Tuesday, December 30, 2014

नेपाली राजदुतावासमा कविको बकबक


ए ! हजुर नमस्कार
म नारथुङे...
र,
उनी नुरहालिजा ।

सायद यहाँलाई भ्रम पर्न सक्छ
कि, कवितामा सधैं सधैं
पहिचान भनेर चिच्याईरहने
त्यो अन्धजातिवादी कवि
एउटी पराई केटीसँग
दुतावासमा ?
हो,
जात, भाषा, धर्म, संस्कृति नमिल्ने
र,
राष्ट्रियताको सीमारेखाले अलग बनाएको
एउटी पराई केटीसँग
सम्बन्धको वैधानिक प्रमाणपत्र माग्न
उपस्थित भएको छु आज ।
लाग्ला,
नारथुङे फेरियो
या,
पागल बन्यो प्रेममा ?
अपितु,
म उही नारथुङे
हिजो जे थिएँ
उस्तै छु आज
र,
उस्तै रहने छु
भोली पनि ।
भ्रम,
दुविधा,
अन्तरविरोध,
अन्यौल
अरे कवि ज्यू
यो के नाटक ?
सायद हजुर यहि भन्न चाहनु हुँदैछ,
एक छिन महासय !
पहिला मै कुरो टुङ्ग्याउँछु ।
यी पराई केटीको हात समाएर
हजुरको अगाडि उभिरहँदा म
जरुर,
घृणाको पात्र बनिरहेको छु अहिले ।
किनकी,
आफ्नो जातभन्दा,
धर्मभन्दा,
रङ्गभन्दा,
भाषाभन्दा,
संस्कृतिभन्दा,
र,
राष्ट्रियताभन्दा परकाहरु
सबै पराई नै हुन्छन्
र, पराई
कहिल्यै आफ्ना हुँदैनन्
पराईको जात,
पराईको धर्म,
पराईको भाषा,
पराईको संस्कृति,
पराईको भेषभूषा
पराईको लवाईखुवाई
पराईको चालचलन,
पराईको मनोविज्ञान,
पराईको अधिकार,
सबै–सबै
कि सानो हुन्छ
कि त गलत
त्यसैले त शक्तिमा रहेकाहरुले
रातारात सम्राट घोषणा गर्छन् आफैलाई ।
के मेरो देश त्यस्तो छैन ?
जहाँ सयभन्दा बढी जात
त्योभन्दा धेरै भाषा
आधा दर्जन बढि धर्म
धेरै–धेरै संस्कृति
धेरै–धेरै भेषभूषा
धेरै–धेरै चालचलन
धेरै–धेरै मनोविज्ञान
धेरै–धेरै आनिबानी
खै कता हरायो ?
राष्ट्रको क्यानभासमा त देखिन्न नी ?
हजुर,
अरुलाई पैतालले कुल्चिएर
एउटालाई मात्र थाप्लोमा चढाउँदा राज्यले
घर भित्रै शरणार्थी भएको छ—
घेरै बोली,
धेरै धर्म,
धेरै संस्कृति,
धेरै भेष–भूषा
धेरै रहनसहन
धेरै सभ्यता,
धेरै इतिहास,
धेरै मनोविज्ञान
...मात्र शरणार्थी ।
आफ्नै देशमा शरणार्थी भएको मान्छेले
कसरी गाउँन सक्छ राष्ट्रको महिमा ?
‘अरे ! यो त राष्ट्रियता विरोधी आवाज’—
आरोप यसरी पनि लाग्न सक्छ ।
परन्तु,
राज्यको नजरमा
जबसम्म समान हुँदैनन् नागरिकहरु
तबसम्म खोक्रो हुन्छ राष्ट्रियता
र,
सबैको पहिचान नस्विकारेसम्म राज्यले
केवल समानताको नारा
देखाउने दाँत मात्र हुन्छ हात्तिको
त्यसैले त भनिरहेको छु, पटकपटक
पहिचान—जिन्दाबाद ।
अर्को कुरा
आधुनिक नेपाल बन्नुभन्दा
हजारौं बर्ष अगाडिबाट
अस्थित्वमा रहेको नामलाई मेटेर
कथित नामहरुलाई स्थापित गर्नु
पहिचान पूर्ण रुपमा मेट्नु हो हजुर ।
र,
अन्तिम पटक म यति भन्दैछु
कि,
जहाँ स्थापित हुन्छ सबैको पहिचान
त्यहाँ कायम हुन्छ समानता
बढ्छ प्रेम,
छोटिन्छ दुरी,
मेटिन्छ खत,
भुलिन्छ विगत
र,
वर्तमानमा सबै सबै
नुरहालिजा र म जस्तै
बाँधिन्छौं केवल मायामा
महामहिम ज्यू !
अब बोल्ने पालो हजुरको
के उनी नेपाल की बुहारी बन्न सक्लिन् ?

Thursday, December 25, 2014

गजल


हरियो राहदानी, बाँडी रहेछ सरकार
अरपे जिन्दगानी, बाँडी रहेछ सरकार
...
गराई हस्ताक्षर, मृत्यु पत्रमा कठै !
राष्ट्रका नौ जवानी, बाँडी रहेछ सरकार

दलाली अघि सारी, धन्दा चलाई आफै
अमूल्य हिरा खानी, बाँडी रहेछ सरकार

बनाई जनतालाई, कुल्ली, भरिया, पाले
विश्वको कुनाकानी, बाँडी रहेछ सरकार

खन्याई अँखोरामा, मोही भनेर आज
आँशु हो की या पानी, बाँडी रहेछ सरकार ।

गजल


 जो धर्मको सहारा लिएर, गर्दैछ राजनीति
होसियार ! धरापमा अब, पर्दैछ राजनीति

छिन्नभिन्न भएपछि यहाँ, प्रगतिशिलहरु...
अपराधीहरुको हातमा, सर्दैछ राजनीति


चढ्नु थियो त्यसले चुचुरो, नूतन सभ्यताको
आज बाटो बिराई ओह्रालो, झर्दैछ राजनीति

लुकाएर उज्यालो त्यो ज्योती, कालो बादल भित्र
नेपालमा दिउँसै अँध्यारो, छर्दैछ राजनीति

कसैलाई गन्दैन कसैले, सडक र सदनमा
पक्कै असफलताको श्रेय, धर्दैछ राजनीति

नयाँ पुस्ता सचेत भएर, नउठे एकपल्ट
जरुर यो देशमा तत्कालै, मर्दै छ राजनीति ।

गजल


पसिनाको धारो छुट्यो परदेशैमा
अभागीको भाग्य फुट्यो परदेशैमा
...
आफन्तैले ठगेपछि देश छोड्दा
जिन्दगीको आशै टुट्यो परदेशैमा

घर फिर्छु भन्दा भन्दै बर्षौं वित्यो
समयले बैश लुट्यो परदेशैमा

रोग बढ्यो, शोक गड्यो, मनै भित्र
नियतीले चुट्नु चुट्यो परदेशैमा

आशा जति भइगए टाढा–टाढा
निराशा र पीडा जुट्यो परदेशैमा

अरपेको यही कथा लेख्न भनी
नारथुङे आज उठ्यो परदेशैमा

अरपे र सपनाहरु


अरपेहरुसँग
कुनै ठूलो सपना हुँदैन ।
...
बोकेर ठूलै मान्छेको परिचय
डलरको देशमा ओर्लिएपछि
केही वर्ष लुकेर/छिपेर
ग्रिनकार्ड पाउने महान सपना
अहँ हुँदैन अरपेहरुसँग ।
हङकङमा, बेलायतमा
पाएर आवाशिय भिषा
उतै घरजम गर्ने,
सन्तान जन्माउने/हुर्काउने/बढाउने/पढाउने
र,
त्यही देशको सम्मानित नागरिक बनाउने
झरिलो/भरिलो सपना
अहँ हुँदैन अरपेहरुसँग ।
पढेर इन्टिच्यूटमा नौलो भाषा
दिएर परिक्षा भाग्यको
पास गरेर जिजीविषाहरु
इपिएस् मार्फत कोरिया पुगेपछि
चिसो हिउँसँग पौंठेजोरी खेल्दै
राजधानीमा घर ठड्याउने
महंगो सपनाहरु
अहँ हुँदैन अरपेहरुसँग ।
दाँत फुक्लिसकेका/केश पाकिसकेका
आँखा भासी सकेका/छाला टाँसी सकेका
जन्मदाताहरुलाई
छोडेर एक्लै गाउँमा
हिटलरको ग्याँस च्याम्बरबाट उम्केका
यहुदी बा–आमालाई स्याँहारी
थापेर सेवाको सगुन
देश फर्किएपछि
जोडेर शहरमा घर–जग्गा
विताउनु आनन्दमयी जीवन
हो, यस्तो नौरङ्गी सपनाहरु पनि
हुँदैन अरपेहरुसँग ।
राज्यले थमाएको हरियो पासपोर्ट,
श्रम विभागले स्वीकृत गरेको मृत्यु पत्र,
म्यानपावरले ल्याप्चे लाएको झुटो कागज,
प्रियसीका केही थान तस्विरहरु
र,
तिरेर साहुको ऋण
उकासेर बन्धकी जग्गा
जोडेर हलगोरु
असारमा चढेर दाँतेमाथि
सरररर...हुई, भन्दै
आफ्नै जमिनमा रोपाइँ गर्ने
घुर्मैलो आकांक्षाभन्दा
अरु कुनै चम्किला सपनाहरु
हुँदैन अरपेहरुसँग ।
त्यसैले त अरपेहरु
सहेर अपमान
चपाएर निन्द्रा
भुलेर भोक
खेपेर विछोडको पीडा
नमानेर थकाई
नसम्झेर राज्यको उपेक्षा
नहारेर जिन्दगीसँग
विताई रहेछन् अरवमा/मलायामा
आधुनिक दाशहरुको
अरपे समयहरु ।

‘हलो सरकार’


हलो सरकार !
म अरपे/ मलायाबाट.....।
भन्नु पर्ने धेरै कुराहरुछन्...
तर सरकारलाई सुन्ने फर्सद छैन
त्यसैले एउटै मात्र अनुरोध गर्दैछु
कृपयाः झर्को नमानी दिनुहोला ।

मध्य रातमा ब्यूँझेर
नारायणहिटी अर्थात भूत घरको पश्चिम गेटमा
जाबो हरियो पासपोर्टको आवेदन बुझाउन
उभिँदा उभिँदा फतक्कै गलेका गोडाहरुको कथा
अहँ आज सरकारलाई सुनाउँदिन ।
यो मलायामा आउन
सरकारले नै तोकी बक्सेको
पचहत्तर हजार शुल्कमा
झण्डै डेढ गुणाबढी रकम थपेर
म्यान पावरलाई बुझाए पनि
सम्झौता अनुसारको तलब नपाएको
अरपेहरुको दारुण गीत
अहँ आज म गाउँदिन ।
निस्लोट ज्वरोले थलिएको बेला
कम्पनीको म्यानेजर आएर ओछ्यानमा
तथानाम गाली गर्दै
ड्यूटी सम्हाल्न निर्देशन दिइरहँदा
सरकार अमेरिका र सिङ्गापुरमा
उपचार गराई रहनु भएको थियो
हो, त्यस्तो बेला
कहीँ कतै मन चसक्क दुख्दो रहेछ
तर त्यो दखाईको पीडा
आज सरकारको अगाडि पोख्दिन ।
कहिले काँही खै के हुन्छ ?
काम गर्दा–गर्दा तन थाक्छ
भने जस्तो हुँदैन–मन थाक्छ
अरु त केही थिएन,
तर जब सम्झन्छु सानी छोरीको निर्दोश अनुहार
नोस्टाल्जियाले हुरुक्कै बनाउँछ
हो, यस्तो बेला/सरकारले आफन्तहरुलाई
पद पजनी गरिरहेको समाचार सुनेर
म अलिकती बहुलाउँछु
र,
पिई दिन्छु नाइन्टी नाइनको केही क्वाटर
भोली पल्ट ड्यूटी जान नसक्दा
कम्पनी मालिक कोठामै आएर
लात्तैलात्तले भकुरेपछि
जिऊ थिल्थिल्तो भएको कहानी
अहँ आज सरकारलाई सुनाउँदिन ।
हरेक महिना, थापेर केही सय रिङ्गिट
खान मनलागेको, नखाई
किन्न मनलागेको, नकिनी
देश पठाए पनि/म अरपेलाई
खै कसले सम्झियो र ?
आर्थिक बर्षहरु फेरिए
फेरिए, नीति र नियमहरु
थपिए नयाँ कार्यक्रम
तर म अरपेको लागि
कतै बोलिएन बजेट भाषण
हो त्यसबेला,
मैले कमाउनुको अर्थै नदेखेपछि
बोलाएँ खोलापारीकी कान्छीलाई
र, बेह्रिएर बैशालु अङ्गालोमा बिताएँ रुमानी रात
तर सरकार/यी घटनाहरुको फेहरिस्त
फुकाउने छैन आज ।
कम्पनी छोडेर भाग्नु पर्ने विवसता
सुतेका सुतेकै भएकाहरुको अवस्था
हिंड्दा हिंड्दै लुटिएकाहरुको कथा
विना गल्ती कुटिएकाहरुको ब्याथा
अहँ सरकारलाई सुनाउदिन आज ।
हलो सरकार !
म अरपे /मलायाबाट
आज एउटै अनुरोध गर्दैछु
कि, अस्ति भरखर सरकारले किनी बक्सेको
नयाँ कारको प्लेट नम्बर
प्रष्ट देखिएन फोटोमा
कृपयाः पत्रकार साथीलाई
फेरि, खिचेर एकपटक फोटो
फेसबुकमा अपलोड गर्न भनिदिनु होला
किनकी,
त्यो नम्बरलाई काटेर ‘टो टो’
पल्टाउनु छ भाग्यको पासा
यो अरव अर्थात मलायामा ।
शब्दार्थ ः
टो टो ः एक प्रकारको चिट्ठा जस्तो खेल

