Thursday, May 21, 2015

उहिले र अहिले


२०४५ सालको भदौ ५ गते बिहान गएको भूकम्पमा हाम्रो घर नभत्किए पनि चिरैचिरा परेको थियो ।
त्यसबेला सरकारले जम्मा १ हजार राहत स्वरुप र १० हजार ऋण स्वरुप रकम उपलब्ध गराएको थियो ।
...
१० हजार ॠण लिएपछी सरकारले तोकेको मापदण्ड पूरा गरेर नयाँ घर बनाउनु पर्थ्यो,,,,र, मापदण्ड अनुसार घर बनाएको छ कि छैन भनेर ओभरसियर खटाईएको थियो ।
म अझै पनि सम्झन्छु,,,हाम्रो घर जाँच गर्नको लागि ओभरसियर आउने दिन आमाले चाम्रे र चार दाना अण्डा फ्राई गर्नु भएको थियो ओभरसियरको लागि । ओभरसियर भन्न नजानेर गाउँलेहरु "ओबरस्याँठ" भन्थे, मैले पनि जानेको त्यही नै थियो ।
ती ओबरस्याँठले चरेसको थालमा पस्केको गुण्टेमार्सीको घिउ तरर चुहुने चाम्रे र दुई दाना अण्डा (दुई दाना उसको सहयोगीलाई) हसुरेपछि उनको सहयोगीलाई घर पछाडि हिलो मुछ्दै गर्नु भएका मेरो आपालाई भेट्न पठाए । त्यसबेला ४ सय प्रस्ताव राखेको रहेछ ती ओबरस्याँठले आफ्नो सहयोगी मार्फत । अर्थात ४ सय हातमा राखी दिएपछि बन्दै गरेको घर पास हुने भो ।
तर मेरो आपाले २ सयभन्दा धेरै नदिने भने पछि बिबाद भो । खै पछि तीन सयमा कुरो मिल्यो क्यार ।
पछि गाउँघरमा खासखुस चल्थ्यो,,,,,ती ओबरस्याँठ महोदयले गाउँका केही छोरी चेलीको इज्जतसँग पनि खेल्न भ्याएको कुरा ।
यो २०७२ साल, फेरि फर्केर आयो उस्तै बिपत्ति र वाध्यता बोकेर । मर्नेहरु मरेर गए पनि बाँच्नेहरुले जीवन निर्वाह गर्नको लागि फेरि घर त निर्माण गर्नै पर्छ । पक्कै सरकारले केही राहत र केहि ॠण सहयोग दिने छ र घर बनाउनको लागि केही मापदण्ड पूरा गर्न उर्दी जारी गर्ने छ । मापदण्ड अनुसार घर बनेको-नबनेको अनुगमनको लागि फेरि ओबरस्याँठहरु खटिने छन् गाउँ-गाउँमा ।
तर पक्कै यसपाली आफ्ना कलिला छोराछोरीहरुको गाँस काटेर लोकल कुखुराको अण्डा र घिउ चुहिने चाम्रे पकाउन आमाहरुले र घुसमा मोलमोलाई गर्न आपाहरुले पर्ने छैन ।
किनकी अहिले आमा र आपाहरु हामी छौं,,,,।

