Tuesday, March 22, 2016

छाडी जाने मायालुको नाममा

बोबोरेम डाँडाको टुप्पोमा चढी
ढकमक्क तारा फुलेको आकाशबाट
सुटुक्क जून चोरेर तिम्रो चुल्ठो सजाउने सपना...
अधुरै रहे पनि
अपुरै भए पनि
छिन्तुकीभीरमा सेतै फुल्ने सुनगाभा छातिभरी खिलेर
साकेलामा सिली नाच पर्खिरहेछु सिम्मा
रातोलाई भाले रेटौंला
नमरे बाँचे भेटौंला
सोइसोइला हौ कुर्राहाहा ।


बाटोहरुले नै जुटाउँदो रहेछ
बाटोहरुले नै छुटाउँदो रहेछ
जुटाउने बाटो छोटो सायद खुसी जस्तै
छुटाउने बाटो लामो सायद पीडा जस्तै
जो तन्किदै तन्किदै जाँदोरहेछ
जो फन्किदै फन्किदै जाँदोरहेछ
गाउँबाट शहर
शहरबाट हङकङ
हङकङबाट यूके
त्यसपछि खै कता हो कता ।

सायद उता,
फुल्दैनन् होला बारीको कान्लामा आरुको फूल
उड्दैनन् होला आकाशमा कर्याङकुरुङको हुल
एउटा बन्द कोठा भित्र
गुड फ्राइडेको चियर्समा
सिनित्तै पिएर जिन्दगी
कहाँ रमाउन सकिन्छ र हौ सिम्मा ?
त्यसैले त लेखिपठाउँछौ स्टाटसमा
तीन तले घरको जोर बाँहा
ज्यान मात्रै यहाँ मन कहाँ
सोइसोइला हौ कुर्रा हा हा ।
जसरी लिम्चिम बेसींमा फुल्दैन
फुले पनि खाँट्टी सौन्दर्य खुल्दैन
उसैगरी तिम्रो ती इन्द्रेणी आकांक्षाहरु
डलरको बर्षादमा कहाँ फुल्छ र ?
लहरे पिपल वर झ्याम्म
मायाले गर्दा यहाँसम्म
सोइसोइला हौ कुर्राहाहा ।

No comments:

Post a Comment