Wednesday, December 23, 2015

बाल्य स्मृति-४

घाम-जूनको आकार नाङ्लो जत्रै

जन्मन्दा कोही पनि ब्यक्ति अपराधी वा महात्मा भएर जन्मदैनन् । बुद्ध या हिटलर, महात्मा गान्धी या क्यालिगुला, मदरटेरेसा या चार्ल्स सोभराज, दिलमाया श्रेष्ठ या दिनेश अधिकारी 'चरी', कृष्णप्रसाद भट्टराई या खुमबहादुर खड्का, कोही पनि जन्मदा महात्मा या अपराधी थिएनन् । अर्थात बालबालिका भनेका काँचो माटो हुन्, कस्तो आकारमा ढाल्ने हाम्रै हातमा छ ।

जन्मदा सँगै लिएर आउने बंशाणुगत गुणले मानिसको ब्यक्तित्वमा केही प्रभाव छोड्छ त्यो बेग्लै कुरो हो तर अधिकांस ब्यक्तिको निर्माण उसको सिकाई र भोगाई बाटै हुन्छ । बालबालिकाहरुको सिकाई प्रक्रिया बिद्यालयमा मात्र होइन, पाइला- पाइलामा भैरहेको हुन्छ । तर हामी यस कुराको अलिकति पनि ख्याल गर्दैनौं ।
बालबालिकाको सामुन्ने झगडा गर्छौं, अरुको कुरा काट्छौं, अरुलाई दोष लगाउछौं, अरुलाई गाली गर्छौं, अरुलाई हानी हुने काम गर्छौं, पशु-पंक्षीको हत्या गर्छौं, स्वास्थ्यलाई प्रतिकुल असर पार्ने वस्तुहरुको सेवन गर्छौं र हाम्रा छोराछोरीहरु असल बनुन् भन्ने कामना गर्छौं ।

सबैभन्दा राम्रो स्कूलमा पढाउँदा पढाउँदै, अरुको भन्दा राम्रो-महंगो ड्रेस किनिदिंदा किनिदिंदै, अरुलाईभन्दा ज्यादा पकेट खर्च दिंदा दिंदै पनि बच्चाहरु बदमास बन्छन् । त्योबेला हामी सबैभन्दा गलत, बच्चालाई नै ठान्छौं र गाली गर्छौं/कुट्छौं/ पिट्छौं । तर आफ्नो, परिवारको, सामाजको गल्ती के छ, खोज्दैनौं । त्यसैले त जन्मदा बुद्ध बनेर जन्मिएको बालक पछि हिटलर, क्यालिगुला, चर्ल्स सोभराज, दाउद इब्राहिम, दिनेश अधिकारी 'चरी', कुमार घैंटे जस्ता बन्न पुग्छन् ।

जतिसुकै ठूलो पदीय आशनमा बसे पनि अरुलाई गाली नगरी निन्द्रा नलाग्ने वर्तमान प्रधानमन्त्री केपी ओली कै उदाहरण काफी छ । कि, सानो हुँदा ओली ज्यूले बेहोर्नु भएको अभाव, अपमान, तिरस्कार, पीडा, उपेक्षा आदिले नै वहाँको ब्यक्तित्व निर्माण भएको हो । ओली ज्यूको दिमागले पक्कै भन्छ- मैले योबेला छुचो बोल्नु हुँदैन । तर गंगटाको ढाडमा बसेर समुन्द्रको यात्रामा निस्केको बिच्छीले आफ्नो स्वभावलाई नियन्त्रणमा राख्न नसकेपछि दुवै डुबेको नीति कथा झैं ओली ज्यू आफ्नै स्वभावले निर्माण गरेको तिरस्कारको समुन्द्रमा डुब्दै र देशलाई पनि डुबाउँदै हुनुहुन्छ ।
म एउटा सामान्य परिवारमा जन्मिएको बालक । ऐतिहासिक पूर्खौली थलोमा जन्मिएको र बुवा-आमा परिश्रमी भएकोले हुनुपर्छ खान र लाउनै नपाउने अवस्था भने बेहोरिएन । तर शिक्षा र चेतनाको अभाव भने पाइला-पाइलामा आइलाग्यो । आमा पूर्ण निरक्षर, बुवा सामान्य पढालेखा । मेरो बाल मानशिकतामा उत्पन्न भएको सम्वेगहरुलाई बुझ्ने क्षमता मेरो बुवा र आमाबाट थिएन ।

बच्चाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा । म मेरो आमालाई घाम र जूनको बिशालताको बारेमा प्रश्न गर्थें । आमा मकैको सामल केलाउँदै गरेको नाङ्लोलाई देखाउँदै भन्नू हुन्थ्यो-घाम र जून यत्रै हुन्छ । नाङ्गो आँखाले हेर्दा कचौरा जत्रै देखिने घाम र जूनलाई आमाले नाङ्लो जत्रो हुन्छ भनिदिनु हुँदा म आश्चर्यले जिब्रो टोक्थें । बिहानै बोबोरेम डाँडाबाट घाम उदाउँदा, त्यो डाँडामा पुग्न पाए घामलाई छुन सकिन्थ्यो होला भनेर बिश्वास गर्थें । पूर्णिमाभन्दा अगाडि-पछाडि देखिने जूनको आकार बारे सहि जानकारी दिने हैसियत मेरो आमा-बुवामा थिएन ।
हावा र बादल कसरी उत्पन्न हुन्छ, चट्याङ कसरी पर्छ, असिना कसरी बन्छ, शीत पर्नुको कारण के हो, यी र यस्ता अनेकौं प्रश्नहरु मेरो सामु थिए, तर प्रश्नको सहि उत्तर दिने कोही थिएनन् । पृथ्वी होइन घाम सरिरहेको ठान्नु, बादल छिटोछिटो उडिरहेको बेला जून कुदिरहेको देख्नु र हावाको कारण होइन वादल स्वयंमा उड्ने क्षमता छ भन्ने बुझ्नु अनौठो थिएन ।

आमा भोर्लाको पातमा सुर्ती बेह्रेर बिंडी बनाउनु हुन्थ्यो र मलाई अगेनामा सल्काउन पठाउनु हुन्थ्यो । तर त्यो बिंडी मैले तानेको देख्नु भए उत्तिबेलै झापड लाएर तँ बिंडी खाने भन्दै गाली गर्नु हुन्थ्यो । हाटबजार जाँदा रक्सीले मात्तिएर बुवा घर आउनु हुन्थ्यो र केटाकेटीले रक्सी खानु हुँदैन भनेर अर्ति दिनु हुन्थ्यो । एकपटक तिहारको बेला हाम्रो घरमा तासको खाल जमेको थियो । गाउँ भरिका अग्रजहरु बसेर तास खेलिरहेका थिए, तास खेल्नेमा स्वयं मेरो बुवा पनि हुनुहुन्थ्यो । म पनि छेउमा बसेर हेर्दै थिएँ । तासको खेलबारे मलाई के थाहा ? मलाई त त्यसमा भएको रङ्गी-बिरंगी फोटोहरुले आकर्षित गरिरहेको थियो । तासमा भएको बुटा गनेर एक-दुई-तीन भन्न सक्थें बरु । मलाई तास छुन मन पर्यो र छोएँ । बुवाले एक्कासी गालामा थप्प्ड हन्नु भो । उहाँको नजरमा मैले तास छुनु खराब थियो । तर मैले सबैभन्दा जान्ने र ठूला मानेकाहरुले खेल्ने चिज कसरी खराब हुन्छ ? मैले सोंच्ने त त्यही न थियो त्यसबेला । 

