Friday, November 7, 2014

लौ गाउँ नयाँ साकेला गीत

मझुवा बेसी मेलैमा
गणतन्त्र आएको बेलैमा
सैसैला हो सैसैला
सै ढोले सै हाम्रो प्रदेश खोई
नेपालका आदिवासी किरात राईहरुको प्रमुख सांस्कृतिक पर्व उभौलीको अवसरमा गाईने गीत हो, सकेला गीत। यो गीत ढोल झ्याम्टाको तालमा साकेला नाच्दा गाउने गरिन्छ । जतिबेला पूर्वको किरात भूमिमा हिन्दु संस्कृतिको अतिक्रमण भएको थिएन त्यसबेला किरात राईहरुले बोल्ने भाषा पनि आफ्नै थियो र साकेला गीत पनि आफ्नै भाषामा गाउने गरिन्थ्यो । तर राज्यको एक भाषा-एक संस्कृतिको नीतिले किरात राईहरुले बोल्ने भाषामा ब्यापक असर मात्र परेन कतिपय किरात राई भाषाहरु त लोपनै भइसकेका छन् । भाषाको हिसाबमा धनी मानिने (किरात राईहरुमा रहेका तीस भन्दा बढी भाषा अझै बोलिन्छ) किरात राईहरुको विकसित रुपमा रहेको केही भाषा पनि बुढापाकाहरुसँगै हराएर जाने अवस्थामा पुगेको छ । अचेल साकेला गीत प्रायः नेपाली भाषामा नै गाउने गरिन्छ र गीत केवल माया प्रीतिकै कुरामा अल्झने गर्दछ । तर अवको साकेला गीत जुन भाषामा गाइए पनि मायाप्रीतिको कुरामा मात्र अल्झनु हुँदैन । साकेला गीतले आफ्नो अधिकार र परिवर्तनका कुराहरुलाई सम्बोधन गर्नु पर्छ ।
मौलिक पर्व मौलिक रित
यो चण्डी होईन साकेला गीत
सैसैला हो सैसैला
सै ढोले सै
हाम्रो भाषा खोई
अचेल सरकारी भाषामा साकेला गीतलाई "चण्डी गीत", साकेला नाचलाई "चण्डी नाच" र बैशाक पूर्णिमालाई "चण्डी पूर्णिमा" भनेर भन्ने गरिन्छ । भाषा संस्कृति प्रतिको वेवास्ताले कतियप किरात राईहरु नै साकेला भन्दा नबुझ्ने भइसकेका छन् । खोज र अध्ययनको कमीले अरुले जे भनिदियो त्यही स्विकार्ने जमात त झनै ठूलो छ । हुन त साकेलालाई विभिन्न थरि किरात राईहरुले आ-आफ्नो भाषामा आ-आफ्नै ढंङ्गले सम्बोधन गर्ने गर्दछन् । साकेला शब्द चाम्लिङ भाषा अन्तर्गतको शब्द हो । बान्तावा भाषामा 'साकेवा' भनिन्छ भने अरु थुप्रै नामहरु छन्-सान्केवा, तोसी, सेग्रो आदि । किरात राईहरु भित्रको भाषिक विविधताको फाईदा उठाउँदै हिन्दु संस्कृतिको अतिक्रमणमा मौलिक पर्वको नाम "चण्डी" हुन पुगेको छ । हिन्दु संस्कृति अनुसार चण्डी भनेको शक्तिको प्रतिक एक देवी हुन् तर साकेला शक्तिको प्रतिक नभई प्रकृतिको एक संकेत हो जस्लाई हेरेर शुभ अशुभ छुट्याउने गरिन्छ । हुन त यो बिवाद गर्ने समय होईन । सारा विवादलाई बिर्सिएर
राष्ट्रको निर्माणमा लाग्ने बेला हो यो । तापनि आफ्ना मौलिकतालाई तिलान्जली दिएर बिवादरहित बन्नु भनेको आफ्नै अस्तित्वलाई नामेट पार्नु हो । त्यसैले अवको साकेला गीतमा माथि उल्लेखित शब्दहरु पनि अटाउनु पर्छ । ताकि अवको दिनमा साकेलालाई हिन्दु संस्कृतिकरण गरेर कसैले चण्डी नभनिदेओस् । र, कसैले कसैको साँचो इतिहासलाई बदल्ने सहास नगरोस् ।
आफ्नै छ भाषा आफ्नै भेष
हामीले चाहेको संघिय देश