लाहुरे र अरपे समय


उसबेला, ...
वास्तवमै मर्न पठाईएका थिए
लाहुरेहरुलाई ।

कि, गोत्र हत्या गरेर प्राप्त गरेको
जहानिया खुनी सत्ता टिकाउन कै लागि
गरेर विट्रिससँग जनघाती सम्झौता
निश्चित जातिका युवाहरुलाई
ललाई फकाई भर्ति गरेर गोर्खा पल्टनमा
पठाईएको थियो फगत मार्न र मर्न ।
अफशोंच,
बन्चरोले मुढा मात्र ताकेन
फर्कियो घुँडा तिर ।
मर्नेहरु मरेर गए÷फर्केनन्
बाँच्नेहरु फर्कि आए÷बोकेर चेतना
र,
निस्किए पूर्व–पश्चिमबाट
भत्काउँदै राणाहरुको किल्ला
ढलाउँदै इतिहासको पर्खाल
साँच्चै त्यो बेला,
मर्न पठाईएका लाहुरेहरु
साँच्चै मरेका हुन्थे भने
भुत्रोको ढल्थ्यो राणा शासन !
र, अहिले
उसैगरी मर्न पठाईएका छौं
पचासौं लाख अरपेहरु
टाँसेर हरियो पासपोर्टमा
राष्ट्रको निरिह निशानाछाप ।
हो, मरिनै रहेका छौं अरपेहरु
अरबमा/मलायमा ।
परन्तु, मृत्यु
जीवनको अन्त्य होइन
नयाँ चेतनाको विकास हो
त्यसैले त भत्कदैछन् यहाँ मान्यताहरु
संस्कार, संस्कृति, चिन्तन र व्यहारहरु
कला, साहित्य, संगीत र दर्शनहरु
इतिहास र सत्ताको परिभाषा पनि ।
हो उसबेला,
लाहुरेहरुको रगतसँग साटिएको डलर
सात पुस्तालाई पुग्ने गरि कुम्लायो राणाले
र,
अहिले अरपेहरुको पसिनाले भिजेको दिनार/दिराम/रिङगिट माथि
लगाएर अदृश्य कर
बढाएर महंगी,
मागेर चन्दा,
खाएर घुस,
असुलेर कमिसन
स्वानीलाई पोटिकोट किनी रहेकाछन्
लोकतन्त्रका कथित हिंजडा शासकहरु ।
ओ अरपे...!
के हेरेर बस्दैछौ ?
लाटाले पापा हेरे जस्तै.....
कि मन्त्री बन्ने इच्छा छ ?
यदि त्यसो हो भने जाऊ जुलुस लगाऊ
दिउँसै राँको बाल
सडकमा तेर्साउ टाएर
झोस आगो
र,
कुद्दै गरेको गाडीलाई रोकेर
फोड शिशाहरु.....
होइन भने उठ पूर्व–पश्चिमबाट
लाहुरेहरुले जस्तै बोल धावा किल्लाहरुमा
भत्काउ निरन्तरताको पर्खालहरु
र,
निर्माण गर आत्मनिर्भर अर्थतन्त्र सहितको
झरिलो सङ्घीय गणतन्त्र नेपाल ।

निरिहता


बाह्र घण्टे ड्यूटी सकेर...
कोठा फर्कनको लागि
सडकको पेटी नापिरहँदा होस्
वा,
पासार मालाममा
सस्तो तरकारी किनेर
दुई हातमा प्लाष्टिक झोला झुण्ड्याउँदै
मेट्रो बस पर्खिरहँदा होस्
कसैले, ‘ओराङ माना ?’ भनेर सोध्यो भने
म नेपाली हुँ भन्न सक्दिन ।

महिनाको एकपटक
थापेर पसिनाको मूल्य
घर पठाउनको लागि
रेमिट्यान्स भएको ठाउँ पुग्न
ट्याक्सी चढेको बेला होस्
वा,
भरखरै नेपालबाट आएका आफन्तलाई भेट्न
ऊ बसेकै ठाउँ गइरहँदा
ठेगाना पत्तो नलागेपछि
कसैलाई सोध्दा—उल्टै
‘ओराङ माना ?’ भन्यो भने
‘साया ओराङ नेपाल’—
अहं म यसो भन्न सक्दिन ।
बाटोमा,
पार्कमा,
दोकानमा,
होटलमा,
बस स्टेशनमा,
र,
बस भित्रै पनि
कतै कालो अनुहारको मान्छे देख्न साथ
मनमा ढ्याङ्ग्रो बज्न थाल्छ, ढ्याङ...ढ्याङ.....
हो, यस्तो बेला,
कसैले फोन गरेर
नेपाली नबोली देओस्
र,
कसैले ‘ओराङ माना’ भनेर
नसोधी देओस् ।
हो, यस्तै बेला
म नेपाली हुँ भने भने
लुटिन सक्छु,
कुटिन सक्छु
र, थोरै प्रतिकार मात्रै गरें भने
वा, कराएँ भने
धारिलो हतियारले घोपिन सक्छु
फलामे तिखो सुईरोमा रोपिन सक्छु
ज्यान जान के बेर ?
हिजो,
मेरै पूर्खाहरुले नाम सुवास फैलाएको ठाउँमा
आज,
आफ्नै देशको नाम उच्चारण गर्न नसक्ने भएको छु
ओ सरकार ?
मलाई कसले बनायो यति निरिह ?

मलेसियामा छापिएको पहिलो लेख


  सन् २००५÷मलेसियामा आएपछि मैले लेखेको पहिलो लेख श्रम साप्ताहिकमा पठाएँ÷छापियो पनि । कवितामा ‘नारथुङे’ लेखिसकेको थिएँ तर सो लेख वास्तविक नामबाटै छापियो । शिर्षक अहिले बिर्सें तर लेख एच.आई.भि. एड्स सम्बन्धि थियो ।
नेपाल हुँदै खुब सुनेको हो–मलेसियामा कोठाको ढोका अगाडि महिलाको चप्पल राख्नुपर्छ । अझै केहीले यसो पनि भनेका थिए—काम गरेकै ठाउँमा कार लिएर केटीहरु लिन आइपुग्छन् । मलेसिया आइपुगेपछि थाहा भयो—सुनेका सबैकुरा सत्य होइन रहेछन् । तर नेपाली यूवाहरुको यौन जीवन यहाँ स्वतन्त्रतापूर्ण थियो र जोखिम पनि उत्तिकै ।
कम्पनीमा सँगै काम गर्ने पुराना साथीहरुको मुखबाट प्रशस्तै सुनी सकेको थिएँ—यौनविक्री कक्ष र त्यहाँ भेटिने यौवनाहरुको बारेमा । उनीहरुले भनेका कति कुरा काल्पनिक जस्तै लाग्थ्यो । अझ तेश्रो लिङ्गीको कथा त कुनै अर्कै लोकको पो हो कि भन्ने भान हुन्थ्यो । हामीसँगै आएको भोजपुरतिरका साथी एक दिन पुगेछ—पुराना मित्रको लहैलहैमा लागेर त्यो ठाउँ । ऊ अलिक उट्पट्याङ खालको थियो, त्यसैले लुकाएन कुनै कुरा । उसले सुनायो—कण्डम प्रयोग अनिवार्य रहेछ वेश्यालयहरुमा । केही विश्वस्त भएँ म । तर कुरो त्यहाँ मात्र टुङ्गिन्दैन थियो । काम गर्न आएका इन्डोनेशियन, बर्मिज, फिलिपिनो, कम्बोडियनदेखि स्थानीय तामिल र मलायूसम्मलाई सायाङ बनाएर यौन तृप्ती पूरा गर्दै आएका हजारौं नेपालीहरु के सबैले कण्डम प्रयोग गर्लान् त ? यिनै प्रश्नहरुले जेलिरहेको बेला कोही–कोहीले एच.आई.भी. प्रभावित नेपालीहरुको दुःखान्त कथाहरु पनि सुनाए । उनीहरु यसै भन्थे—फलनालाई एड्स लागेर यस्तो भो–उस्तो भो । एच.आई.भी. प्रभावित हुनु र एड्स हुनु फरक कुरो हो भन्ने जानकारी प्रायः कसैमा नदेखिएपछि उक्त लेख लेख्न म वाध्य भएको थिएँ ।
पोखराका पूर्व नगर उपप्रमुख विश्वमोहन गौचनको अग्रसरतामा पूर्व राज्यमन्त्री लक्षवहादुर गुरुङ, उद्योगपति गणेशवहादुर श्रेष्ठ, पृथ्वी नारायण क्याम्पसका तात्कालिन क्याम्पस प्रमुख महेन्द्रभूषण थापा लगायत मिलेर एड्स रोग नियन्त्रण संघ काँस्की गठन गरेका थिए । सो संस्थामा आस्था र म स्वयंसेवकको रुपमा जोडिन पुग्यौं । र, हामी सक्रिय भएर धेरै कार्यक्रमहरु सम्पन्न गर्यौं पनि । खासगरि उच्च मा.वि.मा पढ्ने विद्यार्थीहरु, आमा समूह, केश काट्ने नाई र लागू औषध प्रयोगकर्ताहरु प्रति लक्षित हुन्थ्यो हाम्रो कार्यक्रम । तात्कालिन जनस्वास्थ्य कार्यालय कास्कीकी प्रमुख मैयादेवी रञ्जितकार, नर्सिङ क्याम्पस पोखराकी प्रमुख लालकुमारी गुरुङ, पालुवा परामर्श केन्द्रका प्रमुख विश्व राई, लगायतका व्यक्तिहरु परामर्श दाताको रुपमा हरेक कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
एच.आई.भी. एड्स र लागू औषधको क्षेत्रमा काम गर्ने केही संस्थाहरु पोखरामा रहे पनि एड्स रोग नियन्त्रण संघ कास्कीको बेग्लै भूमिका थियो । संस्था स्वयं पनि स्वयंसेवककै रुपमा र पदाधिकारी लगायत हामी जम्मै स्वयंसेवक नै थियौं । कार्यक्रम गर्न जिल्ला विकास समिति, उपमहानगर पालिका र केही उद्योगपतिहरुबाट सहयोग जुटाउथ्यौं । सहयोग जुटाउने क्रममा प्रस्ताव–पत्र बोकेर धेरै पटक जिल्ला विकास समिति कास्की र पोखरा उपमहानगर पालिकाको ढोका ढक्ढक्याउन म स्वयं पुगेको छु । तात्कालिन जिविस सभापति कमलमान गुरुङ र उपमहानगर प्रमुख स्व. हर्कवहादुर गुरुङको सहयोग स्मरणीय छ ।
पोखरा उपमहानगर पालिका वडा नं ९ स्थित बास्तोला चौकको एक पार्टी प्यालेसमा एक दिन विशेष कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको सञ्चालन म आफै गर्दै थिएँ । प्रमुख अतिथि कसलाई बनाउने भनेर अध्यक्ष विश्वमोहन गौचन र मेरो अघिल्लो दिन सल्लाह भएको थियो । विषेश कार्यक्रम भएको हुनाले धेरै जनाको नाम लिइयो तर कुनै नाममा सन्तुष्ट हुन सकेनौ हामी । अन्तमा मैले त्यो कार्यक्रमका लक्षित व्यक्तिलाई नै प्रमुख अतिथि बनाउने प्रस्ताव गरें । दुई जनाको सल्लाह अनुसार आस्थालाई समेत सुइँको दिइएन । कार्यक्रम शुरु भो, सभापतिको आसन ग्रहण गराएँ र क्रमैसँग अतिथिहरुलाई पनि । तर मञ्चमा प्रमुख अतिथि थिएनन् । आस्थाले मलाई कोट्यायो र प्रमुख अतिथिलाई किन आसन ग्रहण नगराएको भनेर संकेत गर्यो तर म चुपचाप अगाडि बढें । आसन ग्रहण सकियो, ब्याच वितरण भयो र स्वागत मन्तब्य सकेपछि स्टेजमा आनन्द आलेलाई बोलाएँ । एच.आई.भी. संक्रमितहरु मध्ये पहिलो पल्ट राजिव काफ्ले सार्वजनिक भएका थिए नेपालमा । र, आनन्द आले कास्कीको पहिलो ब्यक्ति । आनन्द लगायतको प्रेरणाले एच. आई. भी. संक्रमित अर्को ब्यक्ति सार्वजनीक हुने कार्यक्रम थियो त्यहाँ तर ती ब्यक्ति को थिए, कमैलाई मात्र जानकारी थियो । करिब तीन सय मानिसको उपस्थिति रहेको त्यो हलमा मैले अप्सरा कोइरालाको नाम लिएँ र मञ्चमा बोलाएँ । सुकोमल अनुहार भएकी बाइस बर्षिया तरुनीको मञ्चमा उपस्थिती रोमाञ्चक मोडमा पुग्यो । धेरैले अप्सरालाई कुनै सामाजिक कार्यकर्ताको रुपमा बुझे तर यर्थातता भिन्न थियो । उनी त्यही मञ्चमा उभिएर एच.आई.भी. संक्रमित छु भनेर घोषणा गर्दै थिइन् । माइक्रोन फोन अप्सरालाई थमाएर म स्टेजबाट केही पर उभिएँ, उनी बोल्न थालिन्....विस्तारै हल भावसून्य हुँदै गयो । इन्डियामा जागिर खान गएका श्रीमान्को कारणले म एच.आई.भी संक्रमित भएँ भन्ने शब्द अप्सराको मुखबाट निस्कन साथ हल पूरै स्तब्ध..... । अझ उनैले खोलिन्—विवाह पूर्व नै श्रीमान् एच.आई.भी. संक्रमित भएको र संक्रमित हुँ भन्ने थाहा हुँदाहुँदै पनि विवाह गरेको तितो यर्थातता । अहो ! यस्तो घटना ? हलमा छायो सून्यता, भरियो सबैको आँखा आँशुले तर म उद्घोषको कर्तब्यमा बाँधिएको मुलाङ, मनमा उर्लिरहेको भावनाको भेललाई विचारको तटबन्ध लगाएर मञ्चमा उभिएँ र अप्सराले जिम्मा लगाएको माइक्रोफोनलाई हातमा लिएर आनन्द र अप्सरालाई प्रमुख अतिथिको आसन ग्रहण गर्न अनुरोध गरें । उनीहरु दुवै जनाले सल्काए दुई मैन बत्ति र फुकाए पछाडि झुण्डिरहेको ब्यानर । भावनालाई बिचारको तटबन्ध लगाए पनि विचारले आँधी चलाई रह्यो मनमा, जेन–तेन कार्यक्रम सञ्चालन गरें । र, त्यस दिन पछि आफूमा अझै दायित्व थपिएको बोध भयो ।
एच.आई.भी एड्स र लागू औषध दुर्वेसनीको विषयमा दीपेन्द्र सभागृहमा केही दोहोरी गीत प्रतियोगिता, उच्च मा.वि स्तरीय निवन्ध लेखन प्रतियोगिता, नि.मा.वि. स्तरीय चित्रकला प्रतियोगिता हुँदै मुख–पत्र प्रकाशनको अभियानमा जुट्यौं÷सम्पन्न गर्यौं । लेख संकलन, सम्पादन र तात्कालिन स्वास्थ्य मन्त्री अशोकुमार राईको शुभकामना लिन स्वास्थ्य मन्त्रालयसम्म पुग्ने जाँगर चल्यो । कलिला नानीहरुले एच.आई.भी एड्स र लागू औषध बारे कोरेका चेतनामूलक चित्रहरुको तीन दिने प्रर्दशनीमा स्वास्थ्य मन्त्रीको सहभागिता लगायतको कार्यक्रम सम्पन्न गर्ने कार्यहरुमा सहभागितासँगै एच.आई.भी एड्स र लागू औषध दुर्वेशनीको बारेमा जान्ने, बुझ्ने अवसर प्राप्त भयो र केही गर्नुपर्छ भन्ने ज्ञान पनि । तर पोखरासँग सुटुक्कै भागेर मलेसिया आइपुगेपछि टुट्यो त्यो स्वयं सेवा ।
माथि नै लेखेको छु, मलेसियामा कार्यरत यूवाहरु एच.आई.भी. को भिषण जोखिममा थिए÷छन् । कम्तीमा उनीहरुलाई आफुले सिकेको केही ज्ञान त बाँड्नुपर्छ भन्ने हुटहुटी थियो मनमा । आफै कार्यरत कम्पनीका नेपाली साथीहरुलाई कुनै–कुनै प्रशंगमा केही कुरा भन्थें पनि । यौन सम्पर्कको बेला कसरी सुरक्षित हुने, कण्डम प्रयोग गर्दा कस्तो होसियारी अपनाउने, मुख मैथुन र गुदा मैथुनबाट एच.आई.भी. संक्रमण हुन्छ कि हुँदैन आदि विषयमा थोरबहुत ब्याख्या गरिन्थ्यो । तर धेरै साथीहरु मनोरञ्जनको रुपमा लिन्थे मेरो कुरा, कतिले त उल्ली बिल्ली नै बनाउँथे । सायद कतिले त पुरुष बेश्याकै रुपमा हेरे पनि । त्यो बेला मैले धेरै सम्झिएँ अप्सरा कोइरालालाई, उनको सुकोमल अनुहार र भरभराउँदो जवानीलाई । र, देखें धेरै अप्सरा कोइरालाहरु, जो मलेसियाबाट फर्किएका श्रीमान्को कारण भोली एच.आई.भी. सङ्क्रममित हुने जोखिममा छन् । त्यसैले बाह्र घण्टे कठोर परिश्रमपछिको थकाईलाई बिर्सिएर, निन्द्राले लोलाउन थालेको आँखाहरुलाई च्यात्दै लेखेंको थिएँ त्यो लेख । उसबेला कतिले पढे÷पढेनन् थाहा छैन तर जोखिम पहिलाको भन्दा धेरै देखिएको छ अहिले । र, गम्दैछु–फेरि लेख्नु पर्ला कि त्यस्तो लेख ।

