Sunday, July 12, 2015

अर्ग्यानिक रक्सी र श्रीमति

जो हरेक साँझ
भरेर काँचको ग्लासमा उन्नमत्त बैँस
ढल्फल ढल्फल गर्दै नजिक आउँछिन्...
र,
बेसर्म जोडेर ओंठमा ओंठ
रित्याई दिन्छिन् निमेषमा
दिनभरीको थकाई र तनाबहरु ।

जो,
पाहुनापाछा आउँदा
वा,
खेतालापात लाउँदा
उस्तै हार्दिकता
उस्तै आत्मियता
र,
उस्तै सहृदयताले
आफूलाई सेवामा खटाउँछिन् संधै संधै ।
जो,
माइती-मावली जाँदा/आउँदा
हाट बजार धाउँदा
वा,
कन्ने अर्थमा सायरेम्मा उभ्याउँदा
संधै अघिअघि
संधै हाँसीखुसी ।
जो,
शुभकार्यमा/मरौपरौमा
पित्री/प्रकृति पूजामा
झगडामा/मिलापत्रमा
साहु-आसामीमा
घोटमा/ भेटमा
जता पनि उनकै नाम
जता पनि उनकै काम।
हो यस्ती,
गुणै गुणले भरिएकी
फूलै फूलले सजिएकी
अर्ग्यानिक प्रियसीलाई छोडेर
यो परदेशमा/शहरमा
अचेल हाइब्रीड सायाङको साया पछ्याउँदै
पैशा सिध्याईरहेछु
बैँस रित्याईरहेछु ।
शब्दार्थ :
कन्ने अर्थ (चाम्लिङ) : किरात चाम्लिङ राई संस्कार अनुसार कन्या केटी माग्ने काम
सायरेम्मा (चाम्लिङ) : शिर उभ्याउनी
घोट (चाम्लिङ) : नरनातामा कोही मरेपछि मृतकको काजकिरिया नगर्दै समवेदना जाहेर गर्न जाने काम ।
सायाङ (मलायू) : प्रियसी

No comments:

Post a Comment