#‎अभिभावकत्व‬#


२०७० को तिहारको अन्तिम दिन अर्थात भाइतिहारको साँझ मेरो बाबा अचानक बित्नु भो-आमा, फूपू, बहिनी र भाइसँगै म पनि रुन-कराउन लागें । गाउँका आफन्त र छिमेकीहरुले पनि साथ दिए ।
रातभर बाबाको मृत शरिरको नजिक आँसु बगाउँदै बसिरहे पनि माइत गएकी श्रीमती, माइती आउन नसकेकी एक बहिनी र टाढा-टाढाका आफन्तहरूलाई फोन मार्फत खबर गर्न छिमेकीहरुलाई सुझाई रहें ।
जब उज्यालो भो, मृत शरीरलाई ढाक्ने कपडा, मलामीलाई खाजा लगायत अन्य सामग्री किन्न मानिस खटाउनु देखि आउने आफन्तहरुलाई सम्झाउने दायित्व आईलाग्यो । पूरा गरिरहें ।
बिहानसम्म पनि सबै जना उसैगरि भक्कानी रहेका छन्, म घरको जेठो छोरो मै कमजोर बने परिस्थिती सम्हाल्ने कस्ले ? मन थामेर सकभर आँसु लुकाईनै रहें ।
सद्गद्को काम सबै सकियो । सायद धेरै मलामीहरुले मेरो आँखामा आँसु देखेनन् । भावसून्य भएर मृतकको लास नजिक बसीरहनुको साटो चिहानको गारो मिलाउन सुझाउने देखि, रोइरहेका आमा, फूपू, बहिनी र अन्यहरुलाई सम्हाल्न अह्राउने काम गरेको देख्दा मलाई सायद कठोर र मृतक बाबाप्रती ममता नै नभएको रुपमा धेरैले बुझे होलान् ।
तर म अझै पनि बाबालाई सम्झेर बेला-बेला एकान्तमा आँसु बगाउने गर्छु । त्यसबेला आँसु लुकाएर परिस्थितिलाई सम्हाल्नु थियो । म आफै कमजोर बनेको भए, परिस्थिती सम्हाल्ने कसले ?
त्यस्तो समयमा बोली आफै नरम हुँदो रहेछ । रिस र लोभको मन उपस्थिती कमै मात्र हुँदो रहेछ । यस्तो लाग्छ, त्यस्तो बेलामा कोही पराईले तथानाम गाली गरे पनि चुपचाप बस्न सकिन्छ । कोही मार्नै आयो भने पनि अरुलाई सम्हालेर आफू खुकुरीको धारमा रेटिन तयार भइन्छ ।
हो, अहिले देश महाभूकम्पले निम्त्याएको अकल्पनीय शोकमा डुबेको छ । मेरो घर-परिवार, निकटका आफन्तहरु र भौतिक सम्पत्ति सुरक्षित भए पनि मनमा पीडाले थिचिरहेको छ । सामाजिक सञ्जालमा प्रकाशित भएका फोटो, स्टाटस र अनलाईनमा आएका समाचारहरु पढेर धेरै पटक रोइ सकेको छु । जब पीडित सर्वसाधारणहरुले राहत नपाएको समाचार आउँछ, स्वभाविक रुपमा सरकार र सरकारमा रहेका दल र तिनीहरुका नेताप्रती आक्रोश सिर्जना हुन्छ ।
सरकार-जनताहरुको अभिभावक हो । भुकम्पले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सत्तासिन पार्टीका नेताहरुलाई पनि जरुर पीडा पुर्याएको छ । कतिपय मन्त्री र नेताहरुका आफन्त गुमेका होलान्, कतिका घर भत्केका होलान्, कतिका आफन्त घाइते होलान्, पार्टीकार्यालयमा क्षति पुगेको होला तर त्योभन्दा बढी आफ्नो अभिभावकत्वमा रहेका सारा नेपाली जनताहरु रोइरहेका छन् । कति मानिस अझै भत्किएका खण्डहर भित्र अन्तिम श्वास फेरिरहेका होलान्, हजारौं मानिसहरु आफन्तजन गुमाएको पीडाले बिछिप्त बनेका छन्, कति घाइतेले उपचार पाएका छैनन्, लाखौं जनता घरबार बिहिन हुनुको पीडामा छन् । भुकम्प पीडित अधिकांस जनतासँग टाउको लुकाउने ओत र खाने अन्नको गेडो छैन । हो यस्तो बेला सरकार अर्थात राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, उच्च पदस्त कर्मचारी र सत्तासिन पार्टीका नेताहरुको अभिभावकत्व आवश्यक पर्छ ।
तर अचम्म नेपाल र नेपालीका यी अभिभावकहरु सर्वसाधरण जनताहरुभन्दा बढी आतंकित र लाचार देखिएका छन् । बिज्ञहरुले-भुकम्पको ठूलो धक्कापछि सामान्य झट्काहरु केही दिनसम्म आइरहन्छन् । ठूलो भुकम्पले क्षति नपुगेका भुकम्प प्रतिरोधी घरहरुमा साना धक्काहरुले कुनै असर गर्दैन भनिरहँदा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सत्तासिन पार्टीका नेताहरु नै सडकमा पाल टाँगेर रात गुजारे । सर्वसाधारण जनतालाई सुरक्षाप्रती आस्वस्त गराउने अब कसले ?
मन्त्रीहरुलाई सरकारको जवाफदेहिता बारे पत्रकारहरुले प्रश्न सोध्दा पत्रकारसँग चर्चरी बाझेको टेलिभिजनमा आइरहेको छ, सत्तासिन पार्टीका नेताहरु पार्टी कार्यालयको फोटो फेसबुक वालमा टाँसेर कार्यकर्ताहरुसँग बिलौना गरिरहेका छन्, ठूला नेताहरु सामाजिक सञ्जालमा सर्वसाधारण जनताहरुले गाली गर्यो भन्दै पत्रकारको अगाडि आगो ओकली रहेका छन् । मन्त्रीहरु बैठकमा नै चर्काचर्की गरिरहेका छन् । उता यो बिपत्तिमा सहयोग गर्न चाहने कति मित्र देशको सहयोगलाई बेवास्ता गरिएको छ, यता सहयोगको नाममा कुनै एक देशले चलाईरहेको दादागिरी र मनपरीप्रती बेखबर छ सरकार ।
हो, सरकार आफैले यो परिस्थिती सम्हाल्न सक्दैन । सरकारका प्रधानमन्त्री र मन्त्रीहरु नै उद्धारमा खटिनु पर्छ भन्ने पनि होइन । यतिबेला सरकारको भूमिका भनेको समन्वय कर्ताको हुनुपर्छ । सरकारले सबै पक्षसँग सहयोगको लागि बिनम्रतापूर्वक अनुरोध गर्नु पर्छ । आफ्नो कम्जोरीको ढाकछोप गर्ने वा कामको बढाई चढाईं गर्नु भन्दा सञ्चार माध्यमहरुबाट सरकारले गर्न नसकिरहेको काममा सहयोग गर्न आम जनसमुदायसँग अपिल गर्नु पर्छ, सत्तासिन पार्टीका नेताहरुले क्षतिग्रस्त पार्टी कार्यालय प्रती होइन जनताहरुको भत्किएको घर र रोइरहेको मनप्रती समवेदना प्रकट गर्नु पर्छ । तर यी कुराप्रती सरकार र सत्तासिन पार्टीका नेताहरु चुकेका छन् । त्यसैले भन्न सकिन्छ, बर्तमान सरकार र सत्तासिन पार्टीका नेताहरु अब देश र जनताको अभिभावक रहेनन् ।

