाहले गोर्खा राज्य बिस्तार अभियान पहिला पूर्वतर्फ बढाए । अर्थात पृथ्वीनारायण शाहको जीवनकालमा गोर्खा राज्यको बिस्तार पूर्वतर्फमात्र भयो । खासगरी पूर्वतर्फ हिन्दु नै भए पनि फरक सभ्यता र पहिचान भएका मल्ल र सेनहरुको राज्य थियो । उपत्यकामा राजाहरु मल्ल भए पनि राज्य सञ्चालनमा नेवार समुदायको बर्चश्व र समाजमा नेवारी भाषा, संस्कृती र सभ्यताको बोलवाला थियो । उपत्यकाभन्दा पूर्व्तिर सेनहरुको शासन भए पनि गाउँ(गाउँमा तामाङ र किरातीहरुको स्वायत्त राज्य सञ्चालनमा थिए । पृथ्वीनारायण शाहको आक्रमण पूर्व तामाङ र किराती वस्तीहरुमा खस(आर्यहरुको उपस्थिति नगन्य मात्रमा थियो । ती खस(आर्यहरु पनि पूजारीको रुपमा वा सेन राजाहरुको सैनिकको रुपमा मात्र किराती र तामाङको थातथलोमा पुगेका थिए । जब उपत्यका लगायत तामाङ र किराती थातथलोहरुलाई गोर्खा राज्यले आफ्नो अधिनमा पार्यो तब पश्चिमबाट खस(आर्यहरुको बसाइँसराइ पूर्वतर्फ सर्न थाल्यो । पृथ्वीनारायण शाहले पहिलोपल्ट अरु राज्यको अधिनस्थ भू(भाग जितेको भनेको नुवाकोट हो । जहाँ दशैं आउनै लाग्दा आक्रमण भएको थियो । भनिन्छ नुवाकोटका रक्षक जयन्त राना मगर मारिएको दिन, दशैंको टीकाको दिन थियो । खासगरी रामायण लगायतका केही बैद्धिक साहित्यमा नवरात्रको बेला देवि दुर्गाको पूजा(अनुष्ठान गरि कुनै पनि कदम चाल्दा सफलता हात लाग्छ भन्ने उल्लेख छ । अयोध्याका राजा रामले पनि नवरात्रकै अवसरमा देवि दुर्गाको पूजा(आराधना गरि लंकामाथि आक्रमण गर्दा बिजय पाएको कथाहरुले बताउँछ । यिनै कथाहरुको प्रभाव पृथ्वीनारायण शाहमा परेको देखिन्छ । नुवाकोट, कीर्तिपुर, मकवानपुर, कान्तिपुर र पूर्वको माझ किरातमाथि धावा बोल्दा कि आश्विन शुक्लपक्षको नवरात्र, कि चैत्र शुक्लपक्षको नवरात्र कै साइत पारिएको छ । र, अधिकांस जीत दशैंकै बेला हातलागेको छ । यसर्थ अर्को राज्य जीतेको खुशी मनाउने क्रममै मार, टीका, फूलपाती जस्ता सहायक उत्सवहरु दशैंमा गाभिएका हुन् । निश्चय पनि उसबेला गोर्खालीको लागि पूर्वका राज्यहरु बिजय गर्नु ठूलो खुशीको कुरो थियो । त्यही खुशी ब्यक्त गर्ने क्रममा पूर्व पुगेका खस(आर्यहरुलाई दशैंमा दुर्गा पूजाभन्दा मार, फूलपाती र टीका सर्वा्धिक महत्वको बिषय बन्न पुग्यो र दशमीको दिनदेखि पूर्णिमा सम्मै टीका लगाएर दशैं मनाउन थाले ।

पृथ्वीनारायण शाहको देहवसानपछि प्रतापसिं शाहको राज्यकाल भरी खासै गोर्खालीले अन्य राज्यमाथि आक्रमण गरेन । यसको पछाडि साइनो सम्बन्धले पनि काम गरेको छ । लम्जुङ र गोर्खा त एउटै आमाको सन्तानले स्थापित गरेको राज्यहरु थिए । तनहुँ, पृथ्वीनारायण शाहका पीता नरभुपाल शाहको मावली र जन्मेको ठाउँ समेत थियो । पाल्पा स्वयं पृथ्वीनारायण शाहको मावली राज्य थियो। यी तीन राज्यको सीमा ननाघी अरु राज्यहरुमाथि आक्रमण गर्नु सम्भव थिएन । यसर्थ प्रतापसिं शाहले यी साइनो(सम्बन्धी राज्यहरुमा आक्रमण गर्न चाहेनन् । तर प्रतापसिं शाहको अकालमै मृत्यु भएपछि बालक राजा रणवहादुर शाहको न्यायबी भै बसेका राजेन्द्रलक्ष्मी र बहादुर शाहले साइनो(सम्वन्धको रेखालाई महत्व दिएनन् । पाल्पासँग सन्धी गरि अन्य राज्यहरु धमाधम जित्दै गए । यसरी जितिएका राज्यहरु सबै खस(आर्य समुदायकै राजा(रजौटाहरुको थियो । पश्चिमका खस(आर्यहरु नवरात्रमा दुर्गाको पूजा(अनुष्ठान त गर्थे तर गोर्खालीले झैं फूलपाती भित्र्याउने, मार हान्ने, टीका लाउने गर्दैन थिए । तर जब पश्चिमी भु(भागहरु गोर्खा अधिनस्थ भए तब त्यहाँ तैनाथ गोर्खाली सेनाहरुले दशैंमा टीका लाउने कार्य गरे । त्यसैको सिको वा गोर्खालीहरुको उर्दीमा पश्चिमका खस(आर्यहरुले पनि टीका लगाउन शुरु त गरे तर पूर्व पुगेका खस(आर्यले जतिको महत्व दिन सकेनन् । जसको ज्वलन्त उदाहरण बर्तमानमा पनि देख्न सकिन्छ कि, पूर्वमा पाँच दिन धुमधामको साथ टाढा(टाढाको नरनातामा समेत पुगेर टीका लाउने चलन पश्चिममा एक दिन दशमीको दिनमा मात्र सिमित छ ।

दशैंको टीका, पूर्वमा किन निधार भरी र पश्चिममा किन माझा निधारमा मात्र ?

खासमा दहीमा मुछेको अक्षताको सेतो टीका पूर्वको किराती समुदायले परापूर्वकालदेखि प्रयोगमा ल्याएको संस्कृति हो । पास्नी, छेवर, बिवाह लगायतको शुभकार्यहरुमा सम्बन्धितहरुलाई निधारभरी सेतो अक्षताको टीका लगाई दिने चलन अझैसम्म जीवितै छ । किरातीहरुमा सेतो अक्षताको टीकालाई शुभ वा पवित्रताको प्रतिकको रुपमा लिइन्छ । पृथ्वीनारायण शाहको गोर्खाली फौजले पूर्वमा किरातीभूमि जितिसकेपछि त्यहाँ पुगेका खस(आर्यहरुले किरातीहरुमै बिद्यमान निधारभरी अक्षताको टीका लाउने चलनलाई दशैंमा समाहित गरेका हुन् । तर पश्चिममा भमे माझा निधारमा चन्दन लाउने खस(आर्यकै संस्कारलाई जिवन्त राख्दै दशैंको टीका पनि माझा निधारमा मात्रै सिमित हुँदै आयो ।

त्यसो भए अक्षताको टीका किरात कै हो त ?

बिवाह, पास्नी, ब्रतबन्ध आदिमा किराती लगायत अन्य आदिवासी समुदायमा पनि सम्बन्धित ब्यक्तिलाई निधारभरी दहीमा मुछेको चामलको टीका लाइदिने चलन परापूर्वाकाल देखि नै छ । यहाँ सम्बन्धित ब्यक्ती भन्नाले बेहुला(बेहुली वा पास्नी र छेवर हुँदै गरेका बाल(बालिका बुझ्नुपर्छ । उनीहरु बाहेक लोकन्ता(लोकन्ती वा पास्नी र छेवर हुँदै गरेका बालबालिकालाई समात्ने साथीलाई पनि टीका लाइदिने चलन छ । तर दशैंमा जस्तो प्रत्येक ब्यक्तिलाई टीका लाइदिने गरिन्दैन । बरु उपस्थित सबैले सम्बन्धित ब्यक्तिहरुलाई चाहिँ टीका लगाई दिन्छन् । त्यसैगरी ब्यक्तिगत उत्सव आदिभन्दा बाहेक किराती समुदायको कुनै पनि चाड(पर्व आदिमा अक्षताको टीका लाउने चलन छैन । अतस् निधारभरी अक्षताको टीका लाउने संस्कार किरातीहरुमा भए पनि दशैंको टीका भने किरातीहरुको संस्कार होइन । गोर्खा राज्यको बिस्तारसँगै किरातीभूमिमा पुगेका हिन्दुआर्यहरुले किरातीहरुको संस्कार सिकेर दशैंमा निधारभरी अक्षताको टीका लाउन भने थालेका हुन् ।

किरातीहरुमा दशैंको प्रभाव कस्तो छ ?

पृथ्वीनारायण शाह स्वयंको जीवनकालमा किराती भूमि जीते पनि बिजित किरातीहरुलाई हिन्दु(आर्य संस्कृति जब्बरजस्त लादेको देखिन्दैन । किरातीहरु गाई(गोरु खाने समुदाय भए पनि पृथ्वीनारायण शाहको शासनकालमा खासै हस्तक्षप भएको छैन । त्यसो नहुनुको कारण किरातीहरुलाई चिढ्याएर भरखरै जितेको भूमिमा बिद्रोह निम्त्याउनु थिएन । तर पृथ्वीनारायण शाहको पालामा जे भएन त्यो काम रणवहादुर शाहको शासन कालबाट प्रारम्भ भयो । दशैं मान्ने उर्दि मात्र जारी भएन, दशैं नमान्नेहरुको किपट, सुब्बाङ्गी, देवान, मुखिया र राई पद खोस्ने लालमोहर नै जारी भयो । गाई(गोरु काट्न प्रतिबन्ध लगाईयो । पछि जङ्गवहादुरको शासनकालमा त दशैं हाम्रो चाड नभएकोले मान्दैनौं भन्नेहरुलाई मृत्यु दण्ड समेत दिईयो । यसरी राज्यको निरंकुश आदेशमा किरातीहरुले पनि दशैंमा जमरा राख्ने, टीका लाउने र काटमार गर्ने कार्य गर्न थाले । तापनि किरातीहरुले दुर्गा थाप्ने र रातो टीका लाउने भने गरेनन् । टीका लगाउँदा पनि सेतै मात्र लगाए । तर २०४६ सालको राजनीतिक परिवर्तनसँगै किरातभूमिमा दशैं बहिस्कारको लहर चल्यो । किराती गाउँहरुमा टीका लाउन छोडिन थालियो । खस(आर्य समुदायको सघन बसोवास रहेको ठाउँभन्दा अन्यत्रको किराती गाउँहरुमा अचेल दसैंमा टीका लगाइन्दैन । टीका लाउन नछोड्ने किरातीहरुमा पनि दसैंको खासै उल्लास देखिन्दैन । किनकी वल्लो गाउँ(पल्लो गाउँ, नर(नातामा टीका लगाउने चलन बन्द भएकोले आफूमात्र टीका लाउनुको मज्जै पो के रह्यो र ? साँच्चै दसैंमा टीका लाउने किराती अनुहार अचेल जोकर जस्तो पो लाग्न थालेको छ । त्यसैले घरमा टीका लाए पनि घर बाहिर निस्कन्दा टीका पुछेर निस्कनु पर्ने अवस्था छ दसैंमा टीका लाउने किरातीहरुमा । अर्को्तिर किरातीहरुले दसैंमा टीका लाउन छोडेपछि खस(आर्य समुदायको दसैंमा पनि रौनकता घट्दै गएको छ । झापा, मोरङ र सुनसरीमा क्रमशः थुप्रन्दै गएका पूर्वमा खस(आर्यहरु किरातभूमिमा अल्पसंख्यकमा पर्दै गएका छन्, त्यसैले उनीहरूको दसैं पनि अलिनो हुँदै गएको छ । अझ अचेल त पूर्वका खस(आर्यहरुले पनि निधारभरी टीका लाउने चलनलाई त्याग्दै माझानिधारमा अलिकती मात्र लाउने चलन चलाउँदै गएका छन् । बसाइँसराइले गर्दा होला नरनाताहरु नरहेपछि टीकाको दिनभन्दा अरु दिन टीका लाएर हिंड्नेहरु बाटोमा कमै भेटिन थालेको छ । लाग्छ दशैको टीका लाउने सन्दर्भमा अब पूर्वले पश्चिमको सिको गर्दैछ ।