कल्पनाशीलता सायद ममा सानैबाट थियो । प्रकृतिका अनेकौं रंगहरुलाई म कल्पनामा सजाउँथे । हिमाल देख्दै नदेखेको म बच्चोले बोबोरेम डाँडामा चरा आकार लिएर उभिएको रुखलाई धेरै पछिसम्म "हिमाल चुचुरी" बनाईरहें । सिस्नेम्पा जङ्गलमा लम्पसार भीरलाई दौडिरहेको पाँडुंले कुकुर बनाएर बोलाईरहें । समुन्द्र भनेर सुनेकै आधारमा चिप्रीङ खोलोको करालो छाँगोमा कलकल गर्दै बगिरहेको पानीमा त्यसको छविचित्र कोरिरहें । पाँच कक्षाको नेपाली किताबमा भएको "नालापानी" कविता मैले चार कक्षामा हुँदै पढेको थिएँ, त्यो कविता कण्ठ पनि थियो । कवितामा भएको "बैरी" शब्दको अर्थ मैले जानिन । शब्दार्थतिर ध्यान ध्यान पुगेन । "बैरी" शब्द अंग्रेजहरुलाई प्रयोग गरिएको हो भन्ने त थाहा भो । तर किन "बैरी" भनियो ? म अलमल्लमा परें । उसबेला मैले "बैरी" सँग मिल्दो जुल्दो शब्द जानेको भनेकै "बहिरी" थियो । मैले "बैरी" को अर्थ यसरी लाएँ-अंग्रेजहरु नेपाली नबुझ्ने भएकोले बोलाउँदा बुझेनन् र बोलेनन् । त्यसपछि नेपालीहरुले उनीहरूलाई बहिरो (कान नसुन्ने) ठानेर "बैरी" भने । पछि 'बैरी' को अर्थ 'सत्रु' हो भन्ने थाहा पाउँदा कम्ती नमज्जा लागेन । त्यत्रो चिन्तनपछि निर्माण गरेको मेरो निश्कर्ष एकै चोटि ढल्दा कहाँ मज्जा लाग्थ्यो र ?

प्रत्येक किताबमा राजाको तस्विर, कवितामा राजाकै गुणगान, प्रार्थानामा राजाकै महिमा, प्रजातन्त्र दिवस, राष्ट्रिय एकता दिवस, बाल दिवस, पञ्चायत दिवस, राजा-रानीको जन्म-जयन्ती आदिमा राजाकै जयजयकार, अहो ! जताततै राजैराजा । राजाको बारे कसैले नराम्रो बोल्दा कटक्क मन दुख्ने । राजा महान, राजा सबैभन्दा माथी, राजा सबैभन्दा दयालु, यस्तो पनि लाग्थ्यो-राजाकै कारणले हामी बाँचिरहेका छौं । जब बहुदल आयो, तब बिस्तारै राजाप्रतिको आस्था खण्डित हुँदै गयो । राजतन्त्रको अन्त्य हुनुभन्दा धेरै अगाडि नै मनको सिंहासनबाट राजा हटिसकेको थियो । तर बाल्य मस्तिष्कमा भरिएको सूचनाको प्रभाव हट्न सानोतिनो धक्काले सम्भव हुँदैन भन्ने कुरो अहिले आएर महशुस गर्दैछु । भूत हुँदैन भन्ने बिश्वास हुँदाहुँदै पनि अध्यारोमा मन डराउँछ । शरीर र आत्माको सम्बन्ध ज्यूँदो रहिन्जेलसम्म मात्र हो भन्ने जानकारी हुँदाहुँदै पनि मृत आफन्तहरुको आत्माले आफूलाई लखेटिरहेको भान हुन्छ। यी र यस्ता प्रभावहरु अहिले आएर बिकसित भएका होइनन्, यो त बाल्य अवस्थाबाटै विभिन्न सूचनाद्वारा हाम्रो मस्तिष्कमा घुसेका हुन् । बालबालिकाहरु काँचो माटो हुन्, कस्तो आकार दिने हाम्रै हातमा छ ।

तर समस्या यो छ-कुनै नेतालाई देखाएर बाबू वहाँ जस्तो बन्नुपर्छ है भन्यो भने भोलि त्यही नेता अख्तियारको फन्दामा परेर भ्रष्ट ठहरिन सक्छ । कुनै नामी इन्जिनियरलाई देखाएर नानू वहाँ जस्तै बन्नु पर्छ है भनेर भन्यो भने भोलि त्यही इन्जिनियर कमिसन खाएर कम्जोर संरचनालाई पास गरेको केसमा जेल पर्न सक्छ । कुनै प्रख्यात डाक्टरलाई देखाएर बाबू-नानीहरु वहाँ जस्तै बन्नुपर्छ है भनेर भन्यो भने त्यही डाक्टर मानव अङ्ग तस्करी गरेको प्रमाण सहित अदालतमा उभ्याइन सक्छ । म चाहन्छु, सानोमा जे पढें/सिकें त्यसैको बिरुद्ध मैले जस्तै भावी पुस्ताले संघर्ष गर्न नपरोस् ।

बाल्य स्मृति--३

शिक्षकको गोरु चुटाईपछि तीन दिन बेपत्ता

मैले सबैभन्दा धेरै दोहोर्याएर हेरेको फ्लिम हो- 'तारे जमिन पर' । कति पटक हेरें यकिन छैन तर जति पटक हेर्छु त्यति नै फ्लिमका दृश्यहरुले अन्तर हृदयमा भावावेश उत्पन्न गर्छ ।

 हेर्दा अरु जस्तै सामान्य तर पढ्न-लेख्नमा ध्यान नै केन्द्रीत गर्न नसक्ने बालक-इसान अवस्थी (दर्सिल सफारी) को कथा फ्लिमले बोकेको छ । जस्तोसुकै बुद्धु बालबालिका किन नहोस्, तिनीहरुलाई डर र सजायद्वारा ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने मनोविज्ञान बोकेको समाजमा इसान अवस्थीले भोग्नु परेको शारीरिक-मानशिक यातनाको डरमर्दो चित्र फ्लिमको रिलले घुमाउँछ । तर शैक्षिक सत्रको बीचमा एक अस्थायी शिक्षकको आगमन हुन्छ, इसान अध्यनतर स्कूममा । तिनै शिक्षक (अमिर खान) द्वारा इसान (दर्सिल) को उद्धार हुन्छ ।

फ्लिमको रिलमा त इसानको उद्धार गर्न अमिर खान आइपुग्छ तर कयौं बालबालिकाहरुको रियल लाइफमा अमिर खान अभिनित पात्रहरुको आगमन हुँदैन । अन्ततः ती फरक क्षमता/स्वभावका इसानहरु सिकाई प्रक्रियाबाटै जीवनभर अलग हुन्छन् ।

ऊ र म एउटै गाउँमा जन्मिएर सँगै हरिगुड्डु खेल्दै हुर्किएको मान्छे । हाम्रो जन्म, महिना मात्र फरक तर साल एउटै । तर ऊ दुई बर्ष ढिला स्कुल गयो । म दुईमा पढ्दा ऊ बाह्रखरी सिक्दै थियो । म पाँचमा पुग्दा ऊ तीनमा पढ्थ्यो । पढाईमा कमजोर भएको कारण तानतुन पास (बिषय लागेर पास हुनेलाई उसबेला हामी तानतुने पास भन्थ्यौं) गर्दै तीनसम्म पुगेको थियो । तर तीन क्लास मै उसको पढाइ रोकियो । ऊ ठ्याक्कै 'तारे जमिन पर' को मुख्य चरित्र 'इसान अवस्थी' जस्तो त हैन तर घटना झण्डै 'इसान अवस्थी' ले झैं बेहोर्नु पर्यो उसले ।

