Tuesday, March 22, 2016

उपचार पद्धति र अलौकिक शक्तिको भ्रम

करिब सढे चार बर्ष अगाडि मेरो निकट नाता पर्ने एक जना भाइ काठमाण्डौमा सिकिस्तै बिरामी भयो । विमार पनि ज्यादै अनौठो--ज्यान दुख्यो भन्दै जुरुक्क उचालिन्दै-पछारिन्दै गर्ने, केही समयपछि मान्छे बेहोस् । नाम चलेका सबै अस्पताल र नर्सिङ होममा चेकअप चल्यो । हाडजोर्नी र नशा सम्बन्धि विशेषज्ञ डा. उपेन्द्र देवकोटासम्मले जाँच गर्यो तर कुनै रोग पत्ता लागेन ।

विरामीको स्थिति नाजुक बनिरहेको थियो । विदेश लगेर उपचार गराउने क्षमता थिएन त्यसैले परिवार र हामी आफन्तहरु बिमारीलाई गाउँ ल्याउन बाध्य भयौं । दसैंको बेला मान्छेद्वारा ढाकरमा बोकिएर विमारी गाउँ आइपुग्यो । गाउँमा अस्पतालको नाममा सिटामोल पाउने उपस्वास्थ्य चौकीभन्दा अरु थिएनन् । आएकै दिनदेखि नछुङ (धामी) ले उकार गर्ने, चिन्ता बसेर कुलपित्रीसँग बल माग्ने, खड्गो काट्ने आदि कार्यहरु अगाडि बढ्यो । नभन्दै विमार बिस्तारै कम हुन थाल्यो । ज्यान दुख्यो भनेर छट्पटिए पनि बेहोस हुन बन्द भयो । केही समयको अन्तरालपछि ज्यान दुख्यो भन्दै छट्पटिने क्रम पनि ढिलो-ढिलो हुँदै जान थाल्यो । लगभग ६ महिनापछि ती भाइ पूर्णत: स्वस्थ भए । ऊ अहिले कोरियामा छ । कोरिया पुगेको पनि साढे दुई बर्ष बितिसक्यो । उसको ब्याथा हालसम्म बल्झिएको छैन । पूर्णत: स्वस्थ छ र काममा खटिरहेको छ ।
यो कुनै कथा होइन, सत्य घटना हो । गाउँ घरमा यस्ता घटना प्रशस्तै सुन्न र देख्न पाइन्छ । अस्पतालमा उपचार हुन नसकेका कयौं विरामीहरु गाउँघरमा धामीझाँक्रीले झारफुक गरेर निको भएको उदाहरणहरु छन् । तर यसोभन्दैमा धामीझाँक्रीको उपचार गर्ने पद्धति आधुनिक चिकित्साकोभन्दा उत्तम छ भन्न मैले खोजेको होइन । तर कतिपय रोगहरु यस्ता हुन्छन्, जो आधुनिक चिकित्साले भेउ पाउँदैन । हेर्दा शारीरिक समस्या जस्तो देखिए पनि समस्या मानशिक हुन्छ ।

हजारौं बर्ष अगाडिबाट धामीझाँक्रीले झारफुकद्वारा विरामीको उपचार गर्दै आएका छन् । आयूर्वेदिक चिकित्सा पद्धतिको बिकासपछि कतिपय धामीझाँक्रीले त्यसलाई पनि अपनाउँदै आए । आयूर्वेदिक पद्धति शारीरिक समस्यासँग सम्बन्धित छ भने झारफुक पद्धति विरामीको मनस्थितिसँग छ । धामीझाँक्रीद्वारा गरिने झारफुक झट्ट हेर्दा विरामीको शारीरिक समस्यामा केन्द्रीत भए जस्तो देखिए पनि त्यो सिधै मनोविज्ञानसँग जोडिने विषय हो । धामीझाँक्रीले झारफुक गरिदिएपछि ठिक हुन्छु भन्ने विश्वास विरामीमा पलाउन सक्नु नै मनोविज्ञानसँग जोडिएको विषय हो । जब विरामीमा आशाको सञ्चार हुन्छ तब घातक बाहेक अन्य रोगहरु सामान्य बन्दै जान्छ । तर प्राण नै लिने रोगहरुको उपचार धामीझाँक्री त के संसारका मैंहुँ भन्ने कसैले पनि ठिक पार्न सक्दैन । यदि कोही-कसैमा त्यो क्षमता भैदिएको भए मानिसको मृत्यू नै किन पो हुन्थ्यो र ?
सम्भवत: संसारमा सबभन्दा पुरानो उपचार विधि नै झारफुक हो । नेपालका आदिवासी र खस समुदायमा झारफुकको ठूलो प्रभाव छ । भारतमा केही हजार बर्ष पहिला स्थापित भएको ब्राह्मण संस्कृतिले कोटीहोम, रुद्री, श्रीमद्भागवत, गीता पाठ आदि विधिहरुलाई स्थापित गर्यो । यसैको जगमा पूजा, प्रार्थाना, योगा आदिको विकास भयो । हिन्दु भित्रको ब्रम्हाण संस्कृति पनि पूर्णत: मनोविज्ञानसँगै जोडिएको विषय हो । तर योगाले शारीरिक र मानशिक दुवैलाई मज्बुत बनाउन सहयोग पुर्याउँछ । त्यसैले पनि आधुनिक चिकित्सा पद्धतिले योगालाई स्वीकार गरेको देखिन्छ ।

