Wednesday, December 23, 2015

बाल्य स्मृति-४

घाम-जूनको आकार नाङ्लो जत्रै

जन्मन्दा कोही पनि ब्यक्ति अपराधी वा महात्मा भएर जन्मदैनन् । बुद्ध या हिटलर, महात्मा गान्धी या क्यालिगुला, मदरटेरेसा या चार्ल्स सोभराज, दिलमाया श्रेष्ठ या दिनेश अधिकारी 'चरी', कृष्णप्रसाद भट्टराई या खुमबहादुर खड्का, कोही पनि जन्मदा महात्मा या अपराधी थिएनन् । अर्थात बालबालिका भनेका काँचो माटो हुन्, कस्तो आकारमा ढाल्ने हाम्रै हातमा छ ।

जन्मदा सँगै लिएर आउने बंशाणुगत गुणले मानिसको ब्यक्तित्वमा केही प्रभाव छोड्छ त्यो बेग्लै कुरो हो तर अधिकांस ब्यक्तिको निर्माण उसको सिकाई र भोगाई बाटै हुन्छ । बालबालिकाहरुको सिकाई प्रक्रिया बिद्यालयमा मात्र होइन, पाइला- पाइलामा भैरहेको हुन्छ । तर हामी यस कुराको अलिकति पनि ख्याल गर्दैनौं ।
बालबालिकाको सामुन्ने झगडा गर्छौं, अरुको कुरा काट्छौं, अरुलाई दोष लगाउछौं, अरुलाई गाली गर्छौं, अरुलाई हानी हुने काम गर्छौं, पशु-पंक्षीको हत्या गर्छौं, स्वास्थ्यलाई प्रतिकुल असर पार्ने वस्तुहरुको सेवन गर्छौं र हाम्रा छोराछोरीहरु असल बनुन् भन्ने कामना गर्छौं ।

सबैभन्दा राम्रो स्कूलमा पढाउँदा पढाउँदै, अरुको भन्दा राम्रो-महंगो ड्रेस किनिदिंदा किनिदिंदै, अरुलाईभन्दा ज्यादा पकेट खर्च दिंदा दिंदै पनि बच्चाहरु बदमास बन्छन् । त्योबेला हामी सबैभन्दा गलत, बच्चालाई नै ठान्छौं र गाली गर्छौं/कुट्छौं/ पिट्छौं । तर आफ्नो, परिवारको, सामाजको गल्ती के छ, खोज्दैनौं । त्यसैले त जन्मदा बुद्ध बनेर जन्मिएको बालक पछि हिटलर, क्यालिगुला, चर्ल्स सोभराज, दाउद इब्राहिम, दिनेश अधिकारी 'चरी', कुमार घैंटे जस्ता बन्न पुग्छन् ।

जतिसुकै ठूलो पदीय आशनमा बसे पनि अरुलाई गाली नगरी निन्द्रा नलाग्ने वर्तमान प्रधानमन्त्री केपी ओली कै उदाहरण काफी छ । कि, सानो हुँदा ओली ज्यूले बेहोर्नु भएको अभाव, अपमान, तिरस्कार, पीडा, उपेक्षा आदिले नै वहाँको ब्यक्तित्व निर्माण भएको हो । ओली ज्यूको दिमागले पक्कै भन्छ- मैले योबेला छुचो बोल्नु हुँदैन । तर गंगटाको ढाडमा बसेर समुन्द्रको यात्रामा निस्केको बिच्छीले आफ्नो स्वभावलाई नियन्त्रणमा राख्न नसकेपछि दुवै डुबेको नीति कथा झैं ओली ज्यू आफ्नै स्वभावले निर्माण गरेको तिरस्कारको समुन्द्रमा डुब्दै र देशलाई पनि डुबाउँदै हुनुहुन्छ ।
म एउटा सामान्य परिवारमा जन्मिएको बालक । ऐतिहासिक पूर्खौली थलोमा जन्मिएको र बुवा-आमा परिश्रमी भएकोले हुनुपर्छ खान र लाउनै नपाउने अवस्था भने बेहोरिएन । तर शिक्षा र चेतनाको अभाव भने पाइला-पाइलामा आइलाग्यो । आमा पूर्ण निरक्षर, बुवा सामान्य पढालेखा । मेरो बाल मानशिकतामा उत्पन्न भएको सम्वेगहरुलाई बुझ्ने क्षमता मेरो बुवा र आमाबाट थिएन ।

