Sunday, August 24, 2014

विन्दा (कथा)


    झमक्कै साँझ परे पनि आज ऊ गोठ मै थिई । हुन त  गोठ र घरको दुरी पनि कति नै थियो र, मज्जाले हिंड्दा पाँच मीनेटको बाटो । वस्तुभाउलाई परालको गुजुल्टो हाली दिएर एकक्षण ऊ टोलाईरही पश्चिम दिशातर्फ । उसलाई कता कता विदेशमा रहेको आफ्नो श्रीमान्को याद आयो । न आओस् पनि किन ? भरभराउँदो जवानीमा श्रीमान्सँग टाढा भएर बस्नु कति गाह्रो हुन्छ भन्ने कुरो खेप्नहरुलाई मात्र थाहा हुन्छ । हुनत भन्नेहरु भन्छन् नि श्रीमान्ले पैशा पठाइदिए कै छ, मोज गरेकी छे भनेर । तर पैशाले सबै सन्तुष्टि प्राप्त हुँदैन भन्ने के थाहा, भन्नेहरुलाई ।
    बारीको कान्लामा टुसुक्क बसी र गोठ तिर दृष्टी फ्याँकी, गाई–गोरुहरु परालको बुजो मुखभरि हाल्न ब्यस्त थिए—उसले हेरिरही । पर बाँस झ्याँङमा केही बेर अघि सारौको हुल च्याँच्याँ चुँचुँ गर्दै बास बस्ने तरखर गर्दै थिए तर अहिले कतै–कतै किराहरुको एकोहोरो किरकिर बाहेक जताततै सन्नाटा छाएको थियो । निक्कै तल एउटा कालो छाँया उनी भएकै तिर उक्लन्दै गरेको उसले देखी । सायद डाँडा पल्लापट्टिका केही होलान्, हाम्रो गाउँतिर गएर फर्किन्दै गरेको होलान्—उसले लख काटी । बसेको ठाउँबाट जुरुक्क उठेर डिल झर्नै लाग्दा त्यो कालो छायाँ उसको सामुन्ने आइपुग्यो । अँध्याराको कारण प्रष्ट नदेखिए पनि त्यो लोग्ने मान्छेको आकृति हो भन्ने उसले ठम्याई । ए... को हो ? उतैबाट आवाज आयो ।
    ए...साइँला पो...म है बिन्दा..., उसले यति नै बोली र हिंड्नलाई बारीको कान्लामा घोप्ट्याएर राखेको डोको थपक्क टिपी ।
    ए... के गर्दै हुनुहुन्छ भाउजु यतिबेला ? हिंड्दा हिंड्दै टक्क रोकिएर उसले गफिने संकेत देखायो । के गर्नु घाँसपात गर्न आएकी थिएँ, यताउता गर्दागर्दै झमक्कै साँझ परिसक्यो, अनि साइँला कता गएर आउनु भो त ? ऊ पनि राकिएरै बोल्न थाली ।
    तपाईहरुकै गाउँतिर झरेको थिएँ, हिउँदको समय खासै काम छैन, यसो दिन काट्नलाई नि भाउजु ।
भनेपछि कुरो अली गहिरै छ है, एउटी हुँदाहुँदै अर्कीको चाहारीमा हो कि क्याहो साइँला ? ऊ अलिकती छिल्लिई ।
    एउटीले नै हैरान पार्न लागेको बेला कता अर्कीको खोजी गर्नु बरु...। ऊ बिचैमा टक्क रोकियो ।
के बरु...खुलस्तैभन्दा भइहाल्यो नि ? हातले च्याप्प समातेको डोको काँधमा हाल्दै ऊ बोली ।
भो नभनौ फेरि अर्काको सिसोबासो । ऊ पनि छिल्लिन थाल्यो ।