दशैंको अर्थ—अरुको पीडामा खुसी मनाऔं

‪‎दशैं, दसहरा वा बिजयदशमीको सम्बन्ध पौराणिक पात्रहरुसँग जोडिए पनि मल्लकालसम्म यसको खास महत्व झल्कने कुनै सन्दर्भहरु नेपालमा पाईन्न । गोर्खा राज्यको बिस्तारसँगै दशैंले महत्व पाएको कुरा इतिहास खोल्दा थाहा लाग्छ ।
दशैं, रावण विरुद्ध रामले बिजय प्राप्त गरेको खुशियालीमा मनाइन्छ भन्ने सवार्धिक मत रहे पनि दशैंको मूलमर्म ‘दुर्गापूजा’ नै हो । शक्तिरुपा दुर्गाको पूजा र उपासना गरेपछि रामले रावणलाई हराएको भन्ने प्रशंग हिन्दुहरु सुनाउँछन् । दुर्गा तिनै हुन् जसलाई केही पौराणिक शास्त्रहरुले शुम्भ–निशुम्भ जस्ता शक्तिशाली दैत्य राजाहरुलाई मारेर देवगणको रक्षा गर्ने शक्तिशाली पात्रको रुपमा उभ्याएको छ । त्यसैले दशैंको शुरुवात सुम्भ–निशुम्भ बधसँगै भएको हो भन्ने मत पनि छ ।
दुर्गापूजाको महिमा सबै ठाउँका हिन्दुहरुमा भए पनि भारतको पश्चिम बङ्गालमा सवार्धिक महत्वका साथ पूजा गरिन्छ । त्यसैगरी उडिसा र असममा पनि दुर्गापूजाको महत्व ज्यादा छ । तामिलनाडु, आन्ध्र प्रदेश र कर्नाटकतिर भने दशहराको समयमा लक्ष्मी, सरस्वती र दुर्गाको तीन–तीन दिन पूजा गर्ने चलन छ । हिमाञ्चल प्रदेशमा स्थानीय देवि–देवताका साथ रधुनाथको उपासना गरिन्छ । गुजरातमा माटोको घडामा देविको प्रतिक स्थापना गरि सो घडालाई कन्याकेटीले शिरमा राखेर ‘गरवा’ नाच, नाच्ने चलन छ । पञ्जाबका हिन्दुहरुले रावणबधको उत्सव गर्छन् । उता महाराष्ट्रमा भने नौ दिनसम्म दुर्गाको उपासनागरि दशौं दिनको दिन सरस्वतीको बन्दना गर्ने चलन छ । हिन्दुहरुको कम बाहुल्यता रहेको कस्मिरमा नौ दिनसम्म पानी मात्र पिएर उपवास बसी ‘खीर भवानी’ को मन्दिरमा गई दर्शन गर्ने चलन छ । नेपालका तराईमूलका हिन्दुहरुले सामान्य रुपमा दुर्गापूजा गर्ने गर्छन् । तर भारतका विभिन्न ठाउँका र नेपालका तराईमूलकाभन्दा बेग्लै तरिकाले पहाडी हिन्दुहरुले दशैं मनाउँछन् । नेपालका पहाडी मूलका हिन्दुहरुले नौ दिनसम्म दुर्गाको पूजा गरे पनि सबैभन्दा महत्व ‘टीका’ को छ । त्यसैगरी नवमीको दिन शक्तिपिठ र घरघरमा ‘मार’ हान्नु अर्को महत्वको बिषय हो । जमरा राख्ने, फूलपाती भित्र्याउने र सैनिकहरुबाट लहरे बढाइँ गर्ने चलन पनि नेपालका पहाडी हिन्दु समुदायमा छ, जुन नेपालकै तराईमूलका हिन्दु र अन्य ठाउँका हिन्दुहरुमा छैन ।
दशैं वा दशहरासँग विभिन्न पौराणिक सन्दर्भहरु जोडिए पनि नेपालको सन्दर्भमा भने बिल्कुलै नयाँ तथ्य फेलापर्छ । खासगरी गोर्खा राज्यको बिस्तारसँगै दशैं नेपालमा स्थापित भएको सन्दर्भ यहाँ चर्चा गर्न लायक छ । मैले शुरुमै लेखेको छु कि, मल्लकालिन उपत्यकामा दशैंको महत्व झल्काउने कुनै सन्दर्भहरु भेटिएका छैनन् । बरु मल्लकालमा अरु धेरै जात्रा र उत्सवहरु महत्वका साथ मनाइन्थ्यो । गोर्खाली फौजले कान्तिपुरमा आक्रमण गर्दा राजा जयप्रकाश मल्ल इन्द्रजात्रा हेरिरहेका थिए । तर जब गोर्खाली फौजको राज्य बिस्तार अभियान अगाडि बढ्यो तब दशैंले साँस्कृतिक रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै र गोर्खालीहरुमा सवार्धिक महत्व पाउँदै गयो ।

युद्धको साइत दशहरा
अयोध्याका राजा रामले दुर्गा भवानीको पूजा–आरधना गरि लङ्कामा आक्रमण गर्दा बिजय प्राप्तगरेको कथासँग दशैको सम्बन्ध जोडिएपछि दशैंको महिमा के हो भन्नेकुरा आफैमा प्रष्ट छ । अर्थात युद्धमा कसैलाई मारेवापत वा हराएवापतको खुशियालीमा दशैं मनाउन थालिएको हो । तर युद्धमा पक्ष–बिपक्ष हुन्छ । एउटा पक्षले जित्छ । एउटा पक्षले हार्छ । जित्नेले खुशियालीमा दशैं मनाईरहेका हुन्छन् । हार्नेहरुमध्ये मारिने, मारिसकिएका र बाँच्नेहरु अथाह पीडामा हुन्छन् ।
रामले दुर्गा भवानीको पूजा–आरधना गरेर आश्विन शुक्लपक्षमा लंकामाथि आक्रमण गरेको र बिजय प्राप्त गरेको कथाले दशैं चाड स्थापित मात्र भएको छैन, हिन्दुआर्य समाजमा युद्धसम्बन्धि मनोविज्ञानको समेत निर्माण भएको छ । त्यसैले दशहराको समयमा युद्ध शुरुगर्दा बिजय हातलाग्छ भन्ने मान्यता अद्यपि हिन्दुआर्य समाजमा छ । हो, यहि मनोबिज्ञानबाट प्रेरित भएर पृथ्वीनारायण शाहले धेरै युद्ध लडेका छन् ।
पृथ्वीनारायण शाहले गोर्खा राज्यको राजगद्दी सम्हालेपछि लडेको पहिलो युद्ध नुवाकोटको युद्ध हो । सो युद्ध सन् १७७४ सेप्टेम्बर २६ तारिक सनिबारको दिन भएको धेरै इतिहासकारहरुको ठम्याई छ । २६ सेप्टेम्बर भनेको अशोजको झण्डै आधाउधी हो । अर्थात दशैंले छुनै लागेको समय । नुवाकोटको सो युद्धमा गोर्खाली फौजले सजिलै बिजयप्राप्त गर्छ । तात्कालिन समयमा कान्तिपुर अधिनस्थ नुवाकोटमा पूर्वगोर्खाली शैन्यकमाण्डर जयन्त राना रक्षकको रुपमा रहेका हुन्छन् । उनी उपत्यका गएको बेला गोर्खाली सेनाले नुवाकोटमाथि आक्रमण गर्दा उनका छोरा शंखमनी राना युद्धमा मारिन्छन् । छोरा मारिएको सुनेर बिह्वल अवस्थामा रहेको जयन्त राना नुवाकोट नजिकैको बेलकोटमा पक्राउ पर्छन् र छाला तरिएर कष्टपूर्ण मृत्युवरण गर्छन् । इतिहासकारहरुको अनुसार नवरात्रमा बेलकोट कब्जा भएको थियो र त्यहिबेला जयन्त राना छाला तरिएर मारिएका थिए । सम्भवतः गोर्खालीहरुले पहिलोपल्ट हर्सोल्लासका साथ दशैं त्यही बर्ष मनाए । र, त्यो क्रमले हरेक बर्ष निरन्तरता पायो ।
गोर्खालीहरुले नुवाकोट जितेपछि महत्वपूर्ण ठाउँहरुमा आक्रमण गर्दा कि, आश्विन शुक्लपक्षको नवरात्र कि, चैत शुकपक्षको नवरात्रलाई साइत पारेको देखिन्छ । कीर्तिपुरमाथि पहिलोपल्ट चैत्र शुक्लपक्षको साइत पारेर २८ मे १७५७ मा गोर्खाली फौजले आक्रमण गरेको थियो । तर त्यस युद्धमा गोर्खालीहरु नराम्ररी पराजित भए । सन् १७६२ अगस्तको अन्तिममा मकवानपुरमाथि चढाइँ गर्दा गोर्खालीलाई अपूर्व जीत हातलाग्यो । त्यो बर्षको दशैं गोर्खाली फौजले मकवानपुरमै धुमधामसँग मनाएको र दशैं लगत्तै सिन्धुलीगढी कब्जा गरेको देखिन्छ । मकवानपुर, पृथ्वीनारायण शाहको ससुराली राज्य हो तर मकवानपुर राज्यको तात्कालिन राजा दिग्बन्ध सेन (जेठान) सँग पृथ्वीनारायण शाहको सुरुबाटै सम्बन्ध राम्रो थिएन । इतिहासकारहरुको अनुसार एक घटनामा दिग्बन्ध सेनले पृथ्वीनारायण शाहको झण्डै ज्यान नै लिएका थिए । दाइजो–तिलकको बिषयमा पनि दिग्बन्ध सेन र पृथ्वीनारायण शाहबीच बिबाद भएको थियो । ससुरा हेमकर्ण सेनको मृत्युपछि गोर्खा र मकवानपुरको सम्बन्ध राम्रो थिएन । पृथ्वीनारायण शाह कुनै पनि हालतमा मकवानपुरलाई आफ्नो राज्यमा गाभेर दिग्बन्ध सेनलाई कठोर सजाय दिन चाहान्थे । त्यसैले मकवानपुरको बिजय पृथ्वीनारायण शाहको लागि ज्यादै महत्वपूर्ण थियो । मकवानपुर बिजयपछि दशैं सुरु हुनुले त्यो बर्षको दशैं गोर्खालीको लागि विशेष नै रहेको हुनुपर्छ । तर राज्य गुमाएर अन्तै लुकीबसेका दिग्बन्ध सेन र यूद्धमा अफन्त गुमाएर पीडामा रहेका मकवानी जनताको लागि भने कालो दिन थियो । मकवानी जनताहरु रोइरहेको बेला गोर्खालीहरु खुशीमा झुमिरहेका थिए । यता गोर्खाली सेनाले आक्रमण गर्दा कान्तिपुरमा इन्द्रजात्रा चलिरहेको थियो । इन्द्रजात्राको समाप्तीसँगै दशैं लाग्ने भएको हुँदा कान्तिपुर जितपछिको दशैं महत्वपूर्ण हुने भै नै हाल्यो । यहि फेरोमा बिना युद्घ ललितपुर हातलाग्नुको खुसी पक्कै सामान्य थिएन । उता सन् १७७२ अगष्त २५ तारिक दुधकोशी नदि तरेर किरातभूमि छिरेका गोर्खाली फौजले दशैं अगाडि नै अरुणवारीको भूभाग जितिसकेको थाहालाग्छ । राज्य, आफन्त, धन–सम्पत्ति सबै गुमाएका किरातीहरु पीडामा छट्पटी रहँदा सन् १७७२ को दशैं गोर्खाली फौजले धुमधाम साथ किरातभूमिमा मनायो । र, त्यसै बर्षबाट आजसम्म दशैंको दर्दनाक रुप किरातीहरुले भोगिरहेका छन् ।  यसर्थ दशैंको अवसरमा अरु राज्यमाथि लगातार अधिकार गर्दै गएपछि गोर्खालीको लागि दशैं बढी महत्वपूर्ण हुँदै गयो र जहाँ जहाँ जित्दै गए, त्यहाँ त्यहाँ दशैंको साँस्कृतिक साम्राज्य पनि बिस्तार हुँदै गयो ।