साकेला, सिली र स्यामुना संस्कृति


सिन्कौली सेउली भाँचौंला
साकेला सिली नाचौंला
सोइसोइला हौ कुर्र हा हा
किरात राईहरुको सांस्कृतिक पर्व साकेलाको अवसरमा सिली नाच्दै गाइने गीतको एक अंश हो माथिको दुई हरफ । यस लेखमा साकेला र सिली के हो भन्ने विषयमा थोरै प्रष्ट पार्न गइरहेको छु ।
साकेलालाई सबै किरात राईहरुले श्रद्धाका साथ मान्ने गर्दछन् । विशेषतः मंशिर पूर्णिमा र वैशाक पूर्णिमापछिको केही दिन साकेला पूज्ने र सिली नाच्ने चलन किरात राईहरुमा छ । तर केही किरात राईहरुले अघिपछि पनि साकेला पुज्ने र सिली नाच्ने गर्दछन् । थरै पिच्छे आ–आफ्नै भाषा भएका किरात राईहरुले साकेलालाई पनि आ–आफ्नै नामले पुकार्छन् । जस्तो साकेला, साकेवा, साकला, साखला सान्केवा, साकेन्वा, तोष, तोषी, वास, सेग्रो... आदि । तर सबै थरीका किरात राईहरुले यो चाड मान्ने हुनाले साकेला सबै किरात राईहरुको साझा पर्व हो भन्न सकिन्छ ।
साकेला पर्वमा किरात राईहरुले सिली नाच्ने गर्दछन् । सिली विभिन्न प्रकारको हुन्छ । यहि सिलीलाई साकेला नाच भन्ने चलन अचेल छ । तर साकेला र सिली फरक कुरा हुन् । यसको चर्चा पछि गरिने छ ।
साकेलाको उत्पत्ति सम्बन्धि विभिन्न मिथकहरु छन् । श्रृष्टिकर्ता पारुहाङ र सुम्निमाले नै साकेला मान्न र सिली नाच्न सिकाएको भन्ने कथन पनि छ । हेछाकुप्पा र उनका चेलीहरु तोयामा र खियामाले पहिलो पटक सिली नाचेको र उनीहरुबाटै सिलीको शुरुवात भएको भन्ने किरात राईहरुमा प्रचलिन एक मिथकमा पाइन्छ । यस्तै एक मिथकले किराती राजा "बुद्धहाङ" र उनकी चेली "सोइसोइला" सँग साकेला र सिलीको साइनो जोड्छ । विगत वर्षहरुमा जस्तै चेली सोइसाईलाले माइति बुद्धहाङलाई दोलों (पगरी) लगाईदिने क्रममा अचनाक रजस्वला भएपछि लाजले सोइसोईला जङ्गल तिर भागिन् । तब भेला भएका आफन्तहरुले फर्केर दोलों (पगरी) लगाईदेउ सोइसोइला भनी पछाडि लागे तर सोइसोइला जंगलमै विलाईन्, फर्किनन् । टाउकोमा लगाईदिनु पर्ने दोंलो (पगरी) बुद्धहाङको काँधमा थियो । सो दोंलो जमिनमा खस्यो र तत्कालै शिलामा परिणत भयो । त्यही शिला नै साकेला भएको र त्यहीबेला देखिनै साकेला मान्न र सिली नाच्न थालिएको भन्ने मिथकमा छ । अचेल पनि साकेलाको अवसरमा सिली नाच्दा ‘सोइसोइला हौ कुर्र हा हा’ भनेर गीत गाउने गरिन्छ । यो मिथकले साकेला र सिलीसँग केही सम्बन्ध राखे पनि बुद्धहाङ कहाँ र कुन समयका राजा थिए भनेर मिथकले भन्दैन । यसप्रकार साकेला र सिली नाच यहि बेलादेखि सुरु भएको हो भनेर भन्ने ठ्याक्कै आधार अहिलेसम्म फेला परेको छैन र भविश्यमा पनि फेला पर्ने सम्भावना कम छ ।
