Monday, September 15, 2014

सिम्माको नाममा नयाँ चिट्ठी–३

जेठ चौध पछि
अन्यौलताको तुँवालोले
जताततै ढाकेर
दिउँसै अन्धकार छाएको बेला
चेतनाको सानो सलेदो सल्काएर
त्यसैको रिमरिम आभामा
तिम्रो नाममा अर्को नयाँ चिट्ठी
कोरिरहेको छु, सिम्मा
स्वीकार गर है ।

बोलिएका शब्दहरु माथि
बोल्नेले नै विश्वास गर्न गाह्रो भइरहेको बेला
धर्कै धर्का कोरिएको
घुर्मैलो पानामाथि
असरल्ल छरिएका
ख¥ल्याङ्गखुट्टी अक्षरहरुलाई
तिमी कसरी विश्वास गरौली सिम्मा ?
हो, विश्वास गर्ने आधारहरु
मेरा शब्दहरुमा नहुन सक्छन्
मेरा अक्षरहरुमा नपर्न सक्छन्
तर सिम्मा,
यो धर्म संकटको बेला
तिमीलाई म विगत तिर फर्काउँदैछु
फर्क सिम्मा फर्क
यी अक्षरहरु बोकेर
पुराना पत्रहरुलाई भेट्न ।
जुन बेला म,
असंख्य कृतिम सीमाहरुले अलग्याइएको
परदेश,
अर्थात
कथित आफ्नो नभएको देशमा बसेर
तिम्रो नाममा चिट्ठी कोरिरहेको थिएँ
त्यसबेला,

तिमी जस्तै सहृदयी, सविनयी
एक मलेसियन ठिटी ‘लिजा’ को निम्तोमा
हरिराय (रमजान) मनाइरहेको थिएँ
सुन्छौ सिम्मा ?
मैले उसको आतित्थ्यतालाई स्वीकार गर्दै
उसको सुकोमल हातले पस्किएको
के परिकार खाँए ?
सिम्मा यदि मैले सत्य कुरा भने, भने
थुक्ने छौ मलाई तिमीले
र,
थुक्ने छन् यो ढोगीं दुनियाले
जहाँ जात र धर्म नामको
प्वालै प्वाल परेको
थोत्रो खास्टो ओढेर
अझै पनि ढमरढुस्स बसिरहेको छ दुनियाँ
हो,
मैले त्यही बेला तिमीलाई चिट्ठीमा लेखेको थिएँ
‘एक दिन त्यस्तो समय आउने छ,
जहाँ हामी खोजेर पनि भेट्ने छैनौं
धर्म र जातका यी कुरुप सीमाहरुलाई
र, अन्ध राष्ट्रियताले ठडिएका
जङ्गे पिलरहरु’ ।
सिम्मा,
म फेरि पनि दोहो¥याउँदै छु,
‘एक दिन त्यस्तो समय आउने छ
जहाँ हामी खोजेर पनि भेट्ने छैनौं
धर्म र जातका यी कुरुप सीमाहरुलाई
र, अन्ध राष्ट्रियताले ठडिएका
जङ्गे पिलरहरु’ ।
हो,
त्यसैले
जेठ चौध अगाडि
मैले खोजें सडकमा
मैले खोजें सदनमा
टायर बाल्नेहरुको बीचमा
ढुङ्गा फाल्नेहरुको बीचमा
बन्द गराउनेहरुको बीचमा
बन्द खुलाउनेहरुको बीचमा
तर
कतै भेटिएनन् सँगसँगै
कथित मंगोल र आर्यहरु
कथित पहाडे र मदिसेहरु
कथित तागाधारी र मतवालीहरु
कथित नाक चुच्चे र नाक थेप्चेहरु
अनि
कथित दलित र उच्च भनाउँदा जातहरु
अनि कसरी बन्छ संविधान ?
अनि कसरी रहन्छ संविधान सभा ?
हो सिम्मा
गल्ती एउटाको मात्र छैन
र,
गल्ती कसैको पनि छैन
गल्ती त्यो हरामको छ,
जसलाई हामीले
युगौंदेखि जोगाएर
काँधमा चढाएर, खोकिलामा च्यापेर
शिरमा पाइला राख्न दिएर, आँखामा पट्टी बाँध्न अह्राएर
नाना उपमाहरु भिराउँदै
नाना नामहरु जुराउँदै
जोगाउँदै आएका छौं
बचाउँदै आएका छौं
सिम्मा,
मन्दिर वा मस्जिद
चर्च वा गुम्बा
अथवा
तिमी र मैले पुज्ने दयलुङ र मोछामा
वेद र उपनिषद्हरु
त्रिपिटक र बाइबलहरु
कुरान र हाम्रो मुन्धुम
जबसम्म हामी फ्याँक्न सक्दैनौ
जबसम्म हामी उखेल्न सक्दैनौ
जबसम्म हामी जलाउन सक्दैनौ
तबसम्म मैले खोजे जस्तो
तिमीले खोजे जस्तो
संविधान बन्न सक्दैन
देश बन्न सक्दैन
र,
पृथ्वी बन्न सक्दैन
त्यसैले सिम्मा
अन्यौलताको तुँवालोमा अल्मलिएर
बाटो हराउन लाग्यौ भने
च्यात कथित धर्मग्रन्थ नामका
पुराना खोस्टाहरुलाई
र, जात, वर्ण र वर्ग नामका
गुइँठाहरुलाई सल्काउँदै
दसगजामा, पनामामा, युरालमा आइपुग
अनि सँगसँगै भत्काउँला
अहंकार र अन्धराष्ट्रियताले ठडिएका जंगे पिलरहरु ।

No comments:

Post a Comment