Saturday, August 23, 2014

‘बाराहा’, ‘बराह’ कि ‘बारु वा’ ?


    खोटाङ जिल्लाको पूर्वी भेगमा धार्मिक तथा सांस्कृतिक महत्वको एक चर्चित पोखरी छ, जसलाई स्थानीयबासी लगायत चिने जानेकाहरुले बाराहा पोखरी भनेर जान्दछन् । उक्त पोखरीमा विरामी हुँदा वा देश– परदेश जाँदा भाकल गर्ने गरिन्छ । अझ निःसन्तानहरुले पोखरीमा भाकल गर्दा सन्तान हुन्छ भन्ने मान्यता पनि रहँदै आएको छ । बाराहा पोखरीमा हरिबोधिनी एकादशीको दिन हरेक बर्ष भब्य मेला समेत लाग्ने गर्दछ । खोटाङ लगायत भोजपुर, उदयपुर र अन्य जिल्लाबाट भाकल बुझाउन तथा मेला भर्न आउनेहरुको भिड लाग्ने गर्दछ, ठूलो एकादशीमा । उक्त दिन विभिन्न ठाउँका धामी झाँक्रीहरु समेत आफ्ना चेलाभूलाहरुको साथमा पोखरीमा ओइरिन्छन् र रातभर जाग्रम बसेर शक्ति प्रदर्शन गर्ने र शक्ति प्राप्त गर्ने कार्यहरु गर्दछन् । बाराहा पोखरीमा भाकल बुझाइए पनि भोग दिने चलन छैन । यहाँ परेवा उडाउने र फलफूलहरु चढाउने कार्य गरिन्छ ।
    झट्ट हेर्दा यो पोखरी सामान्य देखिए पनि यसको बनावट अनौठो रहेको छ । तीन तिर अग्ला पहाडहरुले छेकिएको यो पोखरीको दक्षिण–पश्चिमपट्टी भने केही समथर जमिन छ । पोखरीको पूर्व–उत्तर, उत्तर र उत्तर–पश्चिमपट्टि निरन्तर बगिरहने पानीका स–साना मुहानहरु छन्, जुन पानी पोखरीमा खस्ने गर्दछ । अझ बर्षायाममा अग्ला पहाडहरुबाट बगेर झर्ने पानी पनि पोखरीमा नै थुरिन्छ । तर त्यो पानी बगेर जाने कुनै निकास छैन । पोखरीबाट करिब एक किलोमीटर तल दक्षिण पश्चिम दिशामा पोखरीको भुमिगत निकाश रहेको विश्वास गरिन्छ । सबैभन्दा अनौठो पक्ष भनेको पोखरीको आकार हो । चारै दिशाबाट अवलोकन गर्दा पनि पोखरीको आकार एउटै र उस्तै देखिन्छ ।
    बाराहा पोखरी ४.६८ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । यसको लम्बाई ३३० मीटर रहेको छ भने चौडाई २१० मीटर रहेको छ । पोखरीमा रातो, कालो र सेतो रङ्गको माछाहरु प्रशस्त देख्न सकिन्छ । समय समयमा जलहाँसको बथान पनि पोखरीमा भेट्न सकिन्छ । वरिपरी पहाडले ढाकेको यो पोखरी साँच्चै सुन्दर छ । धार्मिक र साँस्कृतिकको साथै पर्यटकीय दृष्टिले पनि पोखरीको महत्व ठूलो रहेको छ ।
    पोखरीको उत्पति, नामाकरण र शक्तिको बारेमा धेरै किम्बदन्तीहरु सुन्न सकिन्छ । तर किम्बन्तीहरु सबै सत्य हुँदैनन् र सबै झुटा पनि हुँदैनन् । कतिपय किम्बदन्तीहरु अनुमानको भरमा पनि बनेका हुन्छन् । बाराहा पोखरीको बारेमा सुनिने किम्बदन्तीहरु पनि यो सत्यताबाट अछुतो छैन ।
