Sunday, July 12, 2015

कोको मेहेन्दो, भूइँचालो र राहत

सरकार !
जाबो एउटा पाल
र,...
दुई छाक चामलको लागि
बल्झाएर पीडाहरु
खोतलेर खाटा बस्दै गरेको घाउ
उभिएर ठिङ्ग लाइनमा
लाउँदै न्याउरो अनुहार
क्यामेराको क्लिकसँग साट्दै
भूइँचालोपछिको उदाशी
थाप्नु अपमान र निराशा
भो आउँदिन म
राहत बितरण केन्द्रमा ।

सायद यो बिपत्ति,
महाबिपत्ति हो अरुको नजरमा
परन्तु, पुस्तौंदेखि
राज्यबाट जब्बरजस्ती लादिएका अप्राकृतिक
योभन्दा कयौं ठूला बिपत्तिहरु खेपेर
बाँच्दै आएको म "कोको मेहेन्दो"
भूँइचालोको धक्काहरुले
भत्काए पनि घर
खोसे पनि आफन्त
लुटिएको छैन माटो अझै
हराएको छैन बाटो अझै
म यही माटोमा-
उभ्याउन सक्छु आफ्नो आस्था
यही बाटोमा-
हिँडाउन सक्छु बिश्वास
कि, कमिसनको कसीमा घोटिएर
दुब्लाएको त्यो पालभन्दा
मेरै बाँसको भाटा बन्धिलो छ
उचाल्दा-पछार्दा
चढाउँदा-झार्दा
चेप्ट्याउँदा-नेप्ट्याउँदा
सातो हराएको त्यो चामलभन्दा
मेरै धाराको पानी बढी पोसिलो छ ।
हो सरकार,
यो वर्षा अगावै
ठड्याउनु छ एउटा छाप्रो
कटाउनु छ बलेसी र भल
बनाउनु छ भत्केका गह्रा
पुर्नु छ खाल्डाहरु
र,
उमारेर बियाडेमा सुन्दर सपना
गाड्नु छ हिलोमा रोपो
यी मेरा काम
म आफै गर्न सक्छु
त्यसैले,
यो चटारो छोडेर
बित्थैमा दिन बिताउँन
आउँदिन राहतको नाममा
अर्को आहात थाप्न ।
सरकार !
यदि दिने नै हो भने
मेरो पूर्खाले गुमाएको सान र पहिचान
फर्काई दिनुस् नयाँ संविधानमा
र,
त्यसपछि
म आफै बनाउँला
मेरो ताम्सालिङ
जतिसुकै ठूलो भूइँचालोले पनि
ध्वस्त नहुने मेरो छाती जस्तै
कहिल्यै नओईलाउने मेरै "कोको मेहेन्दो" जस्तै ।
शब्दार्थ :
कोको मेहेन्दो: टोटोलाको फूल, जुन फूललाई तामाङ समुदायमा अति पवित्र र महत्वपूर्ण वस्तुको रुपमा प्रयोग गरिन्छ ।

No comments:

Post a Comment