Thursday, November 20, 2014

आफ्नै कविताको पात्र सँग


मलेसिया आएपछि मैले लेखेको पहिलो कविता ‘अचेल मलाई कविता लेख्नै आउँदैन’ । त्यसपछिको कविता, अघिल्लो अंकमा वर्णन गरिएको ‘साँच्चै आज त भाइटीका’ । तर तेश्रो कविता अलिक बेग्लै भयो । कसै कसैले यो कविताको पात्र केटी नै हुनुपर्छ भनेर दावी गरे पनि । तर कविताको पात्र एक इन्डोनेशियन केटा हुन्, जसको वास्तविक नाम ‘एण्डी नसिरुद्धिन’ । तर कविताको शिर्षक राखें ‘आण्डी नसिरुद्धिन’ ।
नेपालमा रहँदा केही विदेशीहरुसँग हाइ–हेल्लो गर्नु बाहेक कसैसँग गहिरो सम्बन्ध स्थापित भएको कुनै घटना छैन मसँग । तर आफू र आफ्नो परिवेशभन्दा बाहिरका मानिसहरुको मनोभावनालाई बुझ्न र उनीहरुसँग सम्बन्ध स्थापित गर्नु मेरोे सौख कै विषय थियो । म सानो हुँदा मेरो खेल्ने साथीहरु अर्कै जातिका धेरै थिए । स्कूलमा पनि मिल्ने साथीहरु प्रायः अरु नै जातिका हुन्थे । पाँच कक्षा पास गरेर माध्यामिक विद्यालयमा पुग्दा कहिल्यै नसुकेको (त्यसबेला) आले मगर र श्रेष्ठ (नेवार) जातका दुई जना साथीसँग घनिष्ट भएको थिएँ । पछि मदेश झर्दा मदेशीहरुसँग निकट हुन चाहान्थे । एक पटक हप्ता दिनको यात्राको क्रममा कोलकाता पुग्दा त्यहाँका बङ्गाली भाषीहरुसँग निकट हुन कम्ती रहर लगेको होइन । यही स्वभावको कारणले हुनसक्छ एण्डी नसिरुद्धिन मेरो घनिष्ट साथी बन्यो र कवितामा उसैलाई लेखें ।
मैले काम गर्ने कम्पनिमा नेपाली कामदारहरु धेरै थिए । पाँच वर्ष पुग्न लागेको पहिलो ग्रुपदेखि छ महिना मात्र भएको ग्रुप र हामी समेत थपिएको गरि पाँच ग्रुप थियो नेपालीको । हामीभन्दा अघिल्लो गु्रपका साथीहरु हामीलाई बढी प्राथमिकता दिन्थे । काम सिकाउने, मान्छे चिनाउने, मलेसियाको बारेमा बताउने मात्र हाईन अप्ठ्यारो परे सहयोग पनि गर्दथे तर जति पुरानो ग्रप हो उती व्यवहार छुद्र थियो । अर्थात हामी पुरानो हौं भन्ने दम्भ थियो उनीहरुमा । हामी नयाँले सम्मान गरोस् भन्ने ठान्थे उनीहरु ।
सायद परिवार र समाजबाट टाढा भएपछि मानिसले बढी स्वतन्त्र महशुस गर्छ होला र, त विदेशमा अधिकाँश मानिसहरुको मुखैमा झुण्डिएर बसेको हुन्छ, अश्लिल शब्द । कम्पनीमा काम गर्ने पुराना नेपालीहरु वाक्यै पिच्छे बोल्थे आमाचकारी गाली । तर ठाउँ–कुठाउँ अश्लिल शब्दहरु उच्चारण गर्नुलाई मैले कहिल्यै राम्रो मानेको छैन । पुराना साथीहरुको दम्भ र गाली मिश्रित बोली मैले पचाइँन । यी र यस्ता कारणले पुराना नेपालीसँग हाइ–हेल्लोभन्दा गहिरो हिमचिम बढाउन सकिन मैले । यस्तै बेला भेटिएका हुन् एण्डी ।
एण्डी दोश्रो पटक मैले काम गर्ने कम्पनीमा काम गर्दै थियो । गैह्रकानुनी रुपमा मलेसिया बसेर नक्कली परिचय पत्र बनाई उसले यस कम्पनीमा पहिला काम गरेको रहेछ । तर पुलिसले पक्रेपछि इन्डोनेशिया फर्केर कानुनी रुपमा भिषा लगाईवरी देश्रो पटक ऊ आएको थियो । केही होचो थियो उसको कद तर ज्यान अलिक फुकेको । स्थानीय मलेसियन र अरु इन्डोनेशियनहरुको भन्दा औसत दाँत मिलेको र हाँस्दाखेरी पुरौ दाँत देखिने उसको । बाहिरबाट हेर्दा भद्रता नै उसको परिचय । मध्यम स्तरको अंग्रेजी तर उच्चारण हामी नेपालीको भन्दा फरक । त्यसैले उसले बोल्दा हत्तपत्त बुझ्नै गाह्रो । उनका अन्य इन्डोनेसियन साथीहरु फिटिक्कै अंग्रेजी नबोल्ने । मलाई लाग्यो ऊ निक्कै पढालेखा हुनुपर्छ । यो कुरा उसलाई एक दिन सोधें, नभन्दै उसले डिप्लोमा सिध्याएको रहेछ । मेरो बारेमा उसले पनि सोध्यो, मैले नढाँटेरै सबै कुरा भने । त्यसपछि हामीले विदेश आउनुको कारणहरु सोधा–सोध