Thursday, September 18, 2014

किरात, खम्बु वा राई बारे

घर झगडा सानै कारणबाट शुरु हुन्छ । समयमा यसले समाधान पाएन भने यस्तो झगडाले परिवारको भविश्यलाई नै ध्वस्त बनाउँछ । मैले अहिले यस्तै घर झगडा सानै कारणबाट शुरु हुन्छ । समयमा यसले समाधान पाएन भने यस्तो झगडाले परिवारको भविश्यलाई नै ध्वस्त बनाउँछ । मैले अहिले यस्तै देखिरहेको छु । कोही साथीहरु राई होइनौ, किरात हौं भन्दै हुनुहुन्छ । कोही किराती होइनौ खम्बु हौं भन्दै हुनुहुन्छ । खासगरि किरात राई यायोक्खाले ‘राई’ पहिलादेखि नै जात भएको तर्क प्रस्तुत गर्दै राई होइनौ भन्नेहरुलाई अस्विकार गर्दै आएको छ । खम्बु भन्न रुचाउनेहरुले किरातको दुई पन्ने इतिहास स्विकार गर्दैनौ भन्नु हुन्छ । यी धेरै वटा विवादको बीचमा अहिले मेरो समुदाय अल्झेको छ । पहिचान सहितको सङ्घीयताको पक्षमा एकजुट हुनु पर्ने बेलामा तल्लो तहमा झरेर आपसमै बाद–विवाद गर्दा त्यसले पहिचानको मुद्दालाई कम्जोर बनाई रहेको छ । यसबेला सबै विचारको बीचबाट समन्वय खोजिनु पर्छ । मैले प्राप्त गरेसम्मका केही तथ्य र आफ्नो केही बैयक्तिक विचारहरुलाई यहाँ राख्दैछु । सबै बुद्धिजिवी वर्ग तथा साथीहरुलाई स्वस्थ प्रतिक्रियाको आग्रह समेत गरिरहेको छु ।
जातको उत्पत्तिबारे
१) मानव भन्दा जात जेठो होइन, अर्थात हामीले मानवको रुप लिएको हजारौं वर्षपछि मात्र जातको सृष्टी भएको हो । त्यसैले प्रारम्भिक चरणमा हाम्रो कुनै जात थिएन ।
२) मानवको उत्पति स्थल र बसाइँ सराईले आकृति, रंग, बानी व्यवहार र सामाजिक क्रियाकलापमा प्रभाव पारेको छ । त्यसैले नै भाषा, संस्कृति, संस्कार अलग भएको हो ।
३) बसाइँ सराईद्वारा एक स्थानमा विकसित भएको झुण्ड र अर्को स्थानमा विकसित भएको झुण्डको भेटपछि आपसमा मेलसँगै बेमेल सुरु भएको छ । मेलले समिश्रण गराएको छ भने बेमेलले हत्या, हिंसा र युद्ध थोपरेको छ ।
४) विश्वमा हाल कायम रहेको कुनै पनि जाति सुद्ध छैनन्, अर्थात हालका सबै जातमा संमिश्रण भइसकेको छ ।
५) जातको उत्पत्ति दुई वा दुईभन्दा बढी स्थानमा विकसित भएको झुण्डहरु आपसमा भेटिए पछि भएको हो । जातको उत्पत्ति मेलबाट हैन बेमेलबाट शुरु भएको छ ।
६) जात अझै बन्ने क्रम जारि नै छ । र, यो निरन्तर जारी नै रहने छ ।
किरात, खम्बु वा राई बारे
१) हामीले बोल्दै आएका कुनै पनि भाषा परिवार (प्रचलित शब्दमा किरात भाषिक परिवार) मा ‘किरात’ शब्दको ठ्याक्कै अर्थ छैन । ध्वनीलाई ध्यान दिने हो भने हामीले बोल्दै आएका कुनै पनि भाषा परिवारको शब्दसँग ‘किरात’ शब्दले सामिप्यता राख्दैन । यस कारण ‘किरात’ शब्द अरु नै भाषा परिवारको शब्द हो भन्न अप्ठ्यारो मान्नु पर्दैन ।
