Saturday, August 23, 2014

के गर्ने अब खोटाङले ?

              राज्यको पुनः संरचनापछि पनि खोटाङको भूगोल अविछिन्न रहने लगभग निश्चित छ, भलै गाविस र नगरपालीकाको पुनः संरचनाको संभावनालाई भने नकार्न सकिन्न । जिल्लाको सम्पूर्ण भूगोल एउटै राज्यमा अटाउनु र कहिँ न कहिँ खोटाङ नामले सम्बोधन हुन पाउनु वर्तमान खोटाङको लागि अवसर नै हुने छ । तसर्थ यो लेख वर्तमान खोटाङ र राज्यको पुनः संरचनापछि हुने खोटाङलाई समेत समेटेर लेखिएको छ ।
खोटाङको भौगोलिक अवस्थाः चुनौती कि अवसर ?
    खोटाङ जिल्लाको सम्पूर्ण भू–भाग मध्यपहाडमा अवस्थित छ । सुनकोशी नदि किनारदेखि रुपाकोट–मैयूँ पर्वत श्रृङ्खलामा अवस्थित ३६२० मीटर अग्लो डाँडाको बीचमा खोटाङको सम्पूर्ण भूमि अटाएको छ । झट्ट हेर्दा भौगोलिक विकटता नै खोटाङको आफ्नो परिचय हो कि जस्तै लाग्छ, त्यसैले त खोटाङलाई कालिकोट देख्छन् अर्धमुदित आँखाहरु । तर यही खोटाङको भुगोल भित्र सावा, ट्वा, बुँवा, साप्सु, रावा, खिकु, लैकु खोला र सुनकोशी–दुधकोशी नदि किनाराका फाँटहरु मात्र होइनन् साउनेचौर, मात्तिम, इँजारा, टेम्मा, याम्खा लगायतका ठाउँहरु अटाएका छन्, जहाँको उर्वराशक्ति मधेशभन्दा कम छैन । वापलुखा, नुनथला र खिदिमाको आलु होस् या खाम्तेल, याङ्सोला, याम्खा र छोरम्बुको सुन्तला खोटाङको परिचय हो । सावाकटहरे, बाँझे च्यानडाँडा, फेदि र सुङ्देलको अलैची र सुनकोशी–दुधकोशी किनारका खयरका बुटा खोटाङको गहनाहरु हुन् । सुन्तलेको अम्रिसोलाई सबैतिर गाड्न सके वा ट्याम्के, रुपाकोट र सेल्मे डाँडाको छातिभरि उम्रिएका औषधीजन्य बनस्पतीहरुको संरक्षण गर्दै उपयोग गर्न सके खोटाङले कसैको मुख ताक्नु पर्दैन । लेकाली खोला–खोल्सामा झाँगिएको अल्लो, अर्गेली र लोक्तालाई व्यवसायीक खेतीमा परिणत गरेर उपयोग गर्न सके खोटाङको परिचय फेरिन सक्छ । हलेसीको चर्चाले खोटाङको अस्थित्व धानी रहेको बेला बाराहा पोखरी, जन्ते ढुङ्गा, धिप्लुङ झरना, रुपाकोट, हुमा पोखरी, छितापोखरी, इन्द्राणीपोखरी हुँदै ट्याम्के–सेल्मेसम्मको जैविक विविधता र सौन्दर्यलाई प्रचार गर्न सके आन्तरिक र बाहृय पर्यटक दुवैलाई भित्राउन सकिन्छ । खेर गइरहेको रावा र साप्सुको पानीलाई जलविधुतमा परिणत गर्ने हो भने छिमेकी केही जिल्लालाई समेत २४ सै घण्टा उज्यालो पार्ने सामर्थय राख्छ खोटाङले । पशु पालन, मौरी पालन, बेमौसमी तरकारी खेती, फलफूल र फूल खेतीको त अथाह सम्भावना नै छ खोटाङमा । यसर्थ खोटाङको भौगोलिक बनावटमा चुनौतीसँगै अवसर पनि छ, जुन अवसरलाई उपयोग गर्न सक्नु पर्छ अबको खोटाङे पुस्ताले ।