बच्चाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा । म मेरो आमालाई घाम र जूनको बिशालताको बारेमा प्रश्न गर्थें । आमा मकैको सामल केलाउँदै गरेको नाङ्लोलाई देखाउँदै भन्नू हुन्थ्यो-घाम र जून यत्रै हुन्छ । नाङ्गो आँखाले हेर्दा कचौरा जत्रै देखिने घाम र जूनलाई आमाले नाङ्लो जत्रो हुन्छ भनिदिनु हुँदा म आश्चर्यले जिब्रो टोक्थें । बिहानै बोबोरेम डाँडाबाट घाम उदाउँदा, त्यो डाँडामा पुग्न पाए घामलाई छुन सकिन्थ्यो होला भनेर बिश्वास गर्थें । पूर्णिमाभन्दा अगाडि-पछाडि देखिने जूनको आकार बारे सहि जानकारी दिने हैसियत मेरो आमा-बुवामा थिएन ।
हावा र बादल कसरी उत्पन्न हुन्छ, चट्याङ कसरी पर्छ, असिना कसरी बन्छ, शीत पर्नुको कारण के हो, यी र यस्ता अनेकौं प्रश्नहरु मेरो सामु थिए, तर प्रश्नको सहि उत्तर दिने कोही थिएनन् । पृथ्वी होइन घाम सरिरहेको ठान्नु, बादल छिटोछिटो उडिरहेको बेला जून कुदिरहेको देख्नु र हावाको कारण होइन वादल स्वयंमा उड्ने क्षमता छ भन्ने बुझ्नु अनौठो थिएन ।

आमा भोर्लाको पातमा सुर्ती बेह्रेर बिंडी बनाउनु हुन्थ्यो र मलाई अगेनामा सल्काउन पठाउनु हुन्थ्यो । तर त्यो बिंडी मैले तानेको देख्नु भए उत्तिबेलै झापड लाएर तँ बिंडी खाने भन्दै गाली गर्नु हुन्थ्यो । हाटबजार जाँदा रक्सीले मात्तिएर बुवा घर आउनु हुन्थ्यो र केटाकेटीले रक्सी खानु हुँदैन भनेर अर्ति दिनु हुन्थ्यो । एकपटक तिहारको बेला हाम्रो घरमा तासको खाल जमेको थियो । गाउँ भरिका अग्रजहरु बसेर तास खेलिरहेका थिए, तास खेल्नेमा स्वयं मेरो बुवा पनि हुनुहुन्थ्यो । म पनि छेउमा बसेर हेर्दै थिएँ । तासको खेलबारे मलाई के थाहा ? मलाई त त्यसमा भएको रङ्गी-बिरंगी फोटोहरुले आकर्षित गरिरहेको थियो । तासमा भएको बुटा गनेर एक-दुई-तीन भन्न सक्थें बरु । मलाई तास छुन मन पर्यो र छोएँ । बुवाले एक्कासी गालामा थप्प्ड हन्नु भो । उहाँको नजरमा मैले तास छुनु खराब थियो । तर मैले सबैभन्दा जान्ने र ठूला मानेकाहरुले खेल्ने चिज कसरी खराब हुन्छ ? मैले सोंच्ने त त्यही न थियो त्यसबेला । 