२) किरातको इतिहास अपुरो छ, दुई पन्ने इतिहासले हाम्रो न्याय गर्दैन भन्नु मनासिव हो तर यसो भन्दैमा अरुबाटै थोपरिएको ‘किरात’ शब्दको प्राचिनतालाई भने नकार्न मिल्दैन । र, अरु नै समुदायको धार्मिक–साहित्यिक कृति आदिमा वर्णन गरिएको ‘किरात’ शब्दबाट लजाउनु, धकाउनु पर्ने पनि अवस्था छैन ।
३) खम्बू शब्दमा प्राचिनता खोज्नु न्याय संगत छैन । खम्बूको अर्थ खोज्दै जाने हो भने हामी ज्यादै साँघुरो घेरामा मात्र समेटिन्छौं । किरातको दुई पन्ने इतिहासले न्याय गर्दैन भनेर खम्बू हौं भन्नेहरुले खम्बूको त्यही दुई पन्ने इतिहास पनि उप्काउन सक्नु भएको छैन । बिना प्रमाण वा बिना इतिहास खम्बू भनेर एकोहोरो कुद्नु पनि समस्याको समाधान होइन ।
४) राई शब्दभन्दा चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ आदि थरगत नाम धेरै पुरानो हो । राई त हिजो–अस्ती भएका हौं । तर सयौं वर्ष अगाडिबाट हामी चाम्लिङ, कुलुङ, थुलुङ, वान्तवा आदि थियौं ।
५) राई जात होईन पगरी हो अर्थात राई पद हो भन्ने कुरा सत्य हो । वि.सं. २०४२ सालको जग्गा धनीपूर्जा वितरण र नापीले ‘राई’ पदको खारेजी गरेको छ । विशेषतः पृथ्वी नारायण शाहले माझ किरात विजय गरेपछि जग्गाको कर उठाउने जिम्मा दिएको ब्यक्तिलाई ‘राई’ पद दिएको हो ।
६) राई र राय पद अलग हो । राय पद धेरै पहिलादेखि प्रचलनमा ल्याईएको छ । र, राय पद किरातीहरु बाहेक अरु जाति र समुदायलाई पनि दिइएको छ (भारतमा पनि राय जात छ) । तर राई पद माझ किरातका किरातीहरुलाई मात्र दिइएको हो । सेनहरुले राय पदवी दिएका हुन्, गोर्खालीहरुले पूर्व विजय गर्दा राई शब्दको नामोनिसाना छैन । गोर्खालीहरुले पूर्व विजय गरेपछि मात्र राई शब्द प्रचलनमा आएको छ । यसर्थ राय शब्द अप्रभ्रंश हुँदै राई भएको हो भन्नु तर्क संगत छैन । तर राय र राई दुवै पद वा पगरी भएको हुनाले दुवैमा केही समानता भने पक्कै छ ।
७) वि.सं. २०४२ भन्दा अगाडि ‘राई’ ले आफूले जिम्मा पाएको चार किल्ला भित्र तिरो उठाएर सरकारलाई बुझाउने गर्दथ्यो । गाउँ घरको सामान्य झै–झगडा आदिमा राई कै रोहवरमा मिलापत्र हुन्थ्यो । यस वापत राईले आफ्ना जिम्मा भित्रकाहरुसँग केही लिन पाउँथे । ‘हरियो’ अर्थात ‘चिउरी’, ‘झरियो’ अर्थात ‘मरेको राँगा–भैंसी’ र ‘परियो’ अर्थात अरिंगाल राईलाई नसोधी कसैले चलाउन पाउँदैन थ्यो । राईलाई मौलो (राजाले मौलो गाड्थे) नभई सेउली गाड्ने अनुमति थियो । हरेक राईको घरमा सेउली अर्थात मेरी (एक प्रकारको रुख) रोपिएको हुन्थ्यो । आफ्नो सीमा भित्र राईले केही विजन (जग्गाको क्षेत्रफल) दिएर अरु ४ जनालाई राई बनाउन सक्थ्यो । जसलाई पगरी बाँध्नु वा राई बाँध्नु भनिन्थ्यो । राईको मातहतमा जेठाबुढा, करता, माथा लगायतका