मुक्तक

 कि पैसाले बिगार्छ मान्छेलाई
कि बैसाले बिगार्छ मन्छेलाई
आफ्नै विगत सम्झदा यस्तो लाग्छ
कि ऐसाले बिगार्छ मान्छेलाई

गीत

 सुनकोशी सुसाउँदै बग्यो उधै उधै
हिंडिरहे किनारमा एक्लै रुँदै रुँदै

फर्की हेर्दा पछिल्तिर पाइला मेटिन्दैथ्यो...
जति जति अघि बढ्यो पीडा भेटिन्दैथ्यो
झरी रह्यो आँसु भेल याद धुँदै धुँदै
हिंडिरहे किनारमा एक्लै रुँदै रुँदै


देश भित्त्रै सम्मान पाए को परदेशी हुन्थ्यो ?
गर्ने भन्ने उमेरमा कठै ! किन रून्थ्यो ?
वेदनामा तड्पिएको छाती छुँदै छुँदै
हिडिरहें किनारमा एक्लै रुँदै रुँदै

रुम पार्टनारहरुको सम्झना.....


  सन् २००५÷ हाम्रो गु्रप १२० जनाको थियो, एउटै म्यानपावरबाट एउटै कम्पनीको लागि आएको । तर पहिलो लटमा हामी जम्मा २४ जना आइपुग्यौं मलेसिया । हाम्रो ग्रुपमा दुई जना पुराना साथीहरु पनि हुनुहुन्थ्यो । दुवै जना तीन÷तीन वर्ष मलेसिया बसेर फर्केका । हामी २२ जना नौतुनहरुले ती दुई जनाबाट सहयोग मिल्ने अपेक्षा राखेका थियौं तर स्थानीय भाषा त मठ्ठै पो रहेछ साथीहरुको । नेपालको एयरपोर्टदेखि कम्पनीसम्म आइपुग्दा ती दुई पुराना साथीहरु इन्द्र, डम्बर सहित म, विष्णु र केशब दाई नजिकिसकेका थियौं । संयोग पाँचै जना एउटै रुममा परियो ।
विष्णु साह्रै चटपटे । गीत पनि अलिअलि गुन्गुनाउने र नाच्न खुब मनपराउने, कुनै–कुनै जनावर र पशुपंक्षीको आवाज दुरुस्तै निकाल्ने । केही दिनमै विष्णु सबैको प्रीय बन्यो । एकसाँझ म गीत गुनगुनाउँदै थिए, विष्णु नाच्दै थियो । केशव दाइले विष्णुलाई बोलाउँदै—हात यसरी हल्लाउनु न भनेर आफ्नो हात हल्लाउनु भयो । म तीन छक्क परें, उहाँको हात र औंलाका जति पनि जोर्नीहरु थिए, ती त संगीतको तालमा नागवेली पर्दै भाँची रहेका । उमेरले हामीभन्दा अलिक पाको हुनाले केशबलाई हामी सबैले दाइ भन्थ्यौं । उहाँ राम्रो नृत्यकार हुनुहुँदो रहेछ भन्ने ठम्याएँ मैले र सोधें । अन्कनाउँदै भन्नु भयो—स्कूलमा अलिअलि नाच्थें । केही दिनपछि केशब दाइकै गाउँलेले यर्थातता खोल्यो, उहाँ त बर्दिया जिल्ला ब्यापी नृत्य प्रतियोगितामा प्रथम भएका उत्कृष्ट नर्तक पो हुनुहुँदो रहेछ । त्यतिमात्र कहाँ हो र, बर्दियाको स्थानीय म्यूजिक ब्याण्डको सदस्य अनि मध्यपश्चिमाञ्जल फुटबल टीमको महत्वपूर्ण सदस्य, उत्कृष्ट फर्डवर्ड । मध्यपश्चिमाञ्चलबाट थुप्रै राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा सहभागि भइसकेका केशव दाइलाई आफूसँगै पाउँदा खुसीसँगै दुःख पनि लाग्यो ।
हाम्रा कोठाको ठ्याक्कै पारीपट्टी अर्को कोठा थियो, पुराना साथीहरुको । पछि म त्यहाँ सरें । त्यहाँ म भन्दा अलिक जेठो दुईजना दाइहरु हुनुहुन्थ्यो, जनकपुर तिरका । एक जना जीतकुमार र अर्को टङ्क । दुवैजना साह्रै मिल्ने । बच्चैदेखिका साथीहरु रहेछन् र मलेसिया पनि सँगसँगै आएको । टङ्क दाइ अलिक गम्भिर तर जीत दाइ मनको कुरा फ्याट्टै भनि हाल्ने । टङ्क दाइको बारेमा एक दिन सोधें जीत दाइसँग । ह्या ! त्यो गोरुको बारेमा के भन्नु—जीत दाइले त्यसै भन्नु भो । अलिक ढिपी गरेपछि भन्नु भो—जाँठोलाई भाग्यले ठेलेर मलेसिया ल्याईपु¥यायो । खासमा फूटबलको अति प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो रहेछ टङ्क दाइ । उसबेलाको जनकपुर चुरोट कारखाना टीमको प्रमुख स्ट्राइकर र उहाँकै गोलको मद्दतले राष्ट्रिय प्रतियोगिताहरुमा जनपुर चुरोट टीमले धेरै बाजी मारेको रहेछ । तर जब राष्ट्रिय टोलीको छनौटमा उहाँभन्दा कम क्षमताको खेलाडीलाई छानेर उहाँलाई पाखा लगाईयो तब फुटबल खेल्दिन भनेर कसम खाएका रहेछन् उनले । र, त्यसपछि धेरै जनाले सम्झाउँदा पनि फुट्बल खेल्दै खेलेन छन् । जीत दाइ आफै पनि राम्रै फुट्बल खेलाडी उनले टङ्क दाइलाई औंल्याउँदै भने यसको जस्तो स्टामिना मैले अहिलेसम्मका कुनै पनि नेपाली फूटबलरको देखेको छैन ।
करिब चार वर्षपछि म पुचोङ सारिएँ । पुचोङमा थिए, सँगै आएका धेरै साथीहरु । होष्टल नं १ मेरो नयाँ रुम । त्यो रुम साँच्चै नम्बर १ नै थियो । अरु सेक्सनका साथीहरु आइरहन्थे र आउँदा भन्थे—मूलघर आएको । साँच्चै मूलघर जस्तै थियो हाम्रो होष्टल । दुईतले सिङ्गो घरमा १४ जना बस्थ्यौं । जहाँ एटेज वाथरुम र ट्वाइलेट सहितको तीन कोठा, एउटा किचन र एउटा बैठक थियो । घरको वरी–परी पेटी र पेटी मुनी खुल्ला जमिन, जहाँ मेवा रोपेका थियौं ।
चाड–पर्व र घर फर्कने साथीको विदाईहरुमा विशेष रमाइलो हुन्थ्यो कोठामा । अन्य सेक्सनका केही साथीहरु आमन्त्रित हुन्थे, खसी काटिन्थ्यो, विभिन्न परिकारहरु पाक्थे र साँझ ढल्कदै गएपछि रक्सीको नशासँगै जम्थ्यो दोहोरी । अलिक पुरानो मादल थियो, विष्णुले बजाउन थालेपछि जोसिन्थे शिव र लोकु । रामभक्त र सुरेन्द्र दाइ उठेर नाच्न थालेपछि सिताराम र म दुईतिर बाँडिएर दोहोरी गाउँन थाल्थ्यौं....बनको काफल बनकै चरीलाई । लम्जुङे सिताराम दोहोरी गाउन खप्पिस, अर्को लम्जुङे लोकु पनि कम थिएनन् । झन् शिवले त धेरै लोकदोहोरी गीतको छाँयाङ्कन गरिसकेका र केही भिडियोको निर्देशन पनि । म पूर्वेली भए पनि पोखरा बसाईको क्रममा दोहोरीको रसममा लछप्पै भिजेको थिएँ । त्यसैले त सितारामसँग सिङ्गौरी खेल्न तम्सन्थें । गीतको उठान मैले गरे पनि सवाल जवाफमा लोकु मेरो साथ हुन्थे र आच्छु आच्छु पाथ्र्यौ सितारामलाई ।
उसबेला मोवाइलमा डाटा सुविधा थिएन । मोडियमबाट इन्टरनेट चलाउने सुविधा भरखरै शुरु भएको थियो । वाईफाई त शुरु भएकै थिएन । इन्टरनेट चलाउनको लागि साइबर धाउनै पर्ने तर हामीले मोडिएम किनेर कोठामै चलाउन थाल्यौं । भरतपुरे ईश्वर सफ्टवेयरका विज्ञ, लोकु पनि सफ्टवेयरहरुको जानकार । शिव र म कम्प्यूटरको सामान्य ज्ञान भएका । अचेल जस्तो फेसबुक फेसन थिएन । तर साइबर धाएर भए पनि म, ईश्वर, लोकु र शिवले फेसबुक चलाई रहेका थियौं । जब कोठामै इन्टरनेट जोडियो र किनियो केही ल्यापटप, जम्मै साथीहरुको फसेबुक आइ.डी. बनाई दियौं र सबैले थिच्न सिके किबोर्डका अक्षरहरु । आधुनिक प्रविधिको उपयोगमा पनि होस्टल नं १, नम्बर १ नै बन्यो ।
परदेश आउनुको उद्देश्य पैशा कमाउनु नै हो । तर पैशाभन्दा पनि बढी अनुभव आर्जन गर्न सकिन्छ भन्ने कुरोमा म विश्वस्त छु । र, परदेश आउनेहरु योग्यता र क्षमता विहिनहरु हुन्छन् भन्ने कुरामा त मेरो विमति छ । मैले माथि उल्लेख गरेका नामहरु वास्तवमै साधरण नाम होइनन्, कुनै न कुनै क्षमता र योग्यताले परिपूर्ण मानिसहरु हुन् । तर चाकडी, चाप्लुृसी गर्न नजान्ने र उच्च ओहदामा आफ्ना मान्छे नभएपछि ज्यूनुको जिजीबिषा बोकेर परदेश लाग्न बाध्य बनेका अरपेहरु ।
र, यो बेला मलाई लागिरहेको छ—चाकडी, चाप्लुसी, गुण्डागर्दी गरेर र पार्टी वा आफन्तको नाताले कुनै जागीर खानुभन्दा विदेशमा ट्वाईलेट नै सोहोर्नु बेस ।

