Wednesday, December 23, 2015

बाल्य स्मृती-२

कापीको खिललाई बल्छी बनाएर गडेला माछा मार्दा

अचेल शहर-बजारमा बोर्डिङ स्कुल पढ्ने केटा-केटीहरुलाई हेर्छु, प्वाँख काटिएका बचेरा जस्ता लाग्छ्न् । उनीहरु स्वच्छन्द उड्न चाहान्छ्न् तर दिनभरि स्कूलमा बेहोर्नु पर्ने कठोर अनुशासन र घरको लागि बोकाईएको "होमवर्क" को भारीले थिचिएर उड्नु त के डौडन पनि सक्दैनन् । एक दिन स्कुल छुट्टी हुँदा संसारै जितेको ठान्छ्न् बोर्डिङ पढ्ने केटाकेटीहरु । तर उसबेला म एकदिन स्कुल जान नपाउँदा पिँजडाको चरा जस्तै छट्पटिन्थें  म।

बालबच्चालाई जरुर लगाम चाहिन्छ, तर लगाम त्यस्तो नहोस् कि, उनीहरुले दायाँबायाँ हेर्नै नसकुन् । बालबच्चाहरुको लागि शिक्षा र चेतनाको भारी जरुर बोकाउनु पर्छ तर भारी त्यस्तो नहोस् कि, उनीहरु बोकेर हिंड्नै नसकुन् । उसबेला हाम्रो लागि लगाम र भारी दुवै थियो तर अहिलेका बोर्डिङमा पढ्ने बच्चाहरुले जस्तो दायाँबायाँ फर्किनै नसक्ने र भारीले किचिएर उठ्नै नसक्ने अवस्था थिएन ।

फल्याकमा माटोको धुलो ओछ्याएर बनमाराको सिन्काले अक्षर लेख्नु पर्ने हामीहरु सफा-सुग्घर त कहिले पो हुन्थ्यौं र ? तर पनि घरमा बस्दा र स्कुल जाँदा लाउने कपडा अलगअलग नै हुन्थ्यो । सायद खेल्नुको हतारोमा बिर्सिएर धेरै पटक घरमा लाउने कपडा लाएरै स्कुल पुगेको छु ।

खेल पनि मौशम अनुसारको हुन्थ्यो हाम्रो । स्कूलको टिफिन टाइम खेलेरै बित्थ्यो । पानी पर्ने बर्षादको समयमा कोठा भित्रै ढुङ्गाको गट्टी खेलिन्थ्यो । बाटोमा गोलो चिल्लो ढुङ्गा भेट्न साथ गट्टी भन्दै खल्तीमा हालेर स्कुल पुगिन्थ्यो । कलिला-साना हातले सानै भए पनि पाँच दाना ढुङ्गा  खेलाउनु चानचुन कुरो थिएन ।

शरद ऋतु लागेपछि फराकिलो ठाउँमा ठूलो-ठूलो कोठामा बनाई दुई समूहमा बिभाजित भएर रिङ लेख्थ्यौं । खास त्यो खेलको नाम केहो मलाई अझै थाहा छैन तर हाम्रो बालसुलभ मस्तिस्कले "रेङ" भन्थ्यो । प्रत्येक कोठाको लाईन र बीचको लाइनमा उभिएको चेकरलाई छलेर बाहिर आउँदा खेल जितिन्थ्यो । बीचको चेकरले जताबाट छोए पनि मरिने तर अरु लाईनमा उभिएको चेकरले चाहिँ अगाडिबाट दुवै हातले छुँदा मात्र मरिने नियम थियो । अहिले सम्झन्छु, छक्याउन र डौडन साह्रै राम्रो अभ्यास हुन्थ्यो त्यो खेलमा ।