मैले पहिलो शृङ्खलामा नेपाली शिक्षक बारे लेखेको थिएँ, तिनै शिक्षक उसको जीवनमा भिलेन बनिदियो । शिक्षकले सोधेको कुनै पनि कुरा उसले नमिलाएपछि दिनदिनै कुटाई खान थाल्यो । अति रिसाहा स्वभावका ती शिक्षकको कुटाई, गोरु कुटाई नै हुन्थ्यो । उसको कलिलो ज्यानले कति नै पो धान्न सक्थ्यो र ? दिनदिनैको कुटाई थापेको हत्केला धेरै दुखेपछि शिक्षकले छडी उज्याउन साथ आफ्नो ढाड थाप्न थालेछ । शिक्षकले 'कहाँ कुटौं' भनेर सोध्दा ढाड देखाउँदै, 'यहाँ' भन्थ्यो ऊ । त्यो कुरा स्कूलमा भाइरल भएर फिँजियो । हामीले त्यो साथीलाई त्यही कुरामा हदैसम्म जिस्कायौं । गाउँमा ठूला-बडाहरुलाई सुनायौं पनि । अर्कोदिन ऊ स्कुल आएन, तर घरबाट भने स्कुल जान्छु भनेर बेलैमा निस्किएको रहेछ । बेलुका ऊ घर गएन । उसको परिवारले खोजी गर्न थाल्यो, खोजी गर्ने क्रममा गाउँलेहरू पनि मिसिए तर रातभर खोज्दा पनि पत्तो लागेन। परिवारको ऊ एक्लो सन्तान, बुवा-आमाको होस् ठेगानमा थिएन । टाढा-टाढाका नर-नातातिर पनि खोजी भो तर हराएको भोलिपल्ट पनि भेटिएन ।

ऊ हराएको पर्सिपल्ट हामी स्कुल जाँदै थियौं, अचानक गाई ग्वालीमा सर्लाकसुर्लुकको आवाज आयो । त्यो ग्वाली हामी स्कुल जानेबाटो भन्दा एक ढिम्कना मुनि थियो । त्यस ग्वालीको घरधनीको घर अलिक माथी पर्थ्यो । हामी ग्वालीतर्फ लम्कियौं । ग्वालीको टाँडमा पराल राखिएको थियो, ऊ सकि-नसकी पराल भित्र घुस्दै रहेछ । हामी हल्ला गर्दै बाहिर निस्कियौं र ऊ ग्वालीमा भएको खबर गर्यौं । केही घर, परमात्रै उसको घर थियो, उसको बाबु-आमा रुँदै आइपुगे । हामी हल्लागर्दै गाउँतिर निस्किएपछि ऊ पनि ग्वालीबाट झरेर उधो जङ्गलतिर डौडन थालेछ । तीन दिन देखिको भोकले ऊ हिंड्नै नसक्ने भएको थियो तर कुटाई खानुपर्ने डरले नसकी-नसकी डौडियो । अन्ततः ऊ समातियो र घर लगियो । त्यो दिनदेखि ऊ स्कुल गएन । धेरै बर्षपछि गाउँकै अर्को स्कुल निमावीबाट मावि बन्ने क्रममा ऊ एकै पटक ८ मा भर्ना त भयो तर तीन कक्षा पढ्दापढ्दै स्कुल छोडेको मान्छेले एकैपटक कसरी आठ पास गर्नु ? फेल भयो र स्कूलको पढाइ सधैंको लागि छोडिदियो ।

यतिका बर्षहरु बितेर गए । अनेकौं पाठ्यक्रमहरु फेरिए । स्कूलमा कयौं शिक्षकहरूले अवकास लिए, कयौं नयाँ शिक्षक थपिए  । देशमा अनेकौं तन्त्रहरु आए-गए, अनेकौं सरकार बन्यो-ढल्यो । तर अझै पनि बालबालिकालाई पढाउने तरिका उस्तै छ । बालबालिकालाई दण्ड र सजायद्वारा मात्र अनुशासनमा राखेर पढाउन सकिन्छ भन्ने मनोविज्ञान शिक्षकहरुमा अझसम्म छ । र, बिद्यार्थीलाई कुटेर तह लगाउने शिक्षक मात्र ठिक हो भन्ने बुझाई स्कुल ब्यवस्थापन समिती र अभिभावकहरुमा छ । घरमा पनि बालबालिकाहरुलाई डर-त्रासमा राख्न सकेमात्र बिग्रदैन भन्ने मनोविज्ञान ब्याप्त छ । जब छोराछोरीहरु बाबुको अगाडि हाकाहाकी बोल्न सक्दैन तब छोराछोरीलाई तहमा राखेको भनेर बाबुको नाक ठूलो बनाउने काम गरिन्छ ।

तर यहिँनिर सबैभन्दा ठूलो कम्जोरी भैरहेको छ । बालबालिकाहरुमा भएको अपार सम्भावनालाई घाँटीमा पासो लाएर कलिलैमा परमधाम पठाउने काम घर, समाज र शिक्षालयहरुमा भैरहेको छ । उड्न खोज्दैगरेका बचेराहरुको कलिलो प्वाँख काटेर कसरी तय गर्न सकिन्छ अन्तरिक्षको यात्रा ? सोच्ने बेला अझै भएन र ?

बाल्य स्मृती-२

कापीको खिललाई बल्छी बनाएर गडेला माछा मार्दा

अचेल शहर-बजारमा बोर्डिङ स्कुल पढ्ने केटा-केटीहरुलाई हेर्छु, प्वाँख काटिएका बचेरा जस्ता लाग्छ्न् । उनीहरु स्वच्छन्द उड्न चाहान्छ्न् तर दिनभरि स्कूलमा बेहोर्नु पर्ने कठोर अनुशासन र घरको लागि बोकाईएको "होमवर्क" को भारीले थिचिएर उड्नु त के डौडन पनि सक्दैनन् । एक दिन स्कुल छुट्टी हुँदा संसारै जितेको ठान्छ्न् बोर्डिङ पढ्ने केटाकेटीहरु । तर उसबेला म एकदिन स्कुल जान नपाउँदा पिँजडाको चरा जस्तै छट्पटिन्थें  म।

बालबच्चालाई जरुर लगाम चाहिन्छ, तर लगाम त्यस्तो नहोस् कि, उनीहरुले दायाँबायाँ हेर्नै नसकुन् । बालबच्चाहरुको लागि शिक्षा र चेतनाको भारी जरुर बोकाउनु पर्छ तर भारी त्यस्तो नहोस् कि, उनीहरु बोकेर हिंड्नै नसकुन् । उसबेला हाम्रो लागि लगाम र भारी दुवै थियो तर अहिलेका बोर्डिङमा पढ्ने बच्चाहरुले जस्तो दायाँबायाँ फर्किनै नसक्ने र भारीले किचिएर उठ्नै नसक्ने अवस्था थिएन ।

फल्याकमा माटोको धुलो ओछ्याएर बनमाराको सिन्काले अक्षर लेख्नु पर्ने हामीहरु सफा-सुग्घर त कहिले पो हुन्थ्यौं र ? तर पनि घरमा बस्दा र स्कुल जाँदा लाउने कपडा अलगअलग नै हुन्थ्यो । सायद खेल्नुको हतारोमा बिर्सिएर धेरै पटक घरमा लाउने कपडा लाएरै स्कुल पुगेको छु ।

खेल पनि मौशम अनुसारको हुन्थ्यो हाम्रो । स्कूलको टिफिन टाइम खेलेरै बित्थ्यो । पानी पर्ने बर्षादको समयमा कोठा भित्रै ढुङ्गाको गट्टी खेलिन्थ्यो । बाटोमा गोलो चिल्लो ढुङ्गा भेट्न साथ गट्टी भन्दै खल्तीमा हालेर स्कुल पुगिन्थ्यो । कलिला-साना हातले सानै भए पनि पाँच दाना ढुङ्गा  खेलाउनु चानचुन कुरो थिएन ।