    यसरी नै उनीहरु केही बेर छिल्लिरहे । साइँलाले उसलाई भाउजु भने पनि त्यो बोल्ने साइनो मात्र थियो । साइँला कार्कीको छोरो, बिन्दा पोखरेलकी बुहारी अनि कताबाट साइनो परोस् र ? तर बोल्ने साइनो उनीहरुको थियो देवर–भाउजू । साँझ निक्कै छिप्पिसकेपछि बिन्दा घर झरी । सिकुवाको एक कुनामा डोको थपक्क बिसाएर भित्र पसी । अगेनामा आगो बलेको थिएन । ससुरा कुनाको एक छेउमा बसेर खै के गर्दै थिए, उसले भेउ पाउन सकिन । सासु अगेनाको डिलमा ओंठ लेप्राएर ढम्मरढुस्स बसिरहेकी थिइन् । उसको साना नानीहरु बाहिर दलानमा उसैको बाटो हेरेर बसेका थिए—ऊ भित्र पस्नासाथ लुङ्गीको फेर समात्दै भित्रै पसे ।     यतिबेलासम्म तेरो के खोज्दै थिइस् है बाइफाले, सासुको रुखो आवाज कोठाको सन्नाटालाई चिर्दै गुञ्जियो । ऊ चुपचाप भाँडामा खरानीको पोत हाल्न थाली ।
    तेरो चाला निको देख्दिन है म, हामीलाई थाङ्नोमा सुताएर मोज गर्दैछेस्... छोरो आएपछि चाख्लिस्, सासु चर्किन थालिन् । सासुको यस्ता बचनहरु सहन अभ्यस्त भइसकेकी ऊ चुपचाप भातको बाहान बसाएर आलुको मसिना दाना चुलेसीले चाना पार्न थालिन् । यसबीचमा सासुले निक्कै बचन फलाकी सकेकी थिइन् तर रोगले विस्तारै गाल्दै लगेको ससुरा भने चुपचाप अगेनाको डिलमा बसेर दाउरा घचेटी रहे । केहीबेरको ताहुर–माहुरपछि खाना पाक्यो र दिइन् सासु–ससुरालाई । निन्द्राले ब्याकुल भएका छोरा–छोरीलाई पनि ख्वाइन् र बाँकी रहेको थोरै गुन्द्रुक र आलुको झोलसँग बिहानको बासी भात जब्बरजस्ती निलिन् । छोरा–छोरीलाई ओछ्यानमा पु¥याएर जुठो लोट्याइन् र भाँडाकुँडा माझिन्, यतिगर्दा रातको दश बजी सकेको थियो । सासु ससुरा ओछ्यानमा पस्रिसकेका थिए । विस्तारै ढोकाको छेस्किनी लगाएर टाँडको बरन्डामा उक्लिइन्, छोराछोरी मस्त निदाइरहेका थिए ।
    दिनभरीको हैरानीले जिऊ थाके पनि निन्द्रा फिटिक्कै लागेको थिएन । माइतिमा हुँदा बिहान बेलुकी यसो पत्रपत्रिका र किताबहरु पढ्ने गरे पनि बिबाह गरेर आइसकेपछि त्यो बानी पुरै हटिसकेको थियो । माइतीमा पो दाजुभाइहरुले पत्रपत्रिका, किताबहरु ल्याउँथेर ऊ पढ्थी यहाँ त कसले ल्याउने ? सासु–ससुरा दुवै अनपढ्, श्रीमान्लाई पढ्नुमा वास्तै थिएन । जेठाजु–जेठानीहरु छुट्टिएर अलग भैसकेका, आमाजूहरु सबै विबाह भएर घर गैसकेका । ऊ ओछ्यानमा निक्कैबेर छट्पटाई रही । उसले बाल्यकालका केही स्मृतिहरु सम्झिई । ऊ माइतमा सबैको साह्रै प्यारी छोरी थिइ । हुन त क्षेत्री–ब्रम्हाण समुदायमा छोरीलाई अलिक हेलाको दृष्टिले हेरिन्छ । बिबाह गरेर जाँदा प्रसस्त दाइजो दिनुपर्ने चलनले छोरीहरु धेरै नजन्मिएको निको ठान्छन् बाबु–आमाहरु । तर ऊ चारभाइ दाजूहरुको एक्ली चेली थिइन् । उसबेलाको जमानामा अशिक्षाको कारणले उसकी आमाले पाँच सन्तान जन्माउन बाध्य भएकी थिइन् । अहिले त्यो सम्झेर उसलाई कहाली लाग्छ । ऊ विगतबाट फर्किएर केही बेर अगाडिको घटना सम्झिन थालिन् । कार्की साइँलाको ठट्यौलो बोली कतै गुञ्जिरहेझैं लाग्यो उनलाई । ऊ चुपचाप गमखान थालिन् । यसबेला उसले परदेशमा रहेको आफ्नो लोग्ने समेत भुलिन् । तर छेवैमा सुतिरहेको सानो छोरीको साँक् साँक् सुँक् सुँक्ले उनको तन्द्रा भङ्ग हुन्छ । ऊ छोरीतर्फ कोल्टिएर दुध चुसाउन थाल्छे । छोरीलाई अङ्गालेर दुध चुसाउन थालेपछि अघिका कुराहरु कता गायब हुन्छन् कता । ऊ छोरीसँगै कुनबेला भुसुक्क निदाई पत्तै हुँदैन ।