विकास निर्माणमा निराशासँगै आशाको झिल्को ः
विकास निर्माणको कुरा गर्न साथ सर्वप्रथम यातायात जोडिएर आउने गर्दछ । जताततै सडक खनिए पनि खोटाङमा हालसम्म भरपर्दो रुपमा कतै पनि सवारीका साधन बाह्रै महिना चल्न सकेका छैनन् । मध्य पहाडि लोकमार्गमा खलनायक बनेर उभिएको सुनकोशी र दुधकोशीमा अझै पक्की पुल नबन्नु, सगरमाथा लोकमार्ग बल्लतल्ल घिस्रिएर खोटाङको सिमानासम्म मात्र आईपुग्नु, खनिएका अधिकाँस सडकहरुमा कालोपत्रे त के ग्राभेलिङ समेत नहुनु, गाउँ गाउँमा खनिएका सडकहरु विना मापदण्ड खनिन्दा प्रकृतिको विनास मात्र होइन सो सडक उपयोगमै आउन नसक्ने खालको हुनु आदिले निराशा मात्र हात लाग्छ । अपितुः यिनै निराशा भित्र पनि आशाका बाछिटाहरुले खोटाङे मनहरुलाई भिजाएको छ । मध्य पहाडि लोक मार्गले केही वर्षभित्रै खोटाङ र काठमाण्डौको दुरी छोट्याउने निश्चित छ । उस्तै अवस्था परे विहान उठेर काठमाण्डौ गएको खोटाङे बेलुका खोटाङमै बास बस्न आइपुग्ने अवस्था आउन केही वर्षमात्र पर्खनु पर्ने देखिन्छ । सगरमाथा लोकमार्गले तराईसँगको दुरी छोटाउँदैछ । ग्रामिण पहुँच कार्यक्रम (RAP) अन्तर्गत खनिएको सडकले मध्य पहाडि लोकमार्गको भू–भाग मात्र होइन दिक्तेल–खोटाङ बजारको दुरी छोट्याई सकेको छ । स्विस सहयोग नियोगले सगरमाथा लोकमार्ग अन्तर्गतको मौरे–फोक्सिङटार सडक खण्डको ट्रयाक खोल्न सहयोग गर्नुका साथै धेरै सडकहरुको पूर्वाधार निर्माणमा सहयोग पुर्याइ रहेको छ । गाउँ–गाउँमा सडक खन्ने अभियान जारी नै छ । गाउँ विकास समितिमा छुटिएर आउने बजेटले नपुगे स्थानीय स्तरबाटै रकम जम्मा गरेर सडक खन्न खोटाङेहरु जुटिरहेका छन् । विभिन्न संस्थाको सहयोगमा साना जलविधुत आयोजनाहरुको निर्माणले विधुतिकरणमा टेवा पुगिरहेको छ । केन्द्रीय प्रशारणले नछोएका कतिपय ठाउँहरु अहिले लोडसेडिङ मुक्त भइरहेका छन् । कतिपय ठाउँमा साना जलविधुत आयोजनाहरु निर्माण गर्न खोटाङेहरु तम्सिरहेका छन् । जाल्पामा सामुदायीक अस्पताल निर्माण भएको छ, अन्य केही ठाउँमा समेत सामुदायीक अस्पताल निर्माण गर्ने अभियानमा खोटाङेहरु जुटिरहेका छन् । नगदेबाली, बेमौसमी तरकारी, फलफुल खेती र पशु पालनमा खोटाङेहरु अग्रसर हुँदै गइरहेका छन् । गाउँ–गाउँमा उच्च मा.वि. र क्याम्पस खोल्ने क्रम अझै रोकिएको छैन । यी समग्र अवस्थालाई हेर्दा विकास निर्माणमा पनि आशाको झिल्को देख्न पाईन्छ ।
