Thursday, December 25, 2014

असफल राष्ट्र


ब्यूँझदा न ब्यूँझदै
छिमेकीको बाँस झ्याँङमा...
घुर्न थाल्यो एक जोडि ढुकुर
ढुकुर...कुर...ढुकुर...कुर.....
र,
गञ्जकमा भएको परेवाले पनि भाका टिप्यो
माक...माक...घुर...माक...माक...घुर.....
खोरमा थुनिएको बैसालु भाले के कम
बास्न थाल्यो टोलै थर्काउँदै
कुखुरी...काँ.....।
हैन ?
यो असफल राष्ट्रमा
ढुकुर कसरी करायो ?
परेवा कसरी घु¥यो ?
र,
भाले कसरी बास्यो ?
म छक्कै परे
तीन छक्क ।

उठे र आङ तन्काएँ
खै के हो
चसक्कै चस्कियो देब्रे छाति भित्र
र, हतारोमा
खोलें बन्द ढोका
एक झोंक्का चिसो बतास काखैमा लुट्पुटियो
सुम्सुम्यो उसैगरि बतासले
मेरो हृदयका अन्तर कुन्तरहरु
विल्कुल पहिले जस्तै
कुनै परिवर्तन नपाउँदा बतासमा
म हैरान भएँ
कसरी राष्ट्र असफल भयो ?
पुगें ढुङ्गे धारोमा
झरें भस्मे कुवामा
पसें तुवा खोलाको होंछापुर्मा दहमा
पानी उही छ
फेरिएको छैन रंग
रोकिएको छैन कतै
धाराको अविरल धरर.....
कुवाको अविचल आकृति
र, खोलाको कुलुलु
विल्कुल पहिलाको जस्तै
यहि बेला
जिऊ भरि अविर पोतेर
धोवी चरा
देखियो खोलाको ढुङ्गोमा
उसैगरि पुच्छर फट्कार्दै नाच्यो
र, हानियो ओह्रालै
असफल राष्ट्रलाई नाप्न निस्किएको म
एक पटक फेरि हैरान भएँ ।
कि हिमाल भत्कियो ?
कि छाति भरि सभ्यताको बुकी फूल उमारेर
सधैं शिर ठडाई रहने पहाड लड्यो ?
यस्तै यस्तै तर्कनामा हेलिन्दै
निस्किएँ सिकारी थुम्कोमा
र, हेरें सिधैं उत्तरपट्टि
जहाँ युगौं देखि अविश्रान्त
उभिरहेका छन् सगरमाथा र कुम्भकर्णहरु
लोहोत्से र चोयूँहरु
ट्याम्के र मैंयूहरु
सेल्मे र मूलडाँडाहरु
बिल्कुल उसैगरि
शिरभरि हिउँको खास्टो ओढेर
अविचल उभिरहेकाछन् हिमालहरु
छातिभरि बुकी फूल उमारेर
सभ्यताको परिचय दिइरहेकाछन् पहाडहरु
र, यहि बेला
चिसापानी डाँडोलाई उधिन्दै
झुल्कियो घाम
रक्तिम आभाहरु बोकेर
अहँ असफलताको कुनै हरक, कुनै छनक
सुँघिएन यहाँ पनि, देखिएन यहाँ पनि ।
दिनभर बतास चलि¥ह्यो सिर...सिर......
घाम लागि रह्यो उसैगरि
खोलो बगि रह्यो निरन्तर...निरन्तर.....
चराहरुको चिरबिर
पुतलीको फुर्र...फुर्र.....
र, मान्छेको ताहुर माहुर रोकिएन
दिब्यहाङले जोतिरह्यो मकै बारी
सिम्माले लगाई रहि मकैको बिऊ सियोमा
सिस्नेम्पामा कुलो खन्नेहरु
गैह्री खेतमा धानको ब्याड राख्नेहरु
सबै सबै
ब्यस्त रहे दिनभर
फगत म,
असफल राष्ट्र खोज्दै
भौतारी रहें अनायासै ।
दिनभरको
क्लान्त तन र मनलाई अल्मल्याउन
खोलें ल्यापटप र जोडें मोडियम
अल्छि मान्दै खुल्यो वेभ पेजहरु
साइन इन गरें फेसबुक, ट्विटर र जि मेलमा
देखियो भित्ताहरु रंगी बिरंगी
कसैले के लेखेका, कसैले के लेखेका
कतै लाली गुँरासको थुँगा
कतै फेवाको कञ्चन पानीमा हेलिरहेका डुँगा
जन्म दिनको शुभकामना दिनेहरु पनि छन्
गाली गरेर आनन्द लिनेहरु पनि छन्
उही ढुँगे धारो जस्तै, भस्मे कुवा र तुवा खोला जस्तै
अविरल, अविचल र अपरिवर्तनीय छन् वेभ पेजहरु पनि
कुनै गन्ध छैन असफलताको ।
निक्कै बेर घोरिएँ
सायद,
हराँए सपनाहरुमा
डुबे कल्पनाहरुमा
पौंडिए तरङ्गहरुमा
यहि बेला
फेस बुकको भित्तोमा लेख्यो कसैले
देश असफल भएको छैन
पार्टीहरु पनि असफल भएका छैनन्
असफल भएका तिनै मात्र हुन्
जो ठूला पार्टीका निर्णायक ठाउँमा छन्
यसो हेरें,
धेरैले लाइक गरेका रहेछन्
तर मैले कमेन्ट नै लेखें
हन्ड्रेड पर्सेन्ट ठीक ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete