Sunday, July 12, 2015

पहाडी गाउँ र प्यारालाइसिस जिन्दगी

हरियो पासपोर्टको कन्दनीमा
बाँधेर लङ्गौटी सपना...
नौजवानहरु परदेश लागेपछि
अचेल गाउँ स्वादे भएको छ ।

ऊ च्याँख्ला रुचाउँदैन
ढिंडो र आँटो पचाउँदैन
दाँतमा अल्झाएर गुन्द्रुकको त्यान्द्रा
टपरी सिन्कासँग हरेक छाक लाप्पा खेल्नु भन्दा
खच्चडको पिठ्युँमा चढेर आएको मुसुरी दाल
र,
हात्तीब्राण्ड चामलको भात
असाध्यै जातीमान्छ
पहाडी गाउँहरु अचेल ।
मकै भटमास
पिँडालु र सुठुनी
उसिनेको फर्सी र स्कुस
या,
सेतीकोदोको बाबरभन्दा
ठ्वाँस्स हकुवा गन्हाउने चिउरा
र,
डेट एक्सपायर चाउचाउको खाजा
मन पराउँछन् पहाडी गाउँहरु ।
भदौको लुँडी जोतेर
तोरी छर्ने तन्नेरीहरु नभएपछि
अलपत्र छ आँगनको भित्तोमा कोल
र,
मक्किन्दैछ फुईले फुर्लुङ
तर पनि
झानिएकै छन् हरेक साँझ-बिहान
मदेशबाट पहाड उक्लेको तेलमा
दिराम र रिङ्गिटहरु ।
खनिन्दैनन् चितुको जरा अचेल
टिपिन्दैनन् भिमसिनपातीको फूल
ताछिदैनन् ओखरको बोक्रा
र,
पाक्दैनन् तामे भाँडामा कोदोको दाना
माटोको घैला रित्तै भए पनि
छपनी फुस्रै रहे पनि
चाडपर्वमा मात्नलाई गाउँघर
"कन्नेअर्थमा" राख्न चिण्डो
वा,
माइती लानलाई कोसेली
थरीथरी ब्राण्डका
हिव्स्की, बियर र रक्सीले
भरिएका छन् दोबाटोका पसलहरु ।
हो अचेल, पहाडका गाउँहरु
तन्नेरी बिहिन भएपछि
अल्छे र स्वादे भएको छ
उमारेर घुर्यानमा बनमारा
पाखोबारीमा फुलाएर बुकी फूल
सिमखेतमा हल्काएर हलहले
रेमिट्यान्सको सहारामा बाँची रहेछ
प्यारालाइसिस जिन्दगी ।
शब्दार्थ :
स्वादे : मिठासे, मीठो मात्र खान रुचाउने
जातीमान्छ : राम्रोमान्छ, मनपराउँछ
सुठुनी : सक्खरखण्ड
सेतीकोदो : दाना सेतो भएको एक प्रकारको कोदो
बाबर : कोदो वा चामलको पिठो पन्यालो गरि मुछेर तेलमा पकाएको एकप्रकारको रोटी
हकुवा : चिसो अन्नबाली भकारीमा राख्दा ढुसी परेर गन्हाउने एक नमिठो गन्ध
लुँडी : बाक्लो झारपात वा झारपातको बिटो
कोल : तोरी पेल्ने घरेलु औजार
फुई : ढुसी
फुर्लुङ : कोलमा तोरी पेल्दा तोरीको फुला राख्ने बाँसको चोयाको सानो भाँडो
चितुको जरा : एकप्रकारको झारको जरा, जो जाँडमा लगाउने मर्चा बनाउन प्रयोग हुन्छ ।
भिमसिनपातीको फूल र ओखरको जरा : यी दुबै चितुझैँ मर्चा बनाउन प्रयोग गरिन्छ ।
कन्नेअर्थ : किरात राई समुदायमा बिहेको लागि केटी माग्न जाने कार्य ।
हल्हले : सिम, पानी बग्ने ठाउँ आदिमा उम्रने एकप्रकारको साग जस्तै बनस्पति ।

No comments:

Post a Comment