Sunday, July 12, 2015

छोरीलाई शुभकामना, जन्म दिनको

यतिबेला
घुर्यानभरि मकैको बोट/ सिमसारमा धानको बिऊ
नचाउँदै कलिला पात हावामा...
माथी...माथी
बादलका स-साना टुक्राहरुमा
छेलिन्दै निस्किन्दै
उभै उभै
बेग हानिरहेको कर्याङकुरुङ देखेर
उचालिन्दैछ दिनरात
जमिनभन्दा माथि-माथी
र,
छोरी तिमी पनि
चढ्दै छौ आजै देखि
उमेरको अर्को खुट्किलो ।

यो बेला
घरै छेउको बाँस झ्याङमा बसेर
'कुक्कु' खेल्न हाजिर छ कोइली
कोठेबारीमा मग्मगाउँदैछ इन्द्रकमल
मट्याङ्ग्रा बाट्दैछन् सुन्तला बोट
चल्ला हुर्काउँदैछ आरुको रूख
ऐना टल्काउँदैछ पानी-पँधेरो
चिर्दै सन्नाटा ढोल र झ्याम्टाले
गाउँदैछ निरन्तर स्यामुना भाका
नाच्दैछन् सिली तोयामा-खियामा
केवल तिम्रो जन्मोत्सवमा ।
हो हामी
प्रकृतिलाई पर राखेर
कुनै अलौकिक शक्तिलाई नस्विकार्ने
एउटा आदिम जाती
निभाएर बलेको दियो
काटेर एक डल्लो केक
ताली पड्काउँदै
ह्याप्पी बर्थ डे टु यू
अहँ यसो भन्न जान्दैनौ पनि
र,
मान्दैनौ पनि ।
त्यसैले
उनै प्रकृतिको
गाउँदै महिमा रिसियामा
टाढैबाट भनिरहेछु
छोरी 'सिम्मा'
जन्म दिनको शुभकामना ।

भूइँचालो र आदिवासी आमाको कथा

जमिन मुनि
धेरै तल
ठूलो पोखरी छ...
र,
पोखरीमा छन्
ठूलाठूला माछाहरु
जब ती माछाहरुले
हल्लाउँछन् आफ्ना दुई कान
र,
आउँछ भूइँचालो धर्तिमा
हो,
यहि कथा
सुनाई रहँदा मलाई आमाले
छिमेकतिर दौंतरीहरु
पूजा गरिरहेका थिए भगवानको।

ओढेर अलिकती अनुहारमा
डरको घुर्मैलो घुम्टो
सोधें आमालाई
'आमा माछाले कहिले कान हल्लाउँछ' ?
छेवर पर्खिरहेको जुम्सिलो मेरो केस मुसार्दै
भन्नू भो आमाले-
"त्यो त कसरी थाहा पाउनु र छोरा
धेरै तल पातालको कुरा"
अर्को दिन थाहा भो,
छिमेकमा दौंतरीहरुलाई
भनेछन् तिनका आमाहरुले
ज्योतिषीले हेरेर ग्रह-नक्षेत्र
पत्ता लागाउँछन् भूइँचालो आउने दिन ।
यसपाली,
दसौं हजारको छिनेर जीवन
बिसौं हजारलाई पारेर घाइते
लाखौंको झारेर आँसु
करोडौंलाई बनाएर त्रसित
ढालेर धरहरा
भत्काएर घर
पुरेर इतिहास
नामेट पारेर सभ्यता
गयो भूकम्प नेपालमा ।
सायद यतिबेला
भूइँचालोले त्रस्त बालबालिका
आमाको काखमा बसेर
सोधिरहेका होलान् उसैगरी
"आमा भूइँचाल कसरी आउँछ ?"
र,
प्रत्येक आमाहरु
सुम्सुम्याउँदै जुम्सिला कपाल
सुनाई रहेका होलान् आफ्ना नानीहरुलाई
माछाले कान हल्लाएको कथा
अर्थात,
धेरै तल
तातो तातो पोखरीमा
माथी माथी सर्ने
ठूलाठूला इन्डियन माछाहरु
उभोतिर ढमरढुस्स बसिरहेका
अजङ्गका यूरोपियन कुरहरुमा घुस्दा
हल्लन्छ कान
र,
धर्ती हल्लाउँदै
आउँछ भूइँचालो,
फेरि नानीहरुले
सोधी रहेका होलान् आमालाई
"माछाले कान कहिले हल्लाउँछ आमा ?"
र, आमाहरु
उसैगरी भनिरहेका होलान्
"धेरै तल पातालको कुरा
कसरी थाहा हुन्छ र मान्छेलाई ?"
सायद देशले,
दायलुङको वरिपरि
राखेर पूर्खा
प्रकृतिका रङ्गहरु
साकेलामा खुट्याउने
र,
भूइँचालोको कथा भित्र
बिज्ञान पढाउने
मेरो आमालाई भन्दा
दैबलाई महान
र,
ज्योतिषलाई सर्वोपरी नठानेको हुन्थ्यो भने
यो बर्षको भूइँचालोले
मच्याउने थिएन पक्कै
यत्रो विध्वंस नेपालमा ।
शब्दार्थ:
छेवर : किरात राई समुदायमा छोरालाई टोपी दिने कर्म
दायलुङ : किरात चाम्लिङ राईहरुमा आफ्ना पूर्खाहरु स्मरण गर्ने/बस्ने ठाउँ, चुल्हा
साकेला : प्रकृतिको संकेत
कुर: माछा बस्ने ढुङ्गाको ओडार