किरात राईहरुको रस्ती–वस्तीमा साकेलाथानहरु र साकेला सम्बन्धि कथाहरु प्रसस्तै भेट्न र सुन्न पाइन्छ । उत्पतिका कथाहरु फरक भए पनि साकेला मान्ने समय र साकेलासँग राखिने अपेक्षामा कुनै भिन्नता छैन । वैशाकपूर्णिमामा अन्नबाली लगाउने समय भयो, समयमै पानी परोस्, अन्नबाली राम्रोसँग लाउन पाउँ, किराफट्याङ्ग्रा र जिवजन्तुले अन्नबाली नष्ट नगरिदेओस्, प्राकृतिक प्रकोप नहोस् भनेर साकेलासँग बल मागिन्छ । मंशिरमा अन्नबालीहरु राम्रोसँग उत्पादन भयो, प्रकृति अनुकूल भएको हुनाले सबैले अन्नबाली घरमा भित्र्यायौं, अन्नबालीमा सह रहोस्, यसलाई अब प्रयोग गर्दैछौं–अन्नबाली प्रयोग गर्दा कुनै शारीरिक अस्वस्थता आई नलागोस् भन्दै साकेलालाई नयाँबालीहरु चढाईन्छ । कतै–कतै वैसाके पूर्णिमामा मात्र साकेला पुज्ने चलन छ भने कुनै–कुनै राईहरुमा वैसाके र मंशिरे पूर्णिमासँगै माघ, चैत्र, असार र भदौमा समेत साकेलाको पूजा गरी सिली नाच्ने चलन छ । यी माथिका उदाहरण हेर्दा साकेला पुज्नुको अर्थ प्रकृतिलाई खुसी तुल्याउनु हो भन्ने देखिन्छ भने यसको सम्बन्ध कृषिसँग प्रत्यक्ष जोडिएको छ । वैसाक पूर्णिमा पछि अर्थात उभैलीको बेला धेरै जसो किरात राईहरुले घर–घरमा पितृ पूजा समेत गर्ने गर्दछन् । पितृ पूजामा समेत नयाँ अन्नको बोटहरु चढाउने गरिन्छ र सिली समेत नाचिन्छ । पितृ पूजा गर्नुलाई साकेला भनिन्दैन, यसलाई विभिन्न थरी राईहरुले आ–आफ्नै भाषामा आ–आफ्नै नामले सम्बोधन गर्ने गर्दछन् (चाम्लिङहरुले हुइलुङ भन्छन्) । तर पितृपूजाको अर्थ आ–आफ्ना पितृहरुलाई सम्झनु र उनीहरुको नाममा अन्नबाली अर्पण गर्नु हो । पितृ पूजाको अवसरमा समेत सिली नाचिने हुनाले साकेलामा नाचिने नाच साकेला नाच नभई ‘सिली’ हो भनेर भन्न सकिन्छ । अझ सिली त छोरीलाई चुल्हाबाट निकाल्दा, बुहारी भित्र्याउँदा, नयाँ चुला गाड्दा, नयाँ घरको धुरी मार्दा समेत नाचिने र यी अवसरहरुमा साकेला निकाल्ने र साकेला पुज्ने कुनै काम नगरिने भएकोले साकेला र सिली अलग हो भनेर ठोकुवा गर्न सकिन्छ । सजिलो तरिकाले भन्दा साकेला-प्रकृतिको संकेत र सिली-नाच अर्थात नाच्ने तरिका हो ।
साकेला, किरात राईहरुको धामीले निकाल्ने गर्दछन् । साकेला निस्किने संकेत धामीलाई सपनामा वा धामीबस्दा मिल्ने विज्ञहरु बताउँछन् । साकेला निकाल्दा शुभ वा अशुभ के हुन्छ भनि धामीले नै खुट्याउँछ । साकेला निकाल्दा राम्रो हुने भए वैसाक पूर्णिमा वा मंसिर पूर्णिमादेखि औंशीको बीचमा शुभदिन हेरेर निकालिन्छ । साकेला निकाल्दा धामीसँगै बुढापाकाहरुको पनि विशेष भूमिका हुन्छ । साकेला पानी, हावा र जमिनमा हुन्छ भनिन्छ । तर धेरै ठाउँमा जमिनबाटै साकेला निकालिएको कथा गाउँघरमा सुनिन्छ । साकेला रहेको ठाउँ धामीले निश्चित गरेपछि सो ठाउँमा खन्दा अण्डाकारको दुई वा दुईभन्दा बढी ढुङ्गा निस्किन्छ । निस्किएको साकेलाको रङ्ग हेरेर धामीले भविश्यवाणी गर्दछन् । साकेलाको रङ्ग सेतो, खैरो र कालो हुन्छ भनिन्छ । सेतो शुभको प्रतिक हो भने कालोलाई अशुभ मानिन्छ । कतिपय किरात राईहरुको थातथलोमा कालो साकेला निस्किएपछि साकेला धामीको सोही वर्ष वा केही वर्षपछि मृत्यू भएको कथाहरु प्रसस्तै सुन्न पाइन्छ । यस प्रकार साकेलालाई प्रकृतिको संकेत हो भन्न सकिन्छ ।
