Saturday, August 23, 2014

बाँझो जमिन र सपनाहरु

यूवाहरु,
हरियो पासपोर्ट भित्र
च्यापेर फोटो मायालुको
र,
सजायर सुन्दर सपना
जब विदेसिन्छन्
हो, त्यही बर्षदेखि
बाँझिन थाल्छ उनको घरबारी ।

आज धेरै घरबारी/पाखाबारी
खोला खेत/टारी खेत
भस्मे र खोरियाहरु
बाँझै छन्/बाँझै बस्दैछन्
हो, म पनि विदेशमै छु
र,
मेरो खेतबारीको हालत पनि
योभन्दा फरक छैन ।

परन्तु यतिबेला
मसँग अर्को एउटा सपना
लगन गाँठो कस्न आइपुगेको छ
र, त्यो सपनाले भन्दैछ
ए ! नारथुङे बाँझो बन्दै गरेको तेरो घरबारीमा
पहिला जाबो धान, कोदो, मकै, गहुँ, आलु.......त फलाउथिस्
जानिस भने अब सुन फलाउन सक्छस् ।
   
    छेऊको कविता र कवितामै मेरो सपनाहरु । सपना देख्नु गल्ती होइन बरु सपना नहुनु मृत्युको अनुभूति हो । त्यसैले सपना देख्न र देखाउन खोज्दैछु, म अचेल ।
    नेपालमा दश वर्षको अवधिमा १ लाख २९ हजार हेक्टर थप खेती योग्य जमिन बाँझिएको तथ्याङ्क २०६८ को जनगणनाले देखाएको छ । यति धेरै जमिन बाँझिनुमा धेरै कारणहरु होलान् तर प्रमुख कारण युवा जनशक्तिको विदेश पलायन नै हो भन्दा फरक नपर्ला । नेपालमा अझै पनि करिब ८० प्रतिशत जनता कृषि पेशामै संलग्न छन् तर यसै वर्षको तथ्याङ्कलाई हेर्ने हो भने ४५ अर्व बराबरको फलफूल, तरकारी तथा मासुजन्य वस्तुहरु र ५५ अर्व बराबरको चामल, गहुँ, दाल, तेल लगायतका वस्तुहरु गरि १ खर्ब बराबरको कृषिजन्य वस्तुहरु विशेषतः भारतबाट नेपाल भित्रिएका छन् । नेपालका खेती योग्य जमिनहरु बाँझिने क्रम अझै बढिरहेको छ र खेती गरिन्दै आएको जमिनमा पनि काम गर्ने मानिसनै नभएपछि अन्नबालीको हेरचाह नभई उत्पादनमा ह्रास आउँदैछ । यसर्थ आउने दिनहरुमा अझै धेरै कृषिजन्य वस्तुहरु बिदेशबाटै आयात हुने कुरामा संकै छैन ।
    खेती योग्य जमिन बाँझो बस्नुलाई वास्तवमै राम्रो मानिन्दैन । तर मैले देखेको सपनाले जमिन बाँझिनु पनि ठीक पो हो की भन्दैछ । तर कस्तो जमिन बाँझो बनाउने भन्ने कुरामा सर्तक बन्न सपनाले नै सिकाईरहेको छ ।
    मदेश–तराई, काठमाण्डौ र पोखरा उपत्यका लगायतका उर्बर जमिनहरु आज घरले या घडेरीले ढाकिएका छन् र जहाँ उब्जाउ नै हुँदैन त्यहाँ किसानहरुले दिनरात हाड छाला घोटिरहेका छन् । बाह्रै महिना हाडछाला घोटेर पनि बर्ष दिन खाने अन्न उब्जन्दैन भने त्यस्ता जमिनमा कृषि कर्म गरेर बस्नुभन्दा बाँझै राखेर बिदेश पस्नु ठीक थियो । र, यहि बाट सपनाको निर्माण हुँदैछ, सायद यतातिर धेरैको ध्यान नगएको हुन सक्छ ।
