Monday, September 15, 2014

दशैं दृष्टि

धेरै दिन पछि
काला बादलको अपहरणबाटमुक्त भएको आकाश
एक्लै नियाली रहेको बेला
सुटुक्क एक झोंक्का चिसो बतास
ज्यान छोएर ओह्रालो बग्छ
र,यहि बेला
मलाई चिच्याउन मन लाग्छ-दशैं आयो ऽऽऽ

बारीभरि हरियाली छरेर
निस्फिक्री उभिरहेका कोदोका बोटहरु
वा
खेतभरि आकाश ताकेर
सर्लक्क ठडिरहेका धानका गाबोहरु
नजानिन्दो पाराले
पहेंलिन्दै गएपछि
नयाँ थुन्से बोकेर
टोलै थर्काउँदै
मलाई कराउन मन लाग्छ-माटो बोक्न जाउँ है ऽऽऽ

घुर्यानमा मौलाएका झाडीहरु
उखेली फालेर मात्र पुग्दैन
काँधमा कोदालो भिरेर
दौंतरीहरुलाई सम्बोधन गर्दै
मलाई बोलाउन मन लाग्छ-बाटो खन्न जाउँ है
र,
धसिङ्ग्रे भित्तोहरुलाई पोतेर
रातै-पहेंलै बनाएपछि
मूल ढोकाको नजिकैफूलबुट्टा हानेर
त्यसैको काँधमामलाई कोर्न मन लाग्छ-
दशैंको मंगलमय शुभकामना

लामो प्रतिक्षालाई तोडेर
दशमीले सँघार टेकेपछि
भर्याङ उक्लिएर
धनसार नजिकै
भोर्लाको टपरामा ढाकिएको
पहेंलपुर जमरालाई काटी
टीकाठहरको एक छेउमा राखे
नयाँ सुकुलमाथि बसेर
मलाई थाप्न मन लाग्छ साईतको टीको
र,
मान्यजनको आर्शिवचन ।

घरै मुनीनागवेली परेर बगेको खोलोको
चिल्ला ढुङ्गाहरुमा
नाङ्गो पाईतालाले टेकेर
आमाको साडीको फेर समात्दै
मावली गाउँ पुग्दाका क्षणहरु
सम्झी रहेको छु यतिबेला
र,
फर्कन्दा मामा माईजूले दक्षिणा दिनुभएको
चानचुने पैशा बजाउँदै
फूपुहरुले ल्याउने कोशेलीको लोभमा
आमालाई उछिनेर
घर आईपुगेको यादहरुलेपिरोलिएको छु ।

यी यादहरु/स्मृतिहरु/विस्मृतिहरु
सायद जीवनका भूल सम्झेर
बेहोरी रहेको छु अझै पनि
र,
दशैं बहिस्कारको नाममा
जीवनको पूर्वाधहरुलाई
विचारको इरेजरलेघोटिरहेको छु दिनदिनै ।

दशैं बहिस्कार ?
म यहिँ अड्किएको छु अचेल
सायद विचार बदलिएको हुन सक्छ
वा
आफै बदलिएको हुन सक्छु
आखिर जो बदलिए पनि
दशैं बहिस्कार…यो हुनै सक्दैन
किनकीदशैं पर्व हो-नेपालीको
दशैं पर्व हो-सुन्दरताको
दशैं पर्व हो-आनन्दको
दशैं पर्व हो-आर्शिवादको
दशैं पर्व हो-सौहार्दताको
दशैं पर्व हो-एकताको
र,
दशैं पर्व हो-मिलनको

देश, सौन्दर्य, आनन्द,
आर्शिवाद, सौहार्द, एकता र मिलनलाई
कदापि बहिस्कार गर्न सक्दिन
हो
बहिस्कार जारी छ/जारी रहने छ
-दशैं आर्य सम्प्रदायको मात्र पेवा ठान्ने
संकिर्ण मस्तिष्कहरुको
बहिस्कार जारी छ/जारी रहने छ-
देवी-दानव र राम-रावणका
झुटा कथाहरु बाचेर
दशैंलाई धर्मको खुनी पञ्जामा कैद गर्ने
खुनी मानशिकताहरुको
बहिस्कार जारी छ/जारी रहने छ-
अनार्य माथि आर्यको विजय ठानेर
साम्प्रदायीक सद्भाव खल्बलाउने
साम्प्रदायीक विचारहरुको
बहिस्कार जारी छ/जारी रहने छ-
रगतको टीको निधारमा लाएर
विजयको उल्लास मनाउने
रक्त पिपासु खुसीहरुको
बहिस्कार जारी छ/जारी रहने छ-
मध्यरातमा काला छायाँहरुको पूजा गरेर
एका विहानै पशुको बली दिने
दानवीय ब्यवहारहरुको
बहिस्कार जारी छ/जारी रहने छ-
आफुलाई पण्डित मानेर
दुनियाँलाई ठग्न
टीको लगाई दिदै िहंड्ने
मगन्तेहरुको दरिद्र चरित्रको
बहिस्कार जारी छ/जारी रहने छ-
ऋण काढेर रक्सी धोक्ने
ढोंगी मान्छेका ब्यवहारहरुको

बहिस्कार जारी छ/जारी रहने छ-
हप्तौं/पन्ध्रौं दिनसम्म
देशै ठप्प बनाएर
दशैंको सद्गत गर्ने
नालायक सरकारहरुको

परन्तु
दशैं बहिस्कार…यो हुनै सक्दैन
किनकी
दशैं पर्व हो-नेपालीको
दशैं पर्व हो-सुन्दरताको
दशैं पर्व हो-आनन्दको
दशैं पर्व हो-आर्शिवादको
दशैं पर्व हो-सौहार्दताको
दशैं पर्व हो-एकताको
र,
दशैं पर्व हो-मिलनको

देश, सौन्दर्य, आनन्द,
आर्शिवाद, सौहार्द, एकता र मिलनलाई
कदापि बहिस्कार गर्न सक्दिन ।

No comments:

Post a Comment