    समय एकनासले बगिरहन्छ । गाई गोठ, घरको धन्दा, बारीको खन्जोत गर्दागर्दै फागुन महिना बित्न लागेको हुन्छ । चैत्र महिनाको पहिलो हप्ताबाट मकै छर्न शुरु गर्नुपर्ने भएकोले मकैको बिऊ समेत छानी सकेकी हुन्छिन् बिन्दाले । घरमा सासुको कचकच झन् बढ्दो हुन्छ । घरलाई लथालिङ्ग छोडेर ऊ माइत पनि जान सक्दिन । आ...सधैंको यस्तै त हो नी भनेर सासुको गनगन सबै पचाउँछे । यसबीचमा कार्की साइँलासँग उसको एकदुइ पटक भेट भएको हुन्छ तर हतारोको कारण उनीहरुको लामो बोलचाल भने भएको हुँदैन । बरु परदेशको लोग्नेलाई सम्झिएर उसले धेरै रात आँखा कच्मटाएकी भने हुन्छे । एक साँझ ऊ सदा झैं गोठमा गाइ गोरुलाई पराल लाइदिदै गरेकी हुन्छे । खै कताबाट हो कार्की साइँलो त्यही आइपुग्छ । रात परिनसके पनि जूनको आगमन भइसकेको हुन्छ आकाशमा । चिसापानी डाँडाको माथिबाट झुल्किएको जूनको धमिलो प्रकाश बारीका कान्लाभरि छरिरहेको हुन्छ । बेलुकी पखको मन्द वतासले ज्यानलाई हल्का स्पर्श गरिरहेको हुन्छ । वासना नआए पनि बारीमा फुलेका आरु बखडाका फूलहरुले प्रकृतिमा एक प्रकारको मादकता थपेको हुन्छ । यहिबेला कार्की साइँलाको आगमनले बिन्दा केहीबेर असमञ्जसमा पर्छे । रोकिन्दा रोकिन्दै बोली चिप्लिहाल्छ बिन्दाको । हेर्दा सोझो लागे पनि छेड् हान्नु खप्पिस छ कार्की साइँलो, त्यसैले त उसको छेड्खानमा बिन्दा भुतुक्क हुन्छे । आफु को हुँ, के हुँ भन्ने बिर्सन्छे विन्दा । बोलीबाट मात्र जिस्किरहेका  देवर–भाउजु विस्तारै हात चलाउँन थाल्छन् । विन्दाको संवेदनशिल अङ्गतिर कार्की साइँलाको हात डुल्न थाल्छ । यी हर्कत गलत हो भन्ने जान्दा जान्दै पनि बिन्दा इन्कार गर्न सक्दिन । श्रीमान् विदेसिएको दुई बर्षपछि पुरुशको स्पर्शले ऊ पग्लन्छे । आखिर जे नहुनु पर्दथ्यो भएरै छाड्यो । घरमा श्रीमति हुँदाहुँदै श्रीमान्को यादले ब्यतित भएकी बिन्दाको विवसताको फाइदा उठाएरै छाड्यो कार्की साइँलाले । यतिबेलासम्म जवानीको जोशले बेहोस बनेकी बिन्दा हस्याङ्ग फस्याङ्ग गर्दै घर झर्छे । घरको दैनिकी उही छ—भाँडामा पोत लगाउ, भात पकाउ, ख्वाउ, जूठो लोटाउ, भाँडा माझ र कहिले नसकिने सासुको कचकच कान थाकुञ्जेल सुन । तर आज यी सारा काम गरिञ्जेल बिन्दा एकबचन कोहीसँग बोलिन । ऊ भित्रभित्रै अन्र्तद्वन्दमै अल्झिरही, पश्चतापमा जलिरही । तर कता कता उसको मनले एक प्रकारको सन्तोष पनि महशुस गरिरह्यो ।