    अलिकति राजनीतिको कुरा गरौं, दरबार हत्याकाण्ड नभएको हुन्थ्यो भने वा दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले राजनीतिक कू नगरेका हुन्थे भने सायद राजतन्त्र नेपालबाट यति चाँडै हट्ने थिएन । यसले के देखाउँछ भने परिवर्तनको लागि परिवेश मिल्नु पर्छ । कारणहरु धेरै भए पनि, दरबार हत्याकाण्ड हुनु र नयाँ बनेका राजा ज्ञानेन्द्रले राजनीतिक पार्टीहरुलाई मिचेर आफै सक्रिय हुनु खोज्नुको तात्कालिक कारणले नै राजतन्त्रको अन्त्य हुनुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यही परिवर्तनको नियम राजनीतिमा मात्र होइन अर्थनीति, कृषिनीति, शिक्षानीति वा ब्यक्तिको जीवनमा पनि लागू हुन्छ । मैले यो राजतन्त्र अन्त्य भएको प्रशंगलाई यस कारणले जोड्दैछु कि नेपालमा धेरै अगाडिबाट कृषिमा आमूल परिवर्तन हुनुपर्छ भनेर आवाज उठे पनि त्यसको आधारभूमि तयार नभएकै कारणले हालसम्म कृषिमा परिवर्तनको कुनै छाँट नदेखिएको हो । बरु झन् कृषिको नतिजा ओह्रालिन्दै गयो र अन्ततः हामी लगभग परनिर्भर भइसकेको अवस्थामा आइपुगेका छौं । र, यहि बिन्दुबाट नयाँ परिवेशको निर्माण हुने देखिन्दैछ ।
    प्रशंग बदलौं, मेरो घरबारीमा म जन्मेर थाहा पाउँदा मेरा बाबु–आमाले जसरी खेती गर्नु हुन्थ्यो अध्यपि सो विधिमा कुनै परिवर्तन आएको छैन । उही बिऊ, उही मल, उही बाली, उही तरिका चलिरहेको छ । यो निरन्तरताले सयौं बर्ष गुजारी सकेको छ । मान्छेको सोचाई, ल्वाई, ख्वाई, उठाई, हिंडाई, बानी–व्यवहार, सपना–बिपनामा कति परिवर्तन भइसक्यो तर कृषिमा र कृषि सम्बन्धि सोंचाईमा परिवर्तन भएकै छैन भने पनि हुन्छ । बाबु–बाजेले मकै छरेको ठाउँमा मकै नै छर्नु पर्छ, कोदो रोपेको ठाउँमा कोदो नै, धान रोपेको ठाउँमा धान नै र भटमास लगाएको ठाउँमा भट्मास नै लगाउनु पर्छ हामीलाई । अझ उही बिऊ, उही र उस्तै मल, उही तरिका । बाबु–बाजेकै पालाको गाई–भैंसी, बाख्रा, कुखुरा–सुङ्गुर, उस्तै दाना–पानी/घाँस, उस्तै खोर/गोठ, उस्तै बिऊ अनि कसरी कृषिमा हामी आत्म निर्भर हुन्छौं ? मलेसियाबाट ४ घण्टामा नेपाल पुग्नु छ, बसमा चढेर पुगिन्छ ? यो समस्या मेरो वा तपाईहरुको मात्र होइन आम नेपालीको हो । त्यसैले यो समस्या समाधान गर्न अब हामी सक्षम हुँदैछौं, किनकी बाबु–बाजेले गरिआएको निरन्तरता भङ्ग हुँदैछ, खेतबारीहरु बाँझै बस्दैछन् । र, अबको नयाँ काम त्यही बाँझो जमिनबाट शुरु गर्नु पर्छ । परिवर्तन अब बाँझो जमिनबाटै शुरु हुन्छ ।