दशैं पुरानो चाड होइन
    दशैं र इन्द्रजात्रा दुवैको आधार पौराणिक कथाहरु नै हुन् । दशैंसँग दुर्गा र राम जोडिए जस्तै इन्द्रजात्रासँग पौराणिक शास्त्रहरुमा वर्णित  राजा ‘इन्द्र’ जोडिएका छन् । हिन्दुआर्यहरुले जति पनि मानिल्याएका देवीदेवताहरु छन्, ती सबै देविदेवताहरुमा ‘इन्द्र’ पुराना देखिन्छन् । ऋगवेद, सबैभन्दा पुरानो शास्त्र हो, जहाँ एकक्षत्र ‘इन्द्र’ को बर्णन छ । बाँकी देविदेवताहरुको बर्णन ऋगवेदमा उस्तो भेटिन्दैन । तर पछि लेखिएका शास्त्रहरुमा ‘इन्द्र’ भन्दा अरु देविदेवताहरुलाई महान बनाईएको भेटिन्छ । अर्थात बैद्घिक साहित्यमा शास्त्रअनुसार त्यही पात्र बढिमहत्व र कममहत्वको बनेका छन् । शुम्भ–निशुम्भ बध र दुर्गाभवानीको कथा, कुन कालखण्डको हो भनेर ठोकुवा गर्ने आधार छैन तर रामायणको कथा र राम–रावण युद्घ काल्पनिक वा यथार्थ नै किन नहोस् त्यो ऋगवैद्घिक कालभन्दा परको होईन । त्यसैले शास्त्रमा वर्णित पात्र र घटनाहरुलाई हेर्दा पनि दशैं मान्नुको महत्व दर्शाउने घटना वा पात्रभन्दा इन्द्रजात्रा मान्नुको महत्व दर्शाउने पात्र र परिघटनाअगाडिको देखिन्छ ।
    इन्द्रजात्राको प्रचलन लिच्छवीकालका राजा गुणकामदेवले काठमाण्डौमा चलाएका हुन् भन्ने आम बुझाई छ । स्वर्गका राजा इन्द्रले काठमाण्डौमा आएर फूल चोरेको प्रशंगसँग जोडिएको यो जात्रालाई प्रचलनमा ल्याउने राजा गुणकामदेव विक्रमको दशौं–एघारौं शताब्दी आसपास काठमाण्डौका राजा थिए भनेर इतिहासकारहरुले भन्दै आएका छन् । गुणकामदेवले नै कृष्णजात्रा, लाखेजात्रा, हिलेजात्रा आदि पनि प्रचलनमा ल्याएका हुन् भन्ने भनाई छ । समयक्रमसँगै इन्द्रजात्राका झाँकीहरु थपिन्दै र परिस्कृति हुँदै अहिलेको अवस्थामा आएको संस्कृति तथा इतिहासविदहरुको तर्क छ । मल्लकालसम्म इन्द्रजात्रालाई ‘येँया पुन्हि’ भनिन्थ्यो र अचेल समेत नेवारी समुदायमा ‘येँहा पुन्हि’ नै भनिन्छ । लिच्छबीकालमा गुणकामदेवले प्रचलनमा ल्याएको र मल्लकालमा विशेष महत्वकासाथ मनाईने यहि ‘येँया पुन्हि’ लाई नै पछि ‘इन्द्रजात्रा’ बनाईएको कुरामा सबैको मतैक्य छ । तात्कालिन कान्तिपुरमा बर्षा ऋतुको अन्त्यपछाडि अत्यन्तै भब्यताका साथ मनाईने यो पर्वको चर्चा जति छ दशैंको चर्चा मल्लकालिन दस्तावेज वा लिखतहरुमा भेटिन्दैन ।
    नेपालका पहाडि–मधेसी लगायत भारतीय हिन्दुहरुमा दशैंको महिमासँग सम्बन्धित भेटिने साझा मान्यता भनेको ‘दुर्गापूजा’ नै हो । दुर्गापूजा कहिलेबाट मनाउन थालिएको हो भन्ने बारेमा ठ्याक्कै तिथीमिती केलाउन सकिने आधार छैन । तर आधुनिक दुर्गापूजाको शुरुवात भारतको बङ्गाल क्षेत्रबाट विकास भएको र त्यसको श्रेय बंगाल ताहिपुरका महाराजा कंश नारायणलाई जान्छ भन्ने कुरोमा आम इतिहासविद तथा संस्कृतिकर्मीहरुको सहमति छ । पहिला हर्सोल्लासका साथ नभै घर–घरमा सामान्य रुपमा दुर्गापूजा गर्ने चलन थियो । उनै महाराजा कंश नारायणले मूर्ति स्थापना गरी दुर्गाको भब्य अनुष्ठान गरेपछाडि आधुनिक दुर्गापूजाको विकास भएको हो । ‘अभिब्यक्ती’ साहित्यिक पत्रिकामा भारतीय चर्चित लेखक ‘देवप्रकाश’ सन् २००९ को अक्टोबर अंकमा ‘दुर्गापूजाको साँस्कृतिक विश्लेषण’ शिर्षकमा लेख्छन्—‘महाराजा कंश नारायणले अरुलाई समेत डाकेर भब्यताका साथ दुर्गापूजा गरेको साल सन् १५३८ थियो ।’ यहि मितीलाई आधिकारिक मान्ने हो भने आधुनिक दुर्गापूजा शुरु भएको ४६७ बर्ष हुँदैछ । उनै महाराजा कंश नारायणको सिको गर्दै बंगालमा ढनाढ्यहरुले नवरात्रमा हजारौं धन खर्चिएर दुर्गापूजा गर्न थाले । तात्कालिन बंगालको राजा ‘नवकृष्ण देव’ ले बिट्रिस गर्वनरलाई पहिलोपल्ट दुर्गापूजाको अनुष्ठानमा निम्तो गरेर यसको महत्व अन्य समुदायसम्म चिनाउने काम गरेको भारतीय इतिहासकार तथा संस्कृतिअध्येताहरुले गर्वका साथ लेखेका छन् । यसप्रकार बंगाल क्षेत्रमा दुर्गापूजा गर्नु प्रतिष्ठाको विषय बन्नु पुग्यो । तर हजारौं धन खर्चिएर सर्वसाधरणले दुर्गापूजा गर्ने अवस्था थिएन । त्यसैले सन् १९१० मा कोलकाताको बलरामपुर स्थित बसुघाटमा आयोजित एक धार्मिक भेलाले सामुहिक रुपमा दुर्गापूजाको अनुष्ठान गर्ने निर्णय गरेपछि बंगालको दुर्गापूजाले अहिलेको रुप लिनपुग्छ । त्यसैले भन्न सकिन्छ बंगालमा सर्वसाधरणकालागि हर्सोल्लासको साथ दुर्गापूजा मनाउने प्रचलनको शुरुवात सन् १९१० मा मात्र भएको हो । त्यसपछि मात्र भारतको अन्य ठाउँमा दुर्गापूजाले बिस्तार पाएको हो । अझै पनि भारतको पश्चिम बंगालमा जसरी दुर्गापूजा हर्सोल्लासका साथ मनाईने चलन अरु राज्यहरुमा छ्रैन । नेपालमा दशैं मनाउने हिन्दुहरुमा दुर्गापूजाको महत्व छ तर पश्चिम बंगालको जस्तो भब्य मूर्ति खडागरेर सामुहिक रुपमा अनुष्ठान गर्ने चलन छैन । विगत केही बर्ष अगाडिबाट भने केही ठूला शहरहरुमा दुर्गामूर्ति स्थापना गरेर सामूहिक रुपमा पूजा–आरधना गर्न थालिएको छ ।
    नेपालको सन्दर्भमा हेर्ने हो भने ‘दुर्गापूजा’ मात्र दशैं होईन । दुर्गापूजाभन्दा पनि फुलपाती, ‘टीका’ र ‘जमरा’ को महत्व धेरै छ भनेर माथि पनि भनियो । तर यहि फुलपाती, टीका र जमराको महत्व, भारतका हिन्दुलाई मात्र होईन नेपालकै तराई क्षेत्रका हिन्दुहरुलाई छैन । यसर्थ सबै ठाउँका हिन्दुहरुले मान्ने दुर्गापूजा वा दशहरालाई नै नेपालको दशैं हो भन्नु सरासर गलत हुन जान्छ । फूलपाती, जमरा र टीकाको सम्बन्ध दुर्गा पूजासँग नभएकै कारणले यिनीहरुको सम्बन्ध नेपाल भित्रै खोज्नुपर्छ । र, खोज्दै जाँदा पृथ्वीनारायण शाहको राज्य विस्तारसँग स्वतः जोडिन्छ । गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाण्डौ हनुमान ढोका दरबारमा भित्र्याउने चलन अझैसम्म रहनुले पनि सो कुरालाई पुष्टि गर्छ । भलै अक्षताको सेतो टीका र जमरा आदिवासीहरुको संस्कृतिसँग जोडिएला तर फुलपाती बढाइँ गर्ने, मार हान्ने र दशमीको दिन रातो टीकाको साथमा जमरा लाउने चलन गोर्खा राज्यको बिस्तारसँगै स्थापित भएको हो । यसकारण पौराणिक मान्यता होस् वा गोर्खा राज्यको विस्तारसँगै नेपालमा स्थापित भएको दशैंको मान्यता होस्, त्यसको एउटै अर्थ हुन्छ—अरुको पीडामा खुसी मनाऔं ।

Sunday, October 11, 2015

लाहुरेको तलब देखेर र्याल चुहाउनेहरुको नाममा


अचेल बिट्रीस लाहुरेले थापेको तलब र पेन्सन देखेर धेरैलाई टेन्सन मात्रै होइन लोभ, डाह र क्षोभ उत्पन्न हुने गरेको छ ।

तर ती लोभीहरुलाई के थाहा,,,प्रथम र दोश्रो विश्व युद्धमा उनीहरुले लडेको युद्धको गाथा र लाख बढी मारिएका होनाहार यूवाहरुको परिवारमाथि परेको पीडाको कथा ।
...

उसबेला राज्यले खासगरी चार जाति--राई, लिम्बू, मगर र गुरुङलाई मात्र गोर्खा भर्तिमा पठाएको थियो । यसो गरिनुको कारण यी जातिको सहास र युद्ध कौशलतासँग राणाहरु परिचित थिए । भविश्यमा आफ्नो सत्तामाथि आइपर्ने खतरालाई पञ्छाउने सजिलो बाटो राणाहरुले त्यही देखेका थिए । राणाहरुलाई बिश्वयुद्धको बिभत्सता बारे थाहा थियो । उनिहरुले ठानेका थिए युद्धमा सामेल गोर्खाली फौज सबै मर्छन् ।

उसबेला गोर्खा भर्तिमा जान प्रायः कुनै यूवा मान्दैन थिए । उनीहरुलाई अनेक लोभ-लालच देखाईन्थो । मीठो-मीठो खान पाइने, कहिल्यै नदेखेको वस्तुहरु हेर्न पाईने र थरी-थरीका यूवतिहरुसँग मोजमस्ती गर्न पाइने लोभ देखाइन्थ्यो । यूवाहरुलाई फकाउन तात्कालिन राणा सरकारले तालिम प्राप्त मान्छेहरु नै गाउँगाउँ पठाउँथे ।
तर गोर्खाभर्तीमा उपत्यका नजिकैका तामाङहरुलाई किन पठाईएन भन्ने कुरोको खोज पक्कै रोचक हुनसक्छ । पृथ्वीनारायण शाहको राज्य बिस्तार क्रममा तामाङहरुले पनि बीरतापूर्वक गोर्खाली सेनाको प्रतिकार गरेका थिए । गोर्खाली सेनालाई धेरै ठूलो क्षति पुर्याउने मध्ये तामाङ पनि हुन् । तामाङबाट समेत राणाहरुलाई खतरा थियो । तर त्यसबेला राणाको गाडी बोक्ने, खेतबारीमा काम गर्ने, दरबारहरु बनाउनेदेखि सेवा सुश्रुसाको काम गर्ने कार्यहरुमा प्रायः तामाङहरु नै हुन्थे । उनीहरुलाई नै गोर्खाभर्तीमा पठाएपछि राणाको सेवा कस्ले गर्ने ? त्यसैले राजधानीभन्दा टाढाका मगर, गुरुङ, राई र लिम्बूलाई अघोषित उर्दी जारी गरेरै भर्तिमा पठाईयो ।
गोर्खा भर्तिसँग सम्बन्धित राज्यको अर्को चालबाजी पनि छ, त्यो हो हरेक पल्टनमा एक जना पण्डित हुनुपर्ने बाध्यता । खासमा राई, लिम्बू, गुरुङ र मगरहरु हिन्दु होइनन् त्यसैले कर्मकाण्डी पण्डितलाई पठाउनु आवश्यक थिएन । तर त्यसबेला राणा शासकहरुले गोर्खा भर्तिमा संलग्न यूवाहरुलाई हिन्दु बनाउन कै लागि पल्टनमा एक जना पण्डित अनिवार्य गरेका थिए । अर्कोतिर गोर्खा भर्तिमा संलग्न यूवाहरु इसाई बन्ने वा बनाईने डरले पनि राणा शासकहरुले पण्डित अनिवार्य गरेका हुनसक्छन् ।

त्यसैले भन्न सकिन्छ कि,,गोर्खा भर्तिमा संलग्न यूवाहरुलाई कि त भौतिकरुपमा मार्नै, नभए धार्मिक-साँस्कृतिक रुपमा आफ्नो मान्यताबाट सिध्याउन नै राज्यको भूमिका थियो ।
यति ठूलो पीडा भोगका गोर्खा सैनिकहरुले हाल पाउँदै आएको पेन्सन र तलब देखेर र्याल चुहाउने शासक जातीका लुच्चाहरुलाई र तिनीहरुले विभिन्न ठाउँमा दिने प्रतिक्रियालाई देखेर अचेल फेरि अर्को बिश्वयुद्ध होस् र त्यो बिश्वयुद्धमा तिनै असन्तुष्ट/लोभी समुदायका यूवालाई मात्र भर्ती गर्ने ब्यवस्था होस् भन्ने कामना गरिरहेको छु ।
क्रमशः ........

किरात भूमिमा खस आर्यहरु---

गद्दार हरिनन्द पाध्य....