भूइँचालो गीत

भूइँचालोले लुट्यो दाजै जिन्दगीको खुशी
आशा जति रित्तै पार्यो, पीडा दियो झुसी
...
घर ढाल्यो, आफन्तको ज्यानै लुटी लग्यो
रगत र आँसुको भेल नदि सरि बग्यो
जताततै चली रै'छ आज रुवाबासी
भूइँचालोले लुट्यो दाजै जिन्दगीको खुशी
आशा जति रित्तै पार्यो, पीडा दियो झुसी
वर्षा लाग्यो कहाँ बस्ने, के खाएर बाँच्ने ?
फर्किएर के आउला खै ती दिन खेल्ने हाँस्ने
मर्ने जति मरी गए, बाँच्नेलाई भो सास्ती
भूइँचालोले लुट्यो दाजै जिन्दगीको खुशी
आशा जति रित्तै पार्यो, पीडा दियो झुसी ।

कोको म्हेन्दो, संगुल थेन राहत

Translet in Tamang language : Sanchu Blon Tamang
सरकार १
जाबो गोरगिक पाल

थेन,
छाक ङि म्ल्हालदा
ओर्बान दुङालकादे
ट्वाइबान हार्गेलाबा पोर
दाराप्सि लामरि
लि स्युल ताबान
क्यामेराला क्लिकदेन देप्पान
संगुललिच्च्छाला सिबासेम
कप्पादा अपमान थेन निराशा
ताजि, आखा ङा
राहत ठाबा ग्लारि ।
सायद चु बिपत,
ग्रेन विपत हिन्ना, स्यान्दोला मिरि
तसाइ, पुस्तौंहेन्से
राज्यसे जब्बरजस्ती कप्पा अप्राकृतिक
चु बिमा ग्रेन, ल्हानान ग्रेन विपतकादे नासि
सोबान खाबा ङा ‘कोको म्हेन्दो’
संगलला लिक्पाकादेसे
फुप्साइननोन दिम
ब्यान्साई दिमथेमे
बोर्बा आरे सार्पा अझन
माबा आरे ग्याम अझान
ङा चुनोन साप्रारि
राप्नालाखाम्ला ह्राङला आस्था
चुनोन ग्यामरि
ब्राना लाखाम्ला बिश्वास
कि, कमिसनला कसीरि म्याप्सि
ज्युइबा थे पालबिमा
ङालन ख्रिनला ग्रेसिङ कुङ्ला
थिमा ब्यामा
तोर लामा–मार हुर्मा
कुम्मा–न्हेप्मा
ब्ला माबा थे म्ल्हाबिमा
ङालन धाराला क्युइ ल्हाना पोषिलो मुला ।
हिन्ना सरकार,
चु बर्खा ङाच्छान
राप्तोसेला मुला गोरगिक ब्राङ
ह्योल्तोसेला मुला थेच्यार थेन होन
स्होतोसेला मुला फुप्पा आंगा
लुतोसेला मुला पोगोलकादे
थेन,
फुइना लासि ज्याबा म्हाङला पुवा
क्यातोसेला मुला हिलोरि
चु ङाला गे
ङा ह्राङनोन लाखाम्ला
थेतासि,
चु चटारो ख्लासि
फोस्नोन दिन निना आला
आखा राहातला मिनरि
अर्कु दुङाल ताबारि ।
सरकार १
पिन्सेलान हिन्साम,
ङाला आख्खेम्हेमेला ब्यान्बा ङोसेबा
दोसि पिन्गो, छार ह्युलठिमरि
थेन,
थेलिच्छा
ङा ह्राङनोन स्होला
ङाला ताम्सालिङ
कात्तामान ग्रेन संगुलसेनोन
ध्वस्त आताबा ङा कुह्राङ्बान
खाइमाइ आह्याल्बा ङाला ‘कोको म्हेन्दो’ ह्राङ्बान ।

