Sunday, August 24, 2014

"परदेश, कविता र सम्बन्ध"

परदेशमा छु,
पैशामै ध्यान छ आफन्तहरुको ।

अलिकति लुटेर सपनाको समय
अलिकति थुतेर रञ्जनाको सञ्चय
कवितासँग जिस्किएको
कसैले देख्दैनन् बा !

महिनाभरिको तलब
अर्थात सोह्र सय रिङ्गिट हात परेको
हरेक महिनाको त्यो सात तारिखभन्दा
जागै बसेर/भोकै बसेर
एउटा कविता लेखिसिध्याएको क्षण
कति आनन्ददायी हुन्छ भनेर
के थाह मेरा आफन्तहरुलाई ?

परन्तु,
सम्बन्धका पर्खालहरुभन्दा बाहिरका
प्रत्येक्ष भेटिएका/नभेटिएका
केही मनहरु,
मसँग सोधिरहन्छन् मेरी कविताको बारेमा
साँच्चै यतिबेला मेरा आफन्तहरुभन्दा
उनीहरु नै पो निकट लाग्दैछ मलाई ।

स्वर्ग (कविता)

एउटा सानो गाउँ
जहाँ मेरोसँगै
केही थान कवि/कलाकारको घर
केही थान गायक/संगीतकारको घर
र,
सबैलाई पायक पर्ने ठाउँमा
होस् एउटा सानो भट्टी पसल
जहाँ हरेक साँझ भेला भएर
भटमास र साँधेको गुन्द्रुकसँग लोकल रक्सी घुट्काउँदै
सुन्न र सुनाउन पाईयोस् सिर्जनाहरु
आहा !
मैले खोजेको स्वर्ग त्यही पो हो कि ?

रक्तदान जीवनदान (कविता)

कहाँ, कुन बेला, के पर्छ
कत्ति भर छैन यो जीवनको
जुरेमा पहिरो खस्न सक्छ
चुरेमा बाढी पस्न सक्छ
दौड्दा दौड्दै ब्रेक फेल भएर
त्रिशुलीमा गाडी झर्न सक्छ
वा,
अचानक कुनै अंगको
गम्भिर अप्रेशन पर्न सक्छ
भन त यो बेला उपचारको लागि
कहाँ पाउन सक्छौं आलो रगत ?
हो त्यसैले यो ज्यान सद्दे भएको बेला
आउ रक्तदान गरौं,
रक्तदान त जीवनदान हो प्रीय ।

हरेक तीन/तीन महिनामा
एउटा स्वस्थ शरिर भित्र
नयाँ रक्त कोशिकाहरु जन्मन्छन्
र, पुरानाहरु बाहिरिन्छन्
हो,
त्यही मरेर जाने
रगतलाई निकालेर जम्मा गर्न सके
कसैको प्राण जोगिन सक्छ प्रीय
त्यसैले आऊ रक्तदान गरौं,
रक्तदान त जीवनदान हो ।

भन्लान् कसैले
रगत झिकेपछि कम्जोर भईन्छ
सायद यस्तै ठानौली तिमी पनि
परन्तु यो एउटा प्रकृया हो
नझिके पनि यसलाई
अवश्य बाहिरिन्छ कुनै माध्यमबाट
बरु त्यो बेला हामी विरामी पो पर्न सक्छौं ।
त्यसैले खेर जाने त्यही रगत
कसैको जीवन बन्छ भने
आऊ रक्तदान गरौं
रक्तदान  त जीवन दान हो ।

सत्र वर्ष देखि साठीसम्मका
पैंतालिस किलो तौलमाथि
यौनरोग, हेपाटाइटिस, मुटुरोग
अनि दम र छारेरोग नभएका
गर्भवती र महिनावारी भइरहेका महिला बाहेक
जो सुकैले रक्तदान गर्न सक्छन् ।
हेर यो दुनियाँमा
हजारौं यस्ता मानिसहरु छन्
जसले जीवन भरिमा
सयौं पटक रक्तदान गरिसकेका छन्
हो तिमी महिला हौ
हरेक माशिक धर्ममा
तिम्रो रगत खर्च हुने भएकोले
तिमीले वर्षमा दुई पटक रक्तदान गर
म, चार पटक गर्न सक्छु
रक्तदान त जीवनदान हो प्रीय
आऊ रक्तदान गरौं ।

कहाँ, कुन बेला, के पर्छ
कत्ति भर छैन यो जीवनको
जुरेमा पहिरो खस्न सक्छ
चुरेमा बाढी पस्न सक्छ
दौड्दा दौड्दै ब्रेक फेल भएर
त्रिशुलीमा गाडी झर्न सक्छ
वा,
अचानक कुनै अंगको
गम्भिर अप्रेशन पर्न सक्छ
हो, त्यो बेला हाम्रो रगत
आफैलाई काम लाग्न सक्छ
त्यसैले आऊ प्रिय
जीवन सद्दे भएको बेला
रक्तदान गरौं,
रक्तदान त जीवन दान हो ।















पहिरो, कवि र कविता (कविता)

एक हँसमुख षोडसीको नाकमाथि
थपक्क बसेको सानो ढिकेफूली जस्तै
लमतन्न चहुरको बीचमा
ठिङ्ग उभिएको शिकारथुम्की डाँडामा उभिएर
जब हेर्छु पर...पर.....
भदौरे झरिले कोपरेर छिया–छिया बनेका पाखाहरु
नजरैभरि ठोक्किन आइपुग्छन्
कठै कवि मन
साउन पो बर्सिन थाल्यो झर्र...झर्र.....।

त्यसैपनि उजाड बन्दैछन् पाखाहरु/भीरहरु
कतै काटिएर रुख/बनेर धुले सडक
कतै सल्किएर डढेलो/मासिएर ऐंसेलु झ्याङ
हराएको जुरेली चिरबिर/नफुलेको गुँराशको बोट
यस्तै बेला,
पहिरोले लतार्दा गाउँ घर र आफन्त गुमाएको पीडाले
साँच्चै मन एकतमासले उम्लिएर आउँछ
पहिरो बग्यो कि कविता ?
असमञ्जसमा छु म अचेल ।

प्रकृतिको विभत्स दृश्यलाई निहारी
कुन कविले कोर्न सक्ला, मधुमासका कविताहरु ?
त्यसैले ए ! मान्छे
तिमीहरुलाई कविता मन पर्छ भने/बचाउँन चाहान्छौ भने
कृपया प्रकृतिलाई बिनास हुनबाट जोगाई देऊ
नत्र कविभन्दा पहिल्यै
कविताको मृत्यु हुने छ यहाँ ।

पहिचान र सङ्घीयता (कविता)

साँच्चै अहिले
अन्धो मान्छेहरुले
हात्ति छामे जस्तै भइरहेको छ
मेरो देशको पहिचान र सङ्घीयता ।

कि, कसैले खुट्टा छाम्छ र भन्छ
सावन लागेपछि हरेक दिन आमाले
आलौटा मकै कुट्ने छिप्पु (ओख्ली) जस्तै
माथिदेखि तलसम्म सोलोडोलो परेको
काठको मुढो रहेछ
हात्ति उर्फ पहिचान र सङ्घीयता ।

फेरि अर्कोले,
उभिरहेको हात्तिको लमतन्न ज्यानलाई छोएर भन्छ
अहो ! यो त झ्याल–ढोका नभएपट्टिको
घरको भित्तो जस्तै हुँदो रहेछ
वार–पार एउटै
अखण्ड र अविभाज्य ।

टाउकाको छेवैमा उभिएर
लुत्रुङ्ग झुण्डीरहेको सूँढलाई छोएर अर्को बोल्छ
यो हात्ति, मेरै श्रीमतिको तिघ्रो जस्तै
कोमल र मायालु हुँदो रहेछ
जसलाई म हरेक रात
आफ्नो जरखट्टिएको अर्को तिघ्रोले च्यापेर
मदहोशी निन्द्रा निदाउने गर्छु ।

मस्त निन्द्राबाट भरखरै ब्यूँझेर
अर्को मरञ्च्यासे आउँछ
र, कानलाई छोएर भन्छ
हात्ति त भरखरै मेरो घरमा जोडिएको
डिक्स होमको एन्टेना जस्तै हुँदोरहेछ
कि, यसलाई एकैतिर मात्र फर्काउनु पर्ने
दिशा बदल्न साथ सबै बेकम्मा ।

र, अन्त्यमा एउटा सानो फुच्चे
हात्तिको पुच्छरमा झुण्डिएर
लिङ्गे पिङ मच्याउँदै
आनन्दतिरेकमा चिच्याउँछ
हात्ति त बाबियोको लठारो पो रहेछ
पोयै पोयाले कसिएको
ढुङ्गाको भर माटो माटो भर ढुङ्गा ।
साँच्चै यो बेला
अन्धो मान्छेहरुले
हात्ति छामे जस्तै भइरहेको छ
मेरो देशको पहिचान र सङ्घीयता ।

त्यसैले म
एकजोर आदिवासी आँखाहरु
उपहार चढाउँदैछु जन्मै अन्धोहरुलाई ।











म कठपुतली (कविता)


मैले बाँचेको जिन्दगी
मेरै हो भनेर घमण्ड गर्नु
सबैभन्दा ठूलो मुर्खता रहेछ
बल्ल थाहा पाउँदैछु आज ।

कि मेरो जन्म नै मेरो रोजाइको थिएन भने
अरु कसरी हुन्छ मेरो ?
अरुबाटै राखिएको नाम/अरुबाटै जोडिएको जात
अरुबाटै सिकेको भाषा/अरुबाटै बुझेको संस्कृति
र, अरुबाटै थोपरिएको झटो राष्ट्रियता अनि इतिहास
साँच्चै म, ‘म’ होइन
मात्र कठपुतली रहेछु
नचायो नाची दिने
बोलायो बोली दिने ।

मलाई लाग्थ्यो म बढ्दैछु
तर कहाँ हुनु र ?
नियन्त्रण पो बढेको रहेछ म माथि
यसो गर/उसो नगर
यो खा/त्यो नखा
यस्तो ला/उस्तो नला
उता जा/त्यता नजा
यस्तो पढ्/त्यस्तो नपढ्
यस्तो लेख/त्यस्तो नलेख
यसलाई मान/त्यसलाई नमान्
यो आफ्नो/त्यो बिरानो
अरे यार !
यो कस्तो नियती
थुइक्क साला एउटा कठपुतली जिन्दगी ।

र, आज धमिराले भित्र भित्रै खाइसकेको
चैते हुरीको खजाना
अर्थात कथित राज्य
थमाएर हातमा जाबो एउटा नागरिक्ता
म माथि अधिकार जमाईरहेछ ।

कविलाई अर्ति (कविता)

दुनियाँमा मनैदेखि चिनेका
अनुहारले चिनेका,
र,
नामले मात्र चिनेका
कति होलान् मान्छेहरु
एक, दश, सय, हजार वा दश हजार ?
पक्कै यहाँभन्दा बढी नहुन सक्छ
त्यसैले, ए मूर्ख कवि !
दुनियाँको पिछा छोडेर आफै भित्र पस्
र,
लेख कालजयी कविताहरु ।

छोरालाई अर्ति (कविता)

छोरा,
मैले र तिम्रो शिक्षकले
तिम्रो कुनै गल्तीमा
एक थप्पड मात्रै लगाएछौं भने पनि
तिमी चुप नबस्नु
ति खिरिला हातहरुलाई बनाएर कटारी
धसी दिए हुन्छ हाम्रो छातिमा
किनकी
तिमीलाई तर्साएर आफ्नो वसमा पार्ने कुचेष्टा
धेरै खतरनाक हुन्छ हाम्रो मृत्युभन्दा
र, सम्झनु
तिम्री आमा र शिक्षिकाले पनि
तिमीमाथि हात उठाउन सक्छन्
तर ति हातहरुले तिमी माथि
अधिकार होइन प्रेम खोजिरहेको हुन्छ
त्यसैले
जब उठ्छन् ती हातहरु तिमीमाथि
अनि विस्तारै तानेर आफू तिरै
पातला ओंठहरुको बीचमा राखेर
गहिरो म्वाई खाइदेऊ एकफेर ।

बाँझो जमिन र सपनाहरु (कविता)


यूवाहरु,
हरियो पासपोर्ट भित्र
च्यापेर फोटो मायालुको
र,
सजायर सुन्दर सपना
जब विदेसिन्छन्
हो, त्यही बर्षदेखि
बाँझिन थाल्छ उनको घरबारी ।

आज धेरै घरबारी÷पाखाबारी
खोला खेत÷टारी खेत
भस्मे र खोरियाहरु
बाँझै छन्/बाँझै बस्दैछन्
हो, म पनि विदेशमै छु
र,
मेरो खेतबारीको हालत पनि
यो भन्दा फरक छैन ।

परन्तु यतिबेला
मसँग अर्को एउटा सपना
लगन गाँठो कस्न आइपुगेको छ
र, त्यो सपनाले भन्दैछ
ए ! नारथुङे बाँझो बन्दै गरेको तेरो घरबारीमा
पहिला जाबो धान, कोदो, मकै, गहुँ, आलु.......त फलाउथिस्
जानिस भने अब सुन फलाउन सक्छस् ।

विन्दा (कथा)