"हाम्रो फौज तपाईको सहयोगले दुधकोशी नदि तर्यो । हरिनन्द पाध्य कृपया शीघ्र किरात भूमि बिजय गर्न हामीलाई सहयोग गर्नुहोस् । हामी तपाईको उज्वल भविश्यको लागि सहयोग गर्ने छौं ।"
...
गोर्खाली फौजका कमाण्डर रामकृष्ण कुँवरले बि.सं. १८२९ भाद्र १३ गते खोटाङ खार्पाका हरिनन्द पाध्य उर्फ हरिनन्द पोखरेललाई लेखेको पत्र हो माथिको अंश ।

तात्कालिन माझकिरातको हतुवागढी र चौडण्डीगढी क्षेत्रका राजा कर्ण सेन थिए । उनी हिन्दु भएको नाताले उनको दरबारमा हरिनन्दपाध्य पुरोहितको रुपमा काम गर्थे । उनी राजाको पुरोहित भएको हुनाले तात्कालिन किरात राज्यको अवस्था बारे राम्रोसँग जान्दथे । एकप्रकारले भन्ने हो भने उनी किरात राज्यको बारेमा जसुसी गर्दथे । उनै हरिनन्द पाध्यले पूर्वको किरातभूमिमाथि आक्रमण गर्न नुवाकोट दरबारमा गोर्खाली राजा पृथ्वीनारायण शाहलाई पत्र लेखेका थिए । जसको प्रमाणको रुपमा गोर्खाली सेनाका अधिकृतहरु अभिमानसिं बस्नेत र पारथ भण्डारीले बि.सं. १८३० फागुन १५ गते हरिनन्द पाध्यलाई लेखेको यो तलको अर्को पत्रलाई लिन सकिन्छ ।

"तपाईलाई शुभकामना,
तराई र पहाड समाविष्ट नौ लाख किरात भूमि विजय गर्न फौज पठाउनु भनी लेखी पठाएको अनुरोध पत्र अवगत गरि नुवाकोटका राजा धेरै सन्तुष्ट हुनुभयो ।
कृपया बिजयपुरका देवान बुद्धिकर्ण राईले आर्जेको पहाड र तराई क्षेत्र बिजय गर्ने योजना बनाउनु होला ।"
माथी उल्लेखित दुई पत्र करिब ६ महिनाको अन्तरमा लेखिएको छ । दोश्रो पत्रले गोर्खाली फौजलाई किरात भूमिमाथी आक्रमण गर्न हरिनन्द पाध्यले नै पृथ्वीनारायण शाहलाई पत्र लेखेको कुरा पुष्टिगर्छ भने पहिलो पत्रले गोर्खाली फौजलाई किरात भूमि पस्न वा किराती गढीहरुमा आक्रमण गर्न हरिनन्द पाध्यले सहयोग गरेको प्रष्ट पार्छ । त्यसैले तात्कालिन किराती राज्य वा भूमिमाथि हरिनन्द पाध्यले धेरै ठूलो घात गरेको ठहर्छ ।
क्रमशः ............

आखिर जातभन्दा माथि उठ्नु पर्नेचाहिँ को ?

यतिबेला एउटा भनाई निक्कै चर्चित छ, ‘जातभन्दा माथि उठौं’ । झट्ट सुन्दा सबैलाई प्रिय लाग्छ यो भनाई । यस्तो लाग्नु गलत पनि होइन । तर भनाईको अर्थ के हो भन्ने बारेमा कसैले प्रष्ट पार्ने जमर्को भने गरेका छैनन् । सामाजिक सञ्जालमा कसैले यही भनाई लेख्यो भने लाईक हान्ने र भाषणमा कसैले यही भनाई बोल्यो भने ताली ठोक्नेभन्दा अरु कुनै चिन्तन मनन गर्ने प्रयास भएको छैन । आखिर जातभन्दा माथि उठ्नु भनेको के हो त ?

धेरैलाई यही लाग्न सक्छ कि, जातको कुरा नगर्नु नै जातभन्दा माथि उठ्नु हो । केहीलाई लाग्न सक्छ जातीय पहिचानको कुरा नगर्नु नै जातभन्दा माथि उठ्नु हो । अझ केहीलाई लाग्न सक्छ वर्तमान राज्यसत्ताले स्वीकार गरेको बाहेकका भाषा, धर्म, संस्कृति, इतिहास र सभ्यताको कुरा नगर्नु नै जातभन्दा माथि उठ्नु हो । तर यी बुझाई विल्कुलै गलत बुझाई हुन् ।

जातभन्दा माथि उठ्नु भनेको केहो, भन्ने कुरामा विमर्श गर्नुभन्दा अगाडि किन यसो भनियो भन्ने कुरालाई अलिकती केलाउँ । खासगरी २०४६ सालको राजनीतिक परिवर्तनसँगै समाजमा नयाँ चेतनाको लहर आयो । पञ्चायतकालमा गुम्सिएर बसेका असंख्य चाहनाहरु अभिब्यक्ति स्वतन्तासँगै सडकमा पोखिए । राजनीतिक–सामाजिक रुपमा संगठित हुनपाउने मौलिक हकको प्रत्याभूतिले बिभिन्न किसिमका संगठनहरुको स्थापना भयो । यही समयमा विभिन्न जातिका जातीय संगठनहरु खोलिए । खासगरी राज्यसत्ताबाट किनारीकृत गरिएका आदिवासी जनजाति र दलितहरुले आ–आफ्नो जातीय संस्था स्थापना गरी आफ्नो समाजमा चेतना प्रवाह गर्नथाले । देश–विदेशका अनुभवहरु साटासाट गरिन थालियो । विशेषगरी गाउँ छोडेर राजधानी लगायतका शहर–बजारमा बस्ने यूवाहरुको चासो यसतर्फ देखियो । स्कूल–कलेज पढ्दाको इतिहास सत्य देखिएन, राज्यको कुनै निकायमा आफ्नो अनुहार भेटिएन । भाषा हराएको, संस्कृति उपेक्षित भएको, धर्ममाथि अतिक्रमण भएको, इतिहास र सभ्यतालाई नामेट पारिएको भेटिएपछि त्यसैको संरक्षणमा जुट्ने हिम्मत गरे । आदिवासी जनजाति र मदेशीले राज्यसत्तासँग भाषा, संस्कृति र इतिहासको संरक्षण सँगै स्वशासनको अधिकार माग गरे । जातीय रुपमा भएको बिभेदको अन्त्यसँगै राज्यका निकायहरुमा प्रतिनिधित्वको माग गर्दै दलितहरु सडकमा आए । धार्मिक बिभेद बिरुद्घ मुस्लिम, बुद्घिष्ट र किरातहरु देखिए । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सडकमा छरिएको यही मुद्घालाई २०५६–५७ तिर युद्घरत तात्कालिन माओवादीले टिप्यो । राजनीतिक निकायदेखि स्थानीय सत्ताको अभ्यासमा माओवादीले यही मुद्घा प्रयोग गर्यो र ब्यापक बनायो । २०६२–६३ को जनआन्दोलनपछि यो मुद्घा अझ मुखरित भएर आयो । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी र मदेशवादी दलहरुले यही मुद्घा जनताको बीचमा लिएर गए । नभन्दै माओवादी र मदेशबादीहरुको पक्षमा जनलहर देखापर्यो । संविधानसभामा शुरुमा एमालेले समेत यही मुद्घालाई स्वीकार गर्यो । तर संविधान बनाउने काम जति लम्बिन्दै गयो, त्यति नै एमालेको भाषा फेरिन्दै गयो । अन्ततः जातीय पहिचानको कुरा सुन्दै नसुन्ने अवस्थामा एमाले पुग्यो । पहिलो संविधानसभा चलिरहेकै समयमा एमाले र काँग्रेसले पहिचान भनेको जातीय राज्य हो भन्नेकुरा जसरी ब्यापक रुपमा प्रचार गरे त्यसरी नै ‘जातभन्दा माथि उठौं’ भनेर भनिरहे । तर यी दुवैकुराको परिभाषा भने उनीहरुले उसबेला पनि दिन आवश्यक ठानेनन् र अहिले पनि ठानिरहेका छैनन् ।

‘जातभन्दा माथि उठौं’—यसको माने भनेकै जातीय स्वार्थ, जातीय दम्भ, जातीय चेत, जातीय बिभेद र जातीय राजनीतिभन्दा माथि उठौं भन्ने हो । अर्थात जातीय आधारमा कुनैपनि प्रकारको भेदभाव नगरौं, एउटा जातिको भाषा, संस्कार र संस्कृतिलाई अर्को जातिमा नलादौं, अरुको भाषा, धर्म, संस्कार, संस्कृति, सभ्यता र इतिहासलाई सम्मान गरौं, जातीयताकै आधारमा राज्यको नजिक र टाढा हुने प्रचलनको अन्त्य गरौं र सबैमा आपसी सद्भावको विकास गरौं भन्न खोजिएको हो । त्यसैले समाजमा भएको जातीय बिभेदलाई यथावत राखेर, अन्य भाषा, धर्म संस्कार, संस्कृति, इतिहास र सभ्यतालाई उपेक्षा गरेर, विभिन्न बाहानामा एउटा जातिको भाषा, धर्म, संस्कार र संस्कृति अरुमाथि लादेर जातिभन्दा माथि उठ्न सकिन्दैन ।

यतिबेला जातीय अधिकारको पक्षमा बोल्नेहरुले अरुको अधिकार खोस्नुपर्छ भनेका छैनन् । आफ्नो भाषाको संरक्षणमा राज्य भूमिका हुनपर्छ र त्यसलाई सरकारी कामकाजमा मान्यता दिनुपर्छ भन्नेहरुले अरु भाषामाथि प्रतिबन्ध लगाउ भनेका छैनन् । आफ्नो संस्कृतिलाई पनि राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्नुपर्छ भन्नेहरुले अरुको संस्कृतिलाई वेवास्ता गर भनेका छैनन् । राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्नेहरुले मेरो धर्मलाई मात्र मान्यता देउ र अरुलाई वास्ता नगर भनेका छैनन् । र, जातीय पहिचान माग्नेहरुले अरुको पहिचान खोस भनेर राज्यलाई भनेका छैनन् ।अतः एउटै मात्र भाषा, एउटै मात्र संस्कृति, एउटै मात्र धर्म र एउटै मात्र पहिचानको वकालत गर्नेहरु जातभन्दा माथि उठ्ने कि, सबै भाषा, सबै संस्कृति, सबै धर्म र सबै जातिको पहिचान र हकअधिकार कायम गरौं भन्नेहरु जातभन्दा माथि उठ्ने ? कुरो प्रष्ट हुन जरुरी छ ।

विजयपुर कस्को राज्य थियो ?

वि. सं. १८३१ साल साउन २२ गते गोर्खाली सेना र विजयपुरका मन्त्रीहरु बीच एउटा सम्झौता भयो । सो सम्झौतामा बिजयपुर राज्य पृथ्वीनारायण शाहको गोर्खा राज्यमा गाभिने तर रीतिथिती, अधिकार र भोगचलन गर्दै आएको जमिनमा स्थानीयहरुको यथावत रहने उल्लेख गरियो । सो सम्झौतापछि गोर्खालीहरुको तर्फबाट विजयपुरका मन्त्रीहरुलाई एउटा लालमोहर दिईयो । सो लालमोहरमा विजयपुरका तीन मन्त्रीहरु, शुन राय, कुम राय र श्रीजुङ रायको नाम उल्लेख गरिएको छ ।

...
इ.सं १७७३ मे २७ तारिखको दिन पृथ्वी नारायण शाहले बिट्रिस गर्भनर जनरल वारेन हेसिटङ्गसलाई एउटा पत्र लेखेका छन् । सो पत्र माझकिरातलाई गोर्खा राज्यमा मिलाई सकेपछि लेखिएको हो (माझकिरातको सम्पूर्णभूमि इ.सं १७७३ जनवरीमा गोर्खाली सेनाले दखल गरिसकेको विश्वास गरिन्छ) । सो पत्रमा विजयपुरका दिवान बुद्घिकर्ण रायलाई दण्ड दिएर उक्त प्रदेश त्यसका पञ्जाबाट छुटाउन सकें भने म तपाईलाई भने अनुसारको नजाराना चढाउन तयार छु भन्ने उल्लेख छ । साथै पत्रमा के पनि भनिएको छ भने—“मेरा भाइ कामदत्त सेनको धोकेबाज दीवान बुद्घिकर्णले मेरा भाइको राज्य अम्बपुर र बिजयपुरमा अवैध रुपमा अधिकार जमाईरहेको छ ।”

माथि उल्लेखित पत्र हेर्दा थाहा लाग्छ कि, विजयपुर राज्यको राजा कामदत्त सेन थिए । उनलाई विभिन्न कारणले अपदस्त गरेर बुद्घिकर्ण राय पछि राजा बनेका थिए । खासमा बुद्घिकर्ण राय, राजा नभै पहिला कामदत्त सेनका दिवान अर्थात मूख्य मन्त्री थिए ।

यसैगरी इ.सं १७७३ अगस्त १० तारिकको दिन बिट्रिस गर्भनर जनरल वारेन हेसिटङ्गसले गोर्खाली राजा पृथ्वीनारायण शाहलाई एउटा पत्र लेखेका छन् । सो पत्र गोर्खाली सेनाले बिजयपुर कब्जा गरी सकेपछि लेखिएको पत्र हो । जहाँ—“अम्बरपुर र विजयपुरमा तपाईको फौजले अधिकार गर्यो भन्ने खबर आएको छ । ती दुवै प्रदेश बङ्गाल प्रान्तको भाग हुन् । तपाई र कम्पनी सरकारको बीच मित्रवत सम्बन्ध कायम रहिरहनु आवश्यक छ । ती प्रदेशहरुबाट आफ्नो फौज हटाउनु होला भन्ने अपेक्षा गर्दछु ।” फेरि यस्तै आशयको पत्र अक्टोबर १९७४ मा जनरल हेस्टिङ्गसले पृथ्वीनारायण शाहलाई लेखेका थिए । जवाफमा इ.सं. २८ नोभेम्बर १७७४ को दिन गर्भनर जनरलाई मकवानपुरको हकमा जसरी मालवाजवी बुझाउँदै आएको छु, त्यसरी नै बिजयपुरको हकमा पनि बुझाउँछु भनेर पृथ्वीनारायण शाहले जवाफ लेखेका छन् ।

माथि उल्लेखित लालमोहर र पत्रहरुलाई हर्दा के निर्कोलमा पुग्न सकिन्छ भने तात्कालिन बिजयपुर राज्यको सीमा पहाडभन्दा पनि हालको झापा, मोरङ र सुनसरीको भागहरु थिए । जसलाई तात्कालिन बिट्रिस साम्राज्यले तात्कालिन बङ्गाल (हालको पश्चिम बङ्गाल) कै भाग ठान्ने गथ्र्यो । विजयपुरका राजा कामदत्त सेन वा बुद्घिकर्ण रायले यसैकारण इष्ट इन्डिया कम्पनीलाई प्रत्येक वर्ष नजराना बुझाउँदै आएका थिए । र, विजयपुर जिती सकेपछि सोही अनुसारको नजराना इष्ट इन्डिया कम्पनीलाई बुझाउन तर बिजयपुर राज्य आफूसँगै राखिरहन पृथ्वीनाराण शाहले पहल गरेका थिए

को हुन् खम्बू ? कहाँ छ खम्बुवान ?

