Friday, February 12, 2016

गीत

पँधेरी डिलमा रोपेको फूल, फुलेर ओइली झरेछ
पानीले भरिने यो रित्तो घैला, आशुँले आज भरेछ

रुमाल भित्र बन्धिलो पारी, कसेको त्यो विश्वास पनि
खोलेर हेर्न डराउँछ मन, उडेर फेरि जान्छ कि भनि
घैलाको पानीले अच्याउँदै शीर, घर पस्ने दिन सरेछ
पानीले भरिने यो रित्तो घैला, आशुँले आज भरेछ

बाटो हेरेर बस्नु जतिको, के होला नमिठो जिन्दगीमा
कहाँ पुगेर अन्त्य होला खै, पर्खाइको यो बोझिलो सीमा
आफैसँग आफ्नै जिन्दगीले, किन यस्तो ठट्टा गरेछ
पानीले भरिने यो रित्तो घैला, आशुँले आज भरेछ

शिव र पार्वती, पारुहाङ र सुम्निमा हुन् भन्ने भ्रम बारे

यस बर्षको स्वस्थानी ब्रत शुरु भएको आज पाँचौं दिन पुग्दैछ । नेपालका हिन्दु नारीहरुमा स्वस्थानीको ठूलो महत्व छ । खासगरी ग्रामिण भेगका हिन्दु नारीहरु एक महिनासम्म स्वस्थानीको व्रत बस्ने र हरेक दिन कथा श्रवण गर्ने गर्दछन् ।

स्वस्थानी व्रत कथाले शिव र पार्वतीको प्रेम सम्बन्धलाई केन्द्रमा राखेको छ । शिवलाई पति पाउनको निम्ति पार्वतीले गरेको त्याग- तपस्याको वर्णन र महादेवप्रति ऋषि पत्नीहरुको आकर्षण, जालान्धरसँग बिष्णुको युद्ध, "शिव ब्रम्हाण" को छलबाट आठ बर्षकी बालिका "गोमा" ले पाएको दु:ख, उनको छोरा "नवराज" ले प्राप्त गरेको लावण्य देशको राज्य, उनकी स्त्रीले स्वस्थानीको प्रसादलाई थु थु गर्दा आइलागेको विपद, बिछोडिएका "नाग-नगेनी" को पुनर्मिलन आदि जस्ता प्रशंगहरुले कथालाई रोचक बनाएको छ ।

स्वस्थानिको व्रत बस्दा र कथा सुन्दा मनोकामना पूरा हुने बिश्वास हिन्दुहरुमा छ । अविवाहिता हिन्दु नारीहरुले शिव जस्तै पति पाउन र विवाहिताहरुले पतिको दीर्घ जीवनको कामना गर्दै स्वस्थानीको व्रत बस्ने गर्दछन् ।
यहाँ स्वस्थानीको सम्पूर्ण कथा होइन किरातसँग जोडिएको प्रशंग बारे थोरै विमर्श गर्न गैरहेको छु । विमर्श गर्न यसकारण आवश्यक छ कि, किरातीहरुले आदिपूर्खाको रुपमा मान्ने पारुहाङ र सुम्निमा भनेकै शिव र पार्वती हुन् भन्ने एकप्रकारको भ्रम समाजमा छरिएको छ । स्वस्थानी व्रत कथाको प्रामाणिकता बारे बेग्लै बहस गर्न सकिन्छ तर यहाँ यही कथामै टेकेर शिव-पार्वती, पारुहाङ-सुम्निमा हुन् कि होइनन् भन्ने कुरामा केही विमर्श गरौं ।
स्वस्थानी व्रत कथा अनुसार लामो समयसम्म कैलासमा महादेव न आएपछि पार्वतीले ध्यान दृष्टीले हेर्दा महादेव त किरातीको भेष धारण गरेर किरातीहरुसँगै घुमिरहेको देख्छिन् तब पार्वती पनि किराती महिलाको भेषमा महादेव नजिक पुग्छन् । त्यो कुरा महादेवले थाहा पाउँछ । त्यसपछि दुवै जना किरातीकै भेषमा आनन्द लुट्दै केही समय ब्यथित गर्छन् र अन्ततः कैलास फर्कन्छन् ।

