Thursday, November 20, 2014

‘हलो सरकार’

हलो सरकार !
म अरपे/ मलायाबाट.....।
भन्नु पर्ने धेरै कुराहरुछन्...
तर सरकारलाई सुन्ने फर्सद छैन
त्यसैले एउटै मात्र अनुरोध गर्दैछु
कृपयाः झर्को नमानी दिनुहोला ।

मध्य रातमा ब्यूँझेर
नारायणहिटी अर्थात भूत घरको पश्चिम गेटमा
जाबो हरियो पासपोर्टको आवेदन बुझाउन
उभिँदा उभिँदा फतक्कै गलेका गोडाहरुको कथा
अहँ आज सरकारलाई सुनाउँदिन ।
यो मलायामा आउन
सरकारले नै तोकी बक्सेको
पचहत्तर हजार शुल्कमा
झण्डै डेढ गुणाबढी रकम थपेर
म्यान पावरलाई बुझाए पनि
सम्झौता अनुसारको तलब नपाएको
अरपेहरुको दारुण गीत
अहँ आज म गाउँदिन ।
निस्लोट ज्वरोले थलिएको बेला
कम्पनीको म्यानेजर आएर ओछ्यानमा
तथानाम गाली गर्दै
ड्यूटी सम्हाल्न निर्देशन दिइरहँदा
सरकार अमेरिका र सिङ्गापुरमा
उपचार गराई रहनु भएको थियो
हो, त्यस्तो बेला
कहीँ कतै मन चसक्क दुख्दो रहेछ
तर त्यो दखाईको पीडा
आज सरकारको अगाडि पोख्दिन ।
कहिले काँही खै के हुन्छ ?
काम गर्दा–गर्दा तन थाक्छ
भने जस्तो हुँदैन–मन थाक्छ
अरु त केही थिएन,
तर जब सम्झन्छु सानी छोरीको निर्दोश अनुहार
नोस्टाल्जियाले हुरुक्कै बनाउँछ
हो, यस्तो बेला/सरकारले आफन्तहरुलाई
पद पजनी गरिरहेको समाचार सुनेर
म अलिकती बहुलाउँछु
र,
पिई दिन्छु नाइन्टी नाइनको केही क्वाटर
भोली पल्ट ड्यूटी जान नसक्दा
कम्पनी मालिक कोठामै आएर
लात्तैलात्तले भकुरेपछि
जिऊ थिल्थिल्तो भएको कहानी
अहँ आज सरकारलाई सुनाउँदिन ।
हरेक महिना, थापेर केही सय रिङ्गिट
खान मनलागेको, नखाई
किन्न मनलागेको, नकिनी
देश पठाए पनि/म अरपेलाई
खै कसले सम्झियो र ?
आर्थिक बर्षहरु फेरिए
फेरिए, नीति र नियमहरु
थपिए नयाँ कार्यक्रम
तर म अरपेको लागि
कतै बोलिएन बजेट भाषण
हो त्यसबेला,
मैले कमाउनुको अर्थै नदेखेपछि
बोलाएँ खोलापारीकी कान्छीलाई
र, बेह्रिएर बैशालु अङ्गालोमा बिताएँ रुमानी रात
तर सरकार/यी घटनाहरुको फेहरिस्त
फुकाउने छैन आज ।
कम्पनी छोडेर भाग्नु पर्ने विवसता
सुतेका सुतेकै भएकाहरुको अवस्था
हिंड्दा हिंड्दै लुटिएकाहरुको कथा
विना गल्ती कुटिएकाहरुको ब्याथा
अहँ सरकारलाई सुनाउदिन आज ।
हलो सरकार !
म अरपे /मलायाबाट
आज एउटै अनुरोध गर्दैछु
कि, अस्ति भरखर सरकारले किनी बक्सेको
नयाँ कारको प्लेट नम्बर
प्रष्ट देखिएन फोटोमा
कृपयाः पत्रकार साथीलाई
फेरि, खिचेर एकपटक फोटो
फेसबुकमा अपलोड गर्न भनिदिनु होला
किनकी,
त्यो नम्बरलाई काटेर ‘टो टो’
पल्टाउनु छ भाग्यको पासा
यो अरव अर्थात मलायामा ।
शब्दार्थ ः
टो टो ः एक प्रकारको चिट्ठा जस्तो खेल

No comments:

Post a Comment