Sunday, January 25, 2015

के नेपाली भनेको गिरिजाप्रसाद कोइरालाको जस्तै अनुहार भएको मात्रै हुन्छ ?

बाहिरबाट हेर्दा मलेसिया नेपाली कामदारहरूका लागि जति आकर्षक गन्तव्य देखिन्छ तर भित्र त्यस्तो देखिँदैन । म्यानपावर व्यवसायी र एजेन्टका चिप्लो कुरा त्यतिबेला फेल खान्छ, जतिबेला क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागअगाडि सयौंको संख्यामा चिसो भुइँमाथि पल्टिरहेका नेपालीहरूको फुङ्ग उडेको अनुहार देख्न पाइन्छ ।
सन् २००५ मा म मलेसिया ओर्लिंदा एयरपोर्टमा त्यस्तोविधि बेहाल थिएन । चिसो भुइँमा बस्न परे पनि रेलाको धम्की र लात्ती खानुपर्दैनथ्यो । आफू आएको कम्पनीको बोस नआइञ्जेल पासपोर्ट आफैसँग हुन्थ्यो । तर यो पटक पहिलाको जस्तो अवस्था थिएन । प्लेनबाट ओर्लेर इमिग्रेसनको छेउ आउन नपाउँदै पासपोर्ट ‘रेला’को कब्जामा परेपछि भेँडा–बाख्राजस्तै चिसो भुइँमा थ्याच्च बसेर जे भन्छ त्यही मान्नुको विकल्पै हुँदैन । ट्वाइलेट जाँदा पनि लाइनमा बस्नुपर्ने र तिर्खा लागे पनि ट्वाइलेटकै पानी पिउनुपर्ने बाध्यता सायद अन्य देशमा नहुनसक्छ ।
उसबेला म एउटा कुरामा पटक–पटक झुक्किएको छु । पुराना साथीहरू भएको होस्टलमा जाँदा बाहिरबाट ताल्चा मारेको पाइन्छ ! हैन, साथीहरू छैनन् क्यारे भनेर अलिक पर पुगी फोन गरियो भने कोठाभित्रै छु भन्छन् । अनि पो आफ्नो बेबकुफी थाहा हुन्छ र आफैलाई धिक्कार्दै ढोका ढक्ढक्याउन अगाडि बढ्नुपर्छ । नेपालमा मान्छेभित्र हुँदाहुँदै बाहिर ताल्चा मारिँदैन तर मलेसियामा बाहिर ताल्चा नलगाई बस्नै नसकिने रहेछ । खासगरी स्थानीय र केही बाहिरी देशका लुटेराबाट बच्न कोठाको बाहिरबाट ताल्चा र भित्रबाट चुकुल लगाउनु अनिवार्य नै छ ।
मलेसियामा नेपालीहरूमाथि धेरै हुने घटना भनेकै चोरी–डकैती हो । हिँड्दा हिँड्दै धेरै नेपाली दिनहुँ लुटिन्छन् । ट्याक्सीमा, बसमा, बजारमा र उस्तै परे कोठैमा लुटिनुपर्छ । कोही हाक्काहाक्की नै लुट्न आउँछन् भने कोही पुलिसको भेषमा । कहिलेकाहीँ त पुलिसै लुटेरा बन्छन् । मेरै कोठाको एकजना साथी बजार निस्किएको बेला पुलिसले रोकेर फोन चेक गरेछ । फोनमा ब्लुफिल्मका केही दृश्य भेट्नासाथ कि फोन गुमाउनुपर्ने भो कि त पैसा दिनुपर्ने भो । तरकारी किन्न गएको साथी पैसाजति पुलिसलाई सुम्पेर रित्तै कोठा फर्किनुपर्यो ।
मलेसियाको हकमा लुटिनु त सामान्य नै हो, लुटेराहरूबाट कुटिनु र छुरी रोपीमाग्नु भन्दा भएभरको जम्मै पैसा, मोबाइल आदि उसैको हातमा थमाई गाडी भाडा त देऊ भनेर उल्टै याचना गर्नु जितिन्छ । नेपालमा चोर वा लुटेराले लुटेको÷चोरेको देख्नासाथ वरपर भएका मान्छेहरू खोलाधुर लागी पक्रेर कि पुलिसलाई बुझाउँछन् कि सक्दो भकुरेर अबदेखि गर्दिनँ बाबा भन्ने पारी छाडिदिन्छन् । तर मलेसियामा लुटिने लुटिरहेकै हुन्छ, अरु रमिते । बाटोमा आफ्नै साथी लुटिरहेको छ भने सुइँकुच्चा ठोक्नु सिवाय केही गर्न सकिँदैन ।
