Tuesday, March 22, 2016

एकात्मक राज्यको चरित्र र पहिचानको आन्दोलन

भनिन्छ, कुनै पनि जातिलाई समाप्त गर्नु छ भने उसको भाषालाई समाप्त पारे हुन्छ, मान्छे नै मार्नुपर्छ भन्ने छैन । त्यसैगरी कुनै पनि जातिको इतिहास मेट्नु छ भने, ती जातिसँग जोडिएका स्थान आदिको नाम बदलीदिए पुग्दोरहेछ ।

शासक तथा शासक जातिको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो भाषा, धर्म संस्कृति, सभ्यता र इतिहासको विस्तार गर्नु रहेछ । र, दोश्रो महत्वपूर्ण कार्य भनेको अरुको भाषा, धर्म, संस्कृति, सभ्यता र इतिहासलाई सिध्याउनु रहेछ । यो उदाहरण... नेपालको सन्दर्भमा मात्रै होइन बिश्वकै सन्दर्भमा लागू हुन्छ । कतिपय अवस्थामा यी कार्यहरु देखिनेगरी गरिन्छन् भने कतिपय अवस्थामा नदेखिने गरि पनि भैरहेको हुन्छ ।

आधुनिक सत्ताको उत्पत्ति नै शासक बर्गको हितरक्षाको लागि भएको हो भन्दा फरक पर्दैन । त्यसैले सत्ताको चरित्र सधैं एकात्मक प्रकारको हुने गर्दछ । तर समाज बिबिधताले भरिपूर्ण भएको हुन्छ । बिबिधतापूर्ण समाजमा आफ्नो उपस्थिति मज्बुत बनाई राख्न सत्ताले फुटाउ र राज गरको नीति लिएको हुन्छ । केही ब्यक्तिलाई सत्ताको थोरै चटनी भाग लगाएकै आधारमा समुदाय बिभाजित हुन्छन् र सत्ता निरन्तर आफ्नो अभिष्ट पूरा गर्न तल्लिन रहन्छ ।

समाजको विविधतालाई सम्बोधन गर्नको लागि सत्ताको चरित्र परिवर्तन नगरी सम्भव छैन । सत्ताको एकात्मक चरित्र बदलेर बिबिधतालाई सम्बोधन गर्नकै लागि पछिल्लो क्रममा सङ्घीयता, स्वशासन र आत्मनिर्णयको अधिकार आदि जस्ता अवधारणाहरु अगाडि आएका हुन् ।
बसाइँसराइ आदिको कारणले संसारको जुनसुकै समाज पनि अहिले एकात्मक प्रकारको छैन । समाजमा विविधता छ तर राज्यको चरित्र र व्यवहार एकात्मक प्रकारको छ भने त्यो राज्य न्यापूर्ण हुन सक्दैन । त्यसैले सङ्घीयताको अर्थ सँगै बसेर न्यायपूर्ण लोककल्याणकारी राज्य/समाज निर्माण गर्नु एवं राज्यसत्तामा सहभागी हुनु हो ।

सङ्घीयता केवल भूगोलको बिभाजन मात्र होइन । त्यस भूगोल भित्रको जातीय, भाषिक, साँस्कृतिक विविधता र फरक इतिहासको स्वीकारोक्ति पनि हो । यसर्थ सङ्घीयतासँग पहिचान स्वत: जोडिएर आउँछ । पहिचानको अर्थ केवल राज्यको नाम कुनै जाति वा समुदायसँग जोडिनु मात्र होइन । बिबिध जाति, भाषा, संस्कृति, भूगोल र इतिहासको सम्मान गर्नु हो । अपमानले सम्बन्धको बिच्छेद गराउँछ भने सम्मानले एकता गराउँछ । यसप्रकार पहिचान, एकताको आधार पनि हो ।

एकात्मक राज्यप्रणालीमा शासक र शासक बर्गको प्रमुख कार्य भनेकै आफ्नो भाषा, संस्कृति, सभ्यता र इतिहासको विस्तार गर्नु हो भनेर माथी नै भनियो । र, दोश्रो कार्य अरुको भाषा, संस्कृति, सभ्यता र इतिहासलाई मार्नु । तर पहिचानलाई स्वीकार गरिसके पछि अरुको भाषा, धर्म, संस्कृति, सभ्यता र इतिहासलाई सम्मान गर्नु पर्ने हुन्छ । सम्मान गर्नुको अर्थ मार्न नपाउनु हो । मार्न नपाएपछि बिस्तारको क्रम रोकिन्छ । यसर्थ एकात्मक राज्य सत्ताका शासक र शासक बर्ग पहिचानसँग झस्कन्छन् । सकभर पहिचानको आवाजलाई दबाउने गर्छन् (जस्तो पञ्चायतकाल) नभए पहिचानको बारेमा नकारात्मक सन्देश फैलाएर समाजलाई दिग्भ्रमित पार्छन् (अहिलेको अवस्था)। शासक र शासकबर्ग इतरका केही ब्यक्तिहरुलाई सम्पत्ती, सत्ता र शक्तिको लोभमा फसाएर सिमान्तकृत समुदायलाई बिभाजित पार्छन् । यसर्थ पहिचानको लडाइँ पेचिलो मात्र होइन लामो पनि हुने गर्छ । शासक र शासकबर्गले दमन गर्यो भने प्रतिरोध हुनेक्रममा राज्य जातीय द्वन्द्वमा फस्न पनि सक्छ ।

No comments:

Post a Comment