सरकार १
जाबो गोरगिक पाल

थेन,
छाक ङि म्ल्हालदा
ओर्बान दुङालकादे
ट्वाइबान हार्गेलाबा पोर
दाराप्सि लामरि
लि स्युल ताबान
क्यामेराला क्लिकदेन देप्पान
संगुललिच्च्छाला सिबासेम
कप्पादा अपमान थेन निराशा
ताजि, आखा ङा
राहत ठाबा ग्लारि ।
सायद चु बिपत,
ग्रेन विपत हिन्ना, स्यान्दोला मिरि
तसाइ, पुस्तौंहेन्से
राज्यसे जब्बरजस्ती कप्पा अप्राकृतिक
चु बिमा ग्रेन, ल्हानान ग्रेन विपतकादे नासि
सोबान खाबा ङा ‘कोको म्हेन्दो’
संगलला लिक्पाकादेसे
फुप्साइननोन दिम
ब्यान्साई दिमथेमे
बोर्बा आरे सार्पा अझन
माबा आरे ग्याम अझान
ङा चुनोन साप्रारि
राप्नालाखाम्ला ह्राङला आस्था
चुनोन ग्यामरि
ब्राना लाखाम्ला बिश्वास
कि, कमिसनला कसीरि म्याप्सि
ज्युइबा थे पालबिमा
ङालन ख्रिनला ग्रेसिङ कुङ्ला
थिमा ब्यामा
तोर लामा–मार हुर्मा
कुम्मा–न्हेप्मा
ब्ला माबा थे म्ल्हाबिमा
ङालन धाराला क्युइ ल्हाना पोषिलो मुला ।
हिन्ना सरकार,
चु बर्खा ङाच्छान
राप्तोसेला मुला गोरगिक ब्राङ
ह्योल्तोसेला मुला थेच्यार थेन होन
स्होतोसेला मुला फुप्पा आंगा
लुतोसेला मुला पोगोलकादे
थेन,
फुइना लासि ज्याबा म्हाङला पुवा
क्यातोसेला मुला हिलोरि
चु ङाला गे
ङा ह्राङनोन लाखाम्ला
थेतासि,
चु चटारो ख्लासि
फोस्नोन दिन निना आला
आखा राहातला मिनरि
अर्कु दुङाल ताबारि ।
सरकार १
पिन्सेलान हिन्साम,
ङाला आख्खेम्हेमेला ब्यान्बा ङोसेबा
दोसि पिन्गो, छार ह्युलठिमरि
थेन,
थेलिच्छा
ङा ह्राङनोन स्होला
ङाला ताम्सालिङ
कात्तामान ग्रेन संगुलसेनोन
ध्वस्त आताबा ङा कुह्राङ्बान
खाइमाइ आह्याल्बा ङाला ‘कोको म्हेन्दो’ ह्राङ्बान ।

कोको मेहेन्दो, भूइँचालो र राहत

सरकार !
जाबो एउटा पाल
र,...
दुई छाक चामलको लागि
बल्झाएर पीडाहरु
खोतलेर खाटा बस्दै गरेको घाउ
उभिएर ठिङ्ग लाइनमा
लाउँदै न्याउरो अनुहार
क्यामेराको क्लिकसँग साट्दै
भूइँचालोपछिको उदाशी
थाप्नु अपमान र निराशा
भो आउँदिन म
राहत बितरण केन्द्रमा ।