    पोखरीको हाल प्रचलित नाम बाराहा भए पनि यसको उच्चारण ‘बराह’ सँग मेल खाने हुँदा यसलाई हिन्दू धर्म शास्त्रहरुमा बर्णित बराह अवतारसँग जोडेर किम्बदन्ती बनाइएको छ । बराह अवतारमा समुन्द्रमा डुबेको पृथ्वीलाई भगवान विष्णुले बराह अर्थात सुङ्गुरको रुप धारण गरेर उद्घार गरेको कथा हिन्दु धर्म शास्त्रहरुमा पाइन्छ । त्यही हिन्दु धर्मशास्त्रमा बर्णित बराह अर्थात सुङ्गुरले यहि पोखरी भएको ठाउँमा दाँत गाडेर समुन्द्रमा डुबेको पृथ्वीको उद्घार गरेको हुनाले पोखरी बनेको र पोखरीको नाम बराह अर्थात बाराहा हुन गएको भन्ने किम्बदन्ती छ ।
    खोटाङ, उदयपुर र भोजपुर जील्लाको विभिन्न स्थानमा अन्य यस्तै ठूला–साना पोखरीहरु रहेका छन् । जस्तै उदयपुरको रौता पोखरी, भोजपुरको साल्पा पोखरी आदि । एक प्रचलित किम्बदन्ती अनुसार परापूर्वकालमा यी पोखरीहरु कुनै एक दम्पतीका बाह्र बहिनी छोरीहरु थिए र पछि विभिन्न स्थानमा पोखरीको रुप धारणगरी बसेका थिए । यिनै बाह्र बहिनीहरु मध्ये बाराहा पोखरी कान्छी अर्थात बाह्रौं भएकीले यो पोखरीको नाम बाह्र हुँदै बाराहा हुन गएको भन्ने जनश्रुति पनि रहेको छ । यसै किम्बदन्तीसँग मेल खाने अर्को किम्बदन्ती पनि छ । बाराहा पोखरीको दक्षिण पश्चिममा करिब १५ कोस टाढा रौता पोखरी  छ । जुन उदयपुर जिल्लामा पर्दछ । पहाडको थाप्लोमा रहेको यो पोखरी पनि धार्मिक दृष्टिले निक्कै महत्वपूर्ण मानिन्छ । बाराहा पोखरी र रौता पोखरी दिदी बहिनी भएको र कुनै एक समय दुइबीच झगडा हुन गएको भन्ने जनश्रुति छ । यसरी झगडा हुँदा बाराहा पोखरीले भ्यागुतोको झट्टी हानेको र रौता पोखरीले माछाको झट्टी हानेको हुँदा बाराहा पोखरीमा माछै माछा र रौता पोखरीमा भ्यागुतै भ्यागुता हुन गएको हो भनिन्छ ।
    बाराहा पोखरीसँग जोडिएको अर्को किम्बदन्ती पनि छ । बाराहा पोखरीको दक्षिण–पश्चिमपट्टी केही समथर जमिन छ, जहाँ हाल सानो बजार रहेको छ । पहिला यहि स्थानमा हालको पोखरी रहेको थियो रे । पोखरीको माथिपट्टी गाउँ थियो रे (हाल पनि रहेको छ) । ती गाउँलेहरुले दिशापिसाब गर्दा त्यो दिशापिसाब पोखरीमा बगेर झर्नाले पोखरी फोहोर भएछ । यो पोखरी शक्तिसम्पन्न भएकोले साविकको ठाउँबाट सर्न खोजेछ । ठाउँ खोज्दै जाँदा हाल पोखरी रहेको ठाउँ उपयुक्त देखेछ । तर त्यहाँ किरात राईहरुको धामीहरु बसोवास गर्दै रहेछन् । धामीहरुको गुरु जो निःसन्तान थिए छ । सबैले मानिआएको गुरुलाई राती सपनामा पोखरीले म यहाँ सर्दैछु तिमीहरु अन्तै जाउ भनेछन् । यो कुरो सबै धामीहरुलाई गुरुले सुनाएछन् । र, सबै धामीहरु त्यस ठाउँबाट अन्तै सरेछन् पनि । तर धामीहरुको गुरु भने सरेका रहेनछन् । एक साँझ धामीहरुको गुरुआमा खाना पकाउँदै रहिछिन् । त्यही बेला अगेनाको छेउमा धाँजा फाटेछ । धाँजाबाट पानीको फोहरा र रातो माछा निस्केछ । लौ यो के भयो भन्दै श्रीमान् (धामीहरुको गुरु) लाई सुनाउँदा “आ तरकारी नभएको बेला भगवानले पठाइदिनु भयो पकाउ” भनेपछि रातो माछालाई कराहीमा हालेर गुरुआमाले पकाउन थालिछिन् । यही बेला सारा जमिनमा धाँजा फाटेर पानी निस्किए छ र त्यो ठाउँ पोखरी बनेछ । भोली पल्ट गुरुको चेलाहरु हेर्न आउँदा त गुरुको घर भएको ठाउँ जलमग्न छ । उनीहरुले गुरुहरुको खोजी गरे तर गुरुलाई भेटेनन् । पोखरीले गुरु र गुरुआमालाई राखेको ठानेर पोखरीलाई फकाउन आफूहरुले जानेको मुन्धुम (मन्त्र) फलाक्दै केर (ढोल) र थाल बजाएर उनीहरु पोखरीको वरिपरी घुम्न थालेछन् । नभन्दै केही समयपछि गुरु र गुरुआमाको लास पोखरीको छेउमा उत्रिएछ र परापूर्वकालदेखि चल्दै आएको चलन अनुसार दाससंस्कार गरेछन् । यसरी आफ्ना गुरुको मृतात्माको शान्तिको लागि र मृत गुरुबाट शक्ति प्राप्त गर्नको लागि हरेक बर्ष विभिन्न ठाउँका धामीहरु पोखरीमा आउने गर्दछन् भन्ने गरिन्छ । धामीहरुको गुरु को थिए भन्ने कुरा प्रष्ट नभए पनि उनीहरुलाई होलेप्पा र होलेम्मा भनिन्थ्यो भनेर धामीहरुले भन्दै आएका छन् । बाराहा पोखरी आसपासका बासिन्दाहरुको अनुसार पोखरीको माझमा पानी कम भएको समयमा एउटा खम्बा देखिन्छ र त्यो खम्बा त्यही धामीहरुको गुरुको घरको मूल खम्बा भएको हो भन्ने विश्वास गर्दछन् । यहि किम्बदन्तीलाई बाह्रघर मगरहरुसँग पनि जोड्ने गरिएको छ । हाल पोखरी भएको ठाउँमा बाह्रघर मगरहरु रहेछन् । पुरानो ठाउँबाट पोखरी सर्दा मगरहरुको बाह्रघर डुबेकोले यो पोखरीलाई बाह्र आर्थात बाराहा भनिएको हो भन्ने पनि जनश्रुति रहेको छ ।
    माथि उल्लेखित किम्बदन्तीहरु जनश्रुतिहरु हुन् । यो कतै लेखिएको वा कसैले लेखेर छोडेको प्रमाणहरु होइनन् । जनश्रुतिहरु एक पुस्ताबाट अर्को पुस्तामा पुग्दा वा एक ठाउँबाट अर्को ठाउँमा पुग्दा निक्कै परिवर्तन भइसकेको हुन्छ । माथि उल्लेखित सबै किम्बदन्तीहरु सत्य छैनन् । कतिपय किम्बदन्ती त कोरा कल्पनाभन्दा अर्थोक केही होइन तर केही किम्बदन्ती भित्र थोरै सत्यता पक्कै छिपेर रहेको छ । यी किम्बदन्तीहरुलाई कसरी बुझ्ने भन्ने कुरो यहाँ प्रमुख कुरो हो । हिजोको समयमा बाबु बाजेले