साकेलालाई किरात राईहरुभन्दा बाहेकका जातिहरुले चण्डी भन्दै आएकाछन् । किरात राई लगायत अन्य जातिका लेखकहरुले सिलीलाई धेरै ठाउँमा चण्डी नाच भनेर लेखेको हामी पाउँछौं । तर साकेला-चण्डी होइन र सिली-चण्डीनाच हुनै सक्दैन भन्ने पंक्तिकारको दावी छ । ‘चण्डी’ हिन्दु धर्ममा (विषेशतः दशैसँग जोडिएको कथा) बर्णित एक देवी हुन् । जसको सहायताले महिशासुर दानवको बध गरेर देवताहरुको कल्याण गरिन्छ । हिन्दु धर्मशास्त्रमा देवताहरुभन्दा बढी शक्तिशालीको रुपमा चण्डीलाई उभ्याईएको छ । चण्डीलाई महादेव शिवकी अर्धाङ्गिनी पार्वतीको परिवर्तित रुप मानिन्छ । बेद र पुराणहरुमा महादेव शिवले किरातेश्वर र पार्वतीले किरातीनीको भेष धारण गरेको भन्ने उल्लेख छ । यही आधारमा पारुहाङ र सुम्निमालाई शिव र पार्वती कै अर्को रुप भनेर पनि भनिन्छ । तर सबैले ख्याल गर्नु पर्ने कुरो के हो भने किरात राईहरुले शक्ति प्राप्तीको लागि कुनै पनि देवताको पूजा गर्दैनन् । प्रकृति र पितृहरुको पूजा गर्ने किरात राईहरु सुख, शान्ति, सु–स्वास्थ्यको कामना मात्र गर्दछन् पूजा–आजामा । साकेला प्रकृतिको संकेत हो भनेर माथि भनि सकिएको छ । र, साकेलालाई हालसम्म न पुरुष पात्रमा कसैले उभ्याएको छ, न महिला पात्रनै साकेला हो भनेर कसैले भन्न सक्छ । साकेला कुनै लिङ्विशेष होइन, यो प्रकृतिको विशुद्घ संकेत हो । प्रकृतिको कुनै लिङ्ग हुँदैन । यस प्रकार शक्तिस्वरुपा चण्डी र प्रकृतिको संकेत साकेला कसरी एक हुन्छ ? बरु साकेलालाई कसरी चण्डी भनियो होला भन्ने कुरामा एकपटक ध्यानचाँहि पुर्याउन आवश्यक छ ।
नेपालका अधिकांश पात्रो वा क्यालेण्डरहरुमा वैदिक हिन्दु संस्कृतिका पर्व–उत्सव आदिलाई प्राथमिकतामा राखेर लेखिन्छ । बुद्धजयन्ति अर्थात वैशाक पूर्णिमालाई यी पात्रोहरुमा चण्डिपूर्णिमा भनेर लेखिन्दै आईएको छ । यही पूर्णिमाबाट शुरु हुने साकेला पर्वलाई किरात राईहरुको थातथलोमा बस्ने हिन्दु आर्य समुदायका मानिसहरुले चण्डी भनेको र यस अवसरमा नाचिने नाचलाई चण्डी नाच भनेको कुरोमा दुईमत छैन । आ–आफ्नै भाषा भएका राईहरुमा साकेलाको नाम पनि फरकफरक हुनुको कारणले अरुले भनिदिएको चण्डी नामले चाँडै लोकप्रियता पायो । तर यर्थाथता बुझेपछि अचेल साकेलालाई चण्डी र सिलीलाई चण्डी नाच होइन भन्न थालेका छन् स्वयं किरात राईहरु । यहाँ अर्को प्रश्न पनि उठ्न सक्छ, कि चण्डी पूर्णिमामा पश्चिमाञ्चल तिर हिन्दु आर्य र गुरुङ–मगरहरुले कोट पूजा र हात हतियारको पूजा समेत गर्दछन् । यता कतिपय किरात राईहरुले वैसाक पूर्णिमा पछाडि पितृ पूजा गर्दा हातहतियारको समेत पूजा गर्दछन् । तर हातहतियारको पूजा गर्नुको उद्देश्य भने फरक छ । पश्चिमाञ्चलतिरका हिन्दु आर्य र गुरुङ–मगरहरुले शक्ति प्राप्तीको उद्देश्यले कोट र हातहतियारको पूजा गर्दछन् भने किरात राईहरुले वैसाकपूर्णिमा पछाडि अन्नबाली लगाउने समय भयो, अब तिमीहरुलाई अन्नबाली लगाउने काममा प्रयोग गर्दैछौं, यसरी प्रयोग गर्दा चोटपटक नलागोस् भनी कामना गर्न हातहतियारको पूजा गर्ने हो । यसर्थ हातहतियारको पूजाको उद्देश्यले पनि साकेला र चण्डी एउटै होइन भन्ने प्रष्ट पार्छ ।