कल्पनाशीलता सायद ममा सानैबाट थियो । प्रकृतिका अनेकौं रंगहरुलाई म कल्पनामा सजाउँथे । हिमाल देख्दै नदेखेको म बच्चोले बोबोरेम डाँडामा चरा आकार लिएर उभिएको रुखलाई धेरै पछिसम्म "हिमाल चुचुरी" बनाईरहें । सिस्नेम्पा जङ्गलमा लम्पसार भीरलाई दौडिरहेको पाँडुंले कुकुर बनाएर बोलाईरहें । समुन्द्र भनेर सुनेकै आधारमा चिप्रीङ खोलोको करालो छाँगोमा कलकल गर्दै बगिरहेको पानीमा त्यसको छविचित्र कोरिरहें । पाँच कक्षाको नेपाली किताबमा भएको "नालापानी" कविता मैले चार कक्षामा हुँदै पढेको थिएँ, त्यो कविता कण्ठ पनि थियो । कवितामा भएको "बैरी" शब्दको अर्थ मैले जानिन । शब्दार्थतिर ध्यान ध्यान पुगेन । "बैरी" शब्द अंग्रेजहरुलाई प्रयोग गरिएको हो भन्ने त थाहा भो । तर किन "बैरी" भनियो ? म अलमल्लमा परें । उसबेला मैले "बैरी" सँग मिल्दो जुल्दो शब्द जानेको भनेकै "बहिरी" थियो । मैले "बैरी" को अर्थ यसरी लाएँ-अंग्रेजहरु नेपाली नबुझ्ने भएकोले बोलाउँदा बुझेनन् र बोलेनन् । त्यसपछि नेपालीहरुले उनीहरूलाई बहिरो (कान नसुन्ने) ठानेर "बैरी" भने । पछि 'बैरी' को अर्थ 'सत्रु' हो भन्ने थाहा पाउँदा कम्ती नमज्जा लागेन । त्यत्रो चिन्तनपछि निर्माण गरेको मेरो निश्कर्ष एकै चोटि ढल्दा कहाँ मज्जा लाग्थ्यो र ?

प्रत्येक किताबमा राजाको तस्विर, कवितामा राजाकै गुणगान, प्रार्थानामा राजाकै महिमा, प्रजातन्त्र दिवस, राष्ट्रिय एकता दिवस, बाल दिवस, पञ्चायत दिवस, राजा-रानीको जन्म-जयन्ती आदिमा राजाकै जयजयकार, अहो ! जताततै राजैराजा । राजाको बारे कसैले नराम्रो बोल्दा कटक्क मन दुख्ने । राजा महान, राजा सबैभन्दा माथी, राजा सबैभन्दा दयालु, यस्तो पनि लाग्थ्यो-राजाकै कारणले हामी बाँचिरहेका छौं । जब बहुदल आयो, तब बिस्तारै राजाप्रतिको आस्था खण्डित हुँदै गयो । राजतन्त्रको अन्त्य हुनुभन्दा धेरै अगाडि नै मनको सिंहासनबाट राजा हटिसकेको थियो । तर बाल्य मस्तिष्कमा भरिएको सूचनाको प्रभाव हट्न सानोतिनो धक्काले सम्भव हुँदैन भन्ने कुरो अहिले आएर महशुस गर्दैछु । भूत हुँदैन भन्ने बिश्वास हुँदाहुँदै पनि अध्यारोमा मन डराउँछ । शरीर र आत्माको सम्बन्ध ज्यूँदो रहिन्जेलसम्म मात्र हो भन्ने जानकारी हुँदाहुँदै पनि मृत आफन्तहरुको आत्माले आफूलाई लखेटिरहेको भान हुन्छ। यी र यस्ता प्रभावहरु अहिले आएर बिकसित भएका होइनन्, यो त बाल्य अवस्थाबाटै विभिन्न सूचनाद्वारा हाम्रो मस्तिष्कमा घुसेका हुन् । बालबालिकाहरु काँचो माटो हुन्, कस्तो आकार दिने हाम्रै हातमा छ ।

तर समस्या यो छ-कुनै नेतालाई देखाएर बाबू वहाँ जस्तो बन्नुपर्छ है भन्यो भने भोलि त्यही नेता अख्तियारको फन्दामा परेर भ्रष्ट ठहरिन सक्छ । कुनै नामी इन्जिनियरलाई देखाएर नानू वहाँ जस्तै बन्नु पर्छ है भनेर भन्यो भने भोलि त्यही इन्जिनियर कमिसन खाएर कम्जोर संरचनालाई पास गरेको केसमा जेल पर्न सक्छ । कुनै प्रख्यात डाक्टरलाई देखाएर बाबू-नानीहरु वहाँ जस्तै बन्नुपर्छ है भनेर भन्यो भने त्यही डाक्टर मानव अङ्ग तस्करी गरेको प्रमाण सहित अदालतमा उभ्याइन सक्छ । म चाहन्छु, सानोमा जे पढें/सिकें त्यसैको बिरुद्ध मैले जस्तै भावी पुस्ताले संघर्ष गर्न नपरोस् ।

No comments:

Post a Comment