Monday, September 15, 2014

घरदेशबाट

 
दाइ,
राम्रैसँग आइपुगें म,
हजुरले भने झैं
बाटामा देउराली र चौतारीहरु
भञ्ज्याङ र नागीहरु
नदि र खोलाहरु
सबै–सबै भेटियो
जहाँ एक छिन रोकिएर
एक छिन उभिएर
अन्तरालको एक मुठी पाती चढाएँ
र,
पूर्वि छितिजमा
विस्तारै उकालिन्दै गरेको घामलाई हेरी
अलिकति मुस्कुराएँ
साँच्चै दाइ
यतिबेला म सम्झिरहेको छु
हजुरका ती शब्दोपहार
जहाँ ममताका एकखात अक्षरहरु
बाटैभरि मग्मगाई रहेछन्
अजम्बरी र बाबरीको बोटहरुमा ।

दाइ जब म,
आकाश मार्गको यात्रालाई
पूर्णविराम लगाएर
त्रिभुवन विमानस्थलको
वर्हिगमन कक्षमा ओर्लन्छु
तब एक झोंक्का बतास
मलाई सुम्सुम्याउन आइपुग्छ
जहाँ, सडकमा अलपत्र फ्याँकिएको
फोहोरको कुहिएको गन्ध छ
र, छ धुलोको मसिना कणहरु
सायद मन परदेशी भइदिएको हुन्थ्यो भने
म नाक र मुख थुनेर
सराप थें होला देशलाई
धिक्कार्थें होला माटोलाई
तर दाइ
ज्यान परदेशी भए पनि
घरदेशको ममताले पग्लिएको मन
पग्लियो हावाको स्पर्शमा
र, विस्तारै सुम्सुम्याएँ
अनुहारभरि लुटपुटिन आइपुगेको धुलोलाई
त्यसपछि
केएल सिसीको तिर्सना मेटाउन
धरहरालाई नियाले
यहिबेला ग्यान्टिङ हाइल्याण्डको स्वरुप बोकेर
आँखै सामुन्ने ठडियो नागार्जुन डाँडो ।

दाइ
हजुरले भने जस्तै
घर पुग्नु अगावै मैले
दाँवलीहरुको एक लस्कर
र,
मायालुहरुको एक हुल भेटाँए
शरदीय पवनको हल्का हल्का झोक्कामा
बयली खेलिरहेको सालिमोको एक बुच्को हातमा लिएर
टोलाई रहे उनीहरु
मलाई देखेपछि उनीहरुले यस्तो ठने–
“सायद घाम, पश्चिमबाट उदाउँदैछ”
तर दाइ ज्यान परदेशी भए पनि
मन घरदेश मै छोडेर हिंडेको म
कत्ति पनि परिर्वन भएको थिइनँ
त्यसैले त
पशिनाको तितो गन्ध
उनिहरुको ज्यानबाट आइरहे पनि
घ्वाम्लाङ्ग अँगालो हाले
र,
असमय मै खोविल्टो परेको गालामा
सुमसुमयाई रहें धेरै बेर ।

दाइ,
आज पनि म सम्झदैछु
खुट्टै चिप्लेला जस्तो ती चिल्ला सडकहरु,
सगरमाथा झैं
ठडिएका ती गगनचुम्बी भवनहरु
र,
हिउँ जस्तै गोरी सायाङका
लोभलाग्दा बदन
तर दाइ
ती त सबै भ्रम रहेछन्
फगत सपना जस्तै
यर्थात त यही रहेछ
सातपत्र टालेको सडक
सडक किनारामा फालेको फोहोरको दुर्गन्ध
र,
निशुःल्क पाइने धुले पाउडर
त्यसैले त दाइ
ती नागीहरु, भञ्ज्याङ र देउराली–चौतारीहरु
खोला र नदिहरु
हजुरको आगमनको प्रतिक्षामा
बसी रहेका छन् उसैगरी
हिजै मात्र मदेशबाट
पहाड उक्लिएकी सिम्मालाई
सबैले एकै स्वरमा सोधेछन्
दाइ कहिले आउनु हुन्छ ?
दाइ कहिले आउनु हुन्छ ?

मलेसियाबाट फर्कने क्रममा आदरणीय दाइ मनि राई ‘गोठाले’ ले मलाई उपहार स्वरुप दिनु भएको कविताको भावमा बहकिन्दै लेखिएको कविता ।

No comments:

Post a Comment