    झमक्कै साँझ परे पनि आज ऊ गोठ मै थिई । हुन त  गोठ र घरको दुरी पनि कति नै थियो र, मज्जाले हिंड्दा पाँच मीनेटको बाटो । वस्तुभाउलाई परालको गुजुल्टो हाली दिएर एकक्षण ऊ टोलाईरही पश्चिम दिशातर्फ । उसलाई कता कता विदेशमा रहेको आफ्नो श्रीमान्को याद आयो । न आओस् पनि किन ? भरभराउँदो जवानीमा श्रीमान्सँग टाढा भएर बस्नु कति गाह्रो हुन्छ भन्ने कुरो खेप्नहरुलाई मात्र थाहा हुन्छ । हुनत भन्नेहरु भन्छन् नि श्रीमान्ले पैशा पठाइदिए कै छ, मोज गरेकी छे भनेर । तर पैशाले सबै सन्तुष्टि प्राप्त हुँदैन भन्ने के थाहा, भन्नेहरुलाई ।
    बारीको कान्लामा टुसुक्क बसी र गोठ तिर दृष्टी फ्याँकी, गाई–गोरुहरु परालको बुजो मुखभरि हाल्न ब्यस्त थिए—उसले हेरिरही । पर बाँस झ्याँङमा केही बेर अघि सारौको हुल च्याँच्याँ चुँचुँ गर्दै बास बस्ने तरखर गर्दै थिए तर अहिले कतै–कतै किराहरुको एकोहोरो किरकिर बाहेक जताततै सन्नाटा छाएको थियो । निक्कै तल एउटा कालो छाँया उनी भएकै तिर उक्लन्दै गरेको उसले देखी । सायद डाँडा पल्लापट्टिका केही होलान्, हाम्रो गाउँतिर गएर फर्किन्दै गरेको होलान्—उसले लख काटी । बसेको ठाउँबाट जुरुक्क उठेर डिल झर्नै लाग्दा त्यो कालो छायाँ उसको सामुन्ने आइपुग्यो । अँध्याराको कारण प्रष्ट नदेखिए पनि त्यो लोग्ने मान्छेको आकृति हो भन्ने उसले ठम्याई । ए... को हो ? उतैबाट आवाज आयो ।
    ए...साइँला पो...म है बिन्दा..., उसले यति नै बोली र हिंड्नलाई बारीको कान्लामा घोप्ट्याएर राखेको डोको थपक्क टिपी ।
    ए... के गर्दै हुनुहुन्छ भाउजु यतिबेला ? हिंड्दा हिंड्दै टक्क रोकिएर उसले गफिने संकेत देखायो । के गर्नु घाँसपात गर्न आएकी थिएँ, यताउता गर्दागर्दै झमक्कै साँझ परिसक्यो, अनि साइँला कता गएर आउनु भो त ? ऊ पनि राकिएरै बोल्न थाली ।
    तपाईहरुकै गाउँतिर झरेको थिएँ, हिउँदको समय खासै काम छैन, यसो दिन काट्नलाई नि भाउजु ।
भनेपछि कुरो अली गहिरै छ है, एउटी हुँदाहुँदै अर्कीको चाहारीमा हो कि क्याहो साइँला ? ऊ अलिकती छिल्लिई ।
    एउटीले नै हैरान पार्न लागेको बेला कता अर्कीको खोजी गर्नु बरु...। ऊ बिचैमा टक्क रोकियो ।
के बरु...खुलस्तैभन्दा भइहाल्यो नि ? हातले च्याप्प समातेको डोको काँधमा हाल्दै ऊ बोली ।
भो नभनौ फेरि अर्काको सिसोबासो । ऊ पनि छिल्लिन थाल्यो ।
    यसरी नै उनीहरु केही बेर छिल्लिरहे । साइँलाले उसलाई भाउजु भने पनि त्यो बोल्ने साइनो मात्र थियो । साइँला कार्कीको छोरो, बिन्दा पोखरेलकी बुहारी अनि कताबाट साइनो परोस् र ? तर बोल्ने साइनो उनीहरुको थियो देवर–भाउजू । साँझ निक्कै छिप्पिसकेपछि बिन्दा घर झरी । सिकुवाको एक कुनामा डोको थपक्क बिसाएर भित्र पसी । अगेनामा आगो बलेको थिएन । ससुरा कुनाको एक छेउमा बसेर खै के गर्दै थिए, उसले भेउ पाउन सकिन । सासु अगेनाको डिलमा ओंठ लेप्राएर ढम्मरढुस्स बसिरहेकी थिइन् । उसको साना नानीहरु बाहिर दलानमा उसैको बाटो हेरेर बसेका थिए—ऊ भित्र पस्नासाथ लुङ्गीको फेर समात्दै भित्रै पसे ।     यतिबेलासम्म तेरो के खोज्दै थिइस् है बाइफाले, सासुको रुखो आवाज कोठाको सन्नाटालाई चिर्दै गुञ्जियो । ऊ चुपचाप भाँडामा खरानीको पोत हाल्न थाली ।
    तेरो चाला निको देख्दिन है म, हामीलाई थाङ्नोमा सुताएर मोज गर्दैछेस्... छोरो आएपछि चाख्लिस्, सासु चर्किन थालिन् । सासुको यस्ता बचनहरु सहन अभ्यस्त भइसकेकी ऊ चुपचाप भातको बाहान बसाएर आलुको मसिना दाना चुलेसीले चाना पार्न थालिन् । यसबीचमा सासुले निक्कै बचन फलाकी सकेकी थिइन् तर रोगले विस्तारै गाल्दै लगेको ससुरा भने चुपचाप अगेनाको डिलमा बसेर दाउरा घचेटी रहे । केहीबेरको ताहुर–माहुरपछि खाना पाक्यो र दिइन् सासु–ससुरालाई । निन्द्राले ब्याकुल भएका छोरा–छोरीलाई पनि ख्वाइन् र बाँकी रहेको थोरै गुन्द्रुक र आलुको झोलसँग बिहानको बासी भात जब्बरजस्ती निलिन् । छोरा–छोरीलाई ओछ्यानमा पु¥याएर जुठो लोट्याइन् र भाँडाकुँडा माझिन्, यतिगर्दा रातको दश बजी सकेको थियो । सासु ससुरा ओछ्यानमा पस्रिसकेका थिए । विस्तारै ढोकाको छेस्किनी लगाएर टाँडको बरन्डामा उक्लिइन्, छोराछोरी मस्त निदाइरहेका थिए ।
    दिनभरीको हैरानीले जिऊ थाके पनि निन्द्रा फिटिक्कै लागेको थिएन । माइतिमा हुँदा बिहान बेलुकी यसो पत्रपत्रिका र किताबहरु पढ्ने गरे पनि बिबाह गरेर आइसकेपछि त्यो बानी पुरै हटिसकेको थियो । माइतीमा पो दाजुभाइहरुले पत्रपत्रिका, किताबहरु ल्याउँथेर ऊ पढ्थी यहाँ त कसले ल्याउने ? सासु–ससुरा दुवै अनपढ्, श्रीमान्लाई पढ्नुमा वास्तै थिएन । जेठाजु–जेठानीहरु छुट्टिएर अलग भैसकेका, आमाजूहरु सबै विबाह भएर घर गैसकेका । ऊ ओछ्यानमा निक्कैबेर छट्पटाई रही । उसले बाल्यकालका केही स्मृतिहरु सम्झिई । ऊ माइतमा सबैको साह्रै प्यारी छोरी थिइ । हुन त क्षेत्री–ब्रम्हाण समुदायमा छोरीलाई अलिक हेलाको दृष्टिले हेरिन्छ । बिबाह गरेर जाँदा प्रसस्त दाइजो दिनुपर्ने चलनले छोरीहरु धेरै नजन्मिएको निको ठान्छन् बाबु–आमाहरु । तर ऊ चारभाइ दाजूहरुको एक्ली चेली थिइन् । उसबेलाको जमानामा अशिक्षाको कारणले उसकी आमाले पाँच सन्तान जन्माउन बाध्य भएकी थिइन् । अहिले त्यो सम्झेर उसलाई कहाली लाग्छ । ऊ विगतबाट फर्किएर केही बेर अगाडिको घटना सम्झिन थालिन् । कार्की साइँलाको ठट्यौलो बोली कतै गुञ्जिरहेझैं लाग्यो उनलाई । ऊ चुपचाप गमखान थालिन् । यसबेला उसले परदेशमा रहेको आफ्नो लोग्ने समेत भुलिन् । तर छेवैमा सुतिरहेको सानो छोरीको साँक् साँक् सुँक् सुँक्ले उनको तन्द्रा भङ्ग हुन्छ । ऊ छोरीतर्फ कोल्टिएर दुध चुसाउन थाल्छे । छोरीलाई अङ्गालेर दुध चुसाउन थालेपछि अघिका कुराहरु कता गायब हुन्छन् कता । ऊ छोरीसँगै कुनबेला भुसुक्क निदाई पत्तै हुँदैन ।
    समय एकनासले बगिरहन्छ । गाई गोठ, घरको धन्दा, बारीको खन्जोत गर्दागर्दै फागुन महिना बित्न लागेको हुन्छ । चैत्र महिनाको पहिलो हप्ताबाट मकै छर्न शुरु गर्नुपर्ने भएकोले मकैको बिऊ समेत छानी सकेकी हुन्छिन् बिन्दाले । घरमा सासुको कचकच झन् बढ्दो हुन्छ । घरलाई लथालिङ्ग छोडेर ऊ माइत पनि जान सक्दिन । आ...सधैंको यस्तै त हो नी भनेर सासुको गनगन सबै पचाउँछे । यसबीचमा कार्की साइँलासँग उसको एकदुइ पटक भेट भएको हुन्छ तर हतारोको कारण उनीहरुको लामो बोलचाल भने भएको हुँदैन । बरु परदेशको लोग्नेलाई सम्झिएर उसले धेरै रात आँखा कच्मटाएकी भने हुन्छे । एक साँझ ऊ सदा झैं गोठमा गाइ गोरुलाई पराल लाइदिदै गरेकी हुन्छे । खै कताबाट हो कार्की साइँलो त्यही आइपुग्छ । रात परिनसके पनि जूनको आगमन भइसकेको हुन्छ आकाशमा । चिसापानी डाँडाको माथिबाट झुल्किएको जूनको धमिलो प्रकाश बारीका कान्लाभरि छरिरहेको हुन्छ । बेलुकी पखको मन्द वतासले ज्यानलाई हल्का स्पर्श गरिरहेको हुन्छ । वासना नआए पनि बारीमा फुलेका आरु बखडाका फूलहरुले प्रकृतिमा एक प्रकारको मादकता थपेको हुन्छ । यहिबेला कार्की साइँलाको आगमनले बिन्दा केहीबेर असमञ्जसमा पर्छे । रोकिन्दा रोकिन्दै बोली चिप्लिहाल्छ बिन्दाको । हेर्दा सोझो लागे पनि छेड् हान्नु खप्पिस छ कार्की साइँलो, त्यसैले त उसको छेड्खानमा बिन्दा भुतुक्क हुन्छे । आफु को हुँ, के हुँ भन्ने बिर्सन्छे विन्दा । बोलीबाट मात्र जिस्किरहेका  देवर–भाउजु विस्तारै हात चलाउँन थाल्छन् । विन्दाको संवेदनशिल अङ्गतिर कार्की साइँलाको हात डुल्न थाल्छ । यी हर्कत गलत हो भन्ने जान्दा जान्दै पनि बिन्दा इन्कार गर्न सक्दिन । श्रीमान् विदेसिएको दुई बर्षपछि पुरुशको स्पर्शले ऊ पग्लन्छे । आखिर जे नहुनु पर्दथ्यो भएरै छाड्यो । घरमा श्रीमति हुँदाहुँदै श्रीमान्को यादले ब्यतित भएकी बिन्दाको विवसताको फाइदा उठाएरै छाड्यो कार्की साइँलाले । यतिबेलासम्म जवानीको जोशले बेहोस बनेकी बिन्दा हस्याङ्ग फस्याङ्ग गर्दै घर झर्छे । घरको दैनिकी उही छ—भाँडामा पोत लगाउ, भात पकाउ, ख्वाउ, जूठो लोटाउ, भाँडा माझ र कहिले नसकिने सासुको कचकच कान थाकुञ्जेल सुन । तर आज यी सारा काम गरिञ्जेल बिन्दा एकबचन कोहीसँग बोलिन । ऊ भित्रभित्रै अन्र्तद्वन्दमै अल्झिरही, पश्चतापमा जलिरही । तर कता कता उसको मनले एक प्रकारको सन्तोष पनि महशुस गरिरह्यो ।
    दिनहरु यसरी नै बितिरहे । कार्की साइँलोसँगको संसर्ग अझै बढिरह्यो । उनीहरुले एकान्तको फाइदा लुटिरहे । गाउँमा कार्की साइँलोसँग लसपस रहेको हल्ला पनि नसुनिएको होइन तर ती सारा हल्लाहरुको बेवास्ता गरिरहे दुवै जनाले । नभन्दै चैत्र महिनामा हुनुपर्ने मासिक धर्क रोकियो बिन्दाको । आज होला, भोली होला भन्दाभन्दै चैत्र महिना बित्यो, महिनावारी भएन । अब भने बिन्दामा गर्भ रहेको संका पलाउन थाल्यो । घरमा संका गर्छन् भनेर मासिक धर्म नभई उसले बारिन् । यसरी नै बिते दुइ महिना तर महिनावारी भएन । उता कार्की साइँलो बिदेशको चक्करमा भौतारिन्दै काठमाण्डौ हानी सकेको थियो । यस्तो बेला सरसल्लाह गर्ने कोही मनले खाएको पाइन बिन्दाले । माइत जाउँ भने घरमा बिल्लिबाठ हुन्छ, कुनै स्वास्थ्य चौकीमा जाउँ भने पोल खोलिने डर । साँच्चै बिन्दा भित्रभित्रै भुट्भुटिन थालिन् । यौवनको आवेशमा गरिएको भूल सम्झेर एकान्तमा धेरै रोइन् पनि तर आँशुले उनको विवसतालाई मेट्न सकेन । उनले गर्भ फाल्नको लागि जानेसम्मको घरेलु उपचार त गरिन् तर त्यो गर्भ गएन । घरकाहरुले संका नगरुन् भनेर महिना महिनामा मासिक धर्म भएको स्वाङ रचेर बारिरहिन् । एवं रितले तीन महिना बित्यो, चौथो र पाँचौं हुँदै छैटौं महिना पनि बित्यो । विवसताको फाइदा लुटेर हिंडेको कार्की साइँलो मलेसिया पुगिसकेको थियो, त्यसको परिणाम बिन्दाले एक्लै खेपी रही । ऊ कहिले काँही सोच्थी भूल दुवैको भए पनि त्यसको परिणाम किन म एक्लैले बेहोर्नु पर्ने ? तर विवसता यहि थियो पुरुषले गरेको भूलको निसानी कतै देखिन्दैन मात्र महिलाले बेहोर्नु पर्छ अनिच्छित गर्भ । बिन्दाले धेरै उपायहरु सोचिन् तर कुनै उपाय उसलाई निको लागेन । आत्महत्या गर्नु जस्तो कायर बाटो समात्नुभन्दा बरु गर्भमा रहेको बच्चा जन्माएर कार्की साइँलाको घर भित्रनु उसलाई निको लाग्यो त्यसैले उनी त्यही तानाबाना बुन्न थालिन् । कार्की साइँलालाई यो कुराको जानकारी दिन चाहान्थी तर सजिलो थिएन । उसले केही पल्ट फोन गर्न पनि चाहि तर सम्भव भएन । कार्की साइँलाको घरमा भन्नु पनि उसले सहास जुटाउन सकिन । दिनहरु नजिकिन थाल्यो, बिन्दा अझै धेरै आतिन थाली । बिचरी न आत्तियोस् पनि किन ! हुँदै नभएको कुरालाई त पहाड बनाएर बद्ख्वाइँ गर्ने सासु ससुरा र गाउँलेहरु यति ठूलो घट्ना घट्न लाग्दा चुपचाप बस्थे त ? तर हिम्मत हारिन उनले । आफु जसरी हिंड्नु परे पनि हिडौंला तर श्रीमान्ले घर फर्केर दुःख नपाओस् भनी उसले भएको जायजेथाहरुलाई सुरक्षित स्थानमा राखी, लगाएको अन्नबाली उठाई, गाउँघरको सरसापट मिलाई । पौश महिना शुरु भयो, ऊ भित्रभित्रै भुट्भुटिन थाली । उसलाई सबैभन्दा बढी पीर थियो छोरा र छोरीको । ऊ बिना छोरा छोरीको बेहाल हुने निश्चित थियो । श्रीमान् घर नर्फिकुञ्जेल छोरा छोरीलाई साथैमा राख्न चाहान्थी ऊ । तर उसलाई के कुरोमा विश्वास थियो भने—उसले अहिलेको घर छोड्न साथ श्रीमान् नेपाल फर्कने छन् र छोरा–छोरीलाई सम्हाल्ने छन् । समय न हो चिप्लन कतिबेर, आखिर त्यो दिन पनि आइपुग्यो, जो आउनु अनिवार्य नै थियो तर ऊ नआओस् भन्न चाहन्थी ।
    साँझ विस्तारै छिप्पिदै थियो । ऊसलाई ब्याथाले च्याप्न थाल्यो । खाना चुल्हामा पाक्दै थियो । अगेनाको छेउमा बसेर छोरा–छोरी कहिले खाना पाक्ला र खान पाउँला भनेर कुरिरहेका थिए । ससुरा बाहिर बसेर खै के गर्दै थिए, उसलाई पत्तो थिएन । सासु भने सधैं झैं एकनासले भुक्दै थिईन् । पहिला विस्तारै पेट दुख्यो, उसले वास्ता गरिन । तर पेट दुखाई विस्तारै बढ्दै गएपछि भने ऊ आत्तिई र बाहिर निस्कि । जस्केलाको छेउमा केहीबेर बसी तर दुखाई झन् साह्रो भएपछि ऊ नजिकैको कटेरोमा गई र छेउमा राखेको कोदोको नलमाथि पसारो परी । दुखाई जोड–जोड हुँदै थियो—दाह्रा किटेर त्यसको सामना गरिरहेकी थिई । पीडाको सामना कतिञ्जेल पो गर्न सक्थि र विचरी, आखिर मुखबाट पीडाको चित्कार निस्कियो । यतिबेलासम्म सासुले थाहा पाइसकेकी थिईन्, छेऊमा आएर उसको अवस्थाको जानकारी पाएपछि सासुको गनगन आवेगमा परिणत भयो । उसले मुखमा आए जति सबै गाली मात्र गरिनन् लुछाई–मुन्टाई सबै गरिन् । उसको गाली र लुछाईले समस्याको समाधान हुने थिएन । त्यसैले आफ्नो लोग्नेको छेउमा गएर सबै बेलिविस्तार लगाईन् र गाउँ समाजलाई बोलाउन पठाईन् । आफु पनि धुनमुनिन्दै तल्लोघर तिर हाम फालिन् । यता अगेनाको डिलमा बसेर भात पर्खिरहेका छोरा–छोरी सबै खबरबाट बेखबर थिए, घरमा के भइरहेको छ, उनीहरुलाई पत्तो थिएन । अचानक हजुरबा–हजुरआमा घरबाट निस्केर बाहिर गएकाले उनिहरु एक्लै परे । त्यसैले आमा खोज्दै उनीहरु गोठमा पुगे । गोठमा आमा एकातिर पल्टिरहेकी थिइन् । नलको थुप्रोमा ओच्छिएको पातलो लुङ्गी माथि भरखरै जन्मिएको सानो नानी एकोहोरो रोइरहेको थियो । आमाले भाइ वा बहिनी जन्माईन् भनेर ती अबोध बालखाहरु खुसी देखिए । विचराहरुलाई त्यो सानो नानी आमा र आफूहरुबीच सम्बन्ध अन्त्य गराउनको लागि जन्मिएको हो भन्ने के थाहा, खुसीमा रमाए । केहीबेरमा गाउँघरका पुरुष–महिला, केटा–केटी हो हल्ला गर्दै गोठमा थुप्रिए । सबै रिसले जलिरहेका थिए । मुखमा आए जति गाली गरिरहेका थिए, गाउँका बाठा भनाउँदा महिलाहरु । भरखरै जन्मिएको नवजात शिशु समेत गालीबाट अछुतो थिएन । बिन्दाको विवसता र वाध्यतालाई सहानुभूति दिने बचन कसैको मुखबाट निस्किरहेको थिएन । नराम्रो बचन गर्नेहरुमा पुरुषहरुभन्दा महिलाहरु धेरै थिए । आखिर महिलाहरु नै किन यति कठोर हुन्छन्, विन्दलाई अनौठो लागिरहेको थियो ।
    विन्दालाई केरकार गर्न थालियो । यो कुन बजियाको पाप हो ? धेरैले यसै भने । सुत्केरी हुनुको पीडाभन्दा पनि भविश्यको चिन्ताले गली सकेकी बिन्दाले हत्तपत्त मुख खोलिन । घोसे मुन्टो लगाएर आँशु बगाइरही बिन्दाले । भेला भएकाहरुले नानाभाँतीको गाली गरिरहे । भरखरै जन्मिएको नवजात सिसु एकोहोरो रोइरहेको थियो । गाउँमा अलिक भलाद्मी लाग्ने तारापति पोखरेलको पनि आगमन भयो । ऊ नजिकै आएर भइरहेको घटनाको वस्तुस्थिती बुझ्न थाल्यो । उसले एक पटक विन्दाको मुखमा हेर्यो र गाउँलेहरु तर्फ नजर घुमायो । गाउँलेहरु मुखमा आएजति गाली गरिरहेका थिए । गाउँलेहरुको स्वरभन्दा अलिक चर्को स्वर बनाएर नवजात सिसुलाई देखाउँदै उसले विन्दालाई सोध्यो—यसको बाऊ को हो बुहारी ? झण्डै आफ्नै बृद्घ बाबुझैं लाग्ने तारापतिको गम्भिर आवाजले विन्दा अकमक्क परी । उसले नवजात सिसुतर्फ थोरै दृष्टि फाली र आँखाबाट बगिरहेको आश्रुधारालाई दाहिने हातले लत्पत्याउँदै बोली—कार्की साइँला ।
    घटना स्थलमा एकक्षण चकमन्नता छायो । सबैले एक आपसको मुख हेराहेर गर्न थाले । यही बेला तारापतिले कसैलाई आदेश दियो—जाऊ कार्की साइँलाको बाबु–आमा र आफन्तहरुलाई लिएर आऊ । तारापतिको आदेश आउन साथ केही ठिटाहरु हानिए पल्लो पाटापट्टि । घटनास्थलमा आपसमा बोलिएको गुनगुन आवाज गुञ्जिरह्यो निरन्तर निरन्तर ।
    कार्की साइँलाको घरतर्फ हानिएका ठिटाहरु रित्तै फर्किए केही बेरमा । भोली छोरालाई फोन गरेपछि हो–होईन भन्ने थाहा लागेपछि मात्र आउँछौं भनेर कार्की साइँलाको बा–आमाले भनिपठाएको खबर दिए ठिटाहरुले । विन्दा घोसेमुन्टो लगाएर बसी रहेकी थिई । न सफा सुघर न बच्चाको स्याँहार उसले कही पनि गरिन । उनको मनमा भविश्यकै चिन्ताले डेरा जमाइरहेको थियो । घरका सासु–ससुरा र गाउँलेहरुको कटु बचन उनले सुनी पनि सुनिन पनि तर नवजात शिशुको एकोहोरो च्याँ च्याँले भने ऊ घरिघरी विह्वल बन्थी । जसरी जन्मे पनि आखिर आमाको मन न हो माया त लाग्दो नै रहेछ ।
    ‘लौ तिमी आइमाईहरुले यो बाइफालेलाई आज रातभरि रूँग, कतै यसले यो पापको भारीलाई मारी भने भोली हामी समेत फसिन्छौं’, भिडमा कुनै पुरुषको चर्को आवाज गुञ्जियो । ‘हो हो यसको भर छैन, यो आफै नै पासो लाग्न पनि सक्छे’, भिडमा अरुले पनि सहमति जनाए । केहीबेरको गानगान गुनगुन पछि गाउँका धेरै जसो महिलाहरु विन्दालाई रूँगेर बस्ने भए । पुरुष भनाउँदाहरु भने एकपटक सक्दो गाली गरेर थु थु गर्दै घर–घरतर्फ लागे । हिँड्दा हिँड्दै कसैले आदेश दियो सबैलाई, ‘भोली बिहान सबेरै सबैजना जम्मा हुनु, कोही पुलिसचौकी जानुपर्छ र यस बाइफालेलाई टुङ्गो लगाउनु पर्छ ।
    रात एकनासले चिप्ली रहेको थियो । गाली गर्दा–गर्दा थाकेका महिलाहरु झकाउन लागेका थिए । तर विन्दालाई निन्द्राले फिटिक्क छोएको थिएन । छेउमा रहेको नानीलाई पुरानो लुङ्गीमा सपक्क बेह्री र विरालोको चालमा गोठबाट बाहिर निस्की ।
    एकक्षणपछि गोठमा कोलाहल मच्चियो...बाइफाले कता हिंडी...चारैतिर खोज ।
   

इलिगल (Story)