जे भने त्यही कुरा सत्य हो भनेर बस्ने हो भने सत्य हामीबाट टाढै रहन्छ । त्यसैले यी जनश्रुति वा किम्बदन्तीहरुको बैज्ञानिक विश्लेषण गरेर सत्यको खोज गर्नु आजको आवश्यकता हो । अर्कौ तिर यस्ता पोखरी वा प्राकृतिक सम्पदाहरुसँग सोही ठाउँमा परापूर्व कालदेखि बसोवास गर्दै आएका मानिसहरुको इतिहास, भाषा, संस्कार र संस्कृतिहरु जोडिएर आएका हुन्छन् । त्यस्ता समुदायहरुको इतिहासलाई जान्न यस्ता सम्पदाहरुको वास्तविकताले पनि सहयोग पु¥याउछ । हामीलाई थाहा छ, विज्ञानको आविश्कार हुनुभन्दा अगाडि सबै अनुमानको भरमा अर्थ लगाउने गरिन्थ्यो । अझै पनि मानिसको पाइतालाले टेकिसकेको चन्द्रमालाई देवता ठान्नेहरु हाम्रो बीचमा छन् । प्रकृतिका रहस्यहरुलाई भगवानको खेल ठान्ने हाम्रै पीतापूर्खाहरु हुन् । हुन पनि हो प्रमाणित गर्ने कुनै आधारहरु नभएपछि भगवानको नाम नलिएर के गरुन् त बिचराहरु । यस्तै अनुमान र कल्पनामा हिजो हाम्रा पूर्खाहरुले जनश्रुति बनाए र अक्षरको उत्पति भएपछि हाम्रै पुर्खाहरुले थप बढाइचढाइँ गरेर लेखे । आजको साहित्य र हिजोको लेखनमा कुनै भिन्नता छैन । मात्र हिजो कल्पना धेरै हुन्थ्यो भने आज यर्थातता ज्यादा छ । कल्पना गरेरै बेद, पुराण, रामायण र महाभारतहरु लेखिएका हुन् भलै रामायण र महाभारतहरु निक्कै पछिका भएका हुनाले यहाँ ठाउँ र पात्रहरु यर्थातताको नजिक छ । यही कल्पनाले नै ब्रम्हा, विष्णु र महेशको जन्म भयो । यही कल्पनाले नै विश्णुको अवतार कतै नृसिंह, कतै मत्स्य, कतै बराह आदिको रुपमा देखाप¥यो । कालान्तारमा विष्णुको अवतार मान्छे पनि हुन थाले । भलै कसैको रुप र केही गुणहरु कसैमा मिल्न जाला तर विज्ञानले सावित गर्न सकेको छैन, कि कसैको पूर्नजन्म हुन्छ । हामीले सुन्ने पुराना साहित्यहरुमा त यस्तो पुर्नजन्मका कुराहरु त कति छन् कति । यहि भित्र पर्छ कथित भगवान नामधारी विष्णुको वराह अवतार पनि । पृथ्वी कुनै समय जलमग्न थियो भन्ने कुरामा विज्ञान पनि सहमत छ तर पृथ्वी समुन्द्रमा डुबेको अथवा राक्षसले पृथ्वीलाई समुन्द्रमा डुबाइदिएको भन्ने जुन बराह अवतारमा बर्णित कथा छ, त्यो कोरा कल्पना भन्दा केही होइन । सायद त्यसबेला यी कुरा लख्ने महोदयलाई पृथ्वी कहाँदेखि कहाँसम्म फैलिएको छ भन्ने अनुमानसम्म थिएन होला । खुट्टाले हिडेर र आँखाले देखेर अनुमान कसले लगाउन सक्नु ? हामीले पढेकै हो कि, आँखाले हेर्नेहरुले पृथ्वी चेप्टो छ भन्थे र अमेरिका पत्ता नलागुञ्जेल पृथ्वीमा जम्मा पाँच मात्र महादेश