Saturday, August 23, 2014

सपनाको खेती शुरु गर्नु अगाडि.......

 अघिल्लो लेखमा बाँझो जमिनमा सपनाको खेती गर्नु पर्छ अर्थात बाँझो जमिनबाटै नयाँ कामको थालनी गर्न सकिन्छ भन्ने बारेमा जोड दिएको थिएँ मैले । अब बाँझो जमिनमा के गर्ने भन्ने बारेमा आफ्नो विचार राख्नु पूर्व केही तथ्यहरुलाई यहाँ प्रस्तुत गर्न गइरहेको छु ।
    गत डिसेम्बर १८ अर्थात अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्याङ्क अनुसार श्रम स्वीकृति लिएर विदेश जानेहरुको संख्या ३० लाख २१ हजार ३ सय २ पुगेको छ । भारतको बाटो हुँदै तेश्रो मुलुक पुगेका नेपाली श्रमिकहरु दशौंलाख छ भनिन्छ । भारतमा मात्रै दशौंलाख नेपालीहरु श्रमिकको रुपमा काम गरिरहेका छन् । यसरी हेर्दा आधा करोड बढी नेपालीहरु विदेशमा श्रम गरिरहेका छन् र उनीहरुबाट देशमा बार्षिक खरबौं विप्रेशण भित्रिरहेको छ । आ.व. ०७०/०७१ को श्रावणदेखि चैत्र अर्थात ९ महिनामा ३ खर्ब ९७ अर्व ७९ करोड नेपाली रुपैंया विप्रेषणको रुपमा नेपाल भित्रिएको छ, अझ अवैध रुपमा सञ्चालित हुण्डी र साथीहरुको माध्यमबाट पनि झण्डै यति नै रकम नेपाल भित्रिने अनुमान छ । विप्रेषण बढी भित्राउने विश्वका ५ राष्ट्ररुमा नेपाल पनि पर्छ । नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको हिस्सा २३ प्रतिशत बढी रहेको छ ।
    यति धेरै रकम हरेक वर्ष नेपाल भित्रिए पनि उक्त रकम के मा खर्च भइरहेको छ त ? यो खोजिको विषय अब बन्नु पर्छ । हरेक वर्ष नेपालको व्यापार घाटा बढिरहेको छ । व्यापार घाटा बढ्नुको अर्थ हो विदेशबाट आयात हुने सामानको मात्रा बढ्नु र नेपालबाट विदेश पठाईने सामानको मात्रा घट्नु । नेपालमा उत्पादनको मात्रा घट्नुमा स्थानीय श्रम बजारमा यूवाहरुको न्यून उपस्थिती प्रमुख कारण हो भने आयात बढ्नुमा नेपालीको खर्च गर्ने अवस्थामा सुधार आउनु हो । यसले के देखिन्छ भने हरेक वर्ष विदेशबाट आउने विप्रेषण अन्ततः विदेश नै पुगिरहेको छ । ‘नेपाल जीवनस्तर मापन सर्वेक्षण’ को एक तथ्याङ्क अनुसार विप्रेषणबाट प्राप्त रकमको ७९ प्रतिशत हिस्सा दैनिक उपभोग्य सामानको खरिद गर्नमा खर्च हुँदै आएको छ, ७ प्रतिशत हिस्सा कर्जा तिर्नमा, ४.५ प्रतिशत हिस्सा घरायासी सामान खरिद गर्नमा र ३.५ प्रतिशत हिस्सा बालबच्चाको शिक्षामा खर्च हुँदै आएको छ तर उत्पादनमूलक कार्यमा विप्रेशणको लागानी ज्यादै न्यून छ । जसको कारण विदेश आयो, केही पैशा कमाएर नेपाल पुग्यो, पैशा सकिन्छ फेरि विदेश आयो । अहिले यही अवस्थाबाट हामी गुज्रिरहेका छौं । मैले सत्य बोल्नु पर्छ कि पाँच वर्ष मलेसिया बसेर कमाएर लगेको रुपैंया तीन वर्ष भित्रैमा सकेर म फेरि मलेसिया आइपुगेको छु । म पनि यही नियतिबाट गुज्रिएको छु भने, सपना देखाउने हैसियत खै त ममा ? त्यो हैसियत भनेकै मेरो नितान्त केही अनुभव हो, त्यही अनुभवलाई मैले बाँड्न खोजिरहेको छु ।