सायद यो बिपत्ति,
महाबिपत्ति हो अरुको नजरमा
परन्तु, पुस्तौंदेखि
राज्यबाट जब्बरजस्ती लादिएका अप्राकृतिक
योभन्दा कयौं ठूला बिपत्तिहरु खेपेर
बाँच्दै आएको म "कोको मेहेन्दो"
भूँइचालोको धक्काहरुले
भत्काए पनि घर
खोसे पनि आफन्त
लुटिएको छैन माटो अझै
हराएको छैन बाटो अझै
म यही माटोमा-
उभ्याउन सक्छु आफ्नो आस्था
यही बाटोमा-
हिँडाउन सक्छु बिश्वास
कि, कमिसनको कसीमा घोटिएर
दुब्लाएको त्यो पालभन्दा
मेरै बाँसको भाटा बन्धिलो छ
उचाल्दा-पछार्दा
चढाउँदा-झार्दा
चेप्ट्याउँदा-नेप्ट्याउँदा
सातो हराएको त्यो चामलभन्दा
मेरै धाराको पानी बढी पोसिलो छ ।
हो सरकार,
यो वर्षा अगावै
ठड्याउनु छ एउटा छाप्रो
कटाउनु छ बलेसी र भल
बनाउनु छ भत्केका गह्रा
पुर्नु छ खाल्डाहरु
र,
उमारेर बियाडेमा सुन्दर सपना
गाड्नु छ हिलोमा रोपो
यी मेरा काम
म आफै गर्न सक्छु
त्यसैले,
यो चटारो छोडेर
बित्थैमा दिन बिताउँन
आउँदिन राहतको नाममा
अर्को आहात थाप्न ।
सरकार !
यदि दिने नै हो भने
मेरो पूर्खाले गुमाएको सान र पहिचान
फर्काई दिनुस् नयाँ संविधानमा
र,
त्यसपछि
म आफै बनाउँला
मेरो ताम्सालिङ
जतिसुकै ठूलो भूइँचालोले पनि
ध्वस्त नहुने मेरो छाती जस्तै
कहिल्यै नओईलाउने मेरै "कोको मेहेन्दो" जस्तै ।
शब्दार्थ :
कोको मेहेन्दो: टोटोलाको फूल, जुन फूललाई तामाङ समुदायमा अति पवित्र र महत्वपूर्ण वस्तुको रुपमा प्रयोग गरिन्छ ।

Muktak

सीताहरुले अग्नि परिक्षा दिनु पर्छ
र, सङ्घार ननाघी भिक्षा दिनु पर्छ
तर राम-लक्षमणहरुलाई हरेक जन्ममा
सुपर्णखालाई मृग देख्ने दीक्षा दिनुपर्छ

पहाडी गाउँ र प्यारालाइसिस जिन्दगी

हरियो पासपोर्टको कन्दनीमा
बाँधेर लङ्गौटी सपना...
नौजवानहरु परदेश लागेपछि
अचेल गाउँ स्वादे भएको छ ।

