Thursday, November 20, 2014

चाउचाउ कविता


पासार सिनीबाट
चढेर भूमिगत मेट्रो रेल
झरेर के.एल.सि.सी. स्टेशनमा...
फुत्त बाहिर निस्किएपछि
आकाशै छेडुँला झैं गरि उभिएको
ट्वीन टावरलाई हेरेर
देश सम्झिने अधिकार छैन हामीलाई
किन भने,
हरियो पासपोर्टमा मृत्युको लाहाछाप ठोकेर
काजकिरिया सारी सकेको सरकारले
सपना देख्न पठाएको होइन ।

यहाँ,
सबैकुरा सहनु पर्छ
उठ् भन्दा उठ्ने
र,
बस्भन्दा बस्नु पर्छ
कालोलाई सेतो भन् भन्यो भने पनि भन्नु पर्छ
ओई नेपाल ! ‘बोडो ओराङ’ भन्यो भने पनि मान्नु पर्छ
किनकी,
हरियो पासपोर्टमा
मृत्युको लाहाछाप ठोकेर
काजकिरिया सारिसकिएका हामीहरु
आँखा, कान, नाक, मुख र मन नभएका
रोवोर्ट न हौं, मात्र रोवोर्ट ।
घरबारी बन्धकी राखेर ल्याएको
पैशाको बिटो बुझाएपछि
म्यान पारवरको एजेन्टले हातमा थमाएको
सम्झौता पत्रमा के छ हेर्नु हुँदैन
त्यो त देखाउने दाँत न हो हात्तीको जस्तै
न चपाउन मिल्छ न लुकाउन मिल्छ
बरु
जता लगे पनि जानुपर्छ
जे दिन्छ त्यही खानुपर्छ
जहाँ सुतायो सुत्नुपर्छ
जतिबेला उठायो उठ्नुपर्छ
किनकी,
अवैध गर्भ धारणपछि
कुन्तीको कोखबाट जन्मिएको कर्ण हौं हामी
नदिमा फालिएका ।
हो, यहाँ दुतावास छ
राजदुत छन्, श्रम सहचारी छन्
प्रथम,द्धृतिय, तृतिय सचिव छन्
परन्तु,
सात लाख नेपाली रहेको ठाउँमा
खै सात जनाले के गरुन ?
मर्ने मरिरहेको छ
जेल पर्ने परिरहेको छ
लुटिने लुटिरहेको छ
कुटिने कुटिरहेको छ
फोन गर्यो सधैं व्यस्त
छैन हाइ...हेल्यो
उही ट्रिङ... ट्रिङ... ट्रिङ मात्र ।
कपाल फुलिसक्यो
छाला चउरी सक्यो
ज्यानमा बल घट्दै गएको छ
आँखा धमिलो–धमिलो भएको छ
भ्यागुतोको धार्नी नपुग्ने जान्दा जान्दै
मलायलाई भलाय मान्दा मान्दै
देश फर्किएर
भतुवा सरकारको अघि
पहिचान गुमाएर बस्नुभन्दा
हौ साइँला,
जाऊ जाऊ लिएर आऊ नाइन्टी नाइन
जाँठा ! स्वाँट्ट तानेर आज
लेख्नु पर्यो एउटा चाउचाउ कविता ।

No comments:

Post a Comment