Friday, November 7, 2014

हेलिकोप्टर चढेर रिपोर्टिङ्ग

म्याग्दी जिल्लाका नयाँ अनुहारहरुसँग म जतिबेला साईनो साटिरहेको हुन्छु त्यसबेला अधर अचानक फुस्कने गर्दछ 'म पनि बरम्जामा त पुगेको छु नी ।' एक्कैचोटी बरम्जाको नाम उच्चारण गर्दा नवपरिचत म्याग्देलीहरु झस्कने गर्नुहुन्छ । स्वभाविक हो यर्थातलालाई ओझेलमा राखेर गरिएको कुरोले अल्मल्याउने गर्छ सबैलाई ।
बारीका कान्ला छेल पार्नेगरी हर्लक्कै हुर्किएका मकैको बुटाले सर्लक्कै ढाकिएको भिरालो गाउँ, बाछिटाले कमेरो बगाएर लेघ्रै-लेघ्रा पोतिएको माटाको होचा घरहरु, लिउन नहानेको गारोमा टिनको छानो ओताईएको स्कुलभवन, हरियो सर्ट र निलो पैन्ट तथा फ्रकमा लाज ढाकेर भविश्य खोज्न आएका स्कुले भुराभुरीहरुको छुनुमुनु, आशै आशमा स्कुल प्राङ्गणभरी बिस्कुन लाग्न आईपुगेका गाउँलेहरुको थामिनसक्नुको भिड, काँधमा भिरेको बन्दुकले अन्तरमनलाई छियाँ-छियाँ बनाई बाहिरी घाउमा मलहम लाईटोपल्न तम्सीरहेका सेनाहरुको सानो टुकडी र सहरबाट भरखरै उत्रिएका सुकिला मुकिला मान्छेहरुको चुरीफुरी यही हो मैले त्यस दिन देखेको बरम्जा गाउँको सचित्र ।
माओवादी र सरकारबिच दोश्रो पटक युद्धबिराम भई तीन चरणको बार्ता सकिसकेको थियो । युद्धबिरामको फाईदा उठाउदै स्वास्थ्य शिविर लिएर माओवादी प्रभावित गाउँहरु पुग्न सेनालाई असारको पन्ध्र थियो । सेनाको तात्कालिन मध्यपृतना (हाल पश्चिमपृतना) पोखराको पहलमा पश्मिााचल र मध्यमााचलको धादिङ जिल्लाका केही गाउँहरुमा शिविर सम्पन्न भईसेको थियो । दाङ्को हापुरेमा सम्पन्न हुने चौथो चरणको वार्ताको दिन जति नजिकिन्दै थियो उति नै स्वास्थ्य शिविर जोडतोडले चलिरहेको थियो । सरकारलाई सूचना प्रतिको मोहको कारण हो वा तात्कालिन मध्यपृतनापति चित्रबहादुर गुरुङको सञ्चारकर्मीसँगको हेलमेलको कारणले हो हरेक स्वाथ्य शिविरमा पोखराका सञ्चारकर्मी हरुलाई हेलिकोप्टरमा राखेर शिविर सञ्चालन भएको ठाउँमा लगिने गरिदै थियो । म त्यसबेला 'सञ्चार दर्पण' साप्ताहिकमा आबद्ध थिएँ । प्रधान सम्पादक, कार्यकारी सम्पादक र अन्य केही सम्बाददाता साथीहरुले हेलिकोप्टरको यात्रा तयगरी सेनाको नौटंकीलाई नियाल्ने अवसर पाईसक्नु भएको थियो तर म बाँकी नै थिएँ । मध्यपृतनाको पहलमा सम्पन्न भईरहेको स्वास्थ्य शिविरको समापन म्याग्दीको बरम्जाबाट हुँदैरहेछ । स्वास्थ्य शिविरमा जान बाँकी रहेका सबै पत्रकारहरुलाई बरम्जा जानको लागि उर्दी आयो । म कार्यलयमा बसेर भोली पल्ट निस्कने पत्रिकाको लागि समाचारहरु कोरिरहेको थिएँ । फोनको घण्टी बज्यो फोन मैले नै उठाए । हेल्लो भन्न नपाउदै उताबाट आवाज आयो "म डिआईजी