जालान सिलाङमा नेपाल


पुडुराया बसपार्कमा ओर्लिएर
मे बैंकको भिमकाय भवनलाई नियाल्दै...
कोतरायको आँगनबाट
अलिकति भित्र पसेपछि
देखापर्छ एउटा साँघुरो गल्ली
मिनी नेपाल अर्थात जालान सिलाङ ।

भुँडी भ्यात्त निस्किए पनि
गाला पुक्क फुलिए पनि
मुटुमा विषादको गहिरो घाउ बोकेर
हरेक आइतबार र पब्लिक होलिडेमा
देश र आफन्तको झल्को मेट्न
आउँछन् अरपेहरु
सधैं–सधैं जालान सिलाङमा ।
जालान सिलाङ,
जहाँ छिर्ने बित्तिकै
नेपाली संगीतको परिचित धुनले
ग्वाम्लाङ्ग अङ्गालो हाल्छ अरपेहरुलाई
यता ठोक्किए पनि नेपाली
उता ठोक्किए पनि नेपाली
ठोक्किन्दै ठोक्किन्दै आफैसँग
नेपाल छामी रहन्छन् अरपेहरु
पटक—पटक जालान सिलाङमा ।
साहित्यिक ब्यक्तित्व,
साहित्यिक अभियन्ता—
विश्वासदीप तिगेलाले भने झैं
नेपालमा एकमाना गुन्द्रुक बेच्न नजान्नेहरु
खोलेर भब्य होटल
थापेर बहुमूल्य सामानको पसल
सेवा दिइरहेकाछन्
र,
मेवा लिइरहेकाछन्
नेपाली व्यवसायीहरु जालान सिलाङमा ।
मनकामना मिनी मार्केट
लाङ्घाली किनमेल सेन्टर,
विजयहिल एक्सपोर्ट इम्पोर्ट,
हाइ माउण्टेन भ्यू टुर्स एण्ड ट्राभल्स,
धौलागिरी फेन्सी पसल,
नेपाल हाउस, न्यू सगरमाथा
द खुकुरी, द गोर्खाज
न्यू देउराली, हिमालयन
लोजिना, उग्रतारा
परदेशी, काठमाण्डौ
सोल्टी, इन्द्रेणी, साइनो
र, अरु थुप्रै नाम भएका
पसल र रेष्टुरेन्टहरु
खोलिएकाछन् जलान सिलाङमा ।
नेपाली चाउचाउ, नेपाली चुरोट
नेपाली खैनी, नेपाली पराग
नेपाली ढाकाटोपी, खासाको गञ्जी
साँधेको गुन्द्रुक र टिमुरको अचार
किनीमाको झोल र मोहिनी मःम
कोदोको जाँड र तोंङ्वा
अनि,
नेपाली किताब र गीत–फिल्मका सिडी/डिभिडी
जम्मै पाईन्छन् जालान सिलाङमा ।
आफन्त भेट्न/चिन्न
पार्सल बुझ्न/बुझाउन
संस्था खोल्न/बैठक बस्न
कविता सुन्न/सुनाउन
रेमिट्यान्स हाल्न/टो टो काट्न
यताबाट उता जाँदा/उताबाट यता आउँदा
र,
नेपाली पसलहरुको आडैमा उभिएका
आधुनिक क्लियोपेट्राको निख्रिदो जवानीसँग
केवल आधा घण्टा खेलेर
मर्दपन बचाईरहन
अरपेहरु,
सधैं आउँछन् जालान सिलाङमा ।
बेखबर–बेखबर,
चुपचाप–चुपचाप
लाखौं अरपेहरुले टेक्दा–टेक्दा
बेस्मारी दुखेपछि
पल्टाएर नेपाली पत्रिका
हेर्दै गोठालेको कार्टुन चित्र
हाँसी रहन्छ निक्कै बेर
हा...हा...हा...हा
जालान सिलाङ
अर्थात
मिनी नेपाल ।

अरपे


वैधानिक रूपमै बेचिएर
लाखौं झरझराउँदो यूवा जोश
खाडी/ मलाया पुग्छन्...
र,
बन्छन्-अरपे ।

अरपे
अर्थात
अ-अपरिचित ठाँउमा
र-रबर झैं
पे-पेलिनु ।
अरपे
अर्थात
अ-अरुकै खातिर
र-रगडिएर दिनरात
पे-पेश्की थाप्नु जीवनको ।
अरपे
अर्थात
अ-अनगिन्ती पीडाहरु चपाएर
र-रहरहरु झुन्ड्याउँदै क्यालेण्डरमा
पे-पेच कस्नु भित्ते घडिको ।
अरपे
अर्थात
अ-अतृप्त सपनाहरु पूरा गर्न
र-रमाउँदै पठाएर रेमिट्यान्स
पे-पेनकिलरको सहारामा बाँच्नु आफू ।
अरपे
अर्थात
अ-अन्ततः
र-रश जति निचोरिएर
पे-पेप्पा बनी फर्कनु देश ।
अरपे
अर्थात
अ-अघोरी भन्सार छिचोलेपछी
र-रमरम उमङ्ग बोकेर
पे- पेश हुनु आफन्तको हातमा
र,
नाक खुम्च्याउँदै कहि माग्नु
अ...र...पे.....
हे...हे...हे.....।

बयान


(इलिगल नं–१)
म रोंदुहाङ राई
घर—खोटाङ
वर्ष—२६
घरको एक्लो छोरो
बुवा—सधैंको जँडेहा
आमा—जन्मै रोगी
जेन–तेन पास गरेर प्लस टु
मास्टरी गर्दै थिएँ गाउँकै प्रा.वि.मा
र,
पढ्दै थिएँ वि.एड. दोश्रो वर्ष ।
म मान्छे हुँ
मसँग पनि विचार छ
र,
राम्रो–नराम्रो छुट्टाउने
थोरै विवेक पनि ।
लाग्छ, म अलिक स्वाभिमानी छु
सायद अरुको नजरमा आडम्बरी
त्यसैले,
विवेकलाई बन्धक राखेर
हजुर...हजुर भन्दै
जाबो अस्थायी जागिर खानुभन्दा
अरब भासिनु ठिक लाग्यो
र,
आमाको गहना–गुडिया
राखेर बैंकमा धितो
जोरजाम पारी खर्च–बर्च
एक विहान झिसमिसेमा
पार्दै अमिलो मन
हिंडे काठमाण्डौ ।
आफ्नैहरु विरानो लाग्ने
हेर्दा भब्य
परन्तु
एउटा साँघुरो कोठमामा खुम्चिएको
बेकम्मा राजधानीमा
भेटिए अलि परका साईनो लाग्ने
एक आफन्त एजेन्ट अर्थात दलाल ।
पेसें पासपोर्ट म्यानपावरमा
दिएँ इन्टरभ्यू
र,
मेडिकल चेक अप गरेर
पर्खिएँ केही दिन भिसा
अर्थात
बेचिएको प्रमाण–पत्र ।
भिसा आएपछि
पुगें म्यानपावरमा
हेरें एग्रिमेन्ट पेपर
मलेसियाको एक चर्चित डिपार्टमेन्ट स्टोरमा
सेल्स असिस्टेन्टको थियो काम
करार अवधि तीन वर्ष
बेसिक स्यालरी आर.एम. नौ सय
ओभरटाईम दैनिक दुई घण्टा अनिवार्य
पब्लिक होलि डेको छुट्टै पेइमेन्ट
सिफ्ट, सन्डे र पब्लिक एलाउन्स
सय आर.एम. लेभी
बार्षिक तेह्र दिन बिदा
कोठा फ्रि/खाना आफ्नो
मेडिकल/यातायात/यूनिफम फ्रि
जाँदा टिकेट आफ्नो/फिर्दा कम्पनीको
हिसाब गर्दा
मासिक चालिस हजारमाथि आम्दानी
अहो ! नेपालका अधिकृतहरुको भन्दा धेरै
चित्त बुझ्दो काम
आशा लाग्दो तलब
त्यसैले,
बिना भरपाई
तिरियो तोकिएभन्दा डेढगुणा बढी रकम
र,
उडियो मलेसिया ।
करिब चार घण्टाको आकासे यात्रा
यात्राको नयाँ अनुभूति
र,
धेरै पैशा कमाउने सपना
क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लेर
इमिग्रेसनको अगाडि पुग्ने बित्तिकै
टुट्न थाल्यो निरन्तर...निरन्तर ।
अहो ! भेडा बाख्रा जस्तै
चेपाचेप–खाँदाखाँद
मार्वल ओछ्याईएको चिसो भुँइमा
टुसुक्क बसिरहेका/उत्तानो पल्टिरहेका
हजारौं अरपेहरु
ट्वाईलेट जान पनि लाम लाग्नु पर्ने
न प्यूने पानी
न हिंड्ने/उठ्ने अनुमति
अलिकति चल्मलाउनु बित्तिकै
भेटिने रेलाको लात्ति
र,
सुनि नसक्नुको गाली
‘भावी ओराङ’ ।
अर्डर गरिएको
उताबाट बेचिएर
यता किनिएको
आधुनिक दाशहरु हामी
ओंठ तालु सुकाउँदै
भोकै÷तिर्खै घण्टौं–घण्टा
कुंर्नु कम्पनीको एजेन्ट
उफ ! अत्यास लाग्दो क्षण
एउटा भयङ्कर सपना जस्तो ।
ब्यूँतिएर सपनाबाट
हाई काड्दै नमिठो
सिक्रीले बाँधिएको पप्पी जस्तै
लुखुर–लुखुर एजेन्टको पछि लागिरहँदा
दुख्दै थियो नमिठोसँग देश
र,
सानो मुटु पनि ।
जब
काममा खटाईएँ
अनि खुल्यो वास्तविकता
भिसा सुपरमार्केटको
ड्यूटी जहाँ पनि
कहिले होटल
कहिले कम्पनी
कहिले सडक
त कहिले घरमा
भाँडा माझ्दै, मेसिन चलाउँदै
बोरा उचाल्दै, झाडु लगाउँदै
थुक्का ! ठगिनुको पनि हद हुन्छ नि ?
महिना दिनपछि
थापियो तलब
र,
पेइमेन्ट स्लिप पनि
बेसिक आर.एम. नौसय
प्रति दिन दुई घण्टा ओ.टी.को दुईसय साठी
छैन पब्लिक/अफ ओटी/एलाउन्स
पाउने जम्मा–एघारसय साठी
लेभी–एकसय दश
रुमको पानी–बत्ती चार्ज –पचास
हात लाग्यो हजार
तीनसय पचास, खाना खर्च
पचास, फोन खर्च
पचास, मञ्जन, साबुन....
अहो ! मासिक बचत ठ्याम्मै पाँचसय पचास
अर्थात नेपाली पन्ध्र हजार ।
टुक्रिए सपनाहरु
भत्किए विश्वासको पर्खाल
गल्यो यूवा जोश
सेलायो उमंग
फोन गरे पनि म्यानपावरलाई
उजुरी गरे पनि दुतावासमा
केही नचलेपछि
देश फर्किएर
धाउँदा धाउँदा म्यानपावर
गुहार्दा गुहार्दा श्रमविभाग
अन्ततः
असी हजारमा प्लेन टिकेट कटाएर
चालिस फिर्ता लिनुभन्दा
केही राम्रो ठाउँमा काम गरेर
ऋण उकास्ने अर्को सपना बोकी
म,
इलिगल भएको हुँ कबि ज्यू ।

गजल


पसिनाको धारो छुट्यो परदेशैमा
अभागीको भाग्य फुट्यो परदेशैमा
...
आफन्तैले ठगेपछि देश छोड्दा
जिन्दगीको आशै टुट्यो परदेशैमा

घर फिर्छु भन्दा भन्दै बर्षौं वित्यो
समयले बैश लुट्यो परदेशैमा

रोग बढ्यो, शोक गड्यो, मनै भित्र
नियतीले चुट्नु चुट्यो परदेशैमा

आशा जति भइगए टाढा–टाढा
निराशा र पीडा जुट्यो परदेशैमा

अरपेको यही कथा लेख्न भनी
नारथुङे आज उठ्यो परदेशैमा

नारथुङे लेखिनुको पछाडि...