स्वस्थानी व्रत कथा अनुसार महादेव र पार्वतीले किरातीको भेष धारण गरेका हुन् अर्थात सक्कली होइन नक्कली किराती बनेका हुन् । कथाले नै सिधै भन्छ शिव र पार्वती किराती थिएनन् । अब बाँकी रह्यो नक्कल गरेको कुरा । नक्कल गर्नको लागि त्यो वस्तु वा ब्यक्ती अस्थित्वमा हुनैपर्छ । अर्थात किरातीहरु थिए र न शिव र पार्वतीले नक्कल गरेर किराती जस्तो बने । यसर्थ स्वस्थानी कथालाई सही नै मान्ने हो भने शिव-पार्वती कालभन्दा अगाडि बाटै यो धर्तिमा किरातीहरुको अस्थित्व थियो । अब किरातीहरुले सृष्टि कर्ता मानेका पारुहाङ र सुम्निमा कसरी शिव र पार्वती हुन सक्छन् ?

किराती मिथकहरुको खण्डन होला त्यो बेग्लै कुरो हो तर किराती दर्शन अनुसार पारुहाङ र सुम्निमा कुनै अलौकिक शक्ति होइनन् । पारुहाङ आकाश र सुम्निमा धर्तिको प्रतीक हुन् । आकाश र धर्तिको मेलपछि मात्रै पृथ्वीमा जीवन सम्भव भएको हो । त्यसैले पारुहाङ-सुम्निमालाई आफ्नो आदि पूर्खा मान्ने गर्छन् किरातीहरु ।
आस्थाहरु आ-आफ्नै हुन्छन् । आस्थाहरुसँग ती समुदायको जीवन दर्शन जोडिएको हुन्छ । त्यसले ती समुदायका ब्यक्तिहरुको स्वभाव लगायत अन्य कुराहरुमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जस्तो प्रकृतिप्रति सधैं कृतज्ञ रहने किरातीहरु रुख काट्दा चोट लाउनु अगाडि रुखलाई ढोग्ने गर्छन् र रुख ढली सकेपछि फेदमा माटो लगाउने गर्छन् । ढलेको रुखको फेदमा माटो लगाउँदा पुनः रुखका बिरुवा पलाउँछ भन्ने मनोविज्ञान किरातीहरुमा छ ।

हिन्दु समाजमा किरातेश्वर महादेवको महत्व छ । किरातेश्वर महादेव भनेको किरातीको रुप लिएका महादेव हुन्, किराती महादेव होइनन् । यसर्थ पारुहाङ र सुम्निमाको बारेमा हिन्दु समाज अलिक प्रष्ट हुने कि ?

तीन चुल्हा र मुन्धुमी विश्वास

प्रत्येक किराती घर भित्र
बिना अर्थ उभिएका छैनन्
ढुङ्गाका तीन चुल्हा र,
वरिपरिका ढुङ्गे बाराहरु ।


आ-आफ्नो थाप्लो माथी
टेकाएर भाँडाको पीँध
भक्भकी उमाल्नु च्याँख्ला
र, तातो माडले पिल्सिएर लेघ्रै-लेघ्रा बन्नु
चुल्हाको सौन्दर्य होइन ।

न अगेनामा घुसारिएको दाउरालाई
आफ्नो काँधमा चढाएर
खरानीबाट अलिकति माथि उचाले पछि
हुरहुरी आगो बल्दा
आफ्नो अस्थित्व भेट्ने गर्छ ढुङ्गे बाराले ।