अन्य पदधारी सहयोगीहरु रहन्थे । पछि १६ आना जग्गा लिई नयाँ वस्ती राखेपछि किरात बाहेक क्षत्री–बाहुनलाई पनि तिरो उठाउन दिने व्यवस्था गरियो तर उनीहरुलाई राई नभनी जिम्मावाल भन्न थालियो । त्यसबेला राई बाहेक अन्य (किरात समुदाय भित्रका) लाई ‘ज्यमी’ अर्थात ‘जिमी’ भनिन्थ्यो । गाउँ घरमा पाईने पुरानो विजन दर्ता किताव वा मिलापत्र आदिमा हर्ने हो भने पहिला ज्यमी र पछि जिमी लेखिएको भेटिन्छ । यस कारण राई पद केही ब्यक्तिको लागि मात्र पहिला दिइएको हो । र, यसैमा यउटा तथ्य के पनि राखौं भने ब्रम्हाण–क्षत्रीको समेत पहिला कुनै थर लेखिन्दैन थ्यो, ब्रम्हाणलाई पाध्ये (उपाध्याय), झरेकोलाई जैसी, क्षत्री र सन्यासी मात्र लेखिएको पुरानो कागजपत्र गाउँ घरमा अझै प्रशस्त भेट्न सकिन्छ ।
८) हामीले अर्थात पहिला लिखतमा ज्यमी वा जिमी भएकाहरुले नागरिक्ता वितरण हुन थालेपछि मात्र राई जात पाएका हौं । सायद राईभन्दा सम्मानसमेत प्राप्त हुने हुँदा ज्यमी वा जिमी नलेखी राई लेख्न हामी मञ्जुर भयौं वा नागरिक्ता दिनेहरुले सिधैं जातको महलमा राई लेखिदिए ।
९) राई शब्द हेपिएर भनिएको वा तल पारिएर भनिएको शब्द होईन । किरात राज्यको अधिपत्य लिइसकेपछि त्यहाँ पुनः विद्रोह नहोस् भनेर शक्तिमा रहेका किरातीहरुलाई केही अधिकार दिई दिएको सम्मानित पदवी हो राई । यसकारण राई भनिनुमा लघुताभाष हुनु पर्ने अवस्था छैन ।
१०) माझ किरातमा रहेका चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, पुमा, वाम्बुले, नाछिरिङ, मेवाहाङ, याम्फु, आठपरहे, बेलाहारे, दुमी, साम्पाङ, खालिङ, तिलुङ, जेरो आदि थरहरु हुन् जात होइन । हुनतः जम्मैको भाषा आ–आफ्नै भएको हुँदा सबै जातै पो होकी जस्तै लाग्न सक्छ तर संस्कार, संस्कृति, चाड–पर्व र भाषा भित्रकै समानतालाई हेर्दा यो थर हो जात होइन भन्ने प्रष्ट हुन्छ । भाषामा हुनु पर्ने तत्वको आधारमा हेर्दा माथि उल्लेखित थर भित्रको भाषालाई भाषिकामा राख्नु पर्ने सुझाव भाषा विद्हरुले दिंदै आएका छन् । अब कुलुङ अर्कै जात, थुलुङ अर्कै जात, चाम्लिङ अर्कै जात, वान्तवा अर्कैै जात भनेर हिड्यौं भने हामी पुरानै ठाउँमा फर्किने छौं, जहाँ एउटा गाउँ र अर्को गाउँमा आउ–जाउ बन्द हुनेछ, भेटिएमा काटमार हुने छ । हामी बीचमा भाषा अलग हुनुको कारण विगतमा हामी यस्तै गाउँ–गाउँ नमिलेरै भएको हो र हामीले हाम्रो राज्य त्यसरी नै गुमाएका हौं ।
१०) र, आज हामी राई जाति भएका छौं । यो पहिला पदवी अर्थात श्रेणी थियो भने आज जाति भएको छ । यसलाई हामी चाहेर पनि फाल्न सक्दैनौ । किनकी सरकारी लिखतदेखि बोली–ब्यवहार र देशदेखि विदेशसम्म हामी राई भइसकेका छौं । कसैकारणले राईको सट्टा अरु नै जात भन्यौ र लेख्यौं भने पनि कागज–पत्रले हामीलाई राई नै भन्ने छ ।
