Thursday, July 24, 2014

कविता

परदेशको आह्वान
          
बाँच्नुको बिवसतामा
सपनाहरुलाई रक्सीसँग साटेर
जिन्दगीनै तन्–तन् पिउनुभन्दा
आऊ हौ साइँला बरु यतै
कम्तीमा यहाँ
हरेक रात बेहोसीमा
स्खलित त हुनु पर्दैन

जोडिनुको बाध्यतामा
असत्यलाई सत्य भन्दै
सत्यलाई असत्य भन्दै
राजनीतिको रङ्गमा लछप्पै भिजेर
आफ्नै मनलाई पटक–पटक मार्नुभन्दा
आऊ हौ साइँला बरु यतै
कम्तीमा यहाँ,
बेश्या गणतन्त्रसँग
सहवास त गर्नु पर्दैन ।

हार र जीतको नौटङ्की
डबलीमा चलिरहेको बेला
दर्शकदीर्घामा बसेर
ताली पड्काउँदा पड्काउँदा
थकित भएको हातले
आफन्तकै भाग खोसेर
जाबो यो पापी पेट भर्नुभन्दा
आऊ हौ साइँला बरु यतै
कम्तीमा यहाँ
अरुको पसिना माथि
बलात्कार त गर्नु पर्दैन ।

यति हो,
पूर्खाको चिहान र चौतारीसँग
सन्तानको मायाँ र ममतासँग
केही वर्ष टाढिनु पर्दा
मन दुख्न सक्छ
तर,
आमालाई बेश्यालयमा पठाएर
स्वास्नीसँग सुहागरात मनाउनुभन्दा
आउ हौ साइँला बरु यतै
कम्तीमा यहाँ
कविता त लेख्न सकिन्छ ।

No comments:

Post a Comment