किराती घर भित्र उभिएका तीन चुल्हा
पक्कै ढुङ्गाकै हुन्-शंका छैन
तर ती ढुङ्गा होइनन्
किनकी,
ढुङ्गा हुनुको गुणलाई मुन्धुमले बाँधेर
उभ्याइएको छ जहाँ-
माखालुङ अर्थात आमापट्टीका पूर्खाहरु
पाखालुङ अर्थात बाउपट्टीका पूर्खाहरु
साम्बेलुङ अर्थात छोरी-चेली-कुटुम्बपट्टीका पूर्खाहरु
जसलाई घेरेर तोरोलुङले
सिंगो मानव सभ्यता
दायालुङमा हाजिर छ ।

मिथक :
हरेक किरातीको घरमा आफ्नै किसिमको अगेना हुन्छ । अगेनामा तीनवटा ढुङ्गाको चुल्हा गाडिएको हुन्छ । तीनै वटा चुल्हा र सिङ्गो अगेनालाई फेरि ढुङ्गाकै बारा हालिएको हुन्छ ।
तीनवटा चुल्हा मध्ये एउटा मूल चुल्हा हुन्छ । जसलाई "पाखालुङ" भनिन्छ । जसको अर्थ बाऊपट्टिका पूर्खाहरुको प्रतीक मानिन्छ ।
त्यसैगरी अर्कोलाई "माखालुङ" भनिन्छ । "माखालुङ",,, आमापट्टीको पूर्खाहरुको प्रतीक हो ।
र, तेश्रो चुल्होलाई "साम्बेलुङ" भनिन्छ । "साम्बेलुङ" ले छोरी-चेली, कुटुम्बपट्टीको पूर्खाहरुको प्रतीक हो ।
यी तिनै चुल्हो र अगेनालाई घेरेर ढुङ्गाकै बारा लगाइएको हुन्छ जसलाई "तोरोलुङ" भनिन्छ । यसले आमापट्टि, बाउपट्टि, छोरीचेली र कुलकुटुम्बपट्टिका पूर्खाहरुलाई एउटै घेरोमा राखेर सबै पूजनीय छन्, कोही पनि पराई होइनन् भन्ने मनोविज्ञानमा किरातीहरुमा यूगौंदेखि भर्दै आएको छ ।
अर्थात सारा मानव सभ्यताका गाथा,,, तीन चुल्हामा उपलब्ध छ भन्ने बिश्वास मुन्धुम (किरातीहरुको मौलिक दर्शन) ले किरातीहरुलाई दिंदै आएको छ ।

यो समीक्षा होइन, अपेक्षा हो

करिव दुई वर्ष अगाडि उज्यालो ९० नेटवर्कको रात्रीकालिन प्रस्तुति "श्रुति सम्वेग" मा प्रशारित भैरहेको थियो सुविन भट्टराईको उपन्यास "समर लभ" ।

काठमाण्डौको नाम चलेका पुस्तक पसलदेखि रत्नपार्कको फूटपाथसम्म कयौंपटक उचाल्दै र पानाहरु पल्टाउँदै छोडेको किताब मध्येको थियो त्यो । मलेसिया आउँदा मैले खरिद गरेका करिब पाँच हजार रुपैयाँका पुस्तकहरुमा "समर लभ" परेन । सायद दस बर्ष अगाडि "समर लभ" भेटेको हुन्थे भने मेरो पहिलो रोजाई त्यही बन्थ्यो । "समर लभ" मात्रै होइनन् करिब १२ किलो किताबमा उपन्यास कुनै पनि परेनन् ।

श्रुति सम्वेग मार्फत अच्युत घिमिरेको आवाजमा समर लभका केही शृङ्खला सुन्दा शब्दका बान्कीले छोएको थियो । कथा भन्ने तरिका भिन्न थिएन, तर कथामा टिनएज पात्रहरुको थुप्रै मनोविज्ञानहरु उद्घाटित गरिएको थियो । थोरै सुन्दा नै लाग्यो उपन्यास पढ्दा बोरिङ फिल गर्नु पर्दैन । तर मैले पढ्ने होइन सुन्ने मनस्थिति बनाएँ ।
मलेसिया आएको केही समयपछि उपन्यासका सबै भागहरु डाउण्लोड गरेर सुने । टिनएजहरुको मनमा उत्पन्न हुने थुप्रै भाव र उनिहरुले ब्यक्त गर्ने ब्यवहार बारे आम पाठकलाई जानकारी दिनु उपन्यासको सबल पक्ष हो । सायद आफै टिनएज भइएको हुन्थ्यो भने लभ गर्न सिकिन्थ्यो पनि कि ?