साकेला र पितृपूजाको समयमा नाचिने सिली (नाच) कति पुरानो हो यसै भन्न सकिन्न । तर नेपालका अन्य समुदायमा प्रचलित धेरै नाचहरु जस्तै सिली (नाच) पनि पुरानो हो भनेरचाँहि दावी गर्न सकिन्छ । सिली (नाच) पनि समयक्रमसँगै थपिन्दै र परिवर्तन हुँदै आएको आभाष हुन्छ । विशेषतः सिलीहरु चार प्रकारको हुने गरेको छ । श्रृष्टीका कथाहरु समेट्दै नाचिने सिली, पशुपंक्षिहरुको नक्कल गर्दै नाचिने शिली, अन्नबाली लाउनेदेखि उठाउनेसम्मको अभिनय गर्दै नाचिने सिली र श्रृङ्गार एवं मनोरञ्जनको अभिनय गर्दै नाचिने शिली । विशेषतः अघिल्लो दुई प्रकारका शिलीहरु खुट्टा प्रधान र पछिल्लो दुईप्रकारको शिलीहरु हात प्रधान हुन्छन् । यी चारप्रकारको शिलीहरु मध्ये श्रृष्टीका कथाहरु समेट्ने सिलीहरु बढी पुरानो हुन् र अन्य शिलीहरु समयक्रमसँगै थपिन्दै गएका हुन् भन्न कञ्जुस्याई गरिरहनु पर्दैन । यी चार प्रकारका शिलीहरु भित्र पनि विभिन्न प्रकारहरु हुन्छन् । किरात राईहरुको रस्ती–बस्तीतिर पसेर सोध्ने हो भने चार रात-चार दिनमा पनि सबै सिली नाचेर सकिन्दैन भन्छन् बुढापाकाहरु । साकेला र पितृ पुज्दा नाचिने सिली क्रमबद्घ हुनुपर्छ नत्र सिली टिप्ने (नाच्ने) अगुवा खस्छ भनिन्छ ।
सिली नाच्दा ढोल र झ्याम्टालाई बाजाको रुपमा तथा चौरी गाईको चमर, सिलीमी, खुर्पा, धनुषकाँड आदिलाई सहायक सामग्रीको रुपमा प्रयोग गरिन्छ । ढोल बजाउने तरिका पनि सबै किरात राईमा मिल्दैन । विशेषतः सिली नाच्दा सिली अनुसार ढोल बजाईन्छ । सिली नाच्दा सोई सोईला हौ कुर्र हा... हा.... भन्ने भाकामा गीत गाइन्छ र त्यसको अर्थ के हो भनेर माथि नै भनि सकिएको छ । यसको साथै ढोल बजाउँदै ढोलेहरु स्याब्बा...स्याब्बा...र, वाहुरे...वाहुरे समेत भन्नछन् । यी दुवैको अर्थ ‘राम्रो’ भनेको नै हो । तर गीत गाउँदा "सोई सोईला" सँगै ‘स्यामुना’ को लयमा पनि गाईन्छ । यी दुवै गीतहरुको लय फरक–फरक छ । स्यामुनाको खास अर्थ किरात राईहरुको कुनै पनि भाषामा छैन । तर यो ‘स्यामुमा’ को अप्रभंश हो भन्न सकिन्छ । किरात राईहरुले नमस्कार भन्दा सेवा, हौवासँगै ‘स्यामुमा’ पनि भन्ने गर्दछन् । यही स्यामुमाको अप्रभंश नै ‘स्यामुना’ हो ।
किरात राईहरुको महत्वपूर्ण साँस्कृतिक उत्सव साकेला र सिली नाचको बारेमा कमै खोज अनुसन्धान भएको छ । सिली नाच्ने लहर गाउँदेखी सहर र बिदेशसम्मै चले पनि खास सिलीहरु बिस्तारै हराउँदै गैरहेको छ । शिली अनुसारको ढोल बजाउन सक्ने सायद अब ज्यादै कम होलान् । हात र खुट्टा हल्लाउनु मात्रै सिली नाच्नु होइन । सिलीमा त सृष्टिका कथा देखि विभिन्न यूग र चरणको गाथा समेटिएका हुन्छन् । सिली नाच्न जानेर मात्रै पनि हुँदैन सिलीको अर्थ पनि थाहा हुनुपर्यो । देश सङ्घीयतामा जाँदैछ । सङ्घीय राज्यहरु पहिचानको आधारमा हुनुपर्छ भन्ने हामीहरु नै हौं । पहिचानको कडि संस्कृति पनि हो । त्यसैले साकेला र सिली नै असलीमा किरात राईहरुको साँस्कृतिक पहिचान हो
अत: साकेला र सिलीको बारेमा अझै धेरै खोजको आवश्यकता छ । किरात राई समुदायका बिद्वान अग्रजहरुको ध्यान यतातिर जाओस् । यो बर्षको उभैली साकेलामा यही कामना ।