मलेसिया आएर लेखिएको तेश्रो कविता ‘आण्डी नसिरुद्धिन’ २००५ को डिसेम्बर तिर श्रम साप्ताहिकमा प्रकाशित भयो र त्यही कवितासँगै नामको पछाडि नारथुङे जोडे मैले ।
‘नारथुङे’, किरात राई चाम्लिङ अन्र्तगतको ‘नारथुङ्छा’ पाछालाई बुझाउने शब्द हो । यो भन्दा पर यसको कुनै अर्थ छैन । तर किन लेखें भन्ने कुरोसँग केही विषय–वस्तु जोडिन्छ ।
धेरै अगाडि मेरो पूर्खाहरुको नाम ‘रिङावासी’, ‘हुतुमवासी’, ‘जैधरी’ आदि थियो । छेप्पा बाजे अर्थात जिजूबाजेको नाममा ‘वीर’ जोडिएर पछि ‘जल्लवीर’ भए । बाजेको नाममा ‘मान’ जोडिएर ‘अजपमान’ हुनु भयो । बुवामा आइपुग्दा त ‘देवी’ को पछाडि ‘वहादुर’ जोडिएर ‘देवीवहादुर’ र मचाँहि कथित स्वर्गको राजा ‘इन्द्र’ तर कुमारै अर्थात ‘इन्द्रकुमार’ ।
मेरो नाम ‘इन्द्रकुमार’ हुनुको पछाडि पनि केही रोचक प्रसंग छ । म जन्मिएपछि महिना, दिन, बार, समय, जन्मिन्दाको अवस्था र साल–नालसँग अलग हुँदा प्रयोग गरिएको हतियार आदिको हुलिया सहित उसबेला कहलिएको पण्डित ‘पुष्पे बाहुन’ ले टिपेर लगेपछि चिना बनाई दिएछन् र चिनामा लेखिएछ मेरो नाम—‘रुद्र’ । मेरी आमा अनपढ फेरि संस्कृत शब्द ‘रुद्र’ लाई सहजरुपमा उच्चारण गर्न किरातीहरुलाई कहाँ सजिलो हुन्छ र ? ‘पुष्पे बाहुन’ ले नाम सुनाएर गएको केही समयपछि नै आमाले बिर्सनु भएछ । पछि गुन्दा–गुन्दा त ‘रुद्र’ बाट म ‘इन्द्र’ तिर पो परिवर्तन भएछु ।
पोखराको दश वर्षे बसाईमा आदिवासी जनजाति संगठनमा आवद्ध हुनु र आन्दोलनमा सामेल हुन पाउनु जीवनको अर्को मोड थियो । त्यस क्रममा आदिवासी जनजाति अगुवाहरु डा. कृष्ण भट्टचन, प्रा. बालकृष्ण माबुहाङहरुसँग जमकाभेट हुने र उहाँहरुको विचारहरु सुन्ने प्रशस्तै अवसर पाईयो । विषेशः गरी डा. भट्टचनको बोली अलिक छुच्चो, दायाँ–बाँया नहेरी बाहुनलाई प्याच्च गाली गरि हाल्ने । माबुहाङ भद्र तर सत्य कुरा बोल्न नडाराउँने । दुवै जनाको बारेमा बाहुन–क्षत्री समुदायमा चर्चा हुन्थ्यो । चर्चा हुँदा विशेषगरी उहाँहरुको नाम नै आउँथ्यो । नामचाहिँ हिन्दुहरुकै देवता ‘कृष्ण’ को छ, तर विरोध फेरि हिन्दु कै गर्छ.....आदि..ईत्यादी । यसो फर्किएर हेर्दा त म पनि पो ‘इन्द्र’ रहेछु...स्वर्गको राजा, कस्तो अचम्म ! यो प्रशंग यहाँ किन उठाएको हुँ भने यो देशका आदिवासीहरुको नाम कसरी हिन्दुकृत भयो भन्ने उदाहरण मेरो पूर्खाहरु र म आफै हुँ । त्यसैले ‘इन्द्र’ नामसँग म झस्किरहें घरि नै घरि ।
सानैमा पनि यो नाम मलाई अलिक पच्दैन थ्यो । किनकी म फुच्चेलाई सबैले ‘इन्द्र’ भनेर बोलाउनुको साटो सिधै ‘इन्द्रे’ भन्ने । फेरि हाम्रो गाउँमा एउटा अलिक फटाहा–फटाहा टाइपको दाइको नाम पनि ‘इन्द्र’ थियो । ती फटाहा टाइपको दाइलाई सबैले यहि नाम लिएर गाली गर्दा आफैलाई गाली गरेको भान हुन्थ्यो । तर कुनै विकल्प थिएन यो नामबाट भाग्ने । पछि कक्षा चढ्दै जाँदा नेपाली किताबहरुमा साहित्यकारहरुले उपनाम पढ्न पाईयो... गोठाले, विकल, कदम, असिम, मविवि शाह, चाँदनी शाह आदि...आदि..। स्कूलमा लाईब्रेरी खुलेपछि त धेरै साहित्यकारहरुको उपनाम जान्न पाईयो, पुस्तक पढेर । यसैविच २०५६ सालको राजनीतिक परिवर्तन पछाडि उदयपुर तिरका एक जना किराती राई श्रष्टाले ‘वियोगी’ उपनाम जोडेर एक कविता संग्रह निकाले । त्यो कविता संग्रह हाम्रो स्कूलमा आइपुगेपछि समकालिन साथीहरुले आफ्नो नामको पछाडि ‘वियोगी’ जोड्न थाले । एक जना साथीले ‘विकल’ जोडे । मैले पनि अनायासै नामको पछाडि जोडिदिएँ ‘विकल्प’ ।
सायद ‘विकल्प’ उपनामसँग मेरो उत्ति मोह नभएर हुन सक्छ, रेडियो तिर विना उपनाम उपस्थित हुन थालें । उप नाम नजोडेरै धेरै जनालाई साथी बनाईयो, साइनो कार्यक्रम मार्फत । तर त्यसबेला त्यो समयका म जस्तै ठेट्नाहरुको मन–मस्तिष्कमा मज्जैले एउटा उपनाम कुँदिएको थियो—‘दिन दुःखी’ । तर यस्तो दुःख, पीडा झल्काउने उपनाम किन–किन मलाई पटक्कै मन नपर्ने । वामपन्थी विचारधाराको प्रभावले पनि हुन सक्छ, नाम–उपनाम जोशिलो होस् भन्ने लाग्थ्यो । हो, यस्तै बेला फेरि भेटाएँ एउटा शब्द ‘संकल्प’ र झुण्डाई हालें नामको पछाडि ।
पोखरामा पुगेपछि ‘संकल्प’ को अगाडि ‘शिशिर’ जोडियो र यहि नामले पत्र–पत्रिकामा कविताहरु लेखिरहें । प्रतियोगिता र साहित्य श्रृङ्खलाहरुमा पनि यहि नाममा कविताहरु बोकेर उभिएँ । तर आफै सञ्चारकर्मी भएर पत्रिका र एफ.एम. मा काम गर्न थालेपछि र विभिन्न संघ–संस्थाहरुमा आवद्ध हुँदा वास्तविक नामै अगाडि सारें तब ‘शिशिर संकल्प’ ओझेलमा पर्यो । परन्तु आफै कार्यरत पत्रिकामा साहित्यिक रचनाहरु प्रकाशित गर्दा भने ‘शिशिर संकल्प’ नै भइरहें । त्यसबेला राजनीतिक लेखहरु ‘शिशिर’ उपनामले पनि थुप्रै लेखियो । एक पटक नारी दिवसको अवसरमा महिला सम्बन्धि लेख नभएर आफै लेखेको छु र महिलाकै नामबाट प्रकाशित भएको छ, तर त्यो नाम भने भुलें यतिबेला ।
मलेसिया आईसकेपछि पनि पोखरा फोवियाले छोडेन । वास्तविक नामसँग जोडिएको नामसुवासलाई फाल्न मन लागेन तर । ‘इन्द्र’ को पछाडि ‘राई’ धेरैको थियो । म छुट्टै हुन चाहन्थे । अविवाहितको अर्थ दिने ‘कुमार’ लाई जाँडले भरेको डबकीमा पौडिखेलिरहेको झिंगालाई जस्तै टिपी आफालेर ‘इन्द्र’ को पछाडि उपयुक्त उपनाम खोज्न थालें । यस्तै बेला आफ्नै पाछा (थर) सम्झिएँ ।
‘नारथुङ्छा’, किरात चाम्लिङहरु राईहरुका धेरै पाछा मध्ये एउटा पाछा । सामान्यतः ‘नारथोंछा’ भनिन्छ । तर किरात चाम्लिङ राई सम्बन्धि खोज–अनुसन्धान गरेर लेख्नेहरुले यो पाछाको कतै उल्लेख गरेका छैनन् । डा. स्वामी प्रपन्नाचार्यदेखि गोपाल किरातीसम्मको पाछा अध्ययनमा ‘नारथुङ्छा’ अटाएको छैन । यसो हुनुको कारण ‘नारथुङ्छा’ हरु कुनै माथिल्लो तहमा नपुग्नु र संख्यात्मक रुपमा कम हुनु पनि हो । ‘नारथुृङ्छा’ हरुको मूल थलो खोटाङको इन्द्राणी पोखरी र सिम्पानीमा दर्जन घर–परिवारभन्दा बढी छैन । मूल थलोबाट पछि बसाइँ गएकाहरुको उदयपुर, सुनसरी, मोरङ र काठमाण्डौ तिर केही घर भेटिन्छन् । तर धेरै समय अगाडि खोटाङबाटै गएका ‘नारथुङ्छा’ हरु पाँचथरको च्याङथापु र झापाको झिलझिलेमा सय–डेढसय घर भन्दा बढि विस्तार भएका छन् । परन्तु अध्ययन अनुसन्धान गर्नेले पूख्र्यौली थलोलाई नै आधार मान्दा पाँचथर र झापा तिर नजर पुगेन । खोटाङको दर्जन घरहरुमा उनीहरु आइपुगेनन् । त्यसैले ‘नारथुङ्छा’ भएर पनि लिखतमा कतै नदेखिएपछि नामको पछाडि पाछा झुण्ड्याउनु उचित लाग्यो । तर ‘इन्द्र’ पछाडि ‘नारथुङ्छा’ लेख्दा–उच्चारणमा कता–कता मिठास नआएपछि ‘नारथुङे’ बनाई दिएँ ।
‘नारथुङे’ लेख्नुको पछाडि पूर्खेउली बिरासतलाई मर्न नदिनु पनि हो । कुनै बेला हजारौं विगाह जमिनका अधिपति र पछि ‘राई’ पगरी चलाएका ‘नारथुङछा’ हरु पछिल्लो क्रममा झण्डै सुकुम्बासी बन्ने अवस्थामा आइपुग्नु मेरो लागि लज्जाको विषय त थियो नै तर केही गर्नु पर्छ भन्ने भावना त्यहीबाट विकास भएर आएको थियो । विशेषगरि तात्कालिन जिल्ला पञ्चायत खोटाङका पूर्व सभापति बृषवहादुर राईले मेरो जिजू बाजे र बाजेको तकझक बारे सुनाएका कथा र दिएका अर्तिले मलाई घच्घचाई रहेको थियो । त्यसैले केही राम्रै काम गर्ने हो भने किन पूर्खाहरुको विरासतसँगै नजोडिने भन्ने कुराले थप प्रेरणा दिएपछि आनकानी नगरी नामको पछाडि लेखिदिएँ ‘नारथुङे‘ ।

भाषा थरी–थरीका.............


