Thursday, September 18, 2014

फेरि पनि राई जात हो कि होइन भन्ने बारेमा


केही कुलुङ मात्र हौं भन्ने साथीहरुले दिएको प्रतिक्रियाहरु पढे पछि मलाई ती पुराना दिनहरुको याद आइरहेको छ । २०६० साल तिर म नेपाल आदिवासी जानजाति पत्रकार संघ काँस्कीको सचिव थिए, केन्द्रका अध्यक्ष हुनुहुन्थ्यो चन्द्रसिं कुलुङ । त्यसबेला संघको केन्द्रीय कार्यालय काठमाण्डौको पिपलबोटभन्दा अलिक मास्तिर थियो । त्यसबेला आदिवासी जनजाति महासंघले जनजाति सशक्तिकरण परियोजना (जेप) सञ्चालन गरिरहेको थियो । म काठमाण्डौ गएको बेला आदिवासी जनजाति पत्रकार संघको कार्यालयमा छिरे, कार्यालयमा चन्द्रसिं कुलुङ नै भेटिनु भो । केही बेरको साँगठानीक कुराकानी पछि उहाँले यहि प्रसंग निकाल्नु भयो कि हामी राई होइनौ—कुलुङ, चाम्लिङ, वान्तवा आदि जात हो । त्यसबेला किरातीहरुको इतिहासप्रति म अलिक बेखबर नै थिएँ तर पनि हामी अलग जात हौं भन्ने कुराले कता–कता नराम्ररी चिमोठ्यो र भने त्यसो नहुनु पर्ने हो । चन्द्रसिं कुलुङ ज्यूले अलग जात हुनु पर्ने बारे कुनै तार्किक कुरा मलाई सुनाउनु भएन । उहाँले त्यही जनजाति शसक्तिकरणको पैशाको प्रसंग निकालेर हामी किरात भाषी समुदाय अलग÷अलग जाति हुने हो भने त्यो जेपको पैशा हाम्रो समुदायमा बढी आउँछ । आज किरात राई यायोक्खा र राईहरु धनी छन् भनेर हाम्रो लागि पैशा छुट्याउन परियोजना तयार छैन । तर हामी अलग जाति हुन साथ हामी किरातीहरुको बहुमत आदिवासी जनजाति महासंघमा हुन्छ र हामी हाम्रो अनुकूल निर्णय गर्न सक्छौं, महासंघको नेतृत्वमा नै हाम्रो वर्चश्व रहन्छ । मलाई उहाँको कुरो झनै मन परेन । तर उहाँसँग तर्क गर्ने त्यो बेला मेरो हैसियत पनि थिएन, किनकी अगाडि नै भनी सकेको छु, किरातीहरुको इतिहासप्रति म बेखबर नै थिएँ ।
पछि सबै जिम्मेवारीहरु छोडेर विदेश पुगियो । विदेशमै रहँदा थाहा भो कि आदिवासी जनजातिहरुको सूचिकरण गर्न सरकारले आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङको अध्यक्षतामा एउटा विज्ञ टोली गठन गरेछ । टोली तीन सदसीय थियो, जुन टोलीमा किरात राईहरु कोही पनि थिएनन् । टोलीले कुलुङ लगायत केही किरात राईहरुलाई अगल जातको सूचिमा सुचिकरण गर्न प्रस्ताव गरेको पनि विदेशमै रहँदा थाहा लाग्यो । कुन आधारमा त्यसो गरियो मलाई त्यो खबरले चिमोटी नै ¥ह्यो ।
प्रसंग थकालीहरुको हो । पहिलो पल्ट तात्कालिन श्री ५ को सरकारले आदिवासी जनजातिहरुलाई सूचिकृत गर्दा ६१ जात उल्लेख थियो । जसमा थकालीहरु ५ जातमा विभाजित थिए । त्यसबेला डा. कृष्ण भट्टचनहरुको ठूलो विरोध भयो थकालीहरुबाट, पछि चिम्तन, ठिम्तन आदिलाई एउटै जात ‘तीन गाउँले थकाली’ बनाईयो तर पछिल्लो सूचिकरणले पनि थकालीहरुलाई अझै तीन जातमा विभाजित गरेको छ । थकालीहरुको भाषा एउटै छ, संस्कार उस्तै छ । फरक यति मात्र छ कि, संस्कार (विशेषतः ल्हफेव) मान्ने समय अघिपछि र पूरानो बसोवास क्षेत्र अलग छ । त्यही आधारमा अलग जातमा सूचिकरण हुँदा थकालीहरु आज आफू भित्रै ठूलो–सानोको वैमनश्यता हुर्काउन बाध्य छन् । जनसंख्या र आर्थिक हैसियतको आधारमा थकालीहरु ठूलो, मार्फा थकालीहरु मध्यम र तीनगाउँले थकालीहरुलाई तल्लो तहमा हेरिन्दै आइएको छ । हुन सक्छ तीन जातमा विभाजन हुँदा केही फाइदा भएको होला तर आफू भित्रै सानो–ठूलोको विभेद बोकेर जति सुकै नाफा हात लागे पनि समग्र थकालीको पहिचान स्थापित हुनमा घाटै बेहोरिरहनु परेको छ ।