शरद ऋतु लागेपछि फराकिलो ठाउँमा ठूलो-ठूलो कोठामा बनाई दुई समूहमा बिभाजित भएर रिङ लेख्थ्यौं । खास त्यो खेलको नाम केहो मलाई अझै थाहा छैन तर हाम्रो बालसुलभ मस्तिस्कले "रेङ" भन्थ्यो । प्रत्येक कोठाको लाईन र बीचको लाइनमा उभिएको चेकरलाई छलेर बाहिर आउँदा खेल जितिन्थ्यो । बीचको चेकरले जताबाट छोए पनि मरिने तर अरु लाईनमा उभिएको चेकरले चाहिँ अगाडिबाट दुवै हातले छुँदा मात्र मरिने नियम थियो । अहिले सम्झन्छु, छक्याउन र डौडन साह्रै राम्रो अभ्यास हुन्थ्यो त्यो खेलमा ।

मंशिर लागेपछि हामी प्रायः कागजको पुतली उडाउँथ्यौं । कागजको पुतलीलाई हावाजात (हवाईजहाज) भन्थ्यौं  । कसै कसैले बनाएर उडाएको पुलती यति टाढा पुग्थ्यो कि, त्यसलाई खोजेर ल्याउनै नसकिने। लेखिसकेको कापीको पाना नै पुतली बनाउने कागज हुन्थ्यो । कहिले काहीँ स्कूलको अफिसमा भेटिने पुरानो किताब पनि च्यात्दै उडाउँथ्यौं । पुतली राम्रोसँग उड्ने बनाउनु पनि एकप्रकारको कला नै हो। जसको पुलती धेरै उड्थ्यो, उसको बेग्लै सम्मान हुन्थ्यो ।

माघ लागेपछि डन्डीबियो खेल शुरु हुन्थ्यो । भली गरेर हावामा नाचिरहेको बियोलाई तलबाट बिस्तारी डन्डीले हिर्काउँदा जति धेरै ठ्याक लगायो त्यति नै धेरै अंक आउँथ्यो । ठ्याक र बियो फालाईको हिसाबमा अंक धेरै आउने हुँदा बियोलाई धेरै ठ्याक लाउने प्रयास गरिन्थ्यो । बियोलाई कहाँ हिर्काउँदा राम्रोसँग भली हुन्छ र भली भैसकेपछि कसरी सन्तुलन मिलाएर ठ्याक लाउँदा धेरै पटक उफार्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान डन्डीबियो खेलले दिएको अहिले सम्झन्छु । अंक जोड्दै जानू पर्ने हुँदा गणित सिकाईमा पनि डन्डीबियो खेलले निक्कै सहयोग पुर्याएको भन्दा अत्यूक्ती नहोला ।

चैत्र लागेपछि गुच्छा खेल शुरु हुन्थ्यो। गुच्छा प्रायः ढ्याम पिटी खेलिन्थ्यो । जसले मार्यो उसैले मर्नेलाई पिट्ने । कहिलेकाही कापीको पन्ना मारी र गुच्छा मारी पनि खेलिन्थ्यो । जसको धेरै गुच्छा हुन्थ्यो उसको सान नै बेग्लै, जो धेरै सिधा हान्थ्यो उसको मान नै बेग्लै । रिट्ठाको दाना र ब्यारिङलाई पनि गुच्छा बनाएर खेलियो । ब्यारिङले सिसाको गुच्छा फुटाउँदा रुनेहरुको संख्या पनि धेरै नै हुन्थ्यो ।

जेठ लागेपछि "खर्ल्याङखुट्टी" खेल शुरु हुन्थ्यो । समतल भुइँमा कोठै कोठा कोरी एउटा खुट्टा माथी उचालेर एउटा खुट्टाले ढुङ्गाको गोटी प्रत्येक कोठामा सार्दै लानु पर्ने यो खेललाई "एक्कादुक्का" भन्थ्यौं । कोठाहरुमा गोटी चालिसकेपछि दुवै आँखा चिम्मिएर कोठामा पस्नु पर्ने, पछाडि फर्किएर कुनै एक कोठामा गोटी खसाउनु पर्ने आदि नियम हुन्थ्यो । यो खेलबाट शारीरिकसँगै धेरै कुराहरुको अभ्यास भएको थियो भनेर नभनिरहन सकिन्न । टोपी लुकाई र भाले जुधाई खेल पनि प्रशस्तै खेल्थ्यौं । तर यी खेलहरु चाहिँ कुनै मौसमसँग सम्बन्धित थिएनन्, मन लाग्यो खेल्यो, मन लाग्दैन अरु खेल जिन्दाबाद ।

असोज-कार्तिकको बेला टिफिन टाइममा अमला खोजी खानु, ठूलो पानी परेको बेला खोलामा उर्लिएर झर्ने बाढीलाई स्कूलको झ्यालबाट रोमाञ्चक हुँदै हेर्नू, आकासमा हेलिकप्टर उड्दा आँखाले देखिन्जेल र कानले सुनिन्जेल हेर्नू/सुन्नु, स्कुलको डिलमा उभिएको चम्लामा न्याउली कराउँदा स्वरमा स्वर मिलाउनु, स्कुल विदा भएपछि दौडदै आएर सानो खोल्सोमा कापीको खिललाई बल्छी बनाई गडेला माछा मार्नु, यी र यस्ता थुप्रै रोमाञ्चक क्षणहरु छन् प्रा.वि. तह पढ्दाका ।

आफ्नै पुराना दिनहरु नियालेपछि मेरो बैयक्तिक अनुभवले भन्छ- प्रकृतिका विभिन्न पक्षसँगको समागम र स्कूलमा साथीहरुसँग खेलिने खेलकुदहरुले बालबालिकाको सिकाईमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गर्दैन स्कुल जाने उत्साहमा पनि बढोत्तरी ल्याउँछ । कुनै एक बालक पढाईमा कमजोर भए पनि खेलकुदमा अब्बल छ भने उसको सान साथीहरु बीचमा बेग्लै हुन्छ, जसको कारण ऊ स्कुल जान कहिल्यै अल्छि गर्दैन ।

तर अचेल अधिकांस बोर्डिङ स्कूलहरु एउटा सानो कम्पाउण्डमा सिमित छन् । स्कुलमा हुँदा, न हुरी चल्दा लचक्क लच्कने रुख देखिन्छ, न बाढी आउँदा उर्लने खोलो नै । फलामे डन्डी लगाएको झ्यालबाट मुण्टो छिराएर न घामको पाइला नाप्न सकिन्छ न छेवैमा आएर कराउने न्याउलीलाई जिस्काउन नै ।  भलै स्कुल हाता भित्र केही खेल्ने आधुनिक सामग्री होलान् तर ती सिमित खेल्ने सामग्रीले बालबालिकाहरुको चाहना पूरा गर्न सक्दैन । जाँदा-आउँदा अभिभावक र स्कूलमा शिक्षक-शिक्षिकाको निगरानीमा रहनुपर्दा स्कुल पढ्नु भनेको जेलमा बस्नु जस्तै भैरहेको छ बालबालिकालाई । त्यसैले त एकदिन स्कुल बिदा हुँदा संसार जितेको ठान्छन् बोर्डिङका बालबालिकाहरु ।

धेरैलाई लाग्दो हो बोर्डिङ स्कूलको नतिजा अब्बल छ । हो, एस.एल.सीको नतिजा हेर्दा त्यस्तो देखिन्छ । तर जिन्दगीको मक्सद एस.एल.सी. पास गर्नु मात्रै होइन । अधिकांस बोर्डिङ स्कूलहरुले एस.एल.सी. मा राम्रो मार्कस् ल्याउनु नै जिन्दगीको जीत हो भन्ने भ्रम पालेर बालबालिकाहरुलाई किताबमा जे छ त्यही घोकाई रहेका छन् । जसरी उचालेको कुकुरले मृग मार्दैन भनिन्न त्यसरी नै घोकेको शिक्षाले मानिसको भविश्य निर्माण गर्न सक्दैन । यदि एस.एल.सी. मा अब्बल मार्कस् ल्याउनु नै जीवनको जीत भैदिएको हुन्थ्यो भने बोर्ड फस्ट हुने विद्यार्थीहरुको नाम आज प्रत्येक नेपाली जनताको ओंठमा झुण्डिएको हुन्थ्यो । खै त डा. बाबुराम भट्टराईभन्दा अरुको नाम सम्झना छ त ?