विवाद समाधानको बाटो
१) किरात शब्द हाम्रो भाषा परिवारको शब्द होइन भन्ने सत्य कुरा बोलौं–लेखौं, सुनौं–सुनाऔं । तर किरात शब्दमा अपमान बोध गर्नु पर्ने कुनै अवस्था नभएकोले अरुले नै राखिदिएको यही किरात नामलाई सबै किरातीहरुले ग्रहण गरौं । लिम्बू, राई, सुनुवार, याक्खा, सुरेल, जिरेल, हायू किरात समुदाय भित्रको शाखा अर्थात जात हो भन्ने कुरामा प्रष्ट हौं । खम्बु कि किरात ? यसमा अब कुनै विवाद छैन । किरात सम्प्रदाय हो, खम्बु (राई) किरात सम्प्रदायको एउटा समूह अर्थात जात ।
२) राई पहिला जात थिएन पदवी अर्थात पगरी थियो भन्ने वास्तविकतालाई आत्मसात गरौं र अब राई शब्दले जातको रुप ग्रहण गरिसकेको छ भन्ने यर्थाततालाई बुझौं ।
३) किरात राई यायोक्खाको संरचनालाई परिवर्तन गर्न सबै जुटौं । सर्वप्रथम भाषिक संस्थाहरुलाई बढी प्राथमिकता दिएर सक्षम र सक्रिय बनाऔं । र, यायोक्खाको केन्द्रीय समितिमा भाषिकसंस्थाहरुबाट मात्र निर्वाचित हुने व्यवस्था गरी यायोक्खालाई महासंघीय ढाँचामा लैजाउँ । तब मात्र चाम्लिङ र वान्तवाहरुको वर्चश्व तोडिएर यायोक्खा सबै थरि राईहरुको हुने छ ।
४) जातमा राईसँगै चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, दुमी, खालिङ आदि अर्थात थर लेख्ने प्रचलनलाई प्राथमिकता दिऔं । ताकि नागरिक्तामा समेत (अब पछि बन्ने) ...............चाम्लिङ राई,...............कुलुङ राई आदि होस् । तब मात्र थरले सम्मान पाउँछ र राई भित्र थर हराएर अपमान बोध गरिरहेकाहरुले हामी अलग जात हौं भनी रहन पर्दैन ।
५) राज्य पुनः संरचना गर्दा नाम किरात वा खम्बुवान भन्ने विवादलाई समाधान खोजेर राज्यको ढाँचालाई स्वाशासित क्षेत्रहरुमा विभाजन गरि चाम्लिङ बसोवास बाहुल्य क्षेत्रलाई चाम्लिङ स्वशासित क्षेत्र, कुलुङ बाहुल्य रहेको क्षेत्रलाई कुलुङ स्वशासित क्षेत्र आदिको खाका कोरौं । तत्.. तत् ...स्वशासित क्षेत्रहरुमा सोही थरी राईको भाषालाई प्राथमिकता दिने नीति बनाऔं ।
र अन्त्यमा, हामी आपसी विवादमा यति तल झरिसकेका छौं कि, हाम्रो सबैभन्दा ठूलो सत्रु हामी आफै–आफै भएका छौं । कथं कदाचित हामीले चाहेको जस्तो सङ्घीय संरचनामा देश गयो भने सबैभन्दा बढि विवादित हाम्रै राज्य हुने निश्चित छ । त्यो विवादले प्राप्त उपलब्धिको रक्षा होईन विनास गर्ने छ । त्यसैले स्वस्थ बहस गरौं । बुझाईलाई आपसमा बसेर छलफलबाट एकाकार बनाऔं ।
राज्य हुने निश्चित छ । त्यो विवादले प्राप्त उपलब्धिको रक्षा होईन विनास गर्ने छ । त्यसैले स्वस्थ बहस गरौं । बुझाईलाई आपसमा बसेर छलफलबाट एकाकार बनाऔं ।

No comments:

Post a Comment