    विदेशबाट देश फर्किए पछि सबैभन्दा पहिला आफन्त, नर–नाता र छर–छिमेकीहरु पैशा सापट माग्न आइपुग्छन् । साथी–भाई वा आफूभन्दा ठूला वा साना नै किन नहुन् २÷४ बोतल रक्सी र वियर खाने इच्छा जाहेर गर्छन् । केही दिन बितेपछि संघसंस्थाहरु, आमा समूह वा राजनीतिक पार्टीका मानिसहरु चन्दा माग्न आईपुग्छन् । र, पार्टीका स्थानीय नेता कार्यकर्ताहरु पार्टीको सदस्यता बोकेर आउँछन् अनि पार्टी सदस्य बन्न कर गर्दछन् । तर कसैले विदेशबाट कमाएर ल्याएको पैशा यस्तो उत्पादनमूलक कार्यमा खर्च गर, त्यहाँ गएर तालिम लिएर आऊ, तिमीसँग रकम अपुग छ भने यस्तो ठाउँमा गएर वा फलनासँग ऋण निकाल अथवा अब हामी मिलेर यस्तो ठाउँमा लगानी गरौं, तिमीले फेरि विदेश फर्केर जाने अवस्था नआओस् भन्ने एक जना मान्छे निस्किएछ भने मृत्यु कसम । मैले साढे तीन वर्षे गाउँ बसाईमा अझ यो भन्दा पनि कठिन अवस्थाको सामना गरेको छु । स्थानीय स्तरमा राजनीति गरिरहेका पटमूर्खहरुको नजरमा साँच्चै काँडै बनियोभन्दा पनि हुन्छ । यदि म तर्क गर्न र बोल्न नसक्ने वा शारिरिक रुपमा कम्जोर एवं जनसम्पर्क नभएको व्यक्ति हुन्थे भने पक्कै मेरो हात–खुट्टा वा शरिरका कुनै पनि अङ्ग सद्दे अवस्थामा नरहन सक्थ्यो यो बेला । त्यसैले विदेशबाट फर्कनेहरुलाई उचित सल्लाह दिन न सरकारले कुनै कार्यक्रम ल्याएको छ न स्थानीय स्तरमै वातावरण निर्माण भएको छ । यसैको कारण हो हामीले कमाएर लगेको केही लाख रुपैँयालाई भइरहेको घर भत्काएर नयाँ बनाउन, थप केही जग्गा जमिन किन्न वा मदेश तिरको कुनै खोला किनाराको ऐलानी जग्गा किनेर झिटी–झ्याम्टा सार्न मै सकिरहेका छौं । उपर्युक्त कुरो त त्यही नाजायज पनि होइन तर धेरैले देश फर्किएपछि विदेशबाट कमाएर लगेको पैशाको अधिक हिस्सा महंगा रक्सी–बियर किन्न र दैनिक मासु खानमा खर्च गरिरहेका छन् । गाउँ–घरका खोल्सा, झाडी र बाटो–घाटो वियर र चलनी रक्सीको फुटेको बोतलले ढाकिएको छ । मैले आफैले गाउँमा खोलेको सानो किराना पसलमा बर्षमा पाँच लाख बढीको चलनी रक्सी र वियर बेचेको छु भने सहर–बजारको के हाल होला ? यसर्थ हामीले विदेशमा दुःख गरेर पैशा कमाए पनि बाटो देखाउने मान्छे र संस्थाको अभावमा अनुत्पादकमूलक कार्यमा खर्च गर्न बाध्य भइरहेका छौं । त्यसैले विदेशमा रहँदा र देश फर्किएर कुनै कुरामा हात हाल्नु अगाडि निम्न कुराहरुमा हामीले ध्यान दिनै पर्छ ।
१) विदेशमा रहँदा अनावश्यक कुरामा खर्च गर्दै नगर्ने । नेपालमा पनि अनावश्यक रुपमा खर्च नगर्न परिवारका सदस्यहरुलाई सचेत बनाउने ।
२) विदेशमा कमाएको पैशा बढिभन्दा बढी बचत गर्न प्रयत्न गर्ने ।