सन् २००५/परदेश लाग्नु—पैशा कमाउनु मात्रै होइन थुप्रै अनुभव र अनुभूतिहरु आर्जन गर्नु पनि हो । कहिल्यै नदेखेका, नभेटेका र नपढिएका मानिसहरुसँग भेटेर, बोलेर उनीहरुको भावना बुझ्न पाउनुको महत्व पैशाको भन्दा धेरै छ÷हुँदो रहेछ । जतिबेला म मलेसिया आँए, त्यसबेला लाग्थ्यो मैले जम्मै कुरा गुमाएँ, पैशाको लागि । तर यर्थात त्यसो रहेन छ, स्कूल र कलेजमा पढ्दै नपढेको पाठ पो पढ्न आएको रहेछु म त ।
म अँग्रेजीको अलिक कमजोर विद्यार्थी तर मागी खान र सामान्य सोधी–खोजी गर्न समस्या थिएन/छैन । अपितुः मलेसिया आएपछि थाहा भयो, मेरो गरिब अँग्रेजीको यहाँ काम रहेनछ । कम्पनीमा काम लगाउनेदेखि सँगै काम गर्नेहरुलाई अंग्रेजी भैंसी बराबर, पसलतिर गयो उस्तै । अनि सिक्नै पर्ने वाध्यता आइलाग्यो, मलेसियाको सरकारी भाषा मलायू ।
पुराना नेपाली साथीहरु स्थानीयहरुसँग दोहोरो बोल्थे भाषा मलायूमा । यसो सुन्यो उति बिरानो लाग्दैनन् शब्दहरु । मकान, मिनुम, पानस, सुजुक, मारी, सिनी, साना.......यी जम्मै कहिँ न कतै नेपाली भाषासँग मेल खाने शब्दहरु छन् । भाषा सम्बन्धी चासो झन् बढेर गयो । र, पुराना साथीहरुसँग सोधी खोजी गर्न थालें । एउटा अचम्मको संयोग—पोखरामा भेट भएका रोल्पा–रुकुम तिरका साथीहरुबाट खाम भाषा सिक्दा जसरी अश्लिल शब्द पहिला याद भएको थियो, यहाँ पनि त्यस्तै । नेपालमा त अश्लिल शब्द केटी मानिस वा आफूभन्दा ठूलाहरुको सामुन्ने बोल्न लजाइन्थ्यो तर यहाँ त ठूला भनिनेहरु र केटीहरु नै पो त्यस्ता शब्द बोल्न माहिर हुँदा रहेछन् ।
अवसर नै भन्नु पर्छ, मैले काम गर्ने डिपार्टमा केटीहरु नै धेरै । भाषा आउँदैन तर बोल्नै पर्ने बाध्यता । अश्लिलसँगै अरु आवश्यकीय शब्दहरु पनि कण्ठ हुन थाल्यो । भाषा मलायूमा प्रशस्तै संस्कृत शब्दहरु पनि मिसिएका रहेछन्.....जस्तै स्वामी, स्त्री आदि । सोधी खोजी गर्ने क्रममा किरात चाम्लिङ राईहरुको भाषाको एउटा शब्द जस्ताको तस्तै पाएँ....बुङा (फूल) । शब्दोच्चारणमा कुनै समस्या नहुने, शब्द र त्यसको बनोटलाई ध्यान दिने हो भने भाषा मलायू सिक्न त्यही गाह्रो रहेन छ भन्ने भेऊ केही दिनमै पाएँ । नेपाली लगायत अन्य धेरै भाषाहरुमा कर्ता, कर्म, वचन, लिङ्ग, काल अनुरुप क्रिया निर्धारण हुन्छ तर भाषा मलायूमा क्रिया त उही पो । नेपाली भाषामा ‘खानु’ क्रिया अवस्था अनुसार—खाऊ, खा, खानुहोस्, खाइबक्स्योस्, खाँए, खान्छु, खाएको थिएँ, खाने छु, खाने थिएँ, खानु हुन्छ,.........कति हो कति तर भाषा मलायूमा ‘मकान’ भने पछि सक्कियो । सुडा मकान, मकान डुलु, बुलुम मकान, माहु मकान.......। शब्द कण्ठ गरेपछि बोल्न त्यही गाह्रो लागेन, एक महिना भित्रै सामान्य भाषा सिकियो....र, कति केटीहरुलाई ठट्टैमा भनियो ‘आकु चिन्टा पाडामु’ ।
हामीसँग काम गर्नेहरु इन्डियन मूलका तामिल भाषी मलेसियनहरु पनि प्रशस्तै थिए । मलायूपछि तामिल भाषा प्रति पनि ध्यान दिइयो तर सिक्न त के शब्द उच्चारण गर्न पनि आएन । जिब्रोको टुप्पोलाई बटार–बुटुर पारेर बोल्नु पर्ने, सिक्न ज्यादै गह्रो । केही महिना काम गर्न आएकी तामिल मूलकी एक मलेसियन तरुनीलाई जिस्काउन कै लागि एउटा वाक्यांश भने सिकिएछ...‘नान ओन्णेइ काडली क्रेन’ ।
अक्सर चिनीयाँ मूलका मलेसियनहरु, सामान्य कामदारको रुपमा कम्पनीहरुमा भेटिन मुस्किलै पर्छ । तर म काम गर्ने कम्पनीमा ढल्कदो उमेरका दुई चिनीयाँ भाषी केटीहरु पनि थिए, एक जना लाइन लिडर अर्को साधरण कामदार । अनुहार मिल्ने भएकोले उनीहरु शुरुबाटै झ्याम्मिए मसँग । दुवै जनासँग चिनियाँ भाषाको बारेमा पनि सोधी खोजी गरियो । विशेषतः किरात चाम्लिङ राई भाषाको अङ्क गणना र चिनिया भाषाको अङ्क गणनामा धेरै मिल्दो...चाम्लिङहरुको इ, हा, सिम, तु, ङा...(एक, दुई, तीन, चार, पाँच) चिनियाँहरुको पनि इ, आ,...,..., ङा । मलाई लाग्यो चिनियाँ भाषा भित्र पस्ने हो भने धेरै शब्दहरु मिल्दा जुल्दा भेटिन्छन् चाम्लिङ भाषासँग, तर पसिएन गहिराई तिर ।
निक्कै पछि म कार्यरत कम्पनीमा म्यान्मारका ठिटीहरु आइपुगे । जुन्ता सरकारको आँखाको कसिङ्गर, शान्ति नोवेल पुरस्कारले सम्मानित, विश्व चर्चित नेतृ आङ सान सुचीकी छोरीहरु सँगको त्यो भेट स्मरणीय नै छ । मङ्गोलियन अनुहारका ती ठिटीहरु गाउँ घरकै दिदी–बहिनीहरु झैं लागे र सहजै प्रेम प्रणयका शब्दजालहरु फालियो पनि । भिन्न देश, भिन्न परिवेश, भिन्न भाषा–संस्कृति र भिन्न अनुहारका मानिसहरु बीच म लगायत केही साथीहरुलाई उनीहरुले पनि आफ्नै घर गाउँले दाजु–भाइ ठाने होलान् र त केही दिनमै सम्बन्धले गहिरो रुप लियो । म्यानमारमा रहेका नेपालीहरुको अवस्था, जुन्ता सरकारको क्रुरता, सूचीको लोकप्रियतासँगै चाड–पर्व, रिती–रिवाज र भाषा–संस्कृतिको बारेमा सोध खोज गरियो । धेरै कुराहरुमा असमानता हुँदा हुँदै पनि मेरो मातृभाषा (किरात राई चाम्लिङ) सँग उनीहरुको केही शब्द मिल्ने रहेछ । खासगरि अङ्क गणना र ‘मि’, ‘वा’, ‘सुङ’ जस्ता शब्दहरुमा धेरै समानता पाएँ ।
मलेसियामा थुप्रै भियतनामिजहरु भेटिन्छन् । अनुहार ठ्याक्कै राई–लिम्बुको जस्तै र उचाईमा पनि समानता । तर अचम्म ! जति पनि भियतनामिजहरुलाई भेटें अंग्रेजीको ‘अ’ पनि नआउने । र, अर्को अचम्म—मलेसिया बसेको पाँच वर्षसम्म, मैले एक महिनामा सिकेको जति पनि नजान्ने भाषा मलायू । कतै जाँदा सामुन्ने सिटमा भियतनामिज आएर बस्यो भने हाई हेल्लो भन्न पनि समस्या । अझ तरुनी नै छेउमा आएर बसिन् भने मनले बोल्नु हुट्हुटी लाउँछ, बोल्यो—बुझिन भनेर मुन्टो हल्लाउँछ...कति नमज्जा ।
भाषाको दृष्टिले हर्ने हो भने नेपाल विश्वकै धनी देश । नेपालको भूगोल सानो भए पनि सयभन्दा बढी भाषा अझै कहीँ न कतै जीवित हुनु ठट्टाको कुरो होइन । भूगोलको दृष्टीले मलेसिया नेपालभन्दा केही ठूलो मात्र तर यहाँ त्यती धेरै भाषाहरु छैनन् । मलायू, चिनियाँ, तामिल पछि केही स्थानीय भाषाहरु यहाँ जिवित छन् । नेपालमा राष्ट्र भाषा नेपाली पूर्वबाट जति पश्चिम लाग्यो त्यति नै नौला शब्द, लवज र वाक्यांशहरु सुन्न पाईन्छ । पूर्व झापाको मान्छे पश्चिमको बैतडी र दार्चुला पुग्दा यही नेपाली भाषा बुझ्नै नसक्ने भई सकेको हुन्छ । नेपाली भाषाको उत्पत्ति पश्चिमकै सिञ्जा उपत्यकामा भए पनि यसको महत्वपूर्ण विकास पूर्वमा आएर भएको छ । त्यसैले नेपाली भाषाको लेख्य रुपमा पूर्वेली भाषाले मान्यता पाएको छ । मलेसियामा पनि भाषा मलायू विभिन्न राज्यमा केही फरक हुँदो रहेछ । उच्चारण र शब्द दुवैमा सामान्य फरक तर बुझ्नमा भने समस्या नभएको ।
डा. सन्यात् सेनले पुरानो राजतन्त्र फालेर चीनमा गणतन्त्र स्थापना गरेपछि भागेका केही चिनियाँहरु र पछि माओत्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ती सम्पन्न भएपछि देश छोडेका चिनियाँहरु विभिन्न देश हुँदै मलेसिया छिरेको विट्रिस कालिन समयमा नै हो । तामिल भाषी इन्डियनहरुलाई त विट्रिसले नै मलेसियामा लिएर आएका हुन् । तर दुवै समूहले आफ्नो भाषा र संस्कृतिलाई मज्जैले जोगाएर राखेका छन् । चिनियाँ मूलका मलेसियन नागरिकहरु आपसमा भेट्दा कहिल्यै अरु भाषा बोलेको मैले सुनेको छैन । बरु तामिल भाषीहरुले आपसमा भेट हुँदा तामिलसँगै अंग्रेजी बोलेको सुन्न सकिन्छ । वास्तवमै भाषा र संस्कृति प्रतिको माया र सरकारले दिएको स्वतन्त्रता एवं सहयोगको कारण चिनिया मूल र तामिल भाषी मलेसियन नागरिकहरुले आफ्नो भाषा संस्कृतिलाई बचाई रहन सफल भएका छन् ।
मलेसियामा भाषा र संस्कृति हराएका त नेपालीहरु पो छन् । म्यानमार (बर्मा), थाइल्याण्ड हुँदै उहिल्यै मलेसिया छिरेका र विट्रिस सेनामा कार्यरत हुँदा यतै बसेका रैथाने नेपाली (गोर्खाली) हरु पढ्न त जान्दै जान्दैनन्, बोल्न पनि पूरानो पुस्ताले अलिअलि मात्र । बरु धेरै मलायू, तामिल, इन्डोनेशियन र फिलिपिनोहरुले नेपाली अश्लिल÷शलिल शब्द सिकिसकेका छन् । उता नेपालमा भने गाउँ–गाउँमा मलायू भाषा जान्नेहरुको जमात थपिन्दैछ । नेपालीहरु मलेसिया आउने क्रम अझै एक दशक रहने हो भने नेपालमा हिन्दी र अंग्रेजीभन्दा बढी मलायू बोल्नेहरु भेटिए आश्चर्य मान्नु पर्ने छैन ।

गित


 देश सम्झेर कति दुखाउ यो मन
कसले सुनिदिने परदेसीको धड्कन

जहाँ हावा पनि बिरानो बिरानो...
उहीँ छ यो आकश तर लाग्छ सानो
सुख खोज्दै आए या दुखको मानो
टाल्ने हो कहिले चुहिएको छानो
देश फिर्नु भन्दा भासिन्दै छु झन्झन
कसले सुनिदिने परदेशीको धड्कन


उता हुरि चल्दा यता बढ्छ त्राश
आफन्तको यादमा फेर्नै गारो श्वास
राज्य भन्नु मात्रै केही छैन आश
गनिराछ दिनै परदेशीको लास
सुन्दा मीठो लग्ने छैन बोली वचन
कसले सुनिदिने परदेशीको धड्कन

Gajal

वारि किनार पर्खिबसें डुङ्गा लाग्यो पारी
कसो गरि तार्ने अब जिन्दगीको भारी

सम्बन्धको पत्रहरु छुटिएछन उतै...
सम्झिएर रोउ कति आँसु झारी झारी


दुई पाटा कलेजीको अनगिन्ती चिरा
दायाँ छाम्यो पहरो छ बायाँ काडाघारी

झरिगए झिल्मिल तारा डुब्यो घाम जून
उजाड यो दुनियाँमा बसौ के निहरी

बालुवाको माछासरि छट्पटाउनु भन्दा
आफ्नै छातिमाथी आफै धसौं कि कटारी

Gajal

रात पनि आज, चकमन्न छ
छाती भित्र पीडा, टन्न टन्न छ ...