"समर लभ" वाचनको अन्तिम शृङ्खलामा उपन्यासकार सुविन भट्टराईलाई नै प्रस्तोताले स्टुडियोमा उभ्याए । अनि पो थाहा भो उपन्यासकार त मेरै छिमेकी गाविसमा जन्मेर मोरङमा बसाइँ झरेका मभन्दा निक्कै कलिला यूवा रहेछन् । उपन्यासकारलाई फेसबुकमा सर्च गरें र उपन्यास मनपरेको भन्दै म्यासेज लेखें । उताबाट धन्यवाद ब्यक्त गरियो, मैले फेरि शुभकामना भने ।

"समर लभ" अपुरो थियो । केही समयपछि उपन्यासकारको फेसबुक स्टाटसमा देखें, "साया" आउँदैछ । "समर लभ" कि प्रमुख पात्र "साया" आफै पुस्तकको नाम बनेर आउँदैछ भन्ने थाहा पाउँदा एक प्रकारले खुशी लाग्यो । "समर लभ" मा लेखक आफ्नो जन्म थलो उक्लेनन् तर "साया" मा उनी जन्म थलो पुगुन् भन्ने चाहना मेरो थियो । लेखकको स्टाटसमा त्यही प्रतिक्रिया लेखें । तर उनले मेरो प्रतिक्रिया हेरे हेरेनन् उनैले जानुन् ।

"समर लभ", टिनएजहरुको प्रेम र रोमान्समा आधारित उपन्यास मात्र थिएन, दुई फरक समुदायका यूवा युवती बीचको प्रेम कथा थियो त्यसमा । सिङ्गो देश जातीय पहिचानको पक्ष/बिपक्षमा बहस गरिरहेको बेला अतीत शर्मा (बाहुन) र साया शाक्य (नेवार) बीचको प्रेमलाई कस्तो जातीय रङ्ग दिईन्छ भन्ने कुरो "समर लभ" ले थोरै मात्र बोल्यो । धेरै कुरो "साया" मा खुल्न सक्थ्यो । त्यसैले मेरो पर्खाई "साया" बन्न पुग्यो ।

प्रकाशनको करिब एक बर्षपछि यूटुवबाट "साया" लाई आफ्नो मोबाइल भित्र तान्न सकें । बाग्लुङको कुनै एक एफ.एमको लागि वाचन गरिएको "साया", उज्यालो नाइन्टी नेटवर्कका प्रस्तोता अच्युत घिमिरेको जस्तो वाणीमा थिएन । तर पनि सुन्नुको विकल्प थिएन, सुने ।

