Thursday, November 20, 2014

मलायामा......


एउटा फलानो साथी
रातभरि खोलापारी कि मुस्लिम कान्छीसँग
मेटाएर यौवनको प्यास,...
फालेर केही सय रिङ्गिट,
बिर्सेर भुण्टेकी आमालाई
विहानै फेसबुक खोल्छ
र,
वीर्य लत्पत्तिएको हातले,
दबाउँदै मोबाइलको बटम
लेख्छ एउटा स्टाटस...
‘हिन्दु राज्यको लागि, रगत बगाउन तयार छु ।’

अर्को टिलानो साथी
छलेर आँखा रुम पार्टनारको
पुगेर केडाई मकानानमा
अर्डर गरेर नासी पुतेह
मिलाएर लम्बुकरी
हतार हतार हुत्याई घाम्पे भुँडीमा
गोजीबाट निकालेर मोबाईल
फेसबुक खोल्छ र लेख्छ स्टाटस
‘गाई काट्नेहरुलाई मृत्यु दण्ड दिनु पर्छ’ ।
एउटा पुरानो साथी
उता श्रीमति अर्कैसँग पोइलो गएपछि
यता फसेको छ, मलायू सायाङको प्रेममा
केटी विवाह गर्न चाहान्छे
ऊ पनि मञ्जुर भएको छ भरखरै
सुनेको छु, केही दिनपछि
फालेर जनाई/काटेर लिङ्गको घेरो
बन्दै छ रे मुस्लिम ।
र, म
हेरेर चर्तिकला साथीहरुको
निलेर कुम्भकर्णे निन्द्रा
समातेर उपेक्षित कलम
लेखिरहेको छु मलायामा
चाउचाउ कविता....।
शब्दार्थ :
खोलापारी : मलेसियामा इन्डोनेशिया र मलेसिया कै समुन्द्र पारीको दुई राज्य सावा र सारावाकलाई खोलापारी भन्ने गर्छन् नेपालीहरु
रिङ्गिट : रुपैयाँ
केडाई मकानन : खाने कुराको दोकान, होटल
नासी पुतेह : चामलको भात
लम्बुकरी : गाई/गोरुको मासुको तरकारी
सायाङ : प्रेमिका

No comments:

Post a Comment