सैसैला हो सैसैला
सै ढोले सै
हाम्रो राज्य खोई
नेपालका अरु आदिवासीहरुसँगै किरात राईहरुको पनि माग हो, संघिय राज्य । हालसम्म कायम रहेको एकात्मक राज्य ब्यवस्थाले केवल एक जाति, एक भाषा र एक संस्कृतिको मात्र वकालत गरेको छ । एकात्मक शासन प्रणालीले बहुसंख्यक जनताहरु हरेक अवसरबाट बन्चित हुनुपरेको छ । सबै जाति, वर्ग र समुदायको हित संघात्मक शासन प्रणालीमा मात्र सम्भव हुन्छ । यो माग किरात राई वा अन्य आदिवासी जनजातिहरुले आज उठाएका होईन जतिबेला आदिवासीहरुको मूल थलो नेपाल राज्यमा गाभियो र त्यहाँ अल्पसंख्यकहरुले राज्य साचालन गर्न थाले त्यहीबेला देखिको आवाज हो यो । तर विगतमा निरंकुशताको अगाडि खुल्लमखुल्ला रुपमा यी आवाजहरु उठ्न पाएनन् । २००७ सालको परिवर्तनसँगै पूर्वका किरातहरु (राई लिम्बू) ले स्वतन्त्र राज्यकै माग समेत गरेका हुन् । स्वतन्त्र राज्यको माग कुनै लहडबाजीमा भएको होईन भन्ने बुझ्नु जरुरी छ । राज्यको एकाधिकारबादी सांस्कृतिक चिन्तनले स्वतन्त्र राज्यको माग गर्न किरातहरुलाई उक्साएको हो । जहाँ आफ्नो संस्कृति अपहरण हुन्छ भाषा र अधिकारहरु अतिक्रमण हुन्छन् र कुनै एक जाति, भाषा र संस्कृतिको अधिपत्य कायम गरिने प्रयत्न हुन्छ भने त्यहाँ राष्ट्रियताको के कुरो र्ह्यो र ? आज संघात्मक शासन ब्यवस्थाले राष्ट्रियता कम्जोर हुने, आत्मनिर्णयको अधिकारले राष्ट्र टुक्रने हौवा फिजाएर फेरी पनि जातीय अहंकारबादलाई टिकाइरहने खेल शुरु भईसकेको छ । यो नेपालका आदवासी जनजाति, मदेसी र अल्पसंख्यक बर्गहरुको हित माथी कुठाराघात गर्ने र राज्यलाई सधैं अस्थिर बनाई लुटिरहने चालबाजी हो । संघियता र आत्मनिर्णयको अधिकारको बारेमा नबुझेर पनि कसैले बिरोध गरेका हुन सक्छन् यो स्वभाविक हो तर बुझ्नेहरु बाटै यस्तो कुरा उठ्नुचाहिँ सोच्नै पर्ने बिषय हो । संघियताले राष्ट्र टुक्रन्दैन बरु राष्ट्रियतालाई मज्बुत बनाउँछ । हुनसक्छ किरात भूमि वा अन्य आदिवासीहरुको मूल थलोले प्रादेसिक राज्यको मान्यता पाएपछि सम्बन्धित जाति बाहेकका जातिहरु कहाँ जाने यस्तो अर्थमा संघियताको बिरोध भएको हुनसक्छ । यसो हो भने संघियताको मर्मलाई न बुझिएको हो ।
सेल्मे र टेम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो सैसैला
सै ढोले सै
तिमीले बुझेको खै ।
आदिवासीहरुको मूल भूमिले प्रादेसिक राज्यको मान्यता पाउन साथ अन्य जातिहरु त्यो भूमिबाट हट्नु पर्छ वा अधिकार बिहिन भएर रहनु पर्दछ भन्न खोजिएको होईन । बरु एकात्मक राज्य प्रणालीमा बहुसंख्यक माथि अल्पसंख्यकले शासन गर्ने अवस्थाको अन्त्य भई समानुपातिक प्रतिनिधित्वको सुरुवात संघात्मक शासन प्रणालीले गर्दछ । जस्को कारण कुनै जाति, वर्ग वा समुदायले उपेक्षित भएको महशुस गर्नु पर्ने छैन । शासन गर्ने र शासित हुने प्रकि्रयामा समान सहभागिता भएपछि संघर्ष र दमनको अवस्था रोकिने छ । र, राज्य वा राष्ट्रको उन्नतिमा पुग्ने हरेक बाधाहरुको अन्त्य भई तिब्रतम विकासको अपेक्षा गर्न सकिन्छ ।