थियो । त्यसैले बराह अवतारमा बराह अर्थात सुङ्गुरले दाँत गाडेर समुन्द्रमा डुबेको पृथ्वीलाई बाहिर निकालेको र त्यही दाँत गाडेको ठाउँ बाराहा पोखरी हो भन्ने किम्बदन्ती कोरा कल्पनाभन्दा अर्थोक केही होइन । तर यहाँ यो किम्बदन्ती जोडिनुलाई भने अर्थपूर्ण रुपमा लिनुपर्ने हुन्छ । कि, बराह अवतारको कुराहरु मान्ने भनेका आर्यसम्प्रदायहरु हुन् तर बाराहा पोखरी आसपासको क्षेत्र भनेको किरातहरुको आदिभूमि हो । यो क्षेत्रमा बसोवास गर्ने आदिमानवहरु भनेका किरातहरु हुन् । यहाँ आर्यहरुको प्रवेश धेरैपछि मात्र भएको हो । पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गर्नु भन्दा केही अगाडि मात्र आर्यहरु पूर्वतर्फ अगाडि बढेका हुन् । हालपूर्वमा रहेका आर्यहरुको बंशावलीलाई खोज्ने हो भने उनीहरु यता आइपुगेको तिथीमिती सबै निस्कन्छ । त्यसैले किराती सभ्यताको मूलथलोमा रहेको बाराहा पोखरीलाई आर्यहरुले कसरी बराह अवतारसँग जोडे त, यो खोजीको विषय हो । यो कुरोलाई खोज्न कतै टाढा पुग्नु पर्दैन । आर्यसम्प्रदायमा रहेको धार्मिक एवं साँस्कृतिक सचेतताको अध्ययन गरे पुग्छ । अध्ययन गर्न कतै टाढा जानु पर्दैन । यही बाराहा पोखरीको डिलमा रहेको एक मन्दिर काफी छ । बाराहा पोखरीको पश्चिम–दक्षिणपट्टीको डिलमा एउटा मन्दिर छ, जसलाई संखेश्वर महादेवको मन्दिर नामाकरण गरिएको छ । यो मन्दिरसँग न पोखरीको कुनै नाता छ, न त सम्बन्ध नै । यो मन्दिर बन्नुमा आर्य सम्प्रदायको धार्मिक सचेतताले नै काम गरेको छ । आफूहरु जहाँ पुगे पनि आफ्नो धर्म र संस्कार नछोड्ने यीनै आर्यहरु धर्म शास्त्रहरुमा उल्लेखित विषयहरुसँग परिचित पहिलादेखि नै छन् । बाराहा पोखरी आसपासमा आइपुगेका आर्यहरुलाई बराह अवतारको बारेमा थाहा थियो । त्यसबेला यो पोखरीको नाम जे भएपनि ‘बराह’सँग मेलखान गयो र उनीहरुले यसलाई बराह अवतारसँग जोडेर किम्बदन्ती बनाई हाले । यो काम यहाँ मात्र भएको छैन उनीहरुले उहिल्यै लेखिएको हिन्दु साहित्यमा बर्णित जे जति कुराहरु छन् तीसँग मिल्दो जुल्दो ठाउँहरुलाई सोही अनुसार ब्याख्या गरिहाले । चाहे सतिदेवीको दाँत झरेको कथालाई जोडेर बनाएको सुनसरीको दन्तकाली होस् वा काठमाण्डौको गुहेश्वरी, वा बराह अवतारसँग जोडिएको बराहक्षेत्र नै । यसर्थ बराह अवतारको प्रशंग जोडेर बाराहा पोखरी नाम रहन गएको र सुङ्गुर अर्थात बराहले दाँत गाडेको ठाउँमा पोखरी उत्पन्न भएको हो भन्ने किम्बदन्ती कोरा काल्पनिक छ । यसलाई सत्य मान्नु पर्ने कुनै आधार छैन ।
