Sunday, July 12, 2015

के म चुप बस्न सकूँला ?

म जन्मिएको साल
पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम
सरकारको बहिखातामा...
र,
तीन बर्षसम्म
बेखबर हुर्किरहें ।

चार बर्षको उमेरमा
पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि
कलिलो पाखुरामा गाडेर तिखो सूई
दादुराको दर्द मिश्रित खोप
चुपचाप सहें ।
पाँचबर्ष टेकेपछि
बिद्यालयको हाजिर खातामा चढ्यो नाम
र, भाग पाएँ
लामो फल्याकको एक फिट बर्गाकार क्षेत्र
जहाँ फिँजाएर धुलोमाटो
बाँसको सिन्काले लेख्दै–मेट्दै गरिरहें
खर्ल्याङखुट्टी अक्षरहरु ।
छैटौं बर्ष लाग्नै आँट्दा
साँवा अक्षरमा थपेर
बाह्रखरीको चर्को ब्याज
हेडमास्टरलाई बुझाएपछि
झुत्रो किताब थमाईयो हातमा
र, त्यसपछि
घोकिरहें सुखद भविश्यका
धुर्मैलो अभिप्साहरु ।
हरेक महिना तिरियो फी
हरेक बर्ष किनियो नयाँ किताब
कक्षा चढ्दै गएपछि
गिदी भर्दै गएपछि
फेरियो पाठसाला
फेरिए पाठ्यक्रमहरु
र,
चर्कोचर्को स्वरमा गाईयो
महाराजाहरुको आत्मश्लाघा ।
हरेक दशकमा
टिपाएँ गणकलाई नाम र थर
नसोधी लेखिदियो भाषा र धर्म
नापी आयो र नाप्यो आवादी
छुट्यो संधैलाई खर्क र पर्ती
घुर्यानैमा गाडियो पानीको पायप
धुरी सामुन्ने टाँगियो बिजुकीको तार
रेम्मातुङ मेटियो र बन्यो सामुदायिक बन
वालाखा पुरियो र ठडियो हिटी धारा ।
फेरिए सरकारहरु
फेरियो राज्य व्यवस्था
रेडियो नेपालले फुकेको समाचारमा
जनताको जीत भयो भन्ने सुनेपछि
उफ्रिएँ आँगनमा एकोहोरो
जिन्दाबादको नारा लगाउँदै ।
उमेर पुगेपछि,
रहरले पालेको जुल्फीलाई
ढाकाटोपीले घ्वाम्लाङ्ग छोपेर
दुवैकान सर्लक्क देखिएको
स्यामश्वेत तस्बिर खिचीवरी
नागरिकताको लागि दिएँ निवेदन रितपूर्वक
र,
धनीपूर्जामा उत्रिएपछि नाम
हरेक आर्थिक बर्षमा
बुझाई रहें तिरो राज्यलाई ।
हरेक चुनाबमा,
घरको भित्तोभरि टाँसियो रङ्गीबिरङ्गी पोष्टरहरु
थामाईए हातमा अपिल र घोषणापत्र
उनीहरुले भनेकै कुरा पत्याएँ
उनीहरुले चिनाएकै चिन्ह रोजें
र,
एकभारी सपनाहरु पोको पारेर
बाकसको सानो प्वालबाट खसाली दिएँ ।
बिहे गरेपछि,
लजाई लजाई छिरियो स्वास्थ्य चौकी
ओसारियो अस्थायी साधनको प्याकेट
जँचाईयो श्रीमतिको गर्भ
लगाईयो पूर्ण खोप
र,
जन्मिएपछि छोरी सिम्मा
खुवाईयो पोलियो, भिटामिन र जुकाको दबाई
अनि छोरा म्हैपाको आगमनसँगै
छिनाईयो एउटा नशा
जहाँबाट बग्ने छैन कहिल्यै
पुरुष हुनुको घमण्ड अब ।
चर्पी खनियो
चुला फेरियो
मार्सी धान फल्ने खेतमा
स्क्याभेटरलाई दाह्रा–नङ्ग्रा गाड्न दिईयो
थरिथरीका संस्था आए
समुहमा बसियो
बचत गरियो
बिऊ दिए–रोपियो
गोबरमललाई छोप भन्यो–छोपियो
जे जे उर्दी जारी भो
जम्मै मानियो
जम्मै गरियो ।
पासपोर्ट बनाईयो
भिषा लाग्यो
बन्धकी राखेर साहु कहाँ–
बाबुआमाको दुःख
श्रीमतिको हाँसो
र ,
छोराछोरीको आँशु
लागियो पर......देश
बोकेर अनन्त जिजीबिषाहरु ।
र आज,
सुरक्षा पोष्टको साँघुरो कुनामा कोच्चिएर
निकाल्दैछु जिन्दगीको हिसाब किताब
कि राज्यले ममाथि गरेको सबै प्रयोग
म माथि थोपरेको सबै बाध्यता
शासित हुनुको नाताले चुपचाप माने
परन्तु,
मेटेर बिभेदका रेखाहरु
पहिचानको क्यानभाष भित्र
नयाँ नेपालको तस्बिर कोर्ने बेला
अनाम मण्डलहरुको मण्डलीमा
धतुरो उमार्ने प्रयत्न हुँदैछ भने
के म फेरि चुप बस्न सकूँला र ?
किरात चाम्लिङ राई शब्दको शब्दार्थः
रेम्मातुङ : चिहानघारी
वालाखा : पानीपँधेरो
सिम्मा : ठूली छोरी
म्हैपा : ठूलो

No comments:

Post a Comment