२०५६–५७ तिर वर्तमान एमाओवादीका नेता गोपाल किरातीको नेतृत्वमा पूर्वि पहाडका केही जिल्लाहरुलाई केन्द्रविन्दु बनाएर शसस्त्र संघर्षको शुरुवात भयो । उसबेला यिनै गोपाल किरातीले आफूलाई ‘गोपाल खम्बू’ नामले चिनाउँथे । र, संगठनको नाममा समेत खम्बूवान जोडेका थिए । केही समयको अन्तरालपछि विचार एक भएको भन्दै तात्कालिन विद्रोही समूह नेकपा माओवादीसँग पार्टी एकता गरेपछि यिनै गोपालले आफूलाई ‘गोपाल किराती’ बनाए । एकीकृत पार्टीमा तात्कालिन खम्बूवानका सबै नेता–कार्यकर्ताहरुले ‘खम्बू’ हटाएर ‘किराती’ लेखे । त्यसबेला खम्बुवानसँग असन्तुष्ट भै केही ब्यक्तिहरु मिलेर अर्को शसस्त्र समूह पनि बनाएका थिए । जसको नाम ‘किरात जनवादी वर्कस पार्टी’ राखिएको थियो । अर्थात उनीहरुले पनि ‘खम्बू’ र ‘खम्बूवान’ नलेखी ‘किरात’ नै लेखे । गोपाल किरातीहरु पार्टी एकीकरण गरी माओवादीमा समाहित भएको केही समयपछि तात्कालिन खम्बूवानमा सक्रिय केही ब्यक्तिहरुले रामकुमार राई उर्फ आर.के. खम्बूको नेतृत्वमा पुनः ‘खम्बूवान राष्ट्रिय मोर्चा’ गठन गरे । यस संगठनले दोश्रो संविधान सभाको चुनाबमा भाग लिएर समानुपातितर्फ एक सिट जित्यो । अध्यक्ष आर.के. खम्बू अहिले आफै सभाषद् हुनुहुन्छ ।

को हुन् खम्बू ?
तात्कालिन खम्बूवान क्रियाशिल रहँदा गोपाल किरातीहरुले आफूहरुलाई ‘खम्बू’ भएको दावी गर्थे र माझकिरातका सबै किरातीहरु ‘खम्बू’ हुन् भन्थे । अहिले आर.के. खम्बूहरु पनि त्यही भन्नुहुन्छ । उसबेला पनि गोपाल किरातीहरु, ‘किरात’ हिन्दुहरुले भिराई दिएको नाम हो र दुईपन्ने किरात इतिहास हाम्रो लागि अस्विकार्य छ भन्थे । अहिले आर.के. खम्बूहरु पनि त्यही भन्दै हुनुहुन्छ । अपितुः ‘खम्बू’ को इतिहास के हो त ? न उसबेला गोपाल किरातीहरुले नै प्रष्टपार्न सके न वर्तमानमा आर.के. खम्बूहरुले नै प्रष्ट्याउनु भएको छ । अहिले ‘खम्बू’ हौं भन्नेहरुसँग खम्बूको इतिहास सोध्ने हो भने उहाँहरु ‘खाम्बेक’ का सन्तान अर्थात धर्ति पुत्र हौं, किरातभन्दा हाम्रो इतिहास यूगौं पुरानो छ भन्नुहुन्छ । तर उहाँहरुले न अहिलेसम्म ‘खम्बू’ को बारेमा कुनै लिखित दस्तावेज नै फेला पार्नु भएको छ, न ‘खम्बू’ हौं भन्नेबारेमा कुनै पुरानो जनश्रूति नै । खाली ‘खाम्बेक’ अर्थात धर्तिसँग जोडेर ‘खम्बू’ को रटान लगाउन मै ब्यस्त हुनुहुन्छ ।

सोलुखुम्बुको ‘खुम्बु’ शब्दले ‘खम्बु’ को इतिहास बोल्छ भनेर कतिपयले जोड दिदै आएको पनि भेटिन्छ । ‘खम्बु’ बाट नै ‘खुम्बु’ भएको हो भन्ने भनाई छ । सोलुखुम्बुको माथिल्लो क्षेत्रलाई ‘खुम्बु क्षेत्र’ भनेर चिनिन्छ । जहाँ शेर्पाहरुको बसोबास रहँदै आएको छ । अत्याधिक चिसो हुने हिमाली क्षेत्रमा किरातीहरुको बासोबास पहिला पनि थिएन र अहिले पनि त्यसता ठाउँमा बसोबास छैन । भलै कोही–कोही ब्यापार वा अन्य सिलसिलामा हाल त्यहाँ पुगेका हुनसक्छन् । त्यसैले ‘खुम्बू’ को अर्थ ‘किराती’ भाषामा नभै शेर्पा भाषामा नै खोज्नु बढी सान्दर्भिक हुन्छ । शेर्पा भाषामा ‘शेर’ को अर्थ ‘बेंसी’ र ‘खुम्बू’ को अर्थ ‘लेक’ हुन्छ । त्यसैले ‘शेरखुम्बु’बाट अप्रभंश भएर सोलुखुम्बु भएको हो भन्ने धेरैको मत रहँदै आएको छ । कतिपयले ‘खाम्पा’ बाट अप्रभंश भएर ‘खम्बु’ भएको हो पनि भन्दै आएका छन् ।

‘खाम्बेक’ अर्थात धर्तिपुत्र को अर्थमा ‘खम्बू’ भनिनु कति प्रामाणिक होला त्यसमाथि पनि बिचार गरौं । नेपालमा हाल रहेका सबै जातिहरु अन्तैबाट आएका हुन् भन्ने कुरो घाम जस्तै छर्लङ्ग छ । आफूलाई सबैभन्दा पुरानो जाति मान्ने किरातीहरु पनि बाहिरबाटै आएका हुन् । हरेक जातिको उत्पति र बिकास यस धर्तिको कुनै न कुनै पाटोमा नै भएको हो । यसर्थ सबै जाति धर्तिपुत्र नै हुन् । त्यसैले कुनै एक जातिले मात्र आफूलाई धर्तिपुत्र भएको दावी गर्नु असान्दर्भिक नै हुन्छ । यद्यपि अहिले सघन रुपमा बस्दै आएको भूगोलमा सबैभन्दा पहिला आएको नाताले यस ठाउँको धर्तिपुत्र भएको दावी भने गर्न सकिन्छ । किरात भूमिको हरेक गाउँ–ठाउँ, खोला–नाला, भीर–पहरा आदिको नाम सम्बन्धित जाति कै भाषामा भएकोले यस ठाउँको आदिवासी किरातीहरु नै हुन् भन्ने कुरामा दुईमत छैन । तर किरातीहरु नै सबैभन्दा पहिला आएका हुन् भन्ने कुरो भने झुटो सावित हुन्छ । खास वर्तमान किरात क्षेत्रमा किरातीहरुभन्दा पनि पहिला अरु समूहको बसोवास भएको विभिन्न अनुसन्धानकर्ताहरुले बताईसकेका छन् । त्योभन्दा पनि बढी प्रामाणिक कुरो वर्तमान किरात क्षेत्रका विभिन्न ठाउँमा रहेका ‘ठाडो चिहान’ र ती चिहानमा भेटिने ‘पुलिक माला’ (सि, वाछिमाला) नै हुन् । किरातीहरु पनि मृत्युपछि जमिनमै दाहसंस्कार गर्छन् । तर किरातीहरुको चिहान तेर्सो अर्थात लासको टाउको पूर्व र खुट्टा पश्चिम फर्काउने चलन छ । ती धेरै पुराना चिहानहरु ठाडो अर्थात उत्तर–दक्षिण फर्किएको हुन्छ, जहाँ बहुमूल्य पुलिक माला भेटिन्छ । किरात भूमिमा ती ठाडो चिहानहरु किरातीहरुको नभै हाल भारतको नागाल्याण्ड क्षेत्रका आदिवासी नागाहरुको भएको विश्वास गरिन्छ । इतिहासकारहरुले पनि नागाहरुलाई नेपालकै भू–भागबाट विस्थापित भएर वर्तमानको नागाल्याण्डमा पुगेको बताउँदै आएका छन् । भने नागाहरुले पनि हामी पहिला नेपालबाटै आएका हौं भनेर दावी गर्दै आएका छन् । त्यसैले पनि किरातीहरुभन्दा अगाडि नै किरातभूमिमा अरुले आवाद गरिसकेको प्रमाणित हुन्छ । अतः ‘खाम्बेक’ बाट ‘खम्बू’ भएको हो भनिनु कुनै प्रामाणिक तर्क होइन ।

वर्तमान किरात भूमिसँग जोडिने लिखित प्रमाणहरु भनेको पृथ्वीनारायण शाहले किरातभूमिमा आक्रमण गरिसकेपछिका नै हुन् । ती सबै लिखित प्रमाणहरुमा ‘खम्बू’ शब्द कतै प्रयोग भएको छैन । गोर्खाली सेनापतिहरुले खार्पाका हरिनन्द पाध्यलाई लेखेको पत्रमा होस् वा किरातभूमि जिती सकेपछि पृथ्वीनारायण शाहले आफ्ना सैन्य कमाण्डहरुलाई लेखेको पत्रमा होस् ‘किरात’ नै उल्लेख गरिएको छ । बरु अरुणवारीका किराती भूमिलाई किरातसँगै ‘नौलखा’ भने जोडिएको पाईन्छ । विजयपुरका मन्त्रीहरु सुन राय, कुम राय र श्रीजुङ रायको नाममा दिईएको लालमोहरमा ‘नौलाष र येकपटि तिमीहरु हौना’ भनेर लेखिएको छ भने खार्पाका हरिनन्द पाध्यलाई लेखिएको पत्रमा पनि नौलाख किरात जित्नको लागि सहयोग गरेको प्रशंग उल्लेख गरिएको छ । त्यसैले उसबेला पनि ‘खम्बू’ वा ‘खम्बूवान’ भनेको/लेखेको कुनै लिखित प्रमाण भेटिन्दैन । धेरैपछि लेखिएका इतिहास वा सन्दर्भहरुमा भने कसै कसैले ‘खम्बू’ शब्द उल्लेख गरेका छन् ।