जे होस् सरकारले यतिबेला शिक्षा क्षेत्रमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । एस.एल.सी. लाई पास-फेल होइन ग्रेड सिष्टममा लाने निर्णय पक्कै पनि बालबालिकाको पक्षमा छ । अब बोर्डिङ स्कूलहरुले आफ्नो अस्थित्व कायम राख्ने हो भने पाठ घोकाउने होइन सिर्जनात्मक शिक्षा दिन थाल्नु पर्ने छ । सरकारी/सामुदायिक बिद्यालयको हकमा शिक्षा नीतिसँगै सरकार, बिद्यालय ब्यवस्थापन समिती, शिक्षक र अभिभावकहरु अलिकती जिम्मेवार भैदिने हो भने मात्रै पनि बोर्डिङ स्कूलमा महंगो फी तिरेर आफ्ना बालबच्चालाई प्वाँख काटिएको बचेरा बनाउन बाध्य हुनुपर्ने थिएन ।

बाल्य स्मृति-१

जान्दा पनि पिटाई, नजान्दा पनि पिटाई

म कक्षा ४ देखि नेपाली अक्षर राम्रोसँग पढ्न, पढेको कुराको अर्थ बुझ्न र बुझेको कुरालाई कल्पनामा उतार्न थालेछु सायद । मेरो मन पर्ने बिषय सामाजिक र नेपाली (उसबेलाको महेन्द्रमाला) थियो । कथा, कविता, बालगीत र इतिहासका कुराहरुले मज्जाले तान्थ्यो । मैले कक्षा ५ को नेपाली र सामाजिक किताब कक्षा ४ मै दोहोर्याई-तेहेर्याई पढेर सकेको थिएँ ।

हामीलाई नेपाली पढाउने सर रिसाहा प्रवृतिको हुनुहुन्थ्यो । ती सरको अनुहार मात्र होइन बोलीमा पनि क्रुरता झल्कन्थ्यो। हामी विद्यार्थीहरु उहाँसँग पटक्कै आकर्शित हुँदैन थ्यौं । तर मेरो मन पर्ने बिषयको शिक्षक वहाँ नै भएको हुनाले सकभर वहाँको कक्षामा ध्यान मग्न हुन्थे म ।

वहाँले प्रायः प्रश्नहरु सोधिरहनु हुन्थ्यो । प्रश्नको जवाफ दिन नसक्नेलाई सजाय दिने तरिका वहाँको फरक थियो । अर्थात जो जान्दैन, उसलाई जान्नेले कानमा समातेर गालामा चड्कन लगाउनु पर्थ्यो । यदि चड्कन बिस्तारो भयो भने चड्कन लगाउनेलाई नै यसरी हिर्काउनु पर्छ-बुझिस्, भन्दै रन्थनिने गरि गालामा झापड हान्नु हुन्थ्यो । कहिले काँही कुट्नको निम्ति बाँस घारीमा सिर्कना लिन पठाउनु हुन्थ्यो । सिर्कना सानो ल्याएमा, सिर्कना ल्याउनेलाई नै त्यही सिर्कनाले सुम्ल्याएर ठूलो ल्याएर आइज भन्नू हुन्थ्यो ।

वहाँले पढाएर भन्दा पनि आफै पटक-पटक पढेको हुनाले म प्रायः जवाफ मिलाउँथे । साथीहरुलाई कानमा तानेर झापड हान्ने र बाँस झ्याङमा सिर्कना लिन जाने काम प्रायः मेरै हुन्थ्यो । साथीहरुलाई बिस्तारी कुटेको र सिर्कना सानो ल्याएको निहुँमा मैले थुप्रै पटक सरको कुटाई खाएको छु ।

म प्रायः ती सरले सोधेको प्रश्नको जवाफ मिलाउने भएको हुनाले कक्षाकोठाका अरु साथीहरुलाई थुप्रै पटक कुटियो । पहिला-पहिला साथीहरुलाई बिस्तारै कुट्दा आफै सरको पिटाई खानु परेको कारण चर्कोसँग झापड हान्न थालें। त्यसरी साथीहरुलाई कुट्नु मनले कहिल्यै मान्थेन । मनमा आत्मग्लानी भैरहन्थ्यो । अर्कोतिर साथीहरु प्रायः मभन्दा ठूला थिए । कक्षाकोठामा केही भन्न नसके पनि बाटोमा साथीहरुले अब साह्रो कुटिस् भने तँलाई पनि त्यसरी नै कुट्छु भन्थे । सरले सोधेको प्रश्नको जवाफ नदिउँ सरको बाघेझप्पु भेटिने, जवाफ दिउँ--नजान्ने साथीहरुलाई कुट्नु पर्ने र बाटोमा आफै ती साथीहरुको फुट्बल बनिने सम्भावना ।

यस्तो धर्मसंकटको अवस्थामा मैले एक दिन सरले सोधेको प्रश्नको जवाफ जानेर पनि आउँदैन भनिदिएँ । त्यो दिन कसैले उत्तर मिलाएनौं । त्यसदिन सरले बाँसको सिर्कना लिन मलाई नै बाँसघारी पठाउनु भो । मैले सिर्कना मझौला खाले ल्याएँ । सिर्कना सरको हातमा पर्न साथ कुटाई खाने पालो मेरै पर्यो । पहिलोपल्ट सिर्कनाले हान्ने क्रममा म डराएर हात अलिक पछाडि तान्दा औंलाको टुप्पोमा मात्र भेट्यो । हात तानेको कारण मैले दोश्रो पटक पनि कुटाई खानु पर्ने भो । जे परोस् सहन्छु भनेर आँखा चिम गरि हात थापें । सायद फेरि पनि मैले हात पछाडि तान्छु भनेर होला सरले सिर्कनाले हातको पञ्जा होइन नाडीमा ताक्नु भएछ । मैले हात पछाडि तानिन । सिर्कना हातको नाडीमा बज्रीयो । म थुचुक्कै बसें । आँखाबाट आँसु बरबरी झर्यो । आँसु पुछ्दै बेञ्चमा गएर बसें । सबैले कुटाई खायौं । सर कक्षाकोठामा भइन्जेल आपसमा बोल्ने कुरो भएन । सर निस्केपछि साथीहरुले मलाई हेर्दै गिज्याउन थाले । उनिहरु आफूले कुटाई खाएकोभन्दा पनि मैले कुटाई खाएकोमा रमाइरहेका थिए । हुन पनि हो अरुदिन मैले उनिहरुलाई पिट्दा मप्रति उनीहरुको नकारात्मक धारणा बन्न स्वभाविक थियो ।

त्यो दिन मेरो हातको नाडीमा छडीको सुम्ला बसेको थियो । सिर्कनाको कुटाई पछिको झन्झनाहट केही बेरमा रोकिए पनि सुम्ला उठेको ठाउँमा दिनैभरी दुखिरह्यो । बेलुका घर पुग्दा समेत सुम्ला हराएको थिएन । लामो बाहुलावाले सर्टले सुम्ला लुकाएँ । घरमा त्यो सुम्ला देख्नु भएको भए, सम्भवत: मैले बुवाको पनि थप्पड खानु पर्थ्यो । अर्थात दिनभर स्कुलमा पढेर पनि सरले सोधेको कुरा भन्न नसक्ने मुलाङलाई त्यसबेला गार्जिएनले गर्ने भनेकै अर्को थप्पड लाउनु न थियो ।

Saturday, December 19, 2015

फूलको कविता

ढकमक्क फूलेको फूल देखाएर
प्लिज मलाई शौन्दर्यको कविता लेख्न नलाउनुस्
किनकि,
यो दुनियाँमा फूल जतिको अभागी
र, फूल जतिको बैरागी
सायद कुनै वस्तु देखेको छु
-जो मान्छेको निर्दयी हातले निमोठिएर
हरेक बिहान ढुङ्गाको अगाडि फ्यात्त फालिन्छन्
र, साँझमा तिनै हातहरुले निचोर-नाचोर पारिएर
गन्धे डसबिनमा हुत्याइन्छन्
भन्नुस्, के त्यो सौन्दर्य कविताको लागि सुहाउँला ? 