लुटिनु भनेको अनेकौं सपना लुटाउनु पनि हो । कठोर परिश्रम गरेपछि प्राप्त हुने थोरै तलबले खाईखर्च बेहोरेर अनेकौं समस्यालाई पार लाउनुपर्ने हुन्छ, तर त्यही तलब नै लुटिएपछि सपनाहरूसँगै लुटिन्छन् । क्वालालाम्पुरको सडक पेटीमा बसेर क्वाँ–क्वाँ रोइरहेका धेरै सपना लुटिएका नेपालीलाई भेटेको छु । त्यस्तो बेला सान्त्वना दिनु सिवाय अर्थोक गर्ने भनेकै आफूसँग पैसा छ भने होष्टलसम्म पुग्न गाडी भाडा दिने हो । तर यस्ता कयौं नेपाली पनि भेटिएका छन्, जो लुटिएको र लुटिँदा कुटिएको कुरा नेपालमा घरपरिवारलाई सुनाएर ‘खोलापारि’की मैयाँसँग ‘लिभिङ टुगेदर’मा रमाइरहेका हुन्छन् । अझ अचम्मलाग्दो कुरो कहिलेकाहीँ त लुट्ने पनि नेपाली, लुटिने पनि नेपाली नै भेटिन्छन् !
आपराधिक मानसिकता विश्वका हरेक धर्म र सम्प्रदायका मानिसमा छ । लुटपाट र चोरीजस्ता अपराध नहुने कुनै देश छैन । मलेसियाकै छिमेकी देश सिंगापुरको कठोर कानुनसामु पनि आपराधिक मानसिकता भएकाहरू डराउँदैनन् । मलेसियाको सन्दर्भमा भन्ने हो भने चोर्ने र लुट्ने काममा इन्डियन मूलका मलेसियनहरू अगाडि छन् । र, उनीहरू हिन्दु धर्म–संस्कृतिका अनुयायी हुन् । यदाकदा मलेसियाकै दुई राज्य सावा र सारावाकका ठिटाहरू पनि नेपालीलाई लुट्नेमा भेटिन्छन् भने इन्डोनेसियनहरू पनि कहिलेकाहीँ देखासिखी गर्छन् ।
धार्मिक–सांस्कृतिक रूपमा इन्डियन मूलका मलेसियनहरू नेपालीहरूसँग जति निकट छन् उति नै नेपालीहरूका लागि डरमर्दो पनि । बाटोमा कुनै कालो वर्णको मान्छे देख्नासाथ मुटुको धड्कन बढ्न थाल्छ र उसको आँखा छलेर कतै सुरक्षित स्थानमा जान हतारिन्छन् नेपालीका गोडाहरू । मलेसियामा नेपालीजस्तै स्थानीयहरूबाट लुटिने बंगालीहरू पनि हुन् । बंगाली र नेपालीहरूको रूप–रङ्ग मिल्ने र एक भएर प्रतिकार पनि गर्न पनि नसक्ने भएकोले नै यसरी हेपिएका हुन् ।
म पहिला आउँदा ‘साहआलम’ र ‘पुचोङ’जस्तो इन्डियन मूलका मलेसियनहरूको घारी भएकै ठाउँमा बिताएँ पाँच वर्ष । तर संयोग नै मान्नुपर्छ, कुनै दिन लुटिनु परेन । सायद म जसरी हिँड्ने कमै कामदार नेपालीहरू होलान् मलेसियामा । नेपाल राजदूतावासका पूर्वकार्यवाहक राजदूत हरिकुमार श्रेष्ठको निम्तो मानेर कोठा फर्कंदा होस् वा लालीगुराँस रेष्टुरेन्टका सञ्चालक कृष्ण आङ्देम्बेको भाञ्जीको बिहे खाएर होस्, मध्यरातमा करिब १ घण्टाको बाटो एक्लै छिचोलेर कोठा पुगेको छु ।