कार्यालयबाट ईन्सपेक्टर प्रताप गुरुङ्, ईन्द्र जीलाई तुरुन्त एयरपोर्ट जान भनिदिनु होला ।" "म नै हुँ ईन्द्र किन होला " । "ए स्वास्थ्य शिविरमा जानको लागि हजुर पनि छुट्नु भएको रहेछ त्यसैले । मलाई चिन्नु भएन म प्रताप गणेश सरको छोरा ।" म अक्सर तात्कालिन राजसभा स्थायी समितिका सदस्य गणेशवहादुर गुरुङको घरमा पत्रिकाको काम लिएर गईरहन्थे प्रताप जीले त्यतिबेलै मलाई चिन्नु भएको रहेछ । उहाँले फोन राखिसकेपछि प्रधान सम्पादक नारायण सरसँग सल्लाह गरेर म एयरपोर्ट पुगे । केही पत्रकार साथीहरु अगाडिनै पुगिसक्नु भएको रहेछ । तर अन्य साथीहरु आईपुग्न बाँकी रहेकोले उडान केही ढीला हुनगयो ।
एयरपोर्टबाट करिब बाह्र जना पत्रकार, बीस-बाईस जनाको हाराहारीमा सुरक्षाकर्मीहरु र केही शिविर सञ्चालनको लागि सहयोगी स्वास्थ्यकर्मीहरुलाई लिएर सेनाको एउटा हेलीकोप्टर बिस्तारै उत्तर पश्चिम दिशा समातेर उड्न थाल्यो । म लगायत धेरै पत्रकार साथीहरुको पहिलो आकाशे यात्रा भएकोले एकापसमा बोल्नु भन्दा पनि नयाँ अनुभूतिलाई मनमा कुम्लो कस्न मै मस्त भईरहेका थियौं । फेवातालको निलोपानीमा छाँया पार्दै हेलीकोप्टर लुम्लेको डाँडो नाघेपछि सिधै पश्चिम तिर मोडियो । पर्वत जील्लाको पहाडे कुईनेटाहरुमा नागवेली पर्दै हेलिकोप्टरले कालीगण्डकीको तीर पहिल्याउन थालेपछि कुस्मा र बाग्लुङ बजारमा असरल्ल छरिएको घरहरुले नयनलाई केहीबेर तानिरह्यो । कालीगण्डकीको किनारमा नाईलनको सेतो धागो टाँगेको जस्तै देखिने कच्चीबाटो पहिल्याउँदै जाँदा खोला र नदीको बिचमा चेप्पिएर गुज्मुटिएको बेनी बजार देखापर्छ । लोकगितका शब्दहरुमा प्रख्याती पाएको बेनी बजारलाई मैले ओझेल नपरुञ्जेल चिहाई रहें । हेलिकोप्टरले बिस्तारै उचाई लिदै एउटा डाँडो फुत्त नाघेर पहाडको छाती चिरी बग्ने एउटा खोलालाई पछ्याउन थाल्छ । केही बेरको आकाशे यात्रालाई बिटमार्दै हेलिकोप्टर मकैबारीमा चारपाउ टेक्न पुग्छ । नयाँ अनुभूतिले मन चञ्चल बनिरहेको थियो । सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुको पाईला खप्ट्याउँदै हामी हेलिकोप्टरको पेट चिरेर बनाईएको सानो प्वालबाट हुतुतु निस्कन थाल्छौं ।
शिविर सञ्चालन भईरहेको ठाउँ अलिक माथि डाँडामा रहेछ । एकहुल बिध्यार्थीहरु हामीलाई गाईड गर्न आईपुग्छन् । अरुभन्दा औसत मोटो पत्रकार बिनोद धौलागिरी र एमवि आस्था उकालोमा चारपाउ गर्न थाल्छन् । अन्नपूर्ण एफ.एम.का स्टेशन ईन्चार्ज दिपेन्द्र श्रेष्ठ भुराभुरीहरुलाई एफ.एम. सेट निकालेर आफ्नो प्रोगाम सुनाउन हतारिरहेका हुन्छन् । मान्छे साथमा भएपनि आवाज एफ.एम.