आधा नसकिन्दै "साया" सकियो कि भन्ने लागिरहेको थियो । सुस्मिता र सायाको भेटपछि उपन्यास तन्काउनु पर्ने खास कारण मैले देखिरहेको थिइँन । अझ अघिल्लो उपन्यास "समर लभ" मा एकाएक परिवर्तन भएकि सायाको जवाफ मात्रै "साया" लाई मान्ने हो भने साया र अतितको पुनर्मिलन पछि उपन्यास सकिएकै हो । तर उपन्यास रोकिएन, तन्किनै रह्यो ।
उपन्यास तन्काउने क्रममा लेखक स्वयंको मनोविज्ञान पोखिन थाल्यो । लेखकले सायाका बाबूलाई खलनायक कै रुपमा उभ्याए । सायाको बाबू खलनायक बन्नुको पछाडि नेवारी समुदायमा बिद्यमान जातीय चिन्तन हावी थियो । तर यहि दाँजोमा अतीत शर्माका बाबू-आमा र उनका नातेदारहरु सामान्य देखिए ।
नेपाली समाजको वास्तविकतालाई खोतलेर हेर्ने हो भने विवाहको सवालमा ब्राह्मण समुदाय पनि कम संकीर्ण छैन । तर त्यसको छनक उपन्यासमा देखिन्दैन । बरु बिना अवरोध एक नेवारनी केटीलाई घर भित्र्याउन अतीत शर्माका बाबू-आमा तयार मात्र हुँदैनन्, भान्छामा छिर्न र घर बाहिर छोरीलाई समेत कुख्राको मासु पकाएर खान दिन तयार हुन्छन् ।
सामान्य किशान जस्ता लाग्ने अतीत शर्माका बाबू-आमालाई जातीय सवालमा यति उदार र काठमाडौंको स्थायी बासिन्दा र राम्रै पारिवारिक घरानाका साया शाक्यको बाबू-आमालाई कठोर देखाइनु उपन्यासलाई तन्काईरहनु मात्रै थिएन बल्की लेखकले आफ्नो समुदायलाई उदार देखाउन एउटा चलाकी पनि गरेका हुन् भन्न सकिन्छ ।
"साया" उपन्यास लेखिएको २०७१ सालमा हो । तर २०७१ सालको तिसौं-चालिसौं बर्ष अगाडि काठमाण्डौका पढेलेखेका र उच्च घरानाका नेवारनीहरु ब्राह्मण-क्षेत्री-मधेसीले बिवाह गरेर राम्रैसँग घरजम गरिरहेको उदाहरण प्रशस्तै छन् । बर्तमान प्रधानमन्त्री मात्र होइन केही पूर्व र हुनेवाला धेरै बाहुन समुदायका प्रधानमन्त्री-मन्त्रीहरुको श्रीमती नेवारनी छन् । नेवारी समुदायसँग अरु समुदायका यूवा-यूवतीको मागेरै विवाह भैरहेको छ यतिबेला । यी र यस्ता नजिर हुँदाहुँदै पनि बैवाहिक सवालमा अति संकीर्ण समुदायको रुपमा नेवारलाई चित्रण गरिनु पक्कै स्वतन्त्र लेखकको धर्म होइन ।

म पाठक, अझ त्यहाँ पुगेर बढी छट्पटिएँ, जब अतीत शर्मालाई आफ्नी छोरी दिएको घोषणा सायाको बाबू-आमाले गर्छन् तर समाजमा अरुले कुरा काट्ने भयले उनीहरुलाई बिदेशतिरै सेटल हुन सल्लाह दिन्छन् । वास्तवमा यो उपन्यासको सबैभन्दा डरलाग्दो पक्ष हो । म जस्ता टिनएज पार गरिसकेकाहरुलाई त नछोला तर टिनेजरहरुले के प्रेरणा लिने ? कि, अन्तर जातीय बिवाहलाई सफल बनाउने हो भने बिदेशतिरै भासिनु पर्छ भन्ने शिक्षा यो प्रसंगले दिंदैन र ?

अतीत शर्माले आफ्नो बाल्यकाल सम्झने क्रममा मुसहर वस्ती, मुसाको खोजी र मुसाको मासु एकपटक खाएको प्रसंग पनि उपन्यासमा आउँछ । मुसाको मासु खाएको थाहा पाउन साथ बाबुको चड्कन खाएको र त्यसपछि मुसहर वस्तीमा कहिल्यै नगएको प्रशंग पछि त्यो च्याप्टर बन्द हुन्छ । यस प्रशंगले मुसाको मासु खानु घृणित कार्य हो भन्ने मनोभाव पाठकहरुमा स्वत: उत्पन्न हुन्छ । यो प्रशंगले मुसहरहरुप्रति हेर्ने पाठकहरुको दृष्टिकोण नकारात्मक त बनाउँछ नै, भरखरै आफ्नो चेतना उघार्दै गरेका मुसहरहरुलाई समेत स्तब्ध पार्छ । एक पूर्व प्रधानमन्त्रीले मुसहरको घरमा बास बसेर मुसहरले बनाएको मुसाको मासु सहितको परिकार खाएको ताजा तथ्य हुँदाहुँदै एकोहोरो घृणाभाव उत्पन्न हुने प्रशंग पक्कै पनि उपन्यासको सुन्दर पक्ष होइन ।

