Friday, February 12, 2016

यो समीक्षा होइन, अपेक्षा हो

करिव दुई वर्ष अगाडि उज्यालो ९० नेटवर्कको रात्रीकालिन प्रस्तुति "श्रुति सम्वेग" मा प्रशारित भैरहेको थियो सुविन भट्टराईको उपन्यास "समर लभ" ।

काठमाण्डौको नाम चलेका पुस्तक पसलदेखि रत्नपार्कको फूटपाथसम्म कयौंपटक उचाल्दै र पानाहरु पल्टाउँदै छोडेको किताब मध्येको थियो त्यो । मलेसिया आउँदा मैले खरिद गरेका करिब पाँच हजार रुपैयाँका पुस्तकहरुमा "समर लभ" परेन । सायद दस बर्ष अगाडि "समर लभ" भेटेको हुन्थे भने मेरो पहिलो रोजाई त्यही बन्थ्यो । "समर लभ" मात्रै होइनन् करिब १२ किलो किताबमा उपन्यास कुनै पनि परेनन् ।

श्रुति सम्वेग मार्फत अच्युत घिमिरेको आवाजमा समर लभका केही शृङ्खला सुन्दा शब्दका बान्कीले छोएको थियो । कथा भन्ने तरिका भिन्न थिएन, तर कथामा टिनएज पात्रहरुको थुप्रै मनोविज्ञानहरु उद्घाटित गरिएको थियो । थोरै सुन्दा नै लाग्यो उपन्यास पढ्दा बोरिङ फिल गर्नु पर्दैन । तर मैले पढ्ने होइन सुन्ने मनस्थिति बनाएँ ।
मलेसिया आएको केही समयपछि उपन्यासका सबै भागहरु डाउण्लोड गरेर सुने । टिनएजहरुको मनमा उत्पन्न हुने थुप्रै भाव र उनिहरुले ब्यक्त गर्ने ब्यवहार बारे आम पाठकलाई जानकारी दिनु उपन्यासको सबल पक्ष हो । सायद आफै टिनएज भइएको हुन्थ्यो भने लभ गर्न सिकिन्थ्यो पनि कि ?

"समर लभ" वाचनको अन्तिम शृङ्खलामा उपन्यासकार सुविन भट्टराईलाई नै प्रस्तोताले स्टुडियोमा उभ्याए । अनि पो थाहा भो उपन्यासकार त मेरै छिमेकी गाविसमा जन्मेर मोरङमा बसाइँ झरेका मभन्दा निक्कै कलिला यूवा रहेछन् । उपन्यासकारलाई फेसबुकमा सर्च गरें र उपन्यास मनपरेको भन्दै म्यासेज लेखें । उताबाट धन्यवाद ब्यक्त गरियो, मैले फेरि शुभकामना भने ।

"समर लभ" अपुरो थियो । केही समयपछि उपन्यासकारको फेसबुक स्टाटसमा देखें, "साया" आउँदैछ । "समर लभ" कि प्रमुख पात्र "साया" आफै पुस्तकको नाम बनेर आउँदैछ भन्ने थाहा पाउँदा एक प्रकारले खुशी लाग्यो । "समर लभ" मा लेखक आफ्नो जन्म थलो उक्लेनन् तर "साया" मा उनी जन्म थलो पुगुन् भन्ने चाहना मेरो थियो । लेखकको स्टाटसमा त्यही प्रतिक्रिया लेखें । तर उनले मेरो प्रतिक्रिया हेरे हेरेनन् उनैले जानुन् ।