३) विदेशमा रहँदा पनि पत्रपत्रिकाहरु पढ्ने, समाचार सुन्ने–हेर्ने, विदेशीहरुको काम गर्ने तरिकालाई सिक्न प्रयत्न गर्ने, प्रेरणाप्रद फिल्म वा दृश्यचित्रहरु हेर्ने, हेरिएका र पढिएका विषयमा साथीहरुसँग छलफल गर्ने ।
४) देश फर्किनुभन्दा अगाडि नै देशमा पुगेर के गर्ने भन्ने विषयमा परिवार र साथीभाइहरुको सल्लाह लिएर एउटा टुङ्गोमा पुग्ने ।
५) देशमा पुगेपछि के गर्न खोजेको हो त्यो व्यवसायको बारेमा जानकारी, तालिम वा प्रशिक्षण लिने । तालिम वा प्रशिक्षण लिएर उक्त व्यवसाय गर्न सक्छु भन्ने लागेपछि मात्र व्यवसायमा लगानी गर्ने ।
६) आफूले गर्न खोजेको व्यवसायलाई कुन–कुन सरकारी गैह्र सरकारी संस्थाहरुबाट सहयोग हुन्छ भन्ने बारेमा पूर्ण जानकारी लिने ।
७) नयाँ ढङ्गको व्यवसाय सञ्चालन गर्दा थुप्रै ठाउँमा अप्ठ्याराहरु आइपर्छन् यसर्थ छरछिमेकी वा नजिकका गाउँको साथीहरु विदेशमै छन् भने व्यवसाय सम्बन्धी अवधारण बनाउँदा उनीहरुसँग पनि सरसल्लाह गरेर सम्भव भएसम्म केही जनाको टीम बन्ने ।
८) जुनसुकै व्यवसाय गरे पनि एकभन्दा बढी व्यवसाय गर्न नखोज्नु नै राम्रो हुन्छ ।
    ८ नं बुँदालाई अलिकती जोड दिनै पर्ने ठानें । हाम्रो कृषि प्रणाली निर्वाहमूखी छ भन्नुको मतलब के हो भने आफूलाई चाहिने वस्तु भरसक हामी हाम्रै खेतबारीमा उत्पादन गर्न चाहान्छौं । धान, कोदो, मकै, आलु, मास–भटमास, तोरी, गहुँ, फापर आदि देखि लिएर मसलाबाली, तरकारीबाली, फलफूल र पशुपंक्षी जम्मै आफ्नै खेतबारीमा लगाउने र घरमा पाल्ने गरिरहेका छौं । यसो गर्दा बाहिरबाट आवश्यकीय वस्तुहरु धेरै किन्नु त पर्दैन तर बर्षैभरि काममा जोतिरहनु पर्ने हुनाले हामीलाई फुर्सद नै हुँदैन भने अर्कोतिर सबै कामलाई थोरै थोरै समय दिंदा उत्पादन पनि थोरै हुनाले आफैलाई खान पनि नपुग्ने हुनसक्छ । यसर्थ कृषि, फलफूल खेती वा पशुपालन सम्बन्धि कुनै पनि काम गर्न चाहान्छौं भने कुनै एक विषेशलाई मात्र रोज्नु पर्छ । तब मात्र हामीले काममा पनि सधैं ब्यस्त रहनु पर्ने अवस्थाबाट मुक्ति पाउँछौं भने त्यो वस्तुको उत्पादनले व्यवसायको रुप लिन सक्छ ।
    नेपाल र नेपालीको भाग्य र भविश्यलाई सुरक्षित बनाउने प्रमुख क्षेत्र भनेकै कृषि हो । यसर्थ कृषिको बारेमा अझै धेरै विषयहरु उठ्नु र छलफल गर्नु आवश्यक छ । अझै केही अंकहरुमा कृषिकै सरेफेरोमा रहने प्रयत्न गर्दैछु । पहाडमा बाँझिएको जमिनमा के गर्न सकिन्छ भन्ने मेरो अनुभवलाई साट्नै बाँकी छ । अर्को अंकमा त्यही बाँझो जमिनमा कागती खेती गरेर लखपति–करोडपति बन्न सकिन्छ भन्ने तथ्यका साथ आउने बाचा गर्दै अहिलेलाई बिदा चाहान्छु ।
मलेसियाबाट प्रकाशित नेपाल पृष्ठभूमि साप्ताहिक  23 August  2014 मा प्रकाशित लेख









No comments:

Post a Comment