Monday, September 15, 2014

पहिचान

एउटा गोलो टाउको/टाउकोमा केश
दुई आँखा/कान
एक नाक, दुई पोरा
मुख, दाँत, जिब्रो
दुइ हात/खुट्टा, दश–दश औंला
अनि जनेन्द्रीय
भित्र पनि उस्तै,
टाउकामा एक कचौरा गिदी
मुटु, कलेजो, फोक्सो, फियो, पित्त, मृगौला
ठूलो/सानो आन्द्रा
हाड र स्नायूहरु
बाहिर जम्मै छालाले छोपिएको ।
दिशा, पिसाब, पशिना, आँशु
रगत, खकार, र्याल, सिगान
के फरक छ तिमी र ममा ?
फगत नाक थोरै थेप्चो मेरो/चुच्चो तिम्रो
आँखा चिम्सो मेरो/गुरिलो ठूलो तिम्रो
अनुहार अलिक डल्लो मेरो/लाम्चो तिम्रो
दाह्री–जुङा तिम्रो धेरै/सिमित मेरो
हेर्दा फरक यति नै त हो ।
परन्तु,
फरक छ हामी बाँचेको परिवेश
कि, म जन्मिएँ र हतार–हतार कोकुले (बजुले)
चर्दै गरेको माऊपोथी छेप्ताएर (फकाएर)
चाखुङ (ढिंडो) मस्काउने लाम्बे (काठको पन्यू) झिकी
प्वाक्क हिर्काएर ढाडमा
हियाफेम्मा गरेपछि
म सुरक्षित भएँ
र, तेश्रो दिनमा
कोकुबाटै पाएँ नाम...लोखाजिते (पैंचो तिर्ने) ।
तर तिमी जन्मियौ
अनि हेरियो घडि, पला, बार, गते र महिना
लेखियो सुतिका
र, छैटौं दिनमा बनाईयो चिना
राखिदियो पुरेतले नाम
बताइयो तिम्रो भाग्य
राम्रै राम्रो....।
जन्मिएकै दिनदेखि
आमाको स्तनबाट
चुस्न थालें मैले अल्कोहल
र, मातेर निदाएँ लट्ठ
भने सबैले—साह्रै सन्तोषी बालक ।
तिमीले पनि चुसेको त त्यही लाम्टो नै हो
तर त्यहाँबाट आएन अल्कोहल
आयो मात्र सेतो दुध...गुलियो...मीठो...
पल्कियौ स्वादमा
र, क्षण–क्षणमा चिच्याउँदै
खोजिरह्यौ आमाको न्यानो काख
त्यसबेला सबैले भने
केटो टाठो छ ।
पाँचौं बर्षहरु कटाइसकेपछि
एक दिन
मैलो रुमालले छोपियो मेरो आँखा
झुण्ड्याईयो दुवै कानमा सेलरोटी
मामै (मामा) ले खौरीदियो केश
कोक्पा (बाजे) ले दिए उपहार हलो–जुवा
आपा (बाबु) ले पहिराईदिए दौरा सुरुवाल र ढाका टोपी
लगाई दिए निधारभरि सेतो अक्षता
र, सबैले भने गरिखानु- बाऊ बाजेको थातथलोमा ।
उसैगरि तिमी पनि
बाल्यकालका खुट्किलोहरु उक्लदै
चढेपछि किशोरवयमा
एक दिन,
आँगनको बीचमा बनाएर चौघेरा
ठडाएर लिङ्गो, बाँधेर डोरी
वरिपरी बसेर पुरेतहरु
पढे शास्त्रका श्लोक
केश खौरियो/टुपी राखियो
बेह्र्यौ सेतो धोती तिमीले
फूलपाती चढायौ, दान–दक्षीणा गर्यौ
पायौ एउटा झोली
अनि भिक्षा माग्यौ सबैसँग
हो त्यही दिन भिर्यौ जनाई
र, कण्ठ गर्यौ मन्त्र
आज पर्यन्त
हरेक विहान मुख धुँदा
जपिरहेछौ त्यही वाणी
लगाई रहेछौ अप्सनी खानु अगाडि ।
हरेक दशैंमा मालश्री (दुर्गा भजन) घन्कियो तिम्रो आँगनमा
हानियो मार
र, दशमीको दिन लगायौ निधारमा विजयको टीको
पायौ आर्शिवाद
आयुद्र्रोणसुते श्रियो दशरथे......।
हरेक तिहारमा
पुज्यौ गाई/गर्यौ दिपावली
माग्यौ लक्ष्मीसँग श्री/सम्पत्ति
जनाई फेर्यौ सालिन्ने
रोप्यौ मठमा तुलसी
टाँस्यौ नागका चित्रहरु/भुण्ड्यायौ कुश
मनायौ शिवरात्री/गायौ भजन किर्तन ।
यता मैले
हरेक बैसाकेपूर्णे छेक
नाचे सिली (नाच) साकेलामा
गाएँ सोइ सोइला र स्यामुना भाका
पुजें दायलुङ (अगेना, चुल्हा)
मनाएँ मोछामा, साम्खा, तोरेम्पा र आप्तिर्बो (सिकारी) लाई
चढाएँ वासिम (जाँड), बेछु (अदुवा) र वापा (भाले)
अनि ग्रहण गरें हुम्मासा (पोलेको मासु) र सायरेम्मा (शिर उभ्याउनी)
सायद मातिएँ म फेरि एक पटक ।
तिमी स्कूल गयौ
पछ्याएँ मैले पनि
पल्टायौं हामीले किताब
तिमीले बुझ्यौ सजिलै
किनकी किताबका पानाभरि
थियो तिम्रै भाषा, संस्कृति, संस्कार र मान्यताहरु
भगवानहरु, भूतहरु, दैंत्य र परीका कथाहरु
अहँ भेटिन मैले कतै मेरो रोदुङ इला (राई भाषा)
मुन्धुम (किराती धर्म वाणी) र नछुङका (धामी) रिसिया (मन्त्र)
तिमी प्रथम हुँदै गयौ
मैले पुच्छर समाती रहें
पार गर्यौ फलामे ढोका
म अल्झिएँ र हाम्रो सहयात्रा टुट्यो ।
सुने तिमीले पास गरेछौं आई.ए., बि.ए.
र, भिडेछौ लोकसेवा आयोग
आखिर प्रश्नहरु तिनै त थिए
जोसँग तिमी जन्मैदेखि जोडिएका छौ
सजिलै छिचोल्यौ त्यो जङ्घार पनि
अनि भयौ सरकारी अधिकृत
यता म,
नाङ्गो छाति फुलाएर गल्लामा नापिंदा
ठग्यो उचाईले
फालिएँ र भएँ अरबको लाहुरे
अर्थात अर्पे ।
र, अब पनि
बाटो अलग छ साथी तिम्रो र मेरो
तिमी चाहान्छौ राजधानीको मूल सडकमा
ठडाएर गगनचुम्बी महल
टल्काएर प्राडो–पजेरो
थपेर बैंक ब्यालेन्स
बाँच्नु रवाफपूर्ण जिन्दगी
र, मर्दा
आर्यघाटको स्पेशल चितामा
सजिएर फूलै फूलले
खाएर तोपको सलामी
रक्तचन्दनको शोलामाथि जलेर
बग्दै पुग्नु काँशी
तर म चाहान्छु,
छेप्पाले उभ्याएको त्यही घुमाउने घरमा
धुवाउँदै दायलुङ
घुसारेर हरेक साँझ सितिमी (अगुल्ठो)
बचाई रहुँ आगो
र, मर्दा
त्यही आगो अगाडि लाएर
पुगौं रेम्मातुङमा (चिहानघारी)
आपा–आमाको घर नजिकै
खनियोस् एउटा खाल्डो
जहाँ विश्राम गरौं युग...युगान्तर ।
साथी... यतिबेला
उहिल्यै स्वीकारी सकेको तिम्रो पहिचानलाई
बोकेर एउटा काँधमा
यी तिम्रै भाषा/तिम्रै लिपीहरुमा
कोपी रहेछु कविता
र,
तिमीले नै दिएको नाम
अर्थात ‘इन्द्र’ को पछाडि
झुण्ड्याई रहेको छु ‘नारथुङे’
पक्कै यसमा तिम्रो असहमति हुने छैन
किनकी,
मेरो पहिचान पनि राष्ट्रको गहना हो
यसले फुल्न पाउनु पर्छ
राष्ट्रियताले बाँधिएको चौघेरा भित्र ।
शब्दार्थ : हियाफेम्मा (सुत्केरी अवस्थामा मरेकाहरुबाट बचाउन गरिने कार्य)
साकेला : प्रकृतिको संकेत
स्यामुना र सोइसोइला : साकेलामा सिली नाच्दा गाइने गीतको भाका (गीत सम्बन्धि छुट्टै मिथक छ)
मोछामा : किरात चाम्लिङहरुको मूल पित्री
साम्खा : किरात चाम्लिङहरुको दायलुङ अर्थात अगेनामा बस्ने पित्री
तोरेम्पा : अकालमा ज्यान गुमाएका एक किरात चाम्लिङका सन्तानहरु
अर्पे :अरब गएर फर्केकाहरुलाई अर्बे अर्थात अर्पे भन्ने चलन छ, गाउँघरमा

No comments:

Post a Comment