ऊ च्याँख्ला रुचाउँदैन
ढिंडो र आँटो पचाउँदैन
दाँतमा अल्झाएर गुन्द्रुकको त्यान्द्रा
टपरी सिन्कासँग हरेक छाक लाप्पा खेल्नु भन्दा
खच्चडको पिठ्युँमा चढेर आएको मुसुरी दाल
र,
हात्तीब्राण्ड चामलको भात
असाध्यै जातीमान्छ
पहाडी गाउँहरु अचेल ।
मकै भटमास
पिँडालु र सुठुनी
उसिनेको फर्सी र स्कुस
या,
सेतीकोदोको बाबरभन्दा
ठ्वाँस्स हकुवा गन्हाउने चिउरा
र,
डेट एक्सपायर चाउचाउको खाजा
मन पराउँछन् पहाडी गाउँहरु ।
भदौको लुँडी जोतेर
तोरी छर्ने तन्नेरीहरु नभएपछि
अलपत्र छ आँगनको भित्तोमा कोल
र,
मक्किन्दैछ फुईले फुर्लुङ
तर पनि
झानिएकै छन् हरेक साँझ-बिहान
मदेशबाट पहाड उक्लेको तेलमा
दिराम र रिङ्गिटहरु ।
खनिन्दैनन् चितुको जरा अचेल
टिपिन्दैनन् भिमसिनपातीको फूल
ताछिदैनन् ओखरको बोक्रा
र,
पाक्दैनन् तामे भाँडामा कोदोको दाना
माटोको घैला रित्तै भए पनि
छपनी फुस्रै रहे पनि
चाडपर्वमा मात्नलाई गाउँघर
"कन्नेअर्थमा" राख्न चिण्डो
वा,
माइती लानलाई कोसेली
थरीथरी ब्राण्डका
हिव्स्की, बियर र रक्सीले
भरिएका छन् दोबाटोका पसलहरु ।
हो अचेल, पहाडका गाउँहरु
तन्नेरी बिहिन भएपछि
अल्छे र स्वादे भएको छ
उमारेर घुर्यानमा बनमारा
पाखोबारीमा फुलाएर बुकी फूल
सिमखेतमा हल्काएर हलहले
रेमिट्यान्सको सहारामा बाँची रहेछ
प्यारालाइसिस जिन्दगी ।
शब्दार्थ :
स्वादे : मिठासे, मीठो मात्र खान रुचाउने
जातीमान्छ : राम्रोमान्छ, मनपराउँछ
सुठुनी : सक्खरखण्ड
सेतीकोदो : दाना सेतो भएको एक प्रकारको कोदो
बाबर : कोदो वा चामलको पिठो पन्यालो गरि मुछेर तेलमा पकाएको एकप्रकारको रोटी
हकुवा : चिसो अन्नबाली भकारीमा राख्दा ढुसी परेर गन्हाउने एक नमिठो गन्ध
लुँडी : बाक्लो झारपात वा झारपातको बिटो
कोल : तोरी पेल्ने घरेलु औजार
फुई : ढुसी
फुर्लुङ : कोलमा तोरी पेल्दा तोरीको फुला राख्ने बाँसको चोयाको सानो भाँडो
चितुको जरा : एकप्रकारको झारको जरा, जो जाँडमा लगाउने मर्चा बनाउन प्रयोग हुन्छ ।
भिमसिनपातीको फूल र ओखरको जरा : यी दुबै चितुझैँ मर्चा बनाउन प्रयोग गरिन्छ ।
कन्नेअर्थ : किरात राई समुदायमा बिहेको लागि केटी माग्न जाने कार्य ।
हल्हले : सिम, पानी बग्ने ठाउँ आदिमा उम्रने एकप्रकारको साग जस्तै बनस्पति ।

भोकको‬ आर्थशास्त्र

श्रमजीविहरु,
कहिल्यै भोका हुँदैनन्
किनकि,...
उसको भोक मेट्न
सधैं हाजिर छ प्रकृति
बस् उसले
पाखुरी चलाए पुग्छ ।

तर ठिक उल्टो शासकहरु
कहिल्यै अघाएका हुँदैनन्
किनकी,
उसको पेट-प्रकृति बिपरित
र,
पाखुरी-प्रकृति विरुद्ध
चलिरहेको हुन्छ सँधैभरि
त्यसैले
घुस, कमिसन र भ्रष्टाचारको भाग
सधैं सधैं शासककै भागमा पर्ने गर्दछ ।

प्रतीक्षा

खडेरीले खङ्ग्रङ्ङ भएको धर्ती मुनि
बसेर महिनौ बेखबर
एक साँझ हिउँदे मनसुन भुइँ झर्दा ...
धमिराको बाटो पछ्याउँदै
भुरुरु निस्किएको छिछिमिरा खुसी
निमेषमै पखेटा गुमाएर
धर्तिमै फर्किनु परेपछि
अचेल,
च्याउ पलाउने आशमा
भदौरे झरी पर्खिरहेछ ।

लाटोकोसेरो मन र अँध्यारोको खोजी

जून फूलेको रात
हराउँछन् प्रिय ताराहरु
र,...
छक्याउँछ समयले,
आफ्नै आँखामा सूर्य बालिरहेका
लाटोकोसेरो मनहरुलाई
त्यसैले त म अचेल
अँध्यारोको खोजीमा
परदेशी भएको छु ।

इन्डोन फूल

हनिमूनबाट फर्किएकै रात
मृत्युको लाहाछाप लाएर आएको सुनामीले
अलग्याएर धूनबाट बाँसुरी...
पुर्याउँछ रिङ्गिटको देशमा
त्यसैले त हरेक साँझ
अतृप्त रागहरु अलाप्दै
लेकाली मालिङ्गोका बाँसुरीहरु
रोइरहन्छन् निरन्तर
इन्डोन फूलको बगैंचा भित्र ।

ब्रम्हप्रसाद, म र देश

पसेर 'नो हलाल' लेखिएको दोकानमा
ङिच्च हिमाल हाँसिरहेको
पौराणिक डोजरको एक किलो ज्यान...
चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर
युद्ध जितेको सिपाहीको रवाफमा
ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन्
र,
देशले दलित मानेको
परदेशको सदाबहार भान्से, दमाई कान्छोलाई
अह्राउँछन् फ्राइपिनमा जात भुट्न ।