अब भाषिक रुपमा विभाजित किरात राईहरु बारे चिन्तन गरौं । राईहरुको भाषा दुई दर्जनभन्दा बढी हुनुलाई कसैले समस्याको रुपमा पनि हेर्ने गरेका छन् तर भाषिक रुपमा भएको यो विविधता हाम्रो सौन्दर्य हो । र, यही सौन्दर्यले हामीलाई विशेष जातिको रुपमा चिनाएको छ । किरात राईहरुमा जिवित भाषालाई गहनसँग अध्ययन गर्ने हो भने त्यति धेरै फरक पनि भेटिन्दैन । कुनै पनि भाषासँग कतै न कनै केही न केही मिलेकै भेटिन्छ । यसो भनौं ५० प्रतिशत शब्दहरु साझा भेटिन्छन् (यो मेरो प्रारम्भिक अनुमान मात्र हो) । भाषा बाहेक अर्को फरक देखिने वस्तु भनेको भौगोलिक क्षेत्र हो । कि, चाम्लिङ, वान्तवा, कुलुङ, पुमा, साम्पाङ आदिको पूख्र्यौली थलो अलग–अलग छ । यहाँ पूख्र्यौली थालो अलग हुनाको कारणले नै भाषा अगल भएको हो भन्ने कुरालाई फेरि हामीले विर्सनु हुँदैन । यस बाहेक हामी बीच फरक भन्ने चिज केही छैन । सबैले पुज्ने चुला नै हो, सबैले चलाउने चिण्डो, अदुवा, तिम्पु, भोर्ला, चाबो नै हो । मर्दा–पर्दा को सारथी धामी (नछुङ) नै हुन् । मरेपछि जमिनमा गाडिनु र मरेकाहरुलाई मरणको आधारमा वर्गिकरण गरिने चलन सबैमा छ । उभौली–उधौली र सिली नाच सबैको साझा नै हो । पूख्यौली गरगहना र हात हतियार एकै हुन् । पूर्खाहरुले सिकाएको र गरि आएको संस्कारहरु एकै हुन् र हामी बीचमा ठूलो–सानो कुनै विभेद नहुनु र मर्दा–पर्दा र विवाहवारी आदिमा कुनै बन्धन नहुनले हामी एकै जातका हौं भन्ने कुरो प्रष्ट पार्छ ।
यदि भाषा र भौगोलिक क्षेत्रलाई नै आधार मानेर अलग जात ठान्ने हो भने त चाम्लिङहरुमै दर्जनौ जात बन्न सक्छ । सुनकोशी पारीका (उदयपुरको बलम्ता) चाम्लिङ, हलेसी क्षेत्रका चाम्लिङ, दिक्तेल आसपासका चाम्लिङ, रतन्छा आसपासका चाम्लिङ, होर्लङछा–दुम्छा–चिप्रिङ–वातिखुम तिरका चाम्लिङ र सावाखोला पारी (बाराहा) तिरका चाम्लिङकै भाषामा ठूलो अन्तर भेट्न सकिन्छ भने प्रत्येक पाछाको पूख्र्यौली भूगोल फरक–फरक छ । के त्यसो भए पाछा नै जात हो त ? यो कदापी होइन । भाषा र भौगोलिक क्षेत्र फरक हुन साथ अलग जात हुने जम्मै आधार प्राप्त भयो भनिनु हँचुवाको भरमा मात्र बोलिनु हो । डा. ओम गुरुङहरुले निकालेको सो निश्कर्षलाई साँच्चै सत्य मान्ने हो भने त पूर्व तिरका गुरुङहरु अर्कै जाति हुन् । किनकी, पूर्वका गुरुङहरुले गुरुङ भाषा, गुरुङ संस्कृति जम्मै हराई सकेका छन् तर पनि उनीहरु गुरुङ नै हुन् । कसैले उनीहरुलाई गुरुङ होइनौ भनेका छैनन् । जात छुट्याउने भाषा र भौगोलिक क्षेत्रभन्दा पनि उसको संस्कृति हो, मान्यता, परंपरा र विचार हो । समान संस्कृति, परंपरा, मान्यता, रनसहन, चालचलन र ब्यवहार भएका किरात राईहरु