    दिनहरु यसरी नै बितिरहे । कार्की साइँलोसँगको संसर्ग अझै बढिरह्यो । उनीहरुले एकान्तको फाइदा लुटिरहे । गाउँमा कार्की साइँलोसँग लसपस रहेको हल्ला पनि नसुनिएको होइन तर ती सारा हल्लाहरुको बेवास्ता गरिरहे दुवै जनाले । नभन्दै चैत्र महिनामा हुनुपर्ने मासिक धर्क रोकियो बिन्दाको । आज होला, भोली होला भन्दाभन्दै चैत्र महिना बित्यो, महिनावारी भएन । अब भने बिन्दामा गर्भ रहेको संका पलाउन थाल्यो । घरमा संका गर्छन् भनेर मासिक धर्म नभई उसले बारिन् । यसरी नै बिते दुइ महिना तर महिनावारी भएन । उता कार्की साइँलो बिदेशको चक्करमा भौतारिन्दै काठमाण्डौ हानी सकेको थियो । यस्तो बेला सरसल्लाह गर्ने कोही मनले खाएको पाइन बिन्दाले । माइत जाउँ भने घरमा बिल्लिबाठ हुन्छ, कुनै स्वास्थ्य चौकीमा जाउँ भने पोल खोलिने डर । साँच्चै बिन्दा भित्रभित्रै भुट्भुटिन थालिन् । यौवनको आवेशमा गरिएको भूल सम्झेर एकान्तमा धेरै रोइन् पनि तर आँशुले उनको विवसतालाई मेट्न सकेन । उनले गर्भ फाल्नको लागि जानेसम्मको घरेलु उपचार त गरिन् तर त्यो गर्भ गएन । घरकाहरुले संका नगरुन् भनेर महिना महिनामा मासिक धर्म भएको स्वाङ रचेर बारिरहिन् । एवं रितले तीन महिना बित्यो, चौथो र पाँचौं हुँदै छैटौं महिना पनि बित्यो । विवसताको फाइदा लुटेर हिंडेको कार्की साइँलो मलेसिया पुगिसकेको थियो, त्यसको परिणाम बिन्दाले एक्लै खेपी रही । ऊ कहिले काँही सोच्थी भूल दुवैको भए पनि त्यसको परिणाम किन म एक्लैले बेहोर्नु पर्ने ? तर विवसता यहि थियो पुरुषले गरेको भूलको निसानी कतै देखिन्दैन मात्र महिलाले बेहोर्नु पर्छ अनिच्छित गर्भ । बिन्दाले धेरै उपायहरु सोचिन् तर कुनै उपाय उसलाई निको लागेन । आत्महत्या गर्नु जस्तो कायर बाटो समात्नुभन्दा बरु गर्भमा रहेको बच्चा जन्माएर कार्की साइँलाको घर भित्रनु उसलाई निको लाग्यो त्यसैले उनी त्यही तानाबाना बुन्न थालिन् । कार्की साइँलालाई यो कुराको जानकारी दिन चाहान्थी तर सजिलो थिएन । उसले केही पल्ट फोन गर्न पनि चाहि तर सम्भव भएन । कार्की साइँलाको घरमा भन्नु पनि उसले सहास जुटाउन सकिन । दिनहरु नजिकिन थाल्यो, बिन्दा अझै धेरै आतिन थाली । बिचरी न आत्तियोस् पनि किन ! हुँदै नभएको कुरालाई त पहाड बनाएर बद्ख्वाइँ गर्ने सासु ससुरा र गाउँलेहरु यति ठूलो घट्ना घट्न लाग्दा चुपचाप बस्थे त ? तर हिम्मत हारिन उनले । आफु जसरी हिंड्नु परे पनि हिडौंला तर श्रीमान्ले घर फर्केर दुःख नपाओस् भनी उसले भएको जायजेथाहरुलाई सुरक्षित स्थानमा राखी, लगाएको अन्नबाली उठाई, गाउँघरको सरसापट मिलाई । पौश महिना शुरु भयो, ऊ भित्रभित्रै भुट्भुटिन थाली । उसलाई सबैभन्दा बढी पीर थियो छोरा र छोरीको । ऊ बिना छोरा छोरीको बेहाल हुने निश्चित थियो । श्रीमान् घर नर्फिकुञ्जेल छोरा छोरीलाई साथैमा राख्न चाहान्थी ऊ । तर उसलाई के कुरोमा विश्वास थियो भने—उसले अहिलेको घर छोड्न साथ श्रीमान् नेपाल फर्कने छन् र छोरा–छोरीलाई सम्हाल्ने छन् । समय न हो चिप्लन कतिबेर, आखिर त्यो दिन पनि आइपुग्यो, जो आउनु अनिवार्य नै थियो तर ऊ नआओस् भन्न चाहन्थी ।