"समर लभ", टिनएजहरुको प्रेम र रोमान्समा आधारित उपन्यास मात्र थिएन, दुई फरक समुदायका यूवा युवती बीचको प्रेम कथा थियो त्यसमा । सिङ्गो देश जातीय पहिचानको पक्ष/बिपक्षमा बहस गरिरहेको बेला अतीत शर्मा (बाहुन) र साया शाक्य (नेवार) बीचको प्रेमलाई कस्तो जातीय रङ्ग दिईन्छ भन्ने कुरो "समर लभ" ले थोरै मात्र बोल्यो । धेरै कुरो "साया" मा खुल्न सक्थ्यो । त्यसैले मेरो पर्खाई "साया" बन्न पुग्यो ।

प्रकाशनको करिब एक बर्षपछि यूटुवबाट "साया" लाई आफ्नो मोबाइल भित्र तान्न सकें । बाग्लुङको कुनै एक एफ.एमको लागि वाचन गरिएको "साया", उज्यालो नाइन्टी नेटवर्कका प्रस्तोता अच्युत घिमिरेको जस्तो वाणीमा थिएन । तर पनि सुन्नुको विकल्प थिएन, सुने ।

आधा नसकिन्दै "साया" सकियो कि भन्ने लागिरहेको थियो । सुस्मिता र सायाको भेटपछि उपन्यास तन्काउनु पर्ने खास कारण मैले देखिरहेको थिइँन । अझ अघिल्लो उपन्यास "समर लभ" मा एकाएक परिवर्तन भएकि सायाको जवाफ मात्रै "साया" लाई मान्ने हो भने साया र अतितको पुनर्मिलन पछि उपन्यास सकिएकै हो । तर उपन्यास रोकिएन, तन्किनै रह्यो ।
उपन्यास तन्काउने क्रममा लेखक स्वयंको मनोविज्ञान पोखिन थाल्यो । लेखकले सायाका बाबूलाई खलनायक कै रुपमा उभ्याए । सायाको बाबू खलनायक बन्नुको पछाडि नेवारी समुदायमा बिद्यमान जातीय चिन्तन हावी थियो । तर यहि दाँजोमा अतीत शर्माका बाबू-आमा र उनका नातेदारहरु सामान्य देखिए ।
नेपाली समाजको वास्तविकतालाई खोतलेर हेर्ने हो भने विवाहको सवालमा ब्राह्मण समुदाय पनि कम संकीर्ण छैन । तर त्यसको छनक उपन्यासमा देखिन्दैन । बरु बिना अवरोध एक नेवारनी केटीलाई घर भित्र्याउन अतीत शर्माका बाबू-आमा तयार मात्र हुँदैनन्, भान्छामा छिर्न र घर बाहिर छोरीलाई समेत कुख्राको मासु पकाएर खान दिन तयार हुन्छन् ।
सामान्य किशान जस्ता लाग्ने अतीत शर्माका बाबू-आमालाई जातीय सवालमा यति उदार र काठमाडौंको स्थायी बासिन्दा र राम्रै पारिवारिक घरानाका साया शाक्यको बाबू-आमालाई कठोर देखाइनु उपन्यासलाई तन्काईरहनु मात्रै थिएन बल्की लेखकले आफ्नो समुदायलाई उदार देखाउन एउटा चलाकी पनि गरेका हुन् भन्न सकिन्छ ।
"साया" उपन्यास लेखिएको २०७१ सालमा हो । तर २०७१ सालको तिसौं-चालिसौं बर्ष अगाडि काठमाण्डौका पढेलेखेका र उच्च घरानाका नेवारनीहरु ब्राह्मण-क्षेत्री-मधेसीले बिवाह गरेर राम्रैसँग घरजम गरिरहेको उदाहरण प्रशस्तै छन् । बर्तमान प्रधानमन्त्री मात्र होइन केही पूर्व र हुनेवाला धेरै बाहुन समुदायका प्रधानमन्त्री-मन्त्रीहरुको श्रीमती नेवारनी छन् । नेवारी समुदायसँग अरु समुदायका यूवा-यूवतीको मागेरै विवाह भैरहेको छ यतिबेला । यी र यस्ता नजिर हुँदाहुँदै पनि बैवाहिक सवालमा अति संकीर्ण समुदायको रुपमा नेवारलाई चित्रण गरिनु पक्कै स्वतन्त्र लेखकको धर्म होइन ।