“सुजन पनि इलिगल भएछ ।” वसन्तले हिजो साँझ फोन गरेर मलाई सुझाएको थियो । सुजनसँग फोनमा सम्पर्क बिच्छेद हुन साथ मैले फोन गरे थें तर सुजनको नम्बरमा फोन लागेन । आज पुनः सुमनले फोन गरेर थप रहस्य खोल्यो “सुजनले त जुलितासँग बिहा गरेछ ।”
    सुजन र जुलितालाई म राम्रो सँग चिन्छु । यी दुई बिचको प्रेम कथाको एकमात्र साँक्षी पनि म नै हुँ । उनीहरुले बिहा गरेको खबर सुन्दा अनौठो नलागे पनि उनीहरुको भविश्यको चिन्ताले म केहीबेर छट्पटि रहें । सुजन मेरो कुनै साईनो लाग्ने आफन्त होईनन्, उसँग फगत माटोको सम्बन्ध छ । तर जुलितासँग त्यो सम्बन्ध पनि छैन । त्यही पनि दुवैसँगको परिचय पछि पराईपन हराएर गएको छ । एक परिवारका सदस्य भन्दा बढी नै  उदाङ्गो छौं हामी ।
    तीन बर्ष अगाडि हरिरायको बिदा मनाउन कोतराय पुगेको बेला एक नेपाली रेष्टुरेन्टमा पहिलो पल्ट सुजनसँग मेरो भेट भएको थियो । थामी नसक्नुको भिडलाई चिर्दै म एउटा टेबलमा पुगेर खाना अर्डर गर्नु अगावै सुजन सोही टेबलको एक कुनामा बसेर गाँस हुत्याउँदै थियो । गम्भिर देखिए पनि उनको अनुहारमा उदासी थिएन । वेटरले छेवैमा छोडेर गएको मेनुलाई हातले टिपेर हेर्दै परिचयको ढोका मैले नै उघारेको थिएँ । मुखमा हालेको गाँसलाई घुटुक्क निल्दै हल्का मुस्कुराएर उसले आफ्नो नाम भन्दै हात म तिर बढाएको थियो । ऊ मलेसिया सरकारले नेपाली कामदारलाई वर्क परमिट दिने निर्णय गरे लगत्तै भित्रिएको रहेछ । म भने एक बर्ष पछौटे थिँए । हामी बिचमा निक्कै बेर गफगाफ चल्यो । सुरुमा बोल्न अनकनाए पनि अन्तमा ऊ यसरी बग्न थाल्यो कि मलाई रोक्न करै लाग्यो । त्यस दिन एक आपसको सम्पर्क नम्बर साटासाट गरेर हामीले बिदाईको हात मिलाएका थियौं ।
    सुजनसँग दोश्रो भेट दिपावलीको बेला भएको थियो । त्यस दिन इन्डियन मूलका मलेसियन नागरिकहरुको तमक झमकले कोतराय रंङ्गिएको थियो । कालो छालाले अनुहार नचम्किए पनि खुसीमा झुमिरहेका मलेसियन हिन्दुहरुको भिडमा नेपालीहरुको अनुहार फुङ्ग उडेको झैं लाग्थ्यो । बर्ष दिनमा आउने तिहार पर्वमा चेलीहरुबाट टाढा हुनुपरेको पीडाको निशानी हुन सक्छ त्यो मुखाकृति । त्यस दिन हामी भिडबाट अलगिन्दै मर्डेका भ्यूमा पुग्यौं । फलामको आकास छुने खम्बामा स्वतन्त्रताका साथ फहराईरहेको मलेसियाको झण्डाले बनाईहरेको छाँयामा छेल पर्दे हामी सामुन्ने रहेको विश्राम स्थलमा पुग्यौं । फाट्टफुट्ट मान्छेहरुको  ओहोर दोहोर बाहेक पार्क सून्य नै थियो । त्यही सून्यताको फाईदा उठाउँदै सुजन र म गफमा निमग्न हुन थाल्यौं । अन्तर मनलाई खोल्ने क्रममा मैले सुजन साहित्य मन पराउने मान्छे भएको चाल पाएँ । मैले पनि उनलाई खुलस्त भने म संगीत मनपराउँछु । त्यस दिन हामीले साहित्य र संगीतको बारेमा आफुहरुले जानेसम्म गफ ग¥यौं र छुट्यौं ।
    भनिन्छ, आप्रवासी कामदारको जीवन, न मन लागेको बेला हिड्न पाईन्छ न भोक लागेको बेला खान नै । परन्तु बाह्र घण्टा अरुलाई बन्धकीमा सुम्पेको समय सकिन नपाउँदै बिदेशी कामदारहरुको ओईरो लाग्छ बजारमा । पासार मालाममा सस्तो कपडा छान्ने देखि लिएर लोकल रेष्टुरेन्टमा नाइन्टी नाईन घोप्ट्याउने विदेसी नै हुन्छन् । फोनको भरमा एक राते मायालुलाई महिना दिनको तलब सुम्पने मात्र हैन चौकिटको यौन बिक्री कक्षमा हरेक पल्ट तिगा पुलोह फाल्ने पनि बिदेसी नै हुन्छन् । इन्डोनेसियन, भियतनामी, फिलिपिनो, बङ्गाली, पाकिस्तानी, बर्मिज र भारतीयहरुको दाँजोमा नेपालीहरु निक्कै अगाडि छन् यो मामलामा । यस्तै गफ गरिरहँदा सुजनले एकपल्ट भनेको थियो, “मलाई त नेपाली हूँ भन्न पनि सर्म लाग्छ ।” सुजन भन्दा अगाडि बढेर मैले भनेको थिएँ, “म त हतपत्त नेपाली भाषा बोल्दिन पनि ।” हाम्रा यी साझा बिचारले हामीलाई अझ नजिक्यायो । हामीले नेपाली हुनुमा सर्म मानेका थिएनौं तर मलेसियामा नेपालीहरुले देखाउने ब्यवहारको कारण लज्जित हुनु परेको थियो ।
    चाइनिज न्यूइयरको बेला थियो । हप्ता दिनको कम्पनी बिदाले खाली बस्नु पर्दा मनले पुरानो यादहरुलाई कोट्याउन खोज्दै थियो । त्यहीबेला अचानक सुजनले फोन गरेर मलाई उसकोमा बोलायो । क्वालालम्पुर पुगेर गाडी चढी म शाह आलम हानिएँ । उसले फोनमा भनेको थियो, “म तिमीलाई आज एउटा सप्र्राइज दिन्छु ।”
    उसले भने बमोजिम म गाडीबाट उत्रेर प्रतिक्षालयमा कुर्न थालें । मध्यान्नको तातो घामलाई छानाले छेके पनि सितलता दिन नसकेरै होला गर्मी उखुम भइरहेको थियो । केही क्षणको पखाईमै उकुस मुकुस भइसकेको थिएँ । अचानक एउटी अपरिचित केटीसँग हार मिलाउदै सुजन म भएतिरै आइरहेको देख्छु । मनमा चिसो पस्छ, कतै सुजनले भनेको सप्र्राइज त्यही केटी त होइन ? दोश्रो कुरो सोच्न नपाउँदै सुजन मसँग घ्वाम्लाङ्ग अङ्गालो मार्न आइपुग्छ । हामी एकआपसमा हेराहेर गर्दछौं निक्कै बेर । सुजनका गम्भिर आँखाहरु खुसीमा नाचीरहेको देख्छु म । उनको खुसी देख्दा लाग्थ्यो उसले ठूलै बाजी मारेको हुनुपर्छ । सुजनसँगै आएकी केटी छक्क परेर हामीलाई हेरिरहेकी थिईन् । हठात् बाहुबाट अलगिन्दै सुजनले ती केटीसँग परिचय गरायो, “यिनी मेरी साथी जुलिता ।” ओठमा जब्बरजस्ती मुस्कान ल्याउँदै मैले पनि आफ्नो नाम  भने “म शरद ।” जाऔं भन्ने ईसारा गर्न साथ हामीले सुजनको पाईला खप्ट्याउन थाल्यौं । एउटा सानो बजारलाई पछाडि धेकल्दै हामी एउटा कम्पाउण्ड भित्र र्छिछौं । एकै मोडलका पाँच छ वटा होस्टल लस्करै उभिएका थिए । होस्टलको दाँयाबाँया खुल्ला पार्क र पार्कमा बिभिन्न जातका रुखहरुले सिलतला दिइरहेको थियो । तातो घामको पर्वाह नगरी मन्द गतिमा पवन रुखका पातहरुसँग इत्रिरहेको थियो त्यहाँ । सुजनले बीचको होस्टलको तेश्रो तल्लामा उकालेर एउटा कोठमा पस्न ईसारा गर्यो । दुईजना केटाको साथमा एक्लो केटी, मलाई कताकता असजिलो महशुस भइरहेको थियो । जुलिता ढोकाबाट भित्र छिरेपछि भने म अलिक हल्का भएँ र छिरें ।
     “हैन सुजन तिमीले आज के सर्प्राईज दिन्छु भनेर मलाई बोलाएको हौ ?” मैले कुरा कोट्याएँ ।
     “के सप्र्राइज दिनु तिमीलाई उसैसँग परिचय गराईदिउँ भनेर बोलाइको नि ।” जुलिता तिर औंलाउँदै सुजन बोल्यो । तर कुरा नबुझेर होला जुतिला वाल्ल परिरहेकी थिई ।
    “नाम त उनको जुलिता भन्ने थाहा पाएँ, असलीमा उनी को हुन् ?” म प्रष्ट हुन चाहें ।
    “हामी एउटै कम्पनीमा काम गर्दछौं । तर उनी इन्डोनेसियाली हुन् । मेरो मिल्ने साथी र हाल प्रेमिका पनि ।” सुजनले कुरा टुङ्ग्याउन नपाउँदै मैले आश्चर्य प्रकट गरें “प्रेमीका ?”
    “यसमा अचम्म मान्नु पर्ने नै के छ र शरद ? जात, धर्म, भाषा, संस्कार, संस्कृति र सीमाले प्रेमलाई रोक्न नसक्ने रहेछ । तर यो प्रेमलाई अरुको सँग दाँज्यौ भने तिम्रो भुल हुने छ । ” ऊ आफ्नै लयमा फर्किएर बोल्न थाल्यो ।
    खै....। यसभन्दा अगाडि म बढ्न सकिन । तर ब्यङ्ग्यको सानो झटारो मुस्कानबाट हाने । आफ्नै आँखाले देखेको छु यस्ता प्रेमको नाटक, जहाँ यौनको सौदाबाजीमा केही दिन प्रेमको चक्कर चल्छ तर जब नयाँ पात्रको आगमन हुन्छ सबै चकनाचुर । म कसरी उनिहरुको सम्बन्धलाई अरुको जस्तो होइन भन्न सक्थेँ र ? तर शब्द खर्च गरेर मन दुखाउन चाहिन मैले उनीहरुको । त्यो दिन म उस्तो खुल्न सकिन । यो कुरा सुजनले पनि महशुस गरिरहेको थियो । साहित्य मनपराउने मान्छे न पर्यो ऊ, मलाई मनोविज्ञानको तराजुमा उसले जोखिसकेको हुनु पर्दछ भन्ने मैले ठम्याएँ । सामान्य कुराकानी पछि म फर्किन हतारिएँ । बस स्टेशन सम्म सुजन र जुलिताले मलाई साथ दिए ।
    एक हप्ताको लामो विदा सकिन नपाउँदै कम्पनीमा कामको चाप बढ्न थाल्यो । नियमित छ सात घण्टा ओभर टाइम गर्नु पर्ने नियतीले ज्यादै बेफुर्सदी निम्त्यायो । कोठामा कपडा धुन बाहेक अरु काम गर्न समय नै नपुग्ने । मलेसियामा विदेशी कामदारहरुलाई ओभर टाइम मिल्नु भनेको असारको पन्ध्र आए जस्तै हो । नाथें बेसिक स्यालरीले त महिनाभरी खर्च गर्न पनि पुग्दैन । ओभर टाइम भएन र गरिएन भने जति बर्ष मलेसिया बसे पनि रित्तै हात फर्किनु सिवाय अरु कुनै उपाय थिएन । म आफ्नो नियमित रियाज र हप्तामा एक दिन इ–मेलमा बस्ने क्रमलाई छोडेर काममा जोतिई रहें । यस बिचमा सञ्जय, राज र जीवनको केही कल फोन रिसिभ गर्नु भन्दा अरु कसैको फोन आएन । सुजनले पनि फोन गरेन, म त नगर्ने पक्षमा नै थिए ।
    करिब महिना दिन पछि काम अलिक बेलैमा छुट्यो । सधैं काम र कोठामै कोचारिए र बसिरहनु पर्दा मन साह्रै भारी भएकोले त्यो साँझ पार्कमा निस्किएँ । पार्कभरी हरियाली छरिरहेको रुखहरुमा निलो प्रकारको फूल फुली रहेको थियो । फूल जस्को नामैले मात्र पनि म रोमाञ्चित हुन्छु । फूल साह्रै संवेदनशिल बस्तु, जो आँखाले हेरिन्ञ्जेल राम्रो देखिन्छ । टिपेर खेलाउन साथ त्यसका सारा स्वभावहरु मरेर जान्छन् । संवेदनाको प्रतिक न हो त्यसबेला दुईथोपा आँशु चुहाएर त्यसलाई श्रद्घाञ्जली दिन बाहेक के नै पो गर्न सकिन्छ र ? त्यही पनि छुक्छुके मन, मैले रुखको डाली नुहाएर एक झुम्पा फूल चुँडी छाडे ।
    फूलको रङ्गहरुसँगै खेली रहेको बेला हेण्ड फोनको घण्टी बज्यो । नयाँ नम्बर भएकोले अन्कनाउन्दै फोन रिसिभ गरे । फोन सुजनले गरेको रहेछ ।
    सायद तिमी मसँग रिसाएको हुनपर्छ । यतिका दिन भयो तिमीले एक कल फोनसम्म गरेनौ ? सुजन गुनासो पोख्दै थियो ।
    हैन मैले रिसाउनै पर्ने कारण नै के छ र सुजन ? कम्पनीमा ओटीको मारामार भएकोले न भ्याएरै हो फोन गर्न नसकेको । अँ भन कस्तो छ तिमीलाई अनि जुलिता...। मलै मन नपराई नपराई जुलिताको नाम पनि उच्चारण गरे ।
    ठिकै छौं । तिमी जति सुकै कुरा बनाउ तर मबाट तिम्रो मन भाँचिएको छ । र, त्यो स्वभाविक पनि हो । किनभने मेरो वास्तविकता तिमीलाई खोल्नै बाँकी छ । भन कहिले भेट्ने ? सुजन अलिक जर्कियो ।
    हुन्छ भेटौंला । अब केही हप्ता पछि कम्पनीको अर्डर अलिक कम हुन्छ । त्यसबेला छुट्टी पाईएला । म तिमीलाई फोन गर्छु नि । म, ऊ बाट पन्छिन चाहें ।
    ओ के म तिम्रो फोनको प्रतिक्षामा हुनेछु भन्दै उसले फोन राख्यो । म पुनः फूलसँगै हराउन थालें ।
    सुजनसँगै भेट्न भनेर एक आइतबार म क्वालालम्पुर छुट्ने बस स्टेशनमा पुगें । महिनाको पहिलो आइतबार परेको हुनाले क्वालालम्पुर जानेहरुको भिडले बस क्षण भरमै भरियो । म अर्को वसको प्रतिक्षामा रहन थालें । मनले सुजनकै बारेमा नानाथरी सोची रहेको थियो । त्यती भावुक मान्छे, जसको मनमा राष्ट्रप्रेम अधिक छ र नराम्रो काममा लाग्नु हुँदैन भन्ने पुरा ज्ञान छ, कसरी एउटी इन्डोनेसियन महिलाको प्रेमजालमा प¥यो ? मैले अनेक थरी तर्कहरु मनमा खेलाएँ तर चित्तबुझ्दो जवाफ कतै पाइँन । तर्कना बीच म कतिबेला गाडी चढे, पत्तै भएन । फराकिलो सडकमा हुरुरु चिप्लिरहेका निर्जीब सवारी साधनभन्दा तेज गतीमा मेरो बिचार चिप्ली रहेको थियो । करिब एक घण्टा नहुँदै म क्वालालम्पुर पुग्छु । आकाश छुन हतरी रहेका क्वालालम्पु सिटी सेन्टरको जुम्लेहा टावर र केएल टावरलाई नजरअन्दाज गर्दै जालान सिलाङको एक नेपाली रेष्टुराँमा म छिर्न लाग्दा सुजनको फोन आउँछ ।
    तिमी आइपुग्यौ होला तर म आउन सकिन । बरु शाहआलमसम्म दुःख गरन, एक घण्टाको कुरा न हो । तिमीलाई बस लाग्ने ठाउँ थाहा छँदैछ । सुजनले फोन राख्यो ।
    म केही बेर रन्थनिन्छु । आ जान्न । त्यसको कहानी सुन्नु पनि फेरि यति दुःख किन गर्नु । जे सुकै होस्, म जान्न । मैले प्रतिज्ञा गरे । तर अर्को मनको हुट्हुटीलाई मैले रोक्न सकिन । बिचराको जीवनमा कुनै ठूलै घटना घटेर पो हो कि त्यस्तो भएको । मैले सुन्नै पर्छ, मैले जानै पर्छ । भित्री मनको पुकारलाई मेरो कुन तागतले रोक्ने ? म शाहआलम जाने बस चढेर पुनः बाटो नाप्न थालें ।
    उही कोठा जहाँ सुजन र जुलितासँग मेरो करिब डेढ महिना अगाडि भेट भएको थियो । सरासर म त्यही पुग्छु । कोठामा सुजन एक्लै रहेछ । मैले जुलिताको खोजी गर्न चाहिन किन्तु सुजनले आफै खोल्यो, जुलिताको ड्युटी परेको ले उनी कोठामा छैनन् ।
    हैन सुजन के कुरा हो त्यस्तो, जस्ले तिम्रो मन बदल्यो, कुराको थालनी गरें मैले ।
    सुजनको गोरो अनुहार धमिलियो । ऊ मलाई पुर्लुक्क नियाल्छ र कुराको थालनी गर्दछ । शरद असलिमा म एक प्रेम पीडित मान्छे हुँ । मसँग सबै थोक थियो । हाँसो थियो, खुसी थियो र सबैभन्दा बढी त्यो हाँसो खुसीमा साथ दिने सुस्मा थिईन् । तर यो बैदेशिक रोजगारीले लुट्यो सरद सबै थोक । आज मसँग पिडा, छट्पटी, बेदना र अनिश्चित भविश्य भन्दा अरु केही छैन सरद । सुजनको चिम्सा आँखाको ढकनमा कताकता शीत देखा पर्दछ । आफ्ना दुवै हातहरुलाई गाँठो बनाएर ऊ भने पोखिन थाल्यो । आजभन्दा सात बर्ष अगाडि सुस्मासँग मैले अन्र्तजातीय प्रेम बिवाह गरेको थिएँ । तनको मात्र होइन मनको पनि असाध्यै जाति थिईन् उनी । जोसँग मैले साथै पाँच बर्ष बिताएँ । पाँच बर्षमा हामी कमै मात्र छुट्टियौं । उनको एउटै बानी नराम्रो थियो, हत्तपत्त मनको कुरा नभन्ने । यही बिषयमा हाम्रो कहिले काँही झगडा पनि प¥थ्र्यो । तर पनि हामी यति चाडै मिल्थ्यौ कि, झगडा गरेको हेर्ने मान्छेहरु पनि छक्क पर्दथे । कतिपयले त हामीले ख्याल गरेको ठान्थे । तर पाँच बर्षसम्म हाम्रो सन्तान भएन । यो कुराले सुस्माको मन पिरोली रहेको थियो भने म पैशा कमाउन नसकेकोको पीडामा छट्पटी रहेको थिएँ । मैले जागीर नपाएको होईन तर त्यो जागीरले सामान्य परिवार धान्न गाह्रो भएको कारणले बिदेशिन कर लाग्यो । बिदेशिने मेरो कुरालाई सुस्माले पहिला त इन्कार गरिन् तर पछि खै के सोचिन् र सर्मथन जनाईन् । शरद मलाई अझै पनि त्यो दिनको याद छ, जतिबेला म सुस्मालाई काठमाण्डाको नयाँ बसपार्कबाट बिदाई गर्दै थिएँ । आफ्नै हातले टिकट काटेर उसलाई बसमा चढाएँ । बस नचलुञ्जेल झ्यालको सिसाबाट अनुहार निकालेर मलाई एकोहोरो हेर्दै आँशु पुछी रहिन् । म एक छेउमा उभिएर ट्वाल्ट्वाल्ती त्यो दृश्य हेरिरहें । मलाई त्यसबेला आफ्नो मन थाम्न कति गाह्रो भयो होला तिमी कल्पना पनि गर्न सक्दैनौ सरद । छोरा मान्छे हुनु यही नै अभाग रहेछ, धोको फुकाएर रुन मनलाग्दा पनि रुन नसकिने । बस चल्यो सुस्माले जब्बरजस्ती हात हल्लाईन् । मुटु निचोरिएर आएको बेदनालाई रोक्दै मैले हात उठाएँ मात्र, हल्लाउन सकिन । काठमाण्डौको नयाँ बसपार्कबाट चक्रपथ उक्लिएर बस थानकोट ताक्न थाल्यो, मैले हेरी रहें तर केही क्षणमै मेरी सुस्मा बोकेर गाडी लापत्ता भयो । मलाई मन थाम्न ज्यादै गाह्रो भयो  । हतार हतार सार्बजनिक सौचालयमा पसेर ढोका थुनी आँशु आइञ्जेल रोईरहें । रुदाँ रुदाँ अनुहार नै रातो भइसकेको थियो । तर मन केही हल्का भएको अनुभव भयो । त्यो बेला मलाई सुस्मासँगको भेट यति नै पो हुने हो कि भन्ने कुराले ज्यादा पिरोलेको थियो । आखिर त्यही भयो शरद..त्यही, जो म चाहान्दिन थें ।
    पुरिन लागेको घाउ बल्झाउनु परेको कारणले होला सुजन एकापट्टी फर्किएर आँशु पुछ्न थाल्यो । उनको अगाडि मैले कम्जोरी देखाउनु ठिक थिएन । ऊ अर्कोपट्टी फर्किएको मौका पारेर चस्मा खोली हतार हतार आँशु पुछे मैले । केही बेरको मौनतामा हराएपछि ऊ फर्कियो म पट्टी र सुरु गर्न लाग्यो आफ्नो बाँकी जीवन कहानी । मलेसिया आएको धेरै दिनसम्म म न भोकमा खान सकें न निन्द्रा लाग्दा निदाउन नै । सुस्माको सम्झनामा हरक्षण म तड्पी रहें । निन्द्रा लगाउने ट्याब्लेट पनि खाइयो तर खाइञ्जेलन हो निन्द्रा लागे जस्तो हुने, छोडेपछि उही नियतीले सताउँथ्यो । सुस्माको नाममा केही पत्रहरु लेखे र उनको जवाफ पखाईमा समय बिताउन थाले । नभन्दै एकदिन उनको पत्र पनि आयो । पत्रमा उनले धेरै कुरा लेखेकी थिइन् तर एउटा शब्दको अर्थलाई मैले ठम्याउन सकिन । “बानीहरुलाई काबुमा राख्न सबैभन्दा गाह्रो पर्दो रहेछ सुजन । तिमी त छोरा मान्छे हौ खुल्ला छौ तर म छोरी मान्छे परे...”। हो यही शब्द थियो त्यो गहिरो अर्थ बोकेको । यी शब्दहरुलाई मैले सुस्मा भित्र सल्किएको यौन चाहनाहरुको प्रतिरुपको रुपमा ठम्याएँ । हुनत म आफै पनि बानीहरुलाई काबुमा राख्न नसक्ने अवस्थामा पुगी सकेको थिएँ तर सुस्माले ठम्याए जस्तो छोरा मान्छेको रुप देखाई हालेको थिईन । मैले सुस्माको पत्रको जवाफ तुरुन्तै लेखिपठाएँ ।
    यती भनी सकेर सुरजले लामो स्वास लियो । म यही बेला उनको अनुहारमा चिर्थोछु । मैले उनको अनुहार पढेर अनुमान लगाएँ, सुस्मा पोईल गएको हुनुपर्छ । मेरो ठम्याई सही नै निस्कियो । सुस्मा गाउँकै नाता पर्ने एउटा केटा टिपेर सहर पसिछिन् । लामो समयसम्म पत्र नआएपछि मनमनै अतालिएको सुजनले एक दिन घरबाट बहिनीले पठाएको पत्रमा सुस्माका सारा हर्कतहरु लेखिएको पाउँदा छाँगाबाट खसे जस्तै भएछन् । यति भनी सक्दा नसक्दै सुजनको अनुहारमा फेरि साउन ओइरियो र आँशु पुछ्न ऊ पछाडि फर्कियो ।
    सुजन त्यो राँडलाई अव सम्झिएर आफुलाई किन दुखी बनाउँछौ । छोडिदेऊ त्यसका कुरा । तिमी अझै जवान नै छौ, त्यस्ता केटी त कति पाईन्छ पाईन्छ । मैले उसलाई ढाडस दिएँ ।
    सरी सरद, म त्यस्तो मान्छे होईन, जो आफ्नो सारा कम्जोरीलाई लुकाएर अर्कालाई मात्र दोष देओस् । सुस्मा पोइल गईन् यो सत्य हो तर दोषी म हुँ म । ऊ अलिक बम्कियो ।
    अरे पागल मान्छे । जो तिम्रो पवित्र मायालाई लत्याएर जान्छ त्यो कसरी निर्दोष हुन्छ यार । अनी तिमीचाँहि फेरि कसरी दोषी हुन्छौ ? मैले उसलाई एक प्रकारले खिसी नै गरे ।
    हो तिमी र म मा यही फरक छ । तिमी त्यही मान्छे हौ जो डालीबाट टिपिएको फूल आइलाउनुमा  फूललाई दोष देख्छौ । तर सरद त्यहाँ फूलको दोष हुन्न, दोष फूल टिप्ने मान्छेको हुन्छ । त्यसैले सुस्मा पोइल जानुमा म दोषी छु, किनकी मैले नै सुस्मालाई टिपें । सुजन रोकियो । उनको कुराले म वाल्ल पर्छु । उनको कुरा नबुझेरै हो म जिल्लिएको ।
    मेरो नादानपनको फाईदा उठाउँदै ऊ चालु भयो । हेर सरद मैले सुस्मालाई बिवाह त गरे, मायाँ दिए तर सहन सक्ने क्षमताको विकासमा ठूलो अवरोध शिर्जना गरेछु । उनलाई कहिलै एकान्तको आभाष हुन नदिनु नै मेरो महान भुल हुन गयो । म उनलाई छोडेर मलेसिया आउँदा उसले आफलाई यती रित्तो महशुस गरी कि उसको अगाडिको विकल्प आत्महत्या वा दोश्रो पुरुषको खोजी मात्र देख्न पुगी । उसले दोश्रो बिकल्प रोजी । उनलाई भौतिक रुपमा मैले सन्तुष्ट बनाएको थिएँ तर भौतिक सुखले मन कम्जोर हुन्छ भन्ने कुरालाई मैले भुलेछु । जसको परिणाम म मात्र होईन सुस्माले पनि भोग्दै छे । बिचरी मानसिक रुपमा क्षतविक्षत भएर कसरी दिन गुजार्दै होली । सुजनको अनुहार फेरि एकपटक हेर्न लाएक भयो ।
    अनि तिमी यही कारणले बदलिएका हौ त ? मैले कुरो को चुरो जान्न खोजे ।
    होईन, म यति कारणले मात्र बदलिएको होईन । तर यो घटनाले मलाई ठूलो आघात भने पा¥यो । मैले यो कुरा सबैलाई भन्न पनि सकिन । तर एक दिन जुलितालाई मैले टुटेफुटेको भाषामा यो कुरा भन्न बाध्य भएँ । मेरो घटनाले उनको पनि घाउ बल्झेछ । उसले पनि आफ्नो बिगत सुनाई । उसको कहानी सुनेपछि मलाई त यस्तो अनुभव भयो कि, छोरा मान्छे त केही होईन रहेछौं । हृदय चिराचिरा पारेर पनि छोरी मान्छेहरु बाँच्न सक्दा रहेछन् । जुलिता चानचुने आईमाई होईन यार । न ऊ तिमीले सोचे जस्तो दुई पैशे नै हो । बेदनाको पहाड मुटुमाथि राखेर अरुलाई सितलता दिने छहरी हो ऊ । यदि जुलिता मेरो निम्ती नआइदिएको भए म यतिबेला स्मृतिमा मात्र रहन्थे सरद । ऊ फेरि भावुक देखियो ।
    जुलिताको सारा सपनाहरु सुनामीले लुटेको रहेछ । उसको श्रीमान्, दुईवटा बच्चा, बाबु–आमा, सासु–ससुरा, धन–सम्पत्ती, ईज्ययत–प्रतिष्ठा सबै सुनामीले नामो निशाना नरहने गरी खोसेछ । कल्पना गर त सरद आफन्त भन्ने कोही नरहेपछि मान्छे कस्तो हुन्छ ? सायद म जुलिता भएको भए म पनि बाँच्दिन थिएँ । तर बिचरी खै के को आशामा बाचिन् अझै पनि मलाई अचम्म लाग्छ । जुलिता साह्रै मायालु छिन् । म पनि उनलाई त्यती नै माया र सम्मान गर्छु । सायद सबै कुरा लुटिएपछि हरेक मान्छे यस्तै हुन्छ होला । एउटा खास कुरो त तिमीलाई भन्नै बाँकी छ जुलिताको बारेमा, ऊ सामान्य केटी होईन सरद इन्डोनेशियाको एक सफल गायीका पनि हुन् । यति भनी नसक्दै सुजनले जुलिताको पुरानो गीति एल्बम र भिडियोका सिडीहरु मेरो सामुन्ने असरल्ल थुपार्न पुग्छ । क्यासेटमा खिस्स हाँसी रहेकी जुलितालाई हरेर म मनमनै सलाम गर्छु ।
    त्यो दिन लामो समय दुईजना मात्र कोठामा बसेर भुत्भुताई रह्यौं। बेलुकीको करिब चार बजे तिर म निस्किएँ । निस्कदा सुजन र जुलिता प्रति अगाध श्रध्दा पलाएको थियो, मेरो मनमा । दुवैलाई सफलताको शुभकामना दिन बाहेक मनले अरु कुनै सोच्न सकिरहेको थिएन ।
   

