Monday, September 15, 2014

ओ तुवाचुङ जायाजुम


चोमोलुङमाको शिरमा
सेताम्य पोखिएको हिउँ हेरेर
हरपल मुसुक्क मुस्कुराई रहने
ओ तुवाचुङ जायाजुम
म तिम्रो मुस्कानमा
पर्दा हाल्न उभिएको छु
तिम्रो सामुन्ने यतिबेला ।

हेर एक पटक
मेरो धसिङ्ग्रे अनुहार
जहाँ सभ्यताले ठगेका अनगिन्ती कथाहरु
खोविल्टै खोविल्टा बनेर
मसँग निसाफ मागिरहेछन्
खोजिरहेछन् मसँग.
एक ढिम्कनो मुनी
युग छिपाएर चुपचाप बसेको
हलेसीको यथार्थता ।

ओ तुवाचुङ जायाजुम
तिमीले तिम्रै छातिमा टेकेर
हुर्कायौ तोयामा र खियामालाई
सायद हेछाकुप्पाको सम्झनामा
दिदी बहिनीले खसालेका आँशु
तनतनी पिएर तिमीले
सिकायौ सभ्यता उनीहरुलाई
र,
आँगनभरि सिस्नो र कपास उमारेर
सिकायौ सीप
तर बाग्बंशी राईहरुले भेटेर
दुनियाँलाई चिनाएको हलेसीसँग
किन तिम्रो सम्बन्ध रहेन ?
म यही कुरा सोध्न
तोयामा खियामाको पाईतालाको डोबमा टेकेर
उभिएको छु तिम्रो सामुन्ने ।

ओ तुवाचुङ जायाजुम
म मान्न तयार छैन
हलेसीसँग जोडिएको
कथित महादेवको कथाहरु
र, पूर्वको पशुपतिनाथका उपमाहरुलाई
सायद होलान्
गुरु रिम्पोछेको तपस्याका गाथाहरु
तर सभ्यताको आदिभूिम
तुवाचुङ जायाजुमको फेदिमा रहेको हलेसीमा
आदि मानवहरु कै संस्कार र संस्कृतिको
अलिकति पनि गन्ध नआउँदा
म बहुलाएको छु यतिबेला
हुन सक्छ तिम्रो बक फुट्दैन
तर तिम्रै छातिमा टेकेर
म खोज्दैछु सत्य इतिहास हलेसीको
कथित शिव र पार्वतीको थानहरुमा
तोयामा, खियामा र हेछाकुप्पाहरुको
पद चिन्ह छ कि भनेर
उधिनी रहेको छु माटोहरुलाई
धर्मद्वार-पापद्वारमा
मोछामाको छविचित्र उतारेर
इतिहासलाई दाँजी रहेछु
कथित त्यो बसाह थानबाट
फालिएको हुनसक्छ दुई चुल्हाहरु

हेछाकुप्पाका सन्ततिहरुले जुराएको नाममा
अनेक फूँदा जोडेर
अनेक अक्षरहरु बङ्ग्याएर
अनेक वर्णहरु झिकेर
हलेसी बनाएका हुन सक्छन् नव आगन्तुकहरुले
त्यसैले ओ तुवाचुङ जायाजुम
म तिम्रो सामुन्ने उभिएको छु
सत्य इतिहास पाउने अभिलासाले
अब तिमीले बोल्नै पर्छ
सत्य कुरा खोल्नै पर्छ
नव आगन्तुकहरुको आगमनपूर्व
हलेसी कुन रुपमा थियो ?
तिमीले अब भन्नै पर्छ
ओ तुवाचुङ जायाजुम ।

शब्दार्थ
तुवाचुङ जायाजुम-     खोटाङ जिल्लाको हलेसी गाविस र अर्खौंले गाविसको सिमानामा रहेको डाँडो । जसलाई माला थुम्का पनि   भनिन्छ । किरात राईहरुको आदि पूर्खा सुम्निमा पारुहाङको पनाति, हँछाको नाती पातेसुङ र दिलिमदुङ (डाकुहँमा) मा छोरा, हेछाकुप्पा (खोचिलिप्पा) को दिदीहरु तायामा खियामाले कपासबाट तान बुनेर आधुनिक उधोगको विकास गरेको ठाउँ । जहाँ तान आकारको ढुङ्गाहरु देख्न सकिन्छ । किरात चाम्लिङ राईहरुको भाषामा तुवाचुङ जायाजुम भन्नाले तान ढुङ्गा भन्ने बुझिन्छ ।
चोमोलुङमाः किरात चाम्लिङ राई भाषामा सगरमाथा
बागवंशी राई ः खोटाङको हलेसी गुफा पत्ता लगाउने ब्यक्ति
मोछामा ः किरात चाम्लिङ राईहरुको कूल देवता रहने स्थान

No comments:

Post a Comment