यत्ती निराशा कि, कुरै नगरौं
गोडाहरु दुबै, लमतन्न छ

के रह्यो र बाँकी, अब जिन्दगीमा
मात्र पागल त्यो, एउटै बन्न छ

बुझेर कि त्यसै, भित्री मनको चोट
भन्छन् दुनियाँ ले, जिउँदो धन्न छ ।

नसोध भो साथी, मेरो वर्तमान
बिदा माग्ने दिन त्यो, सधैं गन्न छ ।

सम्झनाको थिल्थिलोमा किताबको मल्हम


  सन् २००५/मान्छे जतिसुकै विद्वान किन नहोस् आफन्तसँगको विछोडमा विद्वता बेकम्मा हुन्छ/हुँदो रहेछ । विचारको तटबन्ध निर्माण गरेर पीडाहरुलाई रोक्न खोजे पनि भावनाको भेल उर्लिएर आएपछि त्यो क्षणमै बगरमा परिणत बन्छ÷बन्दो रहेछ ।
सरस्वतीसँगको छ वर्षे जटिल तर अतृप्त सहयात्रालाई थाँती राख्दै मलेसिया आइपुगें । तर ज्यान मात्रै यहाँ, मन त उतै पो छोडेर आईएछ । मलाई त्यस्तो क्षणको सम्झना छैन–जुन क्षण उसलाई नसम्झेको होस् । कम्पनीको बाह्रघण्टे ड्युटी बिताउन मात्र होइन गाँस निल्नु र आँखा चिम्लनु पनि गाह्रो । निदाउनु अगाडि उसैको झल्को आँखामा, निदाएपछि सपनाभरि उनै । ओहो ! कसरी बिताउने दुई बर्ष ? म मलेसिया आइपुगेको पहिलो दिन नै बेस्मारी आत्तिएँ ।
हप्तामा एकपल्ट फोन गर्ने सर्त थियो । जति फोन गर्ने दिन नजिकिन्थ्यो उती मनमा रोमाञ्चकता थपिन्थ्यो । तर फोन गरी सिध्याएपछि, अर्को बेचइनीले बेस्मारी बाँध्थ्यो । हैन मलाई मात्रै यस्तो हो कि, अरुलाई पनि हुन्छ ? म अरुको अनुहार पढ्न खोज्थें । यस्तो लाग्थ्यो—सबैको अनुहारमा उसैगरी उदाशी पोखिएको छ, मेरोमा जस्तै ।
सान्त्वना खोज्ने सवालमा धेरै कुराहरु सोहोरिएर आउँदो रहेछ । मैले आफू बाल्यकाल हुँदाको क्षणहरुलाई सम्झिएँ । म सानो हुँदा तीन–चार पटक मेरो बुवा पनि परदेश जानु भएको याद छ । उसबेला मेघालय, असम, मिजोरम तिर जाने खुबै चलन थियो पूर्वि पहाडि जिल्लाहरुमा । कोइलाखात जाने भनिन्थ्यो । खासगरि दशैं तिहार मानेर केही महिनाको लागि कोइलाखात जानु हुन्थ्यो बुवाहरु । त्यो जमानामा फोन त कता हो कता हुलाकको पनि राम्रो सुविधा थिएन । घरबाट निस्किएर हिंडेपछि दुई–तीन महिनै बेखबर । बल्ल–तल्ल चिट्ठी आइपुग्थ्यो घरमा, परदेशीको । घरबाट परदेशीलाई पठाएको चिट्ठी पुग्ने बेलामा परदेशीको घर फिर्ने सुरसार भइसक्थ्यो । अहो ! सञ्चो बिसञ्चोको खबर पाउन पनि तीन÷चार महिना पर्खनु पर्ने । त्यो बेला परदेश लाग्ने बुवाको मन कस्तो हुन्थ्यो होला ? अनि घरमा आमाको मन नि ? यी र यस्ता कुराहरु सम्झँदा त सारा टेन्सनै साफ । हुन पनि हो सानो कुरो भन्नु पर्यो भने वा केही भइहाल्यो भने तु फोन गर्यो, बोल्यो । तर मन न हो, एकातिर सान्त्वनाको पर्खाल ठडिन्दै गर्छ अर्कोतिर वेदनाको पहाड भत्किदै गर्छ ।
हामीसँगै आएका स्याङ्जाका एक जना मगर भाइ थिए । उमेर पनि कलिलै, घर छोडेर कहिल्यै परदेश नलागेको । उत्ति दुःख पनि नखेपेको । ती भाइलाई एक दिन कुनामा रुदै गरेको भेटें । यसो कोट्याएर के भयो भनि सोधें । विचरा घर–गाउँको सम्झनाले बेस्मारी पिल्सिएका रहेछन् । रुँदै भने—दाइ म नेपाल जान्छु, गाडी चढेर जाने ठाउँ बताई दिनुस् न । हे आपत ! के भनेर सम्झाउनु उसलाई । मलेसियाबाट गाडी चढेर नेपाल जान खोज्नेलाई कुन बाटो देखाई दिनु ? जिस्काउँदै भने—आज घर सम्झेर रुने मान्छे, छ महिनापछि घरै बिर्सन्छ । हुन पनि हो, दिनहरु जति पुरानो बन्दै जान्छ, सम्झनाहरु उति नै पातलिन्दै जान्छ÷जाँदो रहेछ ।
पिडालाई भुल्ने विकल्पहरु धेरै हुन्छन् । अक्सर विछोडको पिडामा अल्झिएकाहरु कि रक्सीको सहारा लिन्छन्, कि नयाँ सम्बन्धको खोजी गर्छन् । मसँग पनि दुवै विकल्प थियो । गाउँ–घरमा हुँदा रक्सीको गन्धै नमनपराउने मान्छे, पोखरा पुगेपछि भने पारखी भइसकेको थिएँ । रक्सीको झुम्म नशामा आफैलाई बिर्सिएको क्षणहरु स्मृतिपटमा थुप्रै थिए मसँग । अनि कथित सम्बन्धको रंगमञ्चमा अभिनय गर्न, खोजिगरे पात्रको के खाँचो मलेसियामा । पटकको तीस रिङ्गिट देखि ‘लिभिङ टुगेदर’, सहजै उपलब्ध हुन सक्थ्यो । तर किन हो पीडाहरुले मलाई कहिल्यै गलत बाटोमा अग्रसर हुन दिदैन, झन् राम्रो काम तिर पो प्रेरित गर्छ । मेरा पुराना दिनहरुलाई सम्झन्छु, जुन बेला घरमा बुवा–आमाको झगडा हुन्थ्यो त्यस्तो बेला कविता लेख्न खुब जाँगर चल्ने । अरुले गाली गर्दा केही गरेर देखाउँछु भन्ने सोच्ने । एस.एल. सी.मा फष्ट डिभिजनको नजिक नम्बर आएर पनि अंग्रेजी लाग्दा कम्पार्टलाई फेल गरेर एक्ज्याम्टेटबाट फष्र्ट डिभिजन पास गर्छु भन्ने होप । मलेसियामा पनि यस्तै भो, रक्सी र तरुनी होइन अबको साथी किताब भन्ने लाग्यो । अचम्म ! चार बर्षसम्म रक्सी मुखैमा पो लाईएनछ । ग्याष्ट्रिकले अति नै सताएपछि साथीहरुको सल्लाहमा एक दिन रक्सी खाइयो र तोडियो अघोषित प्रतिज्ञा तर यौनको मामलामा त कुमारै पो भएछु पाँच वर्ष बस्दा पनि ।
नेपालबाट आउँदा थुप्रै किताबहरु बोकेर आएको थिएँ, करिब १२ किलो । जसमा केही आध्यात्मिक र दर्शनहरु पनि थिए । सबैभन्दा पहिले, जयपृथ्वीवहादुर सिंहको मानववादलाई पढें, लाग्यो जीवनको केही अर्थ छ । प्रत्येक मान्छेको जन्ममा केही न केही अर्थ लुकेको छ । तर त्यो अर्थलाई खोज्न सक्नु पर्यो । राज खान्दानमा जन्मिएर राजसी सुविधा प्राप्त गरेका जयपृथ्वीवहादुर सिंह किन राजाको पदवी त्यागेर मानववादको वकालत गर्दै विश्व डुले ? जयपृथ्वीले खोजेको जीवनको अर्थले धेरै प्रभाव पार्यो मलाई । त्यसपछि फ्रायडको मनोविश्लेषण, खप्तड स्वामीको ‘विचार विज्ञान’, डा. स्वामी विकासानन्दको ‘विचार क्रान्ती’, डा.स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ ?, गोविन्द वर्तमानको ‘सोह्र साँझहरु’, कृष्ण धरावासीको ‘राधा’, तसलिमा नसरिनको ‘आइमाईको हकमा’, स्वेट मार्डनको ‘कसरी बन्ने करोडपति’, कर्ण शाक्यको ‘खोज’, टेकनाथ रिजालको ‘निर्वासन’, ओसोको ‘सम्भोगदेखि समाधितिर’, विपि कोइरालाको ‘आत्मकथा’, महात्मा गान्धीको ‘आत्मकथा’ लगायतका पुस्तकहरुको अध्ययनसँगै जीवनका केही रहस्यहरुलाई साक्षत्कार गर्न पाईयो । उता श्रम साप्ताहिकले कतैबाट साभार गरेर हरेक हप्ता प्रकाशित गर्ने विश्व कम्यूनिष्ट आन्दोलनका हस्तीहरुको जीवन चरित्रहरुको पनि नियमित अध्ययन गर्दै रहें । वास्तवमै किताब र पत्रपत्रिकाहरुले वेदनाका रागहरुलाई परिवर्तित गर्न सहयोग पुर्यायो र यस्तै बेला जन्मिए केही कविता, कथा र लेखहरु ।
विछोडका पीडाहरुमा विस्तारै खाटा बस्दै गए पनि, सम्झनाका पलहरु बिस्तारै ओझेलिन्दै गए पनि सम्बन्धका पर्खालहरु हल्लिन थाली सकेका थिए । लाग्थ्यो त्यो पर्खाल कुनै पनि विन्दुमा पुगेर ढल्ने छ । यस्ता चिन्तनले मात्रै पनि मुटु हल्लाउँथ्यो, पाईला गलाउँथ्यो, शिर रिङ्ग्याउँथ्यो । भाग्य र सपनामा फिटिक्कै विश्वास नगर्ने मान्छे म—सपनाले बारम्बार सम्बन्धको अन्त्य निश्चित छ भन्दै थियो । बचपनदेखिको चिन्जान, अनायासै गाँसिएको प्रेम सम्बन्ध, जटिल मोडमा पुगेर गरिएको अन्तरजातीय विवाह, विभिन्न आरोह–अवरोहहरु पार गर्दै सँगै विताएको महत्वपूर्ण छ वर्ष र परदेशिएपछि थपिएको पीडाको बीच सातौं महिनामा सम्बन्ध अन्त्यको घोषणाले मृत्यु चिन्तनसम्म पुर्याउँदा वास्तवमै किताब नै मल्हम बन्यो मेरो लागि ।
र, फेरि दोश्रो पटक मलेसिया आइपुगेको छु । अघिल्लो अनुभवले यस पटकको परदेश यात्रा पक्कै सहज छ । तर पहिलो पटक विछोडको पीडा झेली रहेको आमा–छोरीलाई मलाई जस्तो सहज नहुन सक्छ । त्यही भएर फोन गर्दा सधैं किताब पढ्न सल्लाह दिन्छु कवितालाई । भन्छु—छोरीलाई चित्रहरु भएको किताब देखाईदेऊ ।

चन्द्र शम्शेरको आत्मग्लानी


उहिल्यै उहिल्यै
हावामा फ्यार-फ्यार गर्दै
स्वतन्त्रताको संगीत बजाईरहेको ...
रातो रिवन काटेपछि कैंचीले
भारदारहरुको अनुहारमा हेरेर
नजर झुकाउँदै-झुकाउँदै
श्री ३ चन्द्र बोले थे~
आफ्नै खुट्टामा बन्चरो हाने
स्कुल खोलेर आज ।

हो, सत्य सावित भो
चन्द्रको त्यो अभिव्यक्ति
केही समयको अन्तरालपछि ।
र,
स्कुल खोल्नुको गल्ती
भोगिरहेका छन् निरन्तर निरन्तर
चन्द्र शम्शेरहरु ।
स्कुलमा,
आफ्ना छोरा/छोरीहरु
नाति/नातिनाहरु
पनाति/पनातिनाहरु
र,
निकट भारदारका सन्तान मात्र
पढुन् भन्ने चन्द्रको चाहनामाथि
त्यस बेला ग्रहण लाग्यो
जब काठमाण्डौका ज्यापुहरु,
काँठका भोटेहरु,
पूर्वका किरुवाहरु,
पश्चिमका लेंढाहरु,
सुदुर पश्चिमका थारुहरु
हिमालका थाक्सेहरु
मदेशका धोतीहरु
र,
यत्रतत्र छरिएका अछुतहरु
ओइरिए स्कुलमा ।
स्कुलमा,
लादिए पनि पाठ्यक्रम
तोकिए पनि पाठ्यपुस्तक
गाउन लाए पनि श्री ५ को जयगान
खेल्न लाए पनि सामन्ती पिटी
विद्यार्थीहरु,
नाघेर यथास्थितिको पर्खाल
मिसिए हावासँगै
र,
छरिए देश-देशान्तर
छामे वास्तविकता,
खोतले इतिहास,
पढे आफ्नै अनुहार ऐनामा
देखे मूलबाटो
र,
हिंडिरहेछन् पहिचानी पाइलाहरु ।
परन्तु,
चन्द्र शम्शेरहरु
आज पनि रिवन काट्न वाध्य छन् ।
राजा घोषणा गरेर आफुलाई
विधान भन्दामाथि राख्ने
ओ चन्द्र शम्शेरहरु
आखिर हान्नै छ खुट्टामा बन्चरोले भने
हान एकै पटक छिन्ने गरि
फाल अर्घेलो अंश
र,
चाल समान पाईलाहरु
सङ्घीय गणतान्त्रिक नेपालको
स्वाधिन माटोमा युगैं युग ।
त्यसपछि
स्कुल खोल्दा
मान्नु पर्ने छैन आत्मग्लानी
भविष्यमा कहिल्यै पनि ।

बोबोरेम डाँडा


हरेक दिन
धर्तिमा नटेक्दै घामले पाइला
आँखा मिच्दै–मिच्दै
उपस्थित हुन्छु गार्ड हाउस भित्र
र,
सम्हाल्छु एउटा सुरक्षा पोष्ट ।
दुईटा काठे टेबल
दईटा फलामे कुर्सी
केही रेकर्ड बुक्सहरु
एउटा बुढो टेबलघडी
एउटा टेलिफोन सेट
उमेर पुग्दै गएको पङ्खा दुईटा
केही छाप र छापदानी
मार्कर, टिपेक्स र डटपेनहरु
बस् यतिछन्
गार्ड हाउस भित्र
र,
बाहिर छन् जीवनका अनगिन्ती रङ्गहरु ।
फलामे कुर्सीमा बसेर
घण्टा–घण्टाको रिपोर्ट लेखिरहँदा
मेरो अनुहार सधैं–सधैं
फर्किरहेको हुन्छ उत्तर–पश्चिमपट्टि
र,
शिशाको पारदर्शी झ्यालबाट
देखिरहेको हुन्छु पर छितिजमा
एउटा हरियो पहाड
झण्डै बोबोरेम डाँडा जस्तै ।
बोबोरेम,
मेरो घरदेखि पारी
खोपनको शिरमा उभिएको
एउटा निर्जिब पहाड
अर्थात,
वाल्यकालको अभिन्न मित्र ।
ऊसँग खेलेको÷बोलेको
अनगिन्ती रुमानी सम्झनाहरु
अझै पनि आलैछन् मानसपटलमा
कि, उसको शिरमा उभिएको
अग्ला रुखहरुलाई औंल्याएर
हिमाल चुचुरीभन्दै आँगनमा उफ्रिरहँदा
मकैको खोयामा चिप्लिएर लडेपछि
दाहिने घुँडामा लागेको चोटको खत
बोकिरहेको छु अझैसम्म ।
उसको छातिमा लम्पसार एउटा भीर
जहाँ केही धमिला धब्बाहरु
सायद ढुङ्गामा लागेको लेऊ
वा, पलाएका खरुकीबुटा
कतै कालो, कतै सेतो
टाउको पनि, खुट्टा पनि
अर्थात दौडिरहेको पाँडुले कुकुर जस्तै
जसलाई नियालेर हरेक दिन
चै...चै... भनिरहँदा
क्रोक्रोमा सुतिरहेकी सानी बहिनी
व्यूँझेर कहालिन थालेपछि
बाँसको सुर्कनाले छेपारीमा आमाले हिर्काउँदा
खाँडीको कट्टुमा तुरुक्कै मुतेको
अहँ, बिर्सेको छैन अझै पनि ।
बोबोेरेम,
जहाँ फेरिएपछि पालुवा
टेक्दै टेक्दै मञ्जरीमा
कोहौ कोहौ भन्दै कराईरहँदा कोईली
म है म भन्दा पनि नसुनेपछि
बाँसको फित्कौलीले
हानी पठाउँदा कुरिङ ढुङ्गो
टाउकोमा लागेर भाइको
उठेपछि फुलौरा
भाग्दा ओह्रालै ओह्रालै चिप्रिङ खोलातिर
सिस्नो घारीमा लडी पसेपछि
चिलिलि...कहालिएको
सायद,
सुनेको हुनुपर्छ बोबोरेमले ।
नराहा धुमिएर धुम्म
आँशु खसाउनै लाग्दा
भुइँ कुहिरोको ओढेर खास्टो
कुक्कु...हा.....गरिरहेको बोबोरेमलाई छक्याउँदै
पसेर मकैबारीमा
भाँचेर धान चमर
कसेर सालिमोले मुठो
आँगनमा सिली नाच्दै
सोइसोइला गाइरहेको बेला
आँगनको तिखो ढङ्गोमा लागेपछि ठेस
कान्छी औंलाको पक्लक्क उक्किएपछि नङ
तिनतिरी झ्याँई देख्दाको क्षण
बिर्सन सकिएला र कहिल्यै ?
शरदले सिनित्तै बढारेपछि आकाश
अहो ! कति चिरिच्याट्ट देखिन्छ बोबोरेम
उड्दै उड्दै काकाकुली जस्तै
पुगेर थुम्कोमा
बसेर घण्टौं घण्टा
खेली रहुँ झैं लाग्थ्यो सिन्का लुकाई
त्यसैले त एकदिन पसें बुइँगलमा
खोलें ट्याङकाको चाबी
झिके तमसुक कागज
र,
बनाएँ चङ्गा
उडाउँनलाई मन
बोबोरेमको चुचुरो तिर
परन्तु,
खिलेर ऊनी धागो
तेर्साएर चित्रा चोया
कहाँ उडोस् माथि–माथि
झर्यो अलि पर
जहाँ अरिमट्ठ हातहरुले
बे¥र्दै हुनुहुन्थ्यो पीताश्री बाबियोको कुचो
थाहा लागेपछि बद्मासी
तानेर कान
गालामा तप्पड मार्दा
आँखाबाट छुटेर फिलिङ्गो
नाघी गएपछि बोबोरेम
काबुकिदुहाई भएको दिनहरु
आलै छन् स्मृतिमा ।
बोबोरेम,
गुँराशै गुँराशको घारी
हरेक शिशिरमा छरेर सिन्दुरी रङ्ग
मण्डपमा बसेकी बेहुली झैं
विछट्टै सुन्दरी देखिएको बेला
यसो हेर्यो आफू त जिलीगाण्टे पो !
हतार हतार पसेर घर भित्र
उक्लिएर मुढामाथि
झिकेर खुर्पेटोबाट भुत्ते खुर्पा
पसेर बाँस घारीमा
काटेर मलीबाँसको तामा
बनाएर बाँसखुट्टी
भरखरै बाँझो मारेको डल्ले गह्रामा
ठमठम हिडिरहँदा
अचानक ठोक्किएर डल्लामा
बुल्ढुङ्ग लडेपछि
तिघ्रामा भासिन्दा चोके
भलभली रगत बगेको
र,
त्यही रगतलाई मानेर सिन्दुर
टाढैबाट भरेको उनको सिउँदो
अरे ! कहाँ बिर्सन्छु र यति चाँडै ।
हो त्यहि बोबोरेम
आज मेरी छोरीको साथी भएको छ
र,

एकादेशको एक शहरमा
बोकेर अरपे जिन्दगी
एउटा अपरिचित पहाडलाई
दाँज्दै–दाँज्दै बोबोरेमसँग
थु...थु...गरिरहेको छु,
सिंहदरबारमा बसेर
रत्यौली खेलिरहेका
नकटो नेताहरुलाई
थु...थु...थु.....
थु...थु...थु.....
थु...थु...थु..... ।

अस्वीकृत वर्तमान

 

 
छेप्पाहरुले बेहोरेको वर्तमान
कोक्पाहरुको जवानीसम्म आइपुग्दा
विगत बनिसकेको थियो
र त, त्यसैको विरुद्घमा
उठाए कोक्पाहरुले
बर्माको घनघोर जङ्गलमा
पड्काएका बन्दुकहरु
राणाको छाति ताकेर ।
परन्तु सम्झौताको नाममा
धोका बेहोरेका कोक्पाहरुको बर्तमान
आपाहरुलाई चित्त नबुझे पछि
कहिले पिस्करमा
कहिले सुखानीमा
कहिले इभाङमा
कहिले छिन्ताङमा
बगाई रहे आपाहरुले
थोपा थोपा जम्मा पारेका
रगतका अमूल्य फाल्साहरु
तिनै रगतका फाल्साहरुमा
कोरिएका मुक्तिको गाथाभित्र
आज पनाति पुस्ताले
आफ्नै पहिचान नभेटेपछि
तयार भइरहेका छन्
इतिहास दोहो¥याउन ।
त्यसैले त यो कवि मन अचेल
विह्वल भएको छ,
कतै देश भित्र अर्कै देश खोज्न
कविताहरुले बारुद बन्नु प¥यो भने
सुरुवात हुने छ गृह युद्घ
जसले निम्त्याउने छ विनास सबैको
त्यसैले प्रतिपक्षको बेञ्चबाट उठेर
रोष्ट्रमको सामुन्ने पुगि
नियमापत्ति जनाई रहेको छु
र, सँगै नारा घन्किरहेछ
पहिचान मास्न पाइँदैन ।

असफल राष्ट्र


ब्यूँझदा न ब्यूँझदै
छिमेकीको बाँस झ्याँङमा...
घुर्न थाल्यो एक जोडि ढुकुर
ढुकुर...कुर...ढुकुर...कुर.....
र,
गञ्जकमा भएको परेवाले पनि भाका टिप्यो
माक...माक...घुर...माक...माक...घुर.....
खोरमा थुनिएको बैसालु भाले के कम
बास्न थाल्यो टोलै थर्काउँदै
कुखुरी...काँ.....।
हैन ?
यो असफल राष्ट्रमा
ढुकुर कसरी करायो ?
परेवा कसरी घु¥यो ?
र,
भाले कसरी बास्यो ?
म छक्कै परे
तीन छक्क ।

उठे र आङ तन्काएँ
खै के हो
चसक्कै चस्कियो देब्रे छाति भित्र
र, हतारोमा
खोलें बन्द ढोका
एक झोंक्का चिसो बतास काखैमा लुट्पुटियो
सुम्सुम्यो उसैगरि बतासले
मेरो हृदयका अन्तर कुन्तरहरु
विल्कुल पहिले जस्तै
कुनै परिवर्तन नपाउँदा बतासमा
म हैरान भएँ
कसरी राष्ट्र असफल भयो ?
पुगें ढुङ्गे धारोमा
झरें भस्मे कुवामा
पसें तुवा खोलाको होंछापुर्मा दहमा
पानी उही छ
फेरिएको छैन रंग
रोकिएको छैन कतै
धाराको अविरल धरर.....
कुवाको अविचल आकृति
र, खोलाको कुलुलु
विल्कुल पहिलाको जस्तै
यहि बेला
जिऊ भरि अविर पोतेर
धोवी चरा
देखियो खोलाको ढुङ्गोमा
उसैगरि पुच्छर फट्कार्दै नाच्यो
र, हानियो ओह्रालै
असफल राष्ट्रलाई नाप्न निस्किएको म
एक पटक फेरि हैरान भएँ ।
कि हिमाल भत्कियो ?
कि छाति भरि सभ्यताको बुकी फूल उमारेर
सधैं शिर ठडाई रहने पहाड लड्यो ?
यस्तै यस्तै तर्कनामा हेलिन्दै
निस्किएँ सिकारी थुम्कोमा
र, हेरें सिधैं उत्तरपट्टि
जहाँ युगौं देखि अविश्रान्त
उभिरहेका छन् सगरमाथा र कुम्भकर्णहरु
लोहोत्से र चोयूँहरु
ट्याम्के र मैंयूहरु
सेल्मे र मूलडाँडाहरु
बिल्कुल उसैगरि
शिरभरि हिउँको खास्टो ओढेर
अविचल उभिरहेकाछन् हिमालहरु
छातिभरि बुकी फूल उमारेर
सभ्यताको परिचय दिइरहेकाछन् पहाडहरु
र, यहि बेला
चिसापानी डाँडोलाई उधिन्दै
झुल्कियो घाम
रक्तिम आभाहरु बोकेर
अहँ असफलताको कुनै हरक, कुनै छनक
सुँघिएन यहाँ पनि, देखिएन यहाँ पनि ।
दिनभर बतास चलि¥ह्यो सिर...सिर......
घाम लागि रह्यो उसैगरि
खोलो बगि रह्यो निरन्तर...निरन्तर.....
चराहरुको चिरबिर
पुतलीको फुर्र...फुर्र.....
र, मान्छेको ताहुर माहुर रोकिएन
दिब्यहाङले जोतिरह्यो मकै बारी
सिम्माले लगाई रहि मकैको बिऊ सियोमा
सिस्नेम्पामा कुलो खन्नेहरु
गैह्री खेतमा धानको ब्याड राख्नेहरु
सबै सबै
ब्यस्त रहे दिनभर
फगत म,
असफल राष्ट्र खोज्दै
भौतारी रहें अनायासै ।
दिनभरको
क्लान्त तन र मनलाई अल्मल्याउन
खोलें ल्यापटप र जोडें मोडियम
अल्छि मान्दै खुल्यो वेभ पेजहरु
साइन इन गरें फेसबुक, ट्विटर र जि मेलमा
देखियो भित्ताहरु रंगी बिरंगी
कसैले के लेखेका, कसैले के लेखेका
कतै लाली गुँरासको थुँगा
कतै फेवाको कञ्चन पानीमा हेलिरहेका डुँगा
जन्म दिनको शुभकामना दिनेहरु पनि छन्
गाली गरेर आनन्द लिनेहरु पनि छन्
उही ढुँगे धारो जस्तै, भस्मे कुवा र तुवा खोला जस्तै
अविरल, अविचल र अपरिवर्तनीय छन् वेभ पेजहरु पनि
कुनै गन्ध छैन असफलताको ।
निक्कै बेर घोरिएँ
सायद,
हराँए सपनाहरुमा
डुबे कल्पनाहरुमा
पौंडिए तरङ्गहरुमा
यहि बेला
फेस बुकको भित्तोमा लेख्यो कसैले
देश असफल भएको छैन
पार्टीहरु पनि असफल भएका छैनन्
असफल भएका तिनै मात्र हुन्
जो ठूला पार्टीका निर्णायक ठाउँमा छन्
यसो हेरें,
धेरैले लाइक गरेका रहेछन्
तर मैले कमेन्ट नै लेखें
हन्ड्रेड पर्सेन्ट ठीक ।