    बाह्र बहिनीको कथा पनि बराह अवतारको कथा जस्तै काल्पनिक  छ । एक दम्पतीको बाह्र बहिनी छोरीहरु हुनु स्वभाविक हो तर तिनीहरु पोखरी बनेर रहनु कल्पना भन्दा अर्थोक केही होइन । बाराहा पोखरीमा माछा मात्र हुनु र रौता पोखरीमा भ्यागुता मात्र हुनमा कुनै प्राकृतिक कारणले सहयोग गरेको होला तर झगडा परेर माछा र भ्यागुता हानाहान गरेको भनिनु उही कल्पना नै हो । यसर्थ बाह्र बहिनी भएकोले बाह्र हुँदै बाराहा भएको भनिनु पनि सत्य होइन भन्ने ठहर्दछ ।
    तर बाराहा पोखरीमा बर्षै पिच्छे धामीहरु जानु र थान थापेर रातभरि चिन्ता बस्नुमा कुनै रहस्य पक्कै छ । किम्बदन्तीमा पोखरी हालको बजार भएको ठाउँबाट एकाएक अहिलेको ठाउँमा सरेको भन्ने जनश्रुति सत्य होइन । किनकी कुनै पनि पोखरी यसरी आफै अन्त सर्छ भन्ने प्रमाण कतै छैन । तर पहिला पोखरी भएको भनिएको ठाउँको वस्तुगत अध्ययन गर्ने हो भने त्यो ठाउँमा बाढीले पुरेको हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । बाराहा पोखरी आसपासमा कुनै ठूलो नदि वा खोला छैन तर हाल बजार रहेको ठाउँ पुरै बगरै बगर छ । यस्तो बगर ठूलो खोला, नदि वा पहिरोले मात्र बनाउँछ । बजार रहेको उत्तरतर्फको पहाडमा हाल रुखपातहरु छन् तर त्यो पहाडबाट कुनै समय पहिरो झरेको थियो भन्ने स्पष्ट प्रमाण त्यहाँ देखिने चट्टानहरुले दिन्छ । सामान्यतया जति नै अग्ला पहाडहरु भएपनि माटोको मात्रा प्रसस्त हुन्छ तर त्यो ठाउँमा माटो जति बगेर गएको र चट्टान मात्र बाँकी रहेको स्पष्ट देखिन्छ । त्यसैले के निश्कर्षमा पुगिन्छ भने हाल बजार बसेको ठाउँमा वा ठाउँसम्म पोखरी थियो । माथिबाट झरेको पहिरोले पोखरी पुरिएर हाल कायम रहेको ठाउँमा मात्र पोखरी सिमित हुन पुग्यो । यसरी पहिरो झर्ने क्रममा वा पोखरीको पानी पहिरोले च्यापिएर सर्ने क्रममा आसपासका घरहरु पोखरीमा पुरिए होलान् । हुनसक्छ त्यहाँ धामीहरुको गुरुको घर पनि पुरियो होला र उनका चेलाहरुले शक्ति प्रयोग पनि गरे होलान् । पानीमा डुबेको मानिसको लास निश्चित समयपछि पानीमा तैरिन्छ, यो सत्य हो । र, धामीहरुको गुरुको लास पनि पानीमा तैरियो होला । उता कथित शक्ति प्रयोग गरेका धामीहरुले आफ्नो शक्तिले गुरुको लास निकालेको ठाने होलान् र बर्षै पिच्छे उनिहरु पोखरीमा आउन थाले होलान् । हुन सक्छ पोखरीको माझमा खम्बा होला तर त्यो खम्बा उही धामीहरुको गुरुको घरको मूलखम्बा नै वा पहिरोले बगाएर ल्याएको कुनै ठूलो रुखको अवशेष । तर बाह्र घर पुरेको र बाह्र पोखरी अर्थात बाराहा पोखरी भएको हो भन्ने भनाई भने कल्पना भन्दा अर्थोक केही होइन ।   