साकेला, सिली र स्यामुना संस्कृति


   सिन्कौली सेउली भाँचौंला
    साकेला सिली नाचौंला
    सोइसोइला हौ कुर्र हा हा
    किरात राईहरुको सांस्कृतिक पर्व साकेलाको अवसरमा सिली नाच्दै गाइने गीतको एक अंश हो माथिको दुई हरफ । यस लेखमा साकेला र सिली के हो भन्ने विषयमा थोरै प्रष्ट पार्न गइरहेको छु ।
    साकेलालाई सबै किरात राईहरुले मान्ने गर्दछन् । विशेषतः मंशिर पूर्णिमा र वैशाक पूर्णिमापछिको केही दिन साकेला पूज्ने र सिली नाच्ने चलन किरात राईहरुमा छ । तर केही किरात राईहरुले अघि–पछि पनि साकेला पुज्ने र सिली नाच्ने गर्दछन् । थरै पिच्छे आ–आफ्नै भाषा भएका किरात राईहरुले साकेलालाई पनि आ–आफ्नै नामले पुकार्छन् । जस्तो साकेला, साकेवा, साकेन्वा, साकला, सान्केवा, तोष, तोषी, वास, सेग्रो... आदि । तर सबै थरीका किरात राईहरुले यो चाड मान्ने हुनाले साकेला सबै किरात राईहरुको साझा पर्व हो भन्न सकिन्छ ।
    साकेला पर्वमा किरात राईहरुले सिली नाच्ने गर्दछन् । सिली विभिन्न प्रकारको हुन्छ । यहि सिलीलाई साकेला नाच भन्ने चलन अचेल छ । तर साकेला र सिली फरक कुरा हुन् । यसको चर्चा पछि गरिने छ ।
    साकेलाको उत्पत्ति सम्बन्धि विभिन्न मिथकहरु छन् । श्रृष्टिकर्ता पारुहाङ र सुम्निमाले नै साकेला मान्न र सिली नाच्न सिकाएको भन्ने कथन पनि छ । हेछाकुप्पा र उनका चेलीहरु तोयामा र खियामाले पहिलो सिली नाचेको भन्ने किरात राईहरुमा प्रचलिन एक मिथकमा पाइन्छ । यस्तै एक मिथकले किराती राजा बुध्दहाङ र उनकी चेली सोइसोइलासँग साकेला र सिलीको साइनो जोड्छ । विगत वर्षहरुमा जस्तै चेली सोइसाईलाले माइति बुध्दहाङलाई दोलों (पगरी) लगाईदिने क्रममा अचनाक रजस्वला भएपछि लाजले सोइसोईला जङ्गल तिर भागिन् । तव भेला भएका आफन्तहरुले फर्केर दोलों (पगरी) लगाईदेउ सोइसोइला भनी पछाडि लागे तर सोइसोइला जंगलमै विलाईन्, फर्किनन् । टाउकोमा लगाईदिनु पर्ने दोंलो (पगरी) बुध्दहाङको काँधमा थियो । सो दोंलो जमिनमा खस्यो र तत्कालै शिलामा परिणत भयो । त्यहीबेला देखिनै साकेला मान्न थालिएको र सिली नाच्न थालिएको भन्ने मिथकमा छ । अचेल पनि साकेलाको अवसरमा सिली नाच्दा ‘सोइसोइला हौ कुर्र हा हा’ भनेर गीत गाउने गरिन्छ । यो मिथकले साकेला र सिलीसँग केही सम्बन्ध राखे पनि बुध्दहाङ कहाँ र कुन समयका राजा थिए भनेर मिथकले भन्दैन । यसप्रकार साकेला र सिली नाच यहि बेलादेखि सुरु भएको हो भनेर भन्ने ठ्याक्कै आधार अहिलेसम्म फेला परेको छैन र भविश्यमा पनि फेला परने सम्भावना कम नै छ ।
    किरात राईहरुको रस्ती–वस्तीमा साकेलाथानहरु र साकेला सम्बन्धि धेरै कथाहरु प्रसस्तै भेट्न र सुन्न पाइन्छ । तत्तत् स्थानमा साकेलाको उत्पत्तिका कथाहरु फरक–फरक छन् । तर साकेला मान्ने समय र साकेलासँग राखिने अपेक्षामा कुनै भिन्नता छैन । वैशाकपूर्णिमामा अन्नबाली लगाउने समय भयो, समयमै पानी परोस्, अन्नबाली राम्रोसँग लाउन पाउँ, किरा–फट्याङ्ग्रा र जिव–जन्तुले अन्नबाली नष्ट नगरिदेओस्, प्राकृतिक प्रकोप नहोस् भनेर साकेलासँग पुकार गरिन्छ । मंशिरमा अन्नबालीहरु राम्रोसँग उत्पादन भयो, प्रकृति अनुकूल भएको हुनाले सबैले अन्नबाली घरमा भित्र्यायौं, अन्नबालीमा सह रहोस्, यसलाई अब प्रयोग गर्दैछौं–अन्नबाली प्रयोग गर्दा कुनै शारिरिक अस्वस्थता आइनलागोस् भन्दै साकेलालाई नयाँबालीहरु चढाईन्छ । कतै–कतै वैशाके पूर्णिमामा मात्र साकेला पुज्ने चलन छ भने कुनै–कुनै राईहरुमा वैशाके र मंशिरेपूर्णिमासँगै माघ, चैत्र र असारमा समेत साकेलाको पूजा गरी सिली नाच्ने चलन छ । यी माथिका उदाहरण हेर्दा साकेला पुज्नुको अर्थ प्रकृतिलाई खुसी तुल्याउनु हो भन्ने देखिन्छ भने यसको सम्बन्ध कृषिसँग प्रत्यक्ष जोडिएको छ । वैशाक पूर्णिमाको साकेला अगाडि धेरै जसो किरात राईहरुले घर–घरमा पितृ पूजा समेत गर्ने गर्दछन् । पितृ पूजामा समेत नयाँ अन्नको बोटहरु चढाउने गरिन्छ र सिली समेत नाचिन्छ । पितृ पूजा गर्नुलाई साकेला भनिन्दैन, यसलाई विभिन्नथरी राईहरुले आ–आफ्नै भाषामा आ–आफ्नै नामले सम्बोधन गर्ने गर्दछन् (चाम्लिङहरुले हुइलुङ भन्छन्) । तर पितृपूजाको अर्थ आ–आफ्ना पितृहरुलाई सम्झनु र उनीहरुको नाममा अन्नबाली अर्पण गर्नु हो । पितृ पूजाको अवसरमा समेत सिली नाचिने हुनाले साकेलामा नाचिने नाच साकेला नाच नभई ‘सिली’ हो भनेर भन्न सकिन्छ ।
    साकेला, किरात राईहरुको धामीले निकाल्ने गर्दछन् । साकेला निस्किने संकेत धामीलाई सपनामा वा कुनै ठाउँमा धामीबस्दा मिल्ने विज्ञहरु बताउँछन् । साकेला निकाल्दा शुभ वा अशुभ के हुन्छ भनि धामीले नै खुट्याउँछ । साकेला निकाल्दा राम्रो हुने भए वैशाक वा मंसिर पूर्णिमादेखि औंशीको बीचमा शुभदिन हेरेर निकालिन्छ । साकेला निकाल्दा धामीसँगै बुढापाकाहरुको पनि विशेष भूमिका हुन्छ । साकेला पानी, हावा र जमिनमा हुन्छ भनिन्छ । तर धेरै ठाउँमा जमिनबाटै साकेला निकालिएको कथा गाउँघरमा सुनिन्छ । साकेला रहेको ठाउँ धामीले निश्चित गरेपछि सो ठाउँमा खन्दा अण्डाकारको दुई वा दुईभन्दा बढी ढुङ्गा निस्किन्छ । निस्किएको साकेलाको रङ्ग हेरेर धामीले भविश्यवाणी गर्दछन् । साकेलाको रङ्ग सेतो, खैरो र कालो हुन्छ भनिन्छ । सेतो शुभको प्रतिक हो भने कालोलाई अशुभ मानिन्छ । कतिपय किरात राईहरुको थातथलोमा कालो साकेला निस्किएपछि साकेला धामीको समेत सोही वर्ष वा केही वर्षपछि मृत्यू भएको कथाहरु प्रसस्तै सुन्न पाइन्छ । यस प्रकार साकेला संकेतको प्रतिक मात्र हो, भन्न सकिन्छ ।
    साकेलालाई किरात राईहरुभन्दा बाहेकका जातिहरुले चण्डी भन्दै आएकाछन् । किरात राई लगायत अन्य जातिका लेखकहरुले सिलीलाई धेरै ठाउँमा चण्डी नाच भनेर लेखेको हामी पाउँछौं । तर साकेला, चण्डी होइन र सिली, चण्डीनाच हुनै सक्दैन भन्ने पंक्तिकारको दावी छ । ‘चण्डी’ हिन्दु धर्ममा (विषेशतः दशैसँग जोडिएको कथा) बर्णित एक देवी हुन् । जसको सहायताले महिशासुर दानवको बध गरेर देवताहरुको कल्याण गरिन्छ । हिन्दु धर्मशास्त्रमा देवताहरुभन्दा बढी शक्तिशालीको रुपमा चण्डीलाई उभ्याईएको छ । चण्डीलाई महादेव शिवकी अर्धाङ्गिनी पार्वतीको परिवर्तित रुप मानिन्छ । बेद र पुराणहरुमा महादेव शिवले किरातेश्वर र पार्वतीले किरातीनीको भेष धारण गरेको भन्ने उल्लेख छ । यही आधारमा पारुहाङ र सुम्निमालाई शिव र पार्वती कै अर्को रुप भनेर पनि भनिन्छ । तर सबैले ख्याल गर्नु पर्ने कुरो के हो भने किरात राईहरुले शक्ति प्राप्तीको लागि कुनै पनि देवताको पूजा गर्दैनन् । प्रकृति र पितृहरुको पूजा गर्ने किरात राईहरु सुख, शान्ति, सु–स्वास्थ्यको कामना मात्र गर्दछन् पूजा–आजामा । साकेला संकेतको प्रतिक हो भनेर माथि भनि सकिएको छ । र, साकेलालाई हालसम्म न पुरुष पात्रमा कसैले उभ्याएको छ, न महिला पात्रनै साकेला हो भनेर कसैले भन्न सक्छ । साकेला कुनै लिङ्विशेष होइन, यो प्रकृतिको विशुद्घ संकेत हो । प्रकृतिको कुनै लिङ्ग हुँदैन । यस प्रकार शक्तिस्वरुपा चण्डी र प्रकृतिको संकेत साकेला कसरी एक हुन्छ ? बरु साकेलालाई कसरी चण्डी भनियो होला भन्ने कुरामा एकपटक ध्यानचाँहि पु¥याउनै पर्छ । नेपालका अधिकांश पात्रो वा क्यालेण्डरहरुमा वैदिक हिन्दु संस्कृतिका पर्व–उत्सव आदिलाई प्राथमिकतामा राखेर लेखिन्छ । बुध्दजयन्ति अर्थात वैशाक पूर्णिमालाई यी पात्रोहरुमा चण्डिपूर्णिमा भनेर लेखिन्दै आएको छ । यही पूर्णिमाबाट शुरु हुने साकेला पर्वलाई हिन्दु धर्मावलम्बीहरुले चण्डी भनेको र यस अवसरमा नाचिने नाचलाई चण्डी नाच भनेको कुरोमा दुईमत छैन । आ–आफ्नै भाषा भएका राईहरुमा साकेलाको नाम पनि फरक–फरक हुनुको कारणले अरुले भनिदिएको चण्डी नामले चाँडै लोकप्रियता पायो । तर यर्थाथता बुझेपछि अचेल साकेलालाई चण्डी र सिलीलाई चण्डी नाच होइन भन्न थालेका छन् स्वयं किरात राईहरु । यहाँ अर्को प्रश्न पनि उठ्न सक्छ, कि चण्डी पूर्णिमामा पश्चिमाञ्चल तिर हिन्दु आर्य र गुरुङ–मगरहरुले कोट पूजा र हात हतियारको पूजा समेत गर्दछन् । यता कतिपय किरात राईहरुले वैशाक पूर्णिमा पछाडि पितृ पूजा गर्दा हातहतियारको समेत पूजा गर्दछन् । तर हातहतियारको पूजा गर्नुको उद्देश्यमा पनि फरक छ । पश्मिाञ्चलतिरका हिन्दु आर्य र गुरुङ–मगरहरुले शक्ति प्राप्तीको उद्देश्यले कोट र हातहतियारको पूजा गर्दछन् भने किरात राईहरुले वैशाकपूर्णिमा पछाडि अन्नबाली लगाउने समय भयो, अब तिमीहरुलाई अन्नबाली लगाउने काममा प्रयोग गर्दैछौं, यसरी प्रयोग गर्दा चोटपटक नलागोस् भनी कामना गर्न हातहतियारको पूजा गर्ने हो । यसर्थ हातहतियारको पूजाको उद्देश्यले पनि साकेला र चण्डी एउटै होइन भन्ने प्रष्ट पार्छ ।
    साकेला र पितृपूजाको समयमा नाचिने सिली (नाच) कति पुरानो हो यसै भन्न सकिन्न । तर नेपालका अन्य समुदायमा प्रचलित धेरै नाचहरु जस्तै सिली (नाच) पनि पुरानो हो भनेरचाँहि दावी गर्न सकिन्छ । सिली (नाच) पनि समयक्रमसँगै थपिन्दै र परिवर्तन हुँदै आएको आभाष हुन्छ । विशेषतः सिलीहरु चार प्रकारको हुने गरेको छ । श्रृष्टीका कथाहरु समेट्दै नाचिने सिली, पशुपंक्षिहरुको नक्कल गर्दै नाचिने शिली, अन्नबाली लाउनेदेखि उठाउनेसम्मको अभिनय गर्दै नाचिने सिली र श्रृङ्गार एवं मनोरञ्जनको अभिनय गर्दै नाचिने शिली । विशेषतः अघिल्लो दुई प्रकारका शिलीहरु खुट्टा प्रधान र पछिल्लो दुईप्रकारको शिलीहरु हात प्रधान हुन्छन् । यी चारप्रकारको शिलीहरु मध्ये श्रृष्टीका कथाहरु समेट्ने सिलीहरु बढी पुरानो हुन् र अन्य शिलीहरु समयक्रमसँगै थपिन्दै गएका हुन् भन्न कञ्जुस्याई गरिरहनु पर्दैन । यी चार प्रकारका शिलीहरु भित्र पनि विभिन्न प्रकारहरु हुन्छन् । किरात राईहरुको रस्ती–बस्तीतिर पसेर सोध्ने हो भने चाररात चारदिनमा पनि सबै सिली नाचेर सकिन्दैन भन्छन् बुढापाकाहरु । साकेला र पितृ पुज्दा नाचिने सिली क्रमबद्घ हुनुपर्छ नत्र  सिली टिप्ने (नाच्ने) अगुवा खस्छ भनिन्छ ।
    सिली नाच्दा ढोल र झ्याम्टालाई बाजाको रुपमा तथा चौरी गाईको चमर, सिलीमी, खुर्पा, धनुषकाँड आदिलाई सहायक सामग्रीको रुपमा प्रयोग गरिन्छ । ढोल बजाउने तरिका पनि सबै किरात राईमा मिल्दैन । विशेषतः सिली नाच्दा सिली अनुसार ढोल बजाईन्छ । सिली नाच्दा सोई सोईला हौ कुर्र हा... हा.... भन्ने भाकामा गीत गाइन्छ र त्यसको अर्थ के हो भनेर माथि नै भनि सकिएको छ । यसको साथै ढोल बजाउँदै ढोलेहरु स्याब्बा...स्याब्बा...र वाहुरे...वाहुरे समेत भन्नछन् । यी दुवैको अर्थ ‘राम्रो’ भनेको नै हो । तर गीत गाउँदा सोई सोईला सँगै ‘स्यामुना’ को लयमा पनि गाईन्छ । यी दुवै गीतहरुको लय फरक–फरक छ । स्यामुनाको खास अर्थ किरात राईहरुको कुनै पनि भाषामा छैन । तर यो ‘स्यामुमा’ को अप्रभंश हो भन्न सकिन्छ । किरात राईहरुले नमस्कार भन्दा सेवा, हौवासँगै ‘स्यामुमा’ पनि भन्ने गर्दछन् । यही स्यामुमाको अप्रभंश नै ‘स्यामुना’ हो ।
    अन्त्यमा किरात राईहरुको महत्वपूर्ण साँस्कृतिक उत्सव तथा शान्तिका अग्रदुत गौतम बुध्दको जन्म, ज्ञानप्राप्ती र मृत्यु भएको दिन वैशाक पूर्णिमाको यो पावन अवसरमा सबैलाई यहि भन्दैछु....
        तल तल सिमसारैमा, घुमाई लाने कुलो स्यामुना
        धनसम्पत्ति केही होइन, माया रै’छ ठूलो स्यामुना
        आ है माया रै’छ ठूलो स्यामुना । 
समाप्त ।