आधुनिक चिकित्सा पद्धतिद्वारा गरिने शारीरिक उपचारमा पनि मनोविज्ञानको ठूलो महत्व छ । त्यसैले त भनिन्छ, विरामीको आधा रोग डाक्टर र नर्सको ब्यवहारमा भरपर्छ, बाँकी आधा रोग औषधिमा । यसर्थ भन्न सकिन्छ कि, धामीझाँक्रीले गर्ने झारफुक, ब्राम्हणले किताब पढेर गर्ने स्वस्ती-शान्ति, मन्दिर-मस्जिद-चर्च आदिमा गएर गरिने पूजा प्रार्थाना वा हेबेन्लीपाथले अपनाउदै आएको "आमस उपचार" (हिलिङ) यी सबै ब्यक्तिको मनोविज्ञानलाई सकारात्मक र मज्बुत बनाउन चालिने कदम हुन् । हरेक मानिसको मन भित्र पूर्खाहरुबाट हस्तान्तरण हुँदै आएको अन्धविश्वास गडेर बसेको छ र नै यी सबै पद्धतिहरु अस्थित्वमा छन् । फलामलाई काट्न फलाम नै चाहिन्छ भने झैं अन्धविश्वासबाट निर्मित समस्याहरुलाई समाधान गर्न अन्धविश्वास कै सहारा लिनु परेको उदाहरण हुन् यी । त्यसैले यी सबै पद्धतिहरुबाट मानिसलाई फाइदा पनि भईनै रहेको छ । तर यिनै पद्धतिहरुलाई कतिपयले ठगिखाने माध्यम पनि बनाएका छन् । कतिपय धामीझाँक्री, ब्राह्मण, पुजारी आदिले बर्षौं अगाडिबाट नहुने कुरालाई पनि हो भन्दै सर्वसाधारणलाई वसमा पारेर जीविकोपार्जन गर्दै आएका छन् भने पछिल्लोक्रममा इसाई पाष्टरहरुले धर्म परिवर्तनको प्रमुख आधार यसैलाई बनाउँदै आएका छन्। कमैले सुनेको हेबेन्ली पाथका प्रवर्तक भक्तकुमार राईले आफूलाई सुप्रिम मास्टर गड एञ्जल घोषणा गर्नुको पछाडि उनको आमस उपचार पद्धतिको पनि हात छ भन्नेकुरो बुझ्न आवश्यक छ ।
यो बहस यी सबै पद्धतिलाई नराम्रो हो भनेर घोषणा गर्नको लागि होइन । अपितु यी पद्धतिहरुबाट मानिसले पाएको लाभलाई अलौकिक शक्तिको कारण देखाएर आफूलाई सुप्रिम घोषणा गर्न खोज्ने प्रवृतिको विरुद्धमा भने हो । फेरि नबुझियोस् कि यो मास्टर गड एञ्जल उर्फ भक्त कुमार राईको विरुद्धमा मात्रै हो । अलौकिक शक्तिको हवाला दिंदै सर्वसाधरण मानिसमा सुप्रिम देखिन चाहने धामीझाँक्री, ब्रम्हाण, पुजारी, पाष्टर, भिक्षु सबैको विरुद्धमा हो ।

र, अन्त्यमा केही विरामीहरुलाई केही समयको लागि ठिक पार्ने ब्यक्ती सुप्रिम बन्छ भने आमाको गर्भभन्दा बाहिर टेस्ट्यूबबाट बच्चा जन्माउने, डिएनएबाट क्लोन निर्माण गर्ने डाक्टरहरुलाई के भन्ने ? एकपटक सुप्रिमको पछाडि जयजयकार गर्दै हिँड्नेहरुले सोंच्ने कि ?

No comments:

Post a Comment