Thursday, September 18, 2014

‘राई’ जात हो कि, होइन भन्ने बारे

आफूलाई कुलुङ मात्र हुँ भन्ने केही साथीहरुले हरेक दिन एकै प्रकारको स्टाटस फेसबुकमा प्रकाशित गर्दै किरात राई यायोक्खाको अस्थित्व माथि निरन्तर धावा बोलिरहनु भएको छ । उहाँहरुको आरोप छ, किरातहरुलाई राई बनाएर यायोक्खाले किरातीहरुको अस्थित्व समाप्त पारेको हो । उनीहरुको भित्री आसय बुझ्दा यस्तो लाग्छ, किरात राई यायोक्खालाई समाप्त नगरेसम्म समस्याको समाधान हुँदैन ।
राई पद हो कि जात हो भन्ने विषयमा मैले यस आगाडिनै तथ्य सहित स्टाटसमा प्रष्ट पारिसकेको छु । सायद यायोक्खा भित्रका केही साथीहरुले पनि मेरो विचारलाई स्वीकार गर्न नसक्नु भएको हुन सक्छ । कि, राई पदवी नै हो । राई र राय पदवी अगल–अलग समयमा अलग–अलग कामको लागि सिर्जना गरिएका पदवीहरु हुन् । तर हामीले नचाहेर पनि अहिले राई जात भइसकेको छ । र, राईको अस्थित्वलाई मेटाउन चाहेर पनि अब हामीले मेटाउन सक्दैनौं । त्यसैले राई अब पगरी नभई जात नै हो ।
कुलुङ साथीहरुको आरोप छ, किरात राई यायोक्खा गठन भएपछि किरातीहरुको अस्थित्वमा आघात पुगेको हो । किरात राई यायोक्खा निश्चिय पनि एक गैह्र सरकारी संस्था हो, यो सरकारको नियम–कानुन अनुसार चल्नु पर्छ । चाहेर पनि राजनीतिक मुद्दामा यायोक्खाले सामेल हुन मिल्दैन । तर पनि यायोक्खा विगत केही वर्षदेखि राजनीतिक वहसमा उत्रिएको छ । राजनीतिक आन्दोलनहरुमा यायोक्खाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कि, राज्यको पुनः संरचनाको बहसमा यायोक्खा अरुभन्दा एक कदम अगाडि बढेर किरात स्वायत्त राज्यको खाकालाई नै वहसमा ल्याएको छ । किरात राई यायोक्खाले सम्पूर्ण किरात इलाका (वल्लो किरात, माझ किरात र पल्लो किरात) लाई किरात स्वायत्त राज्यको रुपमा प्रस्तावित गरेको छ । जसमा ४ वटा उप स्वायत्त राज्यहरु (लिम्बुवान, खम्बुवान, शेर्पा, कोइँच) र विभिन्न स्वायत्त क्षेत्रहरु (चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, साम्पाङ, याक्खा, रोङ, वाम्बुले,.....आदि) को समेत प्रस्ताव गरेको छ । तर यो प्रस्तावलाई किरात याक्थुम चुम्लुङ लगायत लिम्बुवानमा सक्रिय राजनीति गरिरहेका पार्टीहरुले ठाडै अस्विकार गरेपछि यो प्रस्ताव धेरै बहसमा आउन सकेन । यायोक्खाको विभिन्न राष्ट्रिय सम्मेलन र भेलाहरुमा यसबारे थोरै तिनै बहस भइनै रहेका छन् र हरेक ठाउँमा स्वायत्त क्षेत्रको महत्वको बारेमा बहस हुन्छ नै । समग्र किरात राईहरुको भाषालाई बचाउनको लागि र आ–आफ्नो संस्कृति र बसोवास क्षेत्रको विकास गर्नको निम्ति स्वायत्त क्षेत्रमा गठन हुने निकायले महत्व पूर्ण भूमिका नखेलेसम्म एउटा यायोक्खा र भाषिक संगठनले केही गर्न सक्दैन ।