आखिर ‘खम्बू’ शब्द आयो कहाँबाट ?
वि. सं. १८३१ साल साउन २२ गते गोर्खालीको तर्फबाट विजयपुरका मन्त्रीहरुलाई दिइएको लालमोहरको अन्तिममा ‘यो सम्झौता पत्र लिम्बू परिवारका भाइहरुलाई दिएँ’ भनेर लेखिएको छ । र, यही लालमोहरमा अरुणपारीका किरातीहरुलाई ‘नमासीने’ भनेर उल्लेख गरिएको छ । त्यसपछि अरुण पारीका किरातीहरु नमासिने र अरुणवारीका किरातीहरु मासिनेमा विभाजित भए । नमासिने कहलाईएका किरातीहरुले मासिने कहलाईएका किरातीहरुलाई फरक देख्नु स्वभाविक हो । त्यही समयदेखि अरुणपारीका किरातीहरुले आफूलाई लिम्बू भन्न गौरब ठाने र लिम्बू भन्न शुरु गरे । खासमा अरुणवारीका किरातीहरु र अरुणपारीका किरातीहरुमा त्यति धेरै अन्तर थिएन । भाषा र संस्कृतिमा सामान्य पृथकता बाहेर धार्मिक–सामाजिक मान्यताहरु उस्तो फरक थिएन (अहिले पनि छैन) । अरुणवारी र पारीका किरातीहरु आपसमा भाइबन्धु नै थिए÷हुन् । तर अरुणपारीका किरातीहरुले ‘लिम्बू’ हौ भन्न थाली सकेपछि अरुणवारीका किरातीलाई चाहिँ के भन्ने, भन्ने प्रशंग स्वभाविक रुपमा उत्पन्न भयो । त्यसबेला लिम्बुसँग मिल्दोजुल्दो शब्द ‘खम्बु’ जोडिएको हुनसक्छ । तर अरुणवारीका किरातीहरुले खम्बू हौं भनेर कहिल्यै भनेन् र लेखेनन् पनि । किरातभूमि तात्कालिन गोर्खा राज्यमा गाभी सकेपछि बरु ‘माझकिरात’ भनेर लिखतहरुमा लेखिएको भेट्छौं र माझकिरातका किरातीहरुको नाम पछाडि ‘ज्यमि’ र ‘जिमी’ लेखिएको प्रशस्त लिखतहरु अझै पनि गाउँघरमा भेटिन्छन् । बरु माझकिरातका किरातीहरुले कतिपय ठाउँ र सन्दर्भमा हामी ‘जिमी’ हौ भनेर भन्दै आएका छन् । त्यसैले ‘खम्बू’ शब्दको न कुनै ऐतिहासिक लिखत वा जनश्रुति नै छ, न कुनै समुदायले हामी ‘खम्बू’ हौं नै भन्दै आएका छन् । पछिल्लो क्रममा निश्चित राजनीतिक स्वार्थ पूरा गर्न र आफूलाई अरुभन्दा अलग देखाउनकै लागि ‘खम्बू’ र ‘खम्बूवान’ भन्दै र लेखिन्दै आएको प्रष्ट हुन्छ । भलै ‘किरात’ शब्द आफ्नो भाषा परिवारको नहोला तर विगत ७ हजार बर्षदेखि जोडिएर आएको इतिहास र सभ्यतालाई छोडेर हुँदै नभएको ‘खम्बू’ लेख्ने र लेखाउँने कुनै किरातीलाई रहर छैन ।

अर्कोतिर ‘लिम्बूवान’ भन्दै आएका राजनीतिक समूहले जब्बरजस्ती ‘खम्बूवान’ को भारी बोकाईदिने गरेको कुरो यहाँ छिपाउनु हुँदैन । विगत २४० वर्ष पछाडि ‘लिम्बूवान’ को पहिचान अलग रुपमा विकास भइसकेको छ, त्यसैले लिम्बुवानले अगल पहिचान पाउनु हुँदैन भन्ने मान्यता कसैले राख्नु पनि हुँदैन । तर हुँदै नभएको ‘खम्बू’ लाई जब्बरजस्ती भिराएर पहिचानमा ‘किरात’ उल्लेख गर्न वा खोज्न पाउँदैनस् भन्ने मान्यताबाट लिम्बूवानीहरु पनि मुक्त हुनुपर्छ । यदि किरातीको इतिहासबाट आफूहरु बिमुख हुनुपर्ने डर हो भने लिम्बूवानसँगै ‘किरात’ जोडेर ‘किरात लिम्बूवान’ लेख्दा ‘किराती’ हरुलाई कुनै टाउको दुखाई हुने छैन । कहिँकतै ‘किरात’ त धर्म हो । धर्मको नाममा पहिचान खोज्नु ठिक होइन भन्ने बालतर्क पनि देखिन्दै आएको छ । यस सम्बन्धमा किरातलाई कहिले धर्मसँग जोडियो भन्ने कुरा उल्लेख गर्न अनिवार्य छ । पछिल्लो क्रममा किरातीहरुलाई राज्यले जब्बरजस्ती हिन्दु भनेर लेखिदिन थालेपछि वर्तमानका किराती संस्थाहरुकै पहलमा धर्मको मलहमा किरात लेख्ने सहमति भएर किरात लेखिन थालिएको हो । यद्यपि किरातीहरुको धर्म किरात नभै प्रकृति वा मुन्धुमबाद हो । उता फाल्गुनन्दको सत्यहाङमा पन्थीहरुले पनि आफूलाई ‘किरात’ धर्मावलम्बी भन्दै आएका छन् । फाल्गुनन्दको सबै बिचार र कार्यहरु गलत थिए भनेर त भन्न मिल्दैन तर अचेल कतिपय सन्दर्भहरुमा सत्यहाङ्मा पन्थीहरुको विचार र ब्यवहार मुन्धुमको मान्यतालाई ध्वस्त बनाउने खालेको छ । सत्यहाङ्मा पन्थलाई लिम्बूवानका सबै लिम्बूहरुले नै किराती धर्म नमानिरहेको सन्दर्भमा अरु किरातहरुले कसरी किरात धर्म मान्ने ? यसर्थ ‘किरात’ पहिचान हो, ‘खम्बू’ वा ‘खम्बूवान’ कहिल्यै थिएन, छैन र भविश्यमा पनि हुने छैन । सबै प्रष्ट हौं ।

दाहिने घुँडाको खत र छुवाछुतको प्रशंग


मेरो दाहिने घुँडाको केहीतल निक्कै ठूलो खत छ । केटाकेटीमा उपद्रव गर्नु र चोट लाग्नु सामान्य हो । त्यस्ता धेरै चोटहरुको खत मैले बोकी नै रहेको छु तर योे खतको कथा भने अलिक फरक छ ।
सायद फागुन महिनाको कुनै एक शनिबार हुनुपर्छ । बिहानैदेखि सिमसिम पानी परिरहेको थियो । शनिबार भएको हुनाले घर मै थिएँ । पानी अलिक थामिएलाजस्तो भएकोबेला दौतरीहरु गणेश र टंक आईपुगे । हामी कोठामा बसेर चोर–पुलिस खेल्न थाल्यौं ।

२०४५ सालको भूकम्पले घर नराम्ररी धाँजा चिरिएपछि सरकारले तेके अनुसारको मापदण्ड पुरा गरेर बनाएका थियौं । सामान्यतः किरातवस्तीमा चौडापट्टी ढोका र लम्बाईपट्टी जस्केला राखेर घर बनाउने पुरानो चलन छ । छानोलाई दुईपाटा करालो बनाउनको लागि सबैभन्दा माथिल्लो तलामा चौडापट्टी त्रिभुजाकारमा गाह्रो लगाईन्छ, जसलाई चुलीगाह्रो भनिन्छ । एकापट्टीको चुलीगाह्रो ठिक मूलढोकाको माथि हुन्छ । त्यो चुलीगाह्रो २०४५ सालको भुकम्पमा प्रायः भत्किएको भेटियो र मर्ने तथा घाईते हुनेहरुलाई त्यसैले किचेको भन्ने रिपोर्ट आइसकेपछि सरकारले नयाँघर बनाउँदा लम्बाईपट्टी दुईवटा ढोका राख्न उर्दी जारीगरेको थियो । सोही उर्दीलाई शीरोधार्य गर्दै हामीले पनि त्यस्तै घर बनाएका थियौं ।

त्यसबेला म सात कक्षामा पढ्दै थिएँ । सायद पढ्न साजिलो होस् भनेर होला घर बनाउँदा बुवाले माथिल्लो तलामा मेरालागि बेग्लै कोठा निकालीदिनु भएको थियो । कोठा घरको भित्री भागमै पथ्र्यो । कोठासम्म पुग्नभने बाहिरबाट सिंढी लगाईएको थियो । सिंढीलाई छानोले छोप्ने हुँदा पानी परे पनि बाहिरै बस्न सकिन्थ्यो । सिंढीबाट भित्र पस्न काठको बार नाघ्नु पथ्र्यो । तीन जनामध्ये म र टंक भित्र थियौं तर गणेश बाहिरै सिंढीमा बसिरहेको थियो ।

सबेरै गाउँ घुम्न निस्किनुभएको बुवा रक्सीले मात्दै आईपुग्नु भो । बुवाको बानी थाहापाएरै हामी भाग्यौं । गणेश र टंक आफ्नै घरतर्फ दौडिए । म भने पँधेरोतर्फ कुदें । पँधेरापारि पुगेर हेर्दा, बुवा खेद्दै नजिकै आईसक्नु भएको थियो । त्यसपछि म ओह्रालै भाग्न थालें । माटोको डल्ला उठाएर बुवाले खेद्न थाल्नु भो । फुच्चे भए पनि दौडन र उफ्रनमा तेज थिएँ । छेउछाउ डल्लो बज्रिन थालेपछि भने होसहवासै उड्यो । एकैपटक दुईवटा अग्ला कान्ला नाघ्दै खोला झरें र उकालै बाँसघारीतिर भागें । बाँसघारी भित्र छेलिएपछि भने बुवा फर्किनु भएछ । बाँसको झ्याङमा लुकेको निक्कै बेरमा पो थाहा भयो, दाहिने घुँडाको केही तल चोट लागेछ । रगत बगिरहेको थियो । बनमाराको पात माडेर चोट लागेको ठाउँमा लगाएँ । केही बेरमा रगत बग्न थामियो । केही दिनपछि घाउ थाक्यो । तर पनि खाटा गएन । अझै बोकिनै रहेछु । त्यसदिनको घटनालाई लिएर बुवाप्रति कुनै दुराग्रह छैन । तर कारणले भने लखेटी रहेकै छ ।

माझकिरातको मूलथलो मै मेरो घरपर्छ तर छिमेकीहरु धेरै क्षेत्री छन् । र, दुईघर दमाई पनि । त्यसदिन मसँग चोर पुलिस खेल्ने दुई जना साथीहरुमा टंक, क्षेत्री थियो भने गणेश, दमाई । तीनै जना दामली थियौं र मिल्ने साथी पनि । गोठाला, घाँस–दाउरा प्रायः सँगै गथ्र्यौं । तर पढ्नुमा उनीहरु अलिकपछि परे । प्रा.वि. तह छिचोल्ने क्रममा थिए उनीहरु तर म भने टाढाको मा.वि. धाउने भैसकेको थिएँ । त्यसैले शनिबार मात्रै सँगै खेल्ने साईत जुथ्र्यो । त्यही साइत छोप्दै थियौं हामीहरु । मेरो बुवा अलिक कडै हुनुहुन्थ्यो । भनेको नमान्दा कुटाई खानु सामान्य नै थियो तर त्यति धेरै आवेगमा आएर खेद्नु भएको थिएन र पछि पनि खेद्नु भएन । त्यो दिन आक्रोशमा आउनुकोकारण रहेछ—गणेशलाई मेरो कोठा भित्र देख्नु । अर्थात दमाईलाई घर भित्र छिरायो भनेर रिशले आगो हुनुभएको रहेछ ।

किराती समुदायभित्र पहिला छुवाछुत थिएन र अहिले पनि छैन । हाल किरात हौं भन्नेहरु राई, लिम्बु, सुनुवार र याक्खाबीचमा विवाहबारी मज्जाले चल्छ । दनुवार, धिमाल, मेचे, राजबंशी, ताजपुरिया, कोचे, जिरेल, सुरेल, हायू, थामी, भुजेल र थारुसँग पनि किरातीहरुको विवाह चल्छ । तामाङ, मगर, गुरुङ, शेर्पा, थकाली, कुमाल आदिसँग विवाहवारी नचल्ने भनिए पनि छुवाछुत छैन । खासमा छुवाछुत, खसआर्य समुदायले किरातभूमि आउँदा बोकेर ल्याएको कलंक हो ।

पूर्वको किरातभूमिमा सोह्रौ–सत्रौं शताब्दीतिर सेनहरुले शासन गर्न थालेपछि मात्र खस–आर्यहरुको प्रवेश हुन थालेको हो । गोर्खाली राजा पृथ्वीनारायण शाहले किरातभूमि आफ्नो कब्जामा पारी सकेपछि भने खस–आर्यहरुको आगमनले तिब्रता पायो । खस–आर्यको आगमनसँगै किरातीभूमिमा जातपात र छुवाछुतले प्रवेश पायो । खसआर्यहरुले ज–जसलाई अछुत भने तिनैलाई किरातीहरुले पनि अछुतकै रुपमा ब्यवहार गरे । खसआर्यहरुको लागि भने किरातीहरु पानी चल्ने तर भातभान्सा नचल्ने जातिमा दरिए । किरातीहरुले पनि खसआर्यहरुलाई अजात नै ठानेर आफ्नो मूलचूल्हा छुन र दाल–ढिडोमा चलाउनमा प्रतिबन्ध गरे । निक्कैपछिसम्म खसआर्यलाई आफ्नो मूलचुल्हा छुन र त्यो चुल्हामा पाकेको दाल र ढिंडो खान दिइन्दैनथ्यो । तर अचेल भने त्यस्तो छैन । यद्यपि गाउँघरमा दलितहरुमाथि अझै पनि छुवाछुत गर्ने परंपरा जीवितै छ । आजभन्दा करिब २४/२५ वर्ष अगाडि पुरानो मान्यतामा हुर्केको बुवालाई दलित घरभित्र पस्नु पक्कै पनि सहनेकुरो थिएन । परन्तु गणेश बाहिरै बसेर खेलिरहेका थिए । गर्दै नगरेको गल्तीमा सजाय पाउनुको कारण म बिद्रोही बने ।