बाट आईरहेको सुनेर नै होला ती भुराहरुको अनुहारमा आश्चर्य पोतिएको म ठम्याउछु । हिड्न सिपालु सुरक्षाकर्मीहरु कोही फटाफट निस्किसकेका छन् त कोही हामीसँगै ताते गरिहेका हुन्छन् । म पहाडमा जन्मी हुर्केको मान्छे भएपनि सहर पसेपछि गाउँको गोरेटोहरु बिरानै भए जस्तो लाग्यो । अलिकती उकालो चढ्न पनि निक्कै हम्मे परेको देख्दा मैले बिगतलाई नियाले जतिबेला ढाकरभरी सुन्तोला भारी हालेर चार दिनको बाटो काटी म र मेरा दामलीहरु उदयपुरको बेल्टार बजार झर्दथ्यौं । ती दिनहरुमा उकाली ओह्राली हिड्नु सामान्य नै लाग्थ्यो ।
हामी पुग्दा शिविर शुरु भईसकेको थियो । शिविरमा पोखराका बरिष्ठ सुरक्षाकर्मीहरु पृतनापति अतिरथी चित्रवहादुर गुरुङ, जनपद तर्फका डिआईजी ज्ञानॆन्द्रबिक्रम महत, शसस्त्र तर्फका डिआईजी अमरविक्रम नेम्वाङ लगाएतको उपस्थिती रहेछ । केहीबेर पत्रकारहरुलाई कार्यक्रमको बारेमा जानकारी दिने कामपछि सुरक्षा अधिकारीहरु फर्किए । हामी भने चारकुना घुमीघुमी समाचार बटुल्न थाल्यौं । स्कुलका कोठाहरुलाई शिविर सञ्चालनको लागि उपयोग गरिएको थियो । सामान्य विमारी देखी नागरिक्ता बनाउने र राहत थाप्नेहरुको भिड अचाक्ली थियो । अपाङ्ग बृद्ध-बृद्धा, बालबालीकाहरुको अनुपातमा युवाहरुको संख्या साह्रै न्यून लाग्थ्यो । सुरक्षाकर्मीहरु सबैसँग नम्रता साँध्ने प्रयत्न गरिरहेका थिए । स्वास्थ्यकर्मीहरुको समुह बिमारीहरुको जाँचमा तल्लिन थिए । प्रशासनिक निकायका मान्छेहरु पनि उस्तै ब्यस्त । तर साथी आस्था र म भिडबाट केहीबेर ओझेलिन्दै कान्ला माथि उक्लियौं । गतिलो समाचार त कान्ला माथि थियो । खिसा च्यापी सकेको मकैको हलहलाउँदो बुटालाई सोतर बनाएर काटिएको देख्दा मन कुँडिएर आयो । हेलिकोप्टर ल्याण्ड गर्न मकै त्यसरी ढालिएको रहेछ । कुरो बुझ्दा क्षतीपूर्ति दिने सर्त भएको रहेछ । त्यतिबेलै एकजनाले हेलिकोप्टरले घरको धुरी उडाएको जानकारी टिपाए । धुरी उडाएको क्षतिपूर्ति दिन्छु भनेपनि नपाएको गुनासो थियो घरधनीको । कान्लामा चढेर समाचार मात्र खोजिएन प्रकृतिसँग मितेरीलाउने असीम चाहनालाई पनि धित मरुञ्जेल पुरागर्न पाईयो । खोलापारीको घना जङ्गल, पहाडको टुप्पोमा बिश्रान्ती लिन ओर्लिएका बादलको लपेटो, बारीको भित्तोमा झ्याम्म लत्रिएको बन्सो घाँस र घरको करेसामा राताम्य हुँदैगरेका आलुबखडाका दानाहरुमा मन अल्झाउँदै मैले मेरो गाउँलाई सम्झिरहें । र, शिविरमा आशाहरु बिटो कसेर लाम लागेका गाउँले मनहरुमा मेरो आफन्तहरु पनि छन् कि जस्तै लाग्यो ।