तर कुलुङ, थुलुङ, चाम्लिङ आदि छुट्टै जात हो भनेर दावा गर्ने साथीहरु किरात राईहरुको भाषा हराउँदै जानु, संस्कृति हराउँदै जानु र जातीय रुपमा पिछडिनुलाई यायोक्खाको दोष देख्छन् तर यायोक्खा लगायत यस संस्थासँग आवद्द भाषिक संस्थाहरुको सक्रियतामा विभिन्न थरी राईहरुको शब्दकोष, कक्षा पाँचसम्मको पाठ्यक्रम, मुन्धुम आदि प्रकाशन भएको, भाषा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिएको, विशेषतः उधौली पर्वलाई किरात चाडको रुपमा घोषणा गर्न सरकारलाई वाध्य पारेको आदि महत्वपूर्ण कार्यहरुलाई देख्दैनन् । किरात राई यायोक्खा एक गैह्र सरकारी संस्था भएर पनि यसले धेरै महत्वपूर्ण कामहरु गरेको छ । यायोक्खाले कुनै पनि भाषी किरात राईको विकासमा अवरोध पुर्याएको छैन, सहयोग नै पुर्याई रहेको छ । तर यसो भन्दैमा यायोक्खा पूर्ण रुपमा ठीक छ भनेर म भन्दिन । मेरो उदेश्य किरात मात्र हौं राई होइनौ भन्ने साथीहरुको विचारलाई पनि पूर्ण उपेक्षा गरेर यायोक्खालाई मात्रै ठीक देखाउनु होइन । दुवै तर्फका कम्जोरीहरुलाई औंल्याएर एक ठाउँमा उभ्याउने वातावरणको सिर्जना गर्नु हो ।
त्यसैले आफूलाई किराती मात्र हौं भन्ने साथीहरुलाई गम्भिर हुन आग्रह गर्छु । यदि चाम्लिङ, वान्तवा, कुलुङ वा अन्य भाषी किराती राईहरु अलग–अलग जात हुन् भन्ने यहाँहरुको ठम्याई हो भने जात हुनुको आधार प्रस्तुत गर्नु होस् । भाषा अलग भएर मात्र जात अगल हुँदैन । भारतीय ब्रम्हाणहरु हिन्दी बोल्छन्, नेपाली ब्रम्हाणहरु नेपाली, मदेशी ब्रम्हाणहरु मैथिली, अवधी, भोजपुरी बोल्छन् तर उनीहरु सबै ब्रम्हाण हुन् । हामीले बोल्ने भाषा फरक छ (आंशिक फरक) तर हामीले मान्ने संस्कार, संस्कृति, परंपरा, चाडपर्व, विश्वास र सामाजिक व्यवहार एउटै छ । न हामीमा छुवाछुत छ, न विवाहवारीमा रोक, अनि हामी कसरी फरक जातका भयौं ? साथीहरुले तथ्य सहित अलग जात भएको प्रमाणित गर्नु भएमा म तपाइँहरुसँग सहमत भई तपाईहरुको अभियानमा सामेल हुन तत्पर छु तर विना आधार अलग–अलग जात भएको दावा गर्दै हाम्रो एकतालाई ध्वस्त बनाउने षड्यन्त्र नगर्नु होस् । अल्पसंख्यकमा सूचिकृत भएपछि केही सुविधा पाउन सकिएला तर त्यो सुविधाले अल्पसंख्यक हुनुको पीडामा मल्हम लगाउन सक्दैन ।
किरात राई यायोक्खाको संरचनालाई बदल्नु पर्छ भनेर मैले बोल्दै र लेख्दै आएको छु । यायोक्खा गठनको प्रारम्भिक चरणदेखि नै वान्तवा र चाम्लिङहरु हावी हुँदै आएका छन् । चाम्लिङ र वान्तवाभन्दा अन्य भाषी राईहरु मूख्य नेतृत्वमा आउन सक्नु भएको छैन । त्यसैगरी यायोक्खा काठमाण्डौ र पूर्वका केही शहरमा मात्र बढी केन्द्रित छ । जहाँ किरात राईहरुको बाहुल्यता छ त्यहाँ यायोक्खाको उपस्थिती पातलो छ । मेरै खोटाङ जिल्लाको ७६ वटा गाविस मध्ये मुस्किलले डेढ देखि दुई दर्जन गाविसमा मात्र प्रारम्भिक समितिहरु बनेका छन् । भोजपुर, ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बुका सदरमुकाम बाहेकका क्षेत्रहरुको हालत पनि उही छ । यायोक्खालाई गाउँ–गाउँ नपु¥याएसम्म यसको उदेश्य पूरा हुँदैन । त्यसैले यायोक्खाको केन्द्रीय कार्यालय सकभर किरातभूमिमा नै सार्नु पर्छ । यदि केन्द्रीय कार्यालय किरातभूमिमा सार्न नसकिए केन्द्रीय सम्पर्क कार्यालय किरात भूमिमा राखेर यायोक्खाको गतिविधिहरुलाई किरात राईहरुको पुख्र्यौली