घरको मूलढोकापट्टी दलानमा बेञ्च राखिएको थियो । घरमा निजी धारा थिएन । प्यूने पानी लिनको लागि नजिकैको कुवामा जानु पर्थ्यो । जेठोपाको हुनाले पानी ओसार्ने काम प्रायः मेरै थियो । त्यो घटनापछि भने पानी बोकेर आउने क्रममा बेञ्चमा गणेश वा उनको समुदायका मानिसहरु देखें भने आँखा छलेर घैला भएको डोको उनीहरुलाई छुवाउँदै भित्र छिर्थें । यसो गर्नुको पछाडि बुवाप्रतिको प्रतिशोध पनि थियो तर त्योभन्दा बढी आत्मसन्तुष्टी । गणेश मेरो साथी मात्र थिएनन् कपडा सिलाई दिने पर्शु दाइको छोरा पनि थिए । पर्शु दाइ तिनै हुन् जसले जस्तै हतारमा पनि मेरो कपडा सिलाई दिन नाईनास्ती गर्नु हुन्न थियो । गणेशको घरमा गएर खानेकुरा खाइदिंदा उनीहरु खुसी हुन्थे, त्यो खुसीमा म आफूलाई सन्तुष्ट पाउँथे । त्यसैले पानीको घैला भएको डोको उनीहरुलाई छुवाउनुमा आत्मसन्तुष्टी पनि जोडिएको थियो भन्दा अत्यूक्ति नहोला । र, अचेत दलितहरुले छुवाछुत बिरुद्घ उठाएको आवाजमा आफ्नो आवाज मिसाउन पाउँदा होस् वा समान अधिकार प्राप्तीको लागि सडकमा ओर्लिएको बेला टाढै बसेर समर्थन गर्दा होस्, त्यस्तै आत्मसन्तुष्टी प्राप्त हुने गर्छ ।

गीत

पहेंलो सारी, फूलबुट्टेपारी, हरियो चौबन्दी
शीरमा सेतो हिमाल ओढी, बसेकी लोकन्ती...
के होला नाम तिनको भनी, सोध्दैछन् साराले
नेपाल भनी बोलाउँछन् हजुर, मलाई प्याराले


होलीको रङ्ग दलेर ज्यानमा स्यामुना गाउँछु
देउडा र सेलो नाचेर फेरि रोधी घर धाउँछु
बजाउँदै धिमे, च्याब्रुङ र मादल माघीमा रमाउँछु
सयौं छन् भाषा, संस्कृति यहाँ यसैमा हराउँछु
जूनले गाउँछ हाक्पारे हुर्रा, संगिनी ताराले
नेपाल भनी बोलाउँछन्, हजुर मलाई प्याराले ।

पूर्वमा लिम्बू, राई र कोच, पश्चिममा मगर
गुरुङ, तामाङ, थारु छन् यहाँ, छन् शेर्पा, नेवार
ब्राम्हण, क्षेत्री, दशनामी, शिल्पी, मधेशी, हिमाली
विविधता भित्र एकता बोक्ने जाति हो नेपाली
बिनायो गाउँछ यहि नै कथा, मोहिनी पाराले
नेपाल भनी बोलाउँछन् हजुर, मलाई प्याराले ।

गीत

भोकाएको मान्छे भन्छ, डाँडा वारी खाउँ
अघाएको मान्छे भन्छ, डाँडा पारी खाउँ
भन साथी अब मैले कसको गीत गाउँ ?
...
सितलैमा बाटो काट्ने, सुर जसको हुन्छ
शुरु बाटै बन्दो–बस्ती, राम्रो उसको हुन्छ
उही भन्छ, बाटो काटौं, अनि मात्रै खाउँ
भन साथी अब मैले कसको गीत गाउँ ?

जसको धेरै बोझ हुन्छ, उही धेरै थाक्छ
पक्कै पनि उसैलाई, छिटो भोक लाग्छ
त्यसैले त भन्छन् उनी, डाँडै वारी खाउँ
भन साथी अब मैले कसको गीत गाउँ ।

मृत्यूपछिको जीवन

 प्रत्येक उभौलीमा...
प्रत्येक छौवामा
सापादु भरीको वासिम
नछुङ्ले फलाक्ने "लेभेनेउ" सँगै
"खाली" को नाममा दायलुङमा खनिन्दा
प्रत्येक किरातीले
आफ्नो सौन्दर्य भेट्ने गर्छ,
तर,
मरेपछि बाँच्न
र, "खाली" भएर दायलुङमा बस्न
त्यति सजिलो छैन किरातीलाई ।


नछुङ्ले कचुर हानेकै भरमा
पोट नपल्टिएर चितै-चीत
वा,
चीत पल्टिएर पोट शून्य हुँदा
"खाली" छुट्टिनु जति सजिलो देखिन्छ
गाह्रो छ, चीत पल्टनु
किनकि, कचुरमा
जीवन र मृत्युको सफेद विम्ब
आउनुपर्छ रिसिया गाउँदा ।

मृत्यु यस्तो स्वभाविक होस्
कि, उमेरले मृत्युलाई
र मृत्युले उमेरलाई
ठानोस् अनिवार्य
मानोस् सर्वस्वीकार्य
न बगेको होस् रगत
न चढेको होस् पानी
न चुहेको होस् पीप
न निलेको होस् कुनै जहर
न लागेको होस् फाँसी
न भएको होस् दुर्घटना
र,
छोडेर जाँदा प्राणले शरीर
न नभेको होस् दायलुङमा आगो
अनि पो पल्टन्छ चीत कचुरको
अनि पो मानिन्छ जीत मृतकको ।

तर,
मृत्यू सफेद हुन
जीवन पनि सफेद हुनुपर्छ
यसैभन्छ मुन्धुमले
-कर्म अनुसारको मृत्यू
-मृत्यु अनुसारको कचुर
र,
कचुर अनुसारको जीवन
-"खाली" कि, "निखाली" ?

दुश्मन

सत्ताभन्दा बाहिर रहँदा
ऊ मान्छे हुन्छ, आम मान्छे जस्तै
तर जब,...
सत्तामा पुगेर कुर्सीमा थपक्क बस्छ
त्यसपछि,
मान्छे हुनुको पहिचान गुमाएर ऊ
दुश्मन बन्छ मान्छे कै
त्यसैले त सत्ता र कविता
कहिल्यै सँगै हिंड्न सक्दैनन्
किनकि,
कविता आम मान्छेको लागि हिंड्छ
सत्ता केवल आफ्नो लागि ।

भुस्याहा कुकुरहरू

शहरका गल्ली गल्ली चाहारेर
जुठोपुरो खोजेर खानु
सडकपेटी मै बिष्ट्याउनु...
भित्तो वा रुखको फेदमा
एउटा खुट्टो उचालेर तिरिक्क तुर्क्याउँदै सुँघेर हिंड्नु
रात-बिरात भुकेर मान्छेको निन्द्रा खल्बलाउनु
आफूभन्दा निम्छरो देखिए लखेट्नु
आफूभन्दा बलियो देखिए टाङ्मुनी पुच्छर लुकाएर हिड्नु
कार्तिक लाग्न साथ छाउरीको लागि
जीवनै बलिदान दिन पछि नपर्नु
एक टुक्रा हड्डीको लागि
आफ्नै साथीको ज्यान दावी गर्नु
---यो काम त भुसिया कुकुर हो
तर नेपालमा प्रजातन्त्र आएपछि भने
नेताहरुले पालो दिएका छन् ।

दशैं र किराती

सन् १७७२,
अगस्तको अन्तिम हप्ता
अलिकती आशंकालाई सिरानीमा च्यापेर...
मस्त निदाईरहेको किराती गाउँलाई झुक्याउँदै
हरिनन्द पाध्यको साथ लागेर
दुधकोशी तर्छन् गोर्खालीहरु
र,
चढाइँ गर्छन् किराती थुममाथि ।


समातेर अरिमठ्ठे हातले बाँसको धनु
चोप्दै चुच्चो काँड, बिषको भाँडोमा
प्रतिबाद गरिरहन्छन् गोर्खाली बन्दुकको
चतिम र अटल रायहरु
तर,
मीत र ससुरालीको राज्य लुटेर
बलियो बनेका गोर्खालीसँग
जोर चल्दैन थुमहरुमा
मारिन्छन् योद्धाहरु
मारिन्छन् आईमाई केटाकेटी
मारिन्छन् बृद्ध-बृद्धा
बग्छ दुधकोशी, रावा र साप्सुमा रगतको खोलो
बन जङ्गलमा दङ्गङ्ती गन्हाउँछ किरातीको लास
उजाडिन्छ किराती बस्ती
भत्काइन्छन् साकेला थान
उखेलिन्छन् मूल चुला
फालिन्छन् मोछामा घैलाहरु
हो, त्यही साल
अर्थात सन् १७७२ को आश्विन शुक्लपक्ष
किरातीहरु रोइरहेको बेला
किरातीहरु कै अन्नपात लुटेर
पहिलोपल्ट किरात भूमिमा मनाउँछन् गोर्खालीहरु
दशहराको हर्सोत्सव
र,
मार हानेर किराती योद्धालाई
रगतमा मुछेर अक्षता
लगाउँछन् निधारमा बिजयादशमीको रातो टीको ।

हो त्यसैले,
आफ्नै पूर्खाको रगत
निधारमा टाँस्नु मञ्जुर छैनन्
यो देशका आदिम जाति किरातीहरु ।

गीत

(प्रेम र राजनीति दुवैलाई कटाक्ष)

 मिल्ने त आखिर स्वार्थ रहेछ, कहाँ मिल्दो रहेछ र मन
बढिरहेछ दूरी निरन्तर, विष बन्दैछन् बोली बचन
...
जोडिए झैं लाग्छ कहिले दुवै काँधहरु
मेटिए झैं लाग्छ सीमा अनि साँधहरु
तर मिल्दैन जब त्यो स्वार्थ आपसमा
अनि भत्किन्छ आरोपका बन्द बाँधहरु

मिल्दो रहेछ रातमा चाहना दुवैको
नहोस् उज्यालो सायद कामना दुवैको
तर धर्तिमा जब टेक्छ घामले पाईला
अनि शुरु हुन्छ अनेकौं बाहाना दुवैको

मुक्तकहरु


 १) प्रचण्ड
जसको दिमाग जचाउँन राँची लैजानु पर्ने माग गर्यो प्रचण्डले
उसैसँग सत्ताको लागि जोड, घटाउ, गुणन र भाग गर्यो प्रचण्डले...
आखिर राजनीतिमा जे बोले पनि र जसो गरे पनि हुने रहेछ गाँठे !
अनाहकमा जनताहरुको दिमाग मात्र खराब गर्यो प्रचण्डले ।


२) ओली
उखान-टुक्का सुनाएर ताली पाउँछ केपी ओली
सधैं राष्ट्रवाद-राष्ट्रबाद भन्दै कराउँछ केपी ओली
हेर्दै जानुस्, प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला
उनै छिमेकी भारतको गुनगान गाउँछ केपी ओली ।

३) सुशील
जुरेमा पहिरो झर्यो, भूइँचालोले हजारौं मान्छे मर्यो
महामारी र आन्दोलनले पनि धेरैको जिन्दगी हर्यो
जोखिम मोलेरै संविधान घोषणा भो जसको पालामा
त्यही संविधान फाँसीको डोरी बनेर उनको गलामा पर्यो ।

४) गच्छदार
उसको प्राथमिकतामा सधैं-सधैं हुन्छ सरकार
तर पनि आन्दोलन, घोषणा गर्छ बारम्बार
लुसुक्क छिर्नु र डुक्रीन्दै बाहिरिनु त स्वभावै भयो
सबैभन्दा धेरै पटक मन्त्री हुने भए बिजय गच्छदार ।

५) कमल थापा
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र उनको बटम लाइन
गोरु गाडा चढेर अमेरिका पुगिन्न भन्नेसँग गरे साइन
पार्टी पो अलग भो त, बिचार त मिल्छ नि हैन काजी ?
अब हेर्नु छ मज्जाले महान राष्ट्रबादीहरुको पाईन ।

