Saturday, July 19, 2014

गजल

खोजिरहेछु यहाँ गाथा तुवाचुङको
रोजिरहेछु यहाँ यात्रा दायलुङको

मेरै सुख–दुःखमा, सधैं फुली दिने
सम्झिरहेछु यहाँ माया लिम्चिङबुङको

हरेक साँझ–विहान, मुधिम्मा उधिनेर
बचाईरहेछु यहाँ कथा मित्तसुङको

अहो ! जिन्दगीमा सिम्मा आएपछि
बुझिरहेछु यहाँ मूल्य उम्छानुङको

गजल साहित्यको अग्लो चाङमाथि
थपिरहेछु यहाँ सत्ता नारथुङको

शब्दार्थ :
१) तुवाचुङ :   एक किराती मिथकका पात्र हेछाकुप्पा (रेछाकुले) को दिदीहरु तोयामा र खियामाले तान बुनेर     नयाँ सभ्यताको विकास गरेको ठाउँ, यो ठाउँ हाल खोटाङ जिल्लाको अर्खौले र महादेवस्थान (हलेसी)             गाविसको सिमानामा पर्छ ।
२) दायलुङ :     अगेनाको चुला ढुङ्गाहरु
२) लिम्चिमबुङ : किराती मिथकहरुमा वर्णन गरिएको एउटा सुगन्धित लेकाली फूल । यो फूल राम्रोसँग फुल्दा   किरातीहरुलाई राम्रो हुने र असमयमै ओइलाए किरातीहरुलाई नराम्रो हुने विश्वास अझै गरिन्छ ।
३) मुधिम्मा :    खरानी
५) मित्तसुङ :     अगुल्ठो वा आगो बचाउन हरेक साँझ अगोनाको खरानीभित्र गाडेर राख्ने मोटो दाउरा
६) उम्छानुङ :     छोरा–छोरीको नामबाट आमा–बाऊको नामाकरण गरिएको नाम ।
७) नारथुङ :    नारथुङ्छा, अर्थात चाम्लिङ राईहरुको एक पाछा । यो पाछाको राईहरुको पुख्र्यौली बसोवास क्षेत्र खोटाङ   जिल्लाको इन्द्राणी पोखरी गाविस भए पनि पाँचथर र झापाको झिलझिलेमा बढी भेटिएका छन्



No comments:

Post a Comment