भलै उनिएर धागोको त्यान्द्रोमा
कुनै भ्रष्ट नेताको गला सजिएको देख्दा
अन्धाहरुले फूलको  स्तुति
जोडजोडले गाउँन सक्छन्
परन्तु स्तुति, कविता होइनन्
जो तक्मा थाप्न लेखिएको होस् ।

साँच्चै लेख्नै पर्ने हो भने
आर्यघाटको कुनै चितामा
दुष्ट नेता वा भ्रष्ट प्रशासकको लासमाथि
हाँस्दै हाँस्दै बसेको फूल हेरेर
लेखौंला मृत्योत्सवको कविता ।

नेपाली राष्ट्रवाद

गाइको दूध मूर्तिमा खन्याएर बजार जाउ र कोकाकोला खाउ
सिङ्पुरे सारी, कोरियन पैंन्ट, यूके स्वेटर र हल्याण्डको लुङ्गी लाउ
दिनभर मोदीको पुत्ला जलाई तमासा गरि साँझमा घर फर्किएर
इन्डियन चामलको भात हसुरी उतै तिर फर्किएर गर ढ्याउ ।

वीर

जालहारीको माछा उन्ने झिर बन्नु छैन मलाई
गल्तीमा पनि झुक्दै नझुक्ने शीर बन्नु छैन मलाई
अरुले उचालेकै भरमा निर्दोष मानिसलाई मारेर
छातिमा खुनी तक्मा भिर्ने वीर बन्नु छैन मलाई ।

राहदानी

सानोमा घोक्नु घोकायो राज्यले राजा-महाराजाको झुटो कहानी
तातो पानी नलगाई दहिको ठेकीमा तानी रह्यो निरन्तर मदानी
कसरी निस्कन्थ्यो र नौनी त्यहाँ, जो पानीको मात्रै मिलेको थिएन
अन्तत: सारा नौजवानहरुको हातमा राज्यले थमायो राहदानी ।

ईतिहास

कि नेताको बोलीले बिगार्यो
कि पुलिसको गोलीले बिगार्यो
दशक पछि पढ्ने छौं पक्कै यहि इतिहास
नेपाललाई सबैभन्दा बढी ओलीले बिगार्यो ।

लुट

अपराधीहरु मिलेर यहाँ सत्ता बनायो
सेना, पुलिस र कर्मचारीको जत्था बनायो
दुखै नगरी जनसाधारणलाई लुटी खान
तलव, पेन्सन, बोनस र भत्ता बनायो ।

दोष

आफ्नै थैलीको मुख बन्धिलो नकसेपछि
भाइ सभामा इमान्दारिताका साथ नबसेपछि
छिमेकीलाई दोष लाउनुको कुनै तुक छैन महोदय !
दिमागमा राम्रो सल्लाह पस्दै नपसेपछि ।

हालत

अख्तियारको पत्रले कसैको ओंठ तालु सुक्दैछ
बहुला कुकुरको गतिमा नानाभाँती भुक्दैछ
हिजोसम्म सडकमा छाती खोलेर हिंड्नेहरु
कसैले देख्छ कि भन्दै आज कुनाकानी लुक्दैछ ।

गीत

यहाँ माया त सधैं हारिरहेछ
जात र धर्मले पछारिरहेछ

सिमानले रोकेर पाइलाहरु
घृण, तिरस्कार उमारिरहेछ ।

कतै धन उभिन्छ बनेर तगारो
कतै दर्शनले लाउँछ आँखामा छारो
कोही मायाको फूल, चुँडेर फेरि
शक्तिको अगाडि पर्छन् पसारो ।

रुप र बैंसमा भुलिन्छन् कोही
कोही बिताउँछन् जिन्दगी रोई
अगाडि म जान्छु भन्नेहरु नै
बन्दछन् यहाँ अमर विद्रोही ।

गीत


यहाँ म नौलो क्रान्ति चाहान्छु
क्रान्ति पछिको शान्ति चाहान्छु

दीप जलाई अँध्यारो भगाई
निराश मनमा आशा जगाई
प्रगति पथमा लम्कनलाई
दिनु सबैलाई जीवन बधाई
त्यसैले यहाँ क्रान्ति चाहान्छु
क्रान्ति पछिको शान्ति चाहान्छु

सद्भाव छर्न, मनको आँगनमा
फैलाई प्रीति निल गगनमा
भरेर सत्य बोली बचनमा
पाएर तृप्ती नीर लोचनमा
त्यसैले यहाँ क्रान्ति चाहान्छु
क्रान्ति पछिको शान्ति चाहान्छु

गीत


संसारमा को होला र मान्छे जस्तो बैमानी
दुध भन्दै पिलाउँछन् विषालु त्यो पानी

लाख माया देखाएर नजिक नजिक आउँछन्
धर्ति आकाश खोतलेर हजार नाता लाउँछन्
जब पूरा हुन्छ स्वार्थ अनि लत्याएर
दुनियाँको सामु उल्टै झुटो गीत गाउँछन्
संसारमा को होला र.......


पहिलो भेटमा सर्माउँदै बोल्छन् मीठो बोली
रसाउँछ तन–मनमा पिरतीको खोली
जब पूरा हुन्छ स्वार्थ अनि लत्याएर
हाँसी हाँसी चलाउछन् छाति माथि गोली
संसारमा को होला र......

मुर्कुट्टा

उहिले उहिले
आमाले सुनाएको मुर्कुट्टाको कथा
यतिबेला बेस्मारी याद आइरहेछ ।

मुर्कुट्टा जो,
मरेको मान्छे रुँगेर मसानघाटमा
रातविरात मृत्यु संगीत बजाईरहन्छ
टाउको नभएको डरलाग्दो ज्यानमा
दलेर लासको खरानी
उसले अट्टाहाँस हाँस्दा
गाउँमा चोला उठ्छ कसैको
-आमाले सुनाएको यहि कथा
आज आफ्नै आँखाले देखिरहेछु,
हैट ! मुर्कुट्टा त
नेपाली शासक जस्तै पो हुँदारहेछन् ।

जो ठूला बिनासकारी भूकम्पको प्रतिक्षामा हुन्छ संधै
मरुन् हजारौं हजार मान्छेहरु
भत्किउन् मानव निर्मित संरचना
जसलाई देशीविदेशी सञ्चार माध्यमले
भाइरल बनाई देओस् संसारभर
र, जुटेपछि अरबौं अरब राहत रकम
सुरु हुन्छ ज्यूँदा मुर्कुट्टाहरुको ताण्डव
सिंहदरबाररुपि मसानघट्टामा
कोही जस्तापाता कुम्ल्याउँछन्
कोही त्रिपाल खरिदमा लुट मच्याउँछन्
कोही पीडितहरुको भ्रमण कोटामा
आफ्नै छोरी-नातिनीलाई उडाएर
मलाई त थाहै छैन भन्दै ङिच्च दाँत देखाई
मुर्कुट्टा धुन बजाईरहन्छन्
साँच्चै यी मुर्कुट्टाहरुलाई
सधैं भूकम्प आइदिए क्या मज्जा हगि ?
उस्तै प्यारो छ यी मुर्कुट्टाहरुलाई-नाकाबन्दी
खडा गरेर कृतिम अभाव
कालाबजारिया मार्फत इन्धन बेच्नुको फाइदा अगाडि
जनताले पाएको दु:ख के दु:ख ?
साइकल र दाउराको फोस्रो राष्ट्रबादमा
आखिर सत्ता जोगिन्छ भने
यसरी नै चलिरहोस् नाकाबन्दी
तब न मुर्कुट्टाहरु मसानघाटमा
निरीह जनताको लास हेर्दै
जयजयकार मनाइरहन्छन् ।

