Saturday, July 19, 2014

गीत

सोल्मेको पाखैभरि गुराँश फुल्ने बेला
शरदले छोए पछि आकाश खुल्ने बेला
आउनु है आउनु खोटाङ घुम्नलाई
प्रकृतिको सौन्दर्यमा सँगै झुम्नलाई

तोयामाको तान हेर्न तुवाचुङ जाउँला
रावाको माछासँगै मार्सीको भात खाउँला
हलेसीलाई साँछी राखी चोखो माया लाउँला
रुपाकोटमा लैबरीको भाकासँगै गाउँला
ट्याम्के लेकमा हिउँ सेतै झर्ने बेलामा
साकेलाको हाट बजार भर्ने बेलामा
आउनु है आउनु खोटाङ घुम्नलाई
खोटाङेको मायामा सँगै झुम्नलाई

छोरम्बुको सुन्तालाले प्यास मेटाउँला
जन्तेढुङ्गो, धिप्लुङ छाँगो सबै भेटाउँला
बाराहामा जोडी पंक्षी सँगै उडाउँला
सुनकोशीको तिरैतिर मोटर गुडाउँला
खिदिमाको आलुबारी खन्ने बेलामा
रोक्सिम भञ्ज्याङ हरियाली बन्ने बेलामा
आउनु है आउनु खोटाङ घुम्नलाई
प्रकृतिको सौन्दर्यमा सँगै झुम्नलाई

No comments:

Post a Comment