उपन्यासले म र मभन्दा माथि उमेर भएका पाठकलाई खासै प्रभाव पार्दैन र "साया" उपन्यास पढ्नु उति रुचिको बिषय पनि होइन । तर टिनएजरहरुको लागि "समर लभ" र "साया" गतिलो खुराक हुन् । यी दुवै उपन्यासमा उनीहरुले आफू र आफ्नो परिवेश पाउँछन् । कतै कतै अतीत, साया वा सकुन्तला आफै पो हुँ कि भन्ने भान पनि टिनएजरहरुमा पर्न सक्छ । "समर लभ" ले सायाप्रति अलिकति आक्रोश र अतीतप्रति सहानुभूति दर्शाउन बाहेक खास मनोभाव पाठकमा उत्पन्न गराउँदैन, बरु बाँकी कथाको माग गर्छ । तर "साया" ले अन्तर जातीय अफेयरमा रहेका/नरहेका टिनएजरहरुलाई यो देश र समाज नै हाम्रो प्रेमको बिरुद्धमा छ भन्ने भाव उत्पन्न गराउँछ । हैसियत हुनेहरु यूरोप-अमेरिका पुगेर सेटल गरौंला भन्दै चुप बस्लान् तर समाजका ती बिपन्न बर्गका टिनएजरहरु, जसले "साया" उपन्यास पढिसकेपछि कुन मानशिकतामा पुगे होलान् ? म यो कुरामा बढी गम्भीर छु, लेखक जी तपाईलाई त्यस्तो केही लागेन ?

राजनीति भित्रको अँध्यारो पक्ष-५

मैले केही नजिकबाट चिनेका दुई यूवा नेता हाल संसदका सदस्य छन् । ती दुईबीचमा केही यस्ता समानता छन् ।
१) दुवै जना एउटै पार्टीको केन्द्रीय तहमा क्रियाशिल छन् ।
२) दुवै जना एउटै समुदायका हुन् ।
३) दुवै जना विद्यार्थी राजनीति हुँदै जिल्ला तहमा क्रियाशिल भएर केन्द्रमा पुगेका हुन् ।

यी दुई जनामा थुप्रै असमानता छ ।
१) एक जना पूर्वका र एक जना पश्चिममा हुन् ।
२) दुईजना मध्ये एकजना प्रायः राष्ट्रिय मुद्धामा केन्द्रित हुन्छन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय बहसमा कलम चलाउनु र सामाजिक सञ्जालहरुमा पनि त्यही प्रकारका स्टाटस लेख्नु उनको दिनचर्या भित्र पर्छ ।
उनी जुन पार्टीमा कृयाशिल छन्, त्यो पार्टीले लिएका कतिपय नीतिसँग उनको असहमति छ भने बहसहरुमा स्पस्ट दृष्टिकोण राख्छन् । विपक्षीहरु वा असहमत पक्षहरुको विरुद्धमा उनी समालोचनात्मक ढंगले प्रस्तुत हुन्छन् ।आफ्नो दृष्टिकोणमा कोही गलत बाटोमा हिँडिरहेका छन् भन्ने लागेमा उनीहरुलाई सिध्याउनु हैन सुधार्नु पर्छ भन्ने उनको भित्री आशय हुन्छ । उनी गुटलाई हत्तपत्त प्रश्रय दिंदैनन् र गुटगत बहसमा कमै संलग्न हुन्छन् । आफूले गरेका साना-तिना कामको प्रचार गरेर आत्मरतीमा रमाउनु उनको चाहना हैन । यद्यपि आफू निर्वाचित क्षेत्रका जनतासँगको भेट त त्यस क्षेत्रको बिकास बारे पनि उनी उतिकै सजग छन् । तर उनको मूल ध्येय राष्ट्रिय सवालहरुमा नै बढी केन्द्रित हुनु हो ।

