Thursday, July 24, 2014

कविता

परदेश र सपनाहरु

परदेशमा छु
सपनाहरुको बीचमा

अनिकाल लागेको साल
बाजेले जिम्मावाललाई बन्धकी दिएको खेत उकासेर
आफ्नो नाममा लालपूर्जा लेखाउने
धमिलिन्दै गएको आपाको सपना
र,
बिहीबारे हटियामा चाँदी मोहर तिरेर किनेको
खुइलिसकेको पित्तले एक जोडा कुण्डललाई फालेर
आधा तोलाकै किन नहोस् कानमा
सुनको मारवाडी लगाउने आमाको सपना
अचेल परदेशसँग जोडिएको छ ।

धम्कीले गलाई सकेको हलगोरु
सस्तैमा खरिदेलाई लघारेर
त्यही पैशामा थपथाप गरी
एक जोडा ठिल्लर बहर जोड्ने दाजैको सपना
र,
चाइनिज मोबाइलको सानो स्क्रिनमा
अस्पष्ट देखिने हिरो–हिरोइनको
काल्पनिक प्रेम कथामा हाँस्दै–रुँदै
आधा उमेर काटिसकेकी बढी कन्या नानाको
ठूलो टेलिभिजन किन्ने सपना
अचेल परदेशसँग जोडिएको छ ।

सेकेण्ड ह्याण्ड वा थर्ड ह्याण्ड जे होस्
एकापट्टिको लुकिङ ग्लासमा हेल्मेट झुण्डाएर
भरखरै खनिएको कच्ची सडकमा
मोटर साइकल ओहोर–दोहोर पार्दै
दामलीहरु माझ आफूलाई बेग्लै देखाउने भाइको सपना
र,
भरखरै खुलेको कम्प्यूटर इन्टिच्युट धाएर
मुस्किलले किबोर्डमा हातको औंला राख्न सक्ने भएकी
प्लस टु पढ्ने बहिनीको ल्यापटप चलाउने सपना
अचेल परदेशसँग जोडिएको छ ।

जेठाबुढा तिप्पाहरु
मदेश बासाइँ झरेपछि
सालेन्नी अधियाँमा कमाउँदै आएको गैह्री खेत
आपाको ज्यू छँदै सँगोलमा किन्ने भाउजूको सपना
र,
माइतिहरु–
बेचविखन गरेर पुख्र्यैली नासो
बसाइँ हिँडेपछि
अलिकति कुँडिएकी श्रीमतिको
माइती घर नजिकै
सके एक विगाह, नसके केही कट्ठा जमिन किन्ने सपना
अचेल परदेशसँग जोडिएको छ ।

पोहोर मावली घर जाँदा
मामैले चलाउने हिरो साइकल देखेपछि÷चढेपछि
त्यस्तै साइकल किनेर धित मरिञ्जेल चलाउने
छोरोको घुर्मैलो सपना
र,
दाहिने हातको बुढी औंलो समातेर टुकटुकु हिंड्दै
केही पर पुगेपछि
‘पापा हाक्की’ भन्दै
मेरो काँधमाथि चढेर घर वरपर डुल्ने
मेरी सानी छोरीको सपना
अचेल परदेशसँग जोडिएको छ ।

र,
अरुका सपनाहरुलाई
अलिअलि छिमलेर÷अलिअलि चिमटेर
केही महिना पछि
जाँगर चल्दा लेखिटोपलिएका
दौतरी कविताहरुको संगालो
परदेशमै निकाल्ने
मेरो वैयत्तिक सपना पनि
अचेल परदेशसँगै जोडिएको छ ।


शब्दार्थहरु
आपा : बाबु
नाना :दिदी
तिप्पा : बडाबाऊ

No comments:

Post a Comment