तर मुर्कुट्टाहरुको अस्थित्व रात रहिञ्जेल मात्र हो
-आमा यसो पनि भन्नु हुन्थ्यो ।

लेखकीय मर्म

मूर्ती कुँद्ने हातहरुलाई काटेर
मूर्ति पूजा गर्ने यो ढोंगी दुनियाँ
पात्रहरुलाई भगवान बनाएर
लेखक माथि शासन गर्न पल्केको छ
त्यसैले म,
नायकत्व लेखेर
निरीह बेदब्यास बन्न चाहान्न
जो आफ्नै पात्रको अघिल्तिर उभिएर
गोपिनीहरुको नाङ्गो शरीर हेर्दै
स्खलित भैरहोस् बार-बार ।

प्रेम


सायद प्रेम अभिब्यक्त गर्न मलाई आउँदैन
हुनसक्छ त्यसैकारण यो उमेरसम्म
आई लभ यू भनेको छैन कसैलाई
न बोटबाट चुँडेर रातो गुलावको फूल
उपहार नै दिएको छु
यसो पल्टाएर हेर्छु कहिलेकाँही शब्दकोष
जो कोरिएको छ मनको अक्षरले
जहाँ यस्तो लेखिएको छ प्रेम बारे
--यो देखाउने होइन, अनुभूति गर्ने संवेग हो
मलाई लाग्छ अनुभूतिपछिको प्रतिक्रिया
एकजोर आँखाले अभिब्यक्त गर्छ
हो म यतिबेला,
त्यही अभिव्यक्ति बोकेर
उस्तै अभिव्यक्तिको पर्खाइमा छु ।

नेपालमा

यता जनता बेहालमा छन्
उता नेता मालमालमा छन्
कुकुर जन्ती, बिरालो भान्से
हाम्रै देश नेपालमा छन् ।

गजल


आफन्त जनलाई बिरानो देख्ने, तिम्रो दृष्टि गलत भो
आफूभन्दा अरुलाई सानो देख्ने, तिम्रो दृष्टि गलत भो

राखेर मनमा खोट हजारौं, कहाँ हुन्छ मन चङ्गा
घोप्टो यो आकाश उत्तानो देख्ने, तिम्रो दृष्टि गलत भो

सहेर अपमान साँझ-बिहान, सजाएँ यो दिल भित्र
यही दिललाई अचानो देख्ने, तिम्रो दृष्टि गलत भो

पीडा झेल्नुको पनि हद हुन्छ, घाउ त्यो चर्किए पछि
रुझेका यी नयन ओभानो देख्ने, तिम्रो दृष्टि गलत भो

एकै डिकोमा अल्झिएर सँगै, एकै पानामा लेखिन्दा नि
आफूलाई उँचो लकानो देख्ने, तिम्रो दृष्टि गलत भो ।

पक्षधरता

१) करिव छ बर्ष अगाडि एक जना नजिकका मित्र र एक चिन्जानकी महिला बीच प्रेम र यौनको सन्दर्भमा निक्कै गतिलो बहस चल्यो । उनीहरु बीच प्रेम थियो । तर प्रेम फगत यौनको लागि । पुरुष मित्र बिवाहित थिए । जो अबुझ थिएनन् । ती महिला,,, पुरुष मित्रसँग खै के कारणले आकर्षित भईन् थाहा भएन । तर बजारमा हल्ला चल्यो महिलाको अरु केही पुरुषसँग पनि सम्बन्ध छ । अन्ततः ती पुरुष साथी र महिलाको सम्बन्धमा दरार उत्पन्न भयो । दुवैले खुल्लारुपमा एक-आपसलाई आक्षेप लाउँदै पत्रीका मै लेखे पनि । अन्ततः मैले पनि एउटा कविता लेखें । तर मैले महिलाको पक्ष लिएँ । मैले महिलालाई आक्षेप लगाउने ठाउँ देखिन । किनकी ती पुरुष जो आफूलाई सुझबुझ भएको ठान्थे र उनलाई चिनेका सबैले त्यही ठान्थ्यौं । उनी बिवाहित थिए । बुझ्नु पर्ने त उसले पो हो त । यदि ती महिलाले उसँग नाजायज सम्बन्ध नै राख्न खोजे पनि उसले ती महिलालाई सम्झाउने हिम्मत राख्नु पर्थ्यो । अनेक बाहानाबाजी गरेर निकट सम्बन्ध पनि राख्ने र पछि उसैको चरित्रमा औलो उठाउनु पुरुष मित्रको नैतिकताले पनि नदिने काम थियो । भलै महिलाको कमजोरी पनि थियो तर कम्जोरी धेरै पुरुष मित्रकै भएकोले म कवितामा पुरुष मित्र प्रतिनै आक्रमक बने ।

२) करिब डेढ बर्ष अगाडि अवैध गर्भ पतन गरेको केसमा एक नेपाली महिलालाई पुलिसले रङ्गेहात पक्राउ गरेको समाचार आयो । धेरैले ती महिलालाई गाली गर्दै सामाजिक सञ्जालमा लेखे । तर मैले आफ्नै स्टाटस र अरुको स्टाटसको प्रतिक्रियामा ती महिलालाई गर्भवती बनाउने पुरुषको गल्तीको बारेमा लेखें । र, यो पनि लेखें कि, "यदि यौन समागमपछि पुरुषले गर्भ बोक्नु पर्ने प्राकृतिक नियम हुन्थ्यो भने मलेसियामा लाखौं पुरुषहरु अबैध गर्भ पतनको केसमा जेल जाने थिए ।" अन्ततः एक बर्षपछि अदालतले ती महिलालाई निर्दोष सावित गर्यो र ती महिला नेपाल फर्किइन् । तर अगाडि ती महिलालाई गाली गर्दै स्टाटस लेख्ने धेरै साथीहरुले बिगतमा आफूले गरेको कम्जोरीको आत्मालोचना गर्न त परै जाओस् ती महिला निर्दोष सावित भएकोमा खुसी समेत ब्यक्त गरेनन् ।

३) संविधानको मस्यौदामा सुझाव दिने क्रममा महिलाले पनि दुई वा दुईभन्दा बढी श्रीमान् राख्न पाउनुपर्छ भन्दै एक महिलाले सुझाव राखिन् भन्ने आशयको समाचार अनलाईनमा आएपछि ती महिलालाई गाली गर्दै धेरै स्टाटस लेखियो । फेरि पनि मैले ती महिलाले पुरुषप्रधान समाजलाई व्यंग्य गरेको हो भन्दै उनको समर्थन जनाएँ । एक जना मित्रले मेरो स्टाटसमा "महिलाले दुई वा दुईभन्दा बढी श्रीमान् राख्ने चलन तपाईं कै घरबार शुरु होस् " भन्दै भद्दा प्रतिक्रिया पनि जनाए । अझसम्म म त्यसबेला पुरुष मित्रहरुले ब्यक्त गरेको बिचार सम्झेर झस्कने गर्छु ।