३) ती दुई मध्ये अर्को जना कमै लेख्छन् । लेखिहाले पनि स्थानिय अखबार वा पार्टीका स्थानीय प्रकाशनहरुमा सामान्य विषयमा केन्द्रित हुन्छन् । चातुर्यता उनको सबैभन्दा ठूलो हतियार हो र तात्कालिन रुपमा हुने फाइदालाई उनी हतपत्त उम्कन दिंदैनन् । दीर्घकालीन चिन्तन प्रायः देखिन्दैन उनमा । सामाजिक सञ्जालमा भने उनको पनि सक्रियता छ । प्रायः सामाजिक सञ्जालमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गतिविधिमा सामेल भएका तस्विर र साना-तिना कामको चर्चा नै बढी हुने गर्छन् । राष्ट्रिय सवालहरुमा उनको बुझाई के हो भन्ने कुरा थाहा पाउन मुस्किलै पर्छ । उनमा एउटा गतिलो मनोविज्ञान देखिन्छ-- त्यो हो आफ्नो निर्वाचन क्षेत्रका जनताहरुसँग संधै सम्पर्कमा रहिरहने । त्यसैले गाउँ परिषद्, बिद्यालयको उद्घाटन आदि जस्ता कार्यक्रमहरुमा प्रायः आफै पुग्न चाहान्छन् । अर्थात फेरि पनि चुनाव जित्नको लागि आफ्नो क्षेत्रका जनताहरुलाई आफ्नो पक्षमा पारिरहने । यसो गर्दा गाउँघरमा विकास निर्माणका सामान्य कामहरुमा केही सहयोग भने पक्कै पुगेको छ तर आमूल परिवर्तन निम्ति त्यसले कुनै आधार तयार गर्दैन । उनी पार्टी भित्रको एक खास ग्रुपका मानिस हुन् । प्राय: गुटको हितमा उनी केन्द्रित देखिन्छन् । पार्टीको बिचारभन्दा बाहिर उनी जान चाहँदैनन् । पार्टीको आधिकारिक धारणा नै उनको धारणा हुन्छ । बिपक्षी वा असहमत पक्षमाथि उनी बाहिर नम्र देखिए पनि ब्यवहारमा कट्टर छन् । कि आफ्नै बाटोमा हिंडाउनु नभए सिध्याउनु नै पर्छ भन्ने उनको आसय देखिन्छ ।

यी दुई प्रकारको चरित्र भएका नेताहरु प्रायः हरेक पार्टीमा छन् । तर नेपाली आधुनिक राजनीतिको इतिहास देखि वर्तमानसम्म हेर्ने हो भने पहिलो प्रकारको नेता प्रायः पार्टीमा उपेक्षित र दोश्रो प्रकारको नेता सधैं अवसरले लैस हुँदै आएका देखिन्छन् । प्रायः पार्टीको नेतृत्वतहमा दोश्रो प्रकारका नेता नै पुग्ने र पहिलो प्रकारका नेताहरु या त हराउने या त खुम्चिएर बस्न बाध्य हुँदै आएका देखिन्छन् ।

हामी अधिकांस जनताहरु पनि दोश्रो प्रकारको नेतालाई नै राम्रो मान्ने गर्छौं----कि उसले मलाई चिनोस्, मेरो बारेमा बोलिदेओस्, मेरो बारेमा सोचिदेओस्,,,त्यो नै महान लाग्छ । कार्यकर्ताहरुलाई त झन् त्यस्ता नेता राम्रो नलागेर को लाग्नु ?

तर समग्र राष्ट्रको लागि, अन्तर्राष्ट्रिय सम्बन्ध र त्यससँग सहकार्यको लागि, राष्ट्रिय एकता र दीगो विकासको लागि, सुशासन र पारदर्शिताको लागि, परिवर्तन र समग्र उत्थानको लागि दोश्रो होइन पहिलो प्रकारको नेताको आवश्यकता छ । तर यो कुरा हामीले कहिले थाहा पाउने ?