    माथि उल्लेखित मिथक वा किम्बदन्तीहरुमा बाराहा पोखरीको नाम बराह र बाह्र हुँदै बाराहा भएको हो भन्ने कुरा खाली कल्पना मात्र भनियो । त्यसैले अब बाराहा पोखरीको नाम बाराहा नै हो वा अरु कुनै हो भन्ने प्रश्न यहाँ आएर खडा हुन्छ । तर बाराहा पोखरी आसपासमा युगौंदेखि बसोवास गर्दै आएका जातिको भाषालाई केलाउँदा बाराहा पोखरीको असली नाम फेला पार्न कुनै कठिनाई छैन । बाराहा पोखरी क्षेत्रमा सदियौंदेखि बसोवास गर्दै आएका जाति भनेको किरात राईहरु नै हुन् । हाल यस ठाउँमा अन्य जातिहरुको सघन बसोवास रहे पनि उनिहरुको आगमन धेरैपछि मात्र भएको हो । त्यसैले बाराहा पोखरीको असली नाम फेला पार्न किरात राईहरुको भाषालाई नै अध्ययन गर्नुपर्ने हुन्छ । यस धर्तिको आदिवासीको रुपमा बसोवास गर्दे आएका किरात राईहरुको भाषा आफ्नै छ । किरात राईहरुको बसोवास क्षेत्रमा खसहरुको प्रवेशपछि मात्र उनीहरुले खस भाषा बोल्न सिकेका हुन् । युगौंदेखि अस्तित्वमा रहेको बाराहा पोखरीलाई देखेपछि किरात राईहरुले आफ्नै भाषामा नाम राखेका पक्कै थिए र त्यही नाम अपभ्रंश हुँदै हाल आएर बाराहा भएको हो ।
    खासगरी किरात चाम्लिङ राईहरुको भाषामा ‘पानी’ लाई ‘वा’ भनिन्छ । र, खोला, पोखरी, पानीको मुहान आदिको नाम पछाडि ‘वा’ शब्द रहेको प्रशस्त उदाहरण हाम्रो सामु छन् । जस्तै सावा खोला, ट्वा खोला, खिवा खोला, रावा खोला, पिख्वा, लिकुवा, रसुवा खोला आदि । तर कतिपय यस्तै खोला र ताल तलैयाहरुको नाममा ‘वा’ शब्द अपभ्रंश भएको छ । जस्तै साल्पा, रौता, त्रिजुगा र बाराहा पोखरीको छेउमा बग्ने सानो खोलो ‘कोकाहा’ । यी र यस्ता उदाहरणहरु प्रशस्त छन् किरात भूमिमा । ‘वा’ शब्द अपभ्रंश भएर बाराहा हुन गएको हो भने यसको असली नाम ‘बारा वा’ हुनुपर्ने देखिन्छ । ‘बारा वा’ नाममा ‘वा’ शब्दको अर्थ पानी हुन्छ तर ‘बारा’ को अर्थ के त ? यहाँ हामीले बुझ्न पर्ने कुरो केहो भने कुनै पनि ठाउँ, खोला नाला, पर्वत आदिको नाम अर्थ बिनाको हुँदैन । हुनसक्छ कतिपय ठाउँहरुको नामको अर्थ हामीले अहिले खोजेर भेट्दैनौं । त्यसैले ‘बारा’ शब्दको अर्थ माथि विमर्श गर्नै पर्छ । हामीले राष्ट्र भाषाको रुपमा बोल्दै आएको नेपाली अर्थात खस भाषामा ‘बारा’ शब्दको अर्थ बार्ने वा घेर्ने भन्ने बुझाउँछ । बाराहा पोखरीको अवस्थितीलाई दृष्टिगत गर्दा यो चारैतर्फबाट पहाडले घेरिएको छ पनि । त्यसैले यो