थलोमा केन्द्रित गर्नै पर्छ । साथै केन्द्रीय र जिल्ला समितिहरुको संरचना बदलेर महासङ्घीय ढाँचामा यायोक्खालाई पुनः संरचना गरिनु पर्छ । अध्यक्ष, उपाध्यक्षहरु र महासचिवमा फरक–फरक भाषी राईहरु रहने र केन्द्रीय समितिमा पनि भाषिक संस्थाहरुबाट मात्र केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कायम गरिनु पर्छ । राई शब्दमा विवाद नै हुन्छ भने हटाउन पछि पर्नु हुन्न तर भाषाको आधारमा अगल–अलग जात हौं भन्ने मान्यतालाई भने पूर्ण रुपमा रोक लगाइनु पर्छ ।
विगतमा राई पदवी थियो भन्ने सत्यलाई सबैले आत्मसात गर्दै अब हामीले नचाहेर पनि राई जात भइसकेको छ र अब हाम्रो अस्थित्व राई भित्रै कायम गरिनु पर्छ भन्ने कुरालाई सबैले बुझ्न आवश्यक छ । यदि हामीले पुरानै कुरालाई मात्र खोज्ने हो भने त किरात शब्द पनि हाम्रो होइन, हामी किरात पनि न हुन सक्छौं । अझ अगाडि जाने हो भने त मान्छे नभई बाँदर पो हुन्छौं त ? के हामीलाई आज हाम्रो परिचय “बाँदर’ स्विकार्य हुन सक्छ ? विषेश अवस्थामा कुनै कुराहरुलाई हामीले नचाहेर पनि स्विकार गर्नु पर्ने हुन्छ । हामीले जातको महलमा राई पाउनु पनि त्यस्तै हो । राई लेख्न न यायोक्खाले लगाएको हो, न यायोक्खा गठन गर्ने हाम्रा अग्रजहरुले । राई शब्दलाई फाल्ने हो भने हामीले कायम गरेको विरासतलाई समेत फाल्नु पर्ने हुन्छ । राईको विरासत नेपालमा मात्र होईन विश्वमा कायम भइसकेको छ । तर राईभन्दा अगाडि हामी चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, लोहोरुङ, दुमी, कोयी, नाछिरिङ, तिलुङ, आठपहरे, याम्फू, वाम्बुले, पुमा, बेलहारे, जेरो आदि हौं । भाषिक पहिचानलाई बचाउनु हाम्रो कर्तब्य हो । यो कर्तब्यबाट कोही पनि नभागौं । तर अलग जातको बाहानामा फूटको राजनीति नगरौं यस्तो बेला फाइदा हामीलाई होइन अरुलाई नै हुन्छ ।
अन्त्यमा, फुटाउ र राज गरको नीतिले हामीलाई विगतमा कसरी पछाडि पारेको छ भन्ने एउटा उदाहरण यहाँ पेश गर्छु । २००७ सालको राजनीतिक परिवर्तनमा भोजपुर र खोटाङको यति ठूलो योगदान छ, कि भोजपुरे र खोटाङेहरु मुक्ति युद्घमा सामेल नभएका हुन्थे भने राणा शासन कुनै पनि अवस्थामा ढल्ने थिएन । भोजपुर र खोटाङको यो एकताले कुनै पनि बेला पञ्चायतलाई अप्ठ्यारोमा पार्न सक्थ्यो । यो कुरालाई राम्ररी बुझेका राजा महेन्द्रले भोजपुरलाई कोशी र खोटाङलाई सगरमाथा अञ्चलमा विभाजन गरेर हाम्रो सारा सम्बन्धहरु विच्छेद ग¥यो र हामीमा दुश्मनी रोपिदियो । अनि छिमेकी हाट–बजारहरुमा खोटाङे र भोजपुरे भन्दै आपसमा लड्दै–काटाकाट गर्दै हामी पञ्चायत कालभरि अल्मलिरह्यौं । यसको धङ्धङी अझै पनि मेटिएको छैन, कतिपय स्थानमा अझै पनि खोटाङे र भोजपुरेको बीच काटमार चल्छ । त्यसैगरि कथं भोली हामी सबै अलग–अलग जातमा दर्ज भयौं भने त्यो काटमारको अवस्था हामीमा पुनः दोहोरिने छ । त्यसबेला हामीले आफ्नो भाषिक अस्थित्व, जातीय अस्थित्व र किरात राज्यको अस्थित्वलाई कायम गर्न सकौंला ? सबैमा चेतना भया ।

No comments:

Post a Comment