Wednesday, December 23, 2015

बाल्य स्मृति-१

जान्दा पनि पिटाई, नजान्दा पनि पिटाई

म कक्षा ४ देखि नेपाली अक्षर राम्रोसँग पढ्न, पढेको कुराको अर्थ बुझ्न र बुझेको कुरालाई कल्पनामा उतार्न थालेछु सायद । मेरो मन पर्ने बिषय सामाजिक र नेपाली (उसबेलाको महेन्द्रमाला) थियो । कथा, कविता, बालगीत र इतिहासका कुराहरुले मज्जाले तान्थ्यो । मैले कक्षा ५ को नेपाली र सामाजिक किताब कक्षा ४ मै दोहोर्याई-तेहेर्याई पढेर सकेको थिएँ ।

हामीलाई नेपाली पढाउने सर रिसाहा प्रवृतिको हुनुहुन्थ्यो । ती सरको अनुहार मात्र होइन बोलीमा पनि क्रुरता झल्कन्थ्यो। हामी विद्यार्थीहरु उहाँसँग पटक्कै आकर्शित हुँदैन थ्यौं । तर मेरो मन पर्ने बिषयको शिक्षक वहाँ नै भएको हुनाले सकभर वहाँको कक्षामा ध्यान मग्न हुन्थे म ।

वहाँले प्रायः प्रश्नहरु सोधिरहनु हुन्थ्यो । प्रश्नको जवाफ दिन नसक्नेलाई सजाय दिने तरिका वहाँको फरक थियो । अर्थात जो जान्दैन, उसलाई जान्नेले कानमा समातेर गालामा चड्कन लगाउनु पर्थ्यो । यदि चड्कन बिस्तारो भयो भने चड्कन लगाउनेलाई नै यसरी हिर्काउनु पर्छ-बुझिस्, भन्दै रन्थनिने गरि गालामा झापड हान्नु हुन्थ्यो । कहिले काँही कुट्नको निम्ति बाँस घारीमा सिर्कना लिन पठाउनु हुन्थ्यो । सिर्कना सानो ल्याएमा, सिर्कना ल्याउनेलाई नै त्यही सिर्कनाले सुम्ल्याएर ठूलो ल्याएर आइज भन्नू हुन्थ्यो ।

वहाँले पढाएर भन्दा पनि आफै पटक-पटक पढेको हुनाले म प्रायः जवाफ मिलाउँथे । साथीहरुलाई कानमा तानेर झापड हान्ने र बाँस झ्याङमा सिर्कना लिन जाने काम प्रायः मेरै हुन्थ्यो । साथीहरुलाई बिस्तारी कुटेको र सिर्कना सानो ल्याएको निहुँमा मैले थुप्रै पटक सरको कुटाई खाएको छु ।

म प्रायः ती सरले सोधेको प्रश्नको जवाफ मिलाउने भएको हुनाले कक्षाकोठाका अरु साथीहरुलाई थुप्रै पटक कुटियो । पहिला-पहिला साथीहरुलाई बिस्तारै कुट्दा आफै सरको पिटाई खानु परेको कारण चर्कोसँग झापड हान्न थालें। त्यसरी साथीहरुलाई कुट्नु मनले कहिल्यै मान्थेन । मनमा आत्मग्लानी भैरहन्थ्यो । अर्कोतिर साथीहरु प्रायः मभन्दा ठूला थिए । कक्षाकोठामा केही भन्न नसके पनि बाटोमा साथीहरुले अब साह्रो कुटिस् भने तँलाई पनि त्यसरी नै कुट्छु भन्थे । सरले सोधेको प्रश्नको जवाफ नदिउँ सरको बाघेझप्पु भेटिने, जवाफ दिउँ--नजान्ने साथीहरुलाई कुट्नु पर्ने र बाटोमा आफै ती साथीहरुको फुट्बल बनिने सम्भावना ।

यस्तो धर्मसंकटको अवस्थामा मैले एक दिन सरले सोधेको प्रश्नको जवाफ जानेर पनि आउँदैन भनिदिएँ । त्यो दिन कसैले उत्तर मिलाएनौं । त्यसदिन सरले बाँसको सिर्कना लिन मलाई नै बाँसघारी पठाउनु भो । मैले सिर्कना मझौला खाले ल्याएँ । सिर्कना सरको हातमा पर्न साथ कुटाई खाने पालो मेरै पर्यो । पहिलोपल्ट सिर्कनाले हान्ने क्रममा म डराएर हात अलिक पछाडि तान्दा औंलाको टुप्पोमा मात्र भेट्यो । हात तानेको कारण मैले दोश्रो पटक पनि कुटाई खानु पर्ने भो । जे परोस् सहन्छु भनेर आँखा चिम गरि हात थापें । सायद फेरि पनि मैले हात पछाडि तान्छु भनेर होला सरले सिर्कनाले हातको पञ्जा होइन नाडीमा ताक्नु भएछ । मैले हात पछाडि तानिन । सिर्कना हातको नाडीमा बज्रीयो । म थुचुक्कै बसें । आँखाबाट आँसु बरबरी झर्यो । आँसु पुछ्दै बेञ्चमा गएर बसें । सबैले कुटाई खायौं । सर कक्षाकोठामा भइन्जेल आपसमा बोल्ने कुरो भएन । सर निस्केपछि साथीहरुले मलाई हेर्दै गिज्याउन थाले । उनिहरु आफूले कुटाई खाएकोभन्दा पनि मैले कुटाई खाएकोमा रमाइरहेका थिए । हुन पनि हो अरुदिन मैले उनिहरुलाई पिट्दा मप्रति उनीहरुको नकारात्मक धारणा बन्न स्वभाविक थियो ।

त्यो दिन मेरो हातको नाडीमा छडीको सुम्ला बसेको थियो । सिर्कनाको कुटाई पछिको झन्झनाहट केही बेरमा रोकिए पनि सुम्ला उठेको ठाउँमा दिनैभरी दुखिरह्यो । बेलुका घर पुग्दा समेत सुम्ला हराएको थिएन । लामो बाहुलावाले सर्टले सुम्ला लुकाएँ । घरमा त्यो सुम्ला देख्नु भएको भए, सम्भवत: मैले बुवाको पनि थप्पड खानु पर्थ्यो । अर्थात दिनभर स्कुलमा पढेर पनि सरले सोधेको कुरा भन्न नसक्ने मुलाङलाई त्यसबेला गार्जिएनले गर्ने भनेकै अर्को थप्पड लाउनु न थियो ।

No comments:

Post a Comment