करिब चार घण्टाको भिडभाड पछि शिविर पातलिदै जान थाल्यो । सहरबाट हेलिकोप्टरले बोकेर ल्याएको चामल राहत स्वरुप पाउनेहरुको मुहारमा छाएको चमक हेर्दा उनिहरुले संसारै जितेको पो हुन् कि जस्तै लाग्थ्यो । एकैक्षण स्वाथ्यकर्मीले सुमसुम्याईिदंदा बिमारै निको भएको धेरैले महशुस गरिरेका थिए । घरकै करेसोमा नागरिक्ता बनाउन पाउँदा खुसीले फुल्नेहरु निक्कै थिए । भुराभुरीहरु हेलिकोप्टर हेर्न पाउँदा कम्ती रमाईरहेका थिएनन् । खुसीको लहर सुरक्षाकर्मीहरुमा पनि थियो । तर पत्रकारहरु भ्रम बेचेर सस्तो लोकपि्रयता बटुल्ने सरकारी चालबाजीबाट सन्तुष्ट थिएनन् । समस्या मुटुमा छ तर हातमा सुम्सुम्याएर उपचार गर्न खोज्नुको कुनै तुक नभएको निश्कर्ष थियो पत्रकारहरुको । यो भिषण युद्धको तयारी हो, सबैको मनले यही बोल्दै थियो । हेलिकोप्टर आईपुगेको जानकारी पाईयो । अघी चारपाउ टेकेर निस्किएको उकालोमा समाचारको बोझ बोक्दै हामी हामफाल्न थाल्यौं । डाँडामा लाईनबद्ध भएर भुराभुरीहरु हात हल्लाई रहेका थिए । हेलिकोप्टरको ढोका उघ्रीयो । पालैपालो पसेर आसन जमायौं । हावामा पङ्खाले गति बढाउन थाल्यो । केहीबेरमा जुरुक्क उचालियो हेलिकोप्टर र बिहानको बाटो पहिलाउन थाल्यो । करिब पौतिस मिनेटपछि पोखरा एयरपोर्टमा थुपि्रन हामी आईपुग्यौं ।
अर्कोदिन बिहान पोखराका सबै दैनिक र साप्ताहिक पत्रिकामा अघिल्लो दिनको समाचार महत्वका साथ छापिएको थियो । पत्रकारको भित्री अनुभूति त समाचारमा थिएनन् नै तर बाहिरी दृष्टिपनि सुरक्षाकर्मीले हेलिकोप्टर चढाएको गुणको पैंचो तिर्न मात्रै लेखिए जस्तो लाग्यो । मैले बनाएको मूल समाचारको भावपनि उस्तै थियो तर सँगैको 'ब्रेकर'ले निक्कै हल्ला पिट्यो । "हेलिकोप्टरले घरको घुरी उडायो" शिर्षकको त्यो ब्रेकर सुरक्षाकर्मीको बिचमा पनि चर्चाको बिषय बनेको कुरा पछि थाहा पाँए ।
हेलिकोप्टरमा त चढियो तर सुरक्षाकर्मीहरुको अप्रत्यक्ष मानसिक दवावमा परिएको भने हेक्का नै भएन उसदिन । हाम्रो साथमा पोखराबाट प्रकाशित हुने माओवादी निकट "हाम्रो स्वाभिमान" साप्ताहिकका सम्पादक कोमल बराल (हाल जनादेश साप्ताहिकका सम्पादक) पनि हुनुहुन्थ्यो । सुरक्षा निकायको माथिल्लो तहबाट पत्रकारहरुको पिछा गर्न निर्देशन नै दिईएको रहेछ । कोमल बराललाई माओवादीको ठूलै नेता हो भन्ने भ्रम सुरक्षा निकायमा परेको कारणले नै त्यस्तो उर्दी गरिएको हुनसक्छ । जे होस् सरकारी खर्चमा हेलिकोप्टर चढेर पत्रकार हुनुको फाईदा लुटियो त्यस दिन तर बरम्जाबासीहरुको न्यानो स्नेहले अझैपनि कहिले काँही मन पग्लिन्छ । साथी आस्था निक्कै पछिसम्म फेटो खिच्न कर गर्ने पुन थरी एक बहिनीको नाम कण्ठै पारेर सम्झना गरिरहन्थे तर मैले सेनाको पोशाकमा सजिएकी एक षोडसीको प्रतिविम्ब मनमा सजाई रहे केही समय ……

No comments:

Post a Comment