को जातिबादी ? कसले बनायो देश बरबादी ?


नुवाकोटमा,
ज्यूँदै छाला तरिए जयन्त राना
कीर्तिपूरमा काटिए बाह्र धार्नी नाक-कान...
जयप्रकाश लखेटिए इन्द्र जात्राबाट
छ प्रधानले पाए धोका
मितको खोसियो सर्वश्व
यसरी,
काठमाण्डौको गद्दीमा बडा महाराज बसेपछि
सुरु हुन्छ नेपालको आधुनिक ईतिहास
सुरु हुन्छ एकल जातीय साम्राज्य
सुरु हुन्छ एकल साँस्कृतिक अभियान
सुरु हुन्छ एकल भाषिक नीति
सुरु हुन्छ अरु धर्म माथि दमन
सुरु हुन्छ मदेशमाथि घरेलु उपनिवेस
बिभाजित हुन्छन् मान्छेहरु कोही मासिने कोही नमासिने
कोही पानी चल्ने, कोही नचल्ने
छोइछिटो हाल्नु पर्ने/नपर्ने
कोही राजा जन्मदै
कोही पिपा आजीवन
कोही दरबारमा
कोही तरवारमा
साँच्चै !
यहिबाट शुरु भएको हो अशान्तिको बिऊ
र, देशको बर्बादी ।

तर्क गर्नेहरु जे पनि भन्न सक्छन्
देवर-भाउजू
अर्थात
बहादुर र राजेन्द्रलक्ष्मीको शक्ति सँघर्ष
पाँडे, थापा र बस्न्यातको काटामार
भिमसेनको आत्महत्या
गगन र माथवरको हत्या
राणाको उदय
कोत, भण्डारखाल
वा, दरवार हत्याकाण्ड
बरवादीकै निरन्तरता
बरबादीकै शृङ्खला ।
कसले भन्छ देश सबैको हो भनेर ?
हेर भिमसेनदेखि शुशिलसम्मको अनुहार
सिंहदरबारमा
छाउनीमा
न्यायलयमा
प्रशासनमा
स्थानीय निकायमा
संवैधानिक आयोगहरुमा
......मा
......मा
.......
.......
के देखिन्छ बहु रङ्ग ?
के देखिन्छ बिबिधता ?
कि नेपाल झुस्स दाह्री, चुस्स नाक
ऊ...
ऊ...
उस्को मात्रै हो ?
हो प्रश्न यहि हो आजको
कि,
हुँदा हुँदै पनि यहाँ
बिविध जाती
बिबिध धर्म
बिबिध भाषा
बिविध संस्कृती
बिबिध सभ्यता
र,
बिबिध पहिचान
किन ऊ....भयो ?
अर्थात
एकल प्रभुत्व ?
त्यसैले,
अहिले कायम रहेको
एकल जातिय
एकल भाषिक
एकल धार्मिक
एकल साँस्कृतिक
र,
तोडेर आन्तरिक उपनिवेस
बनाउने हो सबैको पहिचान स्थापित भएको देश
दिलाउने हो सबैलाई बराबरी हक
लौ तिमी नै भन,
म कि तिमी जातिबादी ?
तिमीले कि मैले बनाएको हुँ देशलाई बरबादी ?

*खण्डहर मन र अजम्बरी कविता*


फेसबुकको भित्तोभरी
असरल्ल पोखिएका
भूकम्पका पराकम्पनहरुमा
कतै च्यापिएर
कतै थिचिएर
कतै किचिएर
मेरो प्रिय कविता
ला.....मर्यो होला भन्दै
शोकले विह्वल भएको धेरै दिनपछि
बल्ल आज थाहा भो,
कविता त पखेटा लाएर
माथी-माथी आकाशमा पो
कावा खाईएरहेको रहेछ ।
प्रिय कविता तिमीलाई लाखलाख माया
ढले पनि धरहरा
चुँडिए पनि कयौं कोपिलाहरु
भासिए पनि जमिन
होचिए पनि चोमोलुङ्मा
पक्कै उठ्ने छ ती खण्डहरहरुबाट
आधुनिक मानवको नयाँ चेतना
हो त्यो बेला
तिमी नै सबैभन्दा बढी खोजिने छौ
ओ कविता !
तिमी बाँच्नु पर्छ
यो सृष्टि चलिञ्जेल
यो दृष्टि बलिञ्जेल ।

मुक्तक


जातको नाममा घरै भित्र पानी बाराबार छ
धर्मको नाममा मान्छे काटाकाट र मारामार छ
सबैको रगत रातै हुन्छ भनेर जान्दाजान्दै पनि...
बिचारको नाममा लुछालुछ र दाह्रादार छ ।

Muktak

कुनै दिन अग्ला-अग्ला घरहरु, घरधनीको सान थियो
महिनै पिच्छे किराया उठ्दा दुहुनो गाईको भान थियो
भूकम्पीय दृष्टिकोणले जोखिम छ भन्ने जान्दा जान्दै
खासमा उसले बनाएको, घर होइन एउटा चिहान थियो ।

मुक्तक


कसैले परमेश्वरको प्रार्थाना गरे भूइचालो आउँदा
कोही मूर्ति अधि लम्पसार परे भूइचालो आउँदा
खै त ती तेत्तीस कोटि देवताहरु उद्धार गर्न आएको ?...
कि मन्दिरले पुरिएर आफै मरे भुइँचालो आउँदा ।

छोरीलाई शुभकामना, जन्म दिनको


यतिबेला
घुर्यानभरि मकैको बोट/ सिमसारमा धानको बिऊ
नचाउँदै कलिला पात हावामा...