    फेरि पनि आफ्नै कुरा, मलेसियाबाट निस्किएर मैले अलैची खेती गर्न खोजें । अलैची खेती गर्न योग्य आफ्नै करिब दश रोपनी खेत मौजुदा थियो तर धान खेती मासेर त्यहाँ अलैची लगाउँन सहास गर्न सकिन मैले । सायद म एक्लो भएको भए सक्ने पनि थिएँ तर घरपरिवार र छिमेकीहरुलाई मैले बुझाउँन सकिन । अन्ततः करिब पाँच बर्षदेखि बाँझिएर बनमारा र ऐंसेलुले ढाकेको छिमेकीको पाँच रोपनी खेत किनें र अलैचीको बुटासँगै सपना रोपें मैले । त्यही जग्गा किनेर अलैची लगाउँदा पनि धेरैको कुराले कान थोत्रिनु मात्र होईन निराशाले कहिलेकाँहि चौपट पारेको थियो मलाई । तर मैले मेरो सपनालाई मर्न दिईन, आधा जमिन अलैचीको लागि अलिक उपयुक्त थिएन रहेछ, अलैची सरेन । आधा जमिनमा यो वर्षबाटै अलिअली अलैची फल्न थालेको छ । म यता आएपछि सिक्किमतिर अलैची खेती गरेर बसेको गाउँकै दाईले ६ वर्षको लागि भाडामा माग्नु भयो । मैले यहीबाट हुन्छ भनिदिएको छु—६ वर्षको एक मूष्ठ एक लाख पचास हजारमा । जहाँ धान खेती गर्ने हो भने वर्षको मरेर ३ मूरी धान र दश भारी पराल हुन्थ्यो होला, जस्को हालको परल मूल्य बढीमा ७ हजार हुन्छ ।
    मेरो आफ्नै अनुभवले के कताउँछ भने—बाऊ–बाजेकै पालादेखि चलिआएको निरन्तरतालाई बदल्न हत्तपत्त सक्दैनौं हामी । धान फलिरहेको खेत मासेर अलैची रोप्न, मकै फलिरहेको बारीमा कागती लगाउन वा कमाई गरिरहेको जमिनमा डाले घाँस लगाएर गाई–भैंसी वा बाख्रा पालन गर्न हाम्रो ह्याउ पुग्दैन । तर जुन जमिन बाँझो छ त्यसलाई जुनै तरिकाले उपयोग गर्नमा पनि हामीलाई त्यति आपत्ति हुँदैन । यसर्थ हरेक बाँझो जमिनहरु नै अबको परिवर्तन कोर्ने थलो हुन् भन्ने मेरो बुझाई हो ।
    यातायातको सञ्जालले धेरै गाउँहरु जोडिसकेको र कतिपय जोडिने क्रममा छन् । विशेषतः पहाडको भिरालो र उब्जाउ नहुने धरै जग्गाहरु त्यतिकै छोडेर मदेश वा शहर पस्नेहरु मात्र होईन भएको थोरै जमिन पनि बाँझै राखेर विदेश पस्नेहरु धेरै छन् भन्ने कुरा माथि नै भनियो । त्यस्ता जमिनहरु धेरै महंगो पनि छैन र बेच विखन गर्न त्यती गाह्रो पनि मान्दैनन् जग्गा धनीहरु । यदि बेचविखन नगरे पनि सो जमिन भाडामा दिन उनीहरुलाई कुनै गाह्रो हुँदैन । तसर्थ त्यस्ता जमिनहरु खरिद गरेर वा भाडामा लिएर सर्वप्रथम सानै कामको थालनी गरी सपनाको खेती गर्न सकिने प्रशस्त सम्भावना छ । तर ती जमिनमा सपनाकै खेती हुनु पर्छ, यदि हामीले उही मकै, धान, कोदो, भटमास, आलु या गहुँ नै लगाउन थाल्यौं भने त त्यो जमिन किन्नु वा भाडामा लिनुको कुनै अर्थ नै छैन । तर सपनाको खेती के हो ? यो बुझ्न जरुरी छ । पक्कै पाठकहरु जिज्ञाँसु हुनुहुन्छ भने सपनाको खेतीबारे केही टिप्सहरु लिएर म अर्को हप्ता आउने छु । त्यतिञ्जेलको लागि सामाजिक सञ्जाल तिर बहस गर्दै गरौंला । क्रमश..................
मलेसियाबाट प्रकशित हुने नेपाल पृष्ठभूमि साप्ताहिक 16 August 2014 मा प्रकाशित लेख

No comments:

Post a Comment