म पाठक, अझ त्यहाँ पुगेर बढी छट्पटिएँ, जब अतीत शर्मालाई आफ्नी छोरी दिएको घोषणा सायाको बाबू-आमाले गर्छन् तर समाजमा अरुले कुरा काट्ने भयले उनीहरुलाई बिदेशतिरै सेटल हुन सल्लाह दिन्छन् । वास्तवमा यो उपन्यासको सबैभन्दा डरलाग्दो पक्ष हो । म जस्ता टिनएज पार गरिसकेकाहरुलाई त नछोला तर टिनेजरहरुले के प्रेरणा लिने ? कि, अन्तर जातीय बिवाहलाई सफल बनाउने हो भने बिदेशतिरै भासिनु पर्छ भन्ने शिक्षा यो प्रसंगले दिंदैन र ?

अतीत शर्माले आफ्नो बाल्यकाल सम्झने क्रममा मुसहर वस्ती, मुसाको खोजी र मुसाको मासु एकपटक खाएको प्रसंग पनि उपन्यासमा आउँछ । मुसाको मासु खाएको थाहा पाउन साथ बाबुको चड्कन खाएको र त्यसपछि मुसहर वस्तीमा कहिल्यै नगएको प्रशंग पछि त्यो च्याप्टर बन्द हुन्छ । यस प्रशंगले मुसाको मासु खानु घृणित कार्य हो भन्ने मनोभाव पाठकहरुमा स्वत: उत्पन्न हुन्छ । यो प्रशंगले मुसहरहरुप्रति हेर्ने पाठकहरुको दृष्टिकोण नकारात्मक त बनाउँछ नै, भरखरै आफ्नो चेतना उघार्दै गरेका मुसहरहरुलाई समेत स्तब्ध पार्छ । एक पूर्व प्रधानमन्त्रीले मुसहरको घरमा बास बसेर मुसहरले बनाएको मुसाको मासु सहितको परिकार खाएको ताजा तथ्य हुँदाहुँदै एकोहोरो घृणाभाव उत्पन्न हुने प्रशंग पक्कै पनि उपन्यासको सुन्दर पक्ष होइन ।

उपन्यासले म र मभन्दा माथि उमेर भएका पाठकलाई खासै प्रभाव पार्दैन र "साया" उपन्यास पढ्नु उति रुचिको बिषय पनि होइन । तर टिनएजरहरुको लागि "समर लभ" र "साया" गतिलो खुराक हुन् । यी दुवै उपन्यासमा उनीहरुले आफू र आफ्नो परिवेश पाउँछन् । कतै कतै अतीत, साया वा सकुन्तला आफै पो हुँ कि भन्ने भान पनि टिनएजरहरुमा पर्न सक्छ । "समर लभ" ले सायाप्रति अलिकति आक्रोश र अतीतप्रति सहानुभूति दर्शाउन बाहेक खास मनोभाव पाठकमा उत्पन्न गराउँदैन, बरु बाँकी कथाको माग गर्छ । तर "साया" ले अन्तर जातीय अफेयरमा रहेका/नरहेका टिनएजरहरुलाई यो देश र समाज नै हाम्रो प्रेमको बिरुद्धमा छ भन्ने भाव उत्पन्न गराउँछ । हैसियत हुनेहरु यूरोप-अमेरिका पुगेर सेटल गरौंला भन्दै चुप बस्लान् तर समाजका ती बिपन्न बर्गका टिनएजरहरु, जसले "साया" उपन्यास पढिसकेपछि कुन मानशिकतामा पुगे होलान् ? म यो कुरामा बढी गम्भीर छु, लेखक जी तपाईलाई त्यस्तो केही लागेन ?

No comments:

Post a Comment