मंशिर लागेपछि हामी प्रायः कागजको पुतली उडाउँथ्यौं । कागजको पुतलीलाई हावाजात (हवाईजहाज) भन्थ्यौं  । कसै कसैले बनाएर उडाएको पुलती यति टाढा पुग्थ्यो कि, त्यसलाई खोजेर ल्याउनै नसकिने। लेखिसकेको कापीको पाना नै पुतली बनाउने कागज हुन्थ्यो । कहिले काहीँ स्कूलको अफिसमा भेटिने पुरानो किताब पनि च्यात्दै उडाउँथ्यौं । पुतली राम्रोसँग उड्ने बनाउनु पनि एकप्रकारको कला नै हो। जसको पुलती धेरै उड्थ्यो, उसको बेग्लै सम्मान हुन्थ्यो ।

माघ लागेपछि डन्डीबियो खेल शुरु हुन्थ्यो । भली गरेर हावामा नाचिरहेको बियोलाई तलबाट बिस्तारी डन्डीले हिर्काउँदा जति धेरै ठ्याक लगायो त्यति नै धेरै अंक आउँथ्यो । ठ्याक र बियो फालाईको हिसाबमा अंक धेरै आउने हुँदा बियोलाई धेरै ठ्याक लाउने प्रयास गरिन्थ्यो । बियोलाई कहाँ हिर्काउँदा राम्रोसँग भली हुन्छ र भली भैसकेपछि कसरी सन्तुलन मिलाएर ठ्याक लाउँदा धेरै पटक उफार्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान डन्डीबियो खेलले दिएको अहिले सम्झन्छु । अंक जोड्दै जानू पर्ने हुँदा गणित सिकाईमा पनि डन्डीबियो खेलले निक्कै सहयोग पुर्याएको भन्दा अत्यूक्ती नहोला ।

चैत्र लागेपछि गुच्छा खेल शुरु हुन्थ्यो। गुच्छा प्रायः ढ्याम पिटी खेलिन्थ्यो । जसले मार्यो उसैले मर्नेलाई पिट्ने । कहिलेकाही कापीको पन्ना मारी र गुच्छा मारी पनि खेलिन्थ्यो । जसको धेरै गुच्छा हुन्थ्यो उसको सान नै बेग्लै, जो धेरै सिधा हान्थ्यो उसको मान नै बेग्लै । रिट्ठाको दाना र ब्यारिङलाई पनि गुच्छा बनाएर खेलियो । ब्यारिङले सिसाको गुच्छा फुटाउँदा रुनेहरुको संख्या पनि धेरै नै हुन्थ्यो ।

जेठ लागेपछि "खर्ल्याङखुट्टी" खेल शुरु हुन्थ्यो । समतल भुइँमा कोठै कोठा कोरी एउटा खुट्टा माथी उचालेर एउटा खुट्टाले ढुङ्गाको गोटी प्रत्येक कोठामा सार्दै लानु पर्ने यो खेललाई "एक्कादुक्का" भन्थ्यौं । कोठाहरुमा गोटी चालिसकेपछि दुवै आँखा चिम्मिएर कोठामा पस्नु पर्ने, पछाडि फर्किएर कुनै एक कोठामा गोटी खसाउनु पर्ने आदि नियम हुन्थ्यो । यो खेलबाट शारीरिकसँगै धेरै कुराहरुको अभ्यास भएको थियो भनेर नभनिरहन सकिन्न । टोपी लुकाई र भाले जुधाई खेल पनि प्रशस्तै खेल्थ्यौं । तर यी खेलहरु चाहिँ कुनै मौसमसँग सम्बन्धित थिएनन्, मन लाग्यो खेल्यो, मन लाग्दैन अरु खेल जिन्दाबाद ।

असोज-कार्तिकको बेला टिफिन टाइममा अमला खोजी खानु, ठूलो पानी परेको बेला खोलामा उर्लिएर झर्ने बाढीलाई स्कूलको झ्यालबाट रोमाञ्चक हुँदै हेर्नू, आकासमा हेलिकप्टर उड्दा आँखाले देखिन्जेल र कानले सुनिन्जेल हेर्नू/सुन्नु, स्कुलको डिलमा उभिएको चम्लामा न्याउली कराउँदा स्वरमा स्वर मिलाउनु, स्कुल विदा भएपछि दौडदै आएर सानो खोल्सोमा कापीको खिललाई बल्छी बनाई गडेला माछा मार्नु, यी र यस्ता थुप्रै रोमाञ्चक क्षणहरु छन् प्रा.वि. तह पढ्दाका ।