अगल जात हुनै सक्दैनन् । हो यही आधारमा किरात राई यायोक्खाले डा. ओम गुरुङहरुको सूचिकरणलाई विरोध गरेको छ, त्यो सूचिकरणलाई लागू हुन दिएको छैन । यही आधारमा यायोक्खाले हालसम्म खेलेको महत्वपूर्ण भूमिकाहरुलाई आँखा चिम्लेर विरोध गरिनुको कुनै तुक छैन । महाकुलुङमा राई हौं भन्नेहरुलाई प्रधान दुश्मनकै रुपमा हेरिन्छ तर महाकुलुङबाट बाहिर पुगेका धेरै कुलुङहरु हामी एउटै जातिका हौं, राई हौं, हामीलाई केही हजारको जाति बन्नु छैन भनेर भनिरहनु भएको छ । कुलुङ लगायत केही भाषिक राईहरुलाई अलग जातमा सूचिकरण गर्ने षड्यन्त्रको विरुद्घ यायोक्खा भन्दा पनि उहाँहरुनै बढी लागि रहनु भएको छ । आज धार्मिक–सांस्कृतिक रुपमा धेरै किरात राईहरुको रस्ति–वस्तीमा विचलनहरु आएका छन् । एकातिर क्रिश्चियानिटी र अर्कोतिर हेभेन्ली पाथको चपेटाले किरातीहरुलाई थिच्दै लगेको छ भने मद्यपानको संस्कृति मौलाई रहेको छ । तर यी सारा कुराहरुबाट बेखबर बनेर हामी अलग जातको सुगा रटानमा छिनाझपेडी गरिरहेका छौं ।
किरात राई यायोक्खा जम्मै सवालमा सही छ भन्ने पनि मेरो दावी होइन । म चाम्लिङ हुँ तर यायोक्खामा चाम्लिङ र वान्तवाहरुकै वर्चश्व छ, यो वर्चश्वलाई तोडेर सबै राईहरुलाई समेट्न यायोक्खालाई महासङ्घीय ढाँचामा लानु पर्छ भनेर मैले तर्क गरिरहेको छु । यदि यसो गरिएन भने हामी बीचको वैमनश्यता अझै बढ्ने छ र कुनै पनि विन्दुमा पुगेर जातीय विघटन निश्चित छ । सो हुन नदिनको लागि पनि यायोक्खालाई भाषिक संस्थाहरुको महासंघ बनाउनु पर्छ । अर्को कुरो यायोक्खा काठमाण्डौ र पूर्वका केही शहरहरु केन्द्रीत छन् र विशेषतः नेतृत्वमा सधैं आर्थिक हैंसियत उच्च भएकाहरुको मात्र बाहुल्यता छ । यस्तो हुँदा यायोक्खाको गतिविधिसँग किरात राई वस्तीमा सामान्य राई किरातीहरुको चासो कम रहँदै आएको छ । त्यसैले मिल्छ भने यायोक्खाको केन्द्रीय कार्यालय नै र मिल्दैन भने कम्तिमा सम्पर्क कार्यालय किरातभूमि भित्रै राखौं र यायोक्खाको गतिविधिहरुलाई किराती रस्ती–वस्तीमा केन्द्रित गरौं भनेर प्रस्ताव गरिरहेको छु । मेरो उदेश्य फेरि पनि यायोक्खा र हामी राई होइनौ भन्ने केही साथीहरुको विरोध गर्नु होइन । इतिहासको सम्मान गर्दै वर्तमानको अन्तरविरोध हल गरेर किराती एकतामा सहयोग पु¥याउनु नै हो । पहिचान सहितको सङ्घीयताको पक्षमा हामी उभिएका छौं, संविधान बन्ने क्रममा छ, राज्यको पुनः संरचनाको बहसमा हाम्रो मागहरु ओझेलिन्दै गइरहेका छन् । यस्तो बेला आपसमा विवाद गरेर उर्जा र समयलाई फाल्नु हुँदैन । हुनसक्छ मतान्तर केही समयसम्म रहला तर मतान्तरलाई घटाउँदै सहकार्य गर्ने विन्दुमा सबै जना आइपुगौं । यसो भएमा मात्र आगामी दिनमा हुने संघर्षका कार्यक्रमले सार्थकता पाउने छन् र स्वायतता सहितको किरात राज्य प्राप्त हुने छ । जहाँ हामीले सबै जातिको हक अधिकारलाई सुरक्षित राख्दै हाम्रा दुई दर्जन बढी भाषाहरुको विकास गर्न सक्ने छौं र हाम्रो संस्कृतिलाई नेपाली संस्कृतिको मूलधारमा समाहित गर्न सक्ने छौं ।

No comments:

Post a Comment