माथी...माथी
बादलका स-साना टुक्राहरुमा
छेलिन्दै निस्किन्दै
उभै उभै
बेग हानिरहेको कर्याङकुरुङ देखेर
उचालिन्दैछ दिनरात
जमिनभन्दा माथि-माथी
र,
छोरी तिमी पनि
चढ्दै छौ आजै देखि
उमेरको अर्को खुट्किलो ।

यो बेला
घरै छेउको बाँस झ्याङमा बसेर
'कुक्कु' खेल्न हाजिर छ कोइली
कोठेबारीमा मग्मगाउँदैछ इन्द्रकमल
मट्याङ्ग्रा बाट्दैछन् सुन्तला बोट
चल्ला हुर्काउँदैछ आरुको रूख
ऐना टल्काउँदैछ पानी-पँधेरो
चिर्दै सन्नाटा ढोल र झ्याम्टाले
गाउँदैछ निरन्तर स्यामुना भाका
नाच्दैछन् सिली तोयामा-खियामा
केवल तिम्रो जन्मोत्सवमा ।

हो हामी
प्रकृतिलाई पर राखेर
कुनै अलौकिक शक्तिलाई नस्विकार्ने
एउटा आदिम जाती
निभाएर बलेको दियो
काटेर एक डल्लो केक
ताली पड्काउँदै
ह्याप्पी बर्थ डे टु यू
अहँ यसो भन्न जान्दैनौ पनि
र,
मान्दैनौ पनि ।

त्यसैले
उनै प्रकृतिको
गाउँदै महिमा रिसियामा
टाढैबाट भनिरहेछु
छोरी 'सिम्मा'
जन्म दिनको शुभकामना ।

भूइँचालो र आदिवासी आमाको कथा


जमिन मुनि
धेरै तल
ठूलो पोखरी छ...
र,
पोखरीमा छन्
ठूलाठूला माछाहरु
जब ती माछाहरुले
हल्लाउँछन् आफ्ना दुई कान
र,
आउँछ भूइँचालो धर्तिमा
हो,
यहि कथा
सुनाई रहँदा मलाई आमाले
छिमेकतिर दौंतरीहरु
पूजा गरिरहेका थिए भगवानको।

ओढेर अलिकती अनुहारमा
डरको घुर्मैलो घुम्टो
सोधें आमालाई
'आमा माछाले कहिले कान हल्लाउँछ' ?
छेवर पर्खिरहेको जुम्सिलो मेरो केस मुसार्दै
भन्नू भो आमाले-
"त्यो त कसरी थाहा पाउनु र छोरा
धेरै तल पातालको कुरा"
अर्को दिन थाहा भो,
छिमेकमा दौंतरीहरुलाई
भनेछन् तिनका आमाहरुले
ज्योतिषीले हेरेर ग्रह-नक्षेत्र
पत्ता लागाउँछन् भूइँचालो आउने दिन ।
यसपाली,
दसौं हजारको छिनेर जीवन
बिसौं हजारलाई पारेर घाइते
लाखौंको झारेर आँसु
करोडौंलाई बनाएर त्रसित
ढालेर धरहरा
भत्काएर घर
पुरेर इतिहास
नामेट पारेर सभ्यता
गयो भूकम्प नेपालमा ।
सायद यतिबेला
भूइँचालोले त्रस्त बालबालिका
आमाको काखमा बसेर
सोधिरहेका होलान् उसैगरी
"आमा भूइँचाल कसरी आउँछ ?"
र,
प्रत्येक आमाहरु
सुम्सुम्याउँदै जुम्सिला कपाल
सुनाई रहेका होलान् आफ्ना नानीहरुलाई
माछाले कान हल्लाएको कथा
अर्थात,
धेरै तल
तातो तातो पोखरीमा
माथी माथी सर्ने
ठूलाठूला इन्डियन माछाहरु
उभोतिर ढमरढुस्स बसिरहेका
अजङ्गका यूरोपियन कुरहरुमा घुस्दा
हल्लन्छ कान
र,
धर्ती हल्लाउँदै
आउँछ भूइँचालो,
फेरि नानीहरुले
सोधी रहेका होलान् आमालाई
"माछाले कान कहिले हल्लाउँछ आमा ?"
र, आमाहरु
उसैगरी भनिरहेका होलान्
"धेरै तल पातालको कुरा
कसरी थाहा हुन्छ र मान्छेलाई ?"
सायद देशले,
दायलुङको वरिपरि
राखेर पूर्खा
प्रकृतिका रङ्गहरु
साकेलामा खुट्याउने
र,
भूइँचालोको कथा भित्र
बिज्ञान पढाउने
मेरो आमालाई भन्दा
दैबलाई महान
र,
ज्योतिषलाई सर्वोपरी नठानेको हुन्थ्यो भने
यो बर्षको भूइँचालोले
मच्याउने थिएन पक्कै
यत्रो विध्वंस नेपालमा ।
शब्दार्थ:
छेवर : किरात राई समुदायमा छोरालाई टोपी दिने कर्म
दायलुङ : किरात चाम्लिङ राईहरुमा आफ्ना पूर्खाहरु स्मरण गर्ने/बस्ने ठाउँ, चुल्हा
साकेला : प्रकृतिको संकेत
कुर: माछा बस्ने ढुङ्गाको ओडार