Friday, November 7, 2014

गजल

मान्छे भएर मानिसको जात नसोधे हुन्थ्यो
निष्ठुर पापी घोर अँध्यारो रात नसोधे हुन्थ्यो

समानताको म पुजारी पूजा हो जिन्दगानी
धनको कालो मुख देखाई औकात नसोधे हुन्थ्यो

शरद प्रीय ऋतु मेरो वसन्त हृदयवासिनी
सिर्जना बिखण्डित कालो बर्षात नसोधे हुन्थ्यो

बाँड्न त के पो सकिन्छ र यहि खुसी सिवाय
होलान् कतै अन्तरमा ती आघात नसोधे हुन्थ्यो

जीवन एक बृक्ष न हो हुर्काए फूल फुल्छ
ब्यर्थै सङ्का गरेर फेरि पात नसोधे हुन्थ्यो

पीडा चपाएर ज्यूनेहरुमा म पनि पक्कै पर्छु
बल्लतल्ल खाटा बसेको त्यो बात नसोधे हुन्थ्यो

गजलको नशामा डुबेको यो नारथुङेलाई
सुरा र सुन्दरीको अर्को मात नसोधे हुन्थ्यो

No comments:

Post a Comment