Saturday, August 23, 2014

नेपाली भाषाको उत्पत्ति र विकास बारे एक चर्चा

  नेपाली भाषा निश्चय पनि नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुको र विदेशमा रहेका नेपालीमूलका नागरिकहरुको साझा भाषा बनेको कुरामा कसैको दुई मत नहोला । भाषाको सौन्दर्य पक्षलाई हेर्ने हो भने यो भाषा विश्वका धेरै उत्कृष्ट भाषाहरुमध्ये पर्छ । विश्वमा धेरै भाषा दिनदिनै लोप भइरहेकाछन् तर यस भाषाले दिनदिनै विकास गरिरहेको छ भन्दा अत्युक्ति हुने छैन । यस लेखको उद्देश्य यस भाषाको ब्याकरणीय पक्षको बारेमा चर्चा गर्नु नभई यसको इतिहास, वर्तमान अवस्था र सबै नेपालीले यस भाषालाई कसरी अपनत्वको बोध गर्न सक्छन् भन्ने कुरालाई अलिकति प्रष्ट्याउनु हो ।
    यो भाषा भारोपेली भाषा परिवारको विभिन्न शाखाहरु मध्ये शतम् शाखाबाट इरानेली शाखाको आर्येली हाँगो हुँदै प्राचीनसंस्कृत–वैदिकसंस्कृत–लौकिकसंस्कृत–प्राकृत–सौरशैनीको पहाडि अप्रभंश (कसैले खस अप्रभंश भनेका छन्) भएर नेपालकै सिञ्जा उपत्यकामा उत्पत्ति भएको भाषावैज्ञानिकहरुको ठहर छ । हिन्दु–आर्य मूलका एक हाँगो खस आर्यहरुको सिञ्जा उपत्यका र आसपासको भूमिमा प्रवेशसँगै स्थानीय जातिसँगको संसर्गपछि यो भाषाको उत्पत्ति भएको हो भन्न सकिन्छ । धेरैले यो भाषालाई विक्रमको एघारौं शताब्दीमा उत्पत्ति भएको मानेका छन् । तर दामुपालको दुल्लु शिलालेखलाई विक्रमको १०६२ मा लेखिएको मान्ने हो भने एघारौं शताब्दीमा यसले लेख्य रुप पाएको र बोलीचालीमा केही अगाडि नै विकास भएको अनुमान गर्न सकिन्छ ।
    यस भाषामा पुस्तक अथवा ग्रन्थहरु धेरैपछि मात्र लेख्न थालिएको छ । तर केही ताम्रपत्र र कनकपत्रहरु निक्कै अगाडिका भेटिएका छन् । विक्रमको १३१७ र १३३७ को भनिएका केही ताम्रपत्रहरुमा मिति अस्पष्ट भएको र तिनीहरुलाई आधिकारिक नमान्ने हो भने, वि.सं. १३७८ उल्लेखित जुम्ली राजा आदित्य मल्लको ताम्रपत्रलाई पहिलो मान्नु पर्ने हुन्छ । त्यसपछि वि.सं. १३९३ र १३९४ उल्लेखित पुण्य मल्लको ताम्रपत्र र वि.सं. १४१३ उल्लेखित पृथ्वी मल्लको कनकपत्रलाई यस भाषामा लेखिएका पुराना अभिलेखरु हुन् भनि इतिहासकार तथा भाषाविज्ञहरुले बताउँदै आएका छन् । यस भाषामा लेखिएको पहिलो पुस्तक राम शाहको जिवनीलाई मानिएको छ । यो करिब वि.सं. १७७०–७२ तिर लेखिएको हो । त्यसपछि वाणीविलास ज्योर्तिविदको ‘ज्वरोत्पत्ति चिकित्सा’ (१७७३), प्रेमनिधी पन्तको ‘प्रायश्रित प्रदीप’ र ‘नृपश्लोकी’ (१७८०), दावादल शाहको ‘औषधि रशायन’ र ‘अजिर्ण मञ्जरी’ तथा वि.सं. १८२५ तिर लेखिएको पृथ्वी नारायण शाहको जिवनी आदि छन् । तर जब भानुभक्तले रामायणको यस भाषामा उल्था गरे र मोतिराम भट्टको प्रयाशमा सो प्रकाशित भयो तब यो भाषामा काब्य–साहित्य लेख्ने परंपराले महत्वपूर्ण फड्को मार्यो । यसर्थ यस भाषाको उत्पत्ति निक्कै अगाडि भए पनि विक्रमको सोह्रौं शताब्दीसम्म सुसुप्त नै रह्यो । यसो हुनुको कारण भाषाको विकास प्रारम्भिक चरणमै थियो र त्यसबेला संस्कृत भाषालाई नै खसआर्यहरुले प्राथमिकता दिए । अर्कोतिर यो भाषाको उत्पत्ति वर्तमान कर्णाली अञ्चलको सेरोफेरोमा भए पनि महत्वपूर्ण विकास वर्तमान नेपालको मध्य भागमा आएर भएको छ । र, भाषा विज्ञहरुको दावी अनुसार यो भाषाले वर्तमान नेपालको पूर्वि भागमा प्रवेश पाईसकेपछि मात्र अहिलेको रुप ग्रहण गरेको हो ।
    मैले शिर्षक र पहिलो अनुच्छेदको पहिलो शब्दभन्दा पछाडि यस भाषालाई नेपाली भनेर सम्बोधन नगरी ‘यस’ र ‘यो’ भनिरहेको छु । कारण यसले नेपाली भाषाको मान्यता कहिले पायो भन्ने कुराको टुङ्गो नलाई नेपाली भाषा भनिरहनु ठीक नहुने ठानेर नै हो । लेख्दा जे लेखिए पनि बोल्ने क्रममा यो भाषालाई अझैसम्म सिञ्जाली, पर्वते, गोर्खाली भाषा भनेर भनिन्दै आईएको सबैमा विदितै छ । अर्कोतिर खस–आर्य समुदाय बाहेककाहरुले यो भाषालाई खस भाषा भन्छन् । र, मदेशीमूलका नेपालीहरुले पडाडि भाषा भन्ने गरेको सबैले सुनेकै हौं । यस भाषाको उत्पत्ति कर्णाली अञ्चल आसपासमा र विकास मध्य नेपाल हुँदै पूर्व पुगेपछि भएको कारणले एक ठाउँबाट अर्को ठाउँमा पुग्दा आएकै ठाउँको नाममा यो भाषालाई सम्बोधन गरियो । त्यसैले त सिञ्जाली, पर्वते, गोर्खाली, पहाडे भाषा भनेर अझसम्मै भनिआईएको छ । त्यसैले यो भाषाले उत्पत्तिकालको धेरै सयमपछि अझ भनौ वर्तमान नेपालको संरचना बनेको निक्कै समयपछि मात्र ‘नेपाली भाषा’ नाम पाएको ठोकुवा गर्न सकिन्छ । संवैधानिक रुपमा हेर्ने हो भने राजा महेन्द्रले जारी गरको २०१९ सालको पञ्चायति संविधानमा यो भाषाले ‘नेपाली’ नाम पाई राष्ट्रभाषाको मान्यता पाएको छ । तर यसो भन्दैन वि.सं २०१९ मा मात्र यो भाषाले ‘नेपाली’ नाम पाएको हो भनेर भन्न खोजिएकोचाँहि पटक्कै होइन ।
    जब सिञ्जा आसपासका खस आर्यहरु वर्तमान नेपालको मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल हुँदै पूर्वाञ्चलमा पुगे त्यसबेला निश्चय नै यो भाषालाई खस भाषा भनियो । र, जब गोर्खा राज्यको विस्तारसँगै गोर्खाली सेनाहरु त्रिशुली नाघेर काठमाण्डौ र पूर्वि नेपालतर्फ विजयी अभियानमा पुगे त्यसबेला यो भाषालाई गोर्खाली भाषा भनियो । अनि पहाडेहरु मधेश झर्न थालेपछि मदेशीमूलका नेपालीहरुले पहाडे भाषा भने । उसबेला गोर्खा राज्यबाट थालिएको विजयी अभियानले वर्तमान नेपालको खाका कोरेपछि यो भाषालाई विजयी राज्य गोर्खाकै नामबाट सम्बोधन गर्दा तात्कालिन राज्यले गौरबकै अनुभूति गर्यो । देशले ‘नेपाल’ नाम पाए पनि भाषाले त्यतिबेलै ‘नेपाली’ नाम नपाएकै हो । यसको उदाहरण खोज्न टाढा जानै पर्दैन, यस भाषामा प्रकाशन गर्न थालिएको अखबारहरुको इतिहास हेर प्रष्ट हुन्छ ।   
    यो भाषामा छापिएको भनिएको पहिलो अखबार वि.सं. १९४१ (कसैले १९४५, कसैले १९५० भनेका छन्) मा प्रकाशित ‘गोर्खा भारत जीवन’ हो । रामकृष्ण वर्माको सम्पादकत्वमा मोतिराम भट्टहरुले यो पत्रिका प्रकाशन गरेका हुन् । यो पत्रिका बनारसबाट निस्किएको हो । यो पत्रिकाको नाममा किन नेपाल वा नेपालीको सट्टा ‘गोर्खा’ शब्द जोडियो त ? प्रश्न र उत्तरसँगै छ । किनकि त्यसबेला भाषिक सवालमा ‘गोर्खा’ शब्द नै सर्वस्वीकार्य थियो । नेपालभित्रैबाट प्रकासित पहिलो पत्रिका ‘सुधा सागर’ भए पनि वि.सं. १९५८ देखि हालसम्म निरन्तर प्रकाशित हुँदै आएको ‘गोरखापत्र’ ले पनि ‘नेपाली वा नेपाल’ को स्थानमा ‘गोरखा’ नै राख्यो । पत्र–पत्रिकाहरुको नाम गोर्खासँग जोड्ने इतिहास यतिमा मात्र सिमित छैन, वि.सं. १९५७ मा श्रीप्रसाद प्रधानको सम्पादकत्वमा दार्जिलिङबाट प्रकाशित ‘गोर्खे खबर कागत्’, वि.सं. १९७०, १९७३ र १९८५ मा देहरादुनबाट प्रकाशित क्रमशः ‘गोर्खा खबर’, ‘गोर्खा संसार’, ‘तरुण गोर्खा’ आदि पनि छन् । पत्रपत्रिकामा नेपाल र नेपाली भन्ने शब्दले स्थान पाएको वि.सं १९८८ पुसमा बनारसबाट प्रकाशित ‘नेपाली साहित्य सम्मेलन’ (बार्षिक) र नेपालमा वि.सं. २००५ मा प्रकाशित ‘नेपाल शिक्षा’ नै पहिलो हो ।
    पत्र–पत्रिकाको नामको यो इतिहासले यस भाषालाई धेरै पछिसम्म नेपाली नभनिएको प्रमाण दिन्छ । अझ गतिलो प्रमाण हालको साझा प्रकाशन हो । यस भाषामा छापिएका काब्य–रचनाहरुलाई प्रकाशित गर्ने उद्देश्यका साथ वि.सं. १९७१ (कसैले १९६९ भनेको) मा स्थापना भएको वर्तमान साझा प्रकाशनको  स्थापनाकालिन नाम ‘गोर्खाभाषा प्रकाशनी समिति’ थियो । र, पछि ‘नेपालीभाषा प्रकाशनी समिति’ हुँदै हाल साझा प्रकाशन भएको छ । यसर्थ यो भाषालाई ‘नेपाली भाषा’ भन्न थालिएको राणशासन विरुद्घको आन्दोलन सेरोफेरोबाट हो भन्ने देखिन्छ । जब राणा शासन समाप्त पार्नको निम्ति विभिन्न राजनीतिक दलहरुको गठन भयो तब सबै नेपालीहरुलाई एकताबद्घ पार्नको निम्ति राजनीतिक विचारसँगै भाषिक एकरुपता पनि आवश्यक थियो । त्यसबेला यो भाषा धेरै जसो नेपालीले बुझ्ने र बोल्ने भइसकेका थिए तर नाम गोर्खाली वा गोर्खा भाषा नै राखिरहने हो भने सबै नेपालीले आन्दोलनलाई स्वीकार गर्न सक्दैन थिए । त्यसैले राणा हटाउ आन्दोलनमा सबै जात÷जाति, क्षेत्र र समुदायको साथ पाउन पनि तात्कालिन आन्दोलनकारी शक्तिहरुले यो भाषालाई नेपाली भन्न थाले र त्यसैको उच्चतम् अवस्था वि.सं. २०१९ सालमा राजा महेन्द्रले संविधानमा ‘नेपाली भाषा’ नेपालको राष्ट्रभाषा भनेर लेखे ।
    यस भाषाको उत्पत्ति, विकास र नाम विगतमा जे भए पनि अहिले यो ‘नेपाली’ भाषा भनेर सबै नेपालीको बीचमा स्थापित भइसकेको छ । त्यसैले अब यस भाषाको नाम ‘नेपाली’ होईन भनिरहनुको कुनै तुक छैन । तर यही अवस्थामा मात्रै यो भाषाको भविश्य सुरक्षित छैन र नेपालका अन्य भाषि नेपालीहरुले राष्ट्रभाषाको रुपमा दिलैदेखि स्वीकार समेत गर्दैनन् । नेपाल बहुजातीय मात्र होईन बहुभाषिक देश पनि हो । यहाँ १०० भन्दाबढी भाषा अझै कुनै न कुनै रुपमा जिवितै छ । एकातिर विश्वमा देखापरेको पहिचानको मुद्घासँगै हरेक समुदायले जहाँ पनि अपनत्व खोज्न थालेका छन् भने अर्कोतिर अंग्रेजी भाषा नभई केही काम नचल्ने अवस्था आउँदैछ । त्यसैले भाषिक रुपमा अब संकिर्ण नबनी यो भाषामा भएका केही ब्याकरणीय जटिलताहरुलाई हटाउँदै विदेशी र अन्य स्वदेशी भाषाको प्रचलित शब्दहरुलाई स्विकार गरि यसकोे फाँट फराकिलो बनाउनु पर्छ । क्यान्सरलाई अर्बुद रोग भनेर सबै नेपालीले अहिले नै चिन्दैनन् न कि कम्प्यूटरलाई सुसांख्य भनेर नै सबैले चिन्छन् । किरात राईहरुको प्रचलित तरकारी ‘किनामा’ लाई नेपालीभाषामा अर्थ लगाउँदा भट्मास कुहाएको भन्नु पर्ने हुन्छ नभए यो भाषामा यसको अर्को नाम छैन । नेवार समुदायका मानिसहरु आपसमा भेट्दा ज्वज्वलपा नै भन्न रुचाउँछन्, तामाङहरु फ्याफुल्ला र लिम्बूहरु सेवारो नै भन्न चाहान्छन् । धेरै वटा भाषाहरुको संमिश्रणले मज्बुत बनेको हिन्दी भाषाले आज जसरी ब्यापकता पाउँदैछ त्यो भाषिक संकिर्णताको कारणले होइन उदारताको कारणले नै हो । त्यसैले अझै पनि सबै नेपालीको आफ्नो भाषा (व्यवहारमा) बनिनसकेको यो भाषालाई सबै नेपालीको बनाएर विश्वमा सम्पन्न भाषाको दर्जामा उठाउनु छ भने संकिर्ण मानशिकताबाट उठेर भाषिक विज्ञहरुले आजैदेखि काम थाल्नु पर्छ ।
सन्दर्भ सामग्री
प्राचिन किरात इतिहास, डा. स्वामी प्रपन्नाचार्य
नेपालको प्रचिन इतिहास, इमानसिं चेम्जोङ
मध्यकालिन नेपालको इतिहास
विश्व परिचय (विश्व कोषको लघुरुप भाग १) युवराजसिं कार्की
सेतो पाटी डट कम
नेपाली साहित्य घर डट कम

(नेपाल मगर संघ मलेसियाको मुख पत्र लाङघाली आवाजको २०१४ जुन मा प्रकाशित अंकमा प्रकाशन भएको लेख)

स्मृतिमा सरोज गोपाल

  ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल..............।’ यो गीत नसुन्ने र मन नपराउने मान्छे सायद कमै होलान् नेपालमा । तर पनि धेरैलाई थाहा नहुन सक्छ, गीत गाउने कलाकारहरु को को हुन् ? साउन २८ गते बुधबारसम्म हामी भन्दै थियौं यो गीत गाउने कलाकार सरोज गोपाल, बाबा राणा र साथीहरु हुन् । तर साउन २९ गते बिहिबारको दिनदेखि हामी यो गीतका गायक सरोज गोपालको नाम अगाडि स्वर्गीय शब्द थप्न बाध्य भएका छौं ।
    म खोटाङे केटो तर पोखरामा जीवनकै सर्वाधिक उर्जाशिल समय बिताएको छु । पोखरेली माटो र पाटोसँग छुट्टिएको दश वर्ष पुग्न लागे पनि पोखराको सम्झना नआएको त्यस्तो कुनै दिन छैन, जो मेरो सम्झनामा होस्  । पोखरालाई यस कारणले पनि सम्झिरहन्छु कि त्यहाँ मैले हृदयदेखि नै सम्मान गर्ने धेरै मनहरु छन्÷थिए । तर केही मनहरु अब पोखरामा मात्र होइन संसारमै नरहेको समाचार सुन्नु परिरहेको छ । लाग्छ त्यो समाचार मिथ्या भैदिए पनि हुन्थ्यो तर यर्थात त्यस्तो छैन ।
    गत विहिबार ड्यूटीबाट फर्केर अधर्नो ल्यापटमा मोडिएम जोड्न साथ फेसबुकमा प्रवेश गर्छु । नायक श्रीकृष्ण श्रेष्ठको दुःखद मृत्युको समाचारले पिल्सिएको मनहरुसँग समवेदनाका शब्दलहरी साटासाट गर्दै केही दिनदेखि फेसबुकचर्या बितिरहेको बेला बिहिबारको समाचारले अर्को झड्को हान्छ, हृदयान्तरमा । अग्रज सञ्चारकर्मी मित्र गंगाधर पराजुलीको स्टाटस पढ्न साथ म स्तब्ध हुन्छु । मनभित्र एकै पटक बग्रेल्ती सम्झनाहरु गुँडुल्किएर आउँछन् र फेसबुकको भित्तो च्यातिने गरी चिच्याउन मन लाग्छ । तर निर्जिब फेसबुक भित्तोले के बुझोस् मान्छेको संवेदना...। केही बेर हातको माउसलाई खेलाई रहें इन्टरनेटको ब्रम्हाण्डमा । भेटियो ‘देउराली उकाली चढेर’ र ‘मायालुको मोहनी बोली’ यूटुबमा । सरोज दाजुको यीनै गीतहरुलाई डाउण्लोड गरेर दोहो¥याई तेहे¥याई सुने र फेसबुक भित्तोमा लेखिदिएँ समवेदनाका केही हरफहरु । तर यतिले मन मानेन र उहाँसँगका केही भेटहरुलाई सम्झदैछु ।
    गीत–संगीतमा रमाउन थाले देखिकै हो सरोज गोपालको नाम सुनेको तर प्रत्यक्ष देख्ने÷बोल्ने अवसर जुटाई दियो माछापुछ्रे एफ.एम.को पहिलो वार्षिक उत्सवले । सोही एफ.एम.को विज्ञापनलाई पछ्याउँदै एक विहान म पोखराको गैह्रापाटन स्थित एफ.एम. परिसरमा पुग्छु र लोकगीत प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गराउँछु । केही समयपछि प्रारम्भिक स्वर परिक्षा दिन लामबद्घ हुन्छौं हामी । पालो आएपछि भित्र छिर्छु, स्वर परिक्षा सरोज गोपाल बज्राचार्यले लिदैं हुनुहुँदो रहेछ । चिनजान र सामान्य भलाकुसारीपछि उहाँले मेरो स्वर परिक्षा लिनु भयो, संयोगवस म उतिर्ण भएछु । स्वर परिक्षाको नतिजा प्रकाशित भएपछि उहाँले मेरो कुममा धाप मार्दै भन्नु भयो—भाई स्वर राम्रो छ, सुर र तालमा गाउँने प्रयास गर्नु होला । हो, त्यही दिन हो मैले सरोज दाजुलाई प्रत्यक्ष देखेको, बोलेको र छोएको दिन । तर अचम्म ! उहाँलाई मैले धरै अगाडि नै देखिसकेको, बोलीसकेको र छोइसकेको जस्तै लाग्यो । सायद उहाँले मप्रति दर्शाउनु भएको आत्मियताको कारणले मलाई यस्तो लागेको हुनसक्छ ।
    स्थापना कालिन दिनहरुमा माछापुछ्रे र अन्नपूर्ण एफ.एम. बीच पोखराको पहिलो एफ.एम.कुन हो भन्ने बारेमा अघोषित शब्द युद्घ चलिरहेको थियो । दर्ताको हिसाबले माछापुछ्रे पहिलो र प्रशारणको हिसाबले अन्नपूर्ण एफ.एम. पहिलो थियो तर कुरो ‘को’ पहिलोमा मात्रै सिमित थिएन । स्टेशन म्यानेजर र कार्यक्रम सञ्चालकहरु को–को पोखरेली भन्ने कुराले पनि महत्व पाएको थियो । रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रको जागीर छोडेर आएका सरोज गोपाल दाजु माछापुछ्रे एफ.एम. को स्टेशन म्यानेजर हुनुहुन्थ्यो भने रेडियो सगरमाथाको लोकप्रीय कार्यक्रम ‘अजम्बरी गीतसंगीत’ सँगै नजिकका भावकहरुलाई जोरजाम पारेर अन्नपूर्ण एफ.एम.को स्टेशन सम्हाल्न काठमाण्डौबाट प्रकाश सायमी दाजु आइपुग्नु भएको थियो । स्थनीय र बाहिरको भन्ने प्रसंगले पनि केही समयसम्म यी दुवै एफ.एम.लाई वाक युद्घमा होमी दियो भने कसले राम्रो कार्यक्रमहरु प्रशारण गर्ने भन्ने कुराले पनि त्यतीकै महत्व पायो । को राम्रो बन्ने भन्ने होडबाजीले नै माछापुछ्रे एफ.एम.ले लोक, दोहोरी र कविता प्रतियोगिता जस्ता सिर्जनशिल विधाहरुलाई समेटेर आफ्नो बार्षिक उत्सव मनाउने सहास गर्यो भने अन्नपूर्णले लोककवि अलिमियाँको रथारोहण, लोककवि अलिमियाँ कोष सञ्चालन लगायतका महत्वपूर्ण कार्यहरु सम्पन्न गरे । यी प्रसंगहरु जोड्नुको कारण यो हो की माछापुछ्रे एफ.एम.लाई पोखरामा लोकप्रीय बनाउनमा सरोज गोपाल दाजुको निक्कै ठूलो हात छ । र, सरोज गोपाल दाजु राम्रा गायक र संगीतकार मात्र होइनन् लोकप्रीय कार्यक्रम सञ्चालक पनि हुन् । सायद उहाँको ‘फोन इन’ कार्यक्रममा फोन लगाउने धेरै श्रोताहरुले उहाँको जादुमयी र आत्मिय बोली अझै विर्सनु भएको छैन होला ।
    पछि म सञ्चार दर्पण साप्ताहिकसँग आवद्घ भएँ । संयोगवस पत्रिकाको कार्यालय माछापुछ्रे एफ.एम. कै दुई घर मुनी घुम्तीमा थियो । नजिक हुनुको नाताले कहिले म उता उक्लन्थे कहिले सरोज दाजु तलतिर झर्नु हुन्थ्यो । मेरो नामबाट प्रकाशित भएको समाचार र लेखहरुको बारेमा उहाँले रचनात्मक सुझावहरु भेटै पिच्छे दिनु हुन्थ्यो । पत्रिकामा काम गर्ने सामान्य पत्रकार भए पनि उहाँको फोन इन कार्यक्रममा श्रोता बनेर मैले पनि फोन गरिरहें । पछि म हिमचुली एफ.एम. मा जोडिन पुगें, कार्य एउटै भए पनि भौगोलिक दुरीले अलिकती टाढा बनायो । तर पनि पोखरामा हुने विभिन्न कार्यक्रमहरुमा भेट भइनै ¥ह्यो उहाँसँग । हिमचुली एफ.एम. मा करिब डेढ बर्ष बिताएपछि केही साथीहरु मिलेर मिडिया सेन्टर चलाउने क्रममा म माछापुछ्रेसँग जोडिन आइपुगें । माछापुछ्रे आउनुको कारण लोकप्रीय एफ.एम. को खोजी थियो । साथीहरु बीचको सहकार्यले माछापुछ्रे एफ.एम.सँगको निकटता तीन महिना मात्र टिकायो । त्यो तीन महिनाको अवधिमा सरोज गोपाल दाजुसँग अझै नजिक बनायो ।
    स्वर्गीय कवि भूपि शेरचनको स्मृति दिवसको अवसरमा भूपिबारे केही लेख्न जाँगर चलाएँ । विश्वमोहन गौचन, स्व. कवि तथा गीतकार विनोद गौचन हुँदै भूपिको घरैमा भूपिका छोरा शिशिर शेरचनलाई भेट्न पुग्छु । कवि पुत्र शिशिर शेरचनबाट धेरै कुरा थाहा पाउँछु भन्ने इरादा त्यसबेला चकनाचुर भो जतिबेला उनले भने—‘मैले पापाको एउटा पनि कविता पढेको छैन ।’ अहो ! यस्तो पनि हुन सक्छ ? दुनियाँले पढेर हृदयमा टाँसेको कविरत्नको कविता आफ्नै छोरोले पढेको छैन त ? यहि प्रश्नहरुमा छट्पटाउँदै म पुनः माछापुछ्रे एफ.एम. को ढोकाबाट छिर्छु र सरोज गोपाल दाजुसँग भूपि र भूपिको दरबारमा हरेक साँझ जम्ने महफिलको बारेमा सोधी–खोजी गर्छु । उसबेलाको केटाकेटी पनमा सम्झे जति जम्मै स्मृति मलाई सुनाउनु हुन्छ दाजु सरोज गोपाल । बिशेषगरि दार्जिलिङ की पेमालालाई परिवारको अनुमति बेगर बिवाह गरेपछि पोखरा आएर भूपिको घरमा स्वर सम्राट नारायण गोपालले ६ महिना बिताउँदाका क्षणहरु मज्जैले बखान गर्नु हुन्छ सरोज दाजु । सरोज दाजुले नै मेरो खोजलाई पूर्ण बनाउने काम गर्नु भयो र भूपि बारे अलिकति लेखें...‘भूपिको सम्झनामा.....।’
    ‘माछापुछ्रे एफ.एम. र लियो क्लब अफ पोखराले मिलेर जनजातिको साँस्कृति झाँकी प्रतियोगिता आयोजना गर्न गइरहेको हुँदा छलफल कार्यक्रममा सहभागि हुन उपस्थित भइदिनु हुन’ भनेर सरोज गोपाल दाजुको हस्ताक्षर सहितको एउटा पत्र प्राप्त भयो म क्रियाशिल संस्थामा । तोकिएको मिति र समयमा जातीय संस्थाका प्रमुखहरु पुग्यौं कार्यक्रम स्थलमा । सो कार्यक्रममा म आदिवासी जनजाति पत्रकार संघ कास्की र किरात सेवा समाज कास्कीको प्रतिनिधि भएर उपस्थित भएको थिएँ । कार्यक्रममा छोटो कार्यपत्र अर्थात कार्यक्रमको बारेमा जानकारी समेटिएको मन्तब्य सरोज दाजुले नै पढ्नु भो । कार्यक्रम र सो कार्यपत्रमा भएको केही शब्दको बारेमा मैले अलिकती प्रतिक्रिया जनाएँ । खासगरी विभिन्न जातिहरुमा विद्यमान झाँकी वा लोक नृत्यहरुको आ–आफ्नै महत्व हुने भएकोले त्यसको प्रतियोगिता हुँदैन भन्ने मेरो तर्क थियो । मेरो तर्कमा नेपाल तामाङ घेदुङ कास्कीका तात्कालिन अध्यक्ष कुमवहादुर तामाङ लगायतले समर्थन जनाउनु भएपछि केही बेर छलफल तर्कविर्तकमा अल्झियो । अन्ततः सरोज दाजु नै अगाडि सरेर प्रतियोगिता गर्नुको महत्वको बारेमा केही बोल्नु भएपछि हामी सहमत भयौं । सोही सहमति अनुसार निर्धातिर मितिमा प्रतियोगितात्मक लोक नृत्यहरुको प्रदर्शनी सम्पन्न भयो दीपेन्द्र सभागृहमा । तर त्यो कार्यक्रममा लोकनृत्यले भन्दा पनि सरोज गोपाल दाजुको गीतले दर्शकहरुलाई जुरुक्कै बनाएको थियो । उहाँले सो कार्यक्रममा ‘देउराली उकाली चढेर’ र ‘मायालुको मोहनी बोली’ बोलको दुई गीत गाउनु भएको थियो । उन्नाई वर्षको उमेरमा रेकर्ड गरेको ‘देउराली उकाली चढेर’ गीत गाउँनु हुँदा उहाँमा बुढ्यौलीको कुनै छनक कतै देखिन्दैन थ्यो त्यो हलमा ।
    आफ्नै गीतको बारेमा चर्चा गर्दै गरेको सरोज गोपाल दाजुको कार्यक्रम सुन्न भ्याएँ एक साँझ माछापुछ्े एफ.एम. मा । चर्चा त्यही देउराली उकाली चढेर बोलको गीतको थियो । त्यो गीतको अन्तरमा भएको ‘अब त हेर सानीको जिऊमा रङ्ग चढेछ, छुन पनि डर लाग्यो.....’ भन्ने शब्द अश्लिल भयो भनेर रेडियो नेपालले बजाउन प्रतिबन्ध लगाएछ । तर तात्कालिन राजा वीरेन्द्र पोखरा आउँदा सोही गीत गाएर सुनाएपछि राजाले त्यस्तो कुनै अश्लिलता छैन भने पछि रेडियोमा बजाउन फुकुवा गरिएको रहेछ । साँच्चै सरोज गोपाललाई चिनाउने गीतहरु ‘करोडौं मुटुहरुको एउटै’ सँगै यो पनि हो भन्ने लाग्छ । वाल्यकालको स्मृतिलाई यौवन अवस्थासँग दाँजिएको यो गीत धेरैको जीवनसँग मेल खान्छ । सरोज दाजुले थोरै गीत गाउनु भए पनि सबै गीतले चर्चा पाएको छ । गायीका बाबा राणाको आवाजमा रेकर्ड भएका केही आधुनिक गीतमा उहाँले संगीत समेत दिनु भएको छ । पोखरामा जन्मिएर गीत संगीतको क्षेत्रमा उहाँले जति योगदान दिनु भएको छ त्यसैगरि पोखरेली सञ्चारको विकासमा उहाँको ठूलो योगदान छ । पोखराका लोकप्रीय रेडियोकर्मीहरुको पंक्तिमा सधैं सरोज गोपाल दाजुको नाम अग्रपंक्तिमै हुने छ ।
    सरोज गोपाल दाजुको अर्को नलेखिएको एउटा पाटो पनि छ, सायद पोखराको बसाईले निरन्तरता पाएको हुन्थ्यो भने मैले लेख्ने थिएँ होला । त्यो के भने उहाँको प्रेम र विवाह पछिको सफल दाम्पत्य जीवन । गायीका बाबा राणासँग प्रेमपछि अन्तरजातीय विवाह गरेका सरोज र बाबालाई–प्रेमलाई विवाहमा परिणत गर्नु पक्कै कठिन परेको थियो होला । बाबा राणासँग ती दिनका स्मृतिहरु अझै खोतल्न सकिन्छ, पोखरेली सञ्चार कर्मी तथा साहित्यकारहरुको ध्यान त्यता तिर जाओस् भन्दैछु म ।
    र, अन्त्यमा सरोज दाजु हाम्रो बीचमा नरहनु भए पनि उहाँले छाडेर जानु भएका अमूल्य गीत–संगीतहरु युगौंयुगसम्म सुरक्षित रहने छन् । यतिबेला उहाँको गीतसंगीतलाई गुनगुनाउनु नै उहाँ प्रतिको सच्चा श्रध्दाञ्जली हुने छ भन्ने लागेको छ ।
सरोज दाईको मोहनी बोली
आजभन्दा सम्झौंला भन् भोली
तोरी हरियो
दाजु नहुँदा एक्लै परियो.........।
                    अस्तु
                                    खोटाङ
                                    हालः मलेसिया
Shram Weekly, Malaysia 23 August 2014