मार्ग दर्शन गर्ने मान्छेको खाँचो ः
राष्ट्रीय राजनीतिमा खोटाङका राजनीतिककर्मीहरुको उपस्थिति मज्बुत नदेखिए पनि कर्मचारी प्रशासनमा खोटाङेको बर्चश्व पहिला देखिकै हो । तर खोटाङले जन्माएर हुर्काएका यी राष्ट्र सेवक कर्मचारीहरु उपल्लो तहमा पुगेपछि खोटाङलाई बिर्सन्छन् भन्दा कुनै अपराध होला जस्तो लाग्दैन । खोटाङमा जन्मिएकाहरु नेपाल सरकारको सचिब कति बने हिसाब छैन, मुख्य सचिब, निर्वाचन आयोग प्रमुख, शसस्त्र प्रहरी प्रमुख सबै बने तर उनीहरुले जन्म थलोमा सम्झन लायक कुनै काम गर्न सकेनन्, बरु उनीहरुले खोटाङको झिटीझ्याम्टा बेचेर मधेस र काठमाण्डौलाई धनी बनाए/बनाईरहेका छन् । सत्य कुरा भन्ने हो भने बरिष्ठ कृषि विशेषज्ञ मदन राईले खोटाङको लागि गरेको आधी काम मात्र यी उच्चपदस्थ अधिकारीहरुले गरिदिएका हुन्थे भने आज खोटाङ नेपालकै नम्बर १ जिल्ला बन्न सक्थ्यो, तर यसो हुन सकेन । आज खोटाङमा सबै थोक छ तर मार्ग निर्देश गर्ने मान्छेहरुको अभाव छ । खोटाङे जनताहरु आज कुहिरोमा हराएका काग जस्तै बनेका छन्, त्यसैले त सयौं विगाह जमिन बाँझो राखेर मधेशको १/२ कठ्ठा जमिनमा खुम्चिनुलाई सुख ठानिरहेका छन् । हरेक वर्ष गाउँ परिषद्मा बजेट विनियोजन हुन्छ, तर विनियोजित बजेटबाट आलु किनेर टमाटरको बिल बनाउँछन् केही धुर्तहरु र खोल्छन् बियरको कार्टुन । हरेक वर्ष जिल्ला परिषद् हुन्छ तर परिषद्ले खोटाङको दीर्घकालिन योजना बनाउनुभन्दा पनि आफ्ना कार्यकर्ताहरुले पिएका बियर र महंगा रक्सीको बिल तिर्न पुग्ने योजना बाँड्न लुछाचुँडी गर्छन् स्थानीय नेताहरु । दिक्तेल लगायत जिल्लाका साना–ठूला बजारमा हरेक दिन खोलिने अधिकाँश बियर र महंगा रक्सीहरु सरकारी पैशाको दुरुपयोग हो भन्दा सर्म मान्नु पर्दैन खोटाङले । केही पढेलेखेका र काम गर्ने जोश–जाँगर भएका युवाहरुको विदेश र शहर पलायनले खोटाङ अचेल बाँझो भूमि बन्दै गएको छ । गाउँ घरमा रहने–बस्ने केही युवा र शिक्षक–कर्मचारीले खोटाङको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई धानी रहेका छन् तर उनीहरुबाट खोटाङ र खोटाङेले प्राप्त गर्ने दुर्गती मात्र हो । संसारको परिवर्तनसँग बेखबर उनीहरु कुनै एक पार्टीको भरौटे बनेर जहाँ पनि हुलहुज्जत गर्नुलाई नै परिवर्तन ठान्छन् । औंलामा गन्न सकिने केही स्थानीय राजनीतिक/सामाजिक नेता–कार्यकर्ता बाहेक अधिकाँशको ध्याउन्न कि त बियर र महंगा रक्सी प्यूनु तिर छ, कि त मदेश र शहर बजारतिर घर–घडेरी किन्नु तिर छ । बाँझिन्दै गएको खेत–बारी र भत्किन्दै गएको घरहरु देखेर पनि कसैको चेतना फर्किएको छैन ।