पहाड अर्थात बारा भित्रको ‘वा’ पो हो कि भन्ने लाग्छ । तर यो तर्क पनि सत्य होइन किनकी ‘बारा’ शब्द नेपाली अर्थात खस भाषाको हो र यो भाषासँग किरात राईहरुको सम्पर्क धेरैपछि मात्र भएको हो भन्ने कुरा माथि नै ब्यक्त गरिसकिएको छ । त्यसैले ‘बारा’ शब्द भित्रै किरात चाम्लिङ राईहरुको भाषाको निकटता खोज्नु पर्ने हुन्छ । अब एक पटक बाराहा पोखरीको अवस्थितलाई नियाल्न तर्फ लागौं । यो पोखरीको लम्बाई ३३० मीटर र चौडाई २१० मीटर भएको माथि नै उल्लेख गरिसकिएको छ । र, यो पनि भनिएको छ कि, पोखरीलाई जताबाट हेर्दा पनि उस्तै देखिन्छ । पोखरी गोलाकार नभै अर्ध चन्द्रकारमा रहेको छ । झट्ट हेर्दा खुर्पाको आकारमा पोखरीलाई देख्न सकिन्छ । नेपालको पूर्विभेगमा बस्ने किरात राईहरुले परापूर्व कालदेखि खुर्पाको प्रयोग गर्दै आइरहेका छन् । खुर्पाको प्रयोग किरात राईहरुले धेरै पहिला अर्थात कृषियुगमा आउनु सँगै गरेका थिए भन्ने देखिन्छ । कृषियुगमा आइसके पछि जमिन ओगट्न किरात राईहरुले खुर्पा नै प्रयोग गरेको कुरा किरातीभूमिमा अझै सुन्नमा रहको ‘खुर्पे ठ्याक’ भन्ने शब्दले बताउँछ । र, यही खुर्पालाई किरात चाम्लिङ राईहरुको भाषामा ‘बारु’ भनिन्छ । त्यसैले झट्ट हेर्दा बारु जस्तै देखिने यो पोखरीलाई किरात चाम्लिङ राईहरुले ‘बारु वा’ नामाकरण गरेका थिए भन्न सकिन्छ । यही ‘बारु वा’ नाम विस्तारै अपभ्रंश भएर बाराहा भएको हो भन्ने कुरा प्रष्ट हुन्छ ।
    ‘बारु वा’ बाट अपभ्रंश हुँदै बाराहा बनेको यो पोखरीलाई आजकाल ‘बराह ताल’  भनेर कतै कतै लेखिन्दै र बोलिन्दै आइएको छ । किराती सभ्यता र संस्कतिसँग नजिक रहेको यो तालको नाम बराह ताल राखिनु र बराह अवतारसँग जोडिनुलाई किराती सभ्यता र संस्कृति माथि हिन्दु संस्कृतिको हस्तक्षेपको रुपमा बुझ्नु उपयुक्त होला भन्ने पंक्तिकारलाई  लागेको छ । किराती सभ्यता र संस्कृतिको महत्वपूर्ण भूमि तुवाचुङ जायजुम डाँडोको फेदिमा रहेको हलेसी गुफा जसरी आज पूर्वको पशुपति कहलिएको छ, बाराहा पनि भोली त्यस्तै नहोला भन्न सकिन्न । बाराहालाई पुनः ‘बारु वा’ बनाउन (लेख्न, भन्न) नसकौंला तर ‘बारु वा’ बाटै अपभ्रंश भएर बाराहा भएको भन्ने कुरा सबैले सम्झन र बुझ्न जरुरी  छ । र, ‘बराह ताल’ भनेर कसैले लेख्छ र भन्छ भने त्यसको प्रतिकार गर्नु पनि सभ्यता र संस्कृतिलाई अक्षुण राख्न चाहने हरेक नागरिकहरुको दायित्व हुने छ । 

(किरात राई यायोक्खाको मुख पत्र निप्सुङमा प्रकाशित लेख)

No comments:

Post a Comment