अलग अभियानको अलग अनुभूति


   “एउटा गीत कालजयी बन्नको लागि गीतकार, संगितकार र गायकबीच घनिष्ट सम्बन्ध हुनुपर्छ, त्यही सम्बन्ध स्थापना गर्ने सेतु–अलग अभियान हो” । अलग अभियानका अभियन्ता कवि एवं गीतकार नाकिमाले यसो भनिरहँदा घडिको सबैभन्दा छोटो सूईसँगै कार्यक्रम पनि उत्कर्षबाट क्रमश: ओह्रालो बग्दै थियो । झण्डै पौने दर्जन कवि–कवयत्री र उत्तिनै संख्याका गायक–गायीकाहरुले पस्किसकेका कविता र गीत–संगीतको आस्वादनमा डुबुल्किन्दै म भने उत्कर्षतर्फ उक्लन्दै  थिएँ ।
    २२ चैत्र २०७० को त्यो मध्यान्न, पुरानो बानेश्वरबाट अनामनगरको मण्डला थिएटरतर्फ चालेका पाइलाहरु म एकाएक मोडिदिन्छु तछिखेलतर्फ । मण्डला थिएटर, जहाँ मेरो घनिष्ट मित्र गणेश खड्काको नाट्य कृति ‘थिएटरमा आँखाहरु’ को विमोचन हुँदै थियो । उनले मलाई नै भनेर औपचारिक निमन्त्रणा त गरेका थिएनन् तर पनि उनको फेसबुकबाट सबै सुभेच्छुकहरुलाई भनेर निमन्त्रणा गरिसकेका थिए । उनको सुभेच्छुक मध्ये म पनि पर्छु, त्यसैले त्यो निम्तो मलाई पनि हो भन्ने बुझेर मैले मण्डला थिएटरमा जाने निधो गरेको थिएँ । तर १५ दिन अगाडि दिक्तेल बजारको एउटा चिया पसल भित्र  जे.पि.टी. (JPT) कार्यक्रममा झुमिरहँदा संगीतकार एवं सञ्चारकर्मी मित्र भीमसेना राईले ‘अलग अभियान’को नयाँ श्रङ्खला काठमाण्डौमा हुँदैछ भनिरहँदा; म त्यो बेला काठमाण्डौमा हुने र जसरी पनि सहभागिता जनाउने प्रतिवद्घता व्यक्त गरेको थिएँ । त्यसैले म मण्डला थिएटर खोज्दै अनामनगरको साटो तछिखेलतर्फ मोडिएँ । तछिखेल हानिनुको अर्को कारण पनि छ, त्यहाँ अरुको सिर्जना सुन्नु मात्र होईन आफ्नो समेत सुनाउन सकिन्थ्यो ।
    कार्यक्रममा कोही सभापति थिएनन् तर प्रमुख अतिथि अर्थात कार्यक्रमका आकर्षण दुई जना थिए, कवि केशव सिल्वाल र गायीका झुमा लिम्बू । यसैबीच कतारबाट केही दिन अगाडि मात्र काठमाण्डौ आइपुगेका अन्तराष्ट्रिय साहित्य समाज कतार शाखाका अध्यक्ष एवं कवि तिर्थसंगम राई अर्का विशेष आर्कषण थिए, त्यस श्रृङ्खलाका । अभियानका अभियन्ता नाकिमाले केही शब्द बोलेर कार्यक्रम सञ्चालन गर्न बबिनालाई माइक्रोफोन हस्तान्तरण गरेपछि अभियानले औपचारिकता पायो । अनि शुरु हुन्छ, अभियानको लोगो अर्थात सामुहिक गायन । गीतले अभियानको विशेषता र उद्देश्य बोल्दै थियो, म सबै अनुहारहरुमा आँखा दौडाउँदै थिएँ । त्यहाँ मैले चिनेका जम्मा ४ जना देखिए, भीमसेना, नाकिमा, स्व. स्वप्निल स्मृति र रेवत । आसनग्रहणपछि थपिएका थिए केशव, झुमा र तिर्थ । तर बबिनाले जति कवि–कवयत्री र गायक–गायीकाको नाम बोलाउँदै जान्छिन् म उत्तिनै चकित हुँदै जान्छु । त्यस हलमा कतै न कतै सुनेका र पढेका नामहरु नै रहेछन्, अहँ विरानो नाम भेटिन मैले ।
    पहिलो कविता रोशन खड्काले बाचन गर्छन् । बाल मनोविज्ञानलाई विषयवस्तु बनाएर छोरीको प्रश्नहरुमा उनले थुप्रै कलिला जिज्ञाँसाहरु छताछुल्ल बनाए । नदिका..., फूलका..., भमराका...। साँच्चै कविताभित्र कताकता मैले मेरै विगत देखें । थुप्रै प्रश्नहरु, थुप्रै रहरहरु । ती प्रश्नहरु कति हल भए कति बाँकी छन् तर रहरहरु खै यसै भन्न सकिन्न । बरु रोशनले पोखेका कविताका बान्कीहरु मानसपटमा बासी बन्न नपाउँदै पाँचथरे गायीका ऋतु राई हारका श्रृङ्खलाहरुलाई सुरिलो गलामा सजाउन आइपुग्छिन् । “हार्ने मान्छे म त गाउँछु, मेरै हारको गीत...”, सन्ध्या साम्पाङको यी शब्दहरु भित्र पीडासँगै जीवनबोधका अनुभूतिहरु ऋतुले पोखिरहिन् । ऋतुको सुमधुर आवाजले विश्राम गर्न साथ कवि नदिस, एउटा विगतलाई कथा बनाएर कविता वाचन गर्न आइपुग्छन् । “नयाँ भन्नु उमेर मात्रै हो, बाँकी सबै पुरानै छ”, उनको ‘कथा’ शिर्षकको त्यो कविता भित्र पनि ऋतुले गाएकै गीतको झल्को आइ¥ह्यो । भावुकतामा डुबिरहेको मन कल्पनामा उडान भर्छ...कहिले विगततर्फ, कहिले आगततर्फ । विगत सम्झनु मात्र न हो, सम्झियो पीडामात्र त्यसैले आगतलाई बढी मन पराउँछु म । यही आगत र विगतको लठारोमा पिङ मच्चिरहेको बेला बबिनाले बोलाउँछिन् रेवत र मेलिनालाई । रेवत कुनै बेला दिक्तेलको सेलिब्रेटी, अहिले काठमाण्डौको सेप लागेर अलि तनौरे भएछन् । तर उनको स्वर पहिलाभन्दा धेरै माझिएको अनुभूति गरें । उनीहरुले मैले धेरै चोटी सुनेर मन पराएको गीत गाए । “तिमी चैतारी बिसाई यो मन, तिमी द्यैराली चढाई यो मन”...समर्पण भाव...प्रेमिल शब्दहरु, सुहाउँदिलो संगीतमा ठ्याम्मै मिलेका स्वर । म गीतसँगै हराउन पुग्छु । केही पर गीटारका झिनो तारहरुमा औंला खेलाई रहेका भीमसेना मलाई क्वारक्वारती हेर्छन् र मुन्टो हल्लाउँछन् । म जवाफमा अलिकति मुस्काउँछु । 
    नेपालको सांगीतिक आकाशमा स्व. अरुणा लामा कहिल्यै नबिलाउने तारा हुन् । उनको पीडै–पीडाले भरिएको मधुर स्वर मृत्युपछि अझ बढी प्रीय भएको छ मलाई । उनको जीवन कथासँग झण्डै मेल खाने गीतहरुमा सायद धेरैले आफू उभिएको महशुस गर्लान् । अरुणा नेपाली श्रोताको मात्र होइनन्, बरिष्ट संगीतकार अम्बर गुरुङको मन पर्ने गायीका । अम्बरले संगीतबद्घ गरेका धेरै गीतहरुमा अरुणाले स्वर भरेकी छिन् । उही बरिष्ठ संगीतकार अम्बरको सानिध्यमा रहेर  अर्की अरुणाको जन्म भएको छ–नेपाली आधुनिक संगीतमा, उनि हुन् झुमा लिम्बू । कार्यक्रमकि अतिथि झुमाले गीत गाइरहँदा स्वर किन्नरी अरुणाकै आवाज गुञ्जिरह्यो अन्तर मनमा । अम्बर गुरुङकी चेली झुमाले अम्बरसँगै मिलेर भरखरै बजारमा ल्याएको ‘अम्बर संगीत’ एल्बमको केही गीतहरु गाइन् । स्वर र शब्द अनुसार संगीत भर्न माहिर अम्बरले भरेको संगीतमा झुमाले पहिले बतासले फूल झार्दा मन झरेको कथा गाइन्, फेरि ‘उनले बगेको खोला जस्तै जिन्दगी’लाई रोजिन् र अन्त्यमा सबैको आग्रहमा जिन्दगीकै गीत गाइन् । पीडाभित्र आशा मिसिएको उनको त्यो गीतले भन्दै थियो, ‘सागर हो कि जिन्दगी सानो खोला...जिन्दगी जिन्दावाद ।’ साँच्चै जिन्दगी धेरैलाई बोझ लाग्ला, धेरैको जिन्दगी पिडादायक होला तर त्यही पीडा, त्यही बोझ जिन्दगीको सौन्दर्य हो । यही सौन्दर्य भित्र जिन्दगी अझ खुल्नुपर्छ र सबैले भन्नु पर्छ, जिन्दगी जिन्दावाद । झुमाले गाएको त्यो गीतले सबैलाई छोयो, सबैको अन्तरहृदयमा त्यो कोमल शब्द, संगीत र स्वरले तरङ्ग ल्याई¥ह्यो । उनीले अर्को कार्यक्रममा सहभागि हुन थियो, गीत गाइन् र अरु श्रृङ्खलामा आएर गाउने बाचा गर्दै निस्किइन् । हामी पर्शुराम कार्कीको ‘तीन जुरेको प्रतिविम्बमा म’ शिर्षकको कवितामा अल्झन्दै संखुवासभाका अक्करिलो ठाउँहरुमा चक्कर काट्न थाल्यौ । अनि आए युवा पुस्तामा विस्तारै चर्चाको शिखर उक्लदै गरेका गायक सागर राई ‘संसार’, कुनैबेला उनकै कोठामा बसेर खोतलखातल पारेको गोपालचन्द्र राईको त्यही गीत गाए सागरले । संगीत भरेपछिको गोपालका शब्दहरु मलाई अभबढी सुन्दर लाग्यो । सागरको गीतले मन तरंगीत भइरहेको बेला अविनास भट्टराई कविता सुनाउन आउँछन् र फूल नपराउनुको कारण ओकलेर जान्छन् ।
    समय ढल्कँदै थियो, कार्यक्रम भरखर आधाउधी हुँदो हो । तर कसैलाई हतारो थिएन, बस् गंगीत र कवितामा सबै एकाग्र थिए । यही बेला प्रथम मिस राई ‘युमा’ आफ्नो पहिचान खोज्दै आइपुग्छिन्, डबलीमा । नाकिमाको शब्द र भिमसेनाको संगीतमा साथ लिदै यूमाले भनिन्...म एलम्बर कि छोरी...मेरो चिनारी यूमा...। उद्घोषिकाले भनेझै युमाको चिनारी प्रथम मिस राई मात्र होइन उदियमान गायीका पनि हो । युमाको चिनारीसँगै अर्का अतिथी तिर्थसंगम राई च्याब्जुको इतिहास लिएर आउँछन् । उनी मैले मलेसियामा लामै समय दिएको र मेरो कविता संग्रहको प्रकाशक समेत भएको अन्तराष्ट्रिय साहित्य समाज कतार शाखाका अध्यक्ष हुन्, उनी खोटाङको बुइपामा जन्मेर मोरङ हुँदै झापाका स्थायी बसोवासी हुन पुगेका छन् । उनी लाहुरे च्याब्जुको इतिहाससँग सन्तुष्ट छैनन्, आफै जस्तो सबाल्र्टनलाई सिध्याउनुको पीडामा च्याब्जु अल्झिरहेको बेला उनले कवितामा इतिहास भर्दै थिए । सायद उनको च्याब्जुका अवशेषहरु उही बुइपाको कुनै जंगलमा होला तर उनी इतिहास बनाउन अहिले अक्षर यात्रामा छन् । घर पुग्नुको हतारोले कविता सुनाउन वित्तिकै तिर्थ बाहिरिन्छन्, अनि निला तामाङ आउँछिन् यर्थातपरक गीत बोकेर । दिदी मिना तामाङको शब्द र संगीत रहेको त्यो गीतको स्थायीमा बुद्घ दर्शनको प्रभाव थियो, अन्तराहरुमा प्रेमिल शब्दहरु...‘जतिसुकै माया भएनी, छाडेर टाढा जानु नै छ..... ।’ साँच्चै उनले गीत मात्र होइन, जीवनको वास्तविकता सुनाईन् । माझिन्दै गएको उनको स्वर उस्तै प्रेमिल लाग्यो मलाई । निलापछि कविता बोकेर नवाम अणु आउँछन्, अनि पालो आउँछ राजकुमार राईको र भेलबाढीमा बगेको जिन्दगीको कथा सुनाउँछन् । लगत्तै ‘परिवर्तन’ शिर्षकको कविता बोकेर धनहिरा राई सभ्यताको खोजिगर्न अलग अभियानमा सहभागि हुन्छिन् । दिक्तेल बजारको पूर्वतर्फ बेग्लै पहिचान बोकेर उभिएको नेर्पा गाउँकी ति चेलीको कविता मैले दोश्रो पटक सुन्दै थिएँ । दिक्तेलमा सम्पन्न साहित्यिक महोत्सवमा पनि काठमाण्डौबाट कविता सुनाउन पुगेकी थिइन् उनी ।
    समय निरन्तर बगिरहन्छ, डबलीमा शोभा परियारको आवाज गुञ्जन थाल्छ, ‘जूनको माया लगाएछु आकाशमै बसिगयो, फूलको माला लगाएछु ओइलिएर खसिगयो’..... । शोभाको सुरिलो आवाजमा गुञ्जदै थियो शकुन राईका शब्दहरु, शकुन आफ्नो नाम पछाडि ‘आशुँ’ लेख्छिन् । सायद उनको आफ्नै आँशु पो हो कि त्यो गीत । केही गर्छु भन्दाभन्दै अहिले कोरिया पुगेकी छिन् । एउटा सानो खोलाले हाम्रो घरलाई अलग्याएको भए पनि सकुन र मेरो सिर्फ दुईवटा साहित्यिक कार्यक्रममा मात्र जम्काभेट भएको छ । हामी दाजु–बहिनी, तर शब्दको खेतीमा उनी अगाडि छिन् म भन्दा । उती टढा पुगेर पनि शब्दहरु विस्कुन लगाउन बिर्सेकी रहिनछिन् सकुनले । शोभाको आवाज, मण्डलको संगीतले जति सन्तुष्ट हुन्छु उतीनै सकुनको शब्दले आनन्द दिन्छ मलाई । सोभापछि मैले कविता भट्याएँ अनि पालो आउँछ रेवतको, भोगेन एक्लेको शब्द र भिमसेनाको संगीतमा रेवत गाउँन थाल्छन्, अधिल्लै दिनमात्र फेसबुकमा सो गीतको रेकर्डिङ गर्ने काम सकियो भनेर भीमसेनाले स्टाटस् लेखेका थिए । सो गीत मैले भीमसेनाकै आवाजमा रुपाकोट एफएमको कार्यालयमा सुनेको थिएँ । विरही शब्दहरुले सुहाउँदिलो संगीत पाएको सो गीतमा रेवतको स्वर गज्जबै खुलेको पाएँ । रेवतपछि लोचन ज्योति राई फूलका कविताहरु बोकेर अलग अभियानमा सुगन्ध छर्न आईपुग्छिन् । जलवायु परिवर्तनसँगै फूल फुल्ने प्रक्रियामा आएको परिवर्तनलाई कविताको भाव बनाएको उनी सुनाउँछिन् । तर कविता सुन्दै जाँदा त्यहाँ मानव जीवनमा आएको परिवर्तन र स्वभावहरुलाई पनि विम्बहरुले छोएको रहेछ । फूल जस्तै कोमल कवितापछि निश्छल राई आफ्नै शब्द–संगीतमा मन भित्र बढ्दै गएको बेचैनीलाई कतै प्रेममा परेको संकेत पो हो कि, भनेर सोध्छन् ।
    कार्यक्रमको टुङ्ग्याउनीअगाडि चियापानको कार्यक्रम शुरु हुन्छ । चिया हतार–हतार पिएर नाकिमा कार्यक्रमको बिटमार्न  र कविता सुनाउन कार्यक्रमका प्रमुख अतिथि कवि केशव सिल्वाललाई बोलाउँछन् । केशव सिल्वाल, समकालिन  कविहरुमा निक्कै चर्चा पाएका कवि । उनका कविताहरु अक्सर म पढ्न छुटाउँदिन । तर मलाई किन किन केशवसँग कहिलेकाँही डाहा पनि लाग्छ । उनका कविताहरु मैले वा हामी जस्तैहरुले लेख्नु पर्ने, उनले लेखिदिंदा त्यस्तो अनुभूति भएको । यथार्थतामा उनीप्रतिको डाहा नभै अपनत्वको अनुभव हो । उनी जुन समुदायमा जन्मे तर त्यो समुदायभन्दा भिन्न अर्थात सबाल्र्टनहरुको आवाज कवितामा लेख्छन । उनले अलग अभियानको त्यो बसाईमा मैले पढेर मन पराएकै कविताहरु बाचन गरे । चिवे चरा, तुइनमा उल्टो झुण्डिएर, ङा चेपाङ र दुःखले आज्र्याको मुलुक जस्ता अत्यन्तै चर्चित कविताहरु सुनाएर उपस्थित सर्जकहरुको वाह ! वाही बटुले । प्रीय कवि, मेरै मनको कुरो कवितामा लेख्ने तर स–शरिर नभेटिएका कविले पाँचहातपर उभिएर कविता वाचन गर्दा मैले धित मरुञ्जेल ताली नपिटिरहन सकिन । सबैको अनुरोधमा अन्तिम कविता ‘दुःखले आर्ज्याको मुलुक’  केशवले वाचन गरिरहँदा म भने गोर्खा राज्य विस्तारसँगै पराजितहरुले भोग्नु परेको अवस्थालाई महशुस गर्दै भावुकतामा डुबिरहेका थिएँ । उनी भन्दै थिए कवितामा ‘छप्छपी काटियो आफ्नै मितलाई, कम दुःखले आर्ज्याको मुलुक होइन यो...सबैमा चेतना भया.....।
    कार्यक्रम सकियो तर मनपराएका कविहरु स्व. स्वप्निल स्मृति र नाकिमाको कविता र भीमसेनाको ठट्यौली र गीत सुन्ने रहरभने अधुरै रह्यो । घडि हेर्दा अबेर जस्तै भइसकेको थियो । तर भीमसेनाले रोकिन इसारा गरे । कार्यक्रममा प्रयोग गरिएका बाध्ययन्त्र र कुर्सीहरुको थक्कोमन्कोपछि भीमसेना र म बाहिरिन्छौं । र, जेपिटी (JPT) लाई सम्झदै अलिकपर सुटुक्क छिर्छौं । (जेपिटी, के हो भन्ने बारे अरुबेला लेखौंला)
Nepal Pristhabhumi and Rupako Weekly, May 2014

‘बाराहा’, ‘बराह’ कि ‘बारु वा’ ?


    खोटाङ जिल्लाको पूर्वी भेगमा धार्मिक तथा सांस्कृतिक महत्वको एक चर्चित पोखरी छ, जसलाई स्थानीयबासी लगायत चिने जानेकाहरुले बाराहा पोखरी भनेर जान्दछन् । उक्त पोखरीमा विरामी हुँदा वा देश– परदेश जाँदा भाकल गर्ने गरिन्छ । अझ निःसन्तानहरुले पोखरीमा भाकल गर्दा सन्तान हुन्छ भन्ने मान्यता पनि रहँदै आएको छ । बाराहा पोखरीमा हरिबोधिनी एकादशीको दिन हरेक बर्ष भब्य मेला समेत लाग्ने गर्दछ । खोटाङ लगायत भोजपुर, उदयपुर र अन्य जिल्लाबाट भाकल बुझाउन तथा मेला भर्न आउनेहरुको भिड लाग्ने गर्दछ, ठूलो एकादशीमा । उक्त दिन विभिन्न ठाउँका धामी झाँक्रीहरु समेत आफ्ना चेलाभूलाहरुको साथमा पोखरीमा ओइरिन्छन् र रातभर जाग्रम बसेर शक्ति प्रदर्शन गर्ने र शक्ति प्राप्त गर्ने कार्यहरु गर्दछन् । बाराहा पोखरीमा भाकल बुझाइए पनि भोग दिने चलन छैन । यहाँ परेवा उडाउने र फलफूलहरु चढाउने कार्य गरिन्छ ।
    झट्ट हेर्दा यो पोखरी सामान्य देखिए पनि यसको बनावट अनौठो रहेको छ । तीन तिर अग्ला पहाडहरुले छेकिएको यो पोखरीको दक्षिण–पश्चिमपट्टी भने केही समथर जमिन छ । पोखरीको पूर्व–उत्तर, उत्तर र उत्तर–पश्चिमपट्टि निरन्तर बगिरहने पानीका स–साना मुहानहरु छन्, जुन पानी पोखरीमा खस्ने गर्दछ । अझ बर्षायाममा अग्ला पहाडहरुबाट बगेर झर्ने पानी पनि पोखरीमा नै थुरिन्छ । तर त्यो पानी बगेर जाने कुनै निकास छैन । पोखरीबाट करिब एक किलोमीटर तल दक्षिण पश्चिम दिशामा पोखरीको भुमिगत निकाश रहेको विश्वास गरिन्छ । सबैभन्दा अनौठो पक्ष भनेको पोखरीको आकार हो । चारै दिशाबाट अवलोकन गर्दा पनि पोखरीको आकार एउटै र उस्तै देखिन्छ ।
    बाराहा पोखरी ४.६८ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । यसको लम्बाई ३३० मीटर रहेको छ भने चौडाई २१० मीटर रहेको छ । पोखरीमा रातो, कालो र सेतो रङ्गको माछाहरु प्रशस्त देख्न सकिन्छ । समय समयमा जलहाँसको बथान पनि पोखरीमा भेट्न सकिन्छ । वरिपरी पहाडले ढाकेको यो पोखरी साँच्चै सुन्दर छ । धार्मिक र साँस्कृतिकको साथै पर्यटकीय दृष्टिले पनि पोखरीको महत्व ठूलो रहेको छ ।
    पोखरीको उत्पति, नामाकरण र शक्तिको बारेमा धेरै किम्बदन्तीहरु सुन्न सकिन्छ । तर किम्बन्तीहरु सबै सत्य हुँदैनन् र सबै झुटा पनि हुँदैनन् । कतिपय किम्बदन्तीहरु अनुमानको भरमा पनि बनेका हुन्छन् । बाराहा पोखरीको बारेमा सुनिने किम्बदन्तीहरु पनि यो सत्यताबाट अछुतो छैन ।
    पोखरीको हाल प्रचलित नाम बाराहा भए पनि यसको उच्चारण ‘बराह’ सँग मेल खाने हुँदा यसलाई हिन्दू धर्म शास्त्रहरुमा बर्णित बराह अवतारसँग जोडेर किम्बदन्ती बनाइएको छ । बराह अवतारमा समुन्द्रमा डुबेको पृथ्वीलाई भगवान विष्णुले बराह अर्थात सुङ्गुरको रुप धारण गरेर उद्घार गरेको कथा हिन्दु धर्म शास्त्रहरुमा पाइन्छ । त्यही हिन्दु धर्मशास्त्रमा बर्णित बराह अर्थात सुङ्गुरले यहि पोखरी भएको ठाउँमा दाँत गाडेर समुन्द्रमा डुबेको पृथ्वीको उद्घार गरेको हुनाले पोखरी बनेको र पोखरीको नाम बराह अर्थात बाराहा हुन गएको भन्ने किम्बदन्ती छ ।
    खोटाङ, उदयपुर र भोजपुर जील्लाको विभिन्न स्थानमा अन्य यस्तै ठूला–साना पोखरीहरु रहेका छन् । जस्तै उदयपुरको रौता पोखरी, भोजपुरको साल्पा पोखरी आदि । एक प्रचलित किम्बदन्ती अनुसार परापूर्वकालमा यी पोखरीहरु कुनै एक दम्पतीका बाह्र बहिनी छोरीहरु थिए र पछि विभिन्न स्थानमा पोखरीको रुप धारणगरी बसेका थिए । यिनै बाह्र बहिनीहरु मध्ये बाराहा पोखरी कान्छी अर्थात बाह्रौं भएकीले यो पोखरीको नाम बाह्र हुँदै बाराहा हुन गएको भन्ने जनश्रुति पनि रहेको छ । यसै किम्बदन्तीसँग मेल खाने अर्को किम्बदन्ती पनि छ । बाराहा पोखरीको दक्षिण पश्चिममा करिब १५ कोस टाढा रौता पोखरी  छ । जुन उदयपुर जिल्लामा पर्दछ । पहाडको थाप्लोमा रहेको यो पोखरी पनि धार्मिक दृष्टिले निक्कै महत्वपूर्ण मानिन्छ । बाराहा पोखरी र रौता पोखरी दिदी बहिनी भएको र कुनै एक समय दुइबीच झगडा हुन गएको भन्ने जनश्रुति छ । यसरी झगडा हुँदा बाराहा पोखरीले भ्यागुतोको झट्टी हानेको र रौता पोखरीले माछाको झट्टी हानेको हुँदा बाराहा पोखरीमा माछै माछा र रौता पोखरीमा भ्यागुतै भ्यागुता हुन गएको हो भनिन्छ ।
    बाराहा पोखरीसँग जोडिएको अर्को किम्बदन्ती पनि छ । बाराहा पोखरीको दक्षिण–पश्चिमपट्टी केही समथर जमिन छ, जहाँ हाल सानो बजार रहेको छ । पहिला यहि स्थानमा हालको पोखरी रहेको थियो रे । पोखरीको माथिपट्टी गाउँ थियो रे (हाल पनि रहेको छ) । ती गाउँलेहरुले दिशापिसाब गर्दा त्यो दिशापिसाब पोखरीमा बगेर झर्नाले पोखरी फोहोर भएछ । यो पोखरी शक्तिसम्पन्न भएकोले साविकको ठाउँबाट सर्न खोजेछ । ठाउँ खोज्दै जाँदा हाल पोखरी रहेको ठाउँ उपयुक्त देखेछ । तर त्यहाँ किरात राईहरुको धामीहरु बसोवास गर्दै रहेछन् । धामीहरुको गुरु जो निःसन्तान थिए छ । सबैले मानिआएको गुरुलाई राती सपनामा पोखरीले म यहाँ सर्दैछु तिमीहरु अन्तै जाउ भनेछन् । यो कुरो सबै धामीहरुलाई गुरुले सुनाएछन् । र, सबै धामीहरु त्यस ठाउँबाट अन्तै सरेछन् पनि । तर धामीहरुको गुरु भने सरेका रहेनछन् । एक साँझ धामीहरुको गुरुआमा खाना पकाउँदै रहिछिन् । त्यही बेला अगेनाको छेउमा धाँजा फाटेछ । धाँजाबाट पानीको फोहरा र रातो माछा निस्केछ । लौ यो के भयो भन्दै श्रीमान् (धामीहरुको गुरु) लाई सुनाउँदा “आ तरकारी नभएको बेला भगवानले पठाइदिनु भयो पकाउ” भनेपछि रातो माछालाई कराहीमा हालेर गुरुआमाले पकाउन थालिछिन् । यही बेला सारा जमिनमा धाँजा फाटेर पानी निस्किए छ र त्यो ठाउँ पोखरी बनेछ । भोली पल्ट गुरुको चेलाहरु हेर्न आउँदा त गुरुको घर भएको ठाउँ जलमग्न छ । उनीहरुले गुरुहरुको खोजी गरे तर गुरुलाई भेटेनन् । पोखरीले गुरु र गुरुआमालाई राखेको ठानेर पोखरीलाई फकाउन आफूहरुले जानेको मुन्धुम (मन्त्र) फलाक्दै केर (ढोल) र थाल बजाएर उनीहरु पोखरीको वरिपरी घुम्न थालेछन् । नभन्दै केही समयपछि गुरु र गुरुआमाको लास पोखरीको छेउमा उत्रिएछ र परापूर्वकालदेखि चल्दै आएको चलन अनुसार दाससंस्कार गरेछन् । यसरी आफ्ना गुरुको मृतात्माको शान्तिको लागि र मृत गुरुबाट शक्ति प्राप्त गर्नको लागि हरेक बर्ष विभिन्न ठाउँका धामीहरु पोखरीमा आउने गर्दछन् भन्ने गरिन्छ । धामीहरुको गुरु को थिए भन्ने कुरा प्रष्ट नभए पनि उनीहरुलाई होलेप्पा र होलेम्मा भनिन्थ्यो भनेर धामीहरुले भन्दै आएका छन् । बाराहा पोखरी आसपासका बासिन्दाहरुको अनुसार पोखरीको माझमा पानी कम भएको समयमा एउटा खम्बा देखिन्छ र त्यो खम्बा त्यही धामीहरुको गुरुको घरको मूल खम्बा भएको हो भन्ने विश्वास गर्दछन् । यहि किम्बदन्तीलाई बाह्रघर मगरहरुसँग पनि जोड्ने गरिएको छ । हाल पोखरी भएको ठाउँमा बाह्रघर मगरहरु रहेछन् । पुरानो ठाउँबाट पोखरी सर्दा मगरहरुको बाह्रघर डुबेकोले यो पोखरीलाई बाह्र आर्थात बाराहा भनिएको हो भन्ने पनि जनश्रुति रहेको छ ।
    माथि उल्लेखित किम्बदन्तीहरु जनश्रुतिहरु हुन् । यो कतै लेखिएको वा कसैले लेखेर छोडेको प्रमाणहरु होइनन् । जनश्रुतिहरु एक पुस्ताबाट अर्को पुस्तामा पुग्दा वा एक ठाउँबाट अर्को ठाउँमा पुग्दा निक्कै परिवर्तन भइसकेको हुन्छ । माथि उल्लेखित सबै किम्बदन्तीहरु सत्य छैनन् । कतिपय किम्बदन्ती त कोरा कल्पनाभन्दा अर्थोक केही होइन तर केही किम्बदन्ती भित्र थोरै सत्यता पक्कै छिपेर रहेको छ । यी किम्बदन्तीहरुलाई कसरी बुझ्ने भन्ने कुरो यहाँ प्रमुख कुरो हो । हिजोको समयमा बाबु बाजेले जे भने त्यही कुरा सत्य हो भनेर बस्ने हो भने सत्य हामीबाट टाढै रहन्छ । त्यसैले यी जनश्रुति वा किम्बदन्तीहरुको बैज्ञानिक विश्लेषण गरेर सत्यको खोज गर्नु आजको आवश्यकता हो । अर्कौ तिर यस्ता पोखरी वा प्राकृतिक सम्पदाहरुसँग सोही ठाउँमा परापूर्व कालदेखि बसोवास गर्दै आएका मानिसहरुको इतिहास, भाषा, संस्कार र संस्कृतिहरु जोडिएर आएका हुन्छन् । त्यस्ता समुदायहरुको इतिहासलाई जान्न यस्ता सम्पदाहरुको वास्तविकताले पनि सहयोग पु¥याउछ । हामीलाई थाहा छ, विज्ञानको आविश्कार हुनुभन्दा अगाडि सबै अनुमानको भरमा अर्थ लगाउने गरिन्थ्यो । अझै पनि मानिसको पाइतालाले टेकिसकेको चन्द्रमालाई देवता ठान्नेहरु हाम्रो बीचमा छन् । प्रकृतिका रहस्यहरुलाई भगवानको खेल ठान्ने हाम्रै पीतापूर्खाहरु हुन् । हुन पनि हो प्रमाणित गर्ने कुनै आधारहरु नभएपछि भगवानको नाम नलिएर के गरुन् त बिचराहरु । यस्तै अनुमान र कल्पनामा हिजो हाम्रा पूर्खाहरुले जनश्रुति बनाए र अक्षरको उत्पति भएपछि हाम्रै पुर्खाहरुले थप बढाइचढाइँ गरेर लेखे । आजको साहित्य र हिजोको लेखनमा कुनै भिन्नता छैन । मात्र हिजो कल्पना धेरै हुन्थ्यो भने आज यर्थातता ज्यादा छ । कल्पना गरेरै बेद, पुराण, रामायण र महाभारतहरु लेखिएका हुन् भलै रामायण र महाभारतहरु निक्कै पछिका भएका हुनाले यहाँ ठाउँ र पात्रहरु यर्थातताको नजिक छ । यही कल्पनाले नै ब्रम्हा, विष्णु र महेशको जन्म भयो । यही कल्पनाले नै विश्णुको अवतार कतै नृसिंह, कतै मत्स्य, कतै बराह आदिको रुपमा देखाप¥यो । कालान्तारमा विष्णुको अवतार मान्छे पनि हुन थाले । भलै कसैको रुप र केही गुणहरु कसैमा मिल्न जाला तर विज्ञानले सावित गर्न सकेको छैन, कि कसैको पूर्नजन्म हुन्छ । हामीले सुन्ने पुराना साहित्यहरुमा त यस्तो पुर्नजन्मका कुराहरु त कति छन् कति । यहि भित्र पर्छ कथित भगवान नामधारी विष्णुको वराह अवतार पनि । पृथ्वी कुनै समय जलमग्न थियो भन्ने कुरामा विज्ञान पनि सहमत छ तर पृथ्वी समुन्द्रमा डुबेको अथवा राक्षसले पृथ्वीलाई समुन्द्रमा डुबाइदिएको भन्ने जुन बराह अवतारमा बर्णित कथा छ, त्यो कोरा कल्पना भन्दा केही होइन । सायद त्यसबेला यी कुरा लख्ने महोदयलाई पृथ्वी कहाँदेखि कहाँसम्म फैलिएको छ भन्ने अनुमानसम्म थिएन होला । खुट्टाले हिडेर र आँखाले देखेर अनुमान कसले लगाउन सक्नु ? हामीले पढेकै हो कि, आँखाले हेर्नेहरुले पृथ्वी चेप्टो छ भन्थे र अमेरिका पत्ता नलागुञ्जेल पृथ्वीमा जम्मा पाँच मात्र महादेश थियो । त्यसैले बराह अवतारमा बराह अर्थात सुङ्गुरले दाँत गाडेर समुन्द्रमा डुबेको पृथ्वीलाई बाहिर निकालेको र त्यही दाँत गाडेको ठाउँ बाराहा पोखरी हो भन्ने किम्बदन्ती कोरा कल्पनाभन्दा अर्थोक केही होइन । तर यहाँ यो किम्बदन्ती जोडिनुलाई भने अर्थपूर्ण रुपमा लिनुपर्ने हुन्छ । कि, बराह अवतारको कुराहरु मान्ने भनेका आर्यसम्प्रदायहरु हुन् तर बाराहा पोखरी आसपासको क्षेत्र भनेको किरातहरुको आदिभूमि हो । यो क्षेत्रमा बसोवास गर्ने आदिमानवहरु भनेका किरातहरु हुन् । यहाँ आर्यहरुको प्रवेश धेरैपछि मात्र भएको हो । पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गर्नु भन्दा केही अगाडि मात्र आर्यहरु पूर्वतर्फ अगाडि बढेका हुन् । हालपूर्वमा रहेका आर्यहरुको बंशावलीलाई खोज्ने हो भने उनीहरु यता आइपुगेको तिथीमिती सबै निस्कन्छ । त्यसैले किराती सभ्यताको मूलथलोमा रहेको बाराहा पोखरीलाई आर्यहरुले कसरी बराह अवतारसँग जोडे त, यो खोजीको विषय हो । यो कुरोलाई खोज्न कतै टाढा पुग्नु पर्दैन । आर्यसम्प्रदायमा रहेको धार्मिक एवं साँस्कृतिक सचेतताको अध्ययन गरे पुग्छ । अध्ययन गर्न कतै टाढा जानु पर्दैन । यही बाराहा पोखरीको डिलमा रहेको एक मन्दिर काफी छ । बाराहा पोखरीको पश्चिम–दक्षिणपट्टीको डिलमा एउटा मन्दिर छ, जसलाई संखेश्वर महादेवको मन्दिर नामाकरण गरिएको छ । यो मन्दिरसँग न पोखरीको कुनै नाता छ, न त सम्बन्ध नै । यो मन्दिर बन्नुमा आर्य सम्प्रदायको धार्मिक सचेतताले नै काम गरेको छ । आफूहरु जहाँ पुगे पनि आफ्नो धर्म र संस्कार नछोड्ने यीनै आर्यहरु धर्म शास्त्रहरुमा उल्लेखित विषयहरुसँग परिचित पहिलादेखि नै छन् । बाराहा पोखरी आसपासमा आइपुगेका आर्यहरुलाई बराह अवतारको बारेमा थाहा थियो । त्यसबेला यो पोखरीको नाम जे भएपनि ‘बराह’सँग मेलखान गयो र उनीहरुले यसलाई बराह अवतारसँग जोडेर किम्बदन्ती बनाई हाले । यो काम यहाँ मात्र भएको छैन उनीहरुले उहिल्यै लेखिएको हिन्दु साहित्यमा बर्णित जे जति कुराहरु छन् तीसँग मिल्दो जुल्दो ठाउँहरुलाई सोही अनुसार ब्याख्या गरिहाले । चाहे सतिदेवीको दाँत झरेको कथालाई जोडेर बनाएको सुनसरीको दन्तकाली होस् वा काठमाण्डौको गुहेश्वरी, वा बराह अवतारसँग जोडिएको बराहक्षेत्र नै । यसर्थ बराह अवतारको प्रशंग जोडेर बाराहा पोखरी नाम रहन गएको र सुङ्गुर अर्थात बराहले दाँत गाडेको ठाउँमा पोखरी उत्पन्न भएको हो भन्ने किम्बदन्ती कोरा काल्पनिक छ । यसलाई सत्य मान्नु पर्ने कुनै आधार छैन ।
    बाह्र बहिनीको कथा पनि बराह अवतारको कथा जस्तै काल्पनिक  छ । एक दम्पतीको बाह्र बहिनी छोरीहरु हुनु स्वभाविक हो तर तिनीहरु पोखरी बनेर रहनु कल्पना भन्दा अर्थोक केही होइन । बाराहा पोखरीमा माछा मात्र हुनु र रौता पोखरीमा भ्यागुता मात्र हुनमा कुनै प्राकृतिक कारणले सहयोग गरेको होला तर झगडा परेर माछा र भ्यागुता हानाहान गरेको भनिनु उही कल्पना नै हो । यसर्थ बाह्र बहिनी भएकोले बाह्र हुँदै बाराहा भएको भनिनु पनि सत्य होइन भन्ने ठहर्दछ ।
    तर बाराहा पोखरीमा बर्षै पिच्छे धामीहरु जानु र थान थापेर रातभरि चिन्ता बस्नुमा कुनै रहस्य पक्कै छ । किम्बदन्तीमा पोखरी हालको बजार भएको ठाउँबाट एकाएक अहिलेको ठाउँमा सरेको भन्ने जनश्रुति सत्य होइन । किनकी कुनै पनि पोखरी यसरी आफै अन्त सर्छ भन्ने प्रमाण कतै छैन । तर पहिला पोखरी भएको भनिएको ठाउँको वस्तुगत अध्ययन गर्ने हो भने त्यो ठाउँमा बाढीले पुरेको हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । बाराहा पोखरी आसपासमा कुनै ठूलो नदि वा खोला छैन तर हाल बजार रहेको ठाउँ पुरै बगरै बगर छ । यस्तो बगर ठूलो खोला, नदि वा पहिरोले मात्र बनाउँछ । बजार रहेको उत्तरतर्फको पहाडमा हाल रुखपातहरु छन् तर त्यो पहाडबाट कुनै समय पहिरो झरेको थियो भन्ने स्पष्ट प्रमाण त्यहाँ देखिने चट्टानहरुले दिन्छ । सामान्यतया जति नै अग्ला पहाडहरु भएपनि माटोको मात्रा प्रसस्त हुन्छ तर त्यो ठाउँमा माटो जति बगेर गएको र चट्टान मात्र बाँकी रहेको स्पष्ट देखिन्छ । त्यसैले के निश्कर्षमा पुगिन्छ भने हाल बजार बसेको ठाउँमा वा ठाउँसम्म पोखरी थियो । माथिबाट झरेको पहिरोले पोखरी पुरिएर हाल कायम रहेको ठाउँमा मात्र पोखरी सिमित हुन पुग्यो । यसरी पहिरो झर्ने क्रममा वा पोखरीको पानी पहिरोले च्यापिएर सर्ने क्रममा आसपासका घरहरु पोखरीमा पुरिए होलान् । हुनसक्छ त्यहाँ धामीहरुको गुरुको घर पनि पुरियो होला र उनका चेलाहरुले शक्ति प्रयोग पनि गरे होलान् । पानीमा डुबेको मानिसको लास निश्चित समयपछि पानीमा तैरिन्छ, यो सत्य हो । र, धामीहरुको गुरुको लास पनि पानीमा तैरियो होला । उता कथित शक्ति प्रयोग गरेका धामीहरुले आफ्नो शक्तिले गुरुको लास निकालेको ठाने होलान् र बर्षै पिच्छे उनिहरु पोखरीमा आउन थाले होलान् । हुन सक्छ पोखरीको माझमा खम्बा होला तर त्यो खम्बा उही धामीहरुको गुरुको घरको मूलखम्बा नै वा पहिरोले बगाएर ल्याएको कुनै ठूलो रुखको अवशेष । तर बाह्र घर पुरेको र बाह्र पोखरी अर्थात बाराहा पोखरी भएको हो भन्ने भनाई भने कल्पना भन्दा अर्थोक केही होइन ।   
    माथि उल्लेखित मिथक वा किम्बदन्तीहरुमा बाराहा पोखरीको नाम बराह र बाह्र हुँदै बाराहा भएको हो भन्ने कुरा खाली कल्पना मात्र भनियो । त्यसैले अब बाराहा पोखरीको नाम बाराहा नै हो वा अरु कुनै हो भन्ने प्रश्न यहाँ आएर खडा हुन्छ । तर बाराहा पोखरी आसपासमा युगौंदेखि बसोवास गर्दै आएका जातिको भाषालाई केलाउँदा बाराहा पोखरीको असली नाम फेला पार्न कुनै कठिनाई छैन । बाराहा पोखरी क्षेत्रमा सदियौंदेखि बसोवास गर्दै आएका जाति भनेको किरात राईहरु नै हुन् । हाल यस ठाउँमा अन्य जातिहरुको सघन बसोवास रहे पनि उनिहरुको आगमन धेरैपछि मात्र भएको हो । त्यसैले बाराहा पोखरीको असली नाम फेला पार्न किरात राईहरुको भाषालाई नै अध्ययन गर्नुपर्ने हुन्छ । यस धर्तिको आदिवासीको रुपमा बसोवास गर्दे आएका किरात राईहरुको भाषा आफ्नै छ । किरात राईहरुको बसोवास क्षेत्रमा खसहरुको प्रवेशपछि मात्र उनीहरुले खस भाषा बोल्न सिकेका हुन् । युगौंदेखि अस्तित्वमा रहेको बाराहा पोखरीलाई देखेपछि किरात राईहरुले आफ्नै भाषामा नाम राखेका पक्कै थिए र त्यही नाम अपभ्रंश हुँदै हाल आएर बाराहा भएको हो ।
    खासगरी किरात चाम्लिङ राईहरुको भाषामा ‘पानी’ लाई ‘वा’ भनिन्छ । र, खोला, पोखरी, पानीको मुहान आदिको नाम पछाडि ‘वा’ शब्द रहेको प्रशस्त उदाहरण हाम्रो सामु छन् । जस्तै सावा खोला, ट्वा खोला, खिवा खोला, रावा खोला, पिख्वा, लिकुवा, रसुवा खोला आदि । तर कतिपय यस्तै खोला र ताल तलैयाहरुको नाममा ‘वा’ शब्द अपभ्रंश भएको छ । जस्तै साल्पा, रौता, त्रिजुगा र बाराहा पोखरीको छेउमा बग्ने सानो खोलो ‘कोकाहा’ । यी र यस्ता उदाहरणहरु प्रशस्त छन् किरात भूमिमा । ‘वा’ शब्द अपभ्रंश भएर बाराहा हुन गएको हो भने यसको असली नाम ‘बारा वा’ हुनुपर्ने देखिन्छ । ‘बारा वा’ नाममा ‘वा’ शब्दको अर्थ पानी हुन्छ तर ‘बारा’ को अर्थ के त ? यहाँ हामीले बुझ्न पर्ने कुरो केहो भने कुनै पनि ठाउँ, खोला नाला, पर्वत आदिको नाम अर्थ बिनाको हुँदैन । हुनसक्छ कतिपय ठाउँहरुको नामको अर्थ हामीले अहिले खोजेर भेट्दैनौं । त्यसैले ‘बारा’ शब्दको अर्थ माथि विमर्श गर्नै पर्छ । हामीले राष्ट्र भाषाको रुपमा बोल्दै आएको नेपाली अर्थात खस भाषामा ‘बारा’ शब्दको अर्थ बार्ने वा घेर्ने भन्ने बुझाउँछ । बाराहा पोखरीको अवस्थितीलाई दृष्टिगत गर्दा यो चारैतर्फबाट पहाडले घेरिएको छ पनि । त्यसैले यो पहाड अर्थात बारा भित्रको ‘वा’ पो हो कि भन्ने लाग्छ । तर यो तर्क पनि सत्य होइन किनकी ‘बारा’ शब्द नेपाली अर्थात खस भाषाको हो र यो भाषासँग किरात राईहरुको सम्पर्क धेरैपछि मात्र भएको हो भन्ने कुरा माथि नै ब्यक्त गरिसकिएको छ । त्यसैले ‘बारा’ शब्द भित्रै किरात चाम्लिङ राईहरुको भाषाको निकटता खोज्नु पर्ने हुन्छ । अब एक पटक बाराहा पोखरीको अवस्थितलाई नियाल्न तर्फ लागौं । यो पोखरीको लम्बाई ३३० मीटर र चौडाई २१० मीटर भएको माथि नै उल्लेख गरिसकिएको छ । र, यो पनि भनिएको छ कि, पोखरीलाई जताबाट हेर्दा पनि उस्तै देखिन्छ । पोखरी गोलाकार नभै अर्ध चन्द्रकारमा रहेको छ । झट्ट हेर्दा खुर्पाको आकारमा पोखरीलाई देख्न सकिन्छ । नेपालको पूर्विभेगमा बस्ने किरात राईहरुले परापूर्व कालदेखि खुर्पाको प्रयोग गर्दै आइरहेका छन् । खुर्पाको प्रयोग किरात राईहरुले धेरै पहिला अर्थात कृषियुगमा आउनु सँगै गरेका थिए भन्ने देखिन्छ । कृषियुगमा आइसके पछि जमिन ओगट्न किरात राईहरुले खुर्पा नै प्रयोग गरेको कुरा किरातीभूमिमा अझै सुन्नमा रहको ‘खुर्पे ठ्याक’ भन्ने शब्दले बताउँछ । र, यही खुर्पालाई किरात चाम्लिङ राईहरुको भाषामा ‘बारु’ भनिन्छ । त्यसैले झट्ट हेर्दा बारु जस्तै देखिने यो पोखरीलाई किरात चाम्लिङ राईहरुले ‘बारु वा’ नामाकरण गरेका थिए भन्न सकिन्छ । यही ‘बारु वा’ नाम विस्तारै अपभ्रंश भएर बाराहा भएको हो भन्ने कुरा प्रष्ट हुन्छ ।
    ‘बारु वा’ बाट अपभ्रंश हुँदै बाराहा बनेको यो पोखरीलाई आजकाल ‘बराह ताल’  भनेर कतै कतै लेखिन्दै र बोलिन्दै आइएको छ । किराती सभ्यता र संस्कतिसँग नजिक रहेको यो तालको नाम बराह ताल राखिनु र बराह अवतारसँग जोडिनुलाई किराती सभ्यता र संस्कृति माथि हिन्दु संस्कृतिको हस्तक्षेपको रुपमा बुझ्नु उपयुक्त होला भन्ने पंक्तिकारलाई  लागेको छ । किराती सभ्यता र संस्कृतिको महत्वपूर्ण भूमि तुवाचुङ जायजुम डाँडोको फेदिमा रहेको हलेसी गुफा जसरी आज पूर्वको पशुपति कहलिएको छ, बाराहा पनि भोली त्यस्तै नहोला भन्न सकिन्न । बाराहालाई पुनः ‘बारु वा’ बनाउन (लेख्न, भन्न) नसकौंला तर ‘बारु वा’ बाटै अपभ्रंश भएर बाराहा भएको भन्ने कुरा सबैले सम्झन र बुझ्न जरुरी  छ । र, ‘बराह ताल’ भनेर कसैले लेख्छ र भन्छ भने त्यसको प्रतिकार गर्नु पनि सभ्यता र संस्कृतिलाई अक्षुण राख्न चाहने हरेक नागरिकहरुको दायित्व हुने छ । 