Monday, September 7, 2015

टिकापुर घटना र ठूला नेताको निन्दनीय अभिब्यक्ती

कैलालीको टिकापुर घटनापछि बिभिन्न बिचारहरु सामाजिक सञ्जालमा आए/आईरहेका छन् । कति बिचारहरु घटनालाई उछालेर एक समुदायमाथि निर्मम दमन गर्न उक्साउने ढङ्गले आए । कति बिचारहरु घटना दुःखद भए पनि राजनीतिक हो, त्यसैले राजनीतिक ढङ्गले नै समाधान खोज्नुपर्छ भन्ने किसिमले आए । बिभिन्न पार्टीका ठूला नेताहरुको टिकापुर घटनासँग सम्बन्धित बिचारहरु पनि सामाजिक सञ्जालमा देखिए । पत्रपत्रिकामा छापिएको नेताका बिचारहरु पनि समाजिक सञ्जालमा शेयर भए । कतिपय चर्चित ब्यक्तिको नाममा कल्पनै नगरिएका बिचारहरु पनि आए, यद्यपि त्यो साँचो वा फेक आईडी थियो भन्ने कुरो अझै खुलेको छैन । यसबीचमा संयमको खाँचो छ भन्ने कुरा धेरै लेखिए । तर सबैभन्दा बढि असंयमित बिचार राख्ने सत्तारुढ पार्टी कै शीर्ष नेताहरु देखिए ।
कैलालीमा घटना घटिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्रकार सम्मेलनमा त्यो घटनालाई आतंककारी घटना भएको टिप्पणी गर्दै हुनुहुन्थ्यो । केही बेरपछि नेपालकै ठूला मानिने मिडिया हाउसको आधिकारिक अनलाईन पेजमा उनै ओलीले भनेको भन्दै आन्दोलनकारीहरुले एस.एल.आर. बन्दुक लिएर आएको र त्यही बन्दुक प्रयोग गरेर सुरक्षाकर्मीलाई मारिएको अभिब्यक्ती आयो । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पनि सो घटनालाई आततायी घटना भएको भन्दै अभियुक्तहरुलाई कुनै पनि हालतमा कार्वाही गरेरै छाड्ने बताए । यता सामाजिक सञ्जालमा सत्तारुढ पार्टीका ठूला–साना सबै नेताहरुले घटनालाई आतंकारी भएको मान्दै दोषीलाई जसरी पनि कार्वाही गर्न सरकारसँग माग गर्दै स्टाटस लेखे । नेताहरुको यिनै अभिब्यक्तिहरुमा धेरै सर्वसाधरणहरुले जातीय सद्भावको ख्यालै नगरी बिभिन्न प्रतिक्रियाहरु जनाई रहे । केही अनलाईन पेजले टिकापुरमा एस.एस.पी. लाई यसरी जलाएर मारियो भन्दै, हुँदै नभएको फोटो राखेर समाचार लेखे । त्यो फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यो फोटोको वास्तविकता नबुझी धेरैले आन्दोलनकारीप्रति आक्रोश पोखे ।
घटना घटेको एकाध घण्टापछि टिकापुर लगायत केही स्थानमा सेना परिचालन गर्ने निर्णय मन्त्री परिषद् बैठकले गरिसकेपछि सम्भावित घटनालाई लिएर धेरैले चिन्ता गरेको पाईयो । घटनामा संलग्न भएको भन्दै धेरै निर्दोष जनताहरुले दमन बेहोर्नु पर्छ कि, भन्ने चिन्ता धेरैको थियो । नभन्दै उज्यालो नहुँदै केही थारु नेताको घर, उद्योग र थारु प्रमुख रहेको सञ्चारगृहमा आगजनी भएको समाचार सामाजिक सञ्जालमा आयो । त्यही समाचार केहीक्षणपछि ठूला मिडिया हाउसले अनलाईन पेजमा प्रकाशन गरे । तर सरकार, गृहमन्त्री, सत्तारुढ पार्टीका नेता कसैले उक्त घटनाको निन्दा गर्दै वा त्यस्ता गतिबिधि नगर्न भनि सम्बन्धित पक्षलाई सम्बोधन गरेर सूचना निकालेन्, न सामाजिक सञ्जालमा नै स्टाटस लेखे । अघिल्लो दिनको घटनालाई आतंकारी भएको संज्ञा दिनेहरुले सेना परिचालन भएको र कफ्र्यू जारी रहेकै बेला थारु नेताको घर, उद्योग र सञ्चार गृहमा आगजनी हुँदा किन दुःख मानेनन् ? किन संयमित रहन सम्बन्धित पक्षलाई अनुरोध गरेनन् ? किन घटनामा संलग्न दोषीलाई कार्वाही गर्न माग गरेन् ? किन ?
बिगतलाई फर्केर हेर्ने हो भने सत्तारुढ वा प्रतिपक्ष कुनै पनि पार्टीको इतिहास सफेद छैन । २००७ सालमा राणा बिरुद्घ क्रान्ति गर्दा होस् वा २०१७ सालको राजा महेन्द्रको कु पछि शसस्त्र क्रान्ति सञ्चालन गर्दा होस् नेपाली काँग्रेसले हतियार उठाएकै हो र सुरक्षाकर्मीलाई मारेकै हो । अझ हवाईजहाज अपहरण गर्ने काममा वर्तमान प्रधानमन्त्री शुशिल कोईरालाको समेत महत्वपूर्ण भूमिका थियो भन्ने इतिहास साक्षी छ । अहिलेको नेकपा एमालेको इतिहास त झन् ब्यक्ति हत्यासँग जोडिएर आउँछ । ‘बर्गशत्रु खतम गर’ अभियानमा एमालेका वर्तमान अध्यक्ष केपी ओलीको प्रत्यक्ष संलग्नता थियो भन्ने कुरो सामान्य नागरिकलाई पनि थाहा छ । यसरी आफ्नै इतिहासलाई भुलेर उनीहरुले सो घटनालाई आतंककारी गतिबिधीसँग जोड्नु कति सुहाउँछ ? प्रश्न यहाँ छ ।
टिकापुर घटना ठिक थियो भन्ने मेरो तर्क हुँदै होइन तर घटना घट्नुको पछाडि के कारण थियो भन्ने कुरो नखोजी र घटनाको वास्तविकता नआई घटनालाई सिधै आतंककारी गतिबिधिसँग दाँजेर सर्वसाधरणलाई उत्तेजित पार्ने अभिब्यक्ती सार्वजनिक गर्नु जिम्मेवार ब्यक्तिहरुको लागि कति सुहाउँदिलो बिषय हो, भन्ने मेरो प्रश्न हो । घटना घटेको केही दिन बितिसकेको छ तर घटना कसरी घट्यो भन्ने कुरो अझै प्रष्ट भएको छैन । आन्दोलनकारीहरु भित्र घुसपैठ भयो भनिएको छ तर कस्ता ब्यक्तिहरु र के उदेश्यको लागि तिनीहरु घुसे, त्यो खोजिएको छैन । आन्दोलनकारीहरुसँग घरेलु हतियार थियो र त्यही हतियार प्रयोग गरेर प्रहरीहरुको हत्या गरे भनिएको छ । दुई बर्षे बालकको मृत्युको कारण गोली लाग्नु हो भन्ने कुरो बाहिर आएको छ । गोली कसले हान्यो, आन्दोलनकारी वा प्रहरीले ? त्यो खुलाउने दरकार न सरकारलाई परेको छ न ठूला सञ्चारगृहलाई नै ।
आन्दोलनकारीहरुको आवाजलाई मिडियासम्म ल्याउनु कुनै पनि ठूला मिडियाहरुलाई आवश्यकता परेको छ्रैन । सामाजिक सञ्जालहरुमा ती नाबालकलाई आन्दोलनकारीले नै मारेको भन्ने आसय प्रकट गरेर प्रचार भैरहँदा सम्बन्धित पक्ष चुप छ, सत्य खोल्ने हिम्मत कसैले गरेको छैन । सत्य बाहिर नआउनुको कारण दुई वर्षे बालकलाई समेत आन्दोलनकारीहरुले प्रहरीको सन्तान भएकोले मार्यो भन्ने भ्रममा परेर सर्वसाधरण जनताहरु थप उत्तेजित भैरहेका छन् । यस्तो संवेदनशिल बिषयमा किन सरकार र जिम्मेवार नेताहरु चुप छन् ? के घटनालाई आतंककारी गतिबिधि भनेर भन्न बित्तिकै उनीहरुको जिम्मेवारी पूरा भो ?
खासगरी चार राजनीतिक पार्टीले ६ वटा सङ्घीय राज्य र त्यसको सिमाङ्कनको निर्णय गरेपछि थारुहट/थारुवान, कर्णाली र सुर्खेत आन्दोलित भएको हो । तात्कालिन ६ प्रदेशको प्रदेश नं ५ र ६ मा थारु बाहुल्य जिल्लाहरु बिभाजित भैसकेपछि थारुहट/थारुवान तातिनु परेको हो । सुर्खेतको आन्दोलन राज्यको राजधानी नपाउने अवस्थासँग जोडिएको थियो । कर्णालीको आक्रोश थारुकै जस्तो बिभेद बिरुद्घ र स्वायत्तताको चाहना जोडिए पनि भूगोल बिभाजनको पीडा उसमा थिएन । सुर्खेत तातियो तर चाँडै सेलायो पनि । यसकारण ऊ सेलायो कि, ऊसँग राज्यको राजधानी हुने लालसा मात्र थियो । कर्णाली कुनै पनि हालतमा सेलाउने अवस्था थिएन । बरु ऊ जस्तो सुकै बलिदान दिन पनि तयार भएर आयो । कुनैबेला सभ्यताको उद्गमबिन्दु रहेको कर्णाली आधुनिक नेपालको निर्माणसँगै क्षेत्रीय उत्पिडनमा परेको र सुदुरपश्चिमका सुगम जिल्लाहरुसँगै जोडिएर सिङ्गो ६ नं प्रदेश निर्माण हुनुले कर्णाली माथिको बिभेद यथावत रहने निश्कर्ष उसको सही थियो । अन्ततः कर्णालीको आवाज सम्बोधन गर्न शीर्ष नेताहरुलाई करै लाग्यो । ६ प्रदेश र त्यसको संरचनालाई संसोधन गर्दै कर्णालीका सबै जिल्ला र आसपासका कही जिल्ला मिलाएर थप एक प्रदेश बनाउने सहमति नेताहरुले गरे । जुन निर्णय स्वागत योग्य छ तर थारुहरु बाहुल्य क्षेत्रलाई दुई अगल–अलग राज्यमा बिभाजन गरिएको निर्णयमा नेताहरु टस को मस भएनन् । बरु शीर्ष मध्यकै एक नेताले सुदुरपश्चिमको एक इञ्च भूमि नदिने भन्दै थारुहरुलाई झन् चिढ्याउने काम गरे ।
६ बाट ७ वटा प्रदेश बनिसकेपछि पनि आफ्नो माग सम्बोधन नभएकोमा थारुहरु अझै आन्दोलित भए । थारुहट क्षेत्रमा अनिश्चितकालिन आम हड्तालको कार्यक्रमसँगै थारुहट भूमिमा रहेको सरकारी कार्यलयमा थारुहट/थारुवानको बोर्ड टाँस्ने कार्यक्रम अगाडि बढ्यो । यसबीचमा अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्ताहरुले आन्दोलनरत थारुहरुको कार्यक्रम बिथोल्ने, बन्द खुलाउने तथा आन्दोलनकारीहरुलाई अपमान गर्ने कार्य शुरु गरे । केही ठाउँमा दुवै पक्षको झडप समेत भयो । सो क्रममा बन्द खुलाउनेहरुको समर्थनमा पुलिस प्रशासन रहनु स्वभाविक पनि हो । तर सरकार र शीर्ष नेताहरुले थारुहरुको आन्दोलनलाई फर्केर हेरेनन् । आन्दोलनरत पक्षलाई बार्तामा बोलाउने भनेर त भने तर बार्तामा बोलाउनुको सट्टा संविधानको मस्यौदालाई अन्तिमरुप दिन हतारो गरिरहे । जसको परिणाम थारुहरु आक्रोशित हुँदै गए । प्रशासनसँग आन्दोलनरत पक्षका नेताहरुले प्रदर्शनलाई अहिंशात्मक बनाउने भनेर सम्झौता गरे पनि थारुहरुको अक्रोश त्यो सम्झौताले रोक्ने कुरै थिएन । अन्ततः प्रहरीको दमनलाई तोड्दै थारुहरु अगाडि बढे । तर घटनाले अकल्पनीय रुप लियो । घटना दुःखद रह्यो । सो घटनाले सबैलाई दुःखी तुल्यायो, स्वयं आन्दोलनरत थारुहरुले पनि दुःखी भए÷छन् । तर थारुहरुलाई आन्दोलन गर्न र आक्रोशित हुन बाध्य बनाउने सरकार र शीर्ष नेताहरुमा सबैभन्दा गैह्र जिम्मेवारी पन देखियो । सामाजिक सञ्जाल र मिडियाहरुमा तत्काल उनीहरुले दिएको अभिब्यक्तीले यही पुष्टी गर्छ ।
टिकापुर घटना निन्दनीय छ । तर सो घटना हुने बातावरण सरकार र शीर्ष नेतृत्वबाटै भएको हुनाले उक्त घटनाको जिम्मा उनीहरुले नै लिनुपर्छ । घटनाको जिम्मा लिएर मात्र हुँदैन आफ्नो कम्जोरीप्रति आत्माआलोचित हुँदै संयमित भएर आन्दोलनरत पक्षको भावनालाई बुझ्ने काममा अग्रसर हुनुपर्छ । यदि समाजिक सञ्जाल र पत्रकारहरु सामु त्यस्तै उत्तेजित अभिब्यक्ती दिईरहने र घटनाप्रति आफ्नो कुनै सम्बन्ध नरहेको स्वाङ पारिरहने हो भने देश नराम्रोसँग द्वन्द्वमा फस्ने छ/फस्दै गैरहेको छ । सबैमा चेतना भया ।