क्वालालाम्पुर आउँदा कोठाका साथीहरूको बैंक कार्डको बिटो र फर्कंदा रिङ्गिटको मुठो नभएको दिन कमै छ । रातभरि ड्युटी गरेर हिँडडुल गर्दा कयौं पटक बसमै भुस निन्द्रा सुतेको छु । बस गन्तव्यमा रोकिएर पनि न ब्यूँझेपछि ड्राइभरले धेरै पटक झक्झकाएको छ मलाई । यति हुँदा पनि मेरो साथबाट एक पैसा कसैले नलुट्नु साँच्चै अनौठो नै हो ।
म किन लुटिइनँ त ? होला मलाई दशा नलागेकोले पनि हुनसक्छ । तर यो ग्रह–दशाभन्दा बेग्लै एउटा कुरो छ, त्यो हो म ‘नेपाली’जस्तो नदेखिनु । नेपाली भन्नासाथ विश्वमा चिनिने भनेकै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जस्तो—लामो नाक, गहिरो आँखा, लाम्चो अनुहार भएको आर्यन मान्छे । विश्वका टेलिभिजनले धेरै पटक सायद कोइरालालाई नै देखाएको हुनुपर्छ, त्यसैले पनि नेपालीको अनुहारमा त्यही नाक, त्यही आँखा र त्यही अनुहारको आकार–प्रकार खोजिन्छ । तर म त्यस्तो छैन ।
पुँवालोको गेडाजस्तो नाक, ब्लेडले जोगाई–जोगाई चिरेकोजस्तो आँखा, कविवर भूपिले भनेझैं गोल–गोल मंगोल अनुहार, न दाह्री, न जुँगा अनि म कसरी ‘नेपाली’ देखिनु ? मसँग धेरै जना धेरै पटक झुक्किएका छन् । ‘पासार मालाम’, सब्जी पसल, फुटपाथ, सुपरमार्केट, बस, ट्रेन आदिमा मात्रै होइन, मेरो दाहिने हातको माझी औंलाको अप्रेसन गर्ने डाक्टर र नर्सले समेत युनिर्भसिटी हस्पिटलमा चिनियाँ भाषा बोलेर हैरान पारेकाछन् मलाई । कति भियतनामीहरूले फर्की–फर्की हेरेका छन् बाटामा, कति म्यानमारीहरूले ‘तँ कुन ठाउँको होस्’ भनेर सोधेका छन् उनकै भाषामा । साँच्चै ‘नेपाली’ नदेखिनुको बोनस नै हो म नलुटिनु । तर बाटोमा, बसमा वा कुनै पार्कमा हिँडेको–बसेको बेला नेपाली साथीहरूले नै भाषा मलायू वा टुटे–फुटेको अंग्रेजीमा बोल्दा पो अचम्म लाग्छ ।
त्यसैले त भन्न मन लाग्छ, के नेपाली भनेको गिरिजाप्रसाद कोइरालाको जस्तै अनुहार भएको मात्रै हुन्छ ? मंगोल अनुहार भएका हामी नेपालीको कुनै पहिचान छैन त नेपालमा ? मलेसियामा अनेपाली अनुहारले फाइदा दियो भन्दैमा नेपाली मानचित्रबाट सदासदाका लागि आफ्नो पहिचानै हरायो भने कहाँ जाने होला ?

मलेसियाली शब्दको अर्थ
रेलाः मलेसियाको एक सुरक्षा निकाय, जसलाई अहिले क्वालालाम्पुर एयरपोर्टको अध्यागमन विभागमा वैदेशिक रोजगारमा आउनेहरूलाई व्यवस्थित गर्ने जिम्मा मलेसियन सरकारले दिएको छ ।
खोलापारीः मलेसियामा नेपालीहरूले इन्डोनेसिया र मलेसियाकै समुद्रपारिका दुई राज्य सावा र सारावाकलाई खोलापारि भन्ने गर्छन् ।
पासार मालामः रातिको बजार
‘साहआलम’ ‘पुचोङ’ ठाउँका नाम ।

No comments:

Post a Comment