यता म,
"हलाल" लेखिएको होटलमा
प्रत्येक साँझ छिर्छु
र,
काउण्टरमा अर्डर गर्छु
देशले खान प्रतिबन्धित गरेको "लम्बुकरी"
जोसँग मेरो संस्कृती जोडिएको छ ।
तर देश,
चिल्साले खाइसकेको मुलुकी ऐन पल्टाएर
अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको महल ब्यूँताउँदै
म गोरु खाने किरातीहरुलाई जेल हाली
मेरै खोरको पुँडी सुङ्गुर ढालेर
बिजयोत्सव मनाई रहेछ
तिनै ब्रम्हप्रसादहरुसँग ।
शब्दार्थ :
हलाल : मुस्लिमहरुले खान वा प्रयोग गर्न मिल्ने भनी दिएको मान्यताप्राप्त चिन्ह ।
लम्बुकरी : गाई-गोरुको मासुको तरकारी

अर्ग्यानिक रक्सी र श्रीमति

जो हरेक साँझ
भरेर काँचको ग्लासमा उन्नमत्त बैँस
ढल्फल ढल्फल गर्दै नजिक आउँछिन्...
र,
बेसर्म जोडेर ओंठमा ओंठ
रित्याई दिन्छिन् निमेषमा
दिनभरीको थकाई र तनाबहरु ।

जो,
पाहुनापाछा आउँदा
वा,
खेतालापात लाउँदा
उस्तै हार्दिकता
उस्तै आत्मियता
र,
उस्तै सहृदयताले
आफूलाई सेवामा खटाउँछिन् संधै संधै ।
जो,
माइती-मावली जाँदा/आउँदा
हाट बजार धाउँदा
वा,
कन्ने अर्थमा सायरेम्मा उभ्याउँदा
संधै अघिअघि
संधै हाँसीखुसी ।
जो,
शुभकार्यमा/मरौपरौमा
पित्री/प्रकृति पूजामा
झगडामा/मिलापत्रमा
साहु-आसामीमा
घोटमा/ भेटमा
जता पनि उनकै नाम
जता पनि उनकै काम।
हो यस्ती,
गुणै गुणले भरिएकी
फूलै फूलले सजिएकी
अर्ग्यानिक प्रियसीलाई छोडेर
यो परदेशमा/शहरमा
अचेल हाइब्रीड सायाङको साया पछ्याउँदै
पैशा सिध्याईरहेछु
बैँस रित्याईरहेछु ।
शब्दार्थ :
कन्ने अर्थ (चाम्लिङ) : किरात चाम्लिङ राई संस्कार अनुसार कन्या केटी माग्ने काम
सायरेम्मा (चाम्लिङ) : शिर उभ्याउनी
घोट (चाम्लिङ) : नरनातामा कोही मरेपछि मृतकको काजकिरिया नगर्दै समवेदना जाहेर गर्न जाने काम ।
सायाङ (मलायू) : प्रियसी

के म चुप बस्न सकूँला ?

म जन्मिएको साल
पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम
सरकारको बहिखातामा...
र,
तीन बर्षसम्म
बेखबर हुर्किरहें ।