    साँझ विस्तारै छिप्पिदै थियो । ऊसलाई ब्याथाले च्याप्न थाल्यो । खाना चुल्हामा पाक्दै थियो । अगेनाको छेउमा बसेर छोरा–छोरी कहिले खाना पाक्ला र खान पाउँला भनेर कुरिरहेका थिए । ससुरा बाहिर बसेर खै के गर्दै थिए, उसलाई पत्तो थिएन । सासु भने सधैं झैं एकनासले भुक्दै थिईन् । पहिला विस्तारै पेट दुख्यो, उसले वास्ता गरिन । तर पेट दुखाई विस्तारै बढ्दै गएपछि भने ऊ आत्तिई र बाहिर निस्कि । जस्केलाको छेउमा केहीबेर बसी तर दुखाई झन् साह्रो भएपछि ऊ नजिकैको कटेरोमा गई र छेउमा राखेको कोदोको नलमाथि पसारो परी । दुखाई जोड–जोड हुँदै थियो—दाह्रा किटेर त्यसको सामना गरिरहेकी थिई । पीडाको सामना कतिञ्जेल पो गर्न सक्थि र विचरी, आखिर मुखबाट पीडाको चित्कार निस्कियो । यतिबेलासम्म सासुले थाहा पाइसकेकी थिईन्, छेऊमा आएर उसको अवस्थाको जानकारी पाएपछि सासुको गनगन आवेगमा परिणत भयो । उसले मुखमा आए जति सबै गाली मात्र गरिनन् लुछाई–मुन्टाई सबै गरिन् । उसको गाली र लुछाईले समस्याको समाधान हुने थिएन । त्यसैले आफ्नो लोग्नेको छेउमा गएर सबै बेलिविस्तार लगाईन् र गाउँ समाजलाई बोलाउन पठाईन् । आफु पनि धुनमुनिन्दै तल्लोघर तिर हाम फालिन् । यता अगेनाको डिलमा बसेर भात पर्खिरहेका छोरा–छोरी सबै खबरबाट बेखबर थिए, घरमा के भइरहेको छ, उनीहरुलाई पत्तो थिएन । अचानक हजुरबा–हजुरआमा घरबाट निस्केर बाहिर गएकाले उनिहरु एक्लै परे । त्यसैले आमा खोज्दै उनीहरु गोठमा पुगे । गोठमा आमा एकातिर पल्टिरहेकी थिइन् । नलको थुप्रोमा ओच्छिएको पातलो लुङ्गी माथि भरखरै जन्मिएको सानो नानी एकोहोरो रोइरहेको थियो । आमाले भाइ वा बहिनी जन्माईन् भनेर ती अबोध बालखाहरु खुसी देखिए । विचराहरुलाई त्यो सानो नानी आमा र आफूहरुबीच सम्बन्ध अन्त्य गराउनको लागि जन्मिएको हो भन्ने के थाहा, खुसीमा रमाए । केहीबेरमा गाउँघरका पुरुष–महिला, केटा–केटी हो हल्ला गर्दै गोठमा थुप्रिए । सबै रिसले जलिरहेका थिए । मुखमा आए जति गाली गरिरहेका थिए, गाउँका बाठा भनाउँदा महिलाहरु । भरखरै जन्मिएको नवजात शिशु समेत गालीबाट अछुतो थिएन । बिन्दाको विवसता र वाध्यतालाई सहानुभूति दिने बचन कसैको मुखबाट निस्किरहेको थिएन । नराम्रो बचन गर्नेहरुमा पुरुषहरुभन्दा महिलाहरु धेरै थिए । आखिर महिलाहरु नै किन यति कठोर हुन्छन्, विन्दलाई अनौठो लागिरहेको थियो ।