गर्यौं । देशको राजनीतिदेखि सामाजिक, साँस्कृतिक, धार्मिक र थोर–बहुत साहित्यिक अवस्थाको बारेमा कुरा गर्यौं । राजदरवार हत्याकाण्ड बारे मलाई खोतल्यो उसले । मैले पनि सुकार्नोको हत्या, सुहार्तोको क्रुर शासन, मेघावतिको उदय र पराजय तथा डा. सुसिलो बाङ्बाङ्को शासनसम्मको इतिहास जान्न चाहेंँ । सुनामीको विध्वंशका कथाहरु उसले अधकल्चो सुनायो, मैले माओवादीको जनयुद्ध र त्यसले पारेको प्रभावको बारेमा उसले तेर्साएको जिज्ञासाँलाई एकसरो मेटिदिएँ । ऊ सुकार्नोको हत्यामा बढि ब्याकुल देखिन्थ्यो । सायद दरवार हत्याकाण्डको कथाहरुमा मलाई पनि उसले उस्तै खोज्यो होला ।
विट्रिसले छोडेर गएपछि अलग–अलग बनेका दुई देश इन्डोनेशिया र मलेसिया, भाषा धेरै प्रतिशत मिल्छ । मलेसियामा बोलिने सरकारी भाषा ‘मलायू’ तर केही–केही शब्द मात्र फरक भएको इन्डोनेशियामा बोलिने उहि भाषा ‘इन्डोन’ । अझपछि थाहा भयो, कम्बोडिया, ब्रुनाई र सिंगापुरमा पनि उही तर अलि–अलि फरक रुपमा बोलिदो रहेछ यही भाषा । एण्डीबाटै थाहा पाएँ, इन्डोनेशियामा पनि थुप्रै स्थानीय भाषाहरु रहेछन् । इन्डोनेशियामा पनि प्रशस्तै हिन्दु छन्, एण्डीले नै सुनायो । सँगै बनेका दुई राष्ट्र, तर किन मलेसिया जतिको विकास भएन इन्डोनेशियामा, मेरो कुनै दिनको प्रश्न थियो एण्डीलाई । उसको उही रेडिमेट जवाफ, सुहार्तोले डसेपछि इन्डोनेशिया पछि पर्यो । उसैले गायो मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर महमदको प्रशस्ती—महाथिर नै हुन्, आधुनिक मलेसियाको निर्माता, उसैको सपना हो अहिलेको मलेसिया ।
मलेसियामा ‘खोलापारीकी कान्छी’ शब्द निकै लोकप्रीय छ नेपालीहरु माझ । खासगरि इन्डोनेशियन केटीहरुलाई सम्बोधन गरिन्छ यो शब्दले । यदाकदा यही शब्द सम्बोधन हुन्छ, मलेसियाका दुई राज्य सावा र सारावाकका केटीहरुलाई पनि । एण्डीलाई पनि थाहा छ, धेरै इन्डोन केटीहरु नेपाली केटाका यौन पार्टनार बनेको कुरा । तर उसलाई चित्त दुखाई छैन । यी कुराहरु गरिरहन्दा पनि उसले सहज रुपमै जवाफ दिइरह्यो मलाई । मैले इन्डोनेशियनहरुको यौन मनोविज्ञानलाई खोतल्ने प्रयन्न गर्दै भने, किन नेपाली केटाहरुलाई रोजे होलान् नी केटीहरुले ? ऊ अलिकति मुस्कुरायो र मेरो आँखामा हेर्दै बोल्यो....नयाँ पनको खोज । त्यसपछि पनि हामीले गर्यौं यस्तै गफहरु । उसैले सुनायो—इन्डोनेशियन केटाहरु मलेसियन केटीलाई विवाह गरेर घरजम गर्न चाहान्छन् यतै । फेरि उसैले भन्यो—इन्डोनेशियामा घर परिवार पाल्ने दायित्व बढी केटी मानिसमा छ । विदेश गएर दुःखगरि बाबु–आमा पाल्ने धेरै केटीहरु नै हुन् । उसले अलिकति पोख्यो वास्तविकता—नेपालीहरुबाट इन्डोनेसियन केटीहरुले आनन्द पनि पाएका छन् र पैशा पनि । सँगै बस्दा कोठा भाडा र खानाको खर्च नेपाली केटाले तिरी हाल्छ, काम गरेर आएको पैशा पूरै पठाउँछन् बाबु–आमालाई । अन्तिममा ऊ अलिकती कुँडियो, र भन्यो—केटीहरुको दाँजोमा हामीले पैशा पठाउन सक्दैनौ र घर परिवारबाट पनि अपहेलित हुनुपर्छ ।
एण्डीले केही नेपाली शब्दहरु बोल्न सिकेको थियो, पछि मैले पनि केही कुराहरु सिकाएँ । ऊ प्रायः नेपालीलाई भाइ भनेर बोलाउँथ्यो । मेरो लागि मात्र होइन, सबै नेपालीहरुको बीचमा प्रीय थियो एण्डी । तर करिब डेढ महिनापछि बन्द भयो नयाँ उत्पादन । एण्डी लगायत केही नेपाली साथीहरुले अर्कै सेक्सनमा सर्नु पर्यो, म त्यही नै रहें । एण्डीसँगको डेढ महिने मित्रतामा पूर्ण बिराम लागेपछि उसैलाई सम्झदै लेखेंको हुँ कविता...‘आण्डी नसिरुद्धिन’ ।

No comments:

Post a Comment