चार बर्षको उमेरमा
पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि
कलिलो पाखुरामा गाडेर तिखो सूई
दादुराको दर्द मिश्रित खोप
चुपचाप सहें ।
पाँचबर्ष टेकेपछि
बिद्यालयको हाजिर खातामा चढ्यो नाम
र, भाग पाएँ
लामो फल्याकको एक फिट बर्गाकार क्षेत्र
जहाँ फिँजाएर धुलोमाटो
बाँसको सिन्काले लेख्दै–मेट्दै गरिरहें
खर्ल्याङखुट्टी अक्षरहरु ।
छैटौं बर्ष लाग्नै आँट्दा
साँवा अक्षरमा थपेर
बाह्रखरीको चर्को ब्याज
हेडमास्टरलाई बुझाएपछि
झुत्रो किताब थमाईयो हातमा
र, त्यसपछि
घोकिरहें सुखद भविश्यका
धुर्मैलो अभिप्साहरु ।
हरेक महिना तिरियो फी
हरेक बर्ष किनियो नयाँ किताब
कक्षा चढ्दै गएपछि
गिदी भर्दै गएपछि
फेरियो पाठसाला
फेरिए पाठ्यक्रमहरु
र,
चर्कोचर्को स्वरमा गाईयो
महाराजाहरुको आत्मश्लाघा ।
हरेक दशकमा
टिपाएँ गणकलाई नाम र थर
नसोधी लेखिदियो भाषा र धर्म
नापी आयो र नाप्यो आवादी
छुट्यो संधैलाई खर्क र पर्ती
घुर्यानैमा गाडियो पानीको पायप
धुरी सामुन्ने टाँगियो बिजुकीको तार
रेम्मातुङ मेटियो र बन्यो सामुदायिक बन
वालाखा पुरियो र ठडियो हिटी धारा ।
फेरिए सरकारहरु
फेरियो राज्य व्यवस्था
रेडियो नेपालले फुकेको समाचारमा
जनताको जीत भयो भन्ने सुनेपछि
उफ्रिएँ आँगनमा एकोहोरो
जिन्दाबादको नारा लगाउँदै ।
उमेर पुगेपछि,
रहरले पालेको जुल्फीलाई
ढाकाटोपीले घ्वाम्लाङ्ग छोपेर
दुवैकान सर्लक्क देखिएको
स्यामश्वेत तस्बिर खिचीवरी
नागरिकताको लागि दिएँ निवेदन रितपूर्वक
र,
धनीपूर्जामा उत्रिएपछि नाम
हरेक आर्थिक बर्षमा
बुझाई रहें तिरो राज्यलाई ।
हरेक चुनाबमा,
घरको भित्तोभरि टाँसियो रङ्गीबिरङ्गी पोष्टरहरु
थामाईए हातमा अपिल र घोषणापत्र
उनीहरुले भनेकै कुरा पत्याएँ
उनीहरुले चिनाएकै चिन्ह रोजें
र,
एकभारी सपनाहरु पोको पारेर
बाकसको सानो प्वालबाट खसाली दिएँ ।
बिहे गरेपछि,
लजाई लजाई छिरियो स्वास्थ्य चौकी
ओसारियो अस्थायी साधनको प्याकेट
जँचाईयो श्रीमतिको गर्भ
लगाईयो पूर्ण खोप
र,
जन्मिएपछि छोरी सिम्मा
खुवाईयो पोलियो, भिटामिन र जुकाको दबाई
अनि छोरा म्हैपाको आगमनसँगै
छिनाईयो एउटा नशा
जहाँबाट बग्ने छैन कहिल्यै
पुरुष हुनुको घमण्ड अब ।
चर्पी खनियो
चुला फेरियो
मार्सी धान फल्ने खेतमा
स्क्याभेटरलाई दाह्रा–नङ्ग्रा गाड्न दिईयो
थरिथरीका संस्था आए
समुहमा बसियो
बचत गरियो
बिऊ दिए–रोपियो
गोबरमललाई छोप भन्यो–छोपियो
जे जे उर्दी जारी भो
जम्मै मानियो
जम्मै गरियो ।
पासपोर्ट बनाईयो
भिषा लाग्यो
बन्धकी राखेर साहु कहाँ–
बाबुआमाको दुःख
श्रीमतिको हाँसो
र ,
छोराछोरीको आँशु
लागियो पर......देश
बोकेर अनन्त जिजीबिषाहरु ।
र आज,
सुरक्षा पोष्टको साँघुरो कुनामा कोच्चिएर
निकाल्दैछु जिन्दगीको हिसाब किताब
कि राज्यले ममाथि गरेको सबै प्रयोग
म माथि थोपरेको सबै बाध्यता
शासित हुनुको नाताले चुपचाप माने
परन्तु,
मेटेर बिभेदका रेखाहरु
पहिचानको क्यानभाष भित्र
नयाँ नेपालको तस्बिर कोर्ने बेला
अनाम मण्डलहरुको मण्डलीमा
धतुरो उमार्ने प्रयत्न हुँदैछ भने
के म फेरि चुप बस्न सकूँला र ?
किरात चाम्लिङ राई शब्दको शब्दार्थः
रेम्मातुङ : चिहानघारी
वालाखा : पानीपँधेरो
सिम्मा : ठूली छोरी
म्हैपा : ठूलो

हामी

१)
हामी,
सबैभन्दा तल बस्छौं...
र,
बादलले घाम छेक्यो भन्दै
बजाईरहन्छौं अबिराम शोक धुन ।