(किरात राई यायोक्खाको मुख पत्र निप्सुङमा प्रकाशित लेख)

सपनाको खेती शुरु गर्नु अगाडि.......

 अघिल्लो लेखमा बाँझो जमिनमा सपनाको खेती गर्नु पर्छ अर्थात बाँझो जमिनबाटै नयाँ कामको थालनी गर्न सकिन्छ भन्ने बारेमा जोड दिएको थिएँ मैले । अब बाँझो जमिनमा के गर्ने भन्ने बारेमा आफ्नो विचार राख्नु पूर्व केही तथ्यहरुलाई यहाँ प्रस्तुत गर्न गइरहेको छु ।
    गत डिसेम्बर १८ अर्थात अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्याङ्क अनुसार श्रम स्वीकृति लिएर विदेश जानेहरुको संख्या ३० लाख २१ हजार ३ सय २ पुगेको छ । भारतको बाटो हुँदै तेश्रो मुलुक पुगेका नेपाली श्रमिकहरु दशौंलाख छ भनिन्छ । भारतमा मात्रै दशौंलाख नेपालीहरु श्रमिकको रुपमा काम गरिरहेका छन् । यसरी हेर्दा आधा करोड बढी नेपालीहरु विदेशमा श्रम गरिरहेका छन् र उनीहरुबाट देशमा बार्षिक खरबौं विप्रेशण भित्रिरहेको छ । आ.व. ०७०/०७१ को श्रावणदेखि चैत्र अर्थात ९ महिनामा ३ खर्ब ९७ अर्व ७९ करोड नेपाली रुपैंया विप्रेषणको रुपमा नेपाल भित्रिएको छ, अझ अवैध रुपमा सञ्चालित हुण्डी र साथीहरुको माध्यमबाट पनि झण्डै यति नै रकम नेपाल भित्रिने अनुमान छ । विप्रेषण बढी भित्राउने विश्वका ५ राष्ट्ररुमा नेपाल पनि पर्छ । नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको हिस्सा २३ प्रतिशत बढी रहेको छ ।
    यति धेरै रकम हरेक वर्ष नेपाल भित्रिए पनि उक्त रकम के मा खर्च भइरहेको छ त ? यो खोजिको विषय अब बन्नु पर्छ । हरेक वर्ष नेपालको व्यापार घाटा बढिरहेको छ । व्यापार घाटा बढ्नुको अर्थ हो विदेशबाट आयात हुने सामानको मात्रा बढ्नु र नेपालबाट विदेश पठाईने सामानको मात्रा घट्नु । नेपालमा उत्पादनको मात्रा घट्नुमा स्थानीय श्रम बजारमा यूवाहरुको न्यून उपस्थिती प्रमुख कारण हो भने आयात बढ्नुमा नेपालीको खर्च गर्ने अवस्थामा सुधार आउनु हो । यसले के देखिन्छ भने हरेक वर्ष विदेशबाट आउने विप्रेषण अन्ततः विदेश नै पुगिरहेको छ । ‘नेपाल जीवनस्तर मापन सर्वेक्षण’ को एक तथ्याङ्क अनुसार विप्रेषणबाट प्राप्त रकमको ७९ प्रतिशत हिस्सा दैनिक उपभोग्य सामानको खरिद गर्नमा खर्च हुँदै आएको छ, ७ प्रतिशत हिस्सा कर्जा तिर्नमा, ४.५ प्रतिशत हिस्सा घरायासी सामान खरिद गर्नमा र ३.५ प्रतिशत हिस्सा बालबच्चाको शिक्षामा खर्च हुँदै आएको छ तर उत्पादनमूलक कार्यमा विप्रेशणको लागानी ज्यादै न्यून छ । जसको कारण विदेश आयो, केही पैशा कमाएर नेपाल पुग्यो, पैशा सकिन्छ फेरि विदेश आयो । अहिले यही अवस्थाबाट हामी गुज्रिरहेका छौं । मैले सत्य बोल्नु पर्छ कि पाँच वर्ष मलेसिया बसेर कमाएर लगेको रुपैंया तीन वर्ष भित्रैमा सकेर म फेरि मलेसिया आइपुगेको छु । म पनि यही नियतिबाट गुज्रिएको छु भने, सपना देखाउने हैसियत खै त ममा ? त्यो हैसियत भनेकै मेरो नितान्त केही अनुभव हो, त्यही अनुभवलाई मैले बाँड्न खोजिरहेको छु ।
    विदेशबाट देश फर्किए पछि सबैभन्दा पहिला आफन्त, नर–नाता र छर–छिमेकीहरु पैशा सापट माग्न आइपुग्छन् । साथी–भाई वा आफूभन्दा ठूला वा साना नै किन नहुन् २÷४ बोतल रक्सी र वियर खाने इच्छा जाहेर गर्छन् । केही दिन बितेपछि संघसंस्थाहरु, आमा समूह वा राजनीतिक पार्टीका मानिसहरु चन्दा माग्न आईपुग्छन् । र, पार्टीका स्थानीय नेता कार्यकर्ताहरु पार्टीको सदस्यता बोकेर आउँछन् अनि पार्टी सदस्य बन्न कर गर्दछन् । तर कसैले विदेशबाट कमाएर ल्याएको पैशा यस्तो उत्पादनमूलक कार्यमा खर्च गर, त्यहाँ गएर तालिम लिएर आऊ, तिमीसँग रकम अपुग छ भने यस्तो ठाउँमा गएर वा फलनासँग ऋण निकाल अथवा अब हामी मिलेर यस्तो ठाउँमा लगानी गरौं, तिमीले फेरि विदेश फर्केर जाने अवस्था नआओस् भन्ने एक जना मान्छे निस्किएछ भने मृत्यु कसम । मैले साढे तीन वर्षे गाउँ बसाईमा अझ यो भन्दा पनि कठिन अवस्थाको सामना गरेको छु । स्थानीय स्तरमा राजनीति गरिरहेका पटमूर्खहरुको नजरमा साँच्चै काँडै बनियोभन्दा पनि हुन्छ । यदि म तर्क गर्न र बोल्न नसक्ने वा शारिरिक रुपमा कम्जोर एवं जनसम्पर्क नभएको व्यक्ति हुन्थे भने पक्कै मेरो हात–खुट्टा वा शरिरका कुनै पनि अङ्ग सद्दे अवस्थामा नरहन सक्थ्यो यो बेला । त्यसैले विदेशबाट फर्कनेहरुलाई उचित सल्लाह दिन न सरकारले कुनै कार्यक्रम ल्याएको छ न स्थानीय स्तरमै वातावरण निर्माण भएको छ । यसैको कारण हो हामीले कमाएर लगेको केही लाख रुपैँयालाई भइरहेको घर भत्काएर नयाँ बनाउन, थप केही जग्गा जमिन किन्न वा मदेश तिरको कुनै खोला किनाराको ऐलानी जग्गा किनेर झिटी–झ्याम्टा सार्न मै सकिरहेका छौं । उपर्युक्त कुरो त त्यही नाजायज पनि होइन तर धेरैले देश फर्किएपछि विदेशबाट कमाएर लगेको पैशाको अधिक हिस्सा महंगा रक्सी–बियर किन्न र दैनिक मासु खानमा खर्च गरिरहेका छन् । गाउँ–घरका खोल्सा, झाडी र बाटो–घाटो वियर र चलनी रक्सीको फुटेको बोतलले ढाकिएको छ । मैले आफैले गाउँमा खोलेको सानो किराना पसलमा बर्षमा पाँच लाख बढीको चलनी रक्सी र वियर बेचेको छु भने सहर–बजारको के हाल होला ? यसर्थ हामीले विदेशमा दुःख गरेर पैशा कमाए पनि बाटो देखाउने मान्छे र संस्थाको अभावमा अनुत्पादकमूलक कार्यमा खर्च गर्न बाध्य भइरहेका छौं । त्यसैले विदेशमा रहँदा र देश फर्किएर कुनै कुरामा हात हाल्नु अगाडि निम्न कुराहरुमा हामीले ध्यान दिनै पर्छ ।
१) विदेशमा रहँदा अनावश्यक कुरामा खर्च गर्दै नगर्ने । नेपालमा पनि अनावश्यक रुपमा खर्च नगर्न परिवारका सदस्यहरुलाई सचेत बनाउने ।
२) विदेशमा कमाएको पैशा बढिभन्दा बढी बचत गर्न प्रयत्न गर्ने ।
३) विदेशमा रहँदा पनि पत्रपत्रिकाहरु पढ्ने, समाचार सुन्ने–हेर्ने, विदेशीहरुको काम गर्ने तरिकालाई सिक्न प्रयत्न गर्ने, प्रेरणाप्रद फिल्म वा दृश्यचित्रहरु हेर्ने, हेरिएका र पढिएका विषयमा साथीहरुसँग छलफल गर्ने ।
४) देश फर्किनुभन्दा अगाडि नै देशमा पुगेर के गर्ने भन्ने विषयमा परिवार र साथीभाइहरुको सल्लाह लिएर एउटा टुङ्गोमा पुग्ने ।
५) देशमा पुगेपछि के गर्न खोजेको हो त्यो व्यवसायको बारेमा जानकारी, तालिम वा प्रशिक्षण लिने । तालिम वा प्रशिक्षण लिएर उक्त व्यवसाय गर्न सक्छु भन्ने लागेपछि मात्र व्यवसायमा लगानी गर्ने ।
६) आफूले गर्न खोजेको व्यवसायलाई कुन–कुन सरकारी गैह्र सरकारी संस्थाहरुबाट सहयोग हुन्छ भन्ने बारेमा पूर्ण जानकारी लिने ।
७) नयाँ ढङ्गको व्यवसाय सञ्चालन गर्दा थुप्रै ठाउँमा अप्ठ्याराहरु आइपर्छन् यसर्थ छरछिमेकी वा नजिकका गाउँको साथीहरु विदेशमै छन् भने व्यवसाय सम्बन्धी अवधारण बनाउँदा उनीहरुसँग पनि सरसल्लाह गरेर सम्भव भएसम्म केही जनाको टीम बन्ने ।
८) जुनसुकै व्यवसाय गरे पनि एकभन्दा बढी व्यवसाय गर्न नखोज्नु नै राम्रो हुन्छ ।
    ८ नं बुँदालाई अलिकती जोड दिनै पर्ने ठानें । हाम्रो कृषि प्रणाली निर्वाहमूखी छ भन्नुको मतलब के हो भने आफूलाई चाहिने वस्तु भरसक हामी हाम्रै खेतबारीमा उत्पादन गर्न चाहान्छौं । धान, कोदो, मकै, आलु, मास–भटमास, तोरी, गहुँ, फापर आदि देखि लिएर मसलाबाली, तरकारीबाली, फलफूल र पशुपंक्षी जम्मै आफ्नै खेतबारीमा लगाउने र घरमा पाल्ने गरिरहेका छौं । यसो गर्दा बाहिरबाट आवश्यकीय वस्तुहरु धेरै किन्नु त पर्दैन तर बर्षैभरि काममा जोतिरहनु पर्ने हुनाले हामीलाई फुर्सद नै हुँदैन भने अर्कोतिर सबै कामलाई थोरै थोरै समय दिंदा उत्पादन पनि थोरै हुनाले आफैलाई खान पनि नपुग्ने हुनसक्छ । यसर्थ कृषि, फलफूल खेती वा पशुपालन सम्बन्धि कुनै पनि काम गर्न चाहान्छौं भने कुनै एक विषेशलाई मात्र रोज्नु पर्छ । तब मात्र हामीले काममा पनि सधैं ब्यस्त रहनु पर्ने अवस्थाबाट मुक्ति पाउँछौं भने त्यो वस्तुको उत्पादनले व्यवसायको रुप लिन सक्छ ।
    नेपाल र नेपालीको भाग्य र भविश्यलाई सुरक्षित बनाउने प्रमुख क्षेत्र भनेकै कृषि हो । यसर्थ कृषिको बारेमा अझै धेरै विषयहरु उठ्नु र छलफल गर्नु आवश्यक छ । अझै केही अंकहरुमा कृषिकै सरेफेरोमा रहने प्रयत्न गर्दैछु । पहाडमा बाँझिएको जमिनमा के गर्न सकिन्छ भन्ने मेरो अनुभवलाई साट्नै बाँकी छ । अर्को अंकमा त्यही बाँझो जमिनमा कागती खेती गरेर लखपति–करोडपति बन्न सकिन्छ भन्ने तथ्यका साथ आउने बाचा गर्दै अहिलेलाई बिदा चाहान्छु ।
मलेसियाबाट प्रकाशित नेपाल पृष्ठभूमि साप्ताहिक  23 August  2014 मा प्रकाशित लेख