परिवर्तन यथास्थितीमा हुँदैन ः
खोटाङले परिवर्नन खोजेको छ । त्यो परिवर्तन राजनीतिक नभई आर्थिक परिवर्तन हो । परिवर्तन यथास्थितीमा सम्भव हुँदैन । परिवर्तन हुनको निम्ती धेरै कुरा बिग्रिएको अवस्थामा हुनु पर्छ । आज खोटाङको अवस्था नाजुक छ र अब खोटाङलाई परिवर्तन गर्न सकिने सम्भावनाको विकास हुँदैछ । खोटाङको भविश्य कृषि र पशुपालन नै हो । यसोभन्दा खोटाङमा खेती नगर्ने र पशुपंक्षी नपाल्ने कुन घर होला भनी प्रश्न गर्न सकिन्छ । खोटाङेहरुको हिजो पनि र आज पनि पेशा कृषि नै हो तर कृषि पेशा निर्वाहमूखी छ अब यो पेशालाई व्यवसायीकतातर्फ अगाडि बढाउनु पर्छ । जसको सम्भावना बाँझिएका हजारौं बिगाह जमिननै हुन् । यहाँ बुझ्नु पर्ने कुरो के छ भने—हामी निरन्तरतामा बढी विश्वस्त हुन्छौं, कि बाऊ–बाजेले खेत बारीमा जे लगाए त्यही मात्र र त्यसैगरी रोपे मात्र फल्छ भन्ने मानशिकता छ, हामीमा । त्यसैलेत बाउ–बाजेकै पालाको बिऊ, मल, साधन र तरिका हामीले अपनाइरहेका छौं । र, कसैले पुरानै बाली लगाइरहेको ठाउँमा यस्तो बाली लगाऊ भन्दा हामी तत्काल तत्पर हुँदैनौं । तर नयाँ बाली, नयाँ बीऊ, नयाँ तरिका अपनाउनलाई बाँझिएका हजारौं बिगाह जमिन अब खोटाङेसँग छ र सर्वप्रथम तिनै बाँझो जमिनहरुलाई एकीकृत गरेर व्यवसायीक खेती, पशु–पालन, फलफूल खेती आदिमा हामफाल्न खोटाङेहरु तत्पर हुनु पर्छ । तर गर्ने कस्ले ? गाउँ–घरमा सिमित रहेका केही युवा, शिक्षक–कर्मचारीहरुलाई गाउँमा आएको बजेटबाट बियर र महंगा रक्सीको बोतल खोल्नै फुर्सद छैन, केटा–केटी र बुढा–बुढीले के गरुन्, महिलाहरु घरको धन्दा गरुन् कि खेती ? अब गर्ने भनेकै वैदेशिक रोजगारबाट फर्किएकाहरुले हो ।
आशाको त्यान्द्रो ः
    २००७ को राजनीतिक परिवर्तन हुनुमा पहिलो र दोश्रो विश्वयुध्द लडेका विट्रिस लाहुरेहरुको ठूलो योगदान छ । यदि उनीहरुले हतियार नउठाएका हुन्थे भने भारतमा जम्मा पारेका केही थान हतियार र केही दर्जन यूवाले त्यो क्रान्ति गर्ने कुनै सम्भावना थिएन । त्यसैगरी अवको खोटाङ मात्र होइन सिंगो नेपालको आर्थिक क्रान्ति सम्पन्न गर्ने अभियानको नेतृत्वकर्ताहरु वैदेशिक रोजगारबाट फर्किएका यूवाहरु हुनेछन् र उनीहरुले मात्र आर्थिक रुपमा नेपाललाई समृध्द पार्ने हैंसियत राख्छन् । यसोभन्दा कसैको हाँशो उठ्न सक्छ, त्यो स्वभाविक हो । नेपालमा नेताहरु मात्र विग्रिएका