भन्दैछन् आज पारुहाङ
फर्क है फर्क आफ्नै गाउँ
सैसैला हो सैसैला
सै ढोले सै
युवाहरु खै
किरात राईहरुको आदि पूर्खा पारुहाङ हुन् । मुन्धुम (किरातहरुको धर्म ग्रहन्थ) अनुसार पारुहाङबाटै सृष्टीको रचना भएको हो । पारुहाङको सांकेतिक अर्थ पूर्खा अर्थात आफ्ना जन्मदाताहरु हुन् । एकात्मक राज्य प्रणालीले कसैलाई काखा र कसैलाई पाखा बनाउने काम गर्यो । काखमा रहनेहरु अधिकार सम्पन्न भए पाखा पारिएकाहरु पाखै रहन बाध्य भए । अधिकार पाएकाहरुले अत्याचार लाद्न थाले, त्यसले असन्तोष जन्मायो । असन्तोष माथि दमन हुन थाल्यो, दमनले प्रतिरोधलाई निम्त्यायो । नेपालको राजनीतिक र सामाजिक स्वरुप हालसम्म यही अवस्थाबाट गुजि्ररहेको छ । यस्को असर हरेक क्षेत्रमा पर्यो । देशले शैक्षिक क्षेत्रमा प्रगति गर्न सकेन । शिक्षामा नै प्रगति नभएपछि अन्धविश्वास हट्ने कुरो भएन । अन्धविश्वासको सेरोफेरोमा रहेको समाजमा न विकास नै हुन्छ न राष्ट्र प्रति उत्तरदायी मान्छेहरु नै जन्मन सक्छन् । आज गर्नेभन्ने युवाहरु लाखौंको संख्यामा बिदेशी भूमिमा रोजीरोटीको लागि भौतारी रहेका छन् । देश संघात्मक शासन प्रणालीमा प्रवेश गर्ने अवस्थामा छ । देशमा राजनीतिक परिवर्तन भईसके पछि आर्थिक र समाजिक परिवर्तन अपरिहार्य छ । युवाहरुनै नभए पछि देशको आर्थिक र समाजिक परिवर्तन कस्ले गर्ने त्यसैले पारुहाङ अर्थात जन्मदाहरुले अव छोरा नातिलाई आफ्नै देशमा बोलाउनु पर्छ ।
सुन है सुन सुम्निमा
फर्कन्छौ आफ्नै भूमिमा
सैसैला हो सैसैला
सै ढोले सै
कुटो कोदालो खै ।
आदिपूर्खा पारुहाङको अर्धाङ्गिनीको रुपमा सुम्निमालाई पुकारिन्छ । सुम्निमाको संकेतिक रुप स्त्रि पूर्खा अर्थात आमा जाति । आमा अर्थात धरति । राष्ट्र पछाडि पर्नु भनेको धर्तिको उपहास हुनु हो । आज आफुलाई जन्म दिने हुर्काउने बढाउने धर्तिलाई चट्ट माया मारेर लाखौं युवाहरु बिदेशी धर्तिमा रगत पशिना बगाई रहेका छौं । आफ्नो आमालाई उजाड राखेर अर्काको आमालाई हराभरा बनाई रहेका छौं । छोराहरुको यो ब्यवहारले आमाको मन भक्कानिएको छ । आमा बोल्न सक्ने अवस्थामा छैनन् । त्यसैले छोराछोरीहरु नै अगाडि बढेर आमाको सामु प्रण गर्नु परेको छ । आफ्नै आमालाई िसंगार्नको लागि आफ्नो अमूल्य श्रम र पसिना खर्च गर्ने कसम खानु परेको छ । अनिदै र भोकै बसेर अर्काको स्वार्थ पुरा गर्न सहायक सिद्ध हुने हामीहरु आफ्नो आमाको लागि एक छाक भोको रहन सक्दैनौ र ?
साकेला सिली नाचौला
देशकै निम्ति बाँचौला

खाँडी र ऊनी लाऔंला
साग र सिस्नो खाऔंला

उभौली साकेला मनाउछौं
यो देशलाई बिकसित बनाउछौं

ढोल झ्याम्टा बज्यो गजैले
यही प्रण गरौं सबैले
सैसै ला हो सैसैला
सै ढोले सै
अब छुटौं है ।

No comments:

Post a Comment