Thursday, July 24, 2014

कविता


युवाहरु
युवाहरु हरेक दिन
म्यानपावर नामको मानव विक्री केन्द्रमा
बुझाएर आफ्नै मूल्य
अध्यागमनमा हरियो पासपोर्ट हल्लाउँदै
जेट चढ्छन्
र,
हराउँछन् सपनाको सहरमा ।

यूवाहरु,
हरेक तरुनी साँझ
भेला हुन्छन् भट्टिपसलमा
वैशको उन्मादसँगै
विदेशी रक्सीको चुस्की तानेर
टेवलमा मुड्की बजार्छन्
र,
बोल्छन् अमृत वाणीहरु
मा.....
...को छोरो
यो खातेहरुको देशमा
कस्ले जन्मायो ?

यूवाहरु
हरेक आन्दोलनमा अघि–अघि हुन्छन्
टायर बाल्छन्/ढुङ्गा फाल्छन्
नारा लाउँछन्/जयजयकार गाउँछन्
तर एउटी अर्धनग्न हिरोइनको तस्विर बोकेर
ट्वाईलेट छिर्न साथ
जम्मै खलाँस !

यूवाहरु
हरेक चुनावमा परिचालित हुन्छन्
गाउँमा/शहरमा
टोलमा/वस्तीमा
र, भोट माग्छन् अर्कैको निम्ति
आखिर विर्सिएको लौरो न हो ऊ
चुनावपछि
खोलाको किनारमा
गाईरहन्छन् अविराम शोक धुन ।

यूवाहरु,
कोही विदेशमा
कोही भट्टीमा
कोही ट्लाइलेटमा
कोही खोलामा
अनि त हुन्छ देश
प्रधानमन्त्री शुशिल कोइरालासँगै बेडमा लम्पसार
अमेरिकाको एक क्यान्सर अस्पतालमा ।


No comments:

Post a Comment