    विन्दालाई केरकार गर्न थालियो । यो कुन बजियाको पाप हो ? धेरैले यसै भने । सुत्केरी हुनुको पीडाभन्दा पनि भविश्यको चिन्ताले गली सकेकी बिन्दाले हत्तपत्त मुख खोलिन । घोसे मुन्टो लगाएर आँशु बगाइरही बिन्दाले । भेला भएकाहरुले नानाभाँतीको गाली गरिरहे । भरखरै जन्मिएको नवजात सिसु एकोहोरो रोइरहेको थियो । गाउँमा अलिक भलाद्मी लाग्ने तारापति पोखरेलको पनि आगमन भयो । ऊ नजिकै आएर भइरहेको घटनाको वस्तुस्थिती बुझ्न थाल्यो । उसले एक पटक विन्दाको मुखमा हेर्यो र गाउँलेहरु तर्फ नजर घुमायो । गाउँलेहरु मुखमा आएजति गाली गरिरहेका थिए । गाउँलेहरुको स्वरभन्दा अलिक चर्को स्वर बनाएर नवजात सिसुलाई देखाउँदै उसले विन्दालाई सोध्यो—यसको बाऊ को हो बुहारी ? झण्डै आफ्नै बृद्घ बाबुझैं लाग्ने तारापतिको गम्भिर आवाजले विन्दा अकमक्क परी । उसले नवजात सिसुतर्फ थोरै दृष्टि फाली र आँखाबाट बगिरहेको आश्रुधारालाई दाहिने हातले लत्पत्याउँदै बोली—कार्की साइँला ।
    घटना स्थलमा एकक्षण चकमन्नता छायो । सबैले एक आपसको मुख हेराहेर गर्न थाले । यही बेला तारापतिले कसैलाई आदेश दियो—जाऊ कार्की साइँलाको बाबु–आमा र आफन्तहरुलाई लिएर आऊ । तारापतिको आदेश आउन साथ केही ठिटाहरु हानिए पल्लो पाटापट्टि । घटनास्थलमा आपसमा बोलिएको गुनगुन आवाज गुञ्जिरह्यो निरन्तर निरन्तर ।
    कार्की साइँलाको घरतर्फ हानिएका ठिटाहरु रित्तै फर्किए केही बेरमा । भोली छोरालाई फोन गरेपछि हो–होईन भन्ने थाहा लागेपछि मात्र आउँछौं भनेर कार्की साइँलाको बा–आमाले भनिपठाएको खबर दिए ठिटाहरुले । विन्दा घोसेमुन्टो लगाएर बसी रहेकी थिई । न सफा सुघर न बच्चाको स्याँहार उसले कही पनि गरिन । उनको मनमा भविश्यकै चिन्ताले डेरा जमाइरहेको थियो । घरका सासु–ससुरा र गाउँलेहरुको कटु बचन उनले सुनी पनि सुनिन पनि तर नवजात शिशुको एकोहोरो च्याँ च्याँले भने ऊ घरिघरी विह्वल बन्थी । जसरी जन्मे पनि आखिर आमाको मन न हो माया त लाग्दो नै रहेछ ।
    ‘लौ तिमी आइमाईहरुले यो बाइफालेलाई आज रातभरि रूँग, कतै यसले यो पापको भारीलाई मारी भने भोली हामी समेत फसिन्छौं’, भिडमा कुनै पुरुषको चर्को आवाज गुञ्जियो । ‘हो हो यसको भर छैन, यो आफै नै पासो लाग्न पनि सक्छे’, भिडमा अरुले पनि सहमति जनाए । केहीबेरको गानगान गुनगुन पछि गाउँका धेरै जसो महिलाहरु विन्दालाई रूँगेर बस्ने भए । पुरुष भनाउँदाहरु भने एकपटक सक्दो गाली गरेर थु थु गर्दै घर–घरतर्फ लागे । हिँड्दा हिँड्दै कसैले आदेश दियो सबैलाई, ‘भोली बिहान सबेरै सबैजना जम्मा हुनु, कोही पुलिसचौकी जानुपर्छ र यस बाइफालेलाई टुङ्गो लगाउनु पर्छ ।
    रात एकनासले चिप्ली रहेको थियो । गाली गर्दा–गर्दा थाकेका महिलाहरु झकाउन लागेका थिए । तर विन्दालाई निन्द्राले फिटिक्क छोएको थिएन । छेउमा रहेको नानीलाई पुरानो लुङ्गीमा सपक्क बेह्री र विरालोको चालमा गोठबाट बाहिर निस्की ।
    एकक्षणपछि गोठमा कोलाहल मच्चियो...बाइफाले कता हिंडी...चारैतिर खोज ।
   

No comments:

Post a Comment