२)
हामी,
उर्बर माटोमा
फलामे डन्डी रोपेर
कंक्रीट बस्ती उमारी रहेछौं
र,
नौजवानहरु
बेचेर बालुवाको देशमा
आई फोन भित्र्याई रहेछौं ।
क्रमशः

फूल सौन्दर्य

एउटा फूल
चुँडिएर सुकोमल हातहरुले
कुनै सुन्दरीको शीरमा सजिएपछि...
बोटतिर फर्किएर खिसी गरिरहन्छ
बोटका अरु फूलहरुलाई ।

जब साँझ ढल्दै जान्छ
दिनभरको घामले वैलिएर
चुर्नाले खाएको भालेको सिउर जस्तै
लात्राङ-लुत्रुङ त्यही फूल
उही सुकोलम हातहरुले
जब्बरजस्ती समातिएर
झुसिल्किरा झैं हुत्याईन्छ डसबिनमा
र,
त्यसपछि त्यो फूल
बोटमा हुनुको सौन्दर्य सम्झिएर
आत्महत्या गर्छ त्यही रात ।

मृत ईश्वरको नाममा

जब मन्दिरबाट,
जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै
क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ्...
र, म
चेतनालाई छोपेर ढुकढुकीले
रामनाम जपिरहन्छु ।

जब चर्चको आँखी झ्यालहरुबाट
फुत्त-फुत्त निस्किएर झन्कार संगीतको
फैलिएर हावाको तरङ्गमा
पातहरुलाई नचाउन थाल्छ
र, म
एक जोडा बन्द आँखा भित्र
क्राइस्ट चियाउँछु ।
जब मज्जिदहरुको भित्तोमा
छरेर उसै-उसै स्निग्ध हिमाल
प्रत्येक प्रहर अल्लाह चिच्याउँछ
र, म
गुमाएर आफ्नो आकार
मोहम्मद उभिरहन्छु ।
जब गुम्बाका मानेहरुमा
घुमी रहन्छ "ॐ मनि पद्मे हुँ" सँगै
जीवनका अनगिन्ती रङ्गहरु
र, म
टुक्रिएर अहंसँग
बुद्ध बाँचिरहन्छु ।
तर जब,
धर्मको शब्दजाल भित्र
बुनेर प्रत्येकले माकुरो सत्ता
एउटाले अर्कोलाई गलत देख्छ
एउटाले अर्कोलाई दुस्मन ठान्छ
र म,
नित्सेलाई पछ्याउँदै घोषणा गर्छु
यहाँ ईश्वर मरेर मान्छे भित्र.....
...मात्र सैतान बाँची रहेछ ।

घाम, तारा र सम्बन्ध

ताराहरु,
बादलको खास्टो ओढेर
संसाझैँ निदाउन् भातेनिन्द्रा...
वा,
चुहिएर आकाशबाट एक-एक गर्दै
हराउन् सून्यमै बेखबर
के मतलब मान्छेलाई ?
मात्र,
जून हराएको मौका छोपेर
ढकमक्क फूल्दा वा ! भन्नू बाहेक ।

परन्तु,
करोडौं करोड पिण्डहरुको बीचमा
उसैगरी झुन्डिएको एउटा घाम
सधैं-सधैं गाली खान्छ मान्छेको
सधैं-सधैं ताली खान्छ मान्छेको ।
त्यसैले,
घामलाई हेरेर यसो भन्न सकिन्छ
कि, गाली र ताली पाउन तातो हुनुपर्छ
कि, आफ्नै आफन्तको सातो हुनुपर्छ ।

गीत


सारा संसार जितेर पनि, आफ्नै माटोमा हामी हारेछौं
मरुभूमिमा शहर उठाई, आफ्नै आँगनलाई बाँझो पारेछौं ।
...
मोती ठानेर टिपी नै रह्यौं, पानीको फोका सधैं अञ्जुलीमा
भत्कायौं धेरै पहाड साम्राज्यका, राखेर घरमा बिभेदको सीमा
राखेर ज्यान हत्केला बीच, अरुलाई मात्रै पारी तारेछौं
सरा संसार.........

ओढेर पनि सधैं खुल्ला आकाश, बन्यो किन यति दृष्टि साँगुरो
यहीँ स्वर्ग झार्ने सामर्थ्य थ्यो हाम्रो, सुख-समृद्धिको टेकी चुचुरो
विवेक छिर्ने हरेक गोरेटोमा, अहं उचाली बार बारेछौं