Tuesday, September 16, 2014

प्रधानमन्त्रीको प्रेश विज्ञाप्ती




बग्यो इटेनी
र, पुरियो जुरीसँगै सुनकोशी/बन्यो ताल
खबर पाए लगत्तै
उपलब्ध मन्त्रीहरुलाई डाकेर/बैठक राखी
आवश्यक निर्णयहरु गर्दै
यो विज्ञाप्ती जारी गर्दैछु
म प्रधानमन्त्री शुशिल कोइराला ।

खटाएको छु सेना, प्रहरी र उद्दारकर्ता
र, हेलीकोप्टरमा विज्ञ टोली
यता भ्याई न भ्याई छ मलाई
आउँदैछन् सत्र वर्षपछि
भारतीय प्रधानमन्त्री दशगजा छिचोलेर भोली आईतबार
आज सनीबार भै हाल्यो,
सडक पखाले पनि पशुपति सिंगार्नै बाँकी छ
चोक–चोकमा ध्वजा–पतका राखेर
मोदीको तस्विर अंकित ठूल–ठूला ब्यानर टाँग्नै छ
साथीहरु भन्दैछन् छैसठ्ठी लाख खर्च भइसक्यो
फेरि सुरक्षाको चुनौती पनि छ
उतैबाट बुलेटप्रुफ गाडि र केही विशेषज्ञ सैनिक जवानहरु आए पनि
सडक र आकाश त हाम्रै हो
देशी–विदेशी आतंककारीले आक्रमण गर्लान् भन्ने डर
त्यसैले यो विपदको घडिमा
हामी कोही पनि आउन सकेनौ ।

अँ साँच्ची
पहिरोमा परी मृत्यू हुने परिवारलाई
तत्कालै चालिस हजार राहत दिने निर्णय गरेका छौं
घटना स्थलदेखि नेपालको सीमासम्मै
सर्तक रहन र प्रभावित हुन सक्ने ठाउँहरु छोड्न
खबर गरिसकेका छौं सञ्चार माध्यममा
कोशी ब्यारेजको बाउन्न वटै ढोका खोल्न
भारत सरकारलाई अनुरोध गरेकोमा
हाम्रो अनुरोधलाई स्वीकार गर्दै भारत सरकारले
कोशी ब्यारेजको सम्पूर्ण ढोका खुल्ला गरिसकेको छ
आत्तिनु पर्दै न,
केही परि हाल्यो भने
छिमेकी भारत र चीनसँग
सहयोग माग्ने विषयमा सहमति जुटेको छ
यता म पनि भरखरै अमेरिकामा, राज्य कोषबाटै
दश करोड खर्च गरेर क्यान्सरको उपचार गरी फर्किएको
सबैलाई थाहा भएकै कुरो हो
सहयात्री दलको अध्यक्ष/संसदीय दलको नेता पनि
सिंगापुरमा राज्य कोषबाटै पाँच करोड खर्च गरेर
भरखरै स्वदेश फर्किएको मान्छे
यो बेला हामीले बढी धपेडी गर्नु पनि त भएन
त्यसैले हामी आएनौ घटना स्थलमा
क्षमा माग्दैछु पिडित जनताहरुसँग

पहिरोमा परि घाईते भएकाहरुलाई उद्दार गरी
हेलिकोप्टर चढाएर राजधानी ल्याईएको छ
घाइतेहरुको निःशुल्क उपचार चलिरहेको छ यतिबेला
घटना स्थलमा भेटिएका लासहरुको पहिचान गरी
सद्गत् गर्न आफन्तहरुलाई जिम्मा लाउँदै गरेको खबर
त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पाएको छु
पहिरो अझै रोकिएको छैन भन्ने खबर
एफ.एम. र टिभी च्यानलहरुले प्रशारण गरिरहेका छन्
पहिरो नरोकिएकै हो भने
विज्ञहरुसँग सल्लाह गरेर
तत्कालै कुनै अभियान थालौंला
बरु यता
धेरै प्रयास गर्दा पनि
भारतसँग गर्ने उर्जा ब्यापार सम्झौतामा सहमति जुट्न सकेन
सायद सम्झौतामा हस्तारक्षर नहुन सक्छ
तर केही छैन,
हामीले मोदीको अगाडि राख्ने धेरै मागहरु छन्
राष्ट्रिको हितमा यो भ्रमणलाई सफल पारेरै छोड्ने छौं
१७ वर्ष पछाडि छिमेकी देशको प्रधानमन्त्री
नरेन्द्र मोदीको हुन लागेको यो गौरवशाली भ्रमणको काम थाँती राखेर
घटना स्थल जान सकेनौ
फेरि पनि क्षमा चाहान्छु ।

भरखरै पाएको खबर अनुसार
सेनाको हेलीकोप्टरले आकाशबाट
दुई पटक बिष्फोट गराएपछि
एकाछेउबाट पानी बग्न थाले छ
त्यसैले पुरिएको ठाउँभन्दा माथि
कनै खतरा छैन अब
जमेको पानी एकै पटक ह्वात्त नखोलिएर
विस्तारै बिस्तारै बग्यो भने
तलतिरको खतरा पनि टर्ने भनेर विज्ञहरुले भनिरहेका छन्
यता मोदीले विषेश पूजा गर्दैछन् पशुपतिमा
र, चढाउँदैछन् तीन करोड बराबरको चन्दन
सायद पूजाको क्रममा
स्वयं मोदीले पनि यो विपत्तीमा तपाइँहरुको लागि
धैर्य धारण गर्ने शक्ति माग्लान् पशुपतिनाथसँग
र, बोल्लान् केही शोक शब्द संसद्लाई संबोधन गर्दा

एउटा खुसीको कुरो पनि छ
मोदीले आफ्नो धर्म पुत्र जीतवहादुरलाई
आफ्नै बाबु–आमाको जिम्मा लगाउँदैछन्
सानैमा हराएको आफ्नो छोरो भेटेर
कति खुसी हुन्छन् होला है आमा–बाबुहरु
अरु विषेश केही छैन
मोदी आउने जाने बाटोमा
दुइदिनको लागि सर्वसाधरणहरुको
सवारी प्रवेश निषेध गरेका छौं
सार्वजनीक विदा भने हल्ला मात्रै हो
बरु,
सवारीको बेला दिइने सुरक्षा र पशुपतिमा गरिने स्वागतको अभ्यास
गराई सकेका छौं आज नै
त्यसैले मेरो समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
भ्रमण सफल हुनेमा म ढुक्क छु
अँ त्यतातिर केही परिहाल्यो भने
उसलाई ऊ...गर्नु भनेर मैले भनिसकेको छु
यो शोकको घडीमा
ज्यान गुमाउनेहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै
शोक सन्तप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति
श्री पशुपति नाथले दिऊन् भन्ने कामना गर्दै
यो प्रेश विज्ञाप्ती यहि अन्त्य गर्दछु
नेपाल सरकारको बहालवाल प्रधानमन्त्री
म शुशिल काईराला
2070 श्रावण 17 गते शनिबार
बेलुकी 6:30 बजे
सिंहदरबार, काठमाण्डौ नेपाल
धन्यवाद ।

No comments:

Post a Comment