छैनन्, अर्थतन्त्रको खम्बा मानिएका उधोगपतिहरु पनि राजनीति जस्तै गन्हाएका छन् । नेपालको प्रतिकूल राजनीतिक अवस्थामा पनि उधोगपतिहरु लाखबाट अरबौंको मालिक बन्नु कसरी सम्भव भयो ? प्रश्न यहाँ छ । कि उनीहरुले आर्जन गरेको सम्पत्तिमा सुध्दता छैन । गतल ढंगले आर्जन गरेको सम्पत्ति कहिल्यै राष्ट्रको हितमा उपयोग हुँदैन र त्यसलाई बैधानिकता दिन सयौं अपराधहरु थपिरहेका हुन्छन् । यस्ता सम्पत्ति र सम्पत्तिवाल केही प्रतिकूलता उत्पन्न हुन साथ राष्ट्र र राष्ट्रियता नै त्याग्न तत्पर हुन्छन् । तर आफैलाई बेचेर बैदेशिक रोजगारमा विभिन्न राष्ट्र पुगेका होनाहार यूवा–यूवतीहरु विदेशमा पुगेपछि पलपल परिवार र देशको सम्झनामा मर्दै–बाँच्दै, बाँच्दै–मर्दै केही वर्ष बिताएर फर्कन्छन्, फर्कने देश नै हो । विदेश गएकाहरु देशलाई बिगार्न होइन देश बनाउन चाहान्छन् । ऊ जहाँ हुन्छ, त्यो देशको परिवर्तन देखेर आफ्नो देशलाई पनि त्यस्तै बनाउने सपना देख्छन् । विभिन्न देशका नागरिकहरुसँगको सहवासले उनीहरुको चिन्तन र व्यवहार परिवर्तन हुन्छ । नयाँ सिप सिक्छन्, नयाँ भाषा जान्दछन्, नयाँ प्रवृधिको उपयोग गर्छन् र नयाँ जाँगर भर्छन् मनमा । आज देश रेमिट्यान्सले धानी रहेको छ । सरकारी कर्मचारीले खाने तलब होस् वा व्यापारीले सामान बेचेर निकाल्ने नफा, जहाँ पनि रेमिट्यान्सको हिस्सा जोडिएको छ । वैदेशिक रोजगारबाट फर्किएका धेरै यूवाहरुले आज व्यसायिक खेती र पशुपालनमा हात हालेका छन्, सयौंलाई रोजगारी दिएका छन् । विदेशमा बग्न बाँकी पशिना र रगत नेपालमै बगाएर नयाँ कुराको सुरुवात गर्न धेरै युवा–युवतीहरु तम्सिरहेका छन् । तर जोशले मात्र सबै काम बन्दैन । सहकार्य, तालिम र पूँजीको पनि आवश्यकता पर्छ । जसको लागि एउटा यस्तो संस्थाको आवश्यकता छ, जो प्रत्येक जिल्ला र केन्द्रमा (राज्य पुनः संरचनापछि राज्यमा पनि) गठन होस्, जुन संगठन वैदेशिक रोजगारबाट फर्किएकाहरुले गठन गरुन् र त्यसको सदस्य वैदेशिक रोजगारबाट फर्किएका र वैदेशिक रोजगारमा गएकाहरुको परिवार होस् । उक्त संस्थाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई आवश्यक परामर्श, तालिम र सपना देखाउने हैसियत राखोस् । यस्तो संस्था खोटाङबाटै जन्मियोस् र खोटाङे नै अभियानको नेतृत्व गरोस् । खोटाङेको भविश्य खोटाङमै सुरक्षित छ भने खोटाङको भविश्य खोटाङेकै हातमा छ ।
जय खोटाङ
हाल : मलेसिया
(खोटाङ सेवा समाज हङकङको मुख पत्रमा प्रकाशित लेख)

No comments:

Post a Comment