आफ्नै पुराना दिनहरु नियालेपछि मेरो बैयक्तिक अनुभवले भन्छ- प्रकृतिका विभिन्न पक्षसँगको समागम र स्कूलमा साथीहरुसँग खेलिने खेलकुदहरुले बालबालिकाको सिकाईमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गर्दैन स्कुल जाने उत्साहमा पनि बढोत्तरी ल्याउँछ । कुनै एक बालक पढाईमा कमजोर भए पनि खेलकुदमा अब्बल छ भने उसको सान साथीहरु बीचमा बेग्लै हुन्छ, जसको कारण ऊ स्कुल जान कहिल्यै अल्छि गर्दैन ।

तर अचेल अधिकांस बोर्डिङ स्कूलहरु एउटा सानो कम्पाउण्डमा सिमित छन् । स्कुलमा हुँदा, न हुरी चल्दा लचक्क लच्कने रुख देखिन्छ, न बाढी आउँदा उर्लने खोलो नै । फलामे डन्डी लगाएको झ्यालबाट मुण्टो छिराएर न घामको पाइला नाप्न सकिन्छ न छेवैमा आएर कराउने न्याउलीलाई जिस्काउन नै ।  भलै स्कुल हाता भित्र केही खेल्ने आधुनिक सामग्री होलान् तर ती सिमित खेल्ने सामग्रीले बालबालिकाहरुको चाहना पूरा गर्न सक्दैन । जाँदा-आउँदा अभिभावक र स्कूलमा शिक्षक-शिक्षिकाको निगरानीमा रहनुपर्दा स्कुल पढ्नु भनेको जेलमा बस्नु जस्तै भैरहेको छ बालबालिकालाई । त्यसैले त एकदिन स्कुल बिदा हुँदा संसार जितेको ठान्छन् बोर्डिङका बालबालिकाहरु ।

धेरैलाई लाग्दो हो बोर्डिङ स्कूलको नतिजा अब्बल छ । हो, एस.एल.सीको नतिजा हेर्दा त्यस्तो देखिन्छ । तर जिन्दगीको मक्सद एस.एल.सी. पास गर्नु मात्रै होइन । अधिकांस बोर्डिङ स्कूलहरुले एस.एल.सी. मा राम्रो मार्कस् ल्याउनु नै जिन्दगीको जीत हो भन्ने भ्रम पालेर बालबालिकाहरुलाई किताबमा जे छ त्यही घोकाई रहेका छन् । जसरी उचालेको कुकुरले मृग मार्दैन भनिन्न त्यसरी नै घोकेको शिक्षाले मानिसको भविश्य निर्माण गर्न सक्दैन । यदि एस.एल.सी. मा अब्बल मार्कस् ल्याउनु नै जीवनको जीत भैदिएको हुन्थ्यो भने बोर्ड फस्ट हुने विद्यार्थीहरुको नाम आज प्रत्येक नेपाली जनताको ओंठमा झुण्डिएको हुन्थ्यो । खै त डा. बाबुराम भट्टराईभन्दा अरुको नाम सम्झना छ त ?

जे होस् सरकारले यतिबेला शिक्षा क्षेत्रमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । एस.एल.सी. लाई पास-फेल होइन ग्रेड सिष्टममा लाने निर्णय पक्कै पनि बालबालिकाको पक्षमा छ । अब बोर्डिङ स्कूलहरुले आफ्नो अस्थित्व कायम राख्ने हो भने पाठ घोकाउने होइन सिर्जनात्मक शिक्षा दिन थाल्नु पर्ने छ । सरकारी/सामुदायिक बिद्यालयको हकमा शिक्षा नीतिसँगै सरकार, बिद्यालय ब्यवस्थापन समिती, शिक्षक र अभिभावकहरु अलिकती जिम्मेवार भैदिने हो भने मात्रै पनि बोर्डिङ स्कूलमा महंगो फी तिरेर आफ्ना बालबच्चालाई प्वाँख काटिएको बचेरा बनाउन बाध्य हुनुपर्ने थिएन ।

No comments:

Post a Comment