४) संविधानमा आमाको नामबाट नागरिकता पाउनु पर्ने र बिदेशी बुहारीले झैं बिदेशी ज्वाईँले पनि नागरिकता पाउनुपर्छ भन्ने माग महिलाहरुले राख्दा प्रायः सबै पुरुष मित्रहरुले नकारात्मक प्रतिक्रिया जनाए । तर त्यो माग जायज हो भन्ने कुरामा म अझै पनि अडिग छु ।

५) हिजो मात्र एक मित्रले झोलामा पोको पारेर फालिएको नवजात शिशुको फोटो फेसबुक पेजमा राख्नु भएको थियो । जहाँ महिलालाई गाली गर्दै धेरै प्रतिक्रियाहरु लेखिए । त्यस स्टाटसमा मैले लेखें "यदि पुरुषले गर्भधारण गर्नुपर्ने प्राकृतिक नियम भए, दैनिक सयौं नाबालकहरु यसरी नै पोको पारिएर फालिन्थे होलान् ।"

६) दलित सभाषद् र दलित अधिकारकर्मीहरुले संविधान सभा अगाडि बिरोध प्रदर्शन गर्दा प्रहरीले व्यापक दमन गर्यो । सभाषद् समेतले टाउको फोडियो । दलितहरुले हतियार बोकेका थिएनन्, न तोडफोड नै गरेका थिए । एकाध घण्टा चक्का जाम गर्दा राज्य त्यति निर्ममरुपमा प्रस्तुत हुनु लोकतन्त्र कै उपहास थियो । सरकारी कदमको बिरोध र दलितहरुको पक्षमा स्टाटस लेखियो । तर त्यही स्टाटसलाई पनि धेरैले नकारात्मक रुप मै अर्थ्याए ।

७) थारुहट/थारुवान र मधेस आन्दोलनमा मेरो नैतिक समर्थन छ । म प्रायः मधेस आन्दोलनको समर्थनमा स्टाटस लेखी नै रहन्छु । म आदिवासी जनजाती भएको नाताले आदिवासी जनजातिको पक्षमा नबोल्ने कुरै भएन । राज्यको सिमाङ्कन पछि कर्णालीले आन्दोलन गर्दा कर्णालीको पक्षमा पनि स्टाटस लेखियो । कर्णालीको आवाज राज्यले सम्बोधन गर्दा खुसी पनि ब्यक्त गरियो ।

८) हिजो इराकमाथि अमेरिकी गठन्धनले आक्रमण गर्दा होस्, तालिवानमाथि नेटोले सैनिक कार्वाही चलाउँदा होस्, इजरायलद्वारा प्यालेस्टाइनी जनता माथिको अत्याचार होस्, अहिले ISIS बिरुद्ध पश्चिमी राष्ट्रले गरिरहेको कार्वाही होस् वा भारतमा मुस्लिम लगायत अन्य धर्म मान्नेहरु माथि राज्यले सिर्जना गरेको अघोषित आतंकको सवालमा होस् सत्ता वा शक्तिको पक्षमा उभिन सकिएन । बरु पेन्टागन, पाकिस्तानको स्कूल वा हालै पेरिसमा भएको आक्रमणको जिम्मेवार आक्रमणकारीलाई भन्दा ज्यादा तिनै सत्ता वा शक्तिमा रहेका राज्यहरुलाई दोषी ठानियो । झ्याल ढोका थुनेर बिरालोलाई कुट्दा बिरालोले मान्छेको घाँटी फोर्यो भने दोष बिरालोको होइन मान्छेको हुन्छ । अहिले स्लामिक वा विभिन्न समूहबाट सर्वसाधारण माथी भैरहेको आक्रमण बिरालोलाई झ्याल ढोका थुनेर कुट्नुको परिणाम हो भन्ने ठम्याई हो ।

म सत्ता र शक्तिको बिरोधी हुँ । मेरो पक्षधरता सधैं उत्पीडितहरुको हो । पुरुषको ठाउँमा महिलाको, पहाडेको भन्दा मधेसीको, नेपालको राजकीय सत्तामा सधैं रहेका ब्रम्हाण-क्षेत्रीको भन्दा आदिवासी-जनजातिको, आदिवासी-जनजातिको दाँजोमा दलितको, मधेसमा पनि मदेशी ब्रम्हाण-क्षेत्रीभन्दा मदेशी दलितको, नेपाल-भारतमा हिन्दुको भन्दा मुस्लिम- बुद्धिष्ट-इसाईको, यूरोप अमेरिकामा इसाईकोभन्दा हिन्दु-मुस्लिम-बुद्धिष्ट आदिको, अरब-पाकिस्तान-बंगलादेश आदिमा मुस्लिमको भन्दा हिन्दु-बुद्धिष्ट-इसाईको, चीन-जापान-कोरिया-थाइल्यान्ड-भुटान आदिमा बुद्धिष्टकोभन्दा हिन्दु-इसाई-मुस्लिम आदिको र स्वयं मेरो गाउँ-जिल्लामा बाहुल्य रहेका राईहरुको भन्दा ब्राह्मण-क्षेत्रीको पक्षधरता मेरो लेखन वा अभिब्यक्तिको आयाम हो ।

अर्थात सत्ता, शक्ति र बहुमतभन्दा जनता, कम्जोर र अल्पमतको पक्षमा उभिनु मेरो लेखन वा अभिब्यक्तिको विशेषता हो/हुनुपर्छ । यदि यो स्थानमा उभिएर मैले लेखिन/बोलिन भने मेरो लेखन र बोलीलाई मृत घोषित गरे केही फरक पर्ने छैन ।

अर्थात म सत्ता

जान्दा जान्दै
म आगोमा हात हाल्छु
आगोले पोल्छ
म आगोलाई नै गाली गर्छु ।


जान्दा जान्दै
म पानीमा हामफाल्छु
पानीले भिजाउँछ र जाडो हुन्छ
हैट ! कति चिसो पानी भन्दै
म पानीलाई नै गाली गर्छु ।

जान्दा जान्दै
म मक्किएको रुख चढ्छु
मेरो तौल धान्न नसकेर रुख भाँचिन्छ
रुखसँगै पछारिए पछि भुइँमा
म रुखलाई नै गाली गर्छु ।

जान्दा जान्दै
म काँडाघारीमा खाली खुट्टा पस्छु
काँडाले घोच्छ मेरो पाइताला
रगत निस्कन्छ/दुख्छ
म काँडालाई नै गाली गर्छु ।

जान्दा जान्दै
म काउसो खेलाउँछु
कोमल छालामा जताततै टाँसिएर
बेस्मारी चिलाउन थालेपछि ज्यान
म काउसोलाई नै गाली गर्छु ।

जान्दा जान्दै
म अरिङ्गालको गोलामा ढुङ्गा हान्छु
अरिङ्गाल बिच्किन्छ र चिल्छ
म अरिङ्गाललाई नै गाली गर्छु ।

र,
काँचको ग्लासमा तातो चिया खन्याएर
भरखरै पाइला चाल्न सिक्दै गरेको अबोध बालकलाई
उ...पर लगेर पिई भन्दै अह्राउँछु
उ ग्लास समात्छ
ग्लासले उसलाई पोल्छ
ग्लास उसको हातबाट झरेर भुइँमा
हेर्दा हेर्दै धेरै टुक्राहरुमा बिभाजित हुन्छ
उ तातो चियाको पोलाईले
ग्लास फुटेको पीडाले
रुन थाल्छ अबोध रुवाई
म त्यही बालकलाई नजिक तानेर
बेस्मारी थप्पड लगाउँछु कलिलो गालामा ।

अर्थात म सत्ता हुँ
जसले कारण खोज्न जान्दैन
मात्र परिणाममा नाफा-घाटा हेर्छ ।

त्यसैले त